स्तुत्यलाई अस्तुत्य तुल्याउने परिपञ्च कतैबाट कवै पनि कुनै बखत पनि रचिनु ग्राह्य हुनै सक्दैन । अरू त समाजका ग्राह्य कर्मयोगीका बारेमा खोजीनितीका प्रकाशलाई हत्केलाले छोप्ने तर्कलाई कुतर्ककै संज्ञाबाहेक अरू के नै दिन सकिन्छ र ! यहाँसामु रहेको ‘राजीनामा’ शीर्षकीय पुस्तकको बारेमा केही लेख्नुभन्दा पहिले मस्तिष्क प्रवाह यसै त्यसै हुँडलिएको छ । उपशीर्षक (भैरव अर्यालका विविध रचना) को शब्दले यसलाई झनै टेवा पुर्याएको छ ।
भैरव अर्यालका बारेमा यहाँ गन्थन गर्नु परोइन नै । उनका कलमले हास्यव्यङ्ग्य फाँटमा नेपाली साहित्यमा कोरेका रेखाचित्र कोशेढुङ्गाकै रूपमा प्रतिष्ठापित रहेको कुरा छर्लङ्ग नै रहेको छ र रहनेछ । अतः यहाँ उनको एउटा ओझेल पाटो भनूँ या धेरैलाई जानकारीमा नआएको, जानकारीमा भए पनि विस्मृत पाटोलाई अघि सार्ने स्तुत्य कार्यलाई शीर्ष स्थान दिने मूर्त स्वरूपकार सङ्कलक/सम्पादक शिव रेग्मी र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष एवम् अर्यालका पथगामी तथा पत्रकार आर.सी. रिजालका चेष्टाप्रति आभारसमेतको पहिलो दायित्व मान्नै पर्ने हुन्छ । प्रतिभाका उज्याला छराईप्रति समर्पित दर्पणको लक्ष्यमार्ग यसमा समेटिएको पाइन्छ, जुन अनिवार्य रहेको थियो । यसले त्यसको परिपूर्ति गर्नमा सहयोग गरेको छ । यस्तो खोजले शोधकर्ताका रोजाइमा समेत पर्ने देखिन्छ ।
यस कृतिको नाम ‘राजीनामा’मा किन दरियो । यस सन्दर्भमा आरम्भका क्रमबद्धताभन्दा पुछारका पत्रम् पुष्पम् ? लाई उघार्नुपर्दछ । पुस्तकको यही अर्घेल्याइले यो पङ्क्तिकारलाई पनि अलमल्याएकै छ । सबैलाई पेट मिचिमिची हँसाउने भैरव अर्यालका आत्मरोदन यसैभित्र समाविष्ट रहेको छ र यसैभित्र गोकर्ण पुलबाट उनको आत्मविसर्जन समाहित रहेको देखिन्छ । ‘कलि सत्यमा गली, असत्यमा फलीफुली’ राजनीतिकको बढ्दो हालिमुहालीका गुञ्जन कर्ण-विच्छेदका बोलीचाली यहाँ उजागर रहेको पाइन्छ । वस्तुतः यसमा समेटिएका अधिकांश रचनाभित्र सकारात्मक एवं काल्पनिक यौवनाभन्दा यथार्थका जीर्ण-विकीर्ण सामाजिक कङ्कालीय स्वरूप स्पष्ट दृष्टिगोचर हुन्छ । पत्रात्मक ‘राजीनामा ः गोरखापत्र संस्थानलाई’ शीर्षकीय यस पुस्तकको अन्तिम यस पत्र ? एउटा इच्छापत्रकै रूपमा प्रकट रहेको छ र अन्तमा पादटिप्पणी ‘रोचक घिमिरेका अनुसार भैरव अर्यालको मृत्यु ?’ पश्चात् उनको घरमा फेला परेको राजीनामा पत्र भनी लेखिएको छ ।
यथार्थमा भन्ने हो भने समुच्चय बरबादीको कथ्य तथ्य त यो पत्र पुग्नुपर्ने ठाउँसम्म पुगे/नपुगेको थाहा हुँदैन तर अर्यालका संवेदनशीलता अन्ततिर आएर सम्पन्नका सकारात्मकता र हाम्रा बीचका यथार्थको दर्पण यत्रतत्र सर्वत्रका छवि उजागर रहेकै देखिन्छ । प्रश्न यो राजीनामालाई पुस्तकीय शीर्षक अनुसार प्रथम स्थानमा किन दिइएन भन्ने कुरा उठ्दछ ।
सम्पादनको रहस्यका चाटुकारिताका दुर्मोह वा सुमोह वश ? वा रहस्य सन्तुलनका साहित्यिक छक्का पन्जाको सम्पादनकलाको सम्मोहन ? यसैउसै कुरा मनमा मडारिन पुग्छ । यसैको मथिङ्गलमा प्रश्न सम्पादनकर्तासँग गर्न सकिँदैन, उत्तर अध्ययनकर्तासँग छैन । स्वाभाविकताका तरङ्गमा यो स्थिति सकार्न पनि सकिँदैन । सम्पादनको चातुर्यकला यहाँ अनिवार्य नै देखिएको लाग्न सक्दछ । अझ रहस्य त यो पत्र हुबहु ठाउँमा पुगे/नपुगेको कुनै छेउ छैन, पुच्छर पनि छैन, पादटिप्पणीमा यो कुरा उल्लेख छैन, गोरखापत्र छाडिनुका कारक त यो हुँदै हो तर संवेग हो वा आवेग पुष्टिका प्रसङ्ग यसमा छैनन् ।
जे होस्, सबलाई भुँडी मिचिमिची हँसाउने भैरव अर्यालका संवेदनशील मनमस्तिष्क र कोमल हृदयको जलप स्पष्ट रूपमा यहाँ पाइन्छ, जसले भैरवलाई चिन्न खोज्दछ, उसले यसका पङ्क्ति-पङ्क्ति अवलोकन गर्नैपर्ने लाग्दछ, तर पनि यहाँ उतारमा एक धर्का तान्नै पर्ने हुन्छ— “गोरखापत्रको सेवा छाड्नुको साथै म देश र धरतीलाई छोड्दै छु, कारण मेरो अब केही गर्न नसक्ने भई भित्रैदेखि कुँजिँदै आएको … ।” बाट विरक्तिएको रेखा स्पष्ट रूपमा प्रकट भइदिएको छ ।
पुस्तक ‘राजीनामा’ (भैरव अर्यालका विविध रचना) लाग्दछ— यो कुनै आत्मवृत्तान्त नभएर एउटा आत्मरचना हो । पुस्तक ‘राजीनामा’ सर्व नभएर सम्पूर्ण, कुनै काल्पनिक वृत्तान्त नभएर आत्मवृत्तान्तका पक्षमा बढी उन्मुख रहेको छ । ‘राजीनामा: गोरखापत्र संस्थानलाई’ हेर्दा एउटा आवेगात्मक परिधिभित्रको कुराले पनि लाग्न सक्दछ तर प्रस्ट हुन्छ । “मैले पाउने रकमसकम मेरी श्रीमती शोभादेवी अर्याल जसको नुहारनकाे नाम नन्दकुमारी अर्याल पनि छ, को माध्यम मेरा छोराछोरीहरूलाई प्राप्त गराइदिने आशा गर्दछु ।”
यी वाक्यांश आवेगात्मक रागभन्दा सुनिश्चित आत्मदृढताको प्रतीक रूपमा प्रस्ट हुन्छ तर पनि प्रश्न त बाँकी नै रहन्छ, उनमा यो निश्चयताको कारक के रह्यो ? सम्पादकद्वारा भनिएको छ ‘यहाँ भैरव अर्यालका निबन्ध-प्रबन्ध, अनि भनिएको छ— “भैरव अर्यालका आधा दर्जनभन्दा बढी निबन्ध सँगालोमा नपरेका विभिन्न पत्रपत्रिकामा छरिएर रहेका निबन्ध-प्रबन्ध तथा समीक्षा-समालोचना र आत्मकथ्यका विचारहरूसमेत समेटेर पुस्तकको रूपमा ल्याउने” धोको पूर्णताका कुरा । जुन कुरा पूर्ति हुन सकेको छ । यसले भैरव अर्यालबारे चासो, शोधकर्तालाई पनि टेवा पुर्याउने सुकार्य हुन पुगेको छ भन्दा अत्युक्ति नहोला ।
प्रस्तुत पुस्तकको आरम्भमा ‘आत्मकथा’ शीर्षक मा भैरव अर्यालले आफूलाई कसरी साहित्यतर्फ बढियो भन्ने कुराको वृत्तान्त कथेका छन् । ‘विदेह’ २०-२३, हास्यव्यङ्ग्य अङ्क, २०३४ मा प्रकाशित अनि मिति २०३२ मा दाताराम, वासुदेव, विद्यादेव ? को सामु सुनाइएको टेपको टिपाइ भनिएको यस आलेखमा उनले स्पष्ट भनेका छन् – “कवितापट्टि ज्यादै रुचि भयो, सायद संस्कृत पढेकोले हो कि ! नेपाली किताब पढ्न थालेर हो कि ! त्यो बेला म प्रशस्त नेपाली पुस्तकहरू पढ्थेँ । मैले भीमनिधि तिवारीको सेट पढेको छु । पहिलो पटक नेपाली किताब पढ्न बानी लगाउने भीमनिधि हुन् । हिन्दी किताब पढ्न बानी लगाउने कुशवहाकान्त । लक्ष्मीप्रसाद, बालकृष्ण सम र अरूहरूका … त्यसैले पनि कविता, कथा लेख्न मन लाग्थ्यो तर सुनाउने हविगत थिएन । त्यसमा अलिकति हास्य भए त आकर्षण भइहाल्छ भनेर हास्यप्रधान लेख्नपट्टि प्रवृत्त भएँ ।”
मैले दुई धारामा लेख्न थालेँ – (क) हास्यव्यङ्ग्य (ख) गम्भीर । यस वर्णनको क्रममा उनले प्रकाशकका शोषणप्रति अनुभूति-व्यङ्ग्य पनि यसैमा पोतिदिएको देखिन्छ । लेख्न मन लाग्दा नलाग्दै पनि लेखन जारी रहेको कारण खुलाउँदै उनले यसको मूल कारकतत्व साहित्यको क्षेत्रमा त्यस बेला विभिन्न प्रकारका प्रयोग, उदाहरणमा कथा अकथा, कविता अकविता, निबन्ध टेबिल गफजस्तो भयो भन्ने भाव पोखेबाट उनमा एक प्रकारको सैद्धान्तिक विद्रोह उब्जेको देखा पर्दछ, जसलाई यहाँ समयको मागप्रति आत्मसात गर्न नसकेको पनि मान्न सकिन्छ ।
यसै गरी कवितात्मक व्यङ्ग्य बेचबिखनको नमुनामा नमुनै प्रस्तुत रहेको पाइन्छ, जसको जलपले शाश्वतताको उद्वेलनसमेत प्रक्षेपण गरेको पाइन्छ । तीतो सत्यको उद्वेग यस कवितामा छ । हिजो उनले जुन गाए— नाराको निम्ति सबथोक बेच्छन्, पढेलेखेको कति गुभाहरू र वरदानको निमित्त गर्धन बेच्छन् सिङ उम्रेका बोकाहरू ज्यानको निम्ति के बेचुन् हामीजस्ता बोकाहरू …अजम्मर शाश्वतीय कलम घिसाइ नै पाइन्न त ।” यस आत्मकथामा उनले आफ्नो वृत्तान्त जुन रूपमा कथेका छन्, यसमा बिच लप्पनछप्पन सरलतापूर्वक इमानदारीपूर्ण रूपमा प्रकट गरेका छन् । यसका बारेमा अलग्गै लामै लेख्न सकिन्छ नै ।
यसपछि आएर सङ्ग्रहमा ‘केही उखान र केही बुढी’ व्यङ्ग्यात्मक पारामा उर्लिएको छ, यसलाई हेर्दा यथार्थको बिम्ब यति स्पष्ट देखिन्छ कि मानौँ चलचित्र नै हेरिँदै छ, काल्पनिकभन्दा यथार्थ फन्को मार्नमा माहिर व्यङ्ग्य सम्राट् भैरव अर्यालका बहु आयामेली प्रभुत्व यसबाट पनि स्पष्ट झल्किन्छ । परिधि र परिवेशको सामञ्जस्यता स्वप्नको आभास यी त्रिकोणात्मक रेखा-धारको राम्रो छनक यसमा पनि भेटिन्छ नै । एउटा बान्की— “दिदी आमै ! हालखबर के छ ? भनेर कसैले सोध्यो भने ऊ सबभन्दा पहिले गाईले साँढे खोजेको, बाख्री बाली भएको र बिरालो ब्याएर तीन छाउरा पाएको …अनि आफ्नो स्वास्थ्य बिग्रेको कुरा गर्थी … ।” यसबाट तारतम्य अविवाहितै बूढी भएकीको यौन-मनोविज्ञानलाई पनि सहज पाराले उचालेको देखा पर्दछ ।
तर पनि स्वाभाविक तथा मानवीय पक्षमा कमी-कमजोरी उनमा देखा पर्दछ नै को सूचकको रूपमा होला सायद सङ्कलक शिव रेग्मीबाट हाम्रा चाडपर्वजस्तो प्रबन्ध गाँसेको देखिन्छ तर पनि समीक्षात्मक स्वरूपमा रहेको ‘हृदयचन्द्रका केही कथाहरूको विवेचना’ त्यसभन्दा उकालै स्वरूपमा पाइन्छ भने यहाँ यसै क्रममा आएका सङ्ग्रहभरिमा छोटो-मीठो लघुकथा माने पनि हुने, सञ्चिका मानेर साँचे पनि हुने अत्याधुनिक कविता मानेर बाँचे पनि हुने प्रतीकात्मक एवम् उपमाउपमेय ‘भाषा एउटी नारीलाई त्रिवेणी धारको रूपमा ग्रहण गर्न सकिने खालको रूपमा आउँछ । अनुभूति बोधको बगाई पनि यसमा छ । सोचाइका खोँच पनि यसैमा छ । छोटोमा मोटो स्वरूपको प्रकृतिको रूपमा यसलाई लिन सकिन्छ ।
आरम्भमा भनिएको छ— “गोरखापत्र’ को टेबुलमा बिउँझेँ । रातको केही घण्टा खाटमा परिणत यो टेबल अब फेरि भरेसम्मका लागि टेबुलै हुन्छ । टेबुल, टेबुल छउन्जेल हामी अक्षर केलाउँछौँ र खाट बनेपछि सपना केलाउँछौँ ।” एउटा समाचारपत्रको टेबुलको यस छोटो व्याख्याको संयोजनले स्पष्ट एउटा खाका कोरेको छ । एउटा सजीव चित्र उतारेको छ । अर्यालका अनुभूति मात्र अनुभूतिका लागि होइनन्, एउटा साहित्यकार र पत्रकारका दैनिकी आकृति पनि हुन्, जुन आकृतिमा कथा कथिएको छ, कविता कोरिएको छ, सञ्चिका पोतिएको छ, अन्तमा निष्कर्ष धर्म छर्लङ्गिन्छ । यहाँ कर्तव्यधर्मको मीमांसा उर्लिएको छ । यहाँ सन्तुष्टिका धरा गौरवान्वितमा उभिएकी छिन् ।
उनी भन्छन् “… दुवै धन्दाको सम्झौता भाषामा हुने हुनाले भाषाको आकाशमा जीवनको आभास लिएर म बाँच्ने प्रयत्न गर्छु । भाषा एउटी नारी जस्तै छ, म यसको स्वरूपलाई आमा बनाएर पूजा गर्छु, अर्को रूपलाई प्रियतमा ठानेर प्रेम गर्छु । तर आमा र प्रियतमाबिचको वैमनस्य म अन्यमनस्क हुँदै टोलाउँछु । टोलाउनु र लोलाउनुका बिच-बीचमा कहिलेकाहीँ म आफै बोलाउँछु—
“भैरव तँलाई सञ्चै छ ?”
शिल्पको शृङ्गार पेसाको उजागर यहाँ चैतन्य उजेलिएको उजिल्यै छ । धेरैले अर्याललाई ठट्टाको पण्डित ठान्छन्, हाँसोको सम्राट् मान्छन् तर थोरैलाई मात्र थाहा छ— भैरव नदी मात्र होइन सागर नै हो । यसको प्रमाण यस सङ्ग्रहले पनि दिन खोजेको पाइन्छ । यहाँ यस्तै दसी ‘सब्ल्याँटो गति’ शीर्षकीय आचारद्वारा पनि दिन खोजिएको छ । गतित्वको अवलोकन केस्रा केस्राको रूपमा यहाँ गरिएको छ । निरन्तर नव-नव रूपमा परिवर्तित हुँदै जाने क्रियाको नाम गति हो र यही गति सजीवताको प्रतीक पनि हो ।”
आरम्भमै गतिको स्वरूपबारे पर्गेलन गर्दै, तुलनामा छिर्दै भुइँचालो गएको बखत निर्जीव डाँडो पनि हल्लिने, बाढीले हराभरा फाँटलाई बगरमा परिणत पार्ने पनि गतिकै रूपमा लिएका छन् यसमा भैरव अर्यालले । अनि गतिको स्वरूपलाई पनि दुई फ्याँकमा बाँड्न पुगेका छन् – सब्ल्याँटो र बिब्ल्याँटोको नामकरण गरी । यही फ्याँकका दुवै पाटाका बारेमा प्राकृतिक स्वरूप र भौतिक परिचालनका केस्रो केस्रा छोडाएका छन् । मानव जातिको इतिहासको गति सुल्टो र उल्टो पक्ष उजिल्याएका छन् ।
प्राकृतिक पक्षमा गएर आफ्नै माटोको पाटोलाई उदाहरणका रूपमा अघि सार्दै उनले भनेका छन् – “उत्तरका पहाडी प्रदेशमा झर्ने प्रायः नेपालका नदीहरू पानीको स्वभाव अनुसार भिरालो भिरालो हुँदै दक्षिणतिर नै बग्दछन् । प्रकृति अनुसार यो सब्ल्याँटो गति हो । … तर वर्षामा कोसी, गण्डकीको वेग यस्तो जथाभाबीसित दौडिदिन्छ कि आफ्नो गोरेटो मात्र दौडेर नपुगी कहिलेकाहीँ स्वाभाविक दिशा नै बिर्सेर जताबाट पायो उतैबाट भाँडिन्छन् … । ठिक यसै गरी समाजको गति बिभिन्डिएको, बिब्ल्याँटो मोडमा चलेको उदाहरण इतिहासमा बराबर पाइन्छ । मानिसमा निहित चेतजन्य विवेचना शक्ति र मनजन्य अहमकाे सन्तुलन नमिल्नु पनि कुरुक्षेत्र मानवीय इतिहासको एउटा बिब्ल्याँटो मोड हो । यहाँ सबै भनिरहनुपरेन । यी पङ्क्तिबाटै सब्ल्याँटो अनि बिब्ल्याँटोको परिचय दिन पुग्छ । आजको यावत् संसारको वातावरण उजिल्याउँछ । यस प्रकार भैरव अर्यालका यसमा निहित विचार प्रवाह शाश्वतमय अवलोकनका साथ सँगालिएको पाइन्छ, बाँच र बाँच्न देऊ ।
वादको नादमा वा अरू कुनै शक्ति प्रमादमा बिब्ल्याँटो मार्ग अवलम्बनप्रति उनको नकारात्मककै बुलन्द आवाज यहाँ ओर्लिएको देखिन्छ । उनले यहाँ खुलस्त भनेका छन् – “ … त्यसैले राजनीतिक स्थितिको निरीक्षण गर्दा कुनै पनि मान्यताको परीक्षण गर्दा सब्ल्याँटो गतिसित सामन्जस्य राख्छ कि राख्दैन भनेर हेर्ने गर्नुपर्दछ ।
यस विचारोत्तेजक ‘सब्ल्याँटो गति’ पछि दोस्रो ‘समीक्षा समालोचना कथागुरु गुरुप्रसाद मैनाली’ रहेको छ । शीर्षकले नै विषयवस्तु बताइसकिएको छ तर यस समीक्षा समालोचनाबाट हस्ताक्षरकर्ता ठट्टा-पण्डित भैरव अर्यालमा निहित अर्को पक्ष गम्भीरताको ओज प्रकाशन हुन पुगेको छ । यस पक्षमा उनकै शब्द पैँचो नलिई उजिल्याउन सकिन्न “ … कुरा संजोगकै हो । ९० सालको भुइँचालोपछि जसरी घर र सडक निर्माणमा आधुनिकता, वैज्ञानिकता र पक्कीपन देखिन थाल्यो । त्यसैगरी नेपाली कथा पनि शिल्प र भावभूमि दुवैमा विश्वकथाको सामु सामञ्जस्य राख्न सक्ने गरी निर्माण हुन थाले ।”
यस भूमिकाका शब्द वाक्यांशले उनको अवलोकन गति गाम्भीर्यपन मात्र होइन पाठकलाई तान्ने कलाको विलक्षणतासमेत दृष्टिगोचर हुन पुग्छ । कथागुरु गुरुप्रसाद मैनालीबारे धेरै लेखिए, लेखिँदै छन् तर अर्यालको शिल्प र सम्प्रेषणीयताको वैचारिक जोडाइ मधुरतम शैली बेग्लै प्रकारको रहेको छ, यहाँ उनले जोडेका शब्द छन् … कालिदासको ‘अभिज्ञान शाकुन्तल’ लेखेको ताका अङ्ग्रेजी साहित्यको स्वरूप कस्तो थियो र सेक्सपियरले नाटक लेखेको ताका नेपाली साहित्य कुन ताम्रपत्रको कुँदाइतिरै थियो भन्ने मात्र हेरे पनि उक्त कुराको पुष्टि हुन्छ ।”
हो, समीक्षा-समालोचनाको मूल आधार तत्त्व नै सम्पूर्ण केलाइ हो । यही केलाई अन्तर्गत रहेर अर्यालले खुल्ला मनले गुरु गुरुप्रसाद मैनालीको बारेमा लेख्दै भनिदिएका छन् । …. मैनालीका कतिपय कथानकको बनोटमा प्रेमचन्दकै पाइला पनि भेटिन्छन् । उदाहरणार्थ प्रेमचन्दको सौत र मैनालीको नासोको कथानक पेस गर्न सकिन्छ । यसै गरी ‘परालको आगो’ मा शरद्चन्द्रको ‘जतुगृह’को प्रभाव छाम्न सकिएला । यसो भनेर नेपाली समाजका समस्याहरूका जरा केलाई अभिव्यक्ति दिने मैनालीको क्षमतामा शङ्का गरिएको होइन, नासो स्वमयलाई पनि उनले रूपान्तरित जस्तो देखिन नदिई नेपाली रहनसहन, नेपाली संवाद प्रक्रिया, काठमाडौँको स्थानीयता र दासमोचनको समसामयिकता आदिका वैशिष्ट्यले ……मारेका छन् । सर्वसाधारणका भाषामा सर्वसाधारणका समस्याहरू चित्रित गर्ने प्रवृत्तिमा दुवैको बिच सामञ्जस्य भए पनि प्रेमचन्दको अपेक्षा पक्षहरूको अन्तर्द्वन्द्वको कमी र आदर्शोन्मुख धारणामा बढी मोह देखिन्छ ।”
… माथिका सबै कुरा विचार गर्दा गुरुप्रसाद मैनालीलाई नेपाली कथाका एक वरिष्ठ गुरु भन्नमा कुनै आपत्ति पर्ला जस्तो लाग्दैन । … बरु … यी शब्दहरूबाट पनि अर्यालमा विश्वसाहित्यको आवश्यक अध्ययन अनि गम्भीरतापूर्वक अवलोकनकर्ताको रूपमा परिचित गराउने कार्यले गराएकै छ । अर्यालमा छोइने माध्यम भाषाको ठेटपना हास्य व्यङ्ग्यमा जति छोइन्छ प्रति नै गाम्भीर्यतामा गहिराइ नै भेटिन्छ भन्ने कुरा यस आलेखमा प्रकट हुन पुगेको छ ।
विचारप्रवाहात्मक सुस्पष्टताको नमुना स्वरूप ‘साहित्यमा कलापक्ष’ शीर्षकीय लेखबाट पनि भैरव अर्यालको अध्ययनशीलताको गहिराइको अवलोकन गर्न सकिन्छ । तर्कशक्तिको पहिचान हुन पुग्दछ । आरम्भबाटै उनले साहित्यको उद्देश्यगत व्याख्याहरूको सन्दर्भमा ‘सत्यम् शिवम् सुन्दरम्’को कुरा चर्चाप्रति इङ्गित गर्दै भनेका छन्— “हिजो मानेको सत्य आज असत्य साबित हुन सक्दछ भने आज ठम्याएको शिव भोलि अशिवको रूपमा परिणत हुन सक्दछ । देश, काल, स्थिति अनुसार सुन्दरताका पनि विभिन्न रूपहरू हुन्छन् ।”
विवेचनका नाङ्गो रूपीमा तोरी सर्स्यूं केलाएझैँ तर्कपूर्ण कुरा केलाइका दक्षता देखाउँदै उनले आफ्नो तर्क सारेका छन् – “प्रतीकको दृष्टिले हेर्दा सत्यम् दर्शनको प्रतीक शिवम् धर्म वा नैतिक पक्षको प्रतीक र सुन्दरम् प्रतिपादन गर्नुको अर्थ दर्शन, धर्म र कलाको समन्वयात्मक उपलब्धिको साधना गर्नु भन्ने बुझ्नुपर्छ ।” यावत् कुराहरूको प्रस्फुटनबाट भैरव अर्यालमा आध्यात्मिक र भौतिक दुवै वादबीच स्वनाद गुञ्जाउन पनि माहिर छन् भन्ने देखाउँदछ । उनले आफ्नो यस लेखमा साहित्य इतिहासको समय परिक्रमालाई राम्ररी थुपार्दै केलाउँदै कलापक्षमा मात्र सीमित साहित्य लोग्नेमान्छे नभएको घरजस्तै भाँडिएर जान्छ भन्नेहरू ननिस्केको भए सायद साहित्य पूगीसरि आउनेहरूको मनोविनोदको साधन ……. हुन्थ्यो कि त्यो विचारणीय छ … आदि तर्कशीलताबाट उनमा सूक्ष्म चिन्तनको दक्षता देखा पर्दछ ।
“प्रतिभा मान्छेको किरण हो, फिँजिन खोज्नु स्वभाव हो । त्यसैले जतिसुकै सीमित वा केन्द्रित पार्न खोजे पनि आफ्नो केन्द्रका भावना जोडिन आइपुग्दछ ।” हुन त उनले आफ्नो जन्मथलोको सीमिततामा भाव पोखेका थिए कि स्वर्ग कहीँ छ भने वश यहीँ छ । यसैलाई लिएर भन्ने हो भने मरेर देखिने स्वर्गभन्दा बाँचेर धरतीलाई स्वर्ग बनाउने ऊर्जाशील हातको पहुँच यस वैचारिक मन्थनात्मक लेखको आशय देखिन्छ ।
यसै विचार प्रवाहमा आध्यात्मिक भावहरू पनि ओरालेर लेखकले भनेका छन्— “करोडौँ वर्षदेखि लगाएको भावनात्मक साइनो चुँडिन आँट्यो भन्ने डर पनि हो । हाम्रो वेदले विराट्को ‘मानसपुत्र’ मानेको चन्द्रमालाई पुराणले समुद्र मन्थनमा पाइएको बताएको छ … । चन्द्रमालाई पाइथागोरसले ऐनाको ठुलो भकुन्डो देखे पनि ग्यालिलियोले पृथ्वीजस्तै ग्रह देखे पनि डार्बिनले पृथ्वीबाटै चोइटिएको एउटा जलजलाकार बिम्ब भने पनि हीले सोमबारे औँसीमा नबोली नुहाउन छोडेनौँ … हाम्रो प्रेमको प्रतीकलाई नबिटुलाइदेओ भनी जुलुस निकाल्ने इटालियन युवायुवतीहरू, …” आदि वाक्यबाट भावनात्मक नातालाई उजिल्याएका छन् । अन्तमा मानिसका दुई प्रवृत्ति “सृष्टिप्रिय मान्छेले कमाएको यो अलौकिक सम्पत्ति … प्रिय मान्छेले स्याहार्न सक्ने हो कि होइन ! …” बाट लेख टुङ्ग्याइएको छ । तर्कपूर्ण विचारको सेरोफेरोमा साम…कता भित्र पनि दूरदृष्टिपूर्वक विचारहरू यसमा भेटिन्छ ।
अवस्था अनुसार लेख्ने क्षमतापूर्ण दक्षता उनमा प्रचुर मात्रामा भएको अर्को नियात्राबाट यस कुराको झन् पुष्टि हुन्छ । उनी नढाँटी आफूलाई छरपस्ट पार्दै आफ्नो व्यङ्ग्यको कुशलता प्रकट गर्दै उनले नियात्रा क्रमको साइत यसरी जुराएका छन् “एउटा अखबारसित सम्बन्धित पत्रकारको हैसियतले मेरो पनि युरोप जाने कुरा बेलाबेला नउठेको होइन तर कहिले प्रतिद्वन्द्वीका गगनचुम्बी कुराहरूमा मिचिएर कहिले बाङ्गाटिङ्गा विहाङ्गनहरूमा किचिएर कुरा पलाउन बेर, न ओइलाउने बेर रहे ।” आदि कुरा नियात्रा आइतबारमा पस्किएका छन् ।
व्यङ्ग्यात्मक शैलीको यस नियात्राले एउटा यात्रुको यात्रा अनुभवमा खितिती मिसिएपछि सँगै उडेझैँ गरेका छन् । भलै अर्को लेख ‘सङ्गीत र शिक्षा’ शीर्षकीय लेखमा त्यति गहन कुरा छैन तर शिक्षामा सङ्गीतको प्रयोगबाट कसरी बालबालिकामा प्रभाव कायम गर्न सक्छ भन्ने कुरा सरल ढङ्गबाट उचालेका छन् र तारतम्यमा गाम्भीर्य वरिपरि नफिँजिई यो रहन सक्दैन । आफ्नो जातिको उत्थान भावना र कर्तव्यताले पनि घचघच्याइएको प्रतिमा झन् विविध क्षेत्रको इतिहास निर्माणमा सहायक हुन्छ ।”
यसै गरी “पत्रकार जगत्का प्रथम ज्योति-मोती” शीर्षकको आरम्भ वाक्यले नै मोतीराम भट्टका बारेमा आफ्नो विचार प्रस्ट राखिदिएका छन् भैरव अर्यालले । शीर्षकबाटै नेपाली पत्रकारिताको नालीबेलीका मोतीरामका देनबारे लेखको आशय स्पष्ट हुन्छ । यसैले यस लेखमा बौद्धिकताको बढी छाँट उनले देखाएका छैनन् तर पनि खँदिला छोटा र चोटिला कलमका पोखाइहरू यसमा भेटिन्छन् । यसै गरी अर्को छोटो लेख अर्को रहेको छ पुस्तकमा चौध हरफमा ‘मनोस्थिति’ एउटा गहन व्यङ्ग्यात्मक लेखको रूपमा पनि हेर्न सकिन्छ । यसभित्रका पात्र पाहुना हुन सक्छन्,……… हुन सक्छन् खुट्याउन पाठकलाई नै जिम्मा दिइएको छ । शब्दको चलखेलमा प्रत्येक दिन ‘अलोक’ भन्दै जोगीझैँ … ले झुक्याउन खोजिएको छ ‘अलोक’ (अलख) र जोगीझैँ (जोगी होइनन्) बाटै बजार खोलिदिएको प्रतीत हुन्छ । जे चाहियो बजारमा पाइन्छ नै को भावमा खोजाइएको छ स्व. पनि हुन सक्छ पात्र परत्र पनि हुन सक्छ । यो लेख नभएर लघुकथा हो कि भन्ने छनक पनि दिन पुग्दछ ।
‘चन्द्रमामा चार पाइला पर्दा’ सामयिकतामा प्रवाहित विचार प्रतीत हुन्छ तर पनि यसमा थुप्रै कुरा कालजयी फाँटका छन् अन्तरिक्ष विजयको यस प्रवाहको आरम्भमा उनले भनेका छन् “वर्षौं वर्षको चिन्तन, अनुसन्धान र करोडौँ डलरको रुवलको अहिलेसम्मको उपलब्धि के त भनी भौतिक रूपले … हेर्दा चन्द्रयात्रीहरूले ल्याएका दुई चार बाकस गोलजस्ता ढुङ्गाका डल्लाहरू सिवाय अरू केही देखिन्न । आपसी खोसाखोस र तानातानले पृथ्वीमा मुन्टो लुकाउने ठाउँ नपुगी चिन्ता र चीत्कारमा हुँडलिएका अरबौँ भोकानाङ्गाहरूले चन्द्र विजयबाट उत्पन्न यस गौरव र गर्वलाई मनको कुनाकुनामा कसरी थन्क्याउने ? यो बुद्धि र बर्कत धरतीकै कतिपय समस्याको समाधानमा लगाएर धरतीमै सुख सुविधाको नयाँ लोक र आलोक निर्माण गर्न सकिने थियो ।” पूर्णतया मानवतावादी तर्कलाई अघि सारेका अर्यालको विचारप्रवाहमा एक अमेरिकी … को मानिसका एक अर्को जातिमा रहेको दूरता धरती र चन्द्रलोकको दूरताभन्दा लामो छ । यो दूरता नजिक्याएर मान्छेमा निहित जातिभेदको बर्बरता पनि नासिएको भए पो चन्द्र विजयको खुसी मनाउन पाइन्थ्यो ।” लाई पनि इङ्गित गरिएको छ । उपलब्धिका आकलनबिच यहाँ कुनै उर्दू कविता यसको लेखाजोखा चैँ अवलोकन प्रक्रियाकै निरन्तरताको खाँचोमा खडा हुन सक्ने तड्कारो भेटिन्छ ।
सम्पादकलाई चिठी एउटा बिम्बको रूपमा प्रस्तुत छ, त्यो बिम्ब त्यो पनि नेपाली साहित्यिक इतिहासको अनि माध्यमरूपी पत्रपत्रिका अनि सम्पादकीय गुणवत्ताको लेखाजोखा रसिलो ढङ्गले प्रस्तुत पत्रात्मक निबन्ध हो यसमा अर्यालले लेखेका छन् -“ … लेख सङ्कलन गर्दैमा सम्पादक हुन सकिने भए घरघर लेख मागेर ल्याउने काम पियनले पनि गर्न सक्छ र उनले पनि सम्पादकको दर्जा पाउनुपर्छ । लेखक-निर्माण, साहित्यको युगीन दिशा निर्देश र स्वस्थ साहित्यको संवर्धन जस्ता महत्त्वपूर्ण कुरा सम्पादनको दायित्वभित्र पर्दछन् । त्यसलाई तपाईं हामी अचेलका थुप्रै सम्पादकहरूले कति बुझेका छौँ, कति गर्न सकेका छौँ ।” यी कुरा अहिले टुङ्गियो सक्यो त ? विचारमाथि विचारैको कुरा रहिरहेन त ? यस्तै – “ … पाठक भन्छ यो बुझिएन, लेखक भन्छ – जुन बौद्धिक उच्चतामा पुगेर मैले पो लेखेँ त्यस उचाइतिर पुगेर छाम्ने प्रयास हुनुपर्छ … देश सापेक्ष जीवनवादी साहित्यको समृद्धि गर्नमा सम्पादकहरूको विशेष ध्यान जानुपर्ने हो, तर भन्न जति सजिलो छ, गर्न त्यत्तिकै गाह्रो ।” लेख्ने र छाप्ने दुवैप्रतिको अवलोकनका दृश्यहरू यसमा सुस्पष्ट उल्लेख रहेको छ, अवलोकन ग्राह्य छ ।
यस सङ्ग्रह ‘राजीनामा’मा एउटा बालकथा उपशीर्षकमा ‘एम.ए. नगरी त्यतापट्टि हेर्दै हेर्दिनँ’ शीर्षकमा रहेको छ । कथा भनिएको त्यो कथा हो कि होइन यो विज्ञहरूबाटै खुट्याउने कुरा देखिन्छ, त्यसै गरी यो बालकथा बन्यो कि बनेन विज्ञ पाठककै पहिल्याइ मान्न सकिन्छ तर यसमा स्वहेराइमा यो व्यङ्ग्य धारको पोटिलो, चोटिलो चड्कन हो । यसको प्रारम्भमै भनिएको छ उसलाई कोही बुद्धिमान् (बुद्धु ?) भन्थे त कोही बुद्धिमान् पनि भनिदिन्थे, तर उसको वास्तविक नाम चाहिँ के हो, आफैलाई पत्तो थिएन … ।
मुसाको जस्तो नरम छाला, बिरालाका जस्ता पुष्ट गाला, झुसैझुसले सिँगारिएको तीनकुने निधार, खैरा परेलामुनि टिप्लिक्क परेको भँगेरे आँखा साँच्चि चोसोमोसो मिलेको मान्छे थियो – बुद्धिमान ।
यी दुई वाक्यांशबाटै लाग्दछ यो बालकथा वृत्तमा पार्न सकिँदैन । यी दुई वाक्यांशभित्र जुन राग निस्किएको छ त्यसले बाल पनि ओरालेका छन् ।
चौथो स्रष्टा समीक्षा ‘विविधाङ्गी जीवनका बेढङ्गी कथाकार लक्ष्मीप्रसाद देवकोटा’को रहन पुगेका छ । देवकोटाप्रतिको उनको श्रद्धा उनकै कथाबारेको विचार पङ्क्ति उतारेर व्यक्त गरिएको देखिन्छ र आरम्भमै यही पङ्क्तिबारे यसो लेखेर विचार प्रवाह अगाडि सारिएको छ “हामी श्रेष्ठ कथा जीवनबाट लिन नजानेर अक्सर कल्पनाबाट उनेर बुनेर अर्धप्रकृत अवस्थामा विश्वास पार्ने किसिमका बनाउँछौँ तर जीवनभन्दा राम्रो उपन्यास केही छैन र दैनिक घटनाभन्दा औपन्यासिक र रुचिकर भईकन सत्यको यथार्थ चेत दिन सक्ने कुरा केही छैन ।” कवि निबन्धकारका पाटो यहाँ उजेलिएका छैनन्, मात्र कथाकार देवकोटा उभ्याइएको छ र कथाका देवकोटाभित्रका विशेषता, कमजोरी सब केलाइएका छन् उनका स्वयम्का अप्रभावित मौलिकता उघारेका छन् स्पष्टसँग ।
उनी भन्छन् — “देवकोटाका कथा देवकोटैका जस्ता छन् … ।” आदि भनेर उनका कथाका पाँच विशेषता खुट्याइएका छन् । यसपछि ‘केही नेपाली काव्यमा प्रणयसरिताको कलकल’ शीर्षकको समीक्षात्मक निबन्ध रहेको छ जुन राजीनामा (भैरव अर्यालको विविध रचना) मा समेटिएको सबभन्दा लामो स्वरूपमा देखा पर्दछ । प्रणयपक्षको गहिरो विवेचनासाथ कवि इन्दिरसको प्रणय पग्लाइदेखि लिएर विद्यारण्यकेशरी, भानुभक्त, मोतीराम, शम्भुप्रसाद, लेखनाथ, सिद्धिचरण, देवकोटा, माधव घिमिरे, व्यथित, भीमनिधि तिवारी, म.वी.वि. शाह, बालकृष्ण सम, गोपालप्रसाद रिमालका प्रणय छालहरू उदाहरणको रूपमा उछालेर सोधकै रूपमा ओरालेका छन् । यसबाट प्रणयपथ रोजेर उनले प्रणयका कुराद्वारा अन्तर्संवाद नै ओरालेका छन् जसबाट उनको अध्ययनशीलताको पनि पहिचान हुन पुग्दछ ।
‘नेपाली वाङ्मयको विकासमा मदन पुरस्कार’ शीर्षकको वैचारिक निबन्ध क्रमागत रूपमा अर्को रहेको छ, सामयिक परिधिमा ओरालिएको वैचारिक कुरो हो यो शाश्वततामा तलमाथि पर्ने नै भयो तर यसलाई अझै सार्थक ठानेर सम्पादकले पादटिप्पणीसहित यसलाई समावेश गरिएको देखिन्छ । यसबारे अरू चर्चा गरिरहन पर्ने देखिँदैन नै । सम्पादकको आह्वान उपयुक्त भेटिन्छ तर पनि वैचारिक मथिङ्गलमा ल्याएर मस्तिष्कलाई ऊर्जा प्रदान गर्दैन, न त बाल मनोवैज्ञानिकप्रति उत्तरदायित्व नै ग्रहण गर्दछ, भावार्थ यस्तै देखिन्छ । यसमा सामाजिक विसङ्गति एवम् विकृतिका प्रतीकका रूपमा उभ्याइएका ‘माथ्लाघरे माइला मुखियाको माइलै छोरो, कुलघरानाकै डोरो’ अर्थात् बुद्धुमान ? ‘एघार वर्षमै नपुग्दै ऊ कसैको ज्वाइँनारान पनि भइसकेको थियो । नत्र पुस्तक छुनुभन्दा पहिले पोथी सुमर्ने सौभाग्य जसतसलाई कहाँ मिल्छ र ?’ का परिचयात्मक विवरणमा माथिका कुरा अतिरिक्त बालकथाबाट उछिट्टिएको अर्को स्वरूप उजेलिन्छ । लाटोबुङ्गोको कथाको छनक पनि यहाँ भेटिन्छ । कालोभूतको प्रसङ्ग, आफूलाई मरिसकेको दर्साउने रौनकले अलि तिलरम खडा गर्दछ तर पनि मानिसमा अन्तरशक्तिको पहिचान गराउन सकियो भने बाह्य र आन्तरिक शक्ति जगाउन सकियो भने जतिसुकै मन्दबुद्धि सुषुप्त मानसिक ग्रस्तलाई पनि सबल, सक्षम तुल्याउन सकिन्छ भने कुराको प्रसङ्गबाट भने बालकथाको अलिकति छनक दिन पुगेकै देखिन्छ । बालशिक्षा, मनोवैज्ञानिक असर वयस्कीय नै देखिन्छ तर बालकथा रूपमा ग्रहण गर्न चाहिँ अप्ठेरो नै लाग्दछ ।
पुस्तक ‘राजीनामा’मा पाँचौँ समीक्षात्मक लेख ‘लोकभक्त भानुभक्त’ शीर्षकबाटै स्पष्ट हुन पुगेको छ कि यसमा आदिकवि भानुभक्तबारे लेखिएको छ । पत्रकार एवम् विशिष्ट साहित्यकार भैरव अर्यालका लेखनीमा सन्तुलनका बेजोड नमुना हास्यव्यङ्ग्यमा मात्र होइन कि समालोचना र काव्यमा समेत भेटिन्छ । यही गुणले उनले भानुभक्तलाई दिइएको उपमा लोकभक्त सार्थक नै देखिन आउँदछ ।
भानुभक्तबारे उनले भनेका छन् – “भानुभक्त भक्तियुगका थिए र उनी अध्यात्मवादी थिए भन्ने कुरामा विवाद छैन तर पनि समाज निरपेक्ष भक्त थिएन भन्ने कुरा उनका कतिपय फुटकर कविताहरूले दिन्छन् … तर प्रस्ट रूपमा नौ-दस जना कविहरूका पछि जन्मेका भानुभक्तलाई आदिकविभन्दा … तर आदिकवि नभन्दैमा भानुको सम्मान नघट्ने भएकोले मान्नै पर्छ भन्ने दावा किन ? उनको समयमा नेपाली भाषा अवस्था र प्रयोगलाई विहङ्गम दृष्टिले केलाएर उनले छोटो मीठो एवम् सरल तर पस्केका छन् । समदृष्टिलाई पहिल्याएका छन् । यसपछि अन्तिमतिर आएर ‘अभ्युत्थानको मङ्गलाचरण’ शीर्षकमा सामयिक धारणा राखेका छन् । यसलाई पढ्दा सम्पादकबाट कुनै अरू नै लेख छानिदिए हुन्थ्यो कि भन्ने कतै-कतै लाग्न पुग्दछ किनकि बलेकै आगो फुक्नेहरूका निम्ति अपाच्य एवम् अर्याललाई खस्काउने निहुँ दिए झैँ हुन पुगेको छ यस लेखले । तर पनि विकासका सही पहिचान यसभित्र उनले गरेका छन् । विकृतिलाई विकास भन्ने गरी आएका कुराहरूबाट आज संसारै विषाक्त बनेर नष्ट हुने हो कि भन्ने त्रास झन् झन् बढ्दो छ ।
यसबारे अरू चर्चा नगरेकै पनि उनले स्पष्ट रूपमा दृष्टान्तसहित भनेका छन्— “भौतिक प्रगति मात्र अभ्युत्थानको कारण होइन … तर निष्क्रिय देशभक्तिले गति दिँदैन । … जातिगत अभिमानको तीव्रतामा मात्र उत्थानको सोपान मात्र पनि नाजीहरूको पतनको उदाहरण दिँदैन । … यी सबै केलाउँदा एउटै तथ्य के देखा पर्दछ भने भौतिक वा भावनात्मक कुनै एक पक्षीय प्रगतिले मात्र कुनै पनि देश वा जातिको अभ्युत्थान भएको मान्न सकिन्न । … अभ्युत्थानको बीजन्यास मान्छेको मुटुभित्र हुन्छ । माया र ममताको प्रतीक मानवीय मुटुमा आफ्नो देश र जातिप्रति सङ्लो माया र बलियो ममता प्रवाहित हुन्छ … आदि कुराले भैरव अर्यालमा यथार्थपरक अध्ययनको गहिराइ कतिको रहेछ भन्ने बुझ्न सकिन्छ, तर्कमा कविको ओज रहेछ भन्ने बुझ्न सकिन्छ ।
समग्रमा चेतनका पुञ्ज बोकेका भैरव अर्यालका कलम हास्यव्यङ्ग्यका फाँटमा सर्वोत्तम थिए नै भने गम्भीर विषयमा पनि उत्तिकै दखल राख्दछ । यही कुरा ओझेलमा थिए र यो ओझेल पनि उघार्ने प्रयत्नमा ‘राजीनामा’ प्रकाशन परिवारको प्रयत्न सफल भएको यहाँ प्रस्टिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।