समालोचना,साहित्यको सुक्खा विधा हो | नभई पनि नहुने र सम्बन्धित लेखकले मन  नपराउने मात्र होइन कि रिसाउने पनि !

केही दिन पहिले स्थानीय एक साहित्यिक कार्यक्रममा बोल्दै अग्रज साहित्यकार कृष्ण धरावासीले उक्त भनाइ व्यक्त गर्नु भएको थियो | कार्यक्रमको सन्दर्भ थियो- अमेरिकाको वासिङ्टन डिसी आसपासका नेपाली कविहरूका पूर्व प्रकाशित केही प्रतिनिधि कविताहरूका बारेमा समालोचक प्राध्यापक ताराकान्त पाण्डेयको समीक्षात्मक चर्चा । समालोचक पाण्डेयले करिब  एक घण्टा स्थानीय ११ जना कविका प्रतिनिधि कविता र २ जना कवि/गीतकारका गीतको बारेमा संक्षिप्त  चर्चा गर्नुभएको थियो । विश्वास छ-अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) वासिङ्टन डिसी शाखाको आयोजनामा सम्पन्न यस कार्यक्रमबाट सम्बन्धित कवि र सहभागीहरूले समालोचक पाण्डेयको समीक्षात्मक चर्चाबाट उपयोगी सन्देश प्राप्त गर्नु भयो । जतिसुकै सुक्खा विधा भए पनि र लेखक/कविहरू रिसाए पनि साहित्यका अन्य विधामा नअलमलिकन निरन्तर समालोचना क्षेत्रमा क्रियाशील रहेर विश्वविद्यालयमा नेपाली भाषाको अध्यापन सेवाबाट सेवानिवृत प्रोफेसर पाण्डेय पारिवारिक भेटघाटको सन्दर्भमा अमेरिका हुनुहुन्थ्यो केही हप्ता पहिले।

समालोचक पाण्डेयले अमेरिका बासी नेपाली कविका कविताहरूमा देश प्रेम, विगतको स्मरण, अमेरिकी जीवनको आकर्षण, अमेरिकी जीवनको कठिनाइ आदिका बारेमा प्रकट गरेका भावनाहरू सुन्दर छन् तर शिल्प र सन्देशमा भने केही विरोधाभास भएको लगायतका विषयमा प्रकाश पार्नु भएको थियो । राम्रो छ भनेर प्रशंसा वा नराम्रो भयो भनेर तिक्त टिप्पणी नगरे पनि काव्य कलाको मौलिकता, सिद्धान्त, शिल्प, उद्देश्य, सन्देश र विचारका दृष्टिबाट हामी कहाँ छौँ भनेर ऐना देखाएपछि सम्बन्धित कविहरू र सहभागीहरूले आवश्यकताअनुसार आ-आफ्ना कान समात्ने वा थपडी बजाउने भनेर पनि अलमल गर्न नपर्ने रहेछ । विधा जतिसुकै सुक्खा र लेखकहरू रिसाए पनि समालोचक पाण्डेयको समालोचना क्षेत्रको निरन्तरको साधना र विज्ञताका सन्दर्भमा साहित्यकार धरावासीले उक्त भनाइ राख्नु भएको थियो ।

===

मणि भट्टराई

मणि भट्टराई

नववर्ष विसं २०८० को सन्दर्भमा कवि/लेखक मणि भट्टराईले शुभकामना सन्देशसहित एउटा गीत अर्थात् नेपाली गीत शेयर गर्दै प्रतिक्रिया पनि दिनु है भनेर लेख्नुभयो । गीत र गजलका बारेमा सिद्धान्त र विधागत बनौटका सम्बन्धमा  प्रतिक्रिया दिनु भनेको यो पङ्क्तिकारलाई नजानेको बाटो सोध्नु मात्र होइन, नजानेको बाटो हिँड्नु जस्तै हो । तिनमा हुने कलात्मक शिल्प, सन्देश, स्वर-लय वा भाकाले  आकर्षित गर्नु त स्वाभाविक नै हो । कवितामा छन्द-लय वा गद्य पद्य दुवै कविता हुन्छन्, यति चैँ सुनेको र बुझेको पनि हो । तर गीतमा हुने तत्त्व र गजलमा हुने तत्त्वहरू चैँ के के हुन् त ? ध्वनि, सुर, ताल, अन्तरा, आलाप यी आदि त आजभोलि नेपाली गीतका लागि हुने  नेपाल आइडल लगायतका प्रतिस्पर्धाहरूका निर्णायकहरूको मुखबाट सुन्न थालिएको न हो ।

च्याउ खाए न च्याउको स्वाद थाहा पाइन्छ भनेजस्तै गीत वा गजलको ज्ञान यो पङ्क्तिकारका लागि । गजलमा हुने तत्त्वहरू के के हुन् त ? त्यसो त आफ्नै वरिपरि गजल लेख्नेहरूको भिड रहेछ । सबैको नाम नलिँदा पनि अमेरिकी भूमिमा नेपाली गजलको चर्चा गर्दा गोवर्धन पूजालाई सम्झिनु पर्छ । पूजाकै भूमिका रहेको सेतो गाजल,कालो गाजल नामका दुई-दुई वटा गजल सङ्ग्रहका लेखक होमनाथ सुबेदी हुनुहुन्छ । मित्र ऋषि बस्ताकोटीलाई पनि म गजलकै विज्ञ मान्दछु। भाइ नारद निठुरी पनि गजल कै पारखी हुन् ।

मणिजीको गजल ३ पटक सुनेँ । केही साथीहरूलाई गजल सुनेर कस्तो  लाग्यो भनेर पनि सोधेँ । घरको टिभीमा युट्युब च्यानलहरूमा अधिकांश समय नेपाली गीत बजिरहेको हुन्छ । मणिजीको गीत सुनेर सुधाले प्रारम्भिक प्रतिक्रिया जनाइन्- ‘राम्रो रहेछ । मेनुका पौडेलको स्वर राम्रो छ । गीत चैँ  कसले लेखेको रहेछ ?’ पहिले पहिले गीत सुन्दा गायकमा मात्र हामी धेरैको ध्यान जान्थ्यो । त्यसपछि सङ्गीतकार तर गायकहरूले पनि  कतिपय अवस्थामा नचिन्ने गरेका गीतका लेखकहरूलाई अब भने श्रोताहरूले पनि सोध खोज गर्न थालेका छन्  गीतकार अर्थात् गीतका लेखकहरूको पनि सोधी खोजी हुन थाल्नु खुसीको कुरा हो । तर गीतकार भनेपछि लेख्ने होइन गाउनेलाई नै चिन्छौँ हामी अझै पनि ।

आफैँले पनि एक पटक उदीयमान युवा कवि नवराज पराजुलीको कविता वाचनका अवसरमा झुलुक्क जम्काभेट भएका कवि गीतकार अर्थात् गजलकार मणिजीको बारेमा सुधालाई ‘झापाली कवि हुन्’ भनेर परिचय दिएँ । सुखमना यी  कवि धरावासी दाइलाई दाइ त भन्छन् तर धरावासी दाइलाई उनले पहिले चिनेकी मैले पहिले त्यो चैँ थाहा छैन भनेर पनि सुनाएँ ?  युट्युबमा अन्य गीतहरू बजिरहेकै थिए, दोहोर्याएर श्रीमती सुधालाई नै सोधेँ मणिजीको यो गजल चैँ कस्तो लाग्यो ? मलाई १-२ शब्दमा भनिदेऊ है भन्दै म चैँ  यसका बारेमा केही लेख्न पर्यो भनेर कम्प्युटर चलाउन थालेँ ।  त्यसपछि भान्सामा कम्तीमा पनि पाँच  पटक जति मणिजीको बिनासित्ति गीत/गजल बजेको सुनेँ । सुधाले प्रतिक्रिया सुनाइन्- ‘यो गीत उपदेश दिएजस्तो रहेछ । आफ्ना बा आमाको उपदेश आफ्ना लागि हो की आफ्ना सन्तानका लागि हो त्यो चैँ लेखकलाई थाहा हुनुपर्छ ।’

सुधाका यी प्रतिक्रिया सुन्दा-सुन्दै नेपालबाट श्रवणजीले लेख्नु भयो- ‘ उपदेशात्मक छ, मानिसलाई नैतिक मूल्यभित्र रहन आग्रह गर्छ गजलले । मान्छेबाट नै मान्छे पीडित छन् भन्ने यसको मूल चिन्तन धारा छ । भावुक पनि छ | गुन तिर्नु, बदला नलिनु भन्ने नेपाली मौलिक भनाइ र आदर्शवादी मनोभावना पनि हो ।’ अरू केही साथीहरूले गीत राम्रो छ भनेर लेख्दै हुनुहुन्थ्यो । आर्ट,लिट्रेचर एण्ड म्युजिक (Art, Literature & Music) को प्रस्तुति र हरि लम्सालको सङ्गीत रहेको ६ मिनेट ५ सेकेन्डको यस म्युजिक भिडियोलाई तपाईंले याे पढ्दै गर्दा ४५ हजारभन्दा बढी  जनाले हेरिसकेका छन् । तीमध्ये ४ सय ६८ जनाको कमेन्ट र ५ सय ४४ जनाले लाइक गरेको देखिन्थ्यो  । ती  कमेन्टहरू मध्ये अघिल्ला केही कमेन्ट यस्ता छन्-

सङ्गिता बस्नेत – सब जनाले माया गरिदिनु, माया हौसलासाथ सपोट भए सब जना अगि बढ्न सकिन्छ | यसै गरी मेनुका पौडेललाई पनि अगाडि बढाउनु |

अभिजीत राई-  सुन्दर गीत र सङ्गीत । बधाई छ सम्पूर्ण टीमलाई नै (उनको कमेन्ट अङ्ग्रेजीमा छ)।

अच्युत सिग्देल-विदेशमा बसेर नेपाली भाषा,गीत, कविता (साहित्य) विधामा निरन्तर कलम चलाउनु हुने मणी भट्टराईजीको यो अर्को एउटा उत्कृष्ट रचना आएको रहेछ । मेनुका बहिनीको प्रतिभासँग मेल खाने अब्बल रचना बनेको छ। हार्दिक बधाई टिमलाई ।

मिलन लम्साल- बहुत सुन्दर रचना, मिठो स्वर र सङ्गीतको राम्रो संयोजन रहेछ ! यति राम्रो भावना भएको गजलको सिर्जनाका लागि मणिज्यूलाई धन्यवाद अनि शुभकामना |

सुमन राई- साँच्चै राम्रो गजल सिर्जना, सङ्गीत र स्वरको संयोजन सबैलाई नववर्षको शुभकामना । पक्कै पनि यो गजलले नेपाली गजलको क्षेत्रमा एउटा इँट थप्नेछ ।

याम सिटौला- यो गजल नै यस्तै होला कि भित्रै डुबेर सुन्दा मात्र आनन्द मिल्ने | शब्द र सङ्गीत राम्रो छ ।

निरा शर्मा- मणि भट्टराई गीत गजलको दुनियाँमा मलाई औधी मन पर्ने नाम हो । जुन गीत सुन्दा पनि मेरै कथा लेखेजस्तो सुन्ने सबैलाई लाग्छ । यो नै शब्दको शक्ति हो । बधाई अनि शुभकामना कविजी | अब स्वरको त कुरै नगरौँ । बहिनीको स्वर मन नपराउने को होला र ? बहिनीलाई अझै प्रगतिको शुभकामना ।

कृष्ण धरावासी – गजल गायन दुवै अत्यन्तै मन छुने लाग्यो । मणिका यसअगिका गीतहरूले झैँ यसले पनि घोत्लिन लगायो । बधाई दुवैलाई !
स्वप्निल यात्रा – साह्रै मिठो गजल । शब्द, सङ्गीत, एरेन्ज सबै मिठो । स्वर त भन्नै परेन कर्णप्रिय ।

===

गजलका तत्त्वहरू के के हुन् त भनेर म पनि भन्न सक्दिन । गायन,सङ्गीत कर्णप्रिय नै लाग्छ । सुन्दा मिठो,सकारात्मक सन्देश र प्रेरणादायी भावना, मानवीय हित,धार्मिकता,नैतिक कर्तव्य वा मानवीय दायित्व के मात्र भनौँ ? एउटै गजलमा यतिका धेरै विषय कसरी अटाएको होला हँ ? तर पनि यतिले मात्र मन मानेन ! मणिजीको एउटा म्यासेजले अर्थात् एउटा गजलले तिन दिन रन्थनायो मलाई- ‘यो गजल कस्तो हो ? यसको स्वर-गायकी, सङ्गीत र सन्देश के हो ?’ राम्रो छ मणिजी, बधाई भनेर लेखिदिन छोडेर यतिका घोत्लिनु किन ? तीन दिनमा त गीत लेखेर, सङ्गीत भरेर, गाएर पनि युट्युबमा शेयर गरिसकेको नै हुनुपर्छ । यतिका मानिसले लाइक, कमेन्ट, शेयर र सस्क्राइब गरिसके । मणिजीलाई पनि लाग्यो होला- लेखनाथले ‘गजलको टेक्स्ट पनि पठाइदिनु है । म एक पटक अक्षरशः हेर्छु । भनेर म्यासेज लेख्नुको के काम ? अब टेक्स्ट पढेर के गर्नु ? गीत सुने त भइहाल्यो नि !’ हो पनि ।

केही दिन पहिले नेपाली बालबालिकाहरूको गायन प्रतियोगिता ‘द भ्वाइस  किड्स’ मा गायक अर्थात् निर्णायकहरू मध्येमा एक मिलन नेवार गायनमा प्रतिस्पर्धा गरिरहेका बालबालिकाहरूलाई भन्दै थिइन्- ‘गायन कलालाई आकर्षक बनाउन अरू धेरै कुराहरू पनि महत्त्वपूर्ण हुन्छन् नै तर ध्यान दिनै पर्ने पहिलो कुरा चैँ गायकी नै हो । गायकीमा सुर, ताल, लय आदि सङ्गीतमा त मिल्नै पर्छ । हर्कत आदिका कुरा त्यसपछिका कुरा हुन् । ‘

एउटै कुरालाई सुन्दा, पढ्दा र हेर्दा अलग अलग मानिसमा अलग अलग बुझाई/अनुभूति हुनसक्छ तर गायक मिलन नेवारले भनेजस्तै गाउँदा स्वर, लेख्दा भावना वा सन्देश, बाजा बजाउँदा लय वा धुन नै पहिलो र महत्त्वपूर्ण  कुरा हुन् । मलाई पनि लाग्यो मणिजी लेखक हुन् र उनको कला कौशलको पारखी लेखनमा नै हुनुपर्छ । उनको मूल्याङ्कन लेखनको भावना र सन्देशमा नै हुनुपर्छ । अक्षरशः हेर्न वा पढ्नका लागि मणिजीले गजलको फूल टेक्स्ट नपठाएपछि तेस्रो पटकको श्रवणमा मैले नै गजल कपीमा उतारेँ र शब्दहरू हेर्न थालेँ ।

आठ हरफको यस गजलमा गजल विधानका दृष्टिले मिल्न पर्ने  मिसरा,मतला, शेर, काफ़िया, रदीम, बहर के के हुन्छन् ? यस्तै अरू पनि  हुनुपर्छ । ती मिलाउने र नमिलेको भए सच्याउने जिम्मा गजल लेखक र यसका विज्ञ समालोचकहरूकै हो । तर एउटा श्रोता वा पाठकका रूपमा गजल सुन्दा र पढ्दा  लागेको वा लागेको मात्र होइन देखिएकै कुरा चैँ के हो भने गजल, सकारात्मक सन्देश र प्रेरणादायी पनि छ । तर बिनासित्ति, यो शब्द चैँ नभएको भए अझै राम्रो । मेरो अनुमान सङ्गीत नमिलेको भन्छन् वा विरोधाभास ? बिनसित्ति, यद्यपि यो शब्द यसको मूल चिनारीका रूपमा आएको छ | बिनसित्ति, यो शब्दले गुन तिर्नु बदला नलिनु  अथवा बदला शब्दसँगको अर्थ र सन्देशसँग मेल खाँदैन | पेट बोलीमा परेका यी चार शब्द  ‘गुन तिर्नु बदला नलिनु’ चैँ   यस गजलका केन्द्रीय शक्ति र सन्देश बाहक पनि हुन् । यस गजलको मुटु र रक्त प्रवाह गर्ने नसा यिनै ४ शब्द हुन्- गुन तिर्नु बदला नलिनु ।

तर ‘बिनासित्ति’ यो शब्दले गुन तिर्ने वा गुन लाउने कुरालाई नभएर बदला चैँ कुनै कारण छ भने लिनु वा कारण छ भने बदला लिए पनि हुन्छ भनेको छ-‘बिनासित्ति कसैलाई नपिर्नु तिमीले’ले चैँ। किनकि बदला भनेकै ‘बिनसित्ति’ अर्थात् अकारण होइन वा हुँदैन । बिनसित्ति कारण नहुँदाको प्रतिक्रिया हो भने बदला कारणसहितको प्रतिक्रिया हो । सुरुमा बिनासित्ति वा  कुनै कारणबिना, कारण नहुँदा मात्र कसैलाई नपिर्नु तर कुनै कारण छ भने पिरे हुन्छ अर्थात् बदला लिए हुन्छ भन्ने सङ्केत गरेका लेखकले त्यसपछि चैँ कारण नै भए पनि बदला नलिनु भनेका छन् ।

बदला लिनु चैँ अकारण होइन, कुनै कारणले हो । कुनै कारण हुँदा पनि बदला नलिने तर बिनासिति नपिर्नुले चैँ कारण हुँदा पिर्नु वा बदला लिनु भनेको अर्थ सन्देश दिएको/गएको छ भन्ने यो पङ्क्तिकारको बुझाइ गलत भए जाति । तर यस सत्कामनाले शब्दको अर्थ र सन्देशमा फरक पार्छ होला र मणिजी ? कारण हुँदा पनि बदला नलिनु र गुन तिर्नु चैँ महत्त्वपूर्ण वा ठुलो त्याग हो ।

मणिजी, माफ गर्नुहोला है- यो दुःख मैले आफैँ रोजेको हुँ । लाइक, कमेन्ट, शेयर र सस्क्राइब गर्न त मैले छोरीहरूको सहयोग लिनुपर्छ ।  एक चौथाइको काम पनि लिन नसकिने हातको स्मार्ट फोनको विकल्प पनि त छैन ! कति साना कुरामा अल्झेर बसेको ठान्नुहोला विज्ञ पाठकहरूले | माफ गर्नुहोला- सु-स्वाद व्यञ्जनमा पनि गाँसमा ढुङ्गा लागेपछि मनले माने पो !