विषय प्रवेश :
कर्पोरेट पुँजीवादले मानिस, प्रकृति, ज्ञान, सिप, जीव तथा प्रेमलाई किनबेचको बस्तुमा रूपान्तरण गर्दछ र नाफालाई अर्थ राजनीतिको अन्तिम उपलब्धि मानिन्छ । बजार पुँजीवादलाई ठुला पुँजीपतिहरूले आफ्नो प्रणालीको फ्रेमभित्र राखेर सञ्चालन गर्दछन् । जब उनीहरू सङ्गठित हुँदै विशाल सञ्जाल बनाउन थाल्दछन्, त्यसले अन्तर्राष्ट्रिय रूप लिन्छ । संसारको औद्योगिक, प्राविधिक र वित्तीय व्यवस्थामा उनीहरूको पूर्ण वर्चस्व बनाएर संसारमा सङ्गठित शोषण गर्ने भएकोले त्यसलाई कर्पोरेट पुँजीवाद भनिन्छ । त्यहाँ बजार बिचौलियाहरूको नियन्त्रणमा हुन्छ भने बस्तुको मूल्य क्रय शक्ति र माग बिचको सन्तुलनमा तय हुन्छ ।
कर्पोरेट पुँजीवादले कच्चा पदार्थको लागि अरूका देशलाई उपनिवेश बनाउने र लुट्ने गर्नाले उपभोक्ता देश र जनताहरू कङ्गाल हुँदै जान्छन् । यस्तो व्यवस्थाको अन्तिम चरण साम्राज्यवाद हो, त्यसले मानिस सहित देशहरूलाई पनि उपभोक्ता हुँदै क्रमशः दास बनाउँछ, निचोर्छ र अन्तमा विश्वलाई कच्चा पदार्थको पूर्तिको लागि युद्धको भुमरीमा धकेल्छ । यस व्यवस्थामा मानवीय मूल्य बस्तुको मूल्य जस्तै हो । कमजोर न्याकिन्छ र उसको अस्तित्व प्रतिस्पर्धाको कारण मेटिन्छ भने जित्नेहरूको इन्ट्रेस्टमा प्रणाली चलायमान हुन्छ । व्यापारको लागि प्रतिस्पर्धा र कच्चा पदार्थको लागि कब्जा आम जस्तै हुन्छ यहाँ । यसैका उदाहरणहरू हुन् अहिले विश्वभर चलिरहेका द्वन्द्व र युद्धहरू ।
अहिलेसम्म संसारको वित्तीय र राजनैतिक प्रणालीको सम्राट् उत्तर अमेरिका नै हो । उसका केही सहयात्रीहरू युरोपमा छन् भने संसारभर ९ सय भन्दा बढी ठाउँमा स्थायी सैनिक क्याम्पहरू रहेका छन् । यी सबै मिलेर उसले आफ्नो सोच अनुकूल विश्व व्यवस्था चलाइरहेको छ ।
५०० वर्षदेखि अहिलेसम्मको वैश्विक वर्चस्व मोटामोटी युरोप र अमेरिकी नेतृत्वको वरिपरि नै छ । यो वर्चस्वको लडाइँमा युरोपियनहरूले अमेरिकी महाद्वीप, युरोप, अफ्रिका, एसिया, अस्ट्रेलिया गरेर करोडौँ मानिसको जातीय सफाया गरिसकेका छन् । उनीहरूले गरेको जेनोसाइडको लिखित विवरण उतार्नु धेरै नै मुस्किल कुरा हो ।
सन् २०१४ फेब्रुअरी तथा मुठभेडको रूपमा सन् २०२२ फेब्रुअरी २४ देखि चलिरहेको युक्रेन युद्ध होस् वा ७ अक्टोबर, २०२३ देखि चलेको हमास इजरायल युद्ध होस्, यी दुवैको सिर्जनाहार पनि अमेरिका नै हो । साम्राज्यवादी अमेरिकाले इतिहासमा बालक, वृद्ध, महिला वा कुनै पनि देशका निरपराध मानिस मारिंदा दया, प्रेम र मानवता वा मानवीय करुणा व्यक्त गरेको इतिहास छैन । उसको चासो राष्ट्रिय स्वार्थ र आर्थिक लाभसँग मात्र रहन्छ ।
त्यो भन्दा अगाडिका इरान इराक, सिरिया, प्रसियन गल्फ, लाल सागर लगायत मध्यपूर्वका प्राय सबै प्रत्यक्ष वा प्रोक्सी वार अमेरिकी इन्ट्रेस्टमा नै भएका व्यापारिक द्वन्द्वका बाइप्रोडक्ट हुन् । यी सबै युद्धको प्रमुख रहस्य वर्चस्वको छिनाझप्टीभित्र रहे पनि यसको बाहिरी रूप वैश्विक व्यापार प्रतिस्पर्धाले ल्याएको द्वन्द्व हो भन्दा अत्युक्ति नहोला ।
यी सबै युद्धहरूको कारणले गर्दा अहिले संसारमा आधुनिक हतियारहरूको होड आकासिँदै गइरहेको छ । हतियारको निर्माण र किन बेच इतिहासकै उच्च स्तरमा छ । यी टकराबहरूले संसार कता जाँदै छ भन्नेतर्फ नै संकेत गर्दछन् ।
संसारमा प्रविधि र हतियार निर्माणको विकास स्तर बाहिर जति देखिएको छ भित्र भित्रै त्यो भन्दा सयौँ गुणा बढी हुन सक्छ । चीन, इरान, उत्तर कोरिया, भारतले आफ्नो प्रविधिलाई गुणात्मक रूपले रूपान्तरण गर्दै लागेका छन् । उत्तर कोरियाको एउटा ह्याकरले संसारको इन्टरनेट संचालित सेवालाई ह्याक गरेर वा भाइरस पठाएर आधुनिक युद्ध क्षमतालाई चुनौती दिन सक्ने अवस्थामा आइपुगेको छ ।
एउटा भाइरसले संसारको सम्पूर्ण प्रणाली ठप्प पार्न सक्ने युग हो यो । यन्त्र विकास र रोबर्ट आर्मी, ड्रोन वा जहाजमा अत्याधुनिक प्रविधि, डिफेन्स सिस्टममा उत्तर कोरिया, चीन, इरानको प्रविधिले पुराना शक्ति राष्ट्रहरू हायलकायल छन् । इजरायल र अमेरिकी शक्तिका पुराना मिथकहरू अहिले मजाकका विषय बनिरहेका छन् । युक्रेन रुस युद्धमा जस्तै हमास र इजरायल युद्धमा पनि सबैको युद्ध शक्ति, प्रविधि र कौशलको राम्रै परीक्षण भैरहेको छ ।
० ० ० ०
अन्तर्राष्ट्रिय संकट
यी सबै अन्तर्विरोध एक्कासि प्रकट भएका भने हैनन् । पुरानो वैश्विक प्रणालीमा देखिएका अन्तर्विरोधहरु ऐतिहासिक त्रुटि, निषेधात्मक राजनैतिक प्रणाली, असम्वेदनशील अर्थनीति, केही सांस्कृतिक पहिचानको खोजी र प्रविधिका क्षेत्रमा आएको बदलावका कारण विकसित हुँदै आएका हुन् । यो सबैको संक्षिप्त अवस्था र परिवेशलाई नबुझी नव उदारवाद विरुद्ध पूर्व र दक्षिणका मुल्यागत अन्तर संघर्षलाई बुझ्न सकिंदैन ।
प्रोक्सी वार पछिको परिदृश्य:
अमेरिकाले जैस अद अदल, आइएसआइ लगायत विश्वका सयौँ आतङ्कवादी संघ संस्थालाई पोषण गर्दै आफ्ना दुश्मनको विरुद्ध प्रयोग गर्दछ । अब त्यो सैली इरान, रुस लगायत अन्य देशहरूले पनि प्रयोग गर्न थालेका छन् । इरान समर्थित हुथी(यमन), हेजबुल्लाह(लेबनान) लगायतका प्रोक्सी संघ संगठन त्यसैका उदाहरण हुन् । प्राविधिक हिसाबले उनीहरू पनि सशक्त बनाइँदै आएका छन् ।
उत्तर अमेरिका र बेलायतलाई बृहद युद्धमा लतार्ने योजनाका साथ पश्चिमा विरोधी मोर्चाले मध्ये पूर्वमा हुथी र हेजबुल्लाहलाई अगाडि सारेको छ । लाल सागर मै हुथिलाई अघि सारेर संयुक्त राज्य अमेरिका र बेलायतका मालबाहक पानीजहाजलाई आक्रमण गरिएको छ । अमेरिकाको शक्तिलाई तौलेर आक्रमण गरिरहेका छन् हमास, हुथी र हेजबुल्लाहहरूले । पश्चिमा विरुद्धको सम्पूर्ण साहनुभूति यिनीहरू माथि छ ।
यिनीहरूको पछि ठुला शक्तिहरू जोडिएकोले पश्चिमाहरूको प्रोक्सी लडाकाहरूसँग लड्ने चाहना थिएन । अब नचाहँदा नचाहँदै बेलायत र अमेरिका हुथि र हेजबुल्लाहको विरुद्ध लड्नु पर्ने अवस्था आउन थालेको छ । रुस, चीन लगायत ब्रिक्स समूहले चाहेको कुरा नै पश्चिमालाई युद्धमा तान्नु थियो । त्यसरी तानिंदा तालिवानसँग हारेको अमेरिका इरानसँग प्रत्यक्ष रूपमा लड्नु पर्ने हुन सक्छ । अमेरिका युद्धमा तानिने बित्तिकै रुस, चीन र उत्तर कोरिया र अन्त्यमा ब्रिक्स देशहरूसँग उसले एकै पटक लड्नु पर्ने हुन सक्छ । तिनै कारणले गर्दा प्रोक्सी युद्ध लम्ब्याउने योजनामा हुथिले ६ लाख सैनिक भर्ना गर्दै छ ।
अमेरिकाले छोयो कि देश जल्यो भन्ने कुरा लगभग प्रमाणित सत्य जस्तै देखियो । युक्रेन, इराक, सिरिया, अफगान, यमन, भियतनाम, दक्षिण अमेरिका, निकारागुवा ध्वस्त भएर सकिएका देशहरू भए । अमेरिकी बेस क्याम्प भएका देशहरूको अवस्था पनि अन्ततोगत्वा हुने त्यस्तै हो ।
किनकि अमेरिकी उक्साहटकै कारण युद्ध बिस्तारै फैलिने क्रममा छ ।
सेनाको सहयोग र अमेरिकी डिजाइनमा गरिएको चुनावले निम्त्याएको संकट र गुटबन्दीले पाकिस्तान पनि गिजोलिन थालेको छ । प्रदर्शनीहरू हिंसात्मक बन्दै छन् । जनमत पश्चिमाको विरुद्ध छ । संसदीय चुनावको लगत्तै पाकिस्तानमा गृहयुद्ध हुने अवस्था सिर्जना हुँदै छ । ‘अमेरिकाले जहाँ टेक्छ त्यो कि सिरिया हुन्छ कि इराक !’ हेनरी किसिन्जरको यो भनाइ पाकिस्तानको हकमा पनि लागु होला जस्तो छ । पूर्व प्रधानमन्त्री इमरान खानले संयुक्त राज्य अमेरिकालाई अमेरिकी सेनाको बेस राख्न आकास र स्थान नदिएको कारण सत्ताबाट अपदस्त भई जेल जानु पर्यो । तर जनमत इमरान खानको पक्षमा रहेको कुरा चुनावमा उनका उमेद्वारले ल्याएको सिट संख्याले पनि प्रमाणित गरिदिएको छ ।
नयाँ ध्रुवीकरण :
यो पटक अमेरिकालाई तह लगाउने योजनामा संसारका सबै उत्पीडित राष्ट्रहरू छन् । पश्चिमा विश्लेषकहरूका अनुसार अब अमेरिकी सैन्य शिविरहरू हान्ने तयारीमा हुथीहरु छन् । पूर्वमा उत्तर कोरिया हान्ने तयारीमा छ । रुस, चीन, इरान मौकाको पर्खाइमा छन् । सिङ्गो अफ्रिकामा साम्राज्यवादी शक्तिहरू हात धोएर निस्कने तरखरमा छन् । अमेरिकी ब्यारेकमा व्यापक आक्रमण शुरु भै रहेको छ । अमेरिकीहरू इराक र सिरियाबाट पनि भाग्ने दिन कुरेर बसेका छन् । यदि ब्यारेकमा अमेरिकन सैनिक मरे भने अमेरिका युद्धबाट फर्कन नसक्ने गरी फस्ने चिन्ताले अमेरिका काँपिरहेको छ ।
अमेरिकी साम्राज्यवादीलाई आफ्नो भूमिबाट लखेट्ने योजनामा नै मध्येपूर्व युद्धमा सबै शक्ति लागेका छन् । “सन् २०२४ उथल पुथलको वर्ष हो, र त्यसको इपिसेन्टर मध्येपूर्व हो ।” रुसका गुप्तचर प्रमुख सर्गेइ नारस्किन (Sergey Naryshkin)ले इटालीमा भनेको यो भनाइले अबको वैश्विक अवस्थालाई धेरै तयारीका साथ संकेत गरिरहेको बताइन्छ ।
अहिले वैश्विक शक्तिकेन्द्रको ध्रुवीकरण यति तीव्र भएको छ कि अमेरिकाको विरुद्धमा उभिएका देशहरू पूर्ण रूपले रणनैतिक तालमेलमा छन् । कसले कति बेला कस्तो भूमिका खेल्ने उनीहरू चुस्त आन्तरिक सूचना पर्खाइमा छन् । अहिले एक्लै कोही पनि छैन । वैश्विक राजनीतिको आन्तरिक अवस्थालाई विश्लेषण गर्दा अमेरिका र इजरायल संसारबाट अलगथलग हुने अवस्थामा पुगेको देखिन्छ ।
विद्रोहीहरू शक्ति राष्ट्रहरूकै आड र भरोसाले लडिरहेका छन् । अमेरिकासँग युद्ध गरिरहेका बिद्रोहीहरू युद्ध कला र प्रविधिमा कति माथि छन् भन्ने कुरा अमेरिकाको खुफियालाई थाहा नै थिएन भन्न मिल्दैन । बेला बेलामा सीआइएले हुथी र हेजबुल्लाहलाई युद्धमा नतान्न अनुरोध गरेकै थियो । प्रोक्सी युद्ध लडिरहेका विद्रोहीसमूह प्रविधि र रणकौशलमा अमेरिकालाई टक्कर दिन सक्ने हैसियतमा रहेछन भन्ने कुरा संसारले बुझ्न पायो । हमासले इजरायल र अमेरिकाका कथित मिथकहरूलाई पनि संसारसामु नाङ्गेझार पारि दियो । यस मानेमा हमासले युद्ध जितिसकेको मान्नेहरू पनि छन् ।
अब इरान पनि अमेरिकाद्वारा थोपरिएको युद्धमा तानियो भने अमेरिकालाई साथ दिने केवल बेलायत मात्र बाँकी रहने निश्चित छ । त्यो अवस्थाले अमेरिका हच्केको मात्र छैन, इरानसँग भिड्दा रहस्यमय पाण्डुरा बाकस खुल्न सक्ने भयले तर्सेको छ । ‘इरान के हो के हो ?’ ड्रोन त त्यति खतरा छ, आणविक र हाइपर सोनीक प्रविधि पनि छ कि ? या आणविक बम पनि बनाइसक्यो कि ? यो गोलामा चीन, उत्तर कोरिया, रुस र भारत समेत भएकोले पश्चिमाहरू इरानलाई जिस्काउने वा ललकार्ने पक्षमा छैनन् ।
आइसिजेमा आम नरसंहारको मुद्दा फैसला पछिको अवस्था :
दक्षिण अमेरिकाद्वारा अन्तर्राष्ट्रिय अदालतमा इजरायलले गरेको आम नरसंहारको विरुद्ध मुद्दा परेपछि संसार भर हलचल मच्चिएको छ । दक्षिण अफ्रिका उत्पीडित देश र जनताको पक्षमा गर्विलो छाती बनाएर एकाकार भएको छ । साम्राज्यवादीलाई कहिल्यै बिर्सन नसक्ने चुनौती दिँदै न्याएको लागि दक्षिण अफ्रिका सिंह झैँ गर्जेको छ । यता इस्लामिक कानुन र मुसलमान भाइभाइको फुइँ छाड्ने कथित शक्तिशाली भनाउँदा अरबियन देशहरू आफ्ना फिलिस्तिन बन्धुहरूको समूल सफाया हुँदा इजरायली फासिस्टहरूकै पाउ पूजा गरेर बसिरहेका छन् । यो दृश्यले उनीहरूको कथित बहादुरीको भूमि पनि लाजले झुकेको छ । ब्रमाण्डभरि अरब लिगको कायरताको धज्जी उडेको छ । दक्षिण अफ्रिकाको न्यायपूर्ण कानुनी लडाइँले अमेरिका र इजरायललाई संसारको सामु नाङ्गेझार पारि दियो । यो मुद्दाले गर्दा अरूका देश लुट्न यिनीहरूले कसरी एउटा देशका सम्पूर्ण नागरिकहरूको विनाश गर्दा रहेछन् भन्ने कुरा अब स्वयं जान्ने बुझ्ने मौका मिल्यो ।
गत फेब्रुवरी ७ तारिक इजरायललाई गाजामा मानव अधिकारको व्यापक उलङ्घन गरेको कुरा अन्तर्राष्ट्रिय अदालतबाट प्रमाणित भए पछि संसारभर अमेरिकी साम्राज्यवाद र उसको कठपुतली इजरायलका विरुद्ध संसारभर प्रदर्शनहरू भै रहेका छन् । स्पेनले इजरायललाई हतियार नदिने घोषणा गर्यो । केही देशले विभिन्न आपराधिक मुद्दाहरूमा मुद्दा हाल्ने तयारी गरिरहेका छन् । त्यस्तै जापानले पनि अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै जापानमा भएको इजरायली हतियार कम्पनी(एल्पिट)लाई देश निकाला गरिदिएको छ ।
झुटा प्रोपागान्डा :
पुटिन, चीन, कोरिया वा साम्राज्यवाद विरोधी शक्तिलाई दानवीकरण गर्दै आएको पश्चिमा साम्राज्यवादको मानवअधिकारको च्यादर युक्रेन र गाजाको प्रोक्सी वारमा हावाले उडाए पछि ऊ विश्व जनमतबाट नाङ्गिएको छ ।
उसले अल्जाजिरा जस्ता केही बाहेक संसारका प्राय मिडियालाई लगानी मार्फत कब्जामा लिएको छ । कुल पुँजी $ ९.४२ ट्रिलियन रहेको संसारको सबैभन्दा ठूलो बहुराष्ट्रिय वित्तीय कम्पनी ब्ल्याक स्टोन लगायत मार्फत प्रत्यक्ष वा परोक्ष रूपले पुँजीवादी मिडिया नियन्त्रित छन् । इन्ट्रेस्ट बाँझियो भने पत्रकारहरू मिडिया हाउसबाट निकालिन्छन् वा मारिन्छन् । त्यसैले मिडियामा साम्राज्यवादीहरूको अदृश्य नियन्त्रण छ ।
अझ फक्स न्युजको लागि विश्व प्रसिद्ध अमेरिकी पत्रकार टुकर कार्ल्सन (Tucker Carlson) ले लिएको भ्लामिदिर पुटिनको अन्तर्वार्तापछि पश्चिमाहरूमा कम्पन पैदा भएको छ । पश्चिमा जनता लगायत संसारले अमेरिकी उक्साहटमा भएको प्रोक्सी युद्धलाई भिन्न कोणबाट बुझ्ने अवसर पाएका छन् ।
त्यस्तै, अमेरिकी राष्ट्रपतिका उमेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुवरी १२,२०२४ को चुनावी सभामा दिएको ‘चुनाव जितेपछि उत्तर एट्लान्टिक सन्धि सङ्गठन(नाटो)लाई सहयोग बन्द गर्ने र रुसलाई सहयोग गर्ने’मन्तव्यले पश्चिमा जगतमा कोलाहल मच्चिएको छ ।
युनाइटेड नेसन्स रिलिफ एण्ड ओर्क्स एजेन्सी (UNRWA)का कर्मचारीले हमासको आक्रमणमा सहभागी भएको भन्ने इजरायले आरोप लगाए पछि अमेरिका केही देशले अनुसन्धान पूर्व पेलिस्टाइन रिफुजीलाई दिने सहयोग रोके ।
देशको नाम नै लिएर भन्नु पर्दा क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, इटाली, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, फिनल्याण्ड, इस्टोनिया, जापान, अस्ट्रिया र रोमानियाले युनाइटेड नेसन्स रिलिफ एण्ड ओर्क्स एजेन्सीलाई दिने बजेट रोक्ने घोषणामा अमेरिकालाई साथ दिए । बेल्जियम, स्पेन, पोर्चुगल, अस्ट्रेलिया लगायत देशहरूले सहयोग बजेट नरोक्ने बरु बढाएर दिने घोषणा गरेका छन् । यसले पनि युरोपियन युनियनभित्रको अन्तरसंघर्षलाई सतहमा ल्याइदियो ।
अमेरिकामा आन्तरिक संकट :
अर्कोतर्फ अमेरिका आफ्नै देश भित्रको द्वन्द्वमा फस्ने खतरा उत्तिकै छ । टेक्सास लगायत केही देशहरूले आफ्नो राज्य अलग हुन चाहेको बताइरहेका छन् । मेक अमेरिका ग्रेट अगेन अभियानले अमेरिकाबाट एंग्लो सेक्सनका राज्यहरू र मेक्सिकन लगायत कालाजाति भएका राज्य अलग हुने सम्भावनालाई बढाएर लागेको छ । जब देश कमजोर हुँदै जान्छ त्यसपछि गृहयुद्धद्वारा देश विभाजन हुने खतरा बढेर जान्छ ।
त्यस्तै डेमोक्र्याटका न्यायाधिशहरूले राष्ट्रपति चुनामा बाइडेनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पलाई आगामी चुनावमा उठ्न नपाउने गरी लामो समय जेल राख्नु पर्ने अन्यथा अमेरिकाको लागि खतरा हुने बताइरहेका छन् । यदि ट्रम्पलाई त्यसो गरिएमा हतियार उठ्ने भनेर रिपब्लिकन पार्टीका नेताहरूले धम्की दिइसकेका छन् । सरकारी तथ्याङ्क अनुसार ३३.५ करोड उत्तर अमेरिकीहरूले ४७ करोड स्वचालित राइफल र मेसिनगनहरु घरमा राख्दछन् भनिन्छ । यदि अमेरिका आन्तरिक युद्धमा फस्यो भने ती सबै हतियार प्रयोग हुने सम्भावना रहन्छ ।
० ० ० ०
सारमा :
अमेरिकाले संसारभरि पश्चिमा सामरिक, सांस्कृतिक, धार्मिक र पुँजीवादी मूल्यमा आधारित राजनैतिक वर्चस्व कायम गर्न शुरु गरेको झन्डै ५०० वर्ष भयो । अहिलेसम्म उसले औपनिवेशिक लुट र वर्चस्वको लडाइमा विश्वमा धेरै युद्धहरू थोपरिसकेको छ । उसले युद्ध थोपर्नको लागि प्रत्यक्ष आक्रमण गर्नु एउटा तरिका हो । त्यसबाहेक आन्तरिक विद्रोह गराउने, छिमेकीसँगको अन्तरविरोधलाई चर्काएर युद्ध गराउने, आर्थिक तथा व्यापारिक प्रतिबन्ध लगाउने र कूटनैतिक धम्की मार्फत दबाब दिने कुराहरू पर्दछन् । आफ्नो हित बाहेक अमेरिकाको दीर्घकालिक सत्रु मित्रु कोही हुँदैन । त्यसैले पूर्व अमेरिकी राजनीतिज्ञ हेनरी किसिन्जरले भनेका छन्, अमेरिकासँग दुश्मनी मोल्नु गर्नु खतरनाक हो भने मित्रता गर्नु झनै भयावह कुरा हो (Henry Kissinger once said, “To be an enemy of the US is dangerous, but to be a friend is fatal?”) !
आखिर, अमेरिकाको मित्र हुनु सुरुमा राम्रो चीजहरूको लागि मार्ग प्रशस्त भए जस्तो लाग्न सक्छ तर अहिलेसम्मको नतिजा हेर्दा घातक परिणाम देखाइरहेको छ । लादेन, सद्दाम, गद्दाफी शुरुमा अमेरिकाका अनन्य मित्र थिए, तर अन्त्यमा उनीहरूलाई अमेरिकाले नै मार्यो ।
यसलाई अर्को उदाहरणबाट यसरी प्रस्ट पार्न सकिन्छ कि गत वर्ष दुई देशको विवादका कारण अस्ट्रेलिया र चीनबिच एक व्यापारिक सम्झौता रद्द भएको थियो । त्यो विवाद पछि चीनले अस्ट्रेलियाको जौ किन्न बन्द गर्यो तर अस्ट्रेलिया अमेरिकाको सहयोगी मित्र देश भएको ठानिए पनि अमेरिकाले अस्ट्रेलियासँगको सम्झौता भङ्ग गराई चीनलाई अमेरिकी जौ बेच्न पाउँदा अत्यन्त खुसी भयो । फ्रान्स र अस्ट्रेलियाबिच भएको पानडुब्बि सम्झौतामा पनि अमेरिका खेल्यो र त्यो सम्झौता रद्द गराई आफ्नो सामरिक पानडुब्बि अस्ट्रेलियालाई बेच्यो । रुसको तेल ग्याँस बन्द गर्न लगाएर युरोपमा आफ्नो तेल र ग्याँस अति महँगो मूल्यमा बेच्ने अमेरिकाको लागि मित्र भन्दा प्रिय पैसा भयो । उसले रुसबाट युरोपलाई तेल किन्न दिएको छैन तर आफूले किनिरहेको छ ।
अमेरिकाको स्वार्थी नीतिका कारण उसका युरोपियन मित्रहरूले फ्रान्स, जर्मनी लगायत युरोपले चित्त त दुखाए । नजिकको मित्रले दिएको दुख टाढाको सत्रुले दुख भन्दा अत्यधिक पिडादायी र भयानक हुन्छ भन्ने कुरा त्यो बेला फ्रान्सले दिएको प्रतिक्रियाबाट थाह हुन्छ ।
शीत युद्धको समाप्ति पछि नै अमेरिका लगायत पश्चिमाहरू तेस्रो विश्व युद्धको तयारीमा लागेका हुन् । त्यो तयारी ९० को दशक पछि नयाँ चरणको युद्धमा गयो । अफगान, इरान, इराक, यमन, सिरिया, युक्रेन, रुस, कोरिया लगायतका देशहरूमा अमेरिकाले युद्धका कारक र कारणहरू निर्माण गर्दै आएको छ । कारकहरू बलिया नहुन्जेल अमेरिकाको पृष्ठ पोषणमा हुर्कन्छ तर बलिया भै सकेपछि उसकै लागि आत्मघाती हुने हुँदा ऊ दिक्क छ । अमेरिकन रणनीतिमा कारक कारणको निर्माण विधि त्रुटिपूर्ण रहेको केही रणनीतिकारहरूले बताए पनि ऊ अहिलेसम्म सिरियामा रहेको क्रुदिष्ट आन्दोलन,जैस अस अदल,आइएसआइ लगायतका आतंकित सङ्गठनहरूलाई आफ्नो अनुकूलतामा प्रयोग गर्दै आइ रहेको तथ्य कसैका अगाडी छिपेको छैन ।
अमेरिकी साम्राज्यवाद तेस्रो विश्वयुद्धको लागि व्यस्त र व्याग्र छ । उसकै कारण तेस्रो विश्वयुद्ध लगभग अपरिहार्य जस्तै बनिरहेको छ । त्यो विनाशकारी युद्धलाई रोक्न सबै उत्पीडित राष्ट्रहरू एक हुनुको विकल्प हामीसँग छैन ।
पश्चिमा शक्ति आन्तरिक कारणले धरासायी हूने अवस्था पनि आइ सकेको छ । आकाश बाहेक आगामी तेस्रो बिश्व युद्धका तीन बिन्दु पूर्वी युरोप,मध्ये पूर्व र पूर्वी एसियाको ताइवान सम्भावित युद्धस्थल हुन सक्ने अवस्था छ । यो युद्ध जमिन क्षेत्रमा मात्र हुने छैन, इन्टरनेट र डाटा सेक्युरिटीमा एउटा भाइरसले प्रविधिलाई आफ्नो कब्जामा लिने हदसम्म जाने छ । स्पेसका सबै स्याटलाइट सर्किट वा नेटवर्क ध्वस्त हुने छन् ।
अन्त्यमा, युद्धबाट हुने मानव सभ्यताको आगामी विनाशलाई रोक्न सबै देशहरूबाट साम्राज्यवादी क्याम्प धपाउने अभियान अझै तिखार्नु आवश्यक छ । उदार पुँजीवादका विरोधी मौलिक सभ्यताका समर्थक, राष्ट्रवादी, परम्परावादी तथा वामपन्थी शक्तिहरूको वैश्विक संयुक्त मोर्चा अहिलेको वैश्विक आवश्यकता हो । जसको भ्रूणको रूपमा ब्रिक्सले जन्म लिइसकेको छ । राष्ट्रिय रूपमा पनि त्यही मोडेलमा संयुक्त मोर्चा बनाएर साम्राज्यवादी पृष्ठपोषक एनजिओ, आइएनजिओ, सांस्कृतिक साम्राज्यको लागि परिचालित मिसिनरी, अमेरिकी बेस क्याम्प र पश्चिमाको लागि जासुस गर्ने मानव–अधिकारवादीहरूलाई देशबाट धपाउने अभियान शुरु गर्नु पर्छ ।
अबको वैश्विक क्रान्ति सतहमा देखिएका दृश्यहरूमा मात्र सीमित नभएर परिष्कृत प्रजातन्त्रलाई पहुँच, समावेशिता, पूर्ण सहभागिता र समानतासँग घनिभूत रूपमा जोडिएर आउने छ । आफ्नै मौलिकतामा फुलेको एउटा फूलजस्तो आभा जनताको खुसीमा देखिने छ । नवीन प्रजातन्त्रमा शक्तिको प्रतिस्पर्धालाई सहअस्तित्वले पछार्ने छ भने मानिसहरूको खुशी र सामूहिक उत्तरदायित्व बोधले सिङ्गो विश्वलाई अझ उत्कृष्ट मानव महासङ्घमा रूपान्तरण गर्ने छ । अस्तु :
० ० ० ०
श्रोत : https://reliefweb.int/report/occupied-palestinian-territory/gaza-10000-children-killed-nearly-100-days-war
गूगल न्युज,वार रिपोर्ट,अल्जाजिरा, https://www.aljazeera.com/news/2024/2/10/body-of-6-year-old-killed-in-deliberate-israeli-fire-found-after-12-days र विभिन्न विश्लेषकहरूका अन्तर्वार्ताहरू
https://tass.com/politics/1717383
https://www.globaltimes.cn/page/202203/1256563.shtml
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।