डा. दुर्गाबहादुर घर्ती (वि.सं.२०२२ ) प्राध्यापन क्षेत्र तथा खोज र अनुसन्धानसँगै निरन्तर लागिरहेका व्यक्तित्व हुन् । उनको अनुसन्धानको क्षेत्रमा गहन खोज र अनुसन्धानात्मक गहकिला कृति प्रकाशित भइसकेका छन् । लामो समयदेखि प्राध्यापन कार्यमा रहेका घर्तीको मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान (२०६७) विजय मल्लका उपन्यास: सन्दर्भ र विमर्श, (२०६८) साहित्य पठनका विविध आयाम (२०६९) जस्ता समालोचनात्मक कृति प्रकाशित भइसकेका छन् । उनको केही दृष्टिकोण केही विश्लेषण यस्तै गहकिला विभिन्न शीर्षकमा लेखिएका तेह्र विषयका विश्लेषण समेटिएका छन् । कृतिको विश्लेषण गर्नुभन्दा पहिले समालोचना र त्यसका सादृश्यमा आउने शब्दको चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

‘समालोचना’, ‘आलोचना’ र ‘समीक्षा’ सुन्दा उस्तै लाग्दछन् । ‘लोच’ धातुमा ‘आ’ उपसर्ग र ‘ल्युट’(अन) प्रत्यय लागेपछि सीमा प्रत्यय जोडिदा आलोचना र त्यसमा ‘सम’ उपसर्ग थपिँदा समालोचना शब्द बन्छ । संस्कृत व्युत्पत्तिअनुसार आलोचनाको अर्थ ‘आ समन्तात् लोचनम्, अवलोकनम्’ भन्ने हुन्छ र यसै शब्दभित्र नै सन्तुलित एवं नियन्त्रित रूपमा साहित्यिक कृति, पाठ हेर्नु, जाँच्नु भन्ने पाइन्छ । यति हुँदाहुँदै पनि समयका क्रममा आलोचना शब्द दोषदर्शन वा दोषानुसन्धानका अर्थमा सङ्कुचित हुँदै गएकोले नेपाली साहित्यका सन्दर्भमा ‘आलोचना’ भन्दा ‘समालोचना’ शब्द नै बढी प्रचलनमा आएको छ ।

समालोचनाले कृति वा पाठको कुनै प्रभावमा नपरी सम अर्थात् बराबर दृष्टिले जाँच वा खोज गर्दछ । कुनै पाठ वा कृतिको मूल्याङ्कनजस्ता अर्थमा समालोचना शब्दको नै बढी प्रयोग हुने गरेको छ । ‘समीक्षा’ शब्दको पनि अर्थ सम्यक् ईक्षण अर्थात् कृतिलाई राम्ररी नियाल्नु तथा परीक्षण गर्नु नै हो । नेपाली साहित्यमा यस शब्दको पनि प्रयोग समालोचनाकै अर्थमा आएको देखिन्छ । समालोचनाभित्र पाठ वा कृतिको विवेचना, मूल्याङ्कन हुने भएकाले समालोचनाका अर्थमा ‘विवेचना’, ‘मूल्याङ्कन’ शब्दको प्रयोग भएको पाइन्छ ।

नेपाली साहित्यमा ‘समालोचना’ शब्दको प्रयोग अङ्ग्रेजी साहित्यको ‘क्रिटिसिजम्’को समान अर्थको रूपमा प्रयोग गरिन्छ । व्युत्पत्तिअनुसार अङ्ग्रेजी क्रिटिक’ शब्द ग्रिसेली ‘क्रिटिकोस’ (Kritikos) शब्दबाट बनेको हो । यी दुवै शब्दको अर्थ ‘निर्णायक’ भन्ने हुन्छ । ‘क्रिटिसिजम्’को अर्थ ‘निर्णय’ भन्ने हुन्छ । अङ्ग्रेजीमा ‘क्रिटिसिजम्’ कै सामिप्यतामा ‘एप्रिसिएसन’, ‘रिभ्यू’, ‘ओपिनियन’ जस्ता शब्द पर्दछन् । ‘एप्रिसिएसन’ भन्नाले पाठ वा कृतिबारे प्रशंसात्मक अभिव्यक्ति, त्यसका गुण पक्षको बढी चर्चा, त्यसमा निहित सौन्दर्यको वयानर आस्वादनजस्ता कुरा बुझिन्छन् । ‘रिभ्यू’ ‘पुस्तक-समीक्षा’ वा कुनै कृतिबारे परिचयात्मक टिप्पणीका अर्थमा प्रयोग हुने गरेको छ । ‘ओपिनियन’ ले चाहिँ ‘मन्तव्य’ वा कुनै कृतिबारे व्यक्त भएको राय भन्ने बुझाउँछ । यसरी विचार गर्दा ‘समालोचना’को ‘क्रिटिसिजम्’सित जति नजिकको सम्बन्ध छ।

साहित्य वा कला सौन्दर्यको मूल्याङ्कन गर्ने कला वा शास्त्रलाई समालोचना भनिन्छ । समालोचना सैद्धान्तिक र व्यावहारिक गरी दुई प्रकारको हुन्छ । समालोचनाका यी दुवै प्रकार रचना गर्ने व्यक्तिलाई समालोचक भनिन्छ । समालोचकले एकातिर साहित्य वा कलाको मूल्य परीक्षण गर्ने आधार वा मानदण्ड बनाउँछ भने अर्कातर्फ तिनै मानदण्डका आधारमा साहित्य वा कलाको मर्म बुझ्ने, तिनमा रहेको सुन्दरताको प्रशंसा गर्ने काम गर्दछ । त्यसैले साहित्य वा कलाको सौन्दर्य जानेको साहित्यिक वा कलाकृतिको विशेष पाठक नै समालोचक हो भन्न सकिन्छ ।

समालोचकले पाठकलाई साहित्यिक वा कलागत सुन्दरता बोध गर्न सहयोग पुर्याउँछ । पौरस्त्य संस्कृत साहित्यका भरतमुनि र पाश्चात्य साहित्यका प्लेटोबाट काव्य शास्त्रबाट समालोचना सुरु भएको हो । नेपाली समालोचनाको इतिहास भने त्यति लामो छैन । त्यस्तै यसको सैद्धान्तिक स्वरूप पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । नेपालीमा आहिलेसम्म पौरस्त्य र पाश्चात्य समालोचनाको सैद्धान्तिक व्याख्या, विश्लेषण, मूल्याङ्कन र त्यसको व्यावहारिक योग मात्र भएको छ । नेपाली समालोचनाका आदिपुरुष मोतीराम भट्ट वि.सं (१९२३-५३) हुन् । उनको कवि भानुभक्तको जीवन चरित्र (वि.सं. १९४८) नै नेपाली समालोचनाको पहिलो कृति हो । वि.सं १९४८ देखि हिलेसम्म नेपाली समावि.सं (१९२३-५३) हुन् । उनको कवि भानुभक्तको जीवन चरित्र (वि. ९४८) नै नेपाली समालोचनाको पहिलो कृति हो । वि.सं. १९४८ अहिलेसम्म नेपाली समालोचनाका क्षेत्रमा अनेकौं समालोचक देखा परिसकेका छन । तिनले नेपाली साहित्यको विकास परम्परा, त्यसमा आएका परिवर्तनसँगै अनेकन धारा वा प्रवृत्ति, साहित्यिक विधाविशेषका परम्परा र विशेषताआदिको वणर्न, विश्लेषण, मूल्याङ्कन गरेका छन् ।

यो समयसम्म आइपुग्दा अनेक प्रकारका समालोचनात्मक कृति प्रकाशित भइसकेका छन् । तिनमै निर्माण भएका सैद्धान्तिक आधारलाई लिएर कृतिको विश्लेषण गरिन्छ । समालोचकीय आधारमा कृति विशेषको मूल्याङ्कन हुनुले पनि हिजोआज भिन्न साहित्यिक विधाका रूपमा विकसित भइरहेको देखिन्छ । नेपाली समालोचनाको ऐतिहासिक परम्परा, त्यसमा आएका विभिन्न मोड र परिवर्तन, प्रवृत्ति विशेषतालाई मानक बनाएर समालोचनात्मक कृतिको प्रकाशित हुँदै आइरहेका छन् ।

यस्तै समालोचनाको निरन्तरतामा समालोचक दुर्गाबहादुर  घर्तीले सैद्धान्तिक र प्रायोगिक समालोचना समेटिएको कृतिको प्रकाशनमा ल्याएका छन् । ‘केही दृष्टिकोण केही विश्लेषण’ कृति जसमा विभिन्न विषयलाई सूक्ष्म र मिहिन तरिकाले विश्लेषण गरिएको छ ।

नेपाली आख्यानमा विश्वेश्वरप्रसाद कोइरालाको उपस्थिति र उनका कृतिको मूल्याङ्कन गर्दै नेपाली साहित्यको वृद्धि र विकासमा पुर्याएको विशिष्ट योगदानको चर्चा गरिएको छ । लेखकीय सन्दर्भ र आख्यानका विषयको उठान गरिएको यस समालोचनामा कोइरालाका सबै कथाहरूको सङ्क्षिप्त चर्चा गरिएको छ ।

यस्तै गोविन्दबहादुर मल्ल ‘गोठाले’को औपन्यासिक शिल्पको बारेमा विश्लेषण गर्दै उपन्यास शिल्पको सैद्धान्तिक आधारमा उपन्यासको संरचनाको विश्लेषण गरिएको छ । यस समालोचनाभित्र उनको उपन्यासमा प्रयुक्त मनोविज्ञानलाई खोजिएको छ । त्यस्तै ‘आज रमिता छ’ उपन्यासमा सत्ता मीमांसीय समग्रता शीर्षकको लेखमा सत्ता मीमांसा र तत्त्व मीमांसाको सिद्धान्तलाई आधार मानी उपन्यासमा प्रयुक्त विषयवस्तुको सूक्ष्म विश्लेषण गरिएको छ ।

विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा उपन्यासमा केन्द्रभञ्जन शीर्षकभित्र केन्द्रभञ्जनको सैद्धान्तिक पृष्ठभूमि, केन्द्रभञ्जनको प्रमुख मान्यता, सुम्निमा उपन्यासमा वस्तु सङ्गठन र मिथकीय भञ्जनको सूक्ष्म विश्लेषण गरिएको पाइन्छ । यसैभित्र सुम्निमा उपन्यासमा द्विचर विरोधको भञ्जन उपशीर्षकमा परम्परागत द्विचर विरोधको चर्चा गरिएको छ ।

पाइप नं. २ उपन्यासमा मनोविश्लेषणात्मक पहिचान शीर्षकको समालोचनामा पहिचानको सैद्धान्तिक परिचय, उपन्यासमा मातृरत्यात्मक, काल्पनिक, प्रतीकात्मक पहिचानका विषयमा गहन विश्लेषण गरिएको छ भने वानिरा गिरीको उपन्यास कारागारको विश्लेषण गर्दै समालोचक घर्तीले उपन्यासमा फ्रायडीय एवं अस्तित्वपरक मनोविश्लेषणको विशद् अध्ययन गरेका छन् । यस समालोचनामा फ्रायडीय मनोविश्लेषणको सैद्धान्तिक परिचय, तिनै सिद्धान्तका आधारमा कारागार उपन्यासको विश्लेषण यहाँ गरिएको छ । मनोविश्लेषणभित्र अस्तित्वपरक मनोविश्लेषणको सिद्धान्त र त्यसैको आधारमा सूक्ष्म विश्लेषण समेत गरिएको छ ।

यस समालोचना कृतिको अन्तिम समालोचनाका रूपमा माधवी उपन्यासमा समाख्यानात्मक संरचना रहेको छ । यसभित्र समाख्यानको संरचना सिद्धान्त, माधवी उपन्यासमा घटना, घटनाको चयन, उपन्यासको कथावस्तुको सम्प्रेषण, उपन्यासभित्रको कौतूहल र विस्मय, परिवेश, सारवस्तु, दृष्टिबिन्दु र सङ्केन्द्रीकरणको चित्रण गरिएको छ । यसरी उत्तरआधुनिक समालोचनाका नवीन आधारलाई सैद्धान्तिक आधारभूमि र तिनकै प्रयोग गरी लेखिएका प्रायोगिक समालोचनामा समालोचकीय विशिष्टता पाइने घर्तीको यो समालोचना कृति अनुसन्धान तथा शोध खोज गर्न चाहनेहरूका लागि महत्त्वपूर्ण आधार बन्न पुगेको छ ।

साहित्यको सिर्जनापछि विभिन्न सिद्धान्तलाई आधार मानेर गरिने समालोचनाले त्यस कृतिको गुण र दोषलाई जस्ताको तस्तै देखाइदिने सामर्थ्य राख्दछ । समालोचना आख्यानेतर गद्यसाहित्यको एउटा रूप अथवा एउटा प्रकार हो । साहित्यले पाठकका मनमा पार्ने प्रभाव, त्यसको सामाजिक नैतिकता जस्ता कुराले साहित्यमा प्रयुक्त सौन्दर्यको अनुभूति सिर्जना गराउँछ । त्यसलाई प्रस्ट पार्ने वा छर्लङ्ग्याउने काम समालोचनाको हो । त्यसो त समालोचनाले विधागत स्वरूप र संरचना. शिल्प, शैली र सौन्दर्यको ज्ञान पनि प्रदान गर्दछ, जुन साहित्य सिर्जना र त्यसको विवेचनाका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ । सिर्जनात्मक साहित्य निर्माण पछि समालोचना हुने भए पनि समालोचनाको आफ्नै छुट्टै अस्तित्व छ ।

निश्चय नै त्यसका लागि स्वतन्त्र प्रतिपादन, प्रभावकारी शैलीशिल्प एवं तटस्थ विचार चाहिन्छ । आजको वैश्विक समाजमा नव-नव दृष्टिकोणसहितका समालोचनाका सिद्धान्त निर्माण भइरहेका छन् । नवीन विषयका सिर्जनाले साहित्यलाई फराकिलो वैचारिकता दिन अभिप्रेरित पनि गर्दछ । समालोचनाले सिर्जनात्मक रचनालाई गुण र दोषका आधारमा केलाउन सक्नुपर्दछ । कसैको व्यक्तिगत प्रभावमा नपरी कृतिको ठिक समालोचना गर्दा साहित्यको विकासमा महत्त्वपूर्ण प्रभाव पर्दछ । सिर्जनात्मक साहित्यको अभावमा समालोचना लेखिने कुरै हुँदैन, त्यसै गरी सिर्जनात्मक साहित्यलाई चिनाउने, त्यसको परीक्षण, अर्थ निर्धारण र मूल्याङ्कन गर्ने काम समालोचनाले गर्दछ । सिर्जनात्मक साहित्य र समालोचनाका बिच परिपूरक सम्बन्ध छ । दुवैको आआफ्ना ठाउँमा उत्तिकै महत्त्व छ । त्यसैले साहित्यको वृद्धि र विकासमा लेखक वा स्रष्टा जत्तिकै समालोचकको महत्त्व छ । यस कृतिमा समालोचक घर्तीले विभिन्न स्रष्टाका कृतिको न्यायपूर्ण समालोचना गरेका छन् ।

० ० ०

केही दृष्टिकोण केही विश्लेषण

यस समालोचना सङ्ग्रहमा तीनओटा सैद्धान्तिक र दशओटा प्रायोगिक समालोचना रहेका छन् । प्रायोगिक समालोचनामा पनि सैद्धान्तिक कुरालाई प्रस्ट्याइएको छ । सैद्धान्तिक समालोचनाको यो कृति सैद्धान्तिक आधारका लागि पनि महत्त्वपूर्ण बनेको छ ।  प्रायोगिक समालोचनाहरू गद्य विधाका विश्लेषणका रूपमा आएका छन् ।

सैद्धान्तिक समालोचनाका सिद्धान्त तथा आधारको विश्लेषणका क्रममा आख्यानको अध्ययन पद्धतिअन्तर्गतको शीर्षकभित्र आख्यानको सैद्धान्तिक परिचय, आख्यान अध्ययनका केन्द्रहरू, आख्यान अध्ययनका आधारहरू, विधासिद्धान्तका आधारमा आख्यानको अध्ययन, साहित्यशास्त्रका आधारमा आख्यानको अध्ययन, अन्तर्विषयक सिद्धान्तका आधारमा आख्यानको अध्ययन, आख्यानको संरचनागत अध्ययन तथा आख्यानको सौन्दर्यशास्त्र शीर्षकमा सूक्ष्म विश्लेषण गरिएको छ ।

साहित्यको समाजशास्त्रका अवधारणा र पद्धति र शीर्षक भित्र साहित्यको समाजशास्त्रका सैद्धान्तिक पृष्ठभूमि, साहित्य र समाजशास्त्रको परिचय, स्थापना, विचारधारा, प्रमुख विचारक, साहित्यको समाजशास्त्रीय अध्ययन पद्धतिको स्पष्ट व्याख्या विश्लेषण गरिएको छ । साहित्यमा जातीय अन्यपनको अवधारणा शीर्षकमा जातीय पहिचान, जातीय सौन्दर्य चेतलाई उत्तरआधुनिकतावादका आधारमा खोज गरिनु पर्ने प्रसङ्ग उठाइएको छ ।

प्रायोगिक समालोचना खण्डमा विभिन्न सिद्धान्तलाई आधार मानेर कृतिकारका  र कृतिको विश्लेषण गरिएको छ । जसमा लक्ष्मीप्रसाद देवकोटाका निबन्धको संरचनागत अध्ययन समाविष्ट छ । यस शीर्षकभित्र निबन्धको संरचनागत परिचय, देवकोटाको निबन्ध लेखनको उठान, निबन्धको विषयवस्तु, निबन्धमा शैली, विचार जस्ता विषयमा गहन विश्लेषण गर्दै देवकोटाको निबन्धमा प्रयुक्त विषयको चर्चा गरिएको छ ।

त्यस्तै विजय मल्लको बौलाहा काजीको सपना नाटकमा विचारको प्रस्तुति शीर्षकभित्र नाटकमा प्रयुक्त विचार प्रस्तुतिको आधार, सन्दर्भ, पात्रद्वारा  प्रस्तुत गरिएका विचार र समग्र नाटकले दिन खोजेको वैचारिकतालाई प्रस्तुत गरिएको छ । त्यस्तै मल्लकै जिउँदो लास नाटकमा प्रस्तुत समस्या शीर्षकमा गरिएको समालोचनामा नाटकमा प्रयुक्त मनोवैज्ञानिक समस्या, सामाजिक समस्या, चिन्तनगत समस्याभित्र गहन चिन्तन गर्दै तत्कालीन समयमा समाजमा रहेको समग्र समस्याबारे खोज गरिएको छ ।