मदनदेव भट्टराई नेपाली साहित्यमा सुपरिचित व्यक्तित्व हुन् । उनकै सम्पादनमा प्रकाशन हुने ‘रत्नश्री’ साहित्यिक पत्रिका र मदनदेव एक अर्काका पर्याय नै बनेका छन् । यसले नेपाली साहित्यमा विशेष योगदान पुर्‍याएको सर्वविदितै छ । ‘शारदा’, ‘रूपरेखा’, ‘भानु’, ‘रचना’ ‘अभिव्यक्तिसँगै साहित्यिक प्रतिभाहरू जन्माउन, हुर्काउन र प्रवर्द्धन गर्न ‘रत्नश्री’ले निर्वाह गरेको भूमिका नेपाली साहित्यमै महत्त्वपूर्ण रहेको छ ।

वर्षको एक पटक ‘रत्नश्री’मा नारी विशेषाङ्क प्रकाशन गरेर नारी लेखनलाई प्रोत्साहन गर्ने परम्पराको सुरुवात गर्ने व्यक्ति पनि मदनदेव भट्टराई नै हुन् । तत्कालीन मुमा बडामहारानी रत्नराज्यलक्ष्मीको शुभ जन्मोत्सवको पावन अवसरमा ‘रत्नश्री’मा प्रकाशित रचनामध्ये सर्वश्रेष्ठ ठहरिएकालाई पुरस्कार र ‘रत्नश्री’ पदकसमेत प्रदान गरिने हुँदा साहित्यकारहरू ‘रत्नश्री’मा रचना दिन बढी उत्साहित देखिन्थे । रत्नश्री पत्रिकाको प्रकाशन मात्र होइन उनी अरू साहित्य सिर्जना पनि गर्दथे । साहित्यका विविध विधामा उनले कलम चलाएको देखिन्छ । कथा, निबन्ध, गीत, महाकाव्य समेत प्रकाशन गरेर उनले साहित्यको सेवामा सक्रियता देखाएका हुन् ।

मदनदेव भट्टराई

मदनदेव भट्टराई

मदनदेव भट्टराईका संस्मरणहरू उनको चर्चित कृतिमध्येको एक हो । ‘मदनदेव भट्टराईका केही कथाहरू’ ‘मदनबाटिका गीतिसङ्ग्रह’ र ‘जीवनस्मृति’ महाकाव्य पछि संस्मरण आउनाले यो अझ बढी परिष्कृत र परिपक्व कृति बन्न पुगेको छ ।

समय प्रवाहसँगै आएको पाठकरुचि संस्मरण साहित्यका सामग्रीतर्फ आकर्षित भएको  अवस्थामा यस कृतिले प्राप्त गर्ने लोकप्रियताको  उच्च सम्भावना त छँदै छ त्यहाँमाथि पनि लेखकका विविध विधाका साधना र परिष्कृतिले  देखाउने प्रभाव  त्यतिकै भरपर्दो हुन आउँछ ।

संस्मरण निबन्धकै एउटा रूप हो, तर यसमा आत्मपरक निबन्धको जस्तो कल्पनाको उडान गर्ने छुट रहँदैन । आफ्नो जीवनका घटना—परिघटना, अनुभव र अनुभूतिको सिलसिलेवार कलात्मक प्रस्तुति नै संस्मरण हुने हुँदा लेखकले अत्यन्त सावधानी अपनाउनुपर्ने हुन्छ । यसमा लेखकले इमानदारीपूर्वक आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ । यसकारण संस्मरणमा आफ्ना राम्रा पक्ष मात्र देखाउन मिल्दैन । संस्मरण घतलाग्दो, चित्तबुझ्दो र सन्देश मूलक हुने र वर्तमानलाई सुधार र संघर्ष सिकाउने खालको भएमा विशेष सुन्दर हुन जान्छ ।

संस्मरणमा काव्यात्मक प्रस्तुतिले मिठास आउने हुँदा लेखक परिपक्व हुन जरुरी हुन्छ । काव्यात्मकता बिनाको संस्मरण हल्का गफ, कुराकानी र सूचना जस्तो मात्र बन्न पुग्छ । संस्मरणमा तत्कालीन समयको राजनीतिक परिदृश्य, सामाजिक बिम्ब र आर्थिक अवस्थाको सजीव चित्र प्रदर्शन हुने हुँदा यसको महत्त्व धेरै हुन्छ ।

मदनदेव भट्टराईका संस्मरणहरू नेपालको इतिहासको एउटा कालखण्डको वर्णन गरिएको महत्त्वपूर्ण कृति हो । यसमा ९० को दशकको शहीद काण्ड, शहीद धर्मभक्त माथेमा र दशरथ चन्दसँगको पारिवारिक सम्बन्धलाई देखाइएको छ । दशरथचन्द उनका पिता बलदेवप्रसाद भट्टराईका आत्मीय मित्र थिए । बनारसमा पढ्दादेखिका बालसखा दशरथचन्द नेपालमा आइ.ए. अध्ययन गर्दा पनि भट्टराई निवासमै रहेको मात्र होइन शहीद दशरथ चन्द र धर्मभक्त माथेमासित मिठाइ पसलसमेत राखेको कुराले उनको पिताजीको यी दुई महान् व्यक्तित्वसित घनिष्ठ सम्बन्ध रहेको थियो भन्ने कुरा स्पष्ट हुन आउँछ ।

त्यस्तै आफ्नो नाडीमा बाँधेको घडीसम्म अरूलाई दिने, सापटीको पैसा समेत फिर्ता लिन नमान्नुले दशरथ चन्द र धर्मभक्त माथेमाको उदारता पुष्टि हुन्छ । यी दुई महान् व्यक्तित्वहरूसितको बसउठ, सामीप्य र १९९७ को प्रजापरिषद्का सदस्यहरू समातिएको अनि धर्मभक्त माथेमा र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको घटनाले मदनदेवको बालहृदयमा आघात परेको र राजनीतिक बीज मनमा गडेको कुराको प्रसङ्ग यहाँ छ । नेपालीहरूलाई जहानियाँ निरङ्कुशताबाट स्वतन्त्रता दिलाउने अभियानमा आफ्नो जीवन उत्सर्ग गर्ने महान् व्यक्तित्व दशरथ चन्द र धर्मभक्तलाई संस्मरणको विषय बनाइएको छ । कृतिको पहिलो शीर्षक नै दुई अविस्मरणीय व्यक्तित्व दशरथ चन्द्र र धर्मभक्त रहनाले कृतिको महत्त्व, ओज र गरिमा बढाएको स्पष्ट हुन्छ ।

लेखक स्वयंले भोगेका देशका  कथित क्रान्तिपूर्ण घटना, आन्दोलन र दमनका परिदृश्यमा इतिहास बनेका लेखकका अनुभूतिहरूले संस्मरणात्मक अभिव्यक्ति  पाएका छन् जहाँ इतिहास र भूगोल समाज र संस्कृति छर्लङ्गिन्छन् र कृतिले अझ लोकप्रियता हासिल गर्दछ ।

राजनीतिलाई पृष्ठभूमिमा राखेर हेर्दा संस्मरणात्मका आलेखको एउटा राम्रो उदाहरण यो पनि बन्न सक्छ, नेपालको इतिहासमा बिपी कोइराला महान् व्यक्तित्व हुन् । आफ्नो जीवनको सम्पूर्ण समय नै उनले नेपाली राजनीतिक इतिहासमा निष्ठा, समर्पण र संघर्षमा बिताएका हुन् । प्रजातन्त्रवादी राजनेता बिपी कोइरालासँग लेखकको निकटता कति रहेछ भन्ने कुरा यसबाट उजागर हुन्छ । भरत शमशेर नेतृत्वको गोरखा परिषद् (खुकुरी दल) र कम्युनिस्टहरूसित भेटघाट र सम्पर्क नगर्नु भन्ने त्यतिखेरका कार्यकर्ताहरूलाई बिपीको निर्देशन थियो । यसलाई बिपी फर्मुला भनिन्थ्यो  तर बिपी स्वयंले भरत शमशेर र केशरजङ्गसँग भेट गर्न गएको कुरा मदनदेवलाई चित्त बुझेन ।

नेताहरूको कथनी र करणीमा भिन्नता देखिएको उनलाई लाग्यो । अनावश्यक कुरा पचाउन नसक्ने मदनदेवले बिपीसित ठाडै असहमति जनाएको प्रसङ्ग र बिपीले उनलाई जवाफ दिएको कुराले नेता र कार्यकर्तामा कस्तो किसिमको सम्बन्ध हुनुपर्छ भन्ने देखाइएको छ । अहिलेका दलका नेता र कार्यकर्ताहरूलाई शिक्षा समेत प्रदान गरेको छ । यसमा लेखकको निर्भीकता र स्वाभिमान देखिन्छ । बिपीको एकजना सामान्य कार्यकर्तालाई चित्त बुझाएर पठाउने, राष्ट्रियताको सवालमा सबै दलसित मिलेर जाने राजनेतामा हुनुपर्ने महान् र विशिष्ट गुण थिए भन्ने कुरा देखिन्छ । ‘बिपी फर्मुला र म’ शीर्षक राखेर नेपालका महान् राजनेता बिपीसितको आफ्नो सम्बन्ध, सम्पर्क र सामीप्यता कस्तो थियो, प्रजातन्त्र राष्ट्रियताको सवालमा बिपीको विचार के थियो, यिनै कुराहरू राम्ररी देखाइएको छ ।

नेपालको इतिहासमा राजा त्रिभुवन अविस्मरणीय व्यक्तित्वको रूपमा देखिन्छन् । १०४ वर्षको क्रुर निरङ्कुश राणा शासनलाई समाप्त पार्ने सत्कार्यमा राजा त्रिभुवनको योगदान अतुलनीय छ । प्रजातन्त्रको लागि आफ्नो गद्दीलाई समेत छोडेर सपरिवार भारतीय राजदूतावासमा शरण लिएर नेपाली काँग्रेसको प्रजातान्त्रिक आन्दोलनमा ऐक्यबद्धता प्रदर्शन गरेको घटना नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ ।

प्रजातन्त्र त आयो तर, नेपालमा शासनका महत्त्वपूर्ण स्थानमा भारतको दबदबा बढ्यो । यतिसम्म कि राजा र प्रधानमन्त्रीको पी.ए. सम्म पनि भारतीय नागरिक रहनुले नेपालको प्रजातन्त्र नाम मात्रको हो कि जस्तो भान पर्न गयो । यस घटनाले लेखकको चित्त दुख्यो र उनले ‘श्री ५ त्रिभुवन र चार नारायण’ भन्ने एउटा शीर्षकमा ऐतिहासिक यथार्थलाई देखाउने चेष्टा गरेका छन् । यस प्रसङ्गमा उनले नेपालको चार नारायणको उल्लेख गर्दै ०७ सालको क्रान्तिपछि नेपालमा चार जिउँदा नारायण गोविन्द नारायण, चन्द्रेश्वर नारायण, वृजनारायण र टेकनारायणको नेपालको शासनमा बोलवाला भएको देखाइएको छ ।

गोविन्द नारायण श्री ५ त्रिभुवनका सेक्रेटरी, वृज नारायण श्री ५ को सरकारको आर्थिक सल्लाहकार, चन्द्रेश्वर नारायण भारतीय राजदूत थिए र टेक नारायण पुलिस विभागका डेपुटी आइ.जी.पी. थिए । यी नारायणहरू नेपालको हितभन्दा भारतीय हितमा बढी केन्द्रित रहन्थे । दलका नेताहरू यिनै नारायणका चाकडीमा हुन्थे । राजनीतिमा भारतीय दबदबा, च्याउ उम्रेझैँ दल, गोरखा परिषद्को वितण्डा, दलीय स्वार्थमा लिप्त नेताहरू, डा.के.आई सिंहको विद्रोहले नेपालमा अस्थिरता देखियो । नेपाल स्वतन्त्र हो तर हिमाल भारतको सीमा हो भन्ने तत्कालीन भारतीय प्रधानमन्त्री पण्डित नेहरुको भनाइबाट लेखक अत्यन्त दुःखित भए । उनलाई दलीय घेराबाट मुक्त भएर स्वतन्त्र रूपमा राष्ट्रिय चिन्तन गर्ने इच्छा भयो । ०८ सालका यी सबै घटनाबाट दिक्क भएर राजालाई भेट्न उनी राजदरबार गए ।  राजाको भेटमा गोविन्द नारायण तगारो बन्छन् । यी घटनाको सविस्तार वर्णन गरिएको छ यस शीर्षकमा ।

मदनदेव बिपीका विश्वास पात्र र पत्याएका व्यक्ति मध्येका एक थिए । बिपीले समाजवाद सम्बन्धी पुस्तकको अभाव देखेर मदनदेवलाई युवाहरूले किताब लेख्न पर्‍यो भनेको र त्यो काम आफूले पूरा गरेको कुरा यहाँ उल्लेख छ । किताब तयार गरेपछि प्रकाशनका लागि बिपीलाई अनुरोध गर्दा कृष्णप्रसाद भट्टराईलाई देखाउन सल्लाह दिएको र कृष्णप्रसाद भट्टराईलाई देखाउँदा प्रशंसा पाएपछि पुस्तक प्रकाशनका लागि प्रधानमन्त्री बिपीसँग भेट गर्दा बिपीले आफू पश्चिम पहाडको भ्रमणमा १२ दिनको लागि जाने भएकोले १२ दिनपछि बोलाउँछु भनेको प्रसङ्ग रोचक ढङ्गले आएको छ  तर त्यसै दिन राजाबाट निर्वाचित सरकारलाई अपदस्त गरी शासन हातमा लिएको सन्दर्भ पनि उल्लेख गरिएको छ । बिपी मन्त्रीमण्डलबाट राजीनामा दिएपछि लेखक मात्रिकाप्रसाद कोइराला र डिल्लीरमण रेग्मीलाई भेट्न जान्छन् ।

भेटमा मात्रिकाप्रसाद कोइराला र डिल्लीरमण रेग्मीले काँग्रेसको सरकार ढल्छ भनेको कुरा र राजाबाट सरकारलाई दिएको चेतावनीलाई तुलसी गिरीले समर्थन गरेको प्रसङ्ग आएको कुरा देखिन्छ । यिनै कुराहरू ‘‘मदन जी १२ दिनपछि म तपाईंलाई आफै बोलाउँछु’’ शीर्षकमा उल्लेख गरिएको छ । ‘‘पुष १ गतेको कदम’’ र जनरल सुवर्ण शमशेर’’ मा सुवर्ण शमशेरका पिता हिरण्य शमशेर वीरजञ्जको बडाहाकिम पदमा रहँदा उनका बाबु बलदेवप्रसाद भट्टराई वन जाँचका हाकिम थिए । सुवर्ण शमशेरका छोराहरूसित आफूहरूले खेलेको, घरमा बसउठ गरेको, हिरण्य शमशेर र सुवर्ण शमशेरबाट आफूले स्नेह पाएको पारिवारिक सम्बन्धको प्रसङ्ग समेत उल्लेख गरिएको छ । १९९५ सालदेखि नै सुवर्ण शमशेरसित उनको निकटता रहेको सन्दर्भ र सुवर्ण शमशेरलाई अभिभावकको रूपमा मानेको, राजनैतिक शिक्षा नै सुवर्ण शमशेरबाट लिएको कुरा उल्लेख गरिएको छ ।

२०१७ साल पुष १ गतेको घटना भनौं या राजनीतिक दुर्घटनामा सबै दलका नेताहरू गिरफ्तार भएका थिए ।  उपप्रधानमन्त्री रहेका जनरल सुवर्ण शमशेर भने एकदिन अगाडि कलकत्ता गएकाले गिरफ्तार भएनन् । यस घटनाले मदनदेवमा जिज्ञासा उत्पन्न भयो । किन सुवर्ण शम्शेर मात्र जेल पर्नुभएन ? यस जिज्ञासा पूरा गर्न शंकरदेव कलेजबाट भारत भ्रमण जाँदा कलकत्तामा सुवर्ण शमशेरको निवासमा गएर उनकै मुखबाट सबै कुरा सुनेको कुरा उल्लेख गरेका छन् । सुवर्ण शमशेरको भेटमा राजाको मर्यादा नराखेर सिस्टम नै समाप्त भयो भन्ने सुवर्ण शमशेरको भनाइ पनि यहाँ आएको छ ।

‘पुष १ गतेको कदम र सूर्यप्रसाद उपाध्याय’मा काँग्रेसको चाणक्य भनेर चिनिने बिपी मन्त्रिमण्डलका चौथो मर्यादाका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायको कस्तो भूमिका थियो ? उनको विचार के थियो ? उनी पाँच महिनामै कसरी जेल मुक्त भए ? यिनै सन्दर्भ यहाँ आएका छन् । पुष १ गतेको घटनाको बारेमा सोध्दा पहिला सूर्यप्रसाद उपाध्याय रन्किएको, पछि तपाईं असफल गृहमन्त्री हो, के.आई सिंहको विद्रोह र यो घटना पनि थाहा नपाउनु तपाई पूर्ण असफल हो भन्दा डा.तुलसी गिरी र विश्वबन्धुलाई दोषी देखाउँदै यस घटनाको जिम्मेवार देखाए । राजा भनेका सबैका बाबु हुन्, राजाबाट अन्यथा हुँदैन भन्दै घुमाउरो पारामा राजाको समर्थन गरेको उल्लेख गरिएको छ । नेपालको राजनीति धर्म र संस्कार नबुझेर यस्तो परिस्थिति सिर्जना भएको हो भन्ने सूर्यप्रसादको भनाइ यहाँ समेटिएको छ ।

जीवनका आफ्ना भोगाइ र तिनका अनुभूतिलाई उतार्ने कार्यमा गरिने स्मरणहरूको सशक्ततासँगै लेखक पनि प्रबल बनेका छन् । माथि उल्लेख भए बमोजिम निजात्मक अनुभूतिबाट संस्मरणात्मक लेख बेग्लिन सक्दैन भन्ने बुझेका लेखकले निबन्धमाजस्तो अभिव्यञ्जना बर्साएका छैनन् । इतिहास लेखनजस्तो विवरण मात्र तेर्स्याएका पनि छैनन् र आख्यान  लेखेजस्तो चरित्रलाई कथामय बन्न दिएका पनि छैनन् । इतिहासका महान् पात्र बिपी, त्रिभुवन लगायतमा आफ्ना संस्मरणात्मक विवेक होसियारीका साथ प्रयोग गरेका छन् ।

समग्रमा भन्दा प्रस्तुत मदनदेव भट्टराईका संस्मरणहरू एउटा महत्त्वपूर्ण राजनीतिक इतिहास बोकेको संस्मरणको रूपमा आएको छ । यसमा उल्लेख गरिएका पात्र, परिवेश, घटना सबै नै राजनीतिको वरिपरि घुम्छन् । राणा शासनको अन्तिम समयदेखि ०१७ साल पुष १ गतेको राजाको कदमसम्मको घटना, परिघटनाहरूले यो निकै नै चाखलाग्दो कृतिको रूपमा रहेको छ । आफ्ना पिता बलदेवप्रसाद भट्टराई राणाका वीरगञ्जका वन जाँचको हाकिम भएको, त्यस बखतको जागिरको शान र मानदेखि दशरथ चन्द्र धर्मभक्त माथेमासम्मको सामीप्य, उनीहरूको आचार व्यवहार, ०९७ सालको शहीद काण्ड, प्रजातन्त्रको आगमनलाई यहाँ वर्णन गरिएको छ । प्रजातन्त्र बहाली भएपछि पनि भारतीयहरूको दबदबा, राजा र प्रधानमन्त्रीको पी .ए .देखि राज्यका महत्त्वपूर्ण र संवेदनशील स्थानहरूमा भारतीय कर्मचारी रहेको यथार्थतालाई यहाँ राम्ररी उजागर गरिएको छ ।

प्रजातन्त्रका महत्त्वपूर्ण नेताहरू बिपी, सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्यायलाई शीर्षकमै उल्लेख गरिनुले त्यतिखेर राजनीतिमा उनीहरूको महत्त्व स्पष्ट हुन आउँछ । नेपालमा समाजवाद किन ? भन्ने किताब उनीबाट लेखाइएकोले मदनदेव बिपीले पत्याएका त्यतिखेरका बौद्धिक युवक थिए भन्ने कुरा प्रस्ट हुन्छ । च्याउ उम्रेझैँ दल, राष्ट्रिय स्वार्थभन्दा दलीय र व्यक्तिगत नेताहरूको चरित्र यहाँ देखाइएको छ । गोर्खा परिषद्को खुकुरी आतङ्क, के.आई सिंहको विद्रोह जस्तो घटना र प्रसङ्ग यहाँ उल्लेख छ । मात्रिकाप्रसाद कोइराला, डिल्लीरमण रेग्मी र टंकप्रसाद आचार्यका सामान्य प्रसङ्गहरू यहाँ आएका छन् । यस्तै प्रजातन्त्रलाई समाप्त गर्न खलनायकको भूमिकामा रहने डा.तुलसी गिरी र विश्वबन्धु थापाको सन्दर्भ आएको छ ।

राजा त्रिभुवनको सिदासादापन र महेन्द्रको महत्त्वाकाङ्क्षा पनि स्पष्ट देखाइएको छ । राजनेता बिपी कोइरालाको कार्यकर्ताहरूसँग पारिवारिक व्यवहार उदाहरणीय रूपमा प्रस्तुत गरिएको छ । अघिपछि प्रतिस्पर्धा र असहमति भए पनि प्रजातन्त्र र राष्ट्रियताको सवालमा दलभन्दा माथि उठ्नु पर्छ भन्ने बिपीको भनाइ महत्त्वपूर्ण देखिन्छ । यी सबै कुराहरूले यो संस्मरण संस्मरणकै इतिहासमा विभिन्न कोणबाट पृथक् लाग्दछ । इतिहासका विद्यार्थी र अनुसन्धाताहरूले यसबाट राजनीति र इतिहासका धेरै कुरा जानकारी लिन सक्छन् ।

यसमा देखाइएका राजा, राजनीतिक नेता, दल, दशरथ चन्द्र र धर्मभक्त आदिका प्रसङ्गले किताब निकै नै घतलाग्दो देखिन्छ । प्रस्तुत कृतिले मदनदेव भट्टराईको ओझेल पाटो राजनीतिलाई पनि उजागर गरेको छ । यसले मदनदेवको पत्रकार र साहित्यिक व्यक्तित्वमा राजनीतिक व्यक्तित्व  पनि थपिएको छ । ऋषिकेश शाह, डा.केशरजंङ्ग रायमाझी, श्रीभद्र शर्मा र विश्वबन्धु थापाका भूमिकाले समेत यस किताबको महत्त्व र गरिमा अझ बढाएको प्रस्ट हुन्छ ।

कृतिअन्तर्यको अर्को पाटो भाषा, शब्द, व्यञ्जना,उत्सुकता -आकर्षण,विषयवस्तु, सम्प्रेषण र प्रस्तुतिको कुशल संयोजन हुन् । यी सबै गुण  यस कृतिमा पाइन्छन् ।  यसमा पाठक मन आह्लादित र पल्लवित बनाउने सामर्थ्य पाइन्छ । सफल कृति र कृतिकारमा हुनुपर्ने गुण यसमा पाइने हुँदा समकालीन संस्मरणात्मक कृतिको यो पनि एउटा राम्रो दृष्टान्त बन्न सक्छ ।