‘एउटै यात्रा, फरक–फरक तथ्य’ शीर्षकमा ‘साहित्यपोस्ट’ अनलाइन पत्रिकामा २०८१ जेठ २७ गते प्रकाशित महेश पौड्यालको लेख(एउटै यात्रा, फरक-फरक तथ्य | साहित्यपोस्ट (sahityapost.com))लाई प्रायःले ‘तुलनात्मक समालोचना’को रूपमा लिएको पाइयो । एउटै यात्रामाथि लेखिएका भवानी खतिवडाको ‘आकाश ओढेको डोल्पो’ र मेरो ‘डोहोडोहो डोल्पो’लाई तुलना गरेर तयार पारिएजस्तो देखिने अनि पछिल्लो समय ‘समालोचक’कै परिचय बनाउँदै आएका पौड्यालले लेखेको कुरा ‘समालोचना’ लाग्नु स्वाभाविकै हो । तर, समालोचना भनेको ‘खास विषयका राम्रा-नराम्रा पक्षको मूल्याङ्कन निष्पक्षताका साथ गर्ने काम’ हो भन्ने पौड्याललाई चाहिँ राम्रोसित हेक्का रहेछ । त्यसैले सायद, अरूले समालोचना, समीक्षा, आलोचना… जे ठाने पनि र साहित्यपोस्टले ‘पुस्तक समीक्षा’ नै भनेर प्रकाशित गरे पनि उनी स्वयम्-ले भने उपरोक्त लेखलाई ‘पिपलबोटे निबन्ध’ नाम दिएका छन् र त्यसैको अन्त्यमा लेखेका छन्, ‘भँडास, कुण्ठा, घरेलु कलह, कसैको अतिशयोक्तिपूर्ण प्रशंसा, असन्तुष्टि, कृतघ्नता, नकारात्मकता… यी भाव धेरै छन् भने मैलेजस्तो पीपलबोटे निबन्धतिर लागौँ, जति पनि हिर्काउन पाइन्छ, जसलाई पनि !’ आफ्नो लेखनलाई उनैले त्यसो भनिदिएपछि उनले ‘भँडास, कुण्ठा पोख्नैका लागि त्यो लेखेका रहेछन्’ भन्न त सजिलै सकियो तर कसरी ? त्यसबारेमा केही चर्चा गरौँ ।
आफूले जाने–बुझेसम्मको यथार्थ लेख्ने प्रयास गर्ने हो हरेक लेखकले । आफूले सही ठानेको सोह्रै आना सही नहुन पनि सक्छ । गलत भएको ठाउँमा कसैले पक्डियो, सुझायो भने त्यसबाट हरेक लेखक सचेत र सजग हुनै पर्छ । बडो चतुर्याइँपूर्वक पौड्यालको उपरोक्त लेखलाई ‘लेखकहरूलाई सचेत बनाउन’ लेखेजस्तो देखाएका छन् । तर, यथार्थ भिन्नै छ ।
आफ्नु किताबबारे राम्रो नलेखिदिएकै कारण मैले यो जबाफ लेख्नुपरेको किमार्थ होइन । भर्खर दुइटा किताब निकालेको र एक दर्जनजति मात्र लेख–संस्मरण पत्रिकाहरूमा प्रकाशित गरेको भए पनि स्याबासी र आलोचना दुवै खान पाएर धेरथोर परिपक्वता मैले सिकिसकेकी छु, गल्तीकमजोरी सच्याउँदै आएकी पनि छु । भए–नभएको कुतर्क गरेर मेरो घरपरिवारलाई नै भड्काउने र ‘यसलाई अब आइन्दा घरबाट निस्कनै नसक्ने, लेख्नै नसक्ने बनाउँछु’ भन्ने पौड्यालको नियतको प्रताडनाले मलाई यो जबाफ लेख्न बाध्य बनाएको तथ्य यहाँहरूले पक्कै बुझ्नुभएको छ वा बुझ्नुहुने नै छ।
हामी चार— सरस्वती अर्याल, भवानी खतिवडा, प्रभा बराल र म रञ्जु दाहालको उक्त यात्रालाई पौड्यालले ‘एउटै लक्ष्य साँधेर यात्रामा निस्केका’ भनेर सुरुवातमै ठोकुवा गरिदिएछन् । सँगै हिँड्ने, पुग्नेको गन्तव्य एउटै हुन सक्ला, लक्ष्य एउटै नहुन सक्छ । लक्ष्य भनेको उद्देश्य, ध्येय हो, जो व्यक्तिपिच्छे फरकफरक हुन सक्छ । कोहीको लक्ष्य धर्म होला, कोहीको यात्रा, कोहीको साहित्यिक लेखन, कोहीको शारीरिक कसरत, कोहीको दृश्यावलोकन अथवा त्यस्तै केही ।
सुरुमा पौड्यालले ‘स्तुतिपर्व’ भनी उडाएरै भए पनि हामी दुवैको लेखनीको बराबर प्रशंसा गरेछन्, ‘दुवै उम्दा छन्दकवि, दुवै नियात्राकार पनि, भाषामा सम्मोहक पकड दुवैको, दुवै लालित्यपूर्ण अभिव्यक्तिका धनी, दुवै वस्तुहरूको सूक्ष्मदर्शन र अद्भुत वर्णन गर्ने क्षमता राख्ने सर्जक, दुवै ऊर्जावान्, दुवै सकारात्मक सोचका धनी, दुवै कर्मशील साधक, दुवैको सम्मोहक भाषा र गहिरो चिन्तन, दुवैको शुद्धाशुद्धिको ज्ञान असामान्य ।’
यसरी ‘दुवै’को व्यापक प्रशंसाबाट सुरु गर्नेले एउटालाई उचाल्ने र अर्कोलाई खसाल्ने काम किन गरे ? मेरो लेखनलाई खिस्याउँदा-खिस्याउँदा वाक्क लागेको बेला ‘यता पनि यसो भनेझैँ गरौँ न’ भन्ठान्दै खतिवडाको किताबबारे एक ठाउँमा पौड्याल लेख्छन्–
‘कतिपय पात्रको भाषा उनीहरूको स्तरसम्म त देखिँदैन । मदारीसम्मुख परेको सर्पझैँजस्ता वाक्यांश मिस्फिट लाग्छन् । कतै गढतीर, कतै गडतीर नहुनुपर्ने । एक ठाउँ भर्तृहरिको नीतिशतकको कुरो छ तर स्रोतसन्दर्भ छैन । मूल श्लोक पनि उद्धृत छैन । छेलिङ गुम्बाका सन्दर्भमा लेख्छिन्, ‘यस गुम्बामा अन्यत्रका गुम्बाजस्तो रौनक देखिएन । धजापताकाको झिलीमिली छन् ।’ यहाँ, झिलीमिली छ भनेको हो कि छैन भनेको हो, बुझिएन । ‘छन्’ र तथ्यगत र व्याकरणगत दृष्टिले पनि मिल्दैन । अर्थमा भने ठूलै अनर्थ हुन गएको छ ।’
पेटबोलीमा यस्तो उदाहरण दिने पौड्याललाई सोही किताबलाई ‘शुद्धाशुद्धिको ज्ञान असामान्य’ भएको भन्न रत्ति धक किन नलागेको ? हुन त पौड्यालकै लेख भरमार अशुद्ध देखिनुले उनीसित ‘शुद्ध वा अशुद्ध भन्न सक्ने ल्याकत’ नरहेको पुष्टि हुन्छ । आफ्नो क्षमता नभए–नरहेको कुरामा सर्वज्ञ भएर ठीक–बेठीक, राम्रो–नराम्रो औँल्याउन वकिल नै चाहिन्छ, त्यो धर्म उनले पूरा गरेका छन् । यसर्थ पनि उनको उपरोक्त लेख समीक्षा, समालोचना केही पनि होइन । उनैले भनेझैँ ‘पिपलबोटे निबन्ध’ नै हो, कुनै एक पक्षको वकालतमात्रै हो । सार्वभौम कुरा हो— समालोचना, समीक्षा न्यायाधीशजस्तो निष्पक्ष हुनुपर्छ, वकिलजस्तो पक्षधर होइन । वकिलबाट त अपराधीले अपराधीकै, निर्दोषले निर्दोषकै पक्षमा वकालत गराउँछन् । यहाँ कुन पक्षले, केको स्वार्थ साँध्नका खातिर वकालत गर्न पौड्याललाई उक्साए ? के जित्न वा के पाउनका लागि उनले त्यो वकालतनामा स्विकारे ? त्यसको कारक वा लाभ–हानी लगाउने र गर्ने पक्ष नै जानून् !
मेरो अघिल्लो यात्रानिबन्ध ‘प्रियसँगको यात्रा’को विमोचनका प्रमुख वक्ता पौड्याल नै थिए । तर, उनले त्यसबखत किताबभित्र हुँदै नभएको गोर्खाको प्रसङ्ग घरीघरी वर्णन गर्न थालेपछि कार्यक्रममा हल्लीखल्ली सुरु भयो । त्यसपछि उनी ‘मेरा कुरा नसुन्ने ?’ भन्दै राँक्किँदै मञ्चबाटै दर्शकलाई गाली गर्न थाले । किताबै नपढी बोल्न उभिएको भनेर अन्य वक्ताले समेत उनको आलोचना गरेपछि कार्यक्रमपश्चात् उनले ‘पछि किताब पढेर पत्रिकामा समालोचना गर्छु’ भन्ने प्रतिबद्धता व्यक्त गरे । केही दिनपछि कवि ऋषभ घिमिरेले ‘लेख्छु त भने तर पैसा नदिई तिनले लेख्दैनन्’ भनेपछि घिमिरेलाई नै साक्षी राखेर मैले खामबन्दी रकम पौड्याललाई दिएँ । तर, गएको ५ वर्षबीचमा उनले त्यो किताबबारे न त कतै केही लेखे न लिएको पैसा नै फिर्ता गरे ।
‘पैसा लिएर पनि लेख्न मन नलाग्ने’ खालकी मजस्ती नयाँ लेखिकाको किताबबारे तुलनात्मक अध्ययन गर्न पौड्यालजस्ता समालोचकलाई अकस्मात् यति हतारो र बाध्यता के पर्यो होला ? आफू अतिव्यस्त रहेको, पैसा नलिई आइन्दा समालोचना, भूमिकासमेत लेख्दिनँ भन्दै ‘प्रतिनिधि’समेत नियुक्त गरेको सार्वजनिक घोषणा गरिसकेका पौड्यालले मेरो किताब बजारबाट आफैँले किनीकिनी किन चिरफार गरे ? त्यतिमात्रै होइन, उनकै फेसबुक स्टाटसअनुसार उक्त लेखबारे नकारात्मक कमेन्ट गर्नेहरू ‘सबैलाई’ फोन गरीगरी स्पष्टीकरण किन लिँदै हिँड्दै छन् ? छैन त रहस्यमय ?
पौड्यालले मेरोभन्दा भवानीको पुस्तक अगाडि निस्किएको र ‘जेठो हुनु’ नै ‘सही हुनु’को भाष्य निर्माण गर्न खोजेका रहेछन् । केही दिनअघि निस्कँदैमा सही हुने र पछि निस्कनेको गलत हुने मापदण्ड उनले बनाउँदैमा सही पक्कै नहोला ।
बीचबीचको आधा–अधकल्चा टुक्राटाक्री टिपेर ‘रञ्जुले पतिलाई भाँजो हाल्न खोज्ने, यात्राको अनुमति दिन कञ्चुस्याइँ गर्ने, पितृग्रन्थीबाट ज्यादै ग्रस्त इत्यादि भनेकी छिन् भन्दै पौड्यालले मेरो पतिप्रतिको ‘घोर असन्तुष्टि’ नै घोषणा गरिदिएछन् ! ‘घरायसी कुरा लेख्नै नहुने’ तर्क गर्ने पौड्यालको आशय म गलत छु भन्ने देखाउन उद्यत देखिन्छ । तर, यथार्थ भने बिल्कुलै उल्टो छ । मैले भूमिकामै लेखेकी छु, ‘पतिदेव विजयकुमार उपाध्याय र परिवारजनलाई छुटाउने हो भने मेरो जिन्दगीको यात्रामात्रै होइन, साहित्यिक यात्रासमेत अधुरो हुनेछ ।’ डोल्पायात्राको क्रममा पतिको असहमति त पक्कै लेखेकी छु तर त्यसको कारणसमेत लेखेकी छु— मौसमको गडबडी । खराब मौसमको कारण प्लेनबाट गर्न लागेको हाम्रो यात्रा अकस्मात् क्यान्सिल हुन्छ र बसयात्राको तयारी हुन्छ । पतिबाट सौहार्द स्वीकृति लिएरै उक्त यात्राको योजना बनाएकी मलाई हिँड्ने बेलामा भने मौसम बिग्रिएकाले ‘अहिले नजान’ पतिले आग्रह गर्छन् । झोला बोकेर हिँड्नै लागिसकेको मान्छे, रोकिनु ठीक मान्दिनँ । आफ्नै मान्छे हुन्, सम्झाउँला भन्ठान्दै बाटो लाग्छु । पति रिसाउलान् कि भन्ने डरैडरमा मेरो यात्रा टुङ्गिएको छ । पौड्यालले सोही कुरालाई जबरजस्ती भाँचभुँच पारी ‘पतिलाई तथानाम भनिन्’ भन्दै उछित्तो काढेछन् । मेरो साहित्यिक यात्राका प्रेरक, कति यात्रामा सहयात्रीसमेत बन्दै आइरहेका पतिसितको सम्बन्धलाई वनावटी कुतर्क गर्दै मेरो घरै भाँड्दिन खोजेर महेशहरूले लाभचैँ के हासिल गर्ने रहेछन् ? अरूको घर भाँडेर कुन समालोचकीय धर्म निर्वाह हुने रहेछ ?
अलिकति पतिको आग्रहलाई अटेर गरेर हिँडे पनि पतिले त्यसलाई ठूलो कुरो बनाउँदैनन् भन्नेमा विश्वस्त मलाई यात्राभरि नै आफ्नो मोबाइल बज्ला र उहाँको फोन आउला भन्ने आशा थियो । सम्बन्ध राम्रो भएकैले त हो मलाई पतिको फोनको आशा भएको ! आउनुपर्ने फोन नआउँदा कतै पति रिसाए कि भन्ने डरैडरमा मनभित्र उब्जेका शङ्का–उपशङ्का लेखेकी छु— कतै उहाँको मनमा नकारात्मक कुराले घर पो गर्यो कि ! पारिवारिक सम्बन्ध राम्रो भएरै त पतिले नगए हुन्थ्यो भन्दाभन्दै जाने आँट गरेकी हुँ मैले । यत्ति सानु कुरामा रिसाउने पति होइनन् भन्ने नै त हो मैले पतिको फोन आउला भनेर आशा गर्नुको अर्थ ! यही कुरालाई भाँचभुँच पारी ‘भयानक’ बनाएर लोग्ने–स्वास्नीको सम्बन्धै बिग्रेको ठोकुवा गर्दिने महेशको नियत के हो ?
केही महिनाअघि हिमालय टाइम्स दैनिकमा प्रकाशित मेरो संस्मरण ‘केटा साथी’ले साहित्यिक वृत्तमा निकै तरङ्ग ल्यायो । त्यसको परिणामस्वरूप त्यसमा इङ्गित कुपात्रहरूले ममाथि प्रतिशोध साँध्ने खतरा त मनग्य थियो । तर, महेश पौड्यालजस्तो मान्छे गोटी बनेर यसरी सतहमा देखिएलान् भन्ने अन्दाज भने मलाई पटक्कै थिएन ।
‘घरको सानोठूलो असमझदारी लोकको अगाडि छताछुल्ल गर्नुनहुने’ उपदेश दिँदै पौड्यालले मैले लेखेको अंश भने यस्तो उधृत गरेछन्—
‘यात्रारत बाटोमा मात्रै दोबाटो भेटिने कहाँ हो रहेछ र ! मनले पुर्याउने दोबाटोमा त झन् कति धेरै दुविधा हुँदारहेछन् हगि !’ यसै कारण उनले आफूलाई एक ठाउँमा ‘घाइते चरी’ भनेकी छिन् । लेख्छिन्, ‘भित्री चोट देखिँदैन नि है साँच्ची !’ अर्को एक प्रसङ्गमा भन्छिन्, ‘घरबाट निस्कँदा लट्टाईको धागोसँगै बाँधिएकी चङ्गाजस्ती थिएँ ।’ लेख्छिन्, ‘गाडीको झ्यालबाट देखिएको सिस्ने हिमाल आफूजस्तै लाग्यो— बादलु घुम्टो शिरबाट हटिसक्दा पनि स्वतन्त्र मुस्कुराउन नसकिरहेको ।’
यस्तोमा पौड्याल त उल्टै प्रश्न पो गर्छन् बा— ‘एउटा यात्रा विवरणको कृतिमा यो सबै आवश्यक थियो ?’ घरायसी कुरा लेख्नै हुँदैनथ्यो अरे ! उनकै तर्क पत्याइदिऊँ ! ममाथि यस्तो प्रश्न गर्नेले खतिवडाले घरपरिवारबारे लेखेको प्रसङ्गमा चाहिँ खुलेरै ‘स्याबासी’ दिएका छन् । घरायसी कुरा सकारात्मकमात्रै लेख्न पाइने हो ? कि नारीहरूले स्तुतिगानमात्रै गर्नुपर्ने, यथार्थ लेख्नै नपाउने हो ?
हेर्नुस् त पौड्यालको भाषा— ‘बाटोमा पर्ने सिस्ने हिमाललाई बादलको घुम्टोले ढाकेको देख्दा पनि उनको भँडास उसैगरी आत्मगत बनेर निस्केको छ ।’ मेरो लेखनीलाई ‘भँडास पोखेको’ देख्ने यिनै महेशहरू होइनन्— रोचकता, रसात्मकता, निजात्मकता, अनुभूतिविनाको सपाट यात्रावर्णन, स्थानपरिचय आदि ‘नियात्रा’ हुँदैन भनेर कुर्लिंदै हिँड्ने ?
ठाउँठाउँमा यस्तै वनावटी चित्रण गरिदिएर ‘आफू पितृसत्ताको दलनमा निरीह बनेकी छिन् भन्ने सन्देश दिन खोजिरहेकी छिन् रञ्जु’ भन्ने महेशको बौद्धिक कुरूपताको यस्तो स्वरूप उक्त लेखभरि यत्रतत्र देख्न पाइन्छ ।
कसैलाई ‘फटाहा !’ भन्न केही प्रमाण चाहिँदैन, उस्सै भन्दिए सुन्नेले ‘फटाहा भएको’ पत्याइदिन्छन् । तर, त्यो पत्याइलाई काटेर ‘फटाहा होइन’ भन्ने पार्न त्यो फटाहा भनेर आरोप लगाइएको मानिस कुन अभिघातसँग जुध्नुपर्छ, यो कुरा गहिरोसँग बुझेका पौड्यालले यही फर्मुलालाई ठाउँठाउँमा दुरुप्रयोग गरेका छन्, आधाआधा कुरामात्र साभार गर्दै ।
भवानीले ‘सहयोगीहरूप्रति छाती फुकाएरै कृतज्ञता प्रकट गरेको’ देख्ने पौड्यालको आँखाले मैले प्रत्येक ठाउँमा दर्शाएको कृतज्ञता फिटिक्कै देख्दैनन् । सिर्फ देख्छन्— बास बसेको एउटा ठाउँमा गरेको चित्रण— ‘लामो समयदेखि अतिथिसत्कार गर्न नपाएर मुसा र पातपतिङ्गरले राम्रै राज गरेको निकुञ्जको अतिथिकक्षका कक्षपति बन्यौँ हामी चार ।’
पौड्यालको लेखमात्र पढ्नेलाई उनले भनेका कुरा हो झैँ लाग्छन् । किनकि, त्यही अतिथि–कक्षबारेको कृतज्ञता पौड्यालले उद्धृत गरेको अंशको ठीक अगाडि छ ‘झोलुङ्गे साँघु तरेपछि हाम्रो स्वागतार्थ खटाइएका दुई प्रहरीले अँध्यारो रातमा हाम्रा लागि बिल्कुलै नयाँ सुलीगाडसम्मको दश–पन्ध्र मिनेटको बाटोलाई टर्चलाइटको प्रकाशले झलमल्ल पारिदिए ।’ त्यो अंशको ठीक मुनि कृतज्ञताकै लागि प्रह्लाद पोखरेलको कवितांश साभार गरेकी छु । त्यसमाथि त्रिपुराकोटमै आनन्दले बास बस्ने हामी तीन जनाको इच्छालाई कुल्चेर कर्मचारीको रबाफ देखाउँदै भवानीले जबरजस्ती निकुञ्जको अतिथिकक्षसम्म पुग्न बाध्य बनाएको त पौड्यालजीलाई के थाहा !
पौड्यालले दिएको अर्को उदाहरणलाई हेरौँ—
‘डोल्पाको प्रवेशद्वारमा रहेको प्रहरीचौकीमा सबैको नाम र ठेगाना टिपाउनुपर्ने नियम छ । सबैजना सशरीर जानुभन्दा भवानी एक्लै पोस्टमा जान्छिन् र त्यहाँ तैनाथ प्रहरीलाई अनुरोध गरेर एक्लैले सबैको विवरण टिपाउँछिन् । रञ्जुले चाहिँ यहाँ विवरण टिपाएको होइन, अर्को बाटो गएर चौकी छलेको भनेकी छिन् ।’
हामीलाई गाडीमै छाडेर भवानी एक्लै पोस्टमा गएकी थिइन् । भवानी हिँडेपछि गाडीमा केके भयो ? उनलाई के थाहा ! उनी गएपछि गाडीवालाले ‘झोला गाडीमा राखेर तपाईँहरू चौकीमाथिसम्म हिँडेर गइदिनुस्’ भन्यो । सिटमा बस्नेबाहेकका हामी हिँड्यौँ । तर, ‘भवानीकै अनुसार…’ भन्दै पौड्यालले ‘चौकी छल्न गरिएकै होइन’ भनेर ठोकुवा गरेछन् ! चौकी छल्ने र नछल्ने कुरा किताबमा भवानीले लेखेकी छैनन् । पटकपटक ‘भवानीका अनुसार….’ भनेर गरिएका दाबीहरू भवानीले कानमै सुनाएको होइन र ? त्यसमाथि ‘पाठक बहुलाउनु ?’ भन्दै प्रश्न उठाउनुपर्ने के छ यसमा ?
पौड्याल लेख्छन्, ‘अलि अगाडि छ बगर । बगरबाट साँझ छ बजेपछि गाडी अगाडि जान दिइँदैन । तर, भवानीलाई जसरी पनि दुनै पुग्न पाए हुन्थ्यो भन्ने छ । त्यसैले उनी डोल्पाका तत्कालीन प्रमुख जिल्ला अधिकारी माधव ढकाललाई फोन गरेर आफूहरू चढेको गाडीलाई ढिलै भए पनि प्रवेश दिन विशेष अनुरोध गर्छिन् । सिडिओले प्रहरीलाई फोन गरेर अनुमति दिलाइदिन्छन् । माधव ढकालको यसै सहयोगप्रति रञ्जुको प्रतिक्रिया यस्तो छ— ‘फेरि पनि रोकेन हामीलाई नियम–कानुनले । त्यसो भनेर गर्व गरौँ कि आफूलाई नैतिकवान् सम्झिने लेखक हामी स्वयम्-ले सोर्सफोर्स लगाएर नियम मिच्यौँ भनेर हीनताबोध ?’
यस्तो भनेकैमा पौड्याल अर्ति थोपर्छन्— ‘नैतिकताप्रति यत्तिकी सचेत रञ्जुले पालो मिचेर, सोर्स लगाएर रमाना गराइएको गाडीमा ‘जान्नँ’ भन्ने साहस देखाउनुपर्थ्यो । यसरी मिलाइदिएको सरकारी अतिथिगृहमा ग्लानि पालीपाली बस्नुभन्दा पैसा तिरेर कुनै होटलमा बस्ने हिम्मत गर्नुपर्थ्यो ।’
यात्राक्रममा सजिलो–अप्ठ्यारो परिरहन्छ, मीठो–नमीठो मिल्न सक्छ, नमिल्न पनि सक्छ । सजिलो भए बस्ने, नभए नबस्ने, मीठो भए खाने, नभए नखाने; यस्तो अवसर पौड्यालहरूले उनीहरूको घरमा त पाउलान्, यात्रामा पाइँदैन । जेजस्तो मिल्छ, स्विकार्नुपर्छ ।
पौड्यालजस्ता चल्तापुर्जा समालोचकले लेख्ने भाषा र सोच हेर्नुस् त— ‘रञ्जु दाहालमा अर्को पनि ग्रन्थी सक्रिय भएको देखिन्छ । उनलाई लाग्छ, नेपाली समाज महिलाप्रति ज्यादै असहिष्णु छ ।’ ‘यस्तो त हाम्रो समाजमा हुँदै नभएको कुरा हो’ भन्ने दाबी पौड्यालको छ । ‘पर्यटनकै लागि प्रसिद्ध यस्तो ठाउँमा कसैले लिङ्ग र उमेरलाई हेरेर टिप्पणी गर्दै गर्दैन, गर्यो भने पनि त्यो नेपाली समाजको स्वभाव हुँदै होइन, नेपाली समाजले यस्तो कल्पना गरेकै छैन’ भन्ने पौड्यालको तर्क आफैँमा हास्यास्पद छैन र ?
‘फरक–फरक तथ्याङ्क, अलमलमा पाठक’ उपशीर्षकमा उनले केही घटनाक्रम टिपेर तुलना गरी ‘दुईमा एक जनाले पाठकलाई भ्रममा पारेको र अन्याय गरेको’ भन्दै मैले लेखेका कुराहरूलाई नै गलत साबित गर्ने भरमग्दुर प्रयास यसरी गरेका छन्ः
‘भवानी भन्छिन्, दाङको खैरामा गाडी रोकिएन । अर्कोतिर त्यसै खेराको बारेमा रञ्जु भन्छिन्, त्यहाँ गाडी रोकियो, उनी झरिन् र त्यहाँको माटोलाई प्रेमवश छोइन् । लेख्छिन्, ‘मैले यौटा चाहना हासिल गरेँ । मैले दाङको माटो टेकेँ ।’ भवानीका अनुसार त्यहाँ गाडी नै रोकेन र कोही पनि झरेन । दुईमध्ये एकले हामीलाई ढाँटे ।’
भवानीसँग ‘साँठगाँठ’ गरेरै पौड्यालले यो लेख लेखेको अन्दाज यहाँ पनि गर्न सकिन्छ किनकि भवानीले ‘खैरामा गाडी रोकिएन’ भनेर किताबमा कतै लेखेकी छैनन् ।
पौड्यालले खिस्याएको अर्को प्रसङ्ग पनि त्यस्तै छ—
‘बाटोमा ‘राम्री’ नाउँ गरेको एउटा सानो ठाउँ आएको कुरा दुवैले गरेका छन् । भवानी भन्छिन्, ‘बल्ल आइपुगियो राम्री गाउँ ।’ यहाँ गाडी रोकिएको वा कोही झरेको कुनै कुरो छैन । उता रञ्जु लेख्छिन्, ‘गाडी रोकियो । उनी (चालक) ढोका खोलेर खुत्रुक्क झरे । राम्री गाउँमा गाडी रोक्यो वा रोकेन ? कोही झर्यो वा झरेन, कसैसँग भेटघाट गर्यो वा गरेन, कसको कुरो पत्याउनु पाठकले ? फेरि, सधैँ त्यसै रुटमा गाडी चलाउने चालकलाई राम्रीमा त्यत्रो चासो भयो होला र ?’
भवानीले राम्री गाउँको वर्णन त गरेकी छिन् तर गाडी रोकिए–नरोकिएको बारे लेखेकी छैनन् । यस्तोमा एउटा समालोचकले ‘रोकिएकै थिएन’ भनी कसरी ठोकुवा गर्न सकेको ?
मुसीकोट दरबारका बारेमा लेखिएको विवरणमा भवानीले लेखेको ‘कुनै बेला राजाकी एक नोकर्नीले राजाको हराएको बँदेल फेला पारेकी र बँदेल भेट्टाइदिएवापत दरबारको नाम मेरै नामबाट राखिबक्सियोस्’ भनेको नै आधिकारिक हो भन्ने दाबी पौड्यालको रहेछ । यसमा मैले राजा मानबहादुर शाहीले काम गरेवापत तनखास्वरूप सुनचाँदी दिन चाहँदा मुसीले ‘सुनचाँदी त सिद्धिएर जान्छ, आफ्नो नाम पछिसम्म रहनेखालको केही काम गरिदिन राजासँग आग्रह गरिन् र त्यसरी उनको नामको दरबार बन्यो’ भनेर लेखेकी छु । त्यसबेलाका राजाले नोकर वा सुसारेहरूलाई काम गरेवापत ‘सुन–चाँदी दिने गरेको’ कुरा हुनै सक्दैन, बरु बँदेल भेट्टाइदिएवापत खुशी भएर दरबारको नाम ‘मुसीकोट दरबार’ गरिदिएको नै सही भएको दाबी पौड्याल गर्छन् ।
मुसीकोटसम्बन्धी फरकफरक किंबदन्ती प्रचलनमा रहेछन् । तर, ‘बँदेल भेट्टाइदिएवापत दरबारको नाम राखेको’ कुरा कहीँकसैले उल्लेख गरेको पाइँदैन । हराएको बँदेल खोज्दै जाँदा दरबार बनाउनलायक ठाउँ देखेर राजालाई सुनाएको, राजाले त्यो ठाउँ मन पराएपछि त्यहाँ दरबार बनाएको र दरबारको नाउँ ठाउँ देखाइदिने मुसीको नाममा राखिएको सन्दर्भ भने हामीले सुनेका थियौँ ।
चिन्डेबगरछेउमा पहिरो खसेको प्रसङ्गमा भवानीको भनाइ उद्धृत गर्दै पौड्याल लेख्छन्-
‘झन्डै एक घण्टा बिताइयो यहीँ बसी–बसी’ । त्यसपछि भन्छिन्, ‘अन्ततः पाइला सार्यौँ । पाइला टुङ्गामा टेकिएनन् । कहिले ढुङ्गाका चेपमा चेपिए । कहिले टेकेको ढुङ्गासँगै धर्मराउँदै चिप्लिए । मलाई लाग्छ, हामीले पाँच-सात मिनेटभित्र पहिरो छिचोल्यौँ होला ।’ तर, रञ्जु लेख्छिन् यहाँनेर उनीहरू कुनै ओढारमा बसे । लेख्छिन्, ‘बाटोमास्तिरको ठूलो ढुङ्गामुनिको ओेढारसम्म पुग्यौँ हामी, हातहातमा भएको मोबाइलको लाइट बालेर झोला बिसायौँ । ओढारमुनिको ढुङ्गालाई सम्म पारेर मिलायौँ । टक्य्राकटुक्रुक बस्यौँ अनि मधुरो उज्यालोमा एकअर्काको धमिलो अनुहार नियाल्यौँ । ढुङ्गाकै डरले अगाडि बढ्न नसकेका हामी यामानको ढुङ्गो शिरमाथि राखेर ढुङ्गाकै ओछ्यानमा, ढुङ्गाकै सिरानी राखेर भुसुक्क निदायौँ त्यही मजेत्रो ओढेर ।’ रञ्जुका अनुसार त उनीहरू ओढारमै बसे, निदाए । भवानीको लेखनमा ओढारको कुरै छैन । पहिरोकै छेउमा कोही कसरी यसरी निदाउन सक्छ ? एउटा पाठकलाई अल्मलिनुको विकल्प रहेन ।’
यहाँ पाठक अल्मलिएको हुँदै होइन, पौड्यालले नै पाठकलाई बेवकुफ बनाएका हुन् । मैले किताबमा भुसुक्क निदाएको कुरा त लेखेकी छु तर त्यसको अन्तिममा लेखेकी छु, ‘…अनायास झसङ्ग भएँ म ! क्षणभरै कस्तरी तन्द्रा हो कि निद्रामा पो डुबिसकेकी रहिछु !’ प्रस्ट शब्दमा त्यो ‘क्षणभरको तन्द्रा थियो’ भनेर लेखेको कुरालाई ढाकछोप गरी माथिको आधी कुरामात्रै टिपेछन् पौड्यालले । उनलाई लाग्दो हो— पाठकले यो लेखमात्रै पढ्नेछन् अनि मेरो झूट कहिल्यै पक्डिनेछैनन् !
‘ठगाइमा पर्यो बिचरा पाठक’ भन्दै पौड्यालले डोल्पाली युवती लाली मगरको प्रसङ्ग कोट्याएका रहेछन् । भवानीले उनी चौखाबाट चढेकी, बिबिएस पढ्ने लेखिछन्, मैले भने लाली खदाङबाट थपिएकी र स्वास्थ्य स्वयम्-सेविका भएकी लेखेँ । भवानीले लालीलाई सिर्फ ‘स्थानबारे जानकारी दिने’ व्यक्ति ठानेकी छिन् भने मैले गाडी फेर्दै हिँड्ने क्रममा खाने व्यवस्था गर्न नभ्याएर भोकाएको बेलामा कोसेली लैजान लागेका स्याउ दिने लालीप्रति कृतज्ञता जाहेर गरेकी छु, ‘त्यो स्याउको स्वाद र लालीको मनको कुरै नगरौँ ! अहिलेसम्म ओठ र हृदयमा झुन्डिरहेकै छन् ।’
यात्राक्रममा एउटा छोटो भूमिकाको पात्र लाली, एउटीले खदाङबाट चढेको ठानिन्, अर्कीले चौखाबाट । एक स्टप अगाडि–पछाडिको फरक पर्यो होला रे लौ ! बीबीएस पढ्दै गरेकी मान्छे, गाउँमा स्वास्थ्य स्वयम्-सेविका हुन सक्दिनन् ? यो कुनै ‘ठगी’ साबित हुने कुरा हो ?
शे–फोक्सुन्डो तालको उत्पत्तिको किंबदन्तीबारे भवानीले लेखेकी छिन् ‘त्यस ठाउँमा कुनै बेला एउटी राक्षसनीले प्रवेश गरेकी थिई र उसको एउटा हातमा पानीको एउटा बटुको र अर्को हातमा तेलको बटुको थियो ।’ मैले भने राक्षसनीले कमण्डलु बोकेकी थिई भनेकी छु । यो प्रसङ्ग कोट्याउँदै पौड्यालले लेखेका छन्, ‘एउटै स्रोतबाट लिइएको जानकारीमा यो फरक किन ? बटुको र कमण्डलु एउटै हो ? को ढाँटिरहेछ पाठकलाई ?’
‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ पुस्तकमा विष्णुप्रसाद शर्मा पराजुलीले ‘बाँसको ढुङ्ग्रोमा तेल र पानी बोकेको’ उल्लेख गरेका छन् । कचौरोबारे लेख्नेलाई नै सोध्नु, बाँसको ढुङ्ग्रो भन्नु र कमण्डलु भन्नुचाहिँ करिबकरिब मिल्ने कुरा नै हो पौड्यालजी !
शे–फोक्सुन्डोको छेउछाउ एकजना सिडिओको लौरो हराएको, लामा होटलका छेवाङले भेटेर भवानीको हात फिर्ता पठाएको प्रसङ्ग दुवैले लेखेका छौँ । भवानीले गाउँको एउटा भाइले तालको छेउमा भेटेर छेवाङलाई दिएको लेखेकी छिन्, मैले हराएको लौरो छेवाङले तालको छेउमा फेला पारेको भनेकी छु । यत्ति कुरालाई भयानक ठानेर ‘कसको कुरो पत्याउनु र किन पत्याउनु ?’ भनेर पौड्यालले केके न अपराध गरेझैँ सवाल उठाएछन् ।
पौड्यालले बाला त्रिपुरासुन्दरीको प्रसङ्ग पनि उठाएछन्— ‘भवानीले हीराले भनेको कथा सुन्ने आफू ‘एकमात्र स्रोता’ भएको कुरा प्रस्ट लेखेकी छिन् ।’ ‘रञ्जुको भनाइ’ भन्दै पौड्याल थप्छन्, ‘मन्दिरको धार्मिक, ऐतिहासिक पृष्ठभूमि र किंवदन्ती सुनाएको धरालाले होइन अपितु विष्णु न्यौपानेले हो ।’ ‘कथा सुनाउने हीराचन्द्र धराला कि विष्णु न्यौपाने, कि को ? एउटै समूहमा त यस्तो नहुनुपर्ने नि ?’ भन्दै पौड्यालले प्रश्नमाथि प्रश्न तेर्स्याएछन् । भवानीले आफू हीराचन्द्रको एकमात्र स्रोता भएको भनेकै छिन्, मैले ‘विष्णुको छेवैमा बसेर म भलाकुसारी गर्न थालेँ’ लेखेकै छु । यस्तोमा ‘कुरो कसको पत्याउनु ? कि बहुलाउनु हामी पाठकचाहिँ ?’ भनेर भयानक प्रश्न गर्नुपर्ने बाध्यता पौड्याललाई के आइपर्यो ?
त्यसो त त्रिपुरासुन्दरीबारे विष्णु न्यौपानेले दिएको विवरण तुलनात्मक रूपमा आधिकारिक हुन सक्छ । न्यौपाने त्रिपुरासुन्दरी मन्दिर संरक्षण समितिका वर्तमान कोषाध्यक्ष हुन् । डोल्पासम्बन्धी उनको अथाह ज्ञान देखेर मैले विष्णुबारे लेखेकी छु ‘विष्णुजी डोल्पाको सिङ्गो पुस्तक ।’ अर्को ठाउँमा उनलाई ‘ज्ञानको एउटा विशाल सङ्ग्रहालय’ नै भनेकी छु ।
‘भवानी खतिवडाको विवरण सत्य छ र रञ्जुको विवरण त्रुटिपूर्ण छ’ भन्दै पौड्यालले बाला त्रिपुरासुन्दरीको नाम ‘फरक परेको’ दाबी गरेका छन् । फरक के परेछ भने भवानीका अनुसार ‘देवी, बाला, त्रिपुरा र सुन्दरी’ र मेरो अनुसार ‘बाला, त्रिपुरा, सुन्दरी र भगवती ।’ ‘देवी’ लेख्नेको सत्य, ‘भगवती’ लेख्नेको त्रुटिपूर्ण ? वा रे पौड्याल, हजुरको मूल्याङ्कन ! अर्को कुरा, ‘पाठक बहुलाउनु ?’ भन्दै प्रश्न उठाउनुपर्ने के छ यसमा ?
त्रिपुरासुन्दरीकै प्रसङ्गमा पौड्याल थप्छन्-
‘हीरालाई उद्धृत गर्दै भवानी भन्छिन्, ‘विक्रम संवत् १११४ को समयको कुरा हो, यहाँ डोल्पाको साबिकको त्रिपुराकोट गढीमा विक्रम शाही नामका राजाको दरबार थियो ।’ रञ्जु लेख्छिन्, ‘ईशाको सत्रौँ शताब्दीतिरका राजा विक्रम शाहीको राज्य पूर्वमा मुक्तिनाथदेखि पश्चिममा जुम्लासम्म फैलिएको थियो रे ।’ अब, विक्रम शाही कहिलेका राजा ? भवानीले भनेजस्तो, १११४ मै उनको नामको दरबार थियो भने उनको समय १११४ पूर्वको हुनुपर्छ । रञ्जुको कुरा पत्याउने हो भने ईशाको सत्रौँ शताब्दी । फरक पर्यो कम्तीमा पाँच शताब्दीको । पाठकले कसलाई पत्याउनु ? मिति र संवत् यसरी बाझिँदा पाठकमाथि ठूलो अन्याय भएको छ ।’
सूर्यमणि अधिकारीको पुस्तक ‘बाइसे राज्यको इतिहास’ (२०६०) मा ‘विक्रम शाहीका अभिलेखहरू वि.सं. १६५९ देखि १६८८ सम्मका पाइएको र यिनले ३० वर्षभन्दा बढी जुम्लाको राजकाज चलाएको’ उल्लेख छ । यसबाट भवानीले ठाडै झूटो लेखेको बुझिन्छ ।
छेप्कादेखि अगाडिको यात्रामा सँगसँगै हिँडेका दम्पतीजस्ता लाग्ने एक युवक र युवतीको प्रसङ्ग पौड्यालले कोट्याएका छन्—
‘भवानी भन्छिन्, केटाले केटीलाई र केटीले पनि केटालाई ‘भेलपुरी’ भनेर बोलाउँछन् ।’ उता रञ्जुचैँ भन्छिन्, ‘भेल केटा, पुरी केटी’ । पाठक अल्मलिनुको विकल्प छ त ?’
भेलपुरीको प्रसङ्ग भएको अंश भवानीको किताब छापिनु केही महिनाअघि नै एक राष्ट्रिय दैनिकमा मैले प्रकाशित गरिसकेकी थिएँ । त्यो जोडीलाई भवानीले छुस्स भेटेकीमात्र थिइन् तर मैले सँगसँगै लामै यात्रा गरेकी थिएँ, उनीहरूसँग निकै भलाकुसारी गर्न पाएकी थिएँ । भेलपुरीको चर्चा मेरोमा कथानक भएर आएको छ तर भवानीले पछि थपेको जस्तो देखिन्छ । “तपाईंले लेखेजस्तो होइन नि बैनी !” भनेर लेख आएलगत्तै भवानीले मलाई सम्झाउँदा पनि मैले नसच्याएको त्यसैले हो ।
‘ठाउँका नामै फरकफरक छन् । भवानीले दिएका नाम हुन्— बगारा, शूलीगाड, कागने, करबगाड, पाल शेनतेन थासुङ छोलिङ गुम्बा आदि । रञ्जुले दिएका नाम हुन्– बगरा, सुलीगाड, कागेनी, करपगाड, थासुङ चोलिङ गुम्बा । कसको नाम पत्याउनु ?’ पौड्यालले गरेको यो प्रश्नमै उत्तर छ— कसले लेखेको तुलनात्मक रूपमा सत्यको नजिक छ ?
यो लेख प्रकाशन भएपछि पौड्याल हरदम सतर्क पोजिसनमा देखिए । प्रायः कमेन्टहरूमा उनी जबाफ लेखिरहे । नकारात्मक कमेन्ट गर्नेहरूलाई त आफैँले फोन गरीगरी हुर्मत लिएको त उनले स्टाटसमै लेखेका छन् । ‘म एकएक अक्षरमा कायम छु’, ‘मेरा विरोधी भिजेको सलाईजस्ता भए’ इत्यादि भनेर ध्वाँस दिँदै गर्दा उनले ‘हेलिकप्टरबाट ल्याएका जीप’ भनेकामा ‘वास्तविकता हुनै सक्दैन’ भन्दै जसरी मेरो खिल्ली उडाए, त्यहाँका जानकारहरूले ‘डोल्पामा जीप हेलिकप्टरमै झुन्डिएर आएका हुन्’ भनेर उनको स्टाससको कमेन्टमै लेखिदिए । भवानीबाहेक अन्यले पनि डोल्पासम्बन्धी लेखमा त्यही लेखेका छन् । ‘डोल्पो, ओ डोल्पो’को पृष्ठ ५३ मा दामोदर पुडासैनी ‘किशोर’ले समेत बोलेरो गाडी हेलिकप्टरमा बोकाएरै लगेको लेखेका छन् ।
लौ ! लेख्ने क्रममा केही कुरा फरक पर्न गएकै छन् अरे ! के एउटा यात्रारत लेखक इतिहास, ठाउँ परिचय, भिजेल प्रोफाइल इत्यादि लेख्ने आधिकारिक व्यक्ति हो ? सकेसम्म सही लेख्ने त हो तर प्रसङ्गवश टिपिएका हरेक विवरणको रुजु गराउनै पर्ने बाध्यता कुनै लेखकलाई हुन्छ ? लेखकहरूले लेखेका तथ्य वा विवरण कुनै आधिकारिक दस्तावेज होइनन्, इतिहास होइनन् । सबैले आफ्नो लेखनलाई रसिलो बनाउन यात्राक्रममा सुनेका कुरा टिप्ने र त्यसलाई सिर्जनामा घुसाउने हो । कुनै लेखकले प्रसङ्गवश आफू पुगेका स्थान, घटना वा इतिहासबारे सामान्य चर्चा गरिदिन सक्छ, पाइलापाइलामा अनुसन्धानै गरेर बस्न सम्भव हुँदैन । ‘अनुसन्धान नगरी लेख्नै हुँदैन’ भन्ने उनको ‘कडा तर्क’को हैसियत कति होला ?
‘भवानी साहित्यकारहरूबाट ज्यादै प्रभावित रहेको, उनको कृतिमा साहित्यकारका कृति वा भनाइको बढी उल्लेख वा उद्धरण आएको तर रञ्जुले थोरै लेखकका रचनांश उद्धृत गरेकाले रञ्जुको अध्ययन सतही छ’ भन्ने पौड्यालको तर्क यी दुवै किताब नपढुन्जेल पाठकले पत्याउलान् ! किनकि, भवानीको किताबमा लेखक र कृतिहरूका नाम त प्रशस्तै लेखिएका छन् तर कृतिभित्रको प्रसङ्ग भने एकमात्रै लेखक प्रतीक ढकालको किताबको मात्रै ठाउँठाउँमा उद्धृत गरिएका छन् । सामाजिक सञ्जालमा हालिएका भवानी र पौड्यालका यससम्बन्धी हरेक स्टाटसमा कमेन्ट गर्ने, प्रशस्तैलाई जबाफ दिने कार्य गरेर ढकाल सरले यस काण्डमा आफ्नो ‘मतियारी’को प्रमाण दिइसकेका छन्, अर्थोक के कुरा गरिराख्नु ! मैले उद्धृत गरेका दर्जनौँ किताबहरूको प्रसङ्ग भने पौड्यालले देख्दै देखेनछन् ।
कठै !!
मेरो किताबभरिमा सिला खोजेर जम्मा ७ वटा वाक्य टिप्दै पौड्यालले ‘यो कुनै सामूहिक यात्रा नभएर उनको एकल यात्रा थियो जस्तो लाग्छ’ भन्दिन भ्याएछन् । ‘सामूहिक यात्राले सामूहिकता अँगाल्नुपर्ने’, ‘सहयात्रीहरूलाई उसैगरी समेट्न सक्नुपर्ने’ उनकै तर्क मानेर किताबमा जहाँ पनि ‘हामी’ लेख्न सकिँदैन, लेख्नु पनि हुँदैन । किनकि, यात्रा सामूहिक भए पनि अनुभूति सबैको आआफ्नै हुन्छ । मैले त्यही मान्यतालाई मूर्त रूप दिएकी हुँ ।
पौड्यालले ठाउँठाउँमा ‘यात्राक्रममा भवानीले गरेको सहयोग नदेखेको र उनीप्रति कृतज्ञता नदर्शाएको’मा मप्रति आक्रोशित हुँदै भवानीलाई ‘कृतज्ञ’ र मलाई ‘सहयात्रीहरूप्रति अनुदार’ भएको प्रमाण दिएका रहेछन् ।
पौड्यालले ‘सहयात्रीहरूसित कृतज्ञ’ ठोकुवा गरेकी भवानीले किताबको सुरुमै ‘…प्रवचनीय शैलीमा बोल्न थाल्नुभयो’ भन्दै प्रभामाथि भरमग्दूर कटुशब्दको वर्षा गरेकी छिन् । प्रभालाई घरमै बसीबसी चाहिने-नचाहिने सूचना बटुलेर यात्रा भाँड्न खोज्ने, गैरजिम्मेवार साबित गरेर उनको मनमर्दन गर्न भवानीले कुनै कसर बाँकी राखेकी छैनन् ।
खलरूपीका बूढा बा पदमबहादुरलाई प्रभा बरालले २० रुपियाँ दिन खोजेको प्रसङ्ग कोट्याउँदै पौड्यालले ‘भवानीले जमरा लगाएवापत दक्षिणा दिएको’ भनेर लेखेकी तर रञ्जुले ‘प्रभाजी पैसा बाँड्दै हिँड्छिन् कि भन्ने भ्रम सिर्जना हुनेगरी’ लेखेको भनेर दोष देखाएछन् । यथार्थमा यो प्रसङ्गबारे पनि भवानीले सहयात्री प्रभाको उछित्तै काढेकी छिन्, ‘प्रभाजीले अलि अनपेक्षित नै प्रतिक्रिया व्यक्त गर्नुभयो, ‘जमरा न समरा ! हामी त लाउँदैनौ है ! चिन्नु न जान्नुको मान्छेसित को लाउँछ जमरा ?’ भवानी थप्छिन्, ‘आफ्नै सहयात्रीको त्यो हठातको र ती बाबैलाई चित्त दुख्न सक्ने भनाइले अवाक् बन्न पुग्यौँ ।’
मैले भने त्यो पैसा फिर्ता गर्दै पदम बाले ‘मलाई केहीको अभाव छैन, नेपाली छोरीहरू यता आएको देखेरै म प्रसन्न छु’ भन्ने भाव व्यक्त गरेको लेखेकी छु । ‘पैसा किन दिइएको हो, कारण कतै खुल्दैन’ भन्ने आरोप ममाथि लगाउँदै गर्दा पौड्याल त्यसको छेवैमा मैले नै लेखेको भने देखेनछन्, ‘हामी चारलाई कपालका चुल्ठी र कानभरि जमरा लगाइदिएर प्रशस्तै आशीर्वाद दिए पदमले ।’
‘ठाउँविशेषको वर्णनमा रञ्जुलाई ज्यादै हतारो भएको, उनले दिएको विवरण ‘कर्सरी’ मात्रै भएको, तथ्याङ्कलाई पनि खासै रुजु गर्दिनन् भन्ने प्रमाणितै भइसकेको, के र कुन कारणले त्यहाँ पाहुना हुन पुगेँ ? अत्तोपत्तो पाइँदैन, सूचना पर्याप्त छैन, उनले सहयोग गरेको भन्दा बोझै थपेको देखियो, साथीहरूको फोटोप्रतिको अतिशय अनुरागले यात्रा झन्झटिलो बनायो भन्ने रञ्जु आफूले पटकपटक फोटो किन खिचेको ? बाटोमा भरअबरमा सहयोग गर्ने तथा अप्ठ्यारोमा बास दिनेहरूप्रति खासै कृतज्ञ नरहेको’ इत्यादि भन्दै खेद्नु खेदेका रहेछन् । यस्ता बेफ्वाँकका खेदाइको एकएक जबाफ दिन सकिन्छ तर यस्तो नियतको मान्छेलाई शब्दशब्दको जबाफ दिनुको कुनै औचित्य छ र ?
पौड्यालले ममाथि पाएसम्म रिसउठ्दो र घटिया भाषा प्रयोग गरेका छन् । ‘उनको भँडास आत्मगत बनेर निस्किएको छ’, ‘सहानुभूति राख्नुको विकल्प देख्दिनँ’, ‘उनको श्रीमान्-प्रतिको घोर असन्तुष्टि परिलक्षित हुन्छ’, ‘भडाँस पोख्छिन्’, ‘जसमा पनि उही भिक्टिम कार्ड पढ्न पाइन्छ’, ‘रञ्जु दाहालमा अर्को पनि ग्रन्थी सक्रिय भएको देखिन्छ’…. यौटा स्रष्टालाई अपमानबोध गराउने यस्ता थुप्रै वाक्यांश उनले ठाउँठाउँमा घुसाएका छन् । यस्तो भाषाको प्रयोग गरी लेखिएको पीपलबोटे निबन्धलाई केहीले ‘नमुना समालोचना’ ठानेका र केहीले ‘समालोचनाको नयाँ युग सुरु भएको’ बताएकोसमेत पाइयो । यो नेपाली साहित्यकै विडम्बना होइन र ?
लेखको अन्तिममा पौड्यालले कुनै न्यायालय नै हो जस्तो गरी एउटा गैह्रसरकारी संस्था (एनजिओ) लाई गुहारेका रहेछन्, ‘यसै विधाको आधिकारिक संस्था भएको नाताले नियात्रा समाज नेपालले सूक्ष्म दृष्टिले पढोस्, तुलना गरोस् र भनोस् बाँकी कुरा । यस्तोमा बोलेन भने कस्तोमा बोल्ने उसले ? यसैको कार्यक्षेत्रभित्रबाट आएका भ्रामक र बेमेल कुराले साहित्यको हित कसरी गर्छ, हामीलाई देखाइदेओस् ! जवाफ देओस् !’
यसको जबाफमा सोही संस्थाका अध्यक्षले सञ्जालमै ‘संस्थालाई छानबिन गर्ने जिम्मा मिलेको, ध्यान आकृष्ट भएको र चाँडै कार्बाहीसमेत गर्ने’ अहङ्कार व्यक्त गरेछन् । एउटा एनजिओको रूपमा दर्ता भएको कुनै संस्थाले कुनै स्रष्टालाई यस्तो लेख्, उस्तो नलेख्, यस्तो किन लेखिस्, उस्तो किन लेखिनस् ? इत्यादि भन्ने हैसियत राख्छ ? कसैले राम्रो नियात्रा लेख्न सकेन रे लौ ! छानबिन गर्ने, कार्बाही गर्ने अधिकार कसले दियो त्यो एनजिओलाई ? कि पौड्यालले दिएपछि ‘शक्तिशाली’ हुन पाउने हो त्यो संस्था ? यो विषयमा संस्थाका अध्यक्ष अनि पौड्याल दुवै ‘कठैबरी बिचरा’ लाग्दैनन् त ?
लेख प्रकाशनमा आएपश्चात्-का गतिविधिहरू झनै रहस्यमय देखिन्छन्, जसले पौड्यालले यो लेख लेख्नुको गुह्य कारण ‘अर्कै छ’ भनेर प्रमाणितै भएको छ । आफूअनुकुलको कमेन्ट लेख्न पटकपटक जोरजबर्जस्ती गर्दा पनि नमानेको भन्दै स्रष्टा रीता खत्रीलाई पौड्यालले साइबर क्राइम ब्यूरोमै पुर्याए । भलै, ब्यूरोमा डा. बिन्दु शर्मा, रीता खत्री, प्रहरी अफिसरलगायतको प्रश्नको जबाफ दिन नसकेर पौड्याल उल्टै रातोपिरो हुँदै घोर लज्जित हुनुपर्यो । “यो काण्डलाई आजबाट अन्त गर्ने सम्झौता गरौँ” भन्ने पौड्यालको प्रस्तावमा मैले “अहिले रीताजीलाई किन ब्यूरोमा झिकाएको ? त्यसको टुङ्गो लगाऊँ । मैले त आफ्नो कुरा गर्न बाँकी नै छ, गरिहाल्छु नि !” भनेपछि पौड्यालले उदण्डता देखाउन थालेका थिए । “ए उसोभए अझै बोल्न बाँकी नै छ ?!” भन्दै अकस्मात् बड्बडाउँदै तर्सिएर महिलाजातिमाथि नै तुच्छ स्तरको विचार व्यक्त गर्दै गर्दा पौड्यालले झण्डै प्रहरीको झापु खाएका थिए ।
‘मैले लेखेकोलाई नराम्रो भन्ने सबैलाई रीतालाई झैँ प्रहरी कार्यालय पुर्याउँछु’ भनेर सबैलाई ‘तर्साउने’ उनको नियत प्रहरी परिसरमा पुगेको दुई मिनेटमै धुलिसात भयो ।
पौड्यालले मात्रै होइन, उक्त लेखविरुद्ध कमेन्ट लेख्ने अन्यलाई पनि खतिवडा र यो लेखसँग असम्बन्धितझैँ लाग्ने नियात्रा समाजका अध्यक्ष ढकाल, तीनै जनाले पटकपटक फोन गरी कमेन्ट हटाउन वा सच्याउन धम्की दिइरहे । एक अग्रज महिला स्रष्टालाई त पौड्यालले ‘तँ–तँ’ प्रयोग गर्दै ‘सिध्याइदिने’ धम्की नै दिएछन् ।
तिनीमात्रै होइन, विरोधमा जान सक्ने थुप्रै स्रष्टालाई पौड्यालको समूहले धम्क्याएको जानकारीमा आएको छ । त्यतिमात्रै होइन, मेरो किताबमाथि सकारात्मक समीक्षा गर्नेलाई समेत फोन गरी पौड्यालले धम्क्याएछन् । प्रमाणका लागि केही अडियो रेकर्ड हामीसित सुरक्षित छन् ।
नयाँ केही गर्न सकिन्छ कि भन्दै मासिक रूपमा जम्मा हुन थालेका वरिष्ठदेखि कनिष्ठसम्मका नारी स्रष्टाहरूको एक भेलामा अनौपचारिक रूपमा यो लेखको चर्चा भएको र पौड्यालको कटु आलोचना भएको सुइँको पाएपछि पौड्यालले त्यो समूहलाई ‘ज्वालामुखी समूह’ नाम दिँदै ‘समूहका प्रायः सबैलाई आफूले फोन गरेको’ भन्दै उक्त समूहको पनि तुच्छ शब्दमा आलोचना गरेका छन् । उक्त समूहका स्रष्टाहरूले ‘प्रतिरोध गर्ने’ सङ्केत पाएपछि तर्सिएका पौड्यालले सञ्जालमा लेखेका छन्, ‘ज्वालामुखी समूहका धेरैलाई मैले फोन गरेँ । मैले के बुझेँ भने– न कसैको नेतृत्व छ न एकजुटता छ न कुनै प्राज्ञिक सपोर्ट छ न तर्कमा दम छ न केही ठोस छ, केवल द्वैष छ… हैट् !’ महिलाहरूलाई बौद्धिक, प्राज्ञिक हुँदै हुँदैनन् भन्ने चेतनाको कुन स्तरमा रहेछन् यी पौड्याल ?
शिष्ट शैलीमा उनलाई विवेक प्रयोग गर्न आग्रह गर्ने चितवनतिरका एक अग्रजलाई त उनले कमेन्टमै ‘मेन्टल’ भन्दै ‘उपचार गर्न’ सुझाएछन् ।
सर्पले मान्छेलाई किन टोक्न झम्टन्छ ? खानलाई हुँदै होइन, मार्छन् भन्ने डरले हो । भवानीले पटकपटक मसित ‘एकअर्काको पाण्डुलिपि साटेर पढौँ’ भनेर माग्दै रहिन् तर मैले “सबैको आआफ्नै शैली हुन्छ, म पनि तपाईंको हेर्दिनँ, तपाईंलाई पनि आफूले लेखेको देखाउँदिनँ । छापिएपछि नै हेरौँला” भनेर टार्दै आएँ । यति भन्दाभन्दै पनि आफूले लेखेको कुरा गलत हुने वा तथ्यसँग बाझिने पो हो कि भन्ने डरको महसुस मैले पनि गरेकै थिएँ । केही हप्ताअघि भवानीको किताब निस्कनुले त्यसमा र आफ्नुमा बाझिएका कुरा जाँच्ने मौका मैले पाएँ । सही हो कि होइन निर्क्योल गर्ने, आफूले लेखेको ठीक भए भवानीको भन्दा फरक परे पनि छाडिदिने, गलत भएको ठाउँमा सच्याउने अवसर मलाई थियो र त्यो मैले गरेँ पनि । यात्राक्रममा सबै ठाउँमा आफैँले टिपोट गर्दै हिँडेकीले भवानीले जसरी सहयात्रीहरूसित टिपोट माग्दै हिँड्नु पनि परेन मैले ।परिणामस्वरूप भवानीको किताब झूटैझूटको पुलिन्दायुक्त बन्न पुगेछ, मेरोमा धेरथोर सच्चिएर आयो । सर्पले मान्छेलाई टोक्न आएझैँ आफ्नो किताबको कमजोरी ढाक्न कतै पौड्याललाई भवानीले नै यो ‘वकालतनामा’ गर्न लगाइएको त होइन ? नत्र भवानी र मेरो बीचको ‘पाण्डुलिपि साटेर पढ्ने’ कुरा पौड्याललाई कसरी थाहा भयो र ‘एकअर्कामा साटेर रुजु गराउनुपर्ने’ अर्ति दिए ? शङ्का गर्ने ठाउँ प्रशस्तै छन् । किनकि, पौड्यालको उपरोक्त वकालती लेख दुई किताब पढेर होइन, भवानी खतिवडालाई अगाडि बकाएर नै लेखिएको प्रस्ट देखिन्छ ।
एउटा पुरुष समालोचकले एउटी नारी लेखकलाई पाठक अनि परिवारसितकै सम्बन्ध बिगारिदिने र अब आइन्दा किताबै लेख्न नसक्ने गरी खेदो खन्नुको भित्री आशय अर्थोक के हुन सक्छ ? राम्रो, गतिलो लेख्न सकिएन अरे ! के त्यो नैतिक पतन गराइनुपर्ने, घरपरिवारै भाँड्दिनुपर्ने अनि लेख्नै छाड्दिनुपर्ने अपराध हो ? के किताब राम्रो लेख्न नसकेकै कारण मैले यो अतिरिक्त सजाय भोग्नुपरेको हो त ?
लेखन र बहसमा पौड्यालको चातुर्य कुशलता प्रशस्तै रहेछ तर यहाँ उनले त्यसलाई मेरो विरुद्ध दुरुपयोग गरे । ‘उनको लेखमात्रै पढ्ने’लाई त उनले भनेका सारा कुरा सहीजस्तै लाग्छन् । किताब पढेरभन्दा कसैको एकपक्षीय कुरा सुनेर उक्त लेख तयार पारिएको हो भन्ने पढ्नेलाई हेक्कै हुँदैन !
पौड्याललाई एउटा ठूलो भ्रम रहेछ— ‘यो लेख पढ्नेले रञ्जुको किताब पढ्दै–पढ्दैनन् ।’ एक पटक दुवै किताब जसले पढ्छ, उसलाई पौड्यालको तर्कहरूको हैसियत केकति रहेछ ? कसैले भन्नै पर्दैन !
आइन्दा कुनै पनि समालोचकले कुनै लेखकलाई यति तल्लो स्तरमा झरेर कुतर्कहरूको सहारामा खेदो खनेको देख्नु, सुन्नुनपरोस् ! एउटा लेखकले मजसरी विनाफ्वाँकमा पीडित बन्नु पनि नपरोस्, सहेर बस्नु पनि नपरोस्, कामना गरौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।