लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिक साहित्यिक क्याननहरूका एकलौटी अधिकार होइनन् ।

नेपाली साहित्यिक समालोचनाको स्वरूपले सिद्धान्तपरक पठनको आवश्यकतालाई टड्कारो रूपले महसुस गरिसकेको कुरा चक्रव्यूह सञ्चेतना (Labyrinth Conscience) ले २०६० को सुरुदेखि उठाउँदै आएको हो । समालोचनालाई एकातिर पाण्डित्यपूर्ण खेल (Pedantic Game)  हुनबाट बचाएर आल्हादमय खेल बनाउनुपर्ने जरुरी छ भने अर्कोतिर सूत्रपरक प्राध्यापकीय शैली, विवरणात्मक शैली, प्रभावपरक शैली र जीवनीपरक शैलीको बाहुल्यबाट पनि मुक्त गराउनु आवश्यक छ । समालोचना सृजनाको विपरीतार्थ शुष्क र रसविहीन विषय होइन, यो आफैँ नै सिर्जनशीलताको आग्रह गर्ने साहित्यिक हो भन्ने कुराले मान्यता र प्रयोग दुवैका रूपमा स्थापित हुन नपाएसम्म साहित्यिक समालोचनाले सृजनाकै समगतिमा आफूलाई विकास गर्न सक्दैन ।

इतिहास र काव्यकृति दुवैभित्र कैयौँ गोप्य र अनुद्घाटित आयामहरू हुन सक्छन् । परम्परागत समालोचनात्मक शैलीले समालोचकलाई सर्वद्रष्टा र काव्यकृतिलाई एकै दृष्टिकोणबाट पर्गेल्न सकिने निरीह र पारदर्शी अस्तित्व ठान्दछ । तर हामीले विकास र प्रयोग गर्दै आएको समालोचनाको चक्रव्यूह चेतनाले इतिहास र काव्यकृति कहिल्यै पनि सरल र आयामिक हुन्छन् भनेर मान्दैन । अर्थहरू इतिहास र काव्यकृतिमा घुमाउरो, पत्रेदर र बहुआयामिक भएर विद्यमान रहेका हुन्छन् । भ्रामकता र अर्थविविधता भाषाको नैसर्गिक चरित्र हो भन्ने कुरालाई चेतना निर्माणको दिशामा आधारवाक्य नबनाएसम्म हामी समालोचना भनेको अर्थहरूको परेडभूमि प्रदर्शन गर्ने भाषिक समारोह हो भनेर स्वीकार्ने अवस्थामा पुग्दैनौँ । अर्थहरू निर्माण, स्खलन, विनिर्माण र पुननिर्माणको गतिशील प्रक्रियामा सामेल हुन्छन् । यो प्रक्रिया यसर्थ निरन्तर रूपमा चल्दछ कि समाज पनि द्वन्द्वको प्रक्रियाबाट अग्रगमनको यात्रा जारी राख्दछ । समाजम विद्यमान वर्ग र शक्तिहरूले चेतना निर्माण र विस्तार गर्दछन् र त्यही चेतनाको आधामा अर्थहरूको विश्लेषण प्रक्रिया अगाडि बढ्दछ र चक्रव्यहू सञ्चेतनाले अर्थहरूको बहुल्यतालाई विश्वास गर्नु भनेको एकल अर्थको सर्वसत्तालाई नमान्नु हो र समाज परिवर्तनको गतिशीलतामाथि अटुट् आस्था राख्नु हो । समाज जसरी विचारै विचारहरूको पुञ्ज हो त्यसैगरी काव्यकृति (Text)  पनि अर्थैअर्थको उपस्थिति भएको रङ्गमञ्च हो । समाजमा सबै किसिमका आस्था र विचारहरूको समान हैसियतको प्रभाव नरहेर प्रभावको भिन्नता भएजस्तै अथवा बाहुल्य सबैले कायम गर्न नसके जस्तै काव्यकृतिमा पनि सबै अर्थले समान महत्व र प्रभाव स्थापित गन सकेका हुँदैनन् । समालोचकहरूले दमित, सीमान्त र बहिस्करणमा परेका अर्थहरूलाई स्थापित मञ्चमा ल्याएर सबैको चेतना अगाडि प्रदर्शन गरिदिने जिम्मेवारी बहन गर्नुपर्दछ । यही मान्यतामा विश्वास राख्ने चक्रव्यूह सञ्चेतना प्रजातान्त्रिक चरित्रको समालोचनात्मक पद्धतिमा आस्था राख्दछ । अंश र एकाईहरूको संयोजनबाट पूर्ण निर्मित हुनेभएकाले सिद्धान्तपरक एकाईहरूबाट अर्थनिरूपणको परियोजना प्रार्दुभाव हुनुपर्छ ।

पहिचानको सङ्कटबाट पार पाउन जसरी आजको विश्वमा पहिचान निर्माणका सङ्घर्षहरू धमाधम प्रस्फुटित भइरहेका छन्, त्यसरी नै साहित्यको सिर्जना फाँटमा पनि महाआख्यानहरू (Grand Narratives) को स्थान क्रमशः लघुत्तम आख्यानहरू (Minimal Narratives) ले लिइरहेका छन् । त्यसैले हाम्रो समयमा सिर्जित भइरहेका लघुत्तम आख्यान र स्थानीय आख्यानहरूलाई समालोचनाका केही पूराना ‘रेडिमेड’ नमुनाहरूले समेट्न र न्यायोचित विश्लेषण गर्न सक्दैनन् । यसै परिप्रेक्ष्यमा चक्रव्यूह सञ्चेतनाले नेपाली साहित्यिक समालोचनाको मृतप्रायः विधालाई सशक्तिकरण गर्नका निम्ति सिद्धान्तपरक नमुनाहरूको विविधकरणको प्रस्ताव अगाडि सारेको हो । विदितै छ, हामी चक्रव्यूह सञ्चेतनाको घोषणापत्रलाई वि.सं.२०६० मा सार्वजनिक गरेदेखि नै सिद्धान्तपरक नमुनाहरूको प्रयोग गर्दै हाम्रो आन्दोलनलाई अगाडि बढाउँदै आइरहेका छौँ ।

माफ पाऊँ पाठक महोदय, हामीले यहाँसम्म चक्रव्यूह सञ्चेतनाकै बहसलाई लम्ब्याइआयौँ । शीर्षकमा भने झैँ अब हामी सिर्जनशील पागलपनले भरिपूर्ण भएर नेपाली साहित्यमा आफ्नै विशिष्ट पहिचान बनाइसकेका साहित्यकार सरूभक्तको वि.सं.२०४८ मा प्रकाशित विचारप्रधान एवम् कलात्मक उपन्यास ‘पागल बस्ती’मा कसरी अहम्केन्द्रित मानवतावादको जीवनदर्शन प्रयोग भएको छ भनेर चिरफार गर्न गइरहेका छौँ । यस उपलक्ष्यमा हामी सरूभक्त आर्फैँद्वारा प्रतिपादित अहम्केन्द्रित मानवतावादको दर्शनका मुलभूत पक्षहरू, उपन्यासमा यस दर्शनको परावर्तन, यस दर्शनका सीमा, सामाथ्र्य, त्रुटि र अरू पितृदर्शनहरूसँगको यसको सम्बन्धलाई पनि केलाउने प्रयास गर्नेछौँ ।

उपन्यासकार सरूभक्त ‘पागल बस्ती’ उपन्यासमा उनको दार्शनिक जीवनदृष्टि अहम्वादलाई प्रमाणित गर्ने कसरतमा देखिन्छन् । उनको विचारमा अहम् वा अहङ्कार प्रत्येक मानव र मानवेत्तर प्राणीमा विद्यमान हुन्छ । यो मानवजन्य प्रवृत्ति हो । अझ विस्तृत रूपमा यो प्राणीजन्य स्वभाविक संवेग हो । मानवीय अहङ्कार सकारात्मक र नकारात्मक दुवै तहमा उद्भाषित हुन्छ । विध्वंसात्मक अहङ्कारको व्यवस्थापन गर्न नसकेकै कारण संसारमा हत्या, हिंसा, आतङ्क र विनाशको श्रृङ्खलाले निरन्तरता पाएको हो भन्ने आशय उपन्यासकारको रहेको छ ।

सुरेश हाचेकाली

अष्ट्रियन मनोविश्लेषक सिग्मण्ड फ्रायडले मानव मनको विश्लेषण गर्ने क्रममा मानव मनका तीन तहहरू इड, इगो र सुपरइगोको व्याख्या गरेका छन् । इड आनन्द सिद्धान्तको निकट रहेको छ भने सुपरइगो नैतिक सिद्धान्तसँग जोडिएको छ । इगोले आनन्द सिद्धान्त र नैतिक सिद्धान्तको बीचमा सन्तुलनको भूमिका खेलेको पाइन्छ । फ्रायडले इगो भनेर भनेकै अवधारणाको दुरुस्त अनुवाद सरूभक्तले भन्ने गरेको अहम् हुन सक्छ कि सक्दैन ? यो बहसको विषय हो । जे होस् सरूभक्तका निम्ति अहम् नैसर्गिक मानवीय भाव हो । जो कतिपय अवस्थामा मङ्गलकारी त कतिपय अवस्थामा अमङ्गलकारी हुन्छ ।

विभिन्न धर्मशास्त्र र दर्शनशास्त्रका पुस्तकहरूमा पनि अहङ्कारलाई नकारात्मक र प्रेमलाई सकारात्मक शक्तिश्रोतको रूपमा लिइएको पाइन्छ । तर सरूभक्तले चाहिँ प्रेम र अहम्को त्यो परम्परागत पदसोपानलाई विनिर्मित गरिदिएका छन् । उपन्यासकारको मुखपात्र प्रशान्त अहम्ले परिपुष्ट भएको छ । मार्थाको प्रेमिल अनुरागको अनुनयविनयलाई ऊ अस्वीकार गरिदिन्छ । परम्परागत ज्ञानशास्त्रमा अहङ्कारलाई कसरी नकारात्मक र विध्वंसात्मक मानवीय भावको रूपमा परिभाषित गरिएको छ भनेर विहङ्गम दृष्टि राख्नु यहाँनिर हामीलाई सान्दर्भिक लाग्दछ । यसका केही उदाहरणहरू हेरौँ ।

नेपाली बृहत् शब्दकोषले अहङ्कारलाई यसरी परिभाषित गरेको छ – “आफूलाई सर्वेसर्वा सम्झने क्रिया, भाव वा गुण, भिमान, घमण्ड, सेखी, मपाइँ, अहम्त्याइँ” (९७) । यो परिभाषामा अहङ्कारले किमार्थ सकारात्मक भावार्थ बोकेको छैन । यो शब्दकोषले दिएको अहङ्कारको परिभाषामा यो (अहङ्कार) त्याज्य र निन्दनीय मानवीय भाव हो ।

हिन्दुहरूको धार्मिक ग्रन्थ श्रीमद्भागवत्गीतामा भगवान् कृष्णले अर्जुनलाई भनेका छन्– “अहङ्कारं बलं दपं कामं क्रोधं परिग्रहम्÷विमुच्य निर्मम शान्तो ब्रह्मभूयाय कल्पने” –भक्तिवेदान्त स्वामी प्रमुपद, २६३) । यसको आशय यो छ कि जो मानिस अहङ्कार, सामथ्र्यको भ्रम, अहम् आशक्ति, क्रोध, भौतिक लालसा, स्वामित्वको भ्रम जस्ता कुराबाट मुक्त भएर मनस्थितिलाई शान्त राख्न सक्छ ऊ नै आत्मसिद्धिको उच्चतामा पुग्न सफल हुन्छ ।

एक विश्वविख्यात दार्शनिक तथा योगगुरु ओशो रजनिसले पनि अहङ्कारलाई नकारात्मक, विध्वंसात्मक र घटिया तत्वको रूपमा लिएका छन् । ओशो कोनोपनिषद प्रवचन नं.७ बाट सङ्कलित ‘धार्मिक जीवनः जागरुकताका जीवन’ लेखमा ओशोले ध्यानलाई सम्पूर्ण मानसिक विकारहरूबाट मुक्ति दिएर परमात्मामा मिलन गराउने अस्त्रको रूपमा परिभाषित गर्दै भनेका छन्–“…यह…ध्यान तुम्हारे संस्कारों, तुम्हारी दासता, तुम्हारे मन, तुम्हारे अहंकारको नष्ट करने के लिए है–गहरे अर्थो में तुम्हे ही नष्ट करने के लिए है । ताकीं नया जन्म सके” (२३) । उनको विचारमा अहङ्कारको नाश नभएसम्म मानिसको अर्को पूर्ण र सार्थक जीवनको शुभारम्भ हुन सक्दैन ।

यसैगरी इसाईहरूको पवित्र ग्रन्थ वाइवलमा परमेश्वर जिसस क्राइष्टले अहङ्कारलाई तिलाञ्जली दिँदै प्रेममय हुन यसरी अभिव्यक्ति दिएका छन — “But I tell you not to resist an evil person. But whoever slaps you on your right cheek, turn the other to him also” (९३५) । यसको भावार्थ यस्तो छ कि तिमी दुष्ट व्यक्तिहरूसँग प्रतिवाद नगर । तिमीलाई जब कसैले दाहिने गालामा झापड हान्दछ, अर्को झापडका लागि देब्रे गाला पनि समर्पण गर । यसैगरी क्राइष्टले अगाडि भनेको छन्, “But I say to you, love your enemies, bless those who curse you, do good to those who hate you, and pray for those who spitefully use you and persecute you” (९३५) । यसको आशय यस्तो छ कि शत्रुलाई प्रेम गर, जसले तिमीलाई श्राप दिन्छ, उसलाई आशीर्वाद देऊ, जसले तिमीलाई घृणा गर्छ उसको भलाइ गर र जसले तिमीलाई दुःख दिँदै आफ्नो घृणित स्वार्थको निम्ति प्रयोग गर्छ त्यसको उन्नतिको लागि प्रार्थना गर । क्राइष्टले भनेको यो अवस्था भनेको पूर्णतः अहङ्कारको बर्जना हो ।

सरूभक्तले प्रतिपादन गरेर सिर्जनात्मक लेखनमा प्रयोग गरेको अहम्केन्द्रित मानवतावाद (Egocentric Humansim) सिद्धान्तको सान्दर्भिकता के हुन सक्छ ? यो दर्शनमा सामाजिक रूपान्तरण, समतामूलक समाज निर्माण र श्रमको महत्वलाई कसरी उजागर  गरिएको छ ? मानवेत्तर प्राणीप्रतिको पे्रमलाई कसरी उठान गरिएको छ ? लोककल्याणकारी राज्यव्यवस्थाको मर्मलाई कसरी सूक्ष्म तहमै भए पनि हृदयङ्गम गरिएको छ ? समाजले पागलपनको सङ्कथन (Insanity Discourse) निर्माण गरेर कसरी अशक्त, निमुखा र सीमान्त अल्पसङ्ख्यकहरूलाई उपेक्षा र अवहेलनाको दृष्टिले हेरेको छ ? यी प्रश्नहरू ‘पागलबस्ती’ उपन्यासको विश्लेषणको सिलसिलामा निरूपण गर्नुपर्ने विषयहरू हुन् ।

प्रशान्त विश्वविद्यालय कालमा आफूले भोगेको प्रेम प्रस्तावको अस्वीकृतिलाई इखालु मनले प्रतिशोधको भावनासहित प्रत्यूत्तर दिइरहेको छ । अन्तिम समयसम्म पनि मार्था आशावादी भएर प्रशान्तको हृदयबाट अहम्को समाप्ति भएर प्रेमको पुनः प्रज्ज्वलन हुने मुहुर्त कुरी बस्छिन् । अहम्वादी दर्शनको प्रणेता आदिगुरु प्रशान्त आफ्नो बस्तीभित्र आदिमाता मार्था र आफ्ना पुत्रपुत्रीहरूलाई आदिमन्दिरमा सम्बोधन गर्दै आफ्नो दर्शन यसरी सार्वजनिक गर्दछ–

मानवीय अहम्को प्रयोगात्मक विश्लेषण आनुभाविक परीक्षण र अन्नतः बोधिज्ञानात्मक व्यवस्थापनको        अहम्जन्य महत्वकांक्षा लिएर यस विशेष भूमिमा भेला भएका हामी विश्व नागरिक हौँ । …प्रत्येक पल प्रतिपल मान्छे      जातिले दुःख पाएको छ वा दुःख भोगेको छ । प्रत्येक युगमा मान्छे जातिले हिसा गरेको छ । प्रत्येक युगमा मान्छेले       लोभ, मोह र विषय वासनादी कर्मलाई मानवीय अस्तित्व रक्षाका नाममा वरण गरेको छ । तर मानव जाति प्रत्येक युगमा आफ्नो प्राकृतिक वरणप्रति असन्तुष्ट पनि छ । त्यसैले यस मानव विश्वमा गौतम बुद्धहरू जन्मने गर्दछन्–‘प्रेम     गर प्रेम नै भगवान् हो’ भन्दै र महावीरहरू जन्मन्छन्–“हिंसा नगर’ भन्दै । हामी मानवीय दुःखबाट छुट्कारा प्राप्त गर्न        सकिरहेका छैनौ । त्यसैले गौतम बुद्धको पूजा गर्न हामी विवश छौँ । हामी मानवीय अप्रेमहरूबाट मुक्त हुन सकिरहेका        छैनौ । त्यसैले जिसस क्राइष्टको आराधना गर्न हाम िविवश छौँ । …प्रत्येक व्यक्ति बुद्ध हुन सक्दैन, जिसस क्राइष्ट हुन       सक्दैन, तर के प्रत्येक व्यक्ति गौतम बुद्ध हुनु आवश्यक छ ? के प्रत्येक व्यक्ति जिसस हुनु आवश्यक छ ? मलाई यो      सत्य स्वीकार गर्न मन लाग्छ र म स्वीकारोक्तिको घोषणा गर्छु । मोहम्मद मोहम्मद हुन सक्छ, प्रत्येक मान्छे मोहम्मद हुन सक्दैन, महावीर महावीर हुन सक्छ, प्रत्येक मान्छे महावीर हुन सक्दैन, लाओत्से लाओत्से हुन सक्छ, प्रत्येक व्यक्ति       लाओत्से हुन सक्दैन । यो मानवीय इतिहासको एक सामान्य सत्य हो । जसलाई हामी असामान्य सत्य सम्झन थालेका      छौँ । यो एक अति सरल सत्य हो, जसलाई हामी असामान्य सत्य सम्झन थालेका छौँ । यो एक अति सरल सत्य हो,               जसलाई हामी जटिल सत्य सम्झन थालेका छौ । जसको परिणाम स्वरूप मानवीय अहम्चेतना कुण्ठित भएको छ । यो       इतिहासको महान् दुर्भाग्य हो”  (५८÷५९) ।

महापुरुषका विचारलाई सुन्नु र मनन् गर्नु जरुरी भए पनि कसैले आफ्नो अहम् सत्तालाई त्यागेर कुनै महापुरुषको प्रतिकृति बन्नु हुँदैन । आफ्नो सिर्जनाशीलतालाई मार्नु हुँदैन भन्ने आशय राख्ने आदि गुरु प्रशान्त अगाडि भन्दछ– “म अहम्विरोधी सबै धर्म र दर्शनको घोर विरोध गर्छु– कारण जीवन अहम्युक्त हुन्छ, अहम्युक्त हुन सक्दैन । बुद्ध मेरो दृष्टिमा अहम्युक्त पुरुष हो, महावीर र यसु अहम्वादी व्यक्तित्व हुन् । सिजर, अलेकजेण्डर, नेपोलियन र हिटलर अहम्युक्त पुरुष हुन् । सम्पूर्ण मानवीय भावनाहरू र विचारहरू अहम्केन्द्रित हुन्छन् । त्यसैले म अहम्वादी हुने शिक्षा दिन्छु । अहङ्कारी हुने शिक्षा दिन्छु ।” (पुर्ववत्)

सम्पूर्ण मुक्ति र निर्माणका सिद्धान्तहरूको विरोध गर्दै अहम्वादी प्रशान्त भन्छ–“…पृथ्वीमा मानवजातिको इतिहास भनेको अहम् सङ्घर्षको इतिहास हो, व्यक्तिगत र समूहगत दुवै स्तरमा अहम् भावनालाई उपेक्षा नगर, स्वीकार गर, घृणा नगर, अध्ययन गर, दमन नगर, निरीक्षण गर, परीक्षण गर ।” (५९÷६०)

आदिमाता मार्था प्रेममा विश्वास गर्छिन् भने आदिगुरु प्रशान्त अहम्मा । मार्था प्रशान्तलाई प्रेम गर्छिन् । प्रेम र अहम्बीचको द्वन्द्वलाई उपन्यासमा कौशलतापूर्वक बुनिएको छ । मार्था भनिछन्– “पहिले म सायद अहम्युक्त नारी थिएँ, विस्तारै प्रेमयुक्त हुन पुगेँ, प्रेम गर्न सिकेँ – यो मेरो जीवनको विकासक्रम हो । तिम्रो (प्रशान्तको) जीवनदर्शन मानवीय दृष्टिले ठीक उल्टो छ । तिमीले प्रेमबाट यात्रा थालेका थियौ, कुनै अहङ्कारको दलदलमा यात्रा टुङ्गिन सक्दैन । प्रेमको समाप्ति अहङ्कारमा हुन सक्दैन, तर अहङ्कारको समाप्ति प्रेममा हुन सक्छ । म आफूलाई क्रमशः विकास गर्दैछु – अँध्यारोबाट उज्यालोतिर…अहङ्कार र बृथाभिमानबाट प्रेम–मार्गमा…” (८१) । मार्थाको मन प्रशान्तको प्रेम पाउन व्यग्र छ । पूर्वदार्शनिकहरू अहम्को विसर्जन चाहन्थे भने ऊ इतिहास, ज्ञान, विज्ञान र मानव सभ्यताका पानाहरूबाट दबिएको मानवीय अहङ्कारलाई उत्खनन गर्नुपर्ने तर्क राख्दछ । ऊ अहम्को प्राण प्रतिष्ठा चाहन्छ । मार्था भन्छिन्– “प्रेम भनेको अमृत हो, अहङ्कार भनेको विष हो । प्रेमामृतले मात्र अहङ्कारको विष निवारण हुन सक्छ” (१९५) ।

प्रशान्त एक प्रसङ्गमा भन्छ– “मेरो दृष्टिमा परमेश्वर कतै भए महाअहङ्कारी हुनपर्छ, तुच्छ अहङ्कारी होइन” (१९४) । प्रशान्त कुकर्नी बिन्दुले नवजात गाईको बाच्छोलाई देखाएको विजातीय मातृप्रेमलाई पनि मातृप्रेम नभनेर ‘मातृअहम्को सिर्जनात्मक महाजागरण’ भन्दछ (२१४) । मार्था प्रतिवाद गर्छिन्– “तिमी मतिभ्रमका शिकार भएका छौ । त्यसैले ममता जस्तो पवित्र कुरामा पनि अहङ्कारको गन्ध भेट्छौ” (२१४) । आदि गुरु प्रशान्त र आदिमाता मार्था दुई परस्पर विरोधी मान्यताका पक्षधर हुन्छन् ।

प्रशान्त मार्थाको बस्ती प्रवेश भएदेखि नै मार्थालाई प्रेमिकाको रूपमा हेर्दैन । दूरताको सङ्केत गर्ने औपचारिक, आदरार्थी र शीत तार्किकतायुक्त भाषाशैली प्रयोग गर्छ । उसको शब्दचयनमा माया, प्रेमयुक्त संवेदना, अनौपचारिकता, हाँसोठट्टा शून्यप्रायः हुन्छ । उसको वाक्य संरचनामा शास्त्रीय गुरुहरूको जस्तो शब्दजाल र चेतनालाई चक्कर लगाइदिने भद्दा कुटनैतिक छनक फेला पर्दछ । जसबाट मार्था आजित बन्दछिन् । स्वाभाविक तवरले एउटा प्रश्न उब्जिन्छ, के प्रशान्त यौनलिप्साबाट सम्पूर्णतः मुक्त भइसकेको प्राणी हो ? यदि त्यसो हो भने के ऊ मानवताका नैसर्गिक लक्षणहरूसँग सन्निकट छ त ? अहङ्कार आरुढ भएको मनमा प्रेम र यौनका सूक्ष्मतम भावहरू पनि पुरै निमिट्यान्न हुन्छन् ? सरूभक्तले उभ्याएको मुखपात्र प्रशान्तलाई प्रेम र यौन अनुरागप्रति जुन किसिमको वैराग्य उत्पन्न भएको छ, यो वैराग्य मानवीय स्वभाव अनुकूल छ त ? लिविडोको निष्कृयतामा के अहङ्कारको भाव एक्लै सक्रिय बनिरहन सक्छ ? मार्थाको प्रेमलाई स्वीकार गरेरै पनि त प्रशान्तले आफ्नो दर्शन र बस्तीलाई सम्बद्र्धन गर्न सक्थ्यो । अवश्य पनि मार्थाको प्रेमले तगारोको काम गर्दैनथ्यो । आदिमाता र आदिगुरुको पारस्पारिक सम्झौताले बस्तीको भविष्यलाई सुन्दर, सुखद् र व्यवस्थित गराउन सक्थ्यो । सहृदयी मार्थाको पवित्र प्रेमको उपहारलाई स्वीकारेरै पनि प्रशान्त आफ्नो कर्तव्यपथमा अविचलित निष्ठा कायम गर्न सक्थ्यो । यसो गरेको भए बस्तीका पुत्रपुत्रीहरूको पवित्र अभिलाषामा पनि तुसारापात हुने थिएन । हुन त प्रशान्तले यसो नगर्नुमा नै उसको अहम्ले सन्तुष्टि प्राप्त गरेको हुन सक्छ । तर अर्को विचारणीय पक्ष के छ भने आदिगुरुले स्थापना र सञ्चालन गरेको आदिबस्ती किन दीर्घकालसम्म टिक्न सकेन ? समाजबाट तिरस्कृतहरूले शरण पाउने आश्रयस्थलको रूपमा किन यो विकास हुन सकेन ? आदिगुरुद्वारा दीक्षित अहम्वादी महाज्ञानी कपील र प्रेममूर्तिलाई प्रशान्तले बस्ती बाहिर संसारको सेवार्थ भनेर पठाउनुको साटो आफ्ना उत्तराधिकारीको रूपमा बस्तीभित्रै प्रवद्र्धन गरेको भए यो बस्ती अनुकरणीय कोलोनी बन्ने थिएन ? आदिमाता मार्थाको ममतामयी चासोले उनको बस्ती त्याग पूर्व बस्तीमा सुन्दर वातावरण विकास भएको थियो ।

एकातिर प्रशान्त प्रेमलाई अहङ्कारकै एक स्वरूप ठान्दछ भने अर्कोतिर मार्थाको प्रेमलाई स्वीकार्नै सक्दैन । ऊ नारी पुरुषबीच हुने अन्तरलिङ्गीय प्रेमप्रति पूर्णतः उदासीन छ । ऊ अहङ्कारको जटिल चक्रव्यूहबाट फुत्कनै सक्दैन । उसको मानसपटलमा विकसित भएको अहङ्कारको भाव आत्मप्रतिष्ठाको लागि सृजित एक प्रतिशोधात्मक मनोदशाजस्तो लाग्दछ । ऊ मार्थालाई प्रेमपीडित बनाएर आफ्नो पूर्व प्रेमपीडाको बदला लिन चाहन्छ । विश्वविद्यालयमा मार्थाले उसलाई गरेको अपमान नै उसको सृजनशीलताको मुहान भएको छ तर उसको हकमा अहम् कहिल्यै समर्पण हुन र झुक्न नचाहने मानवीय मनोवृत्ति भएर देखा परेको छ ।

‘पागल बस्ती’ उपन्यासमा प्रेम र अहङ्कारको असंवादात्मक द्वन्द्वलाई चित्रण गरिएको छ । यी दुवै मान्यताहरू विपरित र असम्बद्ध धु्रवहरूजस्ता भएर आ–आफ्नै पृथक् मार्गमा अगाडि बढ्दछन् । मार्था सुरुदेखि अन्तसम्मै प्रेमको सर्वकल्याणकारी शक्तिमा विशवास गर्छिन् भने प्रशान्तको अहम् चेतना आफ्नै सैद्धान्तिक दृढताबाट किञ्चित पछाडि हट्दैन । मानसिक अभिघातबाट तरुनी जमुनाको मृत्यु, कुकुर्नी बिन्दुको बीभत्स हत्याजस्ता दुःखद् प्रकरणबाट व्यथित भइरहेकै बेला प्रशान्तको एकोहोरो अहङ्कारवादी शैलीबाट आहत भएर मार्था आफ्नो अमर प्रेमशक्तिलाई आजीवन प्रशान्तमै समर्पण गरिरहने प्रण गर्दै कथित पागल बस्ती छोडेर सहर फर्किन्छिन् । उनी प्राध्यापन र चित्रकारितालाई सँगसँगै अगाडि बढाउँछिन् । कहिल्यै निको नहुने दुःखान्त प्रेमको अभिघातपूर्ण घाउ बोकेर बाँच्नु मार्थाको नियति बनिदिन्छ । प्रशान्त आफ्नो अहम्को तुष्टिका लागि मार्थाको बस्ती त्याग गर्ने निर्णयलाई सजिलै स्वीकृति प्रदान गर्दछ । त्योभन्दा अगाडि ऊ मार्थालाई अरू कुनै योग्य पुरुषसँग विवाह गरेर सुखी र सन्तुष्ट जीवन व्यतित गर्नका लागि सल्लाह दिन्छ, जुन सल्लाह मार्थाको निम्ति अत्यन्तै पीडादायी र अपमानजनक बन्दछ । ऊ भन्छ– “म हजुरको शुभविवाह कुनै सुगोग्य, सुदर्शन, व्यक्तित्वशाली पुरुषसित होस् भन्ने चाहन्छु ता कि जीवन सुखमय होस्, हजुर आदिमाता हुनुहुन्छ, यसका लागि साथै सुन्दर, जवान र अविवाहित युवती पनि हुनुहुन्छ । म हजुरको जीवन बर्बाद भएको देख्न चाहन्न” (२४०) । प्रशान्तले मार्थालाई प्रयोग गर्ने भाषाशैली मायालु र समान तहको नभएर असमान, उच्च आदरार्थी र औपचारिकतापूर्ण छ । मार्था प्रशान्तको लवज र शैलीमा कठोर औपचारिकताको गन्ध भेट्टाउँछिन् ।

प्रशान्तको शिष्य प्रेममूर्ति पनि तरुनी जमुनाबाट प्रेममा तिरस्कृत भएपछि आफूलाई यसरी विकास गर्छ कि ऊ प्रवृत्तिगत हिसाबले हुबहु प्रशान्तको पदचिन्ह अवलम्वन गर्न खोज्दछ । प्रशान्तले प्रेममूर्तिलाई पनि आफ्नै दार्शनिक साँचोमा रूपान्तरण गर्न चाहन्छ । प्रेममूर्तिको रूपान्तरण धेरै हदसम्म यान्त्रिक प्रतीत हुन्छ, किनकि जमुना मानसिक अभिघातले थला परेर ढलेको बेला आदिमाताले जमुनाका बारेमा कुरा गर्दा उसका नेत्र सजल हुन्छन् । प्रेममूर्तिको जन्मान्तरण समारोहको आयोजना गर्न आदिगुरु प्रशान्त लालयित छ । प्रेम, विवाह र पारिवारिक बन्धनबाट मुक्त प्रशान्त मार्थाले जति नै अनुरोध गरे पनि प्रेममूर्तिको जन्मान्तरण घोषणा फिर्ता लिन चाहँदैन । मार्थाले भने जमुना र प्रेममूर्तिको मिलन गराएर अहङ्कारमाथि प्रेमको विजय स्थापित भएको देखाउन चाहेकी हुन्छिन् । प्रशान्तको निम्ति अहङ्कार सर्वप्रिय छ । विश्वविद्यालयमा पढ्दै गरेका बेला मार्थाबाट आफ्नो प्रेम त्यतिबेला मात्र सफल हुन्छ जतिबेला यो एकोहोरो हुन्छ भन्ने निष्कर्षमा  पुग्छ । ऊ भन्छ–“…जहाँसम्म प्रेममा सफलताको कुरा छ, यदि त्यो सत्य हो भने, प्रेमका सफलताका सबै कथा मैथुन कथा हुन्” (१९६) । एउटा प्रश्न उठ्छ कि अहङ्कारको महाज्ञान प्राप्त गर्ने मान्छेहरू सबै नै प्रेम, विवाह र गृहस्थको सनातन परम्पराबाट विमुख हुँदै जाने हो भने सांसारिक सृष्टिले कसरी निरन्तरता पाउला ? आजसम्मको विश्व सभ्यतामा मैथुनकै माध्यमबाट सृष्टिले निरन्तरता पाएको छ ।

भाषाशैलीमा शास्त्रीयताको निर्वाह भएको उपन्यास ‘पागल बस्ती’ मा आदिगुरु प्रशान्तलाई अहङ्कारको अकाट्य प्रवक्ताको रूपमा विकास गरिएको छ । यो उपन्यास सैद्धान्तिक एवम् दार्शनिक चिन्तनलाई प्रायोगिक तहमा उतार्ने एक विचार प्रधान उपन्यास हो । यसले भौतिकवादी सत्यलाई अवलम्वन गर्ने चिन्तन बोकेको छ । चित्रकारिता कलाको एक महत्वपूर्ण विधागत हिस्सा हो । यस उपन्यासमा महत्वका साथ चित्रकारिताको उजागर भएको छ । उपन्यासकी एक प्रमुख एवम् निर्णयक पात्रा मार्था स्वयम् कुशल चित्रकार हुन् । उनी आफ्नो रुचिमा निरन्तर तल्लीन छिन् । उपन्यासको कथानकमा किशोर नामको पत्रकारले मार्थाको र पागल बस्तीको अनुसन्धान गरेका छन् ।

नेपाली काव्य इतिहासमा महाकवि देवकोटाले पागल आद्यरूपको प्रयोग गरेर तत्कालीन राजनैतिक, आर्थिक एवम् बौद्धिक सत्तालाई चोटिलो व्यङ्ग्यात्मक प्रहार गरेका थिए । यसैगरी सरूभक्तको ‘पागल बस्ती’ उपन्यासभित्र पनि पागलकै आद्यरूपलाई समातेर समाजको वेवकुफ अनुत्तरदायी शैलीलाई व्यङ्ग्य गरिएको छ । यस उपन्यासले काल्पनिकीभित्र पागल बस्तीको निर्माण र त्यसको उत्खनन्लाई प्रस्तुत गरेको छ । यो उत्खनन् भौतिक किसिमको नभएर प्रशान्तको अहम्युक्त गोप्यताको उत्खनन् हो । ‘पागल बस्ती’ उपन्यासको काल्पनिक निर्र्मिितभित्र तथ्य र परिकल्पनाको जटिल एवम् सृजनशील माखेसाङ्लो भेटिन्छ । पाठक र समालोचकको जिम्मेवारी भनेको त्यस माखेसाङ्लोभित्र ऐतिहासिकता र काल्पनिकतालाई यसरी बिभक्त गरेर देखाउनु हो, जसरी सूर्यबाट प्रदत्त सामान्य प्रकाशलाई प्रीज्मको सहायताले विभिन्न रङ्गहरू छुट्याएर दृष्यात्मक बनाइन्छ ।

पोखरा र यसका वरिपरिका क्षेत्रहरूको आञ्चलिक झलक पनि पाइने यस उपन्यासमा उल्लेखित पागल बस्तीभित्र मैच्याङ नामकी कुरूप महिला, कुष्टरोगीहरू, पूर्ववेश्याहरू, कथित पागल, कथित बोक्सीलगायतका सीमान्त मान्छेहरू पनि छन् । जो सामाजिक रूपले बहिस्कृत हुन् । ‘पागल बस्ती’ उपन्यासको कथानकभित्र प्रयुक्त पात्र र घटनावलीहरूलाई हेर्दा सरूभक्तको जीवनदृष्टि भौतिकवादी ठहर्छ । उनी समाज विकासको द्वन्द्वात्मक प्रंक्रिया र शासनको प्रजातान्त्रिक विधिमा विश्वास गर्ने स्रष्टाका रूपमा देखा पर्दछन् । बस्तीभित्र पुत्रपुत्री सङ्घको निर्माण भएको छ । यो सङ्घ र यसका सदस्यहरू आदिगुरु र आदिमाताप्रति श्रद्धानत छन् । उनीहरू बस्तीको विकास र प्रगतिका लागि एकमत र एक चित्तले समाहित छन् । सामूहिकताको भावना प्रवल छ । समाजवादी संरचनामा आधारित यो बस्ती एउटा नमुना लघुराज्य हो । अर्थतन्त्रको विकासका लागि विभिन्न व्यवसायको सञ्चालन भएको पाइन्छ । जमीन आवादी गरेर धेरै प्रकारका अन्नबाली, फलफूल र तरकारीहरू उत्पादन गरिएको छ । घरेलुु उद्योगहरूबाट दैनिन्दिन प्रयोग हुने समानहरूको उत्पादन गरी बस्तीको अर्थव्यवस्थालाई मजबुत गराउने प्रयत्न गरिएको छ ।

बस्तीभित्र बालबालिकालाई मात्र हैन, अशिक्षित प्रौढ र वृद्धवृद्धाहरूलाई पनि शिक्षाको अवसरमा समाहित गरिएको छ । सक्षम डाक्टर तथा नर्सहरू बिरामीको उपचार र सेवासुसारमा चोबीसै घण्टा तल्लीन छन् । समाजबाट वेश्या, कोढी, बोक्सी, बहुलाहा भनेर बहिस्करणमा परेका निमुखा (Subaltern) मानिसहरूलाई ममतामय आश्रयस्थल दिइएको छ । आदिशिक्षणशाला अन्तर्गत विज्ञान शिक्षणतर्फको प्राचार्य प्रशान्तका सम्बन्धमा भन्छ– “आदिगुरुलाई प्राप्त समाज अशिक्षित थियो, शोषित थियो, रोगी थियो, भोको थियो, दुःखी थियो । अशिक्षितहरूलाई सामान्य शिक्षाको टुकी बालेर बाटो नदेखाएसम्म, शोषितहरू र दुःखीहरूलाई सामाजिक, पारिवारिक शोषण र दुःखको भुमरीबाट निकालेर प्रकृतिको सुन्दर काखमा नखेलाएसम्म, शारीरिक रोगीहरूलाई औषधोपचारको व्यवस्था नगरेसम्म र भोकाहरूलाई बाँच्नका लागि खानेकुरा नजुटाएसम्म ‘परमसत्य’ को कुरा भन्नु निरर्थक हुन्थ्यो” (१०४) ।

बस्तीमा लागू गरिएको वैज्ञानिक किसिमको शिक्षा पद्दतिले मानिसलाई परलोकवादी बनाउनुको सट्टा इहलोकवादी बनाएर आफ्नो भौतिक दुनियाँलाई समृद्धशाली बनाउँदै मानसिक शान्ति खोज्न प्रेरित गरेको छ । ध्यानलाई भौतिक र सत्य मान्ने प्रशान्त भन्छ– “अहम्को शून्य अवस्थालाई म ठीक प्रकारले शब्दहरूमा व्यक्त गर्न सक्दिनँ । अव्याख्येय र शब्दातीत जस्तो प्रतीत हुन्छ । तर यो ऐतिहासिक सत्य हो, पारिमार्थिक सत्य होइन, भौतिक सत्य नै हो, आध्यात्मिक सत्य होइन, प्रायोगिक सत्य नै हो, आनुभाविक सत्य होइन ।” (११३)

आदिगुरु प्रशान्त आफैँ श्रममा समर्पित हुने श्रमप्रेमी अगुवा हो । उसले मार्थाको चोखो प्रेमलाई अस्वीकार गर्नु पाठकका निम्ति एउटा खट्किने पक्ष होला तर मानवताका निम्ति उसले आफ्नो हृदय घोप्ट्याएर गरेको प्रेम सर्वदा बन्दनीय छ । डाक्टर, नर्स मार्था, बस्तीका बासिन्दाहरू लगायत स्वयम् कोढीहरूको चेतावनी र अनुरोधका बाबजुद प्रशान्त आफैँ कोढीहरूसँग गएर हेलमेल गर्छ । उनीहरूसँगको भौतिक तथा दैनिक सन्निकटताले आफैँलाई ज्यानमारा रोग लाग्न सक्ने बलिष्ठ सम्भावनाप्रति ऊ असचेत र बेमतलवी बनिदिन्छ । उसको यो सीमान्त मानवता (Marginal Humanity) प्रतिको अगाध प्रेम बिर्सिनसक्नुको छ, चाहे ऊ जति नै अहङ्कारको कुरा किन नगरोस् ।

प्रशान्त गुरुवत् अधिनायकत्वको विपक्षीमा रहेको छ । पुत्र–पुत्री संघको स्थापनाका बारेमा विज्ञानशिक्षणतर्फको प्राचार्य भन्छ– “यसको (पुत्रपुत्रीसंघको) स्थापना स्वयम् आदिगुरुद्वारा भएको हो । तर उहाँ यसको कुनै पनि क्रियाकलापलाई नियन्त्रण गर्नुहुन्न । उहाँ भन्नुहुन्छ– “यो संघ पुत्रपुत्रीहरूको हितरक्षार्थ स्थापना गरिएको हो, त्यसैले आदिगुरु प्रत्येक शिक्षालाई आज्ञापालनको दृष्टिले होइन सन्देशको दृष्टिले हेर, आँखा चिम्लेर आदिगुरुको अधिनायकत्व स्वीकार नगर” (११५) । आदि गुरु पर्व मनाउन लालयित पुत्रपुत्रीहरूप्रति लक्षित प्रशान्तको अभिमत यस्तो छ– “कोही पनि मेरो मूर्ति स्थापना गर्न प्रेरित नहोऊन् भन्ने म चाहन्छु । यस पर्वले एक गलत परम्पराको शिलान्यास गर्न सक्छ” (११६) । यसै प्रसङ्गमा ऊ अगाडि भन्छ, “गुरूपुजा आवश्यक छैन, गुरु केही कदमअघि हिँड्ने पृथक् मात्र हो…ऊ अवलोकनीय, अनुकरणीय, दर्शनीय हुन सक्छ, पुजनीय हुन सक्दैन” (११७) । शिष्यहरूले गुरुलाई प्रजातान्त्रिक मर्म अनुसार अनुशरण गर्नुपर्दछ तर दासोचित अन्धअनुशरण होइन भन्ने आदिगुरु प्रशान्तको मान्यता रहेको पाइन्छ । जुन मान्यताले अधिनायकत्व र तानाशाहीलाई आत्मसात गरेको छैन ।

आदि शिक्षणशाला अन्तर्गत विज्ञानशिक्षणको प्राचार्य आदिमाता मार्थालाई प्रशान्तको भौतिकवादी जीवनदर्शनका बारेमा यसरी बताउँछ– “आदिगुरु विश्वब्राम्हाण्डलाई भौतिक, विज्ञानमय नै देख्नु हुन्छ । उहाँ जगत्लाई मिथ्या मान्नुहुन्न, पूर्ण सत्य मान्नुहुन्छ । धेरैजसो धर्मपुरुषहरू, दर्शनपुरुषहरू धर्म र दर्शनका हवाई किल्लाहरू निर्माण गर्दछन् र विज्ञानलाई असत्य, अनावश्यक र तुच्छ सम्झेर किल्लाबाट निकालिदिन्छन् । आदिगुरु यसको विरोध गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “विज्ञान प्रकृतिको आधारभूत सत्य हो, त्यसैले जबसम्म आधारभूत ज्ञान प्राप्त हुँदैन तबसम्म विज्ञानको गुरुत्वाकर्षणबाट कोही पनि बाहिर जान सक्दैन ।” (१०५)

सङ्क्षेपमा भन्नुपर्दा अहम्केन्द्रित मानवतावाद (Egocentric Humanism) को दर्शनलाई प्रमाणित गर्न लेखिएको उपन्यास ‘पागल बस्ती’मा उपन्यासकार सरूभक्तले मानवीय संवेदनाहरूमध्ये अहम् सर्वाधिक महत्वपूर्ण हुने देखाउन खोेजेका छन् । आदिगुरु प्रशान्त प्रेम प्रकरणमा बिच्किएको आफ्नो अहङ्कारलाई आजीवन कायम राख्दछ । उसको प्रेमको प्रस्ताव अस्वीकार गरिदिने युवतीले पश्चातापपूर्ण तरिकाले गरेको क्षमायाचनाले प्रशान्तको अहम्पूर्ण हृदयलाई स्पर्श गर्न सक्दैन । ऊ अपहेलित र निमुखा पात्रहरूको सेवामा हरतरहले निरन्तर प्रेंमपूर्वक लागिरहन्छ । तर मार्थाको प्रेमलाई स्वीकार्दैन । ऊ आफ्नो अहङ्कारलाई समर्पण गर्ने पक्षमा छैन । यति हुँदाहुँदै पनि ऊ आफ्नो अहङ्कारको सृजनशील प्रयोग गरिरहेको छ । यस उपन्यासमा प्रयोग भए अनुसार अहम्केन्द्रित मानवतावादले वैज्ञानिक एवम् भौतिकवादी जीवनदर्शन र वैचारिक बहुलतामा आधारित प्रजातान्त्रिक विधिमाथि आस्था राखेको पाइन्छ । परमेश्वरलाई समेत उच्च किसिमको अहङ्कारी देख्ने आदिगुरु प्रशान्त अहङ्कारको भाव नकारात्मक पनि हुने तर त्यसलाई सिर्जनाशीलतामा रूपान्तरण गर्नुपर्ने मान्यता राख्दछ । प्रशान्तको अहङ्कारवादी दर्शन र मार्थाको प्रेमवादी दर्शन एकापसमा पृथक् देखिए पनि तिनीहरूबीचमा के समानता देखिन्छ भने यी दुवैले मानवीय प्रेम र सर्वकल्याणको चाहनालाई गुरुमन्त्र बनाएका छन् । उपन्यासको टुङ्ग्याउनीतिर प्रशान्त र मार्था दुवैजना आ–आफ्नै जीवनदर्शनप्रति अडिग रहन्छन् । प्रशान्तको निम्ति अहम् अस्तित्वको सर्वस्व हो भने मार्थाको निम्ति प्रेम । तर पाठक महोदय ! यी उपन्यासकारले प्रशान्तलाई अति धेरै अहम्वादी बनाएर ऊ भित्रको मानवजन्य यौनाभिलाषा र प्रेम भावलाई शून्यावस्थामा ल्याइदिएका छन् । जे होस्, ‘पागल बस्ती’ केही उत्कृष्ट नेपाली उपन्यासभित्र पर्दछ । यसले निर्माण गरेको काल्पनिकी र त्यसभित्रका घटनावलीहरू दुवैले दार्शनिक तथा बहुआयामिक पाठकीय सञ्चेतनाको माग गर्दछन् ।

हामीले यो लेखमा सरूभक्त आफैँले प्रस्तावित गरेको अहम्केन्द्रित मानवतावादको नजरबाट यो उपन्यासलाई हेर्ने प्रयत्न ग¥यौँ । अरू विविध समालोचकीय एकाईहरू प्रयोग गरेर पनि यो उपन्यासमाथि पठन गर्न सकिन्छ । समालोचनाको रोमान्चकारी खेलमा अर्थहरूको उलटपुलट एवम् ती अर्थहरूको केन्द्रदेखि सीमान्तसम्म र सीमान्तदेखि केन्द्रसम्म ‘स्ट्याटस’ परिवर्तन चक्रव्यहू सञ्चेतनाको दृष्टिमा स्वभाविक र सदावहार प्रंक्रिया हो । पाठक महोदय ! हामी पनि अर्थ उत्सवको झाँकीमा सहभागी बनौँ र रक्तबीजजस्ता अदम्य अर्थहरूको उदयलाई स्वीकार गरौँ । अर्थ अन्वेषण विश्वविद्यालयका चौघेराभित्र अभ्यास गरिने सूत्रपरक कर्मकाण्ड (Formulaic Ritual) होइन यो असीमित सिर्जनात्मक कर्म हो । समालोचना आफैँमा सिर्जनशील पठन हो । यो शुष्क र बेरसिलो पाण्डित्य प्रदर्शन होइन ।

अर्थमहोत्सव–जिन्दावाद !!