१.     विषय प्रवेश-

नेपाली साङ्गीतिक जगतमा गोपाल योञ्जनको नाम एउटा उच्च स्थानमा पाइन्छ । नेपाली सङ्गीतकारका लहरमा अम्बर गुरुङ, नातिकाजी, गोपाल योञ्जन, रञ्जीत गजमेर, शम्भुजित बास्कोटा आदि जस्ता नेपाली सङ्गीतकार नेपाली सङ्गीतका शीर्ष नाम हुन् । उनीहरूले नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ मोड ल्याउने काम गरेका हुन् । गोपाल योञ्जन एक शब्दकार, सङ्गीतकार र गायक गरी नेपाली सङ्गीतका त्रिवेणी हुन् । उनले नेपाली गीतको मौलिकताको अन्वेषण गरी नयाँ सिर्जनामा साधनारत रहेका हुन् ।

गाेपाल याेञ्जन

गाेपाल याेञ्जन

गोपाल योञ्जन मिरिकस्थित ओकाइटी वि सं. २००० सालको जनै पूर्णिका दिन जन्मेका थिए । डा बाबु डा बुद्धिमान योञ्जन र आमाको नाम छेकुडोल्मा योञ्जन थियो । उनका बाबु ओकाइटीका डाक्टर थिए । उनकी एक दिदी प्रतिमा हुन् । आफू जन्मेर नौ महिनाको हुँदा बाबुको निधन भएको थियो । आमाले नै उनलाई हुर्काउने बढाउने काम गरेकी थिइन् ।

अर्का वरिष्ठ सङ्गीतकार कर्म योञ्जन साइनोले उनका दाजु हुन् । कर्म योञ्जन र गोपाल योञ्जनका बाहरू दाजुभाइ र आमाहरू दिदीबहिनी थिए । डाक्टर पढाउने आमाको इच्छालाई भने पूरा गर्न सकेनन् । यद्यपि उनी सानैदेखि सङ्गीतपट्टि ढल्किएका थिए । सानैदेखि उनी बाँसुरी बजाउने गर्दथे । उनलाई डाक्टर पढाउने उद्देश्य दार्जिलिङको सन्त जोसेफ्स कलेजमा भर्ना गरिए तापनि आफ्नो सङ्गीतप्रतिको झुकावले डाक्टर पढ्न नसक्ने भनी आमालाई भनेका थिए ।

त्यसपछि उनी दार्जिलिङको लोक मनोरञ्जन शाखाअन्तर्गत हिमालय कला मन्दिरमा एक बाँसुरी वादकको रूपमा काम गर्न थालेका थिए । उनले गोर्खा दुःख निवारक सम्मेलनले वार्षिक रूपमा आयोजना गर्ने सङ्गीत प्रतियोगितामा श्रेष्ठ गीतकार र श्रेष्ठ सङ्गीतकार रूपमा विजयी भएका थिए । हिमालयन कला मन्दिरमा कार्यरत छँदा नगेन्द्र थापाको र उनी मिलेर लगभग चालिसवटा जति गीतहरू रचेर त्यसको धुन भरेका थिए । त्यसमध्येबाट नारायण गोपाल दार्जिलिङ आएका बेला आठवटा जति गीत लगेर आफूले गाएका थिए ।

उनी २४ वर्षको उमेरमा काठमाडौं गएका थिए । उनलाई काठमाडौँ लाने उनका घनिष्ठ मित्र नगेन्द्र थापा थिए । थापाले योञ्जनलाई चिठी लेखेर काठमाडौँ बोलाए । त्यसपछि थापा आफैँ दार्जिलिङ आएर योञ्जनकी आमा र दिदीलाई काठमाडौँ लाने र त्यहाँ नेपाली गीत सङ्गीतको ठुलो ठाउँ छ भन्ने आश्वासन दिएर मनाएका थिए ।

गोपाल योञ्जन राम्रो विशुद्ध भाषाका गीतकार हुन् । उनले दार्जिलिङ सरकारी कलेजबाट नेपाली भाषा र साहित्य विषयमा स्नातक र काठमाडौँको त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका थिए । त्यसपछि पद्मकन्या क्याम्पसमा नेपाली पढाउने गर्थे । उनी एक लेखक पनि हुन् । उनले सङ्गीत विषयमा दुई वटा पुस्तक पनि लेखेर प्रकाशित गरेका थिए । उनको सङ्गीताञ्जलि र गीत मञ्जरी हुन् भने उनले नारायण गोपालसित मिलेर बागीनाको सम्पादन गरेका थिए ।

भारतीय शास्त्रीय सङ्गीतमा बनारसबाट स्नातक भए । ननीदुलाल मुखर्जी उनका गुरु थिए । नेपालीमा स्नातकोत्तर गरेका थिए । उनले एक हजारभन्दा बढी गीतमा सङ्गीत दिएका छन् । सिन्दूर, कान्छी, बदलिँदो आकाश, गरी १२ वटा जति चलचित्रमा सङ्गीत दिएका छन् । उनले सङ्गीताञ्जलि र गीत मञ्जरी गीतका ग्रन्थ लेखेका छन् । बागीनाका सम्पादन गरेका छन् । उनका केही गीति अलबमहरूमा रहेका छन् ।

तिनमध्ये मितज्यू, निशानी – ५२, निशानी – ५३, गीत मञ्जरी, च्याङ्बा हो च्याङ्बा, गोल्डन हिट्स, नशालु मन आदि अलबम तयारी पारेका छन् । उनले लेखेका गीतहरूको सङ्कलन गरी गोपालय म्युजिकल जर्नी मा जम्मा 240 वटा गीतहरू सङ्कलित छन् । यसमा सोह्रवटा आयामहरूमा वर्गीकृत गरिएको छ । सन् १९६९ मा गोपल योञ्जन र नारायण गोपालको जोडीको मितज्यू नाइट काठमाडौँ, दार्जिलिङ कालिम्पोङ आदि ठाउँमा सम्पन्न भएको थियो । यो कार्यक्रम कालिम्पोङको कुमुदिनी स्कुलको घरधर्म हलमा दुई दिन सम्पन्न भएको थियो । (स्रोत डा राजेन्द्र भण्डारीको संस्मरणमा रहेको)

गोपाल योञ्जनले कालिम्पोङकी रिन्छेनसित सन् १९६७ मा बिहा गरेका हुन् । सम्भवतः २००1 तिर हिमाल मासिक पत्रिकामा श्रीमती रिन्छेनका माइती परिवारपट्टिबाट पाँच पुस्ता एकै ठाउँ भएको फोटो र त्यसको विवरण प्रकाशित भएको थियो । त्यसमा श्रीमती रिन्छेन लामा भिक्टोरिया क्रस पाउने गञ्जु लामाकी सुपुत्री हुन् भन्ने जानकारीमूलक लेख प्रकाशित भएको थियो । गोपाल योञ्जन र श्रीमती रिन्छेनका दुई छोरा निर्वाण र अहिंसा र एक छोरी सिर्जना हुन् । उनले सङ्गीतमा योगदान दिएबापत छिन्नलता पुरस्कार पाएका थिए । उनको प्रतिमा दार्जिलिङको गोर्खा रङ्गमञ्चमा स्थापना गरिएको छ ।

गोपाल योञ्जन एक कुशल सङ्गीतकार, एक गायक र एक गीतकार हुन् । यसर्थ, उनी यी तीनै कुराले सम्पन्न वाग्येयकार त्रिवेणी हुन् । गीतमा हुनुपर्ने मिठास, आह्लादकारिता, लयात्मकता, गेयात्मकता, सुमधुरता पाइन्छ । गीत सुन्दाका सुमधुरता, परमानन्दानुभूति आदि पाइन्छ । उनका गीतमा देउरालीको शीतल बतास चलेजस्तो लाग्छ । स्रोतालाई मन्त्रमुग्ध बनाउने जादु छ । गीतको भावमा जोड दिएका थिए । उनी आफैँ पनि हिन्दी अङ्ग्रेजी आदि गीतहरू सुन्ने गर्थे ।

कञ्चनजङ्घा सिनेमाको फिल्माङ्कन गर्ने क्रममा दार्जिलिङ आएको सत्यजित रेले गोपाललाई कञ्चनजङ्गा फिल्मका लागि कञ्चनजङ्गा हिमाल हेर गाउन लाएको र गोपालले आफ्नै धुनमा केही समय बजाएका थिए । त्यो रेकर्ड गरेपछि सत्यजित रेले पछिबाट रू पाँचसय रुपियाँ मनि अर्डर गरेर पारिश्रमिक पठाएको थिए रे । गोपाल योञ्जन र नारायण गोपालको बेमेल, फाटो वा मनमुटाब झगडा भएको होइन । बरु आफ्नो आफ्नो गीतको शैली र पथानुशरण गरेका हुन् । (स्रोत- रिन्छेन योञ्जन र सिर्जनासिंह योञ्जनको अनलाइन अन्तर्वार्ताबाट)

००००

२.     गीतकारका रूपमा गोपाल योञ्जन

गोपाल योञ्जनको साङ्गीतिक पक्ष छोडेर गीतकारका रूपमा मात्रै अध्ययन गरे पनि उनी एक उत्कृष्ट गीतकार हुन् । आफैँ सङ्गीतकार हुनाले उनका प्रत्येक गीतमा गीतमा हुनुपर्ने सबै गुण र विशेषता पाइन्छन् । सरल शब्दहरूमा गम्भीर भाव, जीवन  रजगतका दार्शनिकता र व्यावहारिकता सबै कुरा पाइन्छन् । गीतमा उनको कल्पनाले पखेटा चालेका छन्, नाद र निनाद पोखेका छन् । उनका गीतहरू दिलमाया खाती, नारायण गोपाल, मीरा राणा, अरूणा लामा, सुशीला कंसाकार, किरण प्रधान, भक्तराज आचार्य, आदिले गाएका छन् । उनको गीत सङ्ग्रह गोपालयमा जम्मा २४० वटा उनले लेखेका गीतहरू सङ्ग्रहित छन् । यद्यपि प्रमुख रूपमा गोपाल योञ्जनले लेखेका केही लोकप्रिय र चर्चित गीतहरू मुख्य गरी यी हुन्-

१.     सम्झेर बुझेर दिइहाल यो जोबन- दिलमाया खाती र कर्म योञ्जन
२.     गाउँकी छोरी बढ्यौ है तिमी, लौ आफैँ बुझ न, पोखरा गई आफ्नै रूप हेरेर सम्झ न- दिलमाया खाती

३.     चुमेर पानाहरू यति म लेखिदिन्छु- स्वर नारायण गोपाल

४.     गल्ती हजार हुन्छन् यहाँ होस् हराएको बेला- स्वर नारायण गोपाल

५.     बिर्सेर फेरि मलाई नहेर- स्वर नारायण गोपाल

६.     यति चोखो यति मिठो दिउँला तिमीलाई माया- स्वर नारायण गोपाल

७.     शिखर भने कहाँ अझ कति टाडा- स्वर नारायण गोपाल

८.     आज यौवनलाई सधैँभरि यहाँ बाँधिदिएँ- स्वर नारायण गोपाल

९.     जीवनको हरेक मोडमा- स्वर नारायण गोपाल र अरूणा लामा

१०.    मलाई माफ गरिदेऊ मेरा लोभी नजर- स्वर नारायण गोपाल

११.     तिम्रो जस्तो मुटु मेरो पनि- स्वर नारायण गोपाल

१२.    ए मलाई माया गर्छु भन्नेहरू- स्वर नारायण गोपाल

१३.     लौ सुन म भन्छु मेरो राम कहानी- स्वर नारायण गोपाल

१४.     चुमेर पानाभरि यति म लेखिदिन्छु- स्वर नारायण गोपाल

१५.     जीवनदेखि धेरै धेरै नै थाकेर- स्वर नारायण गोपाल

१६.     मेरो गीत मेरै प्रतिविम्ब हैन- स्वर नारायण गोपाल

१७.    केही चोटले ज्ञानी हुन्छ- स्वर नारायण गोपाल

१८.     तिमीलाई देख्दा रहर होला- स्वर नारायण गोपाल र दिलमाया खाती

१९.      तिमी देऊ या नदेऊ स्वीकृति- स्वर नारायण गोपाल र मिरा राणा

२०.     म कसरी भनूँ- स्वर नारायण गोपाल

२१.      मेरो जीवन लैजाऊ- स्वर नारायण गोपाल र मीरा राना

२२.     हिमालसरी अग्लिरहेछु- स्वर नारायण गोपाल र अरूणा लामा

२३.     मखमली चोलो चाहिँदैन- स्वर मिरा राणा

२४.     रुनु न हाँस्नु बनायो पिरतीले- स्वर सुशीला कंसाकार

२५.     कहाँ पर्‌यो पूरिब हो कहाँ झुल्क्यो घाम- स्वर गोपाल योञ्जन

२६.      कुन दिनको संयोगले बनें लाहुरे- स्वर गोपाल योञ्जन

२७.     बाँचिदिन्छु तिम्रै लागि- स्वर गोपाल योञ्जन

२८.     देशले रगत मागे मलाई बलि चढाउनु- स्वर गोपाल योञ्जन

२९.     नेपालीलाई नेपालको कतिको माया छ- स्वर गोपाल योञ्जन

३०.      तिमी एक फूल हौ भने म फूलको पराग हुँ- नारायण गोपाल

३१.      विश्वास गरें तिमीलाई मैले- किरण प्रधान

३२.      भूल हो तेरो भागिहिँड्नू- स्वर किरण प्रधान

३३.      कहिलेकाँहीका मनका कुरा हामीलाई पनि भन- उदितनारायण झा

३४.     टारी नदेऊ हे माझी दाइ माइतीको पाप लाग्ला- स्वर तारा थापा

३५.     चौतारीमा बसेर रुन पाउँ मनको पीर सुनेन हुन पाउँ- अरूणा लामा

३६.     मेरो पाउमा आज- स्वर मिरा राणा र गोपाल योञ्जन

३७.     मेरो छेउ कोमल भाव बटुलिन आउ- भक्तराज आचार्य

३८.     उडी जाऊँ भने मेरो कँही प्वाँख छैन- सुशीला कंसाकार

३९.      तिमी भन्छौ म तिम्रो हुँ- स्वर थुपदेन भोटिया ।

४०.      भेट्नु छुट्नु त के हो र? संसारको रीत हो-

४१.       फुलेका फूलहरू बोटमै रमाउन दिनु- स्वर योञ्जन स्वयम् ।

४२.       भोकमा लागे भात खाउँला – सेलो स्वर गोपाल योञ्जन र ज्ञानु राणा

४३.       मरिगए रेलिमाई दैवको साथैमा बाँचुञ्जेल रेलीमा प्यारीको हातैमा- स्वर गोपाल योञ्जन

४४.      सानोमा सानो भन्दामा रोसीको बगायो-

४५.      यो मायालाई भार ठान, पैतालाको धुलो ठान- अरूणा लामा र मिरा राणा

४६.      भनिदे मेरो देश कहाँ पर्‌यो- स्वर गोपाल योञ्जन

४७.      होइन भने नेपाली नभन, वीरको छोरा नातिमा नगन- स्वर गोपाल योञ्जन

४८.       हाम्रो खुसीको लागि हामी नै बनिनु पर्छ-

४९.        जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर- स्वर भक्तराज आचार्य

५०.        फरियालाई भुइँमा लतारी हेर्छौ वारिपारि-

५१.        न फूल चढाए न माला चढाएँ यो तिम्रै गीत तिमीलाई चढाएँ ।

५२.        हर नादहरू तिम्रै श्रुतिहरू तिम्रै – नवश्री सिंह ।

५३.       समर खेल्न शत्रु छैन जित्नुपर्ने युद्ध छैन- स्वर गोपाल योञ्जन

५४.       उडी जाऊँ भने मेरो कहीँ प्वाँख छैन – स्वर सुशीला कंसाकार

५५.      छातीभित्र मुटु हुन्छ मुटुभित्र के हुन्छ- स्वर इन्दिरा श्रेष्ठ

५६.       बायाँ हातमा सारा दुखीलाई दायाँ हातमा राखेँ मेरा शत्रुलाई-

०००० 

३.     गोपाल योञ्जनले लेखेका केही गीतहरूको अध्ययन-

गोपाल योञ्जन सयौँ गीत लेखेका छन् । उनी सत्र अठार वर्षको किशोरावस्था नै जीवन दर्शनका गम्भीर विषयलाई लेखेका थिए । ईश्वीको साठीको दशकमा दार्जिलिङमा नेपाली गीतको स्वर्णिम काल थियो । गोपाल योञ्जनको प्रतिभा खारिँदै गएको थियो । उनले बालगीत, भक्तिगीत, राष्ट्रगीत, सिनेमागीत, लोकगीत सबै प्रकारका गीत लेखेका थिए । उनको गीतका भावले विस्तार पाएको छ ।

मान्छेका पीडा, मर्मलाई राम्रोसँग सम्बोधन गर्न सकेका छन् । उनले कुनै विषयमा तुरुन्त गीत लेख्न सक्थे । जीवन दर्शन, सांसारिक दर्शन, नेत्रहीन, लाहुरे, टोपी, गोर्खाली वीरता, देशप्रेम आदि विषयमा गीत लेखेका छन् । ती जम्मै नै गेयात्मक भए केही गायक कलाकारहरूले गाएका हुन् । उनका गीतहरूको मूल मर्म सुन्दा उनका गीतमा विषयगत विविधता, गेयात्मकता, प्रगीतात्मकता, माधुर्य आदि जस्ता गुण पाइन्छन् । गीत लेखनका हरेक पक्षमा उनी सचेत देखिन्छन् ।

गीतमा हुनुपर्ने अनुप्रासिक आनुषङ्गिकता, लयात्मकता, गेयात्मकता, श्रुति मधुरता, शाब्दिक र वर्णगत कोमलता जस्ता गीतका विशेषताहरू पाइन्छन् । गीतमा प्रत्येक शब्द-शब्दगत पूर्वापर सम्बन्धलाई कायम राखेका छन् । यसमा कुनै एक शब्द झिकिदिए एउटा समग्र गीतमा नै सन्तुलन बिग्रिन्छ । प्रत्येक शब्द शब्दमा नै सौन्दर्य पाइन्छ । एउटा गीतमा हुनुपर्ने आनुषाङ्गिक अनुप्रासिकता, विषयगत एकोन्मुखता, लयात्मकता, कोमलता, शब्दगत मधुरता, सम्प्रेषणीयता, वैयक्तिकता इत्यादि जस्ता गीतमा चाहिने कुरालाई प्यासीले पालना गरेका छन् । गीतकार प्यासीले गीतका प्रत्येक शब्द-शब्दमा प्राण भरेका छन् । पङ्क्तिपङ्क्तिका बीच भावगत सामञ्जस्य राखी गीतलाई एकोन्मुख तुल्याएका छन् । मनको मिहिन भावलाई मूर्तता दिएका छन् ।

उनी शब्द चयन, भाव सम्प्रेषण र माधुर्य सिर्जना गर्न अब्बल हुन् । उनका गीतमा मानवीय संवेदना, देशभक्ति, जात्याभिमान, मानवीय अभिप्रेरणा, पीडाबोध, प्रेमोद्गार, यथार्थता आदि जस्ता विषयगत प्रवृत्ति पाइन्छन् ।

 मानवीय संवेदना-

गोपाल योञ्जन मानवीय संवेदनाका गीतकार हुन् । उनका सयौँ गीतमा मानवीय संवेदनलाई विषयवस्तु बनाइएको छ । मानवीय प्रेम, संवेदना आदिलाई स्वर दिएका छन् ।

क.  लौ सुन म भन्छु मेरो राम कहानी,

त्यो एक दिनको घाम सयौँ दिनको पानी- स्वर नारायण गोपाल

ख.  विश्वास गरेँ तिमीलाई मैले-

ग.   हिमालसरि म अग्लिरहेछु समात समात समात मलाई ।

बादलसरि सरी म अग्लिरहेछु सम्हाल सम्हाल सम्हाल मलाई ।

यी तारा कति छन् म गन्न सकुँला

तर तिम्रो माया कति छ नसोध

जहाँ बरले पीपल अँगालेर बस्छ

तिम्रो मेरो साइनो त्यतैतिर खोज त्यतैतिर खोज त्यतैतिर सोध

दुलही सरि म रङ्गिइरहेछु उचाल उचाल उचाल मलाई

बादलसरि अग्लिरहेछु सम्हाल सम्हाल सम्हाल मलाई

म खोली बनेर सुस्तरी आउँला

तिम्रो सागरमा केही ठाउँ देऊ

तिम्रा सारा तृष्णा मै मेटिदिउँला

मलाई तिमीमै समेटिन देऊ

आकाशसरि फैलिरहेछु अँगाल अँगाल अँगाल मलाई

बादलसरि म अग्लिरहेछु सम्हाल सम्हाल सम्हाल मलाई

हिमालसरि म अग्लिरहेछु समात समात समात मलाई ।

यस गीतमा प्रेमको पराकाष्ठ रूप पाइन्छ । प्रेमतृष्णामा प्रेमी प्रेमिकाहरू कल्पना गरी हिमाल आकाश बादलमा पुग्छन् । यसमा विम्बको मनोरम प्रयोग पाइन्छ ।

घ.   जीवनदेखि धेरै धेरै धेरै नै थाकेर

म मुर्दा भएको तिमी आज हेर

यहाँ ढुङ्गाहरू गर्छ ईश्वरको अभिनय

यहाँ कुकुर पनि गर्छ मान्छेको अभिनय

कल्लाई मान्छे भन्ने कल्लाई देव भन्ने

यो परिभाषा आज च्यातिएको हेर ।

म मुर्दा भएको तिमी आज हेर ।

कति सस्तो जीवन कति सस्तो मान्छे

जताजतै देख्छु मान्छेमाथि मान्छे

सयौँ पेट मारी म अघाउने मान्छे

अबलालाई दुख्दा म रमाउने मान्छे

ढाकेर थाकेँ यो कालो मुटुलाई

म जन्मेकै भेषमा मलाई आज हेर

म मुर्दा भएको तिमी आज हेर ।

यस गीतमा मान्छेमा कहिलेकाहीँ निराशा छाएको बेला नास्तिक विचारधारा पनि आउने गर्छन् । समाजमा मान्छेका ढोङ, अन्धविश्वास, पाखण्डीपन देखेर गीतकारमा क्षोभ व्यक्त गर्छन् । अहिलेको युगमा मान्छेको अवमूल्यन भएको अवस्था देखाइएको छ । यसमा मान्छे सस्तो, क्रूर, शिथिल बनेको अवस्था छ । अर्काको पेट मारेर अघाउने र अर्काले दुःख पाएको देख्दा रमाउने मान्छेभित्रको पीडकतोष (स्याडिजम्) रहेको हुन्छ । यसमा स्वपीडन र परपीडक गरी दुई प्रकारका हुन्छन् । यस गीतमा आफूलाई मुर्दा ठान्ने स्वपीडन र अबलालाई दुख्दा रमाउने परपीडन हो ।

देशप्रेम र जात्याभिमान-

गोपाल योञ्जन देशभक्ति र जातीय भावनाका पनि कुशल गीतकार हुन् । उनको नेपाल प्रवेशपछि नेपाली संगीतमा देशभक्ति गीतले नयाँ मोड ल्यायो । नेपाल र नेपालीको रगतमा जात्याभिमान र देशभक्तिका भावना उर्लिए । उनका निम्ति नेपाली जाति विश्वको एउटा वीर, इमानदार र स्वाभिमानी जाति हो । यद्यपि गोपाल योञ्जन नेपाल जानुभन्दा पहिले पनि दार्जिलिङको हिमालय कला मन्दिरमा सङ्गीतकारका रूपमा कार्यरत हुँदा पनि उनले प्रखर भारतीय राष्ट्रिय भावनाको गीत रचेका थिए । त्यसमध्ये यो एउटा गीतको अङ्श यस्तो छ-

पिर बिसाको होइन मैले सम्झना नै लेख्दैछु
मलाई सधैँ बिर्से पनि सम्झाउन लेख्दैछु ।

कक्रिएका हातहरूले ढुङ्गामाथि लेख्दैछु
आँसुले लेख्न लाज लाग्छ, रगतले नै लेख्दैछु ।

रुखो रुखो डाँडाबाट केही पठाउन सकिनँ

रगत लागेको बालुवा सिन्दूर बनाई पठाउँदैछु
मेरो यादमा सधैँ साँचिएका माया देशलाई दिनु

चुरा बिलाई फलामको खुकुरी बनाई पठाइदिनु

पिर बिसाको होइन मैले सम्झना लेख्दैछु..

तिमीलाई घाम छेक्ने बादल फुकेर पठाउँदैछु
तिमीलाई छुन खोज्ने मैलो हाच काट्न जाँदैछु ।

म मरेर केही हुन्न देश यो बचाउनलाई

तिमी उभेको माटोलाई यहाँ पैरोदेखि रोक्दैछु ।

म मर्छु यहाँ हजार चोटि यो देशलाई बचाउँदछु

मेरा यी हाडहरू जोडी सिमानामा बार लगाउँछु

फर्केछु भने ढोकामा तिरङ्गा पर्दा लाइदिनू

फर्किनँ भने छोरालाई सिपाही बनाई पठाइदिनू ।

नेपालीपन देशको मानचित्रमा होइन भावना र मानसिकतामा हुनुपर्छ । उनका निम्ति नेपालीपन भनेको नेपालीका स्वाभिमान, वीरता, इमान, कर्मठशीलता आदिलाई हुन् । यी नै भावनालाई गीतका आधार बनाएका छन् । अहिले यो जाति निम्छरो, हुतीहारा नभएको बनेको छ । यस्तो अवस्था देखेर उनको जातित्व कुण्ठित भएको छ । यस्तो अवस्थामा उनी विक्षोभ व्यक्त गर्छन् ।

क.  यो मेरो टोपी हो- स्वर आफ्नै ।

ख.  खुकुरीले लेखिएको इतिहास रातो हुन्छ, कलमले कोरिएको स्वर्ग खरानी हुन्छ ।

ग.   देशले रगत मागे मलाई बली चढाउनु

रुँदिनन् मेरी आमा उ नेपालीकी छोरी ।

बुढेसकालका लट्ठी देश यज्ञभित्र होमी

मेरी बुढी आमा गोठमै हाँसी खुसी देखिन्छिन् ।

ती काँगडाका सन्तान अझै मरेका छैनन्

तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन् ।

पाउँदिनन् केही पनि रगत स्तनको साटो

आउँदैन माग्न उसलाई उ नेपालीकी छोरी ।

यमराजको शिर छिनाउने सारा पृथ्वीका सन्तान

बघिनीको दूध होइन, त्यो त नेपालीको स्तन

सक्दिनँ म बाँच्न निर्धा भएर एकछिन
बरु शहीद भएर वीरकै मृत्यु  म मर्छु

हामी वीर वीर बनेर मर्छौं, गोली त उ सहन्छे

माग्दिनन् सुनका अक्षर, उ नेपालीकी छोरी ।

योञ्जन नेपाल गएपछि नेपाली देशभक्ति गीतले अझै गति पायो । गीत र सङ्गीतको माध्यमबाट नेपालमा देशभक्तिको लहर चलाएर, जात्याभिमानलाई उरालेका थिए ।

घ.   नेपालीलाई नेपालको कतिको माया छ ।

ङ.    बनेको छ पहराले यो छाती मेरो, बगेको छ लहरा रगतमा मेरो

पखेरुमा जन्मेँ टापुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो

खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाज छोपिन्न

घोटिएर हातपाउ झरिजावोस् तर कोही अगाडि यी हात जोडिन्न

म आगो सहन्छु अन्याय सहन्नँ, म तृष्णा सहन्छु तिरस्कार सहन्नँ

मेरो शिर उडाओस् बरु त्यो सहन्छु, तर कोही परायले टेके सहन्नँ ।

च.   कोही पूर्व कोही पश्चिम- यसमा नेपालको भौगोलिक, सामाजिक भाषिक, सांस्कृतिक एकताको भावनालाई अघि ल्याइएको छ ।

छ.  भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‌यो- गोपाल योञ्जन दार्जिलिङबाट नेपाल गएपछि केही व्यक्तिले उनलाई दार्जिलिङबाट आएको, बाहिरबाट आएको भन्ने गरेका थिए । त्यस्तो भन्नेहरूलाई जबाफ दिन उनले यो प्रखर देशभक्ति गीत सिर्जना गरेका हुन् । उनीभित्र नेपालप्रेम नेपालका व्यक्तिका भन्दा कुनै मात्रामा कमी छैन भन्ने प्रमाणित गर्ने यो आइकोन गीत हो ।

हाम्रो खुसीका लागि हामी नै बनिनु पर्छ- यो गीत पनि गोर्खालीको विगतको गौरव गाथा र देशभक्ति नै देशको उन्नतिको सबैभन्दा ठुलो कडी हो भन्ने सन्देश दिएका छन् । महेन्द्र पुलिस क्लबको कार्यक्रममा उपस्थित हुन जाँदा उनलाई गीत दिनु भन्ने निवेदन गर्दा उनले एक घण्टा भित्र गीत रचेर त्यसलाई धुन र सङ्गीत भरेर स्टेजमा प्रस्तुत गरेका थिए ।
उनले हाम्रो जातीय टोपीलाई लिएर मात्र पनि जातीय स्वाभिमानको भावनालाई उरालेका छन् ।
यो मेरो टोपी हो ।

मेरो टोपी कैलाशको शिर जस्तो मेरो टोपी हिमाली भिरजस्तो

कैले पनि झुक्न नजान्ने कैले पनि लुक्न नमान्ने

मेरो टोपी नेपाली वीर जस्तो

मेरो टोपीभित्र मेरो बहिनीको मायाको बास

अहिलेसम्म भोगेको मैले मेरै घाम छायाको बास

मेरो टोपी मैलो होइन यही माटाको टिको लागेको

मेरै पसिना पुछ्ता पुछ्ता यसलाई केही दिक्क लागेको ।

मेरो टोपी गाउँलेको शिरमाथि मेरो टोपी लाहुरेको शिरमाथि

ठुलो सानो जान्दैन यो भेदभाव मान्दैन यो

मेरो टोपी सुहाइदिन्छ सबै सबै नेपाली शिरमाथि ।

धावा धावा अखडाभित्र मेरो टोपी लड्दै थियो ।

सगरमाथा उँभो पनि मेरो टोपी चढ्दै थियो

मेरो टोपी खोज्दै सागरदेखि सगरसम्म

जहाँ पनि जहिले पनि यो त अघि बढ्दै थियो ।

मेरो टोपी हितैको साथी जस्तो, आमाको छातीजस्तो

दुःख सुखमा काम लाग्ने नेपालीको नाम राख्ने

मेरो टोपी आफ्नो सन्तान चिनाउने जन्मैको भावी जस्तो ।

यस गीतमा नेपाली टोपीलाई लिएर विभिन्न जातित्व उचालिएको छ । टोपीभित्र जातित्व छ, वीरताको निशानी छ । लक्षणा शब्दशक्तिका आधारमा लक्षणलक्षणा रहेको टोपीका विभिन्न अर्थसापेक्षमा हेरिएको छ । उनका लागि टोपीले बहुभूमिका खेलेको हुन्छ, धेरै काम गरेको हुन्छ । यो गोर्खालीको अस्तित्वको प्रतीक हो । टोपी सगरमाथा चढ्दै थियो, विश्वयुद्धमा टोपी नै लड्दै थियो, सगरदेखि सागरसम्म नै टोपी पाइन्छ अर्थात् टोपी लाउने गोर्खाली पाइन्छ ।

गोपाल योञ्जनका केही गीतमा देशप्रेमले भरिएका छन् । उनी आफ्नो जीवनको पछिल्लो आधा भाग नेपालमा बिताएका हुन् । दार्जिलिङबाट नेपाल गएर मनोवैज्ञानिक रूपमा नेपालप्रेम झल्केको हुनुपर्छ । उनका लागि नेपालीपन अभीष्ट हो । उनका दृष्टिमा गोर्खालीहरू विश्वका लडाकु हुन् । वीर गोर्खालीहरूले भरिएको देश स्वर्निभर स्वतन्त्र स्वावलम्बी हुनुपर्छ । गीतमा नेपालको गौरवलाई उचालेर सगरमाथा शिखरमा पुर्‌याएका छन् ।

उनको अर्को आइकोनिक नेपाल र नेपालीत्व जगाउने गीत हो-

बनेको छ छहराले यो छाती मेरो

बगेको छ लहर रगतमा मेरो

पखेरोमा जन्में टाकुरामा खेल्ने

झुक्तै नझुक्ने नेपालको छोरो ।

खोसेको रोटीले मेरो पेट भरिन्न

मागेको धोतीले मेरो लाज छोपिन्न

घोटिएर हातपाउ झरिजाउन् औँला

तर कोही अगाडि यी हत जोडिन्नँ

बनेको पहराले यो छाती मेरो

म आगो सहन्न अन्याय सहन्नँ

म तृष्णा चाहन्छु तिरस्कार सहन्नँ

मेरो शिर उडाउ बरु त्यो सहन्छु

तर कोही परायले टेके सहन्नँ ।

यस गीतमा नेपाल भक्तिको पराकाष्ठा छोएको छ । यसमा देश र जातिको स्वाभिमानले भरिएको भाव छ । यसमा नेपाली जीवनमा पहाडीपन, पहाडी संस्कार कर्मठता स्वाभिमानी स्वभाव देखाइको पाइन्छ ।

मानवीय अभिप्रेरणा-

योञ्जनका कतिपय गीतमा मानवीय जीवनमा बाँच्ने प्रेरणादायी सन्देशहरू पनि अभिव्यक्त गरिएको छ । यद्यपि किरण प्रधानले गाएको एउटा गीतले मानवीय अभिप्रेरणाको भावनाको सञ्चार गरिदिन्छ । जस्तै –

भूल हो तेरो भागी हिँड्नु यात्रादेखि डराएर

यहाँ जिउनेहरूले सब थोक पाउँछन्

हिँड्नेहरू टाकुरा पुग्छन् भाग्नेहरू छाडिन्छन् ।

संसार सँगै तँ घुम्दै जा अनि सारा संसार तेरै हो

उड्दै उड्दै छुन सकिस् भने जुन तारासम्म तेरै हो ।

भूल हो तेरो आराम खोज्नु यात्रादेखि भागेर

यहाँ हिँड्नेहरू नै लक्ष्यमा पुग्ने भाग्नेहरू टाढिन्छन् ।

हारहरूको जुत्ता लगाऊ केशहरूको टोपी

आशाहरूको माला लगाऊ निराशाहरूलाई छोपी

भूल हो तेरो दया खोज्नु आँखाहरूलाई बिझाएर

यहाँ चढ्नेहरू नै टाकुरा पुग्छन् ढुक्नेहरू सब छाडिन्छन् ।

जीवनमा सङ्घर्ष नै अन्तिम विकल्प हो । सङ्घर्ष नगरी मान्छेलाई बाँच्नुको आधार छैन । यसमा जीवन जिउन सङ्घर्ष गर्नु पर्छ, कर्तव्यदेखि पलायन हुनुहुँदैन, मानिसहरूले काम गर्दै जाँदा विघ्नबाधा आइपर्दछन् तर तिनको पनि निवारण हुँदै जान्छ भन्ने प्रेरणादायक सन्देश पाइन्छ ।

 प्रेमोद्गार-

योञ्जनका गीतमा माया प्रीतिका विभिन्न पक्ष र अवस्थालाई गीतमा उतारेका छन् । उनको एउटा गीत छ जुन सुशीला कंसाकारले गएकी छन् । त्यसमा प्रेमका दुई रूप देखाइको छ । त्यसमा एकजना कथक छ जसले प्रेम पाउने चाह गरेको छ तर अनुभवीका निम्ति प्रेम काँडासरि छ ।

मर्नु न बाँच्नु बनायो पिरतीले

रुनु न हाँस्नु पिरतीले

भन्छन् सबैले

मलाई थाहा छैन कस्तो हो कुन हो पिरती ।

मलाई थाह छैन के हो पिरती

आफ्नै छ घर आफ्नै छ बार

आफ्नै छ बाटो आफ्नै छ जाति

आफ्नै छ मन आफ्नै छ इच्छा

बसी कुरा गर्थ्यौं नौलो सधैँ

कोही दिन हुनु छ पराय भन्छन् सबैले

एकदिन मायाले बाँधिराख्छ भन्छन् सबैले

बैँसको सुन्दर फूलबारी रे पिरती

आत्मको मिलन हो अरे पिरती

मनको ढोका खोलने एउटै सुन्दर साँचो हो अरे पिरती

यहाँ पिरती पिरती नै जीवन हो भन्छन्

यहाँ पिरती नै ईश्वर हो भन्छन् सबैले ।

यहाँ प्रेमका तीन रूप पाइन्छन् । एउटा प्रेम पीडामय छ । प्रेमको कारणले मान्छेलाई रुनु न हाँस्नु, मर्नु र बाँच्नु जस्तो स्थिति बनाउँछ, दिनको भोक न रातको निद्रा भनेजस्तो हुन्छ भने अर्काका निम्ति प्रेम सुखद हो, ईश्वरसमान हो, बैँसको सुन्दर फूलबारी हो, मनको ढोका खोल्ने सुन्दर साँचो हो, जीवन बाँच्ने आधार हो । अर्को तेस्रो रूप छ प्रेम कसरी हुन्छ? भनेको के हो, यो कस्तो हुन्छ? भन्ने कुरामा उत्सुकता छ । प्रेम गर्ने रहर छ, प्रेमको कुतकुती छ । प्रेम के हो थाह छैन, कसरी गरी गरिन्छ, प्रेममा के कस्तो अनुभूति हुन्छ भन्ने पनि थाहा छैन । अघिल्लो अनुभवीलाई भने प्रेम धिक्कारसरह भएको छ, काँडासरि भएको छ  । दोस्रो अनुभवीका निम्ति प्रेम वरदानसरह छ भने पछिल्लालाई प्रेम उत्सुकता र रहरको भएको छ ।

पीडाबोध-

योञ्जनका गीतमा प्रेम र यसको पीडालाई सजीवताका साथ उतारिएको हुन्छ । गीतको मूल तत्त्व र करुणा र मानव पीडा हुन् । गोपाल योञ्जनका प्रायः जसो गीतमा मानव पीडा, करुणा, विरहका भावले भरिएका छन् । अरूणा लामाले गाएको भेट्नु र छुट्नु त के हो र भन्ने गीतमा योञ्जनले पीडालाई जीवन दर्शनका रूपमा रूपमा प्रस्तुत गरेका छन् । मान्छेको आत्मविलयन, लाचारीपन, परिस्थितिले जन्माएको विवशतालाई पनि उनले स्वर दिएका छन् । सम्भवतः प्रेमी र प्रेमिकाको बिछोड र त्यसको कारण खोतले यस गीतले केही सङ्केत दिएको छ । यसमा प्रेमीले प्रेमिकालाई कुनै सामाजिक बाध्यता, लाचारी आदिका कारण छोड्नु परेको गूढ रहस्य रहेको पाइन्छ । घर समाजमा बसेपछि पाउमा दस्तुरका अनेक बाधा हुन्छन्, सबैले तिनलाई छिचोल्न नसक्ने अवस्था हुन्छ ।

तिम्रो जस्तो मुटु मेरो पनि तिम्रो जस्तो माया मेरो पनि

नबोलाऊ मलाई निष्ठुरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि

तिमीलाई अँगाली कता कता भागिजाने धोको मेरो पनि

तर पाउ म दस्तुरको तिम्रो जस्तो कल्ली मेरो पनि

दुई प्राण एक नभए पनि तिमीसितै बस्छ मेरो पनि

नबोलाऊ मलाई निष्ठुरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि

देवता हैन म पनि धेरै कमजोरी छ मेरो

पीर वेदना तिम्रो जति त्यति नै छाया मेरो पनि

रातमा रोएछौ तिमी पनि तिमीजस्तै रोए मै पनि

नबोलाऊ मलाई निष्ठुरी भनी, तिम्रो जस्तो बाधा मेरो पनि

तिमी देऊ या नदेऊ तिम्रो स्वीकृति मैले मनमा तिमीलाई राखिसकेँ ।

व्यावहारिक यथार्थता

गोपाल योञ्जनले रचना गरेका केही गीतमा जीवन भोगाइका यथार्थ र व्यावहारिक ज्ञानलाई उतारेका छन् । जीवनमा सम्भव भएसम्म गर्नु सक्ने काम गर्ने भाव व्यक्त गरिएको पाइन्छ ।
क. बाँची दिन्छु तिम्रै निम्ति मर्न नै त सक्दिनँ- व्यवहारिक रूपमा मान्छेमा जिजीविषा प्रखर रूपमा हुन्छ । बाँची दिनु नै सबैभन्दा सङ्घर्ष मान्न सकिन्छ ।

ख.   कैले काहीँ मनका कुरा हामीलाई पनि भन

ढुङ्गा मुडा होइन होला हाम्रो पनि मन

दर्पण छाया हेरिहेरी नानी गयो जोवन ।

संसारले तिमीलाई हेर्ला तिमीले संसार हेर,

धेरै धेरै पाउने छौ तिमीले त्यतिखेर

व्यर्थै फाल्यौ जोबन किन, घरको चारै भित्ता कुरी

दर्पण छाया हेरिहेरी गयो जोबन ।

कति चोटि ढाँटी सक्यो दर्पणले तिमीलाई

अझै खेरो फाल्छौ किन जोबन यति खेर

गीतमा मान्छेको अहम्‌को कुरा छ । धेरै मान्छेमा आफ्नै स्वभाव अहम्, दर्प आदि मानसिकताले गर्दा समाजमा सजिलै घुलमिल गर्दैनन्, आफैँ आफ कुण्ठित भएर प्रेम गर्न अघि आउँदैनन् । नार्सिससले जस्तै आफ्नै रूपबाट मोहित भएर अरूलाई मन नपराएको अवस्था झैँ स्वपीडन गरेर बस्नेहरूलाई यस गीतले खोतलेको पाइन्छ ।

लोकगीतको उत्थान-

गोपाल योञ्जनले केही नेपाली लोकगीतको सङ्कलन रचना गरेका छन् । तामाङ सेलो र केही चुड्के लोकगीत पनि पाइन्छन् । उनले नेपाली लोकगीतलाई उचालेका थिए । लोकगीतको सङ्कलन गर्न उनी अन्य कलाकार जस्तै कल्याण शेरचन, जयनेन्द लामा आदिसित नेपालका गाउँबस्ती घुमीघुमी लोकगीतको सङ्कलन गरेका थिए । उनले सङ्कलन गरेका लोकगीतहरू लोकप्रिय भए, रेडियो नेपालमार्फत् विश्वमा छाएका थिए । प्रत्येक सांस्कृतिक कार्यक्रममा गोपाल योञ्जनले सङ्कलन गायन गरेका धेरै लोकगीतहरू प्रचलित थिए । उनले सङ्कलन र गाएका केही प्रसिद्ध लोकगीतहरूमा-

क. च्याङ्बा है च्याङ्बा- स्वर गोपाल योञ्जन र मिरा राणा- यस गीतले पनि आफ्नो समयमा निकै लोकप्रियता पाएको थियो । नेपाल, सिक्किम, दार्जिलिङ, कालिम्पोङ सर्वत्र नै सांस्कृतिक कार्यक्रममा यस गीतमा युगल नृत्यकारले डम्फु लिएर नृत्य हुने गर्थ्यो ।

ख. काली पनि देखेँ मैले गोरी पनि देखेँ- यो गीत पनि उस्तै लोकप्रिय रहेको थियो । प्रत्येक सांस्कृतिक कार्यक्रममा यस गीत गम्किन्थ्यो ।

ग. भोकमा लागे भात खाउँला । इत्यादि

 नारीको आदर्श रूपको प्रस्तुति-

गोपाल योञ्जनका केही गीतमा नारीको पवित्र, सबला र आदर्श नारीको भावमूर्ति झल्किएको पाइन्छ । नारीलाई चोखो माया दिन्छन्, इज्जत सम्मान गर्छन् ।

यो मायालाई भार मान, पैतालाको धूलो मान,

तिम्रो मन तिम्रो खुसी तिम्रो विचार

तर हामीबिना चल्दैन है तिम्रो संसार ।

आफ्नो ऋतु काल फुल्छ अजम्बरी फूल पनि

जुनै काल जुनै हाल फुल्न सक्ने फूल हामी

तिम्रो घर सजाउने बाह्रमासे फूल हामी

सजाऊ कि कुच्याउ, सँगार कि बिगार

तिम्रो मन तिम्रो खुसी तिम्रो विचार

तर हामीबिना चल्दैन तिम्रो संसार

तिम्रो भाका ताल भरी सधैँ नाचिदिने हामी

तिम्रो सुख दुःखभरि सँगै बाँचिदिने हामी

भार पर्दा पनि तिम्रो घर चलाइ दिने हामी

सम्हाल या लतार अँगाल वा पछार

तिम्रो मन तिम्रो खुसी तिम्रो विचार

तर हामीबिना चल्दैन है तिम्रो विचार ।

पुरुषप्रधान समाजको मानसिकतालाई यहाँ झल्काइएको छ यद्यपि नारीबिना यो संसार चल्दैन । हाम्रा दैनिक जीवनमा नारीको ठुलो स्थान छ । नारीहरू नै आधा आकाश हुन् । नारीहरू भोग्य वस्तु होइनन् अभिन्न अङ्ग हुन् । एक सिक्काका दुई पाटा हुन् भन्ने भावनालाई बढो कलात्मक ढङ्गमा प्रस्तुत गरिएको छ नारी एकापट्टिको भार, पैतालाको धूलो, घर सजाइदिने अजम्बरी फूल पुरुषको तालमा चल्ने नाचिदिने सुख दुःख हेरिदिने वस्तु नभएर सम्पूर्ण हुन्, हाम्रो आधा आकाश हुन्, नारी पुरुष बराबर हुने भन्ने भाव व्यक्ति गरिएको छ । यसमा विनम्र नारी विद्रोहको भाव पाइन्छ ।

गीतमा आध्यात्मिक चेतना- गोपाल योञ्जनका भजनहरू धेरै छन् । यद्यपि यहाँ उनका सामान्य गीतमा नै आध्यात्मिक चेतना पाइन्छ भन्ने कुरामा चर्चा गरिन्छ । उनीभित्र आध्यात्मिक चेतना प्रखर रूपमा पाइन्छ । उनका केही गीतमा गौतम बुद्धका उपदेश, श्रीमद्भागवत आदिको प्रभाव परिलक्षित बहेको पाइन्छ । उदाहरणका निम्ति एउटा युगल गीत गीत लिऊँ-

मेरो जोबन लैजाउ- पर्दैन त्यो दुई दिनको

मेरो ज्यान लैजाऊ- चाहिँदैन त्यो माटोको ।

मेरो माया लैजाऊ- हुन्छ यदि त्यो पुरानो हुन्न भने

पछि गई फेरि त्यो पैले छिन्दैन भने
मेरो आँखाको नानीमा तिमी छाएकी छौ

मेरो हृदय भावनामा तिमी आएकी छौ

के पो दिन सक्छु अरू म तिमीलाई

जब सम्पूर्ण मलाई नै पाएकी छौ ।

यतिले पनि तिम्रो मन भरिन्न भने

मेरो आँखा लैजाऊ- पर्दैन त्यो लोभ हो ।

मेरो ओँठ लैजाऊ- पर्दैन त्यो मोह हो ।

मेरो वचन लैजाऊ- हुन्छ यदि त्यो कैले तोडिन्न भने

पछि गई ऋतु झैँ फेरिन्न भने ।

यसमा प्रेमको शाश्वत र ईश्वरीय रूपको उल्लेख गरिएको छ । प्रेम भन्ने कुरा बाहिरी कुरा होइन, यो त भित्री रूप हो, चेतनाको अवस्था हो । ईश्वरीय चेतनासित एकाकार हुने कुरा हो । यसमा जोवन भनेको दुई दिने क्षणिक हुन्छ, ज्यान अर्थात् शरीर माटो हो, माटामा मिल्छ, भत्किन सक्छ, आँखा भनेको बाहिरी कुराको लोभ हो, ओंठ भनेको मोह हो । प्रेम भनेको नछिनिने, कहिले पुरानो नहुने, वचन भनेको नतोडिने कुरा हो । यहाँ वचन भनेको ञतु झैम नफेरिने शब्द ब्रह्मको रूपनमा लिएका छन् । प्रेम आँखाको नानीमा छाएको, हृदयको भावनामा पाएको हुन्छ । प्रेम आत्मिक हुन्छ, इन्द्रियातीत हुन्छ ।

उनका अनेक भजनहरूमा ‘बायाँ हातमा राखेँ सारा दुःखी दायाँ हातमा राखेँ शत्रुलाई’ मा समानता भाव र मध्यमार्गी चिन्तन गरिएको छ । मानिसको जीवनमा सुख दुःख सबै एक समान हुन् । शत्रु र मित्रु एकै हुन् । यी दुई कुरा दुई हातसमान हुन् भन्ने समभावको विचार राखिएको छ । वास्तवमा मान्छेकै चेतनामा नै ईश्वर बस्छन् भन्ने भाव व्यक्त गरिएको छ ।

००००      

उपसंहार

नेपाली साङ्गीतिक फाँटमा गोपाल योञ्जनको नाम एक उच्च स्थानमा रहेको छ । उनी सङ्गीतका वाग्येयकार थिए । नेपाली गीत लेखनका प्रसङ्ग गोपाल योञ्जनको स्थान सबैभन्दा उचाइमा छ । उनका प्रत्येक गीत नै गेयात्मकता, अक्षर अक्षर, शब्द शब्दमा साङ्गीतिकता, भावगत मधुरता, अर्थगत गहिराइ, आनुषाङ्गिक आनन्द, कोमलता, सरसता जस्ता गुण पाइन्छन् ।

गीत रचनामा हुनुपर्ने बत्तीसै लक्षण र चारै कोणबाट अध्ययन गर्दा गोपाल योञ्जनलाई सबैभन्दा उत्कृष्ट गीतकारका  रूपमा पाउँछौँ । उनी नेपाली सङ्गीतका एक हिमालचुली हुन्, एक जिनियस हुन् । गोपाल योञ्जनका गीतमा मानवीय संवेदना, देशप्रेम र जात्याभिमान, प्रेमका विविध रूप, पीडाबोध, व्यावहारिक यथार्थता, मानवीय अभिप्रेरणा, लोकतत्त्वको स्पर्श र लोकगीतको उत्थान, आध्यात्मिक चाना आदि जस्ता विषयवस्तु रहेका छन् । उनका प्रायः सबै गीत उत्कृष्ट, उच्च कोटीका छन् ।