राजनैतिक वा सामाजिक कारणले बन्दी जीवन बिताउन बाध्य व्यक्तित्वहरू बन्दी जीवनलाई पनि सिर्जनास्थल बनाउन पुग्छन् । सिर्जनालाई यातनाले छेक्दैन, बरु बन्दी जीवनमा रहने एकाग्रता, सांसारिक जीवनबाटको अलगपनले स्रष्टालाई विचरण, विरेचन र विवेचना गर्ने अवस्था उपलब्ध गराउँछ । सर्जकले भोगेका पीडा र त्यसले दिने शक्तिले कैयन उत्कृष्ट साहित्य, दर्शन र विचारहरू समाजले पाएको छ । जेलमा सिर्जना भएका यस्ता साहित्यलाई कारागार साहित्य (कारागारमा लेखिएको साहित्य) भन्न सकिन्छ ।

मानिस वैयक्तिक स्वतन्त्रताको पक्षपाती हुन्छ, समाजमा होस कि जेलमा होस् । समाजमा रहँदा वैयक्तिक स्वतन्त्रता र निजत्वको आनन्द लिन सक्छ तर जेल जीवनमा त्यो सम्भव हुँदैन । यस अवस्थामा ऊ गुमाएको स्वतन्त्रताको विचरण गर्छ, आत्मिक यात्रा गर्छ, भोगाइका स्मृतिबिम्बहरूलाई पल्टाउँछ र मानवीय मुक्तिको दृष्टि-दृष्टिकोणको कल्पना, स्वैरकल्पना गर्न पुग्दछ । यस्तै मानसिक प्रक्रियाले जेल साहित्य विकास भएको पाइन्छ । अर्थात् जेलमा परेका व्यक्तिले समाज उपयोगी सिर्जना मार्फत सामाजिक उपयोगिता सिर्जना गर्दछ । कहिले त्यो आत्मकथा भएर, कहले कथा उपन्यासका रूपमा त कतिपय अवस्थामा विचार दर्शन र ज्ञानको आविष्कार समेत भएको पाइन्छ । नेपाली साहित्य पनि यसबाट अछुतो छैन । साहित्यकार र चिन्तक विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो कथा, जेल जर्नल जस्ता संस्मरण र तीन घुम्ती, नरेन्द्र दाइ लगायतका उत्कृष्ट सिर्जना नेपाली समाजलाई दिएका छन् ।

जेल साहित्यको सुरुवात छैठौँ शताब्दीमा रोमका विद्वान बोइथसले जेल परेका समयमा ‘दी कन्सोलेशन अफ फिलोसोफी’ लेखेर सुरुवात गरेका थिए । जोहन ब्यूनानले सन् १६७६ मा लेखेको ‘पिल्ग्रिम्स प्रोग्रेस’ जेल साहित्यको अर्को दृष्टान्त हो । जेल आफैमा यातनागृह हो, त्यसलाई सिर्जनास्थल बनाउन जेलभित्रै पनि सङ्घर्ष गर्न परेका दृष्टान्तहरू छन् । फ्रेन्च सैनिकको कारागारमा रहेका जेन जेनेटको ‘आवर लेडी अफ दी फ्लावर’ को पाण्डुलिपि नै जेल प्रशासनले नष्ट गरिदियो । पुनः लेखिएको त्यस उपन्यासमा तथ्य, संस्मरण, कल्पना, स्वैरकल्पना, दर्शन, सौन्दर्यले पूर्ण छ ।

शताब्दीका राजनेता नेल्सन मण्डेलाले १९६३ देखि १९९० सम्म २७ वर्षको बन्दी जीवनको अनुभव सँगालिएको ‘कन्भरसेशन वीथ माइसेल्फ’ विश्वकै सर्वाधिक बिक्री भएको आत्मकथा हो । आत्म संस्मरण शैलीमा लेखिएको यस कृतिमा अन्तर्मनको यात्रा, मनोलाप, खुल्दुली, जीवन दृष्टिकोण, सुख-दुख, मृत्युका विषयमा प्रकाश पारिएको छ । त्यस्तै बेजोड कृति महात्मा गान्धीले १९३२ मा पुनाको बन्दी गृहमा लेखेको ‘माइ एकस्पेरिमेन्ट वीथ ट्रुथ’, जवाहरलाल नेहरुले अहमदावाद कारागारमा रहँदा लेखेको ‘डिस्कभरी अफ इण्डिया‘ जयप्रकाश नारायणको कारागार दैनिकीले भारतीय स्वतन्त्रता आन्दोलन, स्वराज्यको चेतना र नागरिक स्वतन्त्रताका धेरै आयामलाई उघारेका छन् ।

बन्दी गृहको यातना भोग्न नपरेको भए दाँतेको ‘डिभाइन कमेडी’ माकियावेलीको ‘द प्रिन्स’, मार्कोपालोको ‘मार्कोपोलको यात्रा’, मार्टिन लुथरकिङको ‘लेटर फ्रम बर्निङ्घम जेल’, बट्रान्र्ड रस्सेलको ‘प्रिजन अफ पेसन’ जन्मिने थिएन भन्न सकिन्छ । लेखिए पनि मानवीय संवेदना र जीवनदृष्टिको संक्षेत्र अलग हुने थियो ।

जेल साहित्यलाई दुई वर्गमा राख्न सकिन्छ । पहिलो वर्गमा बन्दी गृहमा रहँदाका आत्मकथा वा संस्मरण र अर्को प्रकारमा बन्दी गृहमा लेखिएका कथा, उपन्यास, काव्य, विचार र दर्शनका सिर्जना । कतिपय सर्जकले दुवै प्रकारका सिर्जना गरेका छन् । विश्वेश्वरप्रसाद कोइराला, बट्र्राण्ड रस्सेल, महात्मा गान्धी, जनहारलाल नेहरु, सुवासचन्द्र वोस, मार्टिन लुथर किङहरूका आत्म कहानीमा वैयक्तिक विषयका साथै जैविक दृष्टिकोण पनि समेटिएका छन्, ती आत्मकथा पनि हुन्, समाजका चिन्तन पनि त्यहाँ समेटिएको पाइन्छ । यस अर्थमा समाजलाई विषय बनाइन्छ कि व्यक्तिका अनुभव र ऊहापोह मात्र छ भन्ने आधारमा जेल साहित्यलाई बुझ्न र वर्गीकरण गर्न सकिन्छ ।

जेल साहित्य साहित्य सर्जकबाट सिर्जना भएका पनि छन्, सामाजिक आन्दोलकका सिर्जनाका रूपमा पनि आएका छन् । महात्मा गान्धी, नेल्सन मण्डेला, मार्टिन लुथरहरू सामाजिक आन्दोलक थिए, चिन्तक थिए, सामाजिक चिन्तन र जीवन दर्शनलाई सिर्जनामा राखे । जेन अष्टिन, जोहन ब्यूनानहरू साहित्यिक स्रष्टा थिए, साहित्यिक कलेवरका सिर्जना गरेका छन् । विश्वेश्वर, बट्र्राण्ड रस्सेलहरू सामाजिक चिन्तक र साहित्य सिर्जना दुवै आयामबाट जेललाई उपयोग गरेका छन् । उनीहरूका रचना विशुद्ध साहित्यमा छन्, निजी संस्मरणमार्फत पनि आएका छन् । विश्वेश्वरको आफ्नो कथा, जेल जर्नल, विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त निजी संस्मरण बिम्ब हुन् तर तीन घुम्ती, नरेन्द्र दाइ जस्ता विशुद्ध सिर्जना पनि गरेका छन् । यसर्थ विश्वेश्वर कोइराला जेल साहित्यका दुवै आयाममा देखिएमा छन् ।

मण्डेला, विश्वेश्वर, रस्सेल, गान्धीका आत्मकहानीहरूबाट हामी भन्न सक्छाैँ कि कारागार साहित्यको बेग्लै अनुभूति र स्वाद हुन्छ । जेलभित्र लेखक/साहित्यकार असीम आनन्द वा हृदय विदारक पीडा भोगिरहेको हुन्छ तर बाह्य परिवेशसँग ऊ नितान्त पृथक् हुन्छ । मनभित्र पौडिनु, पोखिनु, मनोलाप गर्नु सर्जकको नियति हो । सर्जकहरू तिनै अनुभूतिलाई सके जति शब्दमा उठाएर उत्कृष्ट साहित्य बनाइदिन्छन् । जस्तो कि आफ्नो कथामा विश्वेश्वरले गरेका छन् ।

नेपाली साहित्यमा कारागार साहित्य त्यति धेरै छैन । विश्वेश्वर कोइरालाको आफ्नो कथा, राधाकृष्ण मैनालीको लुटिएको दुई थुँगा फूल, मोदनाथ प्रश्रितको गोलघरको सन्देश, सिद्धिचरण श्रेष्ठको कारागारको सम्झना जस्ता केही उत्कृष्ट कृतिहरू बन्दी गृहमा वा बन्दी गृहलाई आधार बनाएर सिर्जना भएका छन् ।

जेलमा लेखिएका आत्मकथाले आफ्ना विषयमा वास्तविक कुरालाई प्रकाशित गरी आफैप्रति न्याय गर्न सक्छ । अङ्ग्रेज सरकारले महात्मा गान्धी, सुवासचन्द्र वोस, जवाहरलाल नेहरुप्रति न्यायका सन्देश प्रवाह कहाँ गर्थ्यो । श्वेत शासकले नेल्सन मण्डेलाका विरुद्धमा अफबाह फैलाउन किन पछि पर्थ्यो । विश्वेश्वरप्रसाद कोइरालाका विषयमा पनि कतिपय अफबाह तत्कालीन पञ्च र राजाका समर्थकहरूले फैलाएका थिए । इतिहासले उनीहरूमाथि न्याय गरेको थिएन । इतिहास शक्ति र सत्ताको हुन्छ, विजेताको हुन्छ । विद्वान टि एस इलियटले भने झैँ इतिहासले सत्य तथ्य उजागर गर्दैन, अक्षरहरूको अनुक्रम प्रायोजन गर्दछ । सच्चा इतिहास सधैँ साहित्यले लेख्दै आएको छ ।

जेलमा लेखिएका आत्मकथा व्यक्तिमाथि न्याय गर्ने पहिलो सिर्जना हो । किनकि व्यक्तिका विषयमा सबैभन्दा जानकार स्वयम् व्यक्ति हो, आत्मकथा उसले लेखेको हुन्छ । तर आत्मकथाकारमा सत्य उजागर गर्ने, निस्वार्थ हुने, आफ्नै विवेकप्रति न्याय गर्ने आत्मिक चेतना सहितको साहस हुनुपर्छ । अपवादमा बाहेक आत्मकथाहरू आत्मरति, आत्मश्लाघा र कुण्ठा-द्वेषका अभिव्यक्ति बन्ने गरेका छन् । आत्मकथाकारले आफैलाई न्याय गर्न सक्नुपर्छ । गान्धी, मण्डेला, विश्वेश्वरका आत्मकथामा आफू, समाज र समयलाई न्याय छ । ती सत्य छन्, कतिपय अवस्थामा आफ्नै आलोचना, आत्मालोचना र आफैप्रति व्यङ्ग्य गर्न समेत पछि पर्दैनन् । आफ्नै कमजोरीका विषयमा बाहिर नआएका तथ्यहरू उद्घाटन गरिदिन्छन् । आफैलाई सुध्रिन आत्मदर्शन गर्छन् ।

विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वरप्रसाद कोइरालाको जीवनको महत्त्वपूर्ण र लामो खण्ड जेलमा बित्यो । उनले जेलमा मात्र १२ वर्ष बिताए, निर्वासन पनि जेल नै हो, त्यहाँ २० वर्ष बिताए । चन्द्र शमशेरसँग वैमनस्यपछि केही समय विहार तथा बनारसमा बिताएका समय पनि निर्वासन नै थियो । बनारसको हरिश्चन्द्र स्कुलमा कक्षा आठमा पढ्दा आतङ्कवादी गुटसँग संलग्न रहेको आरोपमा सन् १९३० मा केही समय जेल परे, भारत छोडो आन्दोलनमा संलग्न भएको आरोपमा १९४२ मा दरभङ्गाबाट कारागार परे । यस अर्थमा उनको जीवनको अधिकांश भाग जेल र निर्वासनमा बितेको छ । औपचारिक रूपमा नेपालको कारागारमा रहेको समयलाई मात्र जेल यात्रामा लिने गरिएको छ, जुन सत्य होइन । उनका अधिकांश साहित्यहरू जेलमा लेखिएका छन् । उनी निर्वासनमै रहँदा उनलाई साहित्यमा ल्याउन प्रेरणा दिने शान्तिप्रिय द्विवेदीमार्फत प्रेम चन्दको सम्पादनको हंश पत्रिकामा पहिलो कथा छापिएको थियो । तर जेलभित्र लेखिएका आत्मकथा भने आफ्नो कथा (२०४०), जेल जर्नल (२०५४) र आत्म वृत्तान्त (अडियो किताब) प्रकाशित छन् ।

धेरै समय जेल र निर्वासनमा बिताएकाले हुनुपर्छ विश्वेश्वरका आख्यान रचनाहरू अन्तर्मनको यात्रा गर्छन् । मनभित्रको मानिसको व्यथा, अन्तश्चेतना र त्यसैको विश्लेषण पाइन्छ । आफ्नो कथामा उनले भनेका छन् ‘मनको समस्यामा बाँच्ने प्राणीहरू अत्यन्त रोचक हुन्छन्, यदि उनीहरूलाई अध्ययन गर्न सकियो भने । गाह्रो यस कुरामा छ कि आफूलाई दर्शकका रूपमा छुट्टै राखेर आफ्नो मनको आफ्नै भावनाको सूक्ष्म रूपबाट प्राणीहरूको कार्यकलापको चर्चा गर्नका लागि बढी दृढ अनुशासन र इमानदारी चाहिन्छ’ (आफ्नो कथा, पेज ३६-३७) । विश्वेश्वरका कथा/उपन्यासहरूमा मनोविश्लेषण, मनोदशाको चित्रण र अन्तश्चेतनाको विवेचना हुनुमा उनको बन्दी जीवनको एक्लोपन नै पृष्ठभूमिमा थियो भन्न सकिन्छ ।

त्यसो त बाल्यावस्थाबाट नै विश्वेश्वरमा अन्तर्मुखी स्वभाव भएको कुरा आफ्नो कथामा लेखक स्वयम् बताउँछन् । एकान्तमा रमाउने, पढ्ने,  प्रकृतिका कुराहरूमा गहिरिएर हेर्ने बानी थियो । बनारसमा पढ्दा एक दिन शान्तिप्रिय द्विवेदीले उनलाई दिएको कृष्णदास रायको कथा सङ्ग्रहमा रहेको कथा ‘अन्तःपुरका आरम्भ’ उनले पढे । यसअघि उनले पौराणिक कथा वा एकादेशबाट सुरु हुने कथाहरू मात्र पढेका थिए । यस कथाको अध्ययनपछि विद्यार्थी विश्वेश्वरको कथाको बुझाइ र कथासम्बन्धी दृष्टिकोण नै बदलियो । कथामा म पात्रको प्रयोग अर्को ठुलो आश्चर्य थियो ।

‘जीवनका घटनाको अटुट प्रवाहबाट अँजुलीभर झिकेको जस्तो सानो प्रसङ्गयुक्त घटनाको वर्णन कथा, सानो अर्थ दिएको । कथाको ओर र छोर हुँदैन किनभने त्यो त एउटा जीवनको बृहत् अनन्त क्रमबाट टिपेको सानो टुक्रा हो’ । कथासम्बन्धी उनको यो दृष्टिकोण उनका कथामा प्रयोग भएको पाइन्छ । प्रेमचन्द, कौशिक, सुदर्शन जस्ता घाघडान कथाकारका  परम्परागत कथाहरूले विश्वेश्वरलाई छोएन । रविबन्द्र नाथ टैगोरका कथाहरू पनि उनलाई ‘छेउ न पुच्छर’का लाग्थे । तर राय साहवको ‘अन्तःपुरका आरम्भ’ले उनको दृष्टिकोणलाई नै बदलिदियो ।

कुनै कुरा मन पर्नुका पछि पनि मानिसको अन्तर्दृष्टि र तदनुकूल स्वभावको हात हुन्छ । विश्वेश्वर बाल्यकालदेखि नै लौकिक जीवनका विषयमा घोरिएर बस्ने, घटना र भावका टिपोट गर्ने प्रवृत्तिले भावप्रधान मनोवैज्ञानिक कथा लेख्ने स्वभाव, सामर्थ्य विकास भयो । उनले प्रकृति, आकाश हेरेर कोरेका टिपोटहरू हेर्दै शान्तिप्रियले उनलाई हौस्याउँदै भनेका थिए -विसु तिमीमा साहित्यिक रुचि छ भन्ने मलाई थाहा थियो, तिमी लेखक, कवि कथाकार हुन सक्छौ’ । विश्वेश्वरलाई प्रेरणा दिन नै उनको टिपोटलाई ‘वहा’ कथाका रूपमा हंस पत्रिकामा छापिदिए । प्रेमचन्द जस्ता नामी साहित्यकारको सम्पादनमा प्रकाशित हुने पत्रिकामा कथा छापिनु आफैमा गौरवको कुरा थियो ।

उनमा प्रकृतिका रेखाहरूलाई मनभरि लिएर घोरिँदै भाव र घटना मिसिएका, कथा हो कि कविता वा निबन्ध जस्ता अस्पष्ट आकृति कोर्ने बानी बसिसकेको थियो । ‘आकाशको एक दिशातिर धावित भएर उडेका चरो, कविताको प्रतीक हुनसक्छ, र त्यो कथाको पनि – गुँडमा पर्खेर बसिरहेका बच्चाहरूको आमा होली, चुच्चोमा आहार बोकेर फर्केकी ?’ त्यस्तै काजगतलाई कोरेर बसिरहेका बखत शान्तिप्रियले भने- हेरूँ, हेरूँ के लेख्यौ ? त्यो कागजको टुक्रा हेरेर उनले भने – खुब राम्रो लेख्दा रहेछौ । ल्याऊ, ल्याऊ अरू हेरूँ । छपाउनुपर्छ । आखिर ती अस्पष्ट, आकृतिविहीन, भावचित्रहरू कथा बन्दै छापिए । ती नयाँ प्रयोग बने ।

शान्तिप्रियको हौसाइबाट फुरुङ्ग बनेका बाल विसु मनोविश्लेषणात्मक घाराको महान् कथाकार बने । १९८७ मा वहा कथाबाट सुरु भएको अन्तर्मनको कथा यात्रा विशाल भारत, हिमालय, वीणा, भविष्य आदि पत्रिकामा भारतभरि हिन्दी भाषामा छापिए । नेपाली भाषामा भने १९९२ मा शारदा मासिकमा छापिएको कथा चन्दबदन पहिलो थियो । दार्जिलिङबाट छापिएको पहिलो मौलिक नेपाली कथासङ्ग्रह कथा कुसुममा गुरुप्रसाद मैनाली, पुष्कर समसेर सँगै विश्वेश्वरका पनि तीन कथा छापिए । उनका अन्तरवार्ताकार भोला चटर्जीका अनुसार सानो छँदा नै उनी युरोपेली कथाकारका कथाहरू पढ्थे । त्यतिखेर नै मनोवैज्ञानिक कथाहरू नै उनका रुचि थिए । यसैले मनभित्रबाट मानिस खोज्दै मनको उदात्तीकरणमा लागिरहे । यस्ता तथ्यहरू ‘आफ्नो कथा’ भित्र छन् ।

आत्मकाथकारहरूले आफ्ना दुई विषयमा प्रकाश पार्न सक्दैन । पहिलो जन्मदेखि स्मृतिमा राख्ने चेतना विकास नभएसम्मका अवस्था । दोस्रो मृत्यु/मृत्युसानिध्यको अनुभूति । पहिलो पक्षमा आफन्तहरूबाट विषयबोध गर्न सक्छ तर मृत्युको अनुभूति, मृत्यु परिवेशका घटनाक्रम स्वयमले चित्रण गर्ने कुरा मानव सामर्थ्य बाहिर रहन्छ । त्यसैले आत्मकथा यथार्थमा अपुरो हुन्छ । ‘आफ्नो कथा’ को भूमिका लेखनमा आत्मकथाकारका भाइ गिरिजाप्रसाद कोइरालाले भनेका छन् ‘वास्तवमा कुनै पनि महान् मानवले आफ्नो जीवन वृत्तान्त आफैले पूरा गर्न सकेका छैनन् । मृत्यु शय्यामा मात्र शारीरिक सत्ता समाप्त हुँदा एक अँध्याय पूरा हुन्छ उनीहरूको । त्यस बेला मृत्युको स्पर्शलाई स्पष्ट अनुभूत गर्दा आफ्नो लामो र घुमाउरो यात्राको समापन भाग त्यसलाई कसैले पनि लेख्न सक्दैन । त्यो त इतिहासका पत्रमा सुरक्षित भएर रहन्छ र शताब्दी शताब्दीसम्म त्यसको शोध र सन्धान भइरहने छ’ (आफ्नो कथा, प्राक्कथन) ।

त्यसैले महान् व्यक्तिको आत्मकथा अरूले पूरा गर्नुपर्छ, समाजले पूरा गर्छ । कतिपय विषयहरू अनुयायीहरू, विचारकहरू वा अनुसन्धानकर्ताहरूले पूरा गरिदिन्छन् । सार्वजनिक बौद्धिकहरू यसलाई कच्चा पदार्थका रूपमा मन्थन गरी सामाजिक उपयोगिता सिर्जना गर्दछन्, जसरी सोक्रेटसको जीवनीमा प्लेटोले गरे, महात्मा गान्धीको नवजीवन र योग इण्डिया नामका पत्रिकाले धारावाहिक प्रकाशन गरेर पूरा गरे । विश्वेश्वर कोइरालाको ‘आफ्नो कथा’ आफैले लेखे, उनले लेखेका भनेका कुराहरू गणेशराज शर्मा, प्रदीप गिरिहरूले पछि प्रकाशन गरे, खगेन्द्र नेपालीले अडियो प्रसारण गरे । तर उनका जीवनका नखुलेका पाटो उघारिन अझै बाँकी छन् ।

विश्वेश्वरप्रसाद कोइरालाको आफ्नो कथा, जेल जर्नल र पछि सङ्ग्रहित गरिएका सामग्रीले उनको जीवनदृष्टि, साहित्यिक दर्शन, राजनैतिक चिन्तन, समाज र परिवारका विषयहरू प्रकाशित भएका छन् । उनको जीवनकालमा भोगिएका घटनाक्रमको स्मृति बिम्ब उघार्ने क्रममा उनी भन्छन् मानिस दुई प्रकारको सुखमा बाच्छ, पहिलो सांसारिक सुख र अर्को अन्तस्करणको सुख । धन सुख, पत्नी सुख, सन्तान सुख सांसारिक सुखका भाग भए । अरूको सेवा गर्नु, समाजका लागि केही गर्नु आन्तरिक सुख भए । यी दुई आवाजको परस्पर विवादमा मानिस भौँतारिन्छ । पिताजी कृष्णप्रसाद पनि भौँतारिएका थिए । अन्ततः असांसारिकताको, आत्माको, असन्तोषको आन्तरिक अन्तस्करणबाट प्रस्फुटित ध्वनिले पिताजीको व्यक्तित्व विकास भयो । गौर गरेर प्रत्येक व्यक्तिले आफ्नै आत्मसँग सोधेर अघि बढ्नुपर्छ ।

विश्वेश्वरको यो अन्तस्करणको सुखको व्याख्या गौतम बुद्धको आत्मिक चेत वा बौद्ध दर्शनबाट प्रभावित छ । पूर्वीय दर्शनको आत्मिक चेतबाट, मानव मूल्यबाट प्रभावित छ । सर्वश्रेष्ठ सामाजिक प्राणी भएको नाताले मानिस मात्रले अपनाउने सबै पेशाकर्म आत्म सम्मतिको आधारमा मात्र गर्नुपर्छ । विवेकले स्वीकृति नदिएको कुरा भौतिक-सांसारिक सुखले पूरा गर्न सक्दैन । उनको पारिवारिक जीवनको पृष्ठभूमिले पनि आत्मकथाकारमा यो भावना विकास भएको छ । विश्वेश्वर आख्यान साहित्य र सामाजिक चिन्तनको सार मानिसको आन्तरिक सन्तुष्टि वा खुसी हो । भौतिकवादी सोच राख्ने विश्वेश्वर अन्ततः अन्तस्करण (मन र मस्तिष्क) को सन्तुष्टिका पक्षमा छन् ।

आत्मकथाकारहरू आत्मकथामा आफ्ना कुराभन्दा आफू बाहिरका कुरा मानसपटलमा ल्याएर विश्लेषण गर्छन् । जेलभित्र लेखिएको आत्मकथामा त्यो झनै देखिन्छ । आफू केन्द्रीय पात्र भए पनि वलयका विषयहरू बढी नै विश्लेषित हुन्छन् । विश्वेश्वरका आफ्नो कथा र जेल जर्नल यसबाट अपवाद छैनन् । आत्मकथाकार परिवारको पृष्ठभूमिमा पुग्छन्, पिताजी कृष्णप्रसादको मिहिनेत, साहस र समाजसेवाको वर्णन गर्दछन् । आमा, हजुरआमाहरू, दाजुको प्रसङ्गमा पुग्छन् र फेरि आफ्नै प्रसङ्गमा फर्किन्छन् । समाजको, शासनको, राजनीतिको, अर्थव्यवस्था, जागिरको कुरा गर्छन् र फेरि आफूमा आइपुग्छन् ।

आफ्नो कथामा धेरै प्रशंसा पाएका पात्र पिताजी कृष्णप्रसाद हो । आफ्ना पिताको व्यक्तित्वको विश्लेषणमा दार्शनिक दृष्टिकोण दिन्छन् । व्यक्तित्व विकास, चेतना, पागलपन, स्वप्रेरणाका विषयमा चुर्लुम्म डुब्छन् । परिस्थिति अनुकूल नहुँदा त्यसलाई अनुकूल बनाउने सामर्थ्य हुनुपर्छ । पिताजीको परिश्रमले स्थिति बनाएको थियो । दुम्जा, रङ्गेली, माडर तथा निर्वासन जहाँ पनि पिताजीले परिश्रमलाई नै प्रमुखता दिए । ‘दैव प्रयत्नवान् व्यक्तिको सहायक बन्छ’, ‘आँट गर म पुर्‍याउँछु’ भन्ने कहावत आफ्ना पिताजीमा पूर्ण लागू भएको प्रसङ्ग उल्लेख गर्छन् ।

पिताजीको प्रसङ्गमा भन्छन् ‘मानव प्रेरणाको स्रोत कहाँ छ ? किन कतिपय ठुला व्यक्तिहरू सर्वसाधारणका स्तरबाट माथि उठ्छन् ? उनीहरूका लागि मात्रै किन सबैको लागि मौजुद रहेको प्रेरणाले विशेष आग्रह गर्छ, तिनीहरूलाई मात्र किन नयाँ बाटोको यात्री बनाउँछ ?’ साथै आमाको प्रसङ्गमा भन्छन्- आमाको भावनामा पतिप्रेम, सौन्दर्यप्रेम, सनातन नारी निष्ठाका साथै चेतनाको प्रसार गर्ने उच्च साहस थियो । आमालाई समाजसेवी एनीवेसेन्टसँग तुलना गर्छन् र निष्कर्ष निकाल्छन् ‘समाज सुधार गर्ने भए स्वास्नी मानिसको सुधार पहिलो हुनुपर्छ’ ।

विश्वेश्वर अन्तर्मनमा विश्लेषित छन् र त्यो विश्लेषित अवस्थालाई एक प्रकारले पागलपन भन्न रुचाउँछन् । उनका अनुसार प्रत्येक मानिस पागलपनको सम्भावनालाई आफूमा धारण गरेर हिँड्छ । आफूमा अट्न नसक्नु, आफूभन्दा बाहिर पोखिन खोज्नु या आफैभन्दा माथि उठ्ने प्रयास गर्नु अथवा आफ्नो स्थितिबाट असन्तोष भइरहनु मानिसमा अन्तर्निहित पागलपनका कारण हुन् । मानव सभ्यताको नेतृत्व यस्तै (पागलपन, विक्षिप्त्वाच्छन्नले आच्छन्न) व्यक्तिहरूबाट हुँदै आएको छ । सोक्रेटसलाई तत्कालीन समाजले पागल नै भनेको थियो र पछि कारबाही पनि गर्‍यो । प्लेटोले कविहरूलाई निर्वासनको घोषणा गरे, लक्ष्मीप्रसाद देवकोटालाई पागल बनाइएको नै हो । राणाहरूले विताजी कृष्णप्रसाद र पञ्च तथा राजाले विश्वेश्वरलाई शायद विक्षिप्त्वाच्छन्नले आच्छन्न सोचेर निर्वासन र जेल पठायो । समाजले विशेष व्यक्तिलाई हत्तपत्त स्विकार्दैन, त्यो स्विकार्ने अवस्था बनाउने काम पनि तिनै पागलहरूले नै गर्न सक्दछन् । उनीहरू विद्यमान अवस्थामा चित्त नबुझाई अतिरिक्त गर्न खोजिरहेका हुन्छन् ।

आत्मकथाकार जेलमा आफ्नै विषयमा विश्लेषणमा बोल्छन् । उनको जन्म प्रथम विश्वयुद्ध सुरु भएको समयपछि भएको थियो । प्रथम विश्वयुद्धले एक युगको अन्त भई अर्को युगको क्षितिज उघारेको थियो । विश्वेश्वरको शब्दमा युद्ध एउटा ठुलो प्रभावान्वितकारी घटना हो, जसले समाज र व्यक्तिमा साधारण स्थितिमा जन्मन नसकेका नयाँ नयाँ विचारलाई जन्माएर छिट छिटै हर्काउन र फस्टाउन लगाउँछ । प्रथम विश्वयुद्धले त्यही गरेको थियो । यही परिवेशमा जन्मेका ‘चुडामणि’ लाई जेठाबाले ‘विश्वेश्वर’ नाम राखिदिए । नाम, जन्म, जन्मको समय र परिवेश लाक्षणिक अर्थमा देखिएका छन् । उनको जीवन वृत्ति, सङ्घर्ष र सङ्गतले पनि त्यसलाई पुष्टि गरेको छ ।

परिस्थितिलाई स्विकार्नु र त्यही सङ्घर्ष गरी जीवन अनुकूल बनाउनु पर्दछ भन्ने सन्देश विश्वेश्वर कोइरालाका आत्कथाहरूबाट पाइन्छ । कोइराला परिवार दुई दशक निर्वासनमा बस्यो, कहिले बनारस, कहिले कलकत्ता, भागलपुर, बेतिया, जयनगर, बम्बई, पटना, टेढी आदि स्थानमा । आन्तरिक रूपमा पनि कोइराला परिवार लमजुङ, दुम्जा, विराटनगर, सिराहा आदि स्थानमा बस्यो । जीवनको यो गतिशीलताले सङ्घर्षले सामर्थ्य, अनुकूलित हुने क्षमताका साथसाथै धेरै खाले भाषा, संस्कृति र जीवनशैलीको ज्ञान दिन्छ, व्यक्तित्वलाई परिष्कार गर्छ ।

विश्वेश्वरको जीवन कथाबाट यही देखिन्छ । कष्टप्रद बाल्यावस्थामा पनि बालक विश्वेश्वर रमाएको छ, फेर्ने कपडा नहुँदा र खाजाको सट्टा एक मुठी भिजाएको चना खाँदा पनि रमाएको छ, विद्यार्थी जीवनमा नै आतङ्ककारी सङ्गठनमा संलग्न भएको आरोपमा जेल परेपछि छुट्टै अनुभव हुर्किएको छ, भारत छोडो आन्दोलनमा भाग लिएर पसेपछि राजनैतिक आन्दोलनको आन्तरिक शक्ति बढाएको छ । जेलमा पनि आत्तिएको छैन, राजाले सत्ता र व्यवस्था अपहरण गर्दा पनि आशा देखेको छ । व्यक्तिगत जीवनका दुखलाई पर्बाह नगरी सामाजिक परिवर्तनमा लागेको छ । यसो गर्न आत्मकथाकारमा आन्तरिक शक्ति छ, त्यसैले विश्वेश्वरलाई विश्वेश्वर बनाएको छ । (तर एक पटक भने जीवनबाटै निकै निराश भएर सुशीलालाई चिठी लेखेका छन्) ।

विश्वेश्वर कोइराला विषयवस्तुलाई मनोवैज्ञानिक आयामबाट हेर्छन् । आफ्नै विषयमा पनि नजानिँदो रूपमा मनोवैज्ञानिक दृष्टिकोण राख्दछन् । ‘बाल्यकाल स्वप्नावस्था हो जसमा अनुभूति र कल्पनाको सम्मिश्रणले एउटा छुट्टै मनोलोकको सृष्टि हुन्छ’ । बाल्यकालमा उनी मनाेलोकका प्राणी थिए, आमाले बहादुर छ भनेर हौस्याउँदा झनै साहसी काम गर्थे, निर्वासनमा रहँदाको दुख र विपन्नतालाई रोमाञ्चक अनुुभूतिमा लिन्थे । शान्तिप्रियले कति राम्रो लेख्छौ भनेपछि फुरुङ्ग भएर झनै लेख्न थाले । सिग्मण्ड फ्रायडको मनोविज्ञान, त्यसमा पनि अवचेत/अर्द्धचेत तहका इच्छाहरूबाट बाल्यावस्था निर्दिष्ट हुन्छ र त्यो जीवनभर व्यक्तिलाई अघि बढाउने शक्ति बन्दछ भन्ने उदाहरणमा आफै रहेका छन् । केही भावनाहरू/इच्छाहरूलाई चेतन मनले सम्मति दिँदैन, ती दबिएर/दबाइरहेका हुन्छन् । अचेतन तहमा रहेका कुराहरू विचार, संवेग र उत्तेजनाका भण्डार हुन्, यसैले मानवीय व्यवहार र व्यक्तित्व निर्माणलाई आधार दिइरहेको हुन्छ भन्ने फ्रायडेली निष्कर्ष छ । मस्तिष्क विकास र व्यक्तित्व परिचालनको मूल शक्तिका रूपमा रहेको वासना शक्ति (लिविडो) बाल्यावस्थादेखि नै सक्रिय हुन्छ । यो वासना शक्ति बहिर्मुखीकरण, अन्तमुर्खीकरण, केन्द्रीकरण, प्रत्यावर्तन, प्रतिबन्धन र दिशान्तरणमा अभिमुखी हुन्छ ।

विश्वेश्वरको आफ्नो कथा, जेल जर्नल र अरू साहित्य सिर्जनामा यसले राम्रो स्थान पाएको छ । मनोविज्ञानको यो सिद्धान्त वासनाबाट विस्तार भएर राजनीति, समाज व्यवस्था र युद्ध-आन्दोलनका घटनासम्म विस्तारित भएको छ । विश्वेश्वरको वैचारिक यही आयाममा रहेर समाजका विविध कोणहरूको अनुसन्धान गर्न सकिन्छ, त्यसो गर्न बाँकी छ ।

विश्वेश्वरको जेल साहित्यको अर्को आयाम इतिहास हो । समाज इतिहासको पृष्ठभूमि र मागदर्शनबाट अघि बढ्छ । नेपाली समाज विश्व इतिहासको यस सत्यबाट अपवाद छैन । आत्मकथाहरूमा समाजको इतिहास, आर्थिक सङ्गठन र उत्पादन प्रणालीको इतिहास, शासकीय प्रणाली र राजनीतिको इतिहासका पनि उद्धरण हुन् । एउटा अनौठो तथ्य उघारेका छन्, राणा शासनमा दुई थरी राजा थिए, राणा प्रधानमन्त्रीहरू महाराज थिए, वास्तविक राजा थिए, राजा त राजै थिए तर खोपामा थिए । विश्वेश्वरका पितामह नन्दिकेश्वर कि पत्नी (विश्वेश्वरकी जो आमा) राज्यलक्ष्मी भन्थिन ‘पौरुषहीन राजाबाट देशको कल्याण हुँदैन’ । राणा प्रधानमन्त्रीका श्रीमतीहरू चाहिँ बडामहारानी कहलिन्थे ।

राणाहरू प्रजावत्सल देखिन खोज्थे तर त्यो भ्रम थियो । निरङ्कुशताले थिचेपछि आम मनोविज्ञान पनि हीन भावनामा हुन्छ, यसले निकास पाउन चेतनाको सङ्ग्रह हुनुपर्छ । राणा शासनमा त्यही अवस्था थियो । पहिलो विश्वयुद्धले सामाजिक चेतनाको क्षितिज उघारेको थियो, दोस्रो विश्वयुद्धले चेतनामा क्रान्तिकारी फड्को मार्‍यो, त्यसैको बाछिटाले नेपालमा जागरण आयो । नेपालका राजनैतिक दलहरूभित्र आन्तरिक शक्ति सङ्घर्ष थियो । राजनीतिभित्र दरबारको प्रवेश (पेनेट्रेशेन) थियो । साहित्य, शिक्षा, कलकारखाना सबैतिर यसको प्रभाव थियो । यी सबै इतिहासका कुरा साहित्यमार्फत आएका छन् । अर्को नदेखिएको विषय यो पनि थियो कि भारतीय स्वतन्त्र सङ्ग्रामका किल्लाहरूमा नेहरु, वोस, गान्धी, लोहिया, जयप्रकाशहरूसँग नेपालका विश्वेश्वरहरू थिए । भारतमा स्वराज्य स्थापना पछि नेपालले आन्तरिक प्रजातन्त्र पाएको थियो । राणाहरू ब्रिटिस इष्ट इन्डियाका शासकसँग सहकार्यमा थिए, प्रजातन्त्रवादीहरू भारतीय स्वाधीनता आन्दोलनकारी शक्तिसँग सहकार्यमा थिए ।

आत्मकथाका कतिपय प्रसङ्गले वर्तमान राजनीतिलाई शिक्षा दिन भुल्दैन । नेपाली राजनीतिमा दुर्वाच्यहरू बढ्दै गएको छ । ठुला भनिएका राजनीतिक दलका ठुला नेताहरू एकर्काका विरुद्धमा उग्र बोली र बलिन्द्र पसिनामा ऊर्जा खर्चिरहेका छन् । गान्धीको विचार उल्लेख गर्दै विश्वेश्वर भन्छन् ‘विरोधीका लागि प्रयोग गरिएको कडा भाषाले लाभभन्दा हानी हुन्छ । किनभने विरोधीलाई त्यसले झनै उत्तेजित पार्छ र युद्धका लागि ललकारेको भनेर उ झन् बढी युद्ध प्रस्तुत हुन्छ । त्यस्तै आलोचना गर्न नसक्ने राजनीतिज्ञले समाज र अनुयायीलाई न्याय नगर्ने सन्देश पनि आत्मकथा मार्फत प्रवाहित छ । विश्वेश्वर आफ्नै उदाहरणबाट मानवीय कमजोरीबाट नेतृत्व आत्मालोचना हुँदै परिष्कारमा पुग्नुपर्छ भन्ने निष्कर्षमा छन् ।

आत्मालोचनाले स्वयमलाई जबाफदेही बनाउन सघाउँछ । कैयन प्रसङ्गमा उनले आफ्ना कमजोरीको आत्मग्लानि समेत महसुस गरेका छन् । त्यस्तै तत्कालको परिणाम लागि सजिलो बाटो रोज्नु राजनीतिको काम होइन भनेका छन् । क्रान्तिमा हिंसाको बाटो सजिलो हुन्छ, तर सजिलो हुन्छ भनेर त्यो बाटो रोज्नु हुन्न । त्यस्तै राजनीतिक नेतृत्वले अध्ययन गर्नुपर्दछ भन्ने उनको आग्रह छ । पश्चिमी दर्शनभन्दा पनि पूर्वीय दर्शनले शासनलाई आदर्श बनाउने मार्ग देखाएको उनको ठम्याइ छ ।
उनको आत्मकथामा नैतिक नेतृत्वका दृष्टि-दर्शनहरू छरिएका छन् ।

उनले भनेका छन्-आफ्नो भविष्य एकदम अन्धकारमा भए पनि मैल यस्तो काम गर्नु हुँदैन जसले मेरा सन्तानको भविष्य बिग्रियोस्, उनीहरूको इज्जतमा धक्का लागोस् । यदि मबाट केही कमजोरी भयो भने उत्तराधिकारको सम्पत्ति इज्जत र मर्यादालाई पनि नष्ट गरेर जानेछु । मृत्युलाई अँगालेर पनि नैतिक काम छाड्नु हुँदैन । असल नेता र नेतृत्वका विषयमा वैदिक ग्रन्थहरू ज्ञानका स्रोत हुन् । भनिन्छ ‘राजा ऋतेन विवाविर्धे’, न्याय, सत्य र सत मार्गमा हिँड्ने नेता मात्र सफल नेता हो । नेताको व्यवहार रुकालागि अनुकरणीय हुनुपर्छ, समूह शक्ति विस्तार गर्ने हुनुपर्छ, कार्यसम्वादनमुख हुनुपर्छ र ज्ञान, जानकारी, सीप र विवेकले पूर्ण हुनुपर्छ । नैतिक नेतृत्व नीतिको मार्गमा हिँड्छ । मर्यादा पुरुषोत्तम रामचन्द्र आदर्श थिए, अनुकरणीय थिए, त्यसैले प्रजाको हृदयमा बस्न सके । हाम्रा पौराणिक श्लोकहरू लोकहितका लागि असल आचरणको नेतृत्वको बखान गर्छन् किनकि श्रेष्ठ पुरुष (नेता) जस्तो आचरण गर्दछ, अरूहरू पनि त्यसैलाई अनुकरण गर्दछन् । विश्वेश्वरका अभिव्यक्तिको सारमा यिनै वैदिक/पौराणिक आदर्श रहेको छ ।

आत्मकथाहरू आफैप्रति, आफ्नो विगतप्रति र आफ्ना कमजोरीप्रति इमानदार रहनु पर्दछ । आफ्नो कथा, जेल जर्नल र अन्य पत्र तथा वृत्तान्तहरूमा विश्वेश्वर इमानदार देखिएका छन् । एक प्रसङ्गमा उनले आफ्ना तीन कमजोरी चुरोट, रक्सी र यौन रहेको खुलाएका छन् । ‘तीन कुरामा दुई कुरा त्याग्न सके पनि तेस्रो कुरा यौन त्याग्न सकेको थिइन, अब स्वास्नीमानिसको बारेमा पनि सुशीलालाई आग्रह पूरा गर्छु भनेको छु’ । आफ्नो कथामा भनेका छन् ‘यौन क्षुधाबाट सन्तुष्टि रति क्रियाबाट शान्त गरिएन भने प्रकृतिले ठुलै प्रतिरोध लिन्छ (आफ्नो कथा, पृ ६३) । उनका कथा, उपन्यासमा यही यौन शक्तिले उदत्तीकरणको मार्ग खोजेको पाइन्छ । उनले भनेका छन् ‘यौन र योग मेरो अन्तर्दृष्टिमा एउटै ध्वनि उत्पत्ति गराउँछन् । यौनको ज्वरो कता कतै योगमा पुगेको जस्तो लाग्छ’ ।

कतिपय लेखक, चिन्तकहरू आफ्ना कुरा यसरी खुलस्त राख्ने सामर्थ्यमा हुँदैनन्, दबाएर नै राख्छन् । विश्वेश्वर हरेक विषयलाई अन्तर्दृष्टिले मनन गरेर ज्ञानको सागरमा डुब्छन् र खारिएर एउटा मौलिक दृष्टिकोण निर्माण हुन्छ । मेरो अध्ययनमा नेपाली आत्मकथामा विश्वेश्वरप्रसाद कोइराला र साहित्यकार रमेश विकल उदार अनि इमानदार छन् । उनीहरूले आफ्ना कमजोरी र विगतको आफ्नै साँघुरा पक्षलाई उद्घाटन गरेका छन्, स्वार्थ, आत्मरति, कुण्ठा र ईर्ष्याभन्दा माथि रहेर आत्मकथा लेखेका छन्, जसरी नेल्सन मण्डेला र महात्मक गान्धी इमानदार देखिएका थिए । यसले आत्मकथाकारहरूलाई आत्मप्रति जबाफदेही बन्न शिक्षा दिएको छ । ‘जेल जर्नल’ को प्रकाशकीय भूमिका ‘न निष्कर्ष न भूमिका’ मा कमल दीक्षितले विश्वेश्वरलाई कुनैपनि कुरा नलुकाई लेख्ने व्यक्तिका रूपमा चित्रण गरेका छन् ।

साहित्यकार विश्वेश्वर सिग्मण्ड फ्रयाडको मनोविज्ञानवाद, कार्ल मार्क्सको भौतिकवाद र बुद्धवाणीदेखि वैदिक दर्शनबाट प्रभावित छन् । अल्वर्ट कामु विश्वेश्वरका निकै मन पर्ने लेखक थिए । कामुको लेखनमा पाइने विचारको गहिराइले उनी आनन्दित हुन्थे । लेखनीमा मौलिक विचार दिन सक्ने लेखक उनी खोजी खोजी पढ्थे । जर्ज बर्नाड शा, बट्र्राण्ड रस्सेल, जा पाल सात्र्र र अल्डोस हक्ज पनि उनलाई मन पर्ने लेखक थिए । कार्ल माक्सको पूजी पढ्दा निकै पट्यार मानेका थिए तर एङ्गेल्सको एण्टि ड्यूरिङ ले उनको राजनीतिक चिन्तनमा नै निकै ठुलो प्रभाव पर्‍यो ।

रुसी कथाकारहरू टाल्सटाय, तुर्गनेभ र गोर्की र दोस्तोभ्स्की पढे । टाल्सटायका कथा उति मन नराए पनि उपन्यास रिसरेक्शनबाट खुवै प्रभावित थिए । वार एन्ड पिस धेरै पटक पढे पनि अनगिन्ती पात्रहरूको जङ्गलले उनलाई अलमल्याएको थियो । तुर्गनेभ र गोर्कीलाई खुवै मन पराएर पढेका थिए । तुर्गनेभका अभागी दरिद्र व्यक्तिको चित्रणले उनको मन छुन्थ्यो । उनलाई लाग्छ तुर्गनेभपछि रुसी समाज आधुनिकतातर्फ बढेकोले उनलाई रुसी समाज आधुनिकीकरणका हिमायती सम्झन्छन् । भिक्टर ह्युगोको लेस मिजेरवल पढेपछि विश्वेश्वरलाई लाग्छ गोर्कीका चरित्रमा ह्यूगोको मनोवैज्ञानिक भाव भएको भए ?

जो पढे सबैलाई अन्तर्दृष्टिले पढे । उनी भन्ने गर्थे – पढ्दा उति बौद्धिक सङ्गठन सावधानीको आवश्यकता पर्दैन । लेख्दा मन बुद्धिलाई चङ्ख राखेर त्यसको राम्रो सङ्गठन गर्नुपर्दछ । पढ्दा बुद्धिलाई चेतना तहमा राखे पुग्छ । लेख्दा विचार सङ्गठनको जरुरत चाहिन्छ । किताब पढ्दा अरूको सङ्गठित विचार पाइन्छ । त्यसो भने पनि विश्वेश्वरले पढ्दा सङ्गठित विचार मात्र पढेनन्, सम्यक् दृष्टि, चेतन मन र विश्लेषण सामर्थ्य पढे । र अन्तर्दृष्टिको विश्लेषणलाई मन पराए । त्यसैले विश्वेश्वरका रचनामा फ्रायडको मनोविज्ञान, कामुको निरीश्वरताको माथि सात्र्रको अस्तित्ववाद पाइन्छ, मार्क्सको भौतिकवादी दर्शनलाई अन्तर मनसम्म पुर्‍याएर आत्म स्थापना गरेको पाइन्छ, वैदिक दर्शनमा पुगी आत्मिक शान्तिको निकास खोजेको पाइन्छ ।

सबै रचनामा सामाजिकताको भन्दा मनको यात्रा गर्छन्, सामाजिक संवाद भन्दा मनोसम्वाद गर्छन् र अस्तित्वको स्थापना गर्दछन् । ‘तीन घुम्ती’ मा नारीका तीन रूप आमा, पत्नी र प्रेमिकाको अस्तित्व खोजी छ, ‘सुम्निमा’ मा मानस कुण्ठा र स्वच्छन्द संस्कृतिको मनोद्वन्द्वको निकास खोजिएको छ, ‘नरेन्द्र दाइ’ मा नरेन्द्र आदर्श पत्नी र समाजमा नअटाएकी प्रेमी दुई नारीको अन्तर्द्वन्द्व छ । ‘हिटलर र यहुदी‘ संस्कृतिका लागि ध्वंस कि शान्ति भन्ने व्यग्र मनोद्वन्द्वमा छ । उनका अन्य चरनाहरू ‘मोदी आइन’, ‘बाबुआमा र छोरा’, ‘दोषी चस्मा’, ‘श्वेत भैरवी’ सबैले चेत-अवचेत मनको यात्रा गर्छन् र मुक्तिको मार्ग चेत दिन्छन् । उनका प्रधान पात्रहरूको सम्बन्ध समाजसित भन्दा मनसित छ, प्रधान पात्र भएर स्वयम् विश्वेश्वर कथावाचन गरिरहेका छन् । र निष्कर्ष निकाल्छन् भित्री मानिस यथार्थको मानिस हो, बाहिरी मानिस त केवल उसले भिरेको मुकुन्डो हो । त्यसैले चेतन मन र बुद्धिले स्वीकार नगरे पनि जीवन आफ्नै मन नियतिमा गतिवान् हुन्छ  ।

= = =

 

उपसंहार

चिन्तक सर्जकहरू वैचारिक स्वतन्त्रताका पक्षपाती हुन्छन् । तर बन्दी गृह आफै आयतन स्थल हो जहाँ निजी स्वतन्त्रताको उपयोग भावनामा मात्र गर्न पाइन्छ । लौकिक अवस्थाबाट विच्छेद भए पनि विचारकहरू मनभित्रबाट समाज र स्वतन्त्रताको चैत्रिक यात्रा गर्दछन् र जेल सिर्जनास्थल बन्ने गर्दछ  । कारागार साहित्य यसैको उत्पादन हो । क्रिप्स्टन जेल नपरेको भए बट्र्राण्ड रस्सेल बिसौँ शताब्दीका विख्यात दार्शनिक बन्दैन थिए होलान् । मेकियावलीको द प्रिन्स, महात्मा गान्धीको माइ एक्सपेरिमेन्ट विथ ट्रुुथ नेल्सन मण्डेलाको कन्भरसेशन वीथ माइसेल्फ, जोहन ब्यूनानको पिल्ग्रीम्स प्रोग्रेस, दाँतेको डिभाइन कमेडी जस्ता महान् कृतिहरू रचना गर्भमा नै आइपुग्दैन थिए । विश्वेश्वरलाई महान् आख्यानकार बनाउने पृष्ठभूमि पनि जेल र निर्वासन नै थियो । नेपोलियन बोनापार्ट कारागारमा बन्दी भएपछि आफ्नो संस्मरण लेख्न अह्राएका थिए । महान् स्रष्टाहरू कारागारको व्यक्तिगत पीडामा छटपटिएर मात्र रहेनन्, भौतिक र सामाजिक सुबोध नभए पनि आत्मिक चिन्तन र अन्तर्मनको यात्राले धेरै सिर्जना विश्वले पाएको छ ।