यतिबेला भारतीय उपमहाद्वीपका दुई छिमेकी देशका नागरिकका माझमा गौतम बुद्धलाई नागरिकता दिने होड चलिरहेको छ । गौतम बुद्धलाई उति बेला अस्तित्वमै नरहेका नेपाल र भारतजस्ता देशको नागरिक बनाउनमा उद्धत छौँ हामी । हाम्रो देशमा बुद्ध जन्मिए कि हामी बुद्ध जन्मिएको ठाउँमा जन्मियौँ ? हामीले बुद्धका वाणीलाई के कति अवलम्बन गर्यौँ ? यसका बारेमा चाहिँ कसले सोचिदिने हो कुन्नि ? यी र यस्तै बुद्धसँग सम्बन्धित अहम् प्रश्नहरूको जगमा उभिएर बुद्धका वचनहरूलाई के कसरी जीवनमा उपयोग गर्न सकिन्छ भन्ने खोजमा लागेका दुई प्रतिभाशाली उपन्यासकारका गौतम बुद्धसम्बन्धी खोजमा आधारित पृथक् औपन्यासिक कृतिहरू ‘तथागत’ र ‘स्व’ले नेपाली साहित्यको बजार तताएका छन् यतिबेला । यहाँ ती दुई उपन्यासलाई एकै ठाउँमा उभ्याएर परिचर्चा गरिएको छ ।

० ० ० ०

नेपाली बजारमा समालोचनाका कुरा

‘साहित्यपोस्ट’का कारण यतिबेला नेपाली साहित्यको बजारमा समालोचनाका बारेमा बहस चलिरहेको छ, त्यसमा पनि ‘प्रतिसमालोचना’को चर्चा चुलिँदो छ । हुन त केही समय अगाडि मैले ‘निसमालोचना’को कृति नै प्रकाशित गराएको थिएँ । मलाई लाग्छ, प्रकारान्तरले यी सबै समालोचनाका विविध रूपहरू नै हुन् । हिजोआज समालोचना पनि जटिलतातिर जान थालेको पक्का हो । यतिबेला कृतिभित्र पस्नुभन्दा पनि सिद्धान्तको ओइरो लगाउनमा कतिपय समालोचकहरू ज्यादा रुचि राख्न थालेका छन्, यसले सामान्य पाठकले समालोचना नै पढ्न छोडेको स्थिति पनि छ । यस्तैमा ‘निसमालोचना’को जन्म भएको हो । हुन त ‘निसमालोचना’को जन्म रामकृष्ण शर्माको समालोचनाबाटै भएको हो, ‘निसमालोचना’ भनेर न्वारन मात्र यतिबेला भएको हो ।

सबैले बुझ्नुपर्ने कुरा, एउटा सर्जक आफैँमा राम्रो समालोचक पनि हो । त्यसो नभए त आफ्नो कृति कस्तो भयो ? भनेर परख गर्नै सक्दैन । फरक यत्ति हो कि उसले आफ्नो कृतिका बारेमा आफैँले समालोचना लेख्ने कि नलेख्ने ? यसरी आफैँले आफ्नो कृतिका बारेमा समालोचना लेख्दा पाठकले कुन रूपमा लिन्छन् ? यसका बारेमा लेखकले सोच्ने कि नसोच्ने ? हो,

समालोचना र समीक्षा फरक कुरा हुन् । स्थापित मूल्यका आधारमा कुनै कृतिको विवेचना गरियो भने त्यो समालोचना हुन्छ । त्यस्तै ‘प्रतिसमालोचना’ लेखिँदा सुरुमा समालोचना त चाहिन्छ नै । यसरी प्रतिसमालोचना लेखिँदा सुरुमा समालोचना लेख्ने समालोचकको चर्चा त होला नि ? म त्यसको खोजीमा पनि छु ।

० ० ० ०

हालसालै पढेका दुई कृति

म पढ्छु । पढ्नु मेरो रुचि । पढ्नु मेरो पेसा । पढ्नु मेरो प्यासन । पढ्नु मेरो ध्यान । पढ्नु मेरो मनोरञ्जन । पढ्नु मेरो ज्ञानको स्रोत । हो, पढ्नुका बारेमा मेरा धारणा हुन् यी । सधैँ जसो केही न केही पढिराख्छु म । यसका लागि बजारमा आएका साहित्यिक कृति प्रमुख स्रोत हुन् मेरा । त्यसो त साहित्य र साहित्यिक कृति कहिल्यै पुरानो हुँदैन भन्ने मेरो मान्यता । त्यसमा नै रमाउनु मेरो दिनचर्या ।

त्यसो त म निकै ढिलो पढ्ने पाठक हुँ । मलाई बजारमा निस्कने बित्तिकैका किताबभन्दा अलिक समय भएका किताब पढ्दा आनन्द आउँछ, यदाकदा समीक्षा पनि लेखिटोपल्ने भएका नाताले हतारमा पनि पढिदिनुपर्ने हुन्छ । त्यस्तै कहिलेकाहीँ लोकार्पण समारोहमा केही बोलिदिनुपर्ने हुनाले पनि केही कृति हतारमा पढिएका छन् ।

प्रकाशन मिति वि.सं. २०८१ जेठ राखेर यही असारको पहिलो साता बजारमा देखा परेका दुई उपन्यास ‘तथागत’ र ‘स्व’ सँगसँगै जसो पढ्ने अवसर जुट्यो । मैल यी दुई उपन्यास पढ्न कत्ति पनि हतार गरिनँ । पढेर सकेपछि केही लेख्नु समालोचकको धर्म नै भएकाले यी दुबै कृतिलाई लिएर यहाँ केही लेख्ने प्रयास गरेको छु । पाठकवृन्द, यो तुलनात्मक अध्ययन भने होइन है ।

‘तथागत’ उपन्यासको चिनारी

चितवनको समथर जमिनमा बसेर नेपाली साहित्यको आराधना गरिरहेका बहुमुखी प्रतिभाका धनी सिर्जन अविरलको दोस्रो औपन्यासिक कृति हो ‘तथागत’ । उनको यो उपन्यासको प्रकाशन मिति वि.सं. २०८१ जेठ राखेर यही असारको पहिलो साता बजारमा देखा परेको छ । सुन्दर आवरणसहित साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि., काठमाडौँले प्रकाशन गरेको यो कृतिले जम्मा १९२ पृष्ठ ओगटेको छ ।

जम्मा १६ वटा शीर्षक सहितको परिच्छेद विभाजन गरिएको यो उपन्यासको मूल्य ४४५ रुपैयाँ राखिएको छ । सिङ्गो उपन्यासको कथावस्तु सोही गुम्बामा घटित भएको छ । त्यसैले ‘तथागत’ उपन्यास बौद्ध गुम्बाको कथा हो । अझ भनौँ एउटी आनीको कथा हो ।

आफ्ना आमाबाबुलाई राम्ररी नचिन्दै जनयुद्धमा तिनलाई गुमाएका कारण फुपूको घरमा आश्रय लिई बसेकी दीपशिखाले दश–एघार वर्षको कलिलो उमेरमै आनी बन्ने निर्णय मात्र गर्दिन, सदाका लागि फुपूको घर छोडेर गुम्बामा आनी बनेर बस्न पुग्छे । त्यहाँ उसले आफूभन्दा निकै पाको उमेरकी आनी रिन्छेनको साथ र सहयोग पाउँछे । रिन्छेनबाट आमा, गुरुआमा र साथीको व्यवहार पाउँछे । ज्ञानका अजस्र स्रोत पनि भेट्टाउँछे । आफूलाई मनमा लागेका कुराको समाधान सजिलै भेट्छे । कलिलै उमेरमा वैराग्य धारण गरेका भए पनि उसका मनमा पनि विभिन्न खालका रागका कुराहरू आउँछन्, तर ती रागहरूमाथि अन्ततः वैराग्यले विजय पाउँछ । ‘तथागत’को सारवस्तु यत्ति हो ।

छोटकरीमा भन्नुपर्दा आनी दीपशिखा र रिन्छेनको संवाद हो ‘तथागत’ । दीपशिखाले जीवित रहँदा मात्र नभएर मरिसकेको अवस्थामा पनि रिन्छेनकै सम्झना गरेकी छ । यस्तो लाग्छ, रिन्छेनबिना दीपशिखाको अस्तित्व नै छैन । यसरी रिन्छेनलाई रुख र दीपशिखालाई लहराका रूपमा चित्रण गरेको छ यो उपन्यासले । यो नै यस उपन्यासको गाँठी कुरा हो ।

‘स्व’ उपन्यासको चिनारी

सरस्वती प्रतीक्षा कत्ति पनि हतार नगर्ने लेखक हुन् भन्ने कुराको पुष्टि पहिलो उपन्यास ‘नथिया’ निस्केको सात वर्षपछि दोस्रो उपन्यास ‘स्व’ लिएर नेपाली पाठकका माझमा आउनुले गर्छ । बुक हिल पब्लिकेसन प्रा.लि., काठमाडौँले प्रकाशित गरेको उनको उपन्यास ‘स्व’ कूल २८० पृष्ठको आयाममा फैलिएको छ । जम्मा २ खण्ड र २० वटा शीर्षक सहितको परिच्छेदमा विभक्त यो उपन्यासमा सप्तम नामक पात्रको जीवन चर्या उतारिएको छ । ऊ बाहिर देखिँदा सरल तर भित्रतिर अत्यन्त जटिल जीवन बाँचिरहेको छ ।

उपन्यासको नायक सप्तमलाई हरबखत सघाउने उसकी सदाबहार प्रेमिका काव्या छिन् र छन् अन्य पात्रहरू पनि । बाबुको किरिया बसेको घटनाबाट सुरु भएको यो उपन्यासमा नायक सप्तम आफ्नो ‘स्व’को खोजीमा घरव्यवहार, जागिर, व्यवसाय आदि सबै त्यागेर हिँडेको देखाएर टुङ्ग्याइएको छ । यसभित्र जीवन दर्शन, बुद्ध दर्शन र प्रेमको दर्शनलाई पनि मार्मिक तरिकाले उनिएको पाइन्छ । उपन्यासको नायक सप्तमले एकै साथ एउटा क्याम्पसको पूर्णकालीन प्राध्यापक, अर्को क्याम्पसको आंशिक प्राध्यापक, कानून व्यवसायी, जग्गा व्यवसायी, मोटिभेसनल स्पिकर, रेडियोको कार्यक्रम प्रस्तोता र लेखकको परिचय बोकेर हिँडेको छ । तर ऊ सन्तुष्ट छ त ? यो प्रश्न नै उपन्यासको बिउ हो ।

‘स्व’ उपन्यासभित्र नायक सप्तमलाई आफ्नो ‘स्व’को खोजी गर्न हरियो पत्रले काम गरेको छ । खोज्दै जाँदा त्यो हरियो पत्र अरू कसैले लेखेको नभएर विशेष मानसिक अवस्थामा ऊ आफैँले आफैँलाई सम्बोधन गरेर लेखेको हुन्छ । हामीभित्र पनि चेतन र अवचेतन दुईवटा मनका तहहरू एकै साथ सक्रिय रहेका हुन्छन् । यिनीहरूका बिचमा मेल कम बेमेल ज्यादा हुन्छ । चेतन मन समाज र संस्कारसँग सम्बद्ध हुन्छ भने अवचेतन मन ‘स्व’सँग सम्बन्धित हुन्छ ।

वास्तवमा हामी आफ्नो लागि ज्यादै कम र अरूका लागि ज्यादा बाँचिरहेका हुन्छौँ । त्यसले हामीमा मनोवैज्ञानिक समस्या सिर्जना गर्छ, त्यसैले ‘स्व’को पहिचान गरेर हिँड्न सक्यौँ भने हामी दुःखबाट मुक्त हुन सक्छौँ, यही निष्कर्ष हो ‘स्व’ उपन्यासको । यसका लागि बुद्धमार्गको उपयोग गरेको छ यो उपन्यासले ।

० ० ० ०

साँच्चै मान्छे के चाहन्छ हँ ?

आफूसँग जे छ त्यसमा सन्तुष्ट नहुनु मानवीय स्वभाव हो । आफूसँग जे छैन त्यसको खोजीमा लागिरहन्छ मान्छे । हामीले समाजमा हेर्यौँ भने यो कुरा हरेक ठाउँ, हरेक पल र हरेक व्यक्तिमा सजिलै भेट्न सक्छौँ । यस्तो सर्वव्यापी मानवीय स्वभावबाट एउटा लेखक पनि कसरी टाढा रहन सक्छ ? होइन त पाठकवृन्द ?

म यहाँ सिर्जन अविरल र सरस्वती प्रतीक्षाका लगभग सँगसँगै प्रकाशित उपन्यासहरूलाई लिएर मानवीय स्वभावको कुरा गर्दै छु । सामान्य मान्छेले पनि जानेको कुरा, सिर्जन अविरल लैङ्गिक हिसाब पुरुष हुन् भने सरस्वती प्रतीक्षा नारी । पाठकवृन्द, यदि तपाईंले यिनीहरूका हालसालै प्रकाशित उपन्यासहरू ‘तथागत’ र ‘स्व’ पढ्नुभयो भने उनीहरूले चयन गरेका प्रमुख पात्रबाटै त्यसको छनक पाउनुहुन्छ । ‘तथागत’को प्रमुख पात्र आनी दीपशिखा हुन् भने ‘स्व’को प्रमुख पात्र सप्तम हुन् । अब हेर्नुस् त पुरुषले नारी पात्र र नारीले पुरुष पात्रलाई अघि सार्नु भनेको आफूसँग नभएको कुराको खोजी गर्नु, हो कि होइन त ?

अर्को कुरा पनि गरौँ, सिर्जन अविरल र सरस्वती प्रतीक्षा दुवै मार्क्सवादी चिन्तनबाट दीक्षित र प्रशिक्षित लेखकहरू । यिनीहरू स्वभावैले भौतिकवादी । उनीहरूबाट बौद्ध धर्मसँग सम्बन्धित विषयमा आधारित भएर उपन्यास लेखिनु पनि त कम्ता आश्चर्यको कुरा हो र ? यी सबै आफूसँग नभएका चिजको खोजी बाहेक के हो त ?

बुद्ध धर्म आफैँमा धर्म हो कि दर्शन मात्र ?

गौतम बुद्धको महापरिनिर्वाण भएको केही समयपछि नै ‘बुद्ध धर्म’ भनेर बुद्धका विचारको चर्चा, परिचर्चा अनि प्रचार–प्रसार भारतीय उपमहाद्वीपमा हुँदै आएको पाइन्छ । त्यसपछि नेपाल र भारतका विभिन्न ठाउँमा बुद्धका ठुलाठुला मूर्तिहरू बनेका हुन् । त्यसपछि यो क्रम संसारका अन्य देशमा फैलिएको देखिन्छ । स्वयम् बुद्धले चाहिँ धर्मको स्थापना गरेका थिए कि दर्शनको ? यो बहसको विषय हो । आफैँमा मूर्तिपूजाका विरोधी बुद्धको मूर्तिपूजा गर्नु कत्तिको जायज कुरा हो ? यो हामीले ध्यान दिनुपर्ने कुरा हो । अझ गौतम बुद्धलाई त्यति बेला अस्तित्वमै नरहेका नेपाल र भारतजस्ता देशको नागरिक बनाउनमा उद्धत छौँ हामी । हाम्रो देशमा बुद्ध जन्मिए कि हामी बुद्ध जन्मिएको ठाउँमा जन्मियौँ ? हामीले बुद्धका वाणीलाई के कति अवलम्बन गर्यौँ ? यसका बारेमा चाहिँ कसले सोचिदिने ?

गौतम बुद्धले संसारमा दुःखै दुःख मात्र देखे । त्यसको समाधान कसरी पाउन सकिन्छ भनेर खोजी गरे । यही खोजीमा आधारित वैज्ञानिक चिन्तन हो बुद्धका वाणी । तर अचेल हामी बुद्धका वाणीलाई पछ्याउनुका साटो पूजा गर्नतर्फ अग्रसर छौँ । त्यसैले बुद्ध धर्म बुद्धले बनाएका होइनन्, उनले त केवल विचार वा दर्शन मात्र प्रतिपादन गरेका हुन् । पछि बुद्धका अनुयायीहरूले त्यसलाई धर्म बनाएर संसारभर फैलाए ।

‘तथागत’ र ‘स्व’ उपन्यासले उठाएको समान मुद्दा भनेकै हामीले बुद्धलाई कुन रूपमा पढ्यौँ ? कुन रूपमा बुझ्यौँ ? भन्ने हो । त्यति मात्र नभएर अबको पुस्ताले बुद्धलाई कुन रूपमा बुझ्दा राम्रो हुन्छ ? भन्ने सन्देश पनि हो । बुद्ध धर्म सुरुमा धर्म नभएर आचरण थियो, जीवनलाई हेर्ने वैज्ञानिक दर्शन थियो, तर अचेल त्यसलाई धर्मका रूपमा लिने र कतिपय अवस्थामा व्यापार बनाउने काम पनि भएकोमा कलात्मक विरोध पनि गरिएका छन् यी कृतिमा ।

० ० ० ०

‘तथागत’ र ‘स्व’ साँच्चै बुद्ध दर्शन नै हुन् त ?

दार्शनिक विषयमा उपन्यास लेखिन सक्छन्, तर दर्शन आफैँमा आख्यान भने हुन सक्दैन । यदि सिङ्गो उपन्यासमा दर्शन नै दर्शन ओकल्न थालियो भने त्यो उपन्यास कदापि बन्दैन । त्यसैले ‘तथागत’ र ‘स्व’ उपन्यास हुन्, दर्शन होइनन् । कृतिको प्रचारमा प्रकाशकहरू के लेख्छन् ? हेरौँ है त ।

‘तथागत’ उपन्यासको पछिल्लो आवरणमा लेखिएको छ : “एउटी आनीको कथा हो तथागत । बुद्धकालीन समय र दर्शनमा टेकेर लेखिएको प्रस्तुत आख्यानमा बुद्ध दर्शनसँगै भौतिक र आध्यात्मिक जीवनको फ्युजन भेटिन्छ ।” (तथागत)

माथिको साक्ष्यले ‘तथागत’ बुद्ध दर्शनमा आधारित उपन्यास हो भनेर ठोकुवा गरेको छ । उपन्यास पढ्दै जाँदा गुम्बाभित्र भिक्षु र आनीले पालना गर्नुपर्ने पञ्चशील, अष्टशीललगायतका विभिन्न खालका शीलहरूको चर्चा ठाउँठाउँमा पाइन्छ । कताकति धर्म देशनाका क्रममा बुद्धका कुराहरू पनि आउँछन्, बस् त्यत्ति हो । बाँकी त आनी दीपशिखा र आनी रिन्छेनका कुराकानी मात्र आउँछन् । यसरी गरिएका कुराकानी पनि कतै सारै कमजोर खालको पाइन्छ भने कतैकतै केही उत्कृष्ट खालको पनि पाइन्छ । त्यसो त आनी रिन्छेनले दीपशिखालाई पछिसम्म पनि ‘बालखी’ भनेर सम्बोधन गर्छिन् । यसले उनमा परिपक्वता नआएको हो कि भन्ने भ्रम पाठकमा पर्छ । यस्ता कुराकानीलाई बुद्ध दर्शन भनिनु कत्तिको जायज हो ? एउटा सचेत पाठकका मनमा उठ्ने सवाल हो यो ।

त्यस्तै ‘स्व’ उपन्यासको पछिल्लो आवरणमा लेखिएको छ : “मूल कथामा बौद्धमार्ग प्रतिको प्रेम छ तथापि मौलिक अनुभव र अनुभूतिको बलमा आफूले आफैँलाई खोजिरहँदाका आरोह–अवरोहले उपन्यासको कथानकलाई चित्ताकर्षक र बलियो बनाएको छ ।” (स्व)

माथिको साक्ष्यले ‘स्व’ लाई बौद्ध मार्गप्रति प्रेम भएको मात्र देखाएको छ । उपन्यास पढ्दै जाँदा त्यसमा सातवटा कर्म देशना पढ्न पाइन्छ । त्यसबाहेक अत्याधुनिक खालको गुम्बाभित्र रहेको प्राचीन जीवनशैली देख्न पाइन्छ । एक हप्ताका लागि मौनता धारण गरेका भिक्षुहरू भेट्न सकिन्छ । यी सब कुरा जादुयी तरिकाले उपन्यासमा आएका छन् । अत्यधिक तनावका कारण गाडी चलाएर घर बाहिर निस्केको सप्तमको गाडी ट्रकसँग ठोक्किएर दुर्घटना भएपछि एक हप्तासम्म इन्तुचिन्तु भएर अस्पतालको आइसियुमा भर्ना भएको अवस्थामा उसले सपनाका रूपमा कर्म देशना सुनेको छ । अस्पतालबाट डिस्चार्ज भएर घरमा लगिएपछि आफ्नी प्रेमिका काव्यालाई समेत प्रत्यक्ष रूपमा केही नभनी एउटा चिठी लेखेर आत्मिक शान्ति र ‘स्व’को खोजीमा सप्तम घरबाट निस्केको छ । यसरी नायक बुद्धमार्गमा लागेको भए पनि ‘स्व’ उपन्यास बुद्ध दर्शन नभएर आख्यान नै हो ।

‘तथागत’ र ‘स्व’का आख्यानका रूपमा प्राप्ति

हामी बुद्धले पाइला टेकेको भूमिमा छौँ । त्यसैले बुद्धलाई बुझ्न हामीलाई टाढा जानु पर्दैन । यो संसार दुःखमय छ । भौतिकवादी दुनियाँमा धेरै मानिस डिप्रेसनको शिकार भएका छन् । त्यसको समाधान भने शान्तिको खोजी हो । यो संसार दुःखालय हो । दुःखबाट मुक्तिको खोजी बुद्ध वाणीमा छ । हो, यस्तै यस्तै जीवनोपयोगी कुराको खोजी ‘तथागत’ उपन्यासमा छ, हेरौँ एउटा साक्ष्य :

“जगत्मा दगुरिरहेको मान्छे स्वयम्लाई थाहा छैन, किन दगुरिरहेको हो । संसार केवल दृष्टिभ्रम हो । सांसारिक मान्छे बाहिर हेर्छ । आफूभित्र हेर्ने चेष्टा गर्दैन । जीवन छोटो र मृत्यु शाश्वत छ । आफूले प्राप्त गरेका कुनै पनि कुरामा मानिस सन्तुष्ट छैन । यो नै दुःखको सुरुआत हो ।” (तथागत, पृष्ठ : ८५)

बुद्धले यो संसारलाई दुःखको भण्डार भने । सिर्जन अविरलले बुद्धवाणी पछ्याउँदै आफ्नो ‘तथागत’ उपन्यासमा संसारलाई दुःखालय भने । त्यसकै पुष्टि गर्ने काम उपन्यासभरि गरेका छन् । बुद्धका वाणीको पछाडि लाग्नु नै यो उपन्यासको मूलभूत प्राप्ति हो ।

त्यस्तै ’स्व’ उपन्यासको सुरुमा सामान्य हिन्दु परम्पराको जीवनशैली बाँचेको सप्तमको दिनचर्या चित्रण गरिएको छ । भगवान्प्रति त्यति रुचि नराखे पनि उसले सानैमा बाबुको मृत्यु हुँदा हिन्दु परम्पराले किरिया गरेको देखाइको छ । त्यसैले ऊ हिन्दु हो तर सवारी दुर्घटनामा परी बेहोस रहेको अवस्थामा ऊ एक हप्ताका लागि अस्पतालको आइसियुको बेडमा पल्टिन्छ । त्यतिबेला उसले देखेको सपनामा बौद्धमार्गी भएको छ । दुवै हातले उत्तिकै लेख्न सक्ने सप्तमलाई अवचेतन अवस्थाको सप्तमभित्रको ‘स्व’ले हरियो मसीले लेखेको चिठी नै यो उपन्यासको मुख्य आकर्षण हो ।

अन्य उपन्यासभन्दा फरक ‘स्व’मा एउटा छोराले बाबुआमाले गरेका यातनाका विरुद्ध गर्ने अपार घृणा, एउटी छोरीले बाबुको तिरस्कारलाई देखाउन गरेका प्रतिशोध, आततायी बाबुका हात काटेर आमालाई उपहार दिनेजस्ता घटना यसका डरलाग्दा चित्रण हुन् । यसबाहेक पनि यसभित्र जीवनका विविध आयाम चित्रण गरिएको छ । जीवन, प्रेम, समाज, संस्कार, भोगाइ, नारीका भावना, सम्यक् विद्रोह यसका मूलभूत प्राप्ति हुन् । काव्यात्मक भाषाशैली यसको कलात्मक मूल्य हो । समग्रमा बुद्ध दर्शनलाई सामान्यीकरण गरी लेखिएको ‘स्व’ उपन्यास नेपाली उपन्यासको एउटा उच्चतम प्राप्ति हो ।

  ० ० ० ०

समापनका कुरा

साहित्य लेख्नु भनेको ध्यानमा बस्नु जस्तै हो । ध्यानमा नबसी साहित्य लेख्न सकिँदैन । अझ त्यसमा पनि उपन्यास लेख्न त लामै ध्यानमा बस्नुपर्ने हुन्छ । फुर्सदका समयमा यसो लेखेर कहाँ उपन्यास बनाउन सकिन्छ र ? नेपालमा आजका मितिसम्म लेखेरै बाँच्न सक्ने स्थिति नभएकाले अन्य पेसामा लागेका व्यक्तिहरू साहित्यकार बनेका छन् । फुल टाइम साहित्यकार त हातका औँलामा गन्न सकिन्छ । यसरी फुर्सद नभएकाबाट लेखिएका उपन्यासमा त्यसको कसरमसर प्रशस्त देखिनु स्वाभाविकै हो ।

सिर्जन अविरल निकै व्यस्त व्यक्ति हुन् । उनबाट ‘तथागत’ जस्तो उपन्यास आउनु स्वागतयोग्य कुरा हो । उनले यसका लागि खोजी गरेको पनि देखिन्छ, तर उनले खोज्दा एउटी आनीको कथा भेटे, त्यसलाई उपन्यास बनाउने हतारो गरे । यसरी हतार गर्दा कृति कसरमसरयुक्त बन्यो । उनले एउटी आनीको कथा त लेखे, तर त्यो कथालाई उपन्यास भनेर छपाउँदा हामी पाठक मारमा परेको पक्कै हो । यसरी प्रस्तुत गर्दा आवृत्तिदोष प्रशस्त देखिएको छ । उपन्यासका हरेक शीर्षकीय खण्डमा नयाँपन छैन । उपन्यासको प्लटको राम्रो विकास भएको छैन । परिवेश चित्रणमा समस्या आएको छ । उही दुःखको कथा बारम्बार आउँछ । दीपशिखाको बाल्यकाल पटक पटक दोहोरिन्छ । आनी दीपशिखाको उमरेमै शङ्का गर्न सकिन्छ । किनकि जताबाट जोड्दा पनि उनको उमेर चालीसभन्दा बढी पुग्दैन, जबकि उपन्यासमा उनलाई पचासभन्दा माथिको देखाइएको छ । यी यस्ता हतारोका कारण पाठक दिक्क हुन पुग्छ ।

तुलनात्मक रूपमा सरस्वती प्रतीक्षाको ‘स्व’ उपन्यासमा त्यस्ता कसरमसर कम छन् । उनले कृति प्रकाशन गर्न हतारो गरेकी छैनन् । लेखनमा लामो समय लगाएकी छन् । त्यसको स्वीकारोक्ति उनी यसरी गर्छिन् : “जब उपन्यास लेख्न बसेँ, दिनको आठदेखि एघार–बाह्र घण्टा लगातार लेखिरहेँ । नन स्टप–राइटिङ भनेजस्तो केही घटित भो मेरो जीवनमा । त्यो पनि एक दिन होइन, दुई दिन होइन, महिनौँ महिनासम्म ।” (स्व, पृष्ठ : इ)

अन्त्यमा, मेरा समकालीन मित्रहरू सिर्जन अविरल र सरस्वती प्रतीक्षालाई उनीहरूका नवीनतम उपन्यास ‘तथागत’ र ‘स्व’का लागि हार्दिक बधाई दिन्छु । कम्तीमा अबको एक वर्ष नेपाली उपन्यासका क्षेत्रमा उनीहरूको उपन्यासले राज गर्नेछ । त्यसका लागि मुरी मुरी शुभकामना दिँदै सफलताको कामनासहित कलम रोक्छु ।