![](https://sahityapost.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-01-27-at-11.02.31-PM.jpeg)
बहुआयामिक प्रतिभाका धनी विश्वेश्वरप्रसाद कोइरालाका योगदानलाई नेपालको राजनैतिक परिप्रेक्ष्य, प्रजातान्त्रिक आन्दोलन र भारत-नेपाल बीचको राजनैतिक सम्बन्ध विकासको दृष्टिले धेरै पत्र-पत्रिका र पुस्तकहरुमा मूल्याङ्कन हुँदै आएका छन् । तर यो अध्यायलाई पन्साएर हेऱ्यौँ भने उनको योगदानको अर्को एक पाटो पनि हामी समक्ष छ, त्यो हो नेपाल र भारतमा नेपाली साहित्य र यसमा उनको योगदान छ । यसैले यहाँ उनको साहित्यिक योगदानलाई मात्र लिएर चर्चा गरिन्छ।
विश्वेश्वरप्रसाद कोइरालाले जहिलेदेखि कलम चलाए त्यसै समयदेखि उनको रचनाहरुले कुनै र कुनै रुपमा भारत-नेपाल सम्बन्धलाई एक सुत्रको रुपमा जोड्ने काम गरेको देखिन्छ । विश्वेश्वरप्रसाद कोइरालालाई नेपाली साहित्यमा अति नै ख्यातिप्राप्त मनोविश्लेषणात्मक कथाकार र उपन्यासकारको रुपमा जानिन्छ । स्मरण रहोस्, नेपाली साहित्यका यति लोकप्रिय कथाकार तथा उपन्यासकारले नेपाली भाषामा त पछिबाट लेख्न थालेका हुन् । उनले लेखन सुरु गरेका हुन् हिन्दीमा ।
![](https://sahityapost.com/wp-content/uploads/2022/12/naina-subba-baraeli.jpg)
नैना सुब्ब बराइली
भारतको वनारसमा जन्म ग्रहण गरी भारतबाटै उच्च शिक्षा आर्जन गरी भारतकै स्थिति परिस्थितिको अवरोह आरोहसित सापेक्षित हुँदै अघि बढ़ेका विश्वेश्वर प्रसाद कोइरालाले सानै उमेरदेखि कलम चलाउन थालेका हुन् । भारतको बनारसमा दसौं कक्षा पढ्दा नै विश्वेश्वरप्रसाद कोइरालाको पहिलो साहित्यिक रचना ‘वहाँ’ नामक हिन्दी लघुकथा प्रकाशित भएको थियो । प्रेमचन्दद्वारा सम्पादित बनारसबाट निस्कने ‘हंस’ पत्रिकामा सन् १९८७ साल माघ महिनामा यो कथा प्रकाशित भएको थियो ।
त्यसपछि सुरु भएको उनको लेखन क्रम अन्तर्गत उनका कैयौं हिन्दी कथाहरु भारतका विभिन्न ठाउँहरुबाट प्रकाशित हुने पत्र-पत्रिकाहरुमा देखा पर्दै गए । कलाकत्ता, पटना, इन्दौर र इलाहावादबाट निस्कने क्रमशः ‘विशाल भारत’, ‘हिमालय’, ‘वीणा’ र ‘भविष्य’ जस्ता पत्रिकाहरूमा पनि कोइरालाका हिन्दी भाषाका रचना प्रकाशित हुन थाले । महात्मा गान्धी, नेहरु, प्रेमचन्द, शान्तिप्रिया, रामकृष्ण दास, जयशंकर र सुमित्रानन्दन पन्त आदिका रचनाहरुबाट उनी अति प्रभावित थिए । यसका साथै उनले विदेशी प्रख्यात साहित्यकारहरु फ्रायड, जर्ज बर्नार्ड’शा लगायतका साहित्यकारहरुका पुस्तकहरु पनि अध्ययन गरे । भारतीय चर्चित कथाकार प्रेमचन्दसित उनको राम्रो सम्बन्ध थियो ।
नेपाली भएर पनि हिन्दी साहित्य जगत्मा आफ्नो उपस्थितिको तड्कारो छाप बसाउँदै आफ्नो साहित्यिक यात्रा सुरु गर्ने विश्वेश्वरप्रसाद कोइरालाको लेखनले त्यसै समयदेखि हिन्दी र नेपाली साहित्य बीचको सूत्रधारको काम गर्न थालेको थियो ।
शिक्षार्जनको क्रममा वनारस हिन्दु विश्वविद्यालयबाट डिग्री हासिल गरेपछि उनले सन् १९३७ मा कलकत्ता विश्वविद्यालयबाट एल.एल.बी गरे । त्यसपछि कानुन व्यवसायीको रुपमा अभ्यासको लागि उनी दार्जीलिङ्ग गए । दार्जीलिङ्गमा छँदा त्यस समय नेपाली साहित्यको फूलबारीमा मलजल हालेर हुर्काउनमा लागिपरेका रुपनारायण सिँह, सूर्यविक्रम ज्ञवाली, धरणीधर र पारसमणि प्रधान लगायतका थुप्रै थुप्रै साहित्यकारहरुसित उनको मेलजोल बढ़्यो। त्यसै समय हिन्दी कथा साहित्यमा उनको दखल बुझेपछि सूर्यविक्रम ज्ञवालीले कोइरालालाई पत्र लेखी नेपाली भाषामा रचनाहरू लेख्ने अनुरोध गरेका थिए ।
ज्ञवालीकै प्रेरणाले र प्रबल राष्ट्रवादको भावनाले उनले नेपाली कथा लेखनतर्फ ढल्कने विचार लिए । त्यसपछि वि.सं.१९९२सालमा काठमाडौँबाट निस्कने ‘शारदा’ पत्रिकामा कोइरालाको पहिलो कथा ‘‘चन्द्रवदन’’ प्रकाशित भएको हो । त्यसपछि उनले नेपालीसाहित्यमा अति राम्रा राम्रा कथाहरु लेख्दै गए। वि.सं १९९५ मा सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित ‘कथाकुसुम’-मा उनको तीनवटा कथाहरु प्रकाशित भएका थिए । ती तीन कथाहरु हुन्- ‘बिहा’, ‘शत्रु’ र ‘सिपाही’। वि. सं. १९९६ र १९९७ मा उनका ‘प्रेम’, ‘दुलही’ र ‘द्वन्दप्रेम’ आदि कथाहरू ‘शारदा’ मा प्रकाशित भएका थिए।
![](https://sahityapost.com/wp-content/uploads/2022/12/विश्वेसर-प्रसाद-कोइराला.jpg)
विश्वेश्वरप्रसाद कोइराला
‘मधेसतिर’ शीर्षकको कथा १९९८ मा दार्जीलिङ्गबाट प्रकाशित हुने ‘खोजी’ पत्रिकामा पनि प्रकाशित भएको थियो। सन् १९४९ मा १६ कथाहरुका सङ्ग्रह ‘दोषी चश्मा’ शीर्षकले प्रकाशित भएको हो, जसमा परेका उत्कृष्ट कथाहरु हुन् – दोषी चश्मा, बिहा, हरिदत्त, प्रेम, कर्नेलको घोडा, पवित्रा, होड, कथा, पुस्तक, स्कूल मास्टर, सखी, स्वेटर, बौलाहा, रिक्सा तान्ने, मधेसतिर र सिपाही। यिनै कथाहरुले नेपाली कथा परम्परामा मनोवैज्ञानिक लेखनको नयाँ मोड सिर्जना गर्ने कथाकारका रूपमा उनलाई स्थापित गऱ्यो। यही क्रममा कोइरालाले साहित्यका विभिन्न विधाहरूमा आफूलाई सक्रिय राखे तर उनले विशेष ख्याति भने आख्यान (कथा र उपन्यास) विधामै आर्जन गरे ।
कथा साहित्यबाहेक नेपाली उपन्यास साहित्यलाई पनि विश्वेश्वरप्रसाद कोइरालाले राम्रा-राम्रा उपन्यासहरुले धनी तुल्याएका छन्। स्वच्छन्दवादी र मवोविश्लेषणात्मक ढङ्गले लेखिएका उनका उत्कृष्ट उपन्यासहरु हुन्—नरेन्द्र दाइ, तीन घुम्ती, सुम्निमा, मोदिआइन, हिटलर र यहुदी तथा बाबु आमा र छोरा ।
उनको उपन्यास ‘तीन घुम्ती’ मा नारीका तीन रुप प्रेमिका, पत्नी र आमाको चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनतृप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीकृत भएपछि छोरी लिएर एक्लै बस्ने निर्णयमा आधारित उपन्यास हो यो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो ‘तीन घुम्ती’।
‘सुम्निमा’ उपन्यासमा दुई भिन्न संस्कृतिको समन्वय, सम्मिश्रणको गाथा पाइन्छ। ‘नरेन्द्रदाइ’ एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नी र प्रेमिका दुई छुट्टा छुट्टै सम्बन्धमा बाँधिएका दुई स्त्रीहरु बीचको कथा हो। नायक नरेन्द्रलाई पत्नी गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र उपन्यासमा दुवैको आ-आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्वीकार गरिएको देखाइएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नी र सामाजिक ग्रार्हस्थ्य सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका – दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ ‘नरेन्द्र दाइ’ उपन्यासमा ।
उनको ‘मोदिआइन’ यो सानो आकारको तर महत्त्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो। त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रुपमा ‘मोदिआइन’ लाई खड़ा गरिएको छ अनि प्रस्तुत उपन्यासकी प्रमुख पात्रको रुपमा विचित्रताका साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो ।
अर्को उपन्यास ‘हिटलर र यहुदी’ जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा लेखिएको उपन्यास हो । उपन्यासमा कृष्ण र हिटलरलाई एकतर्फ देखाएर पूर्वीय मान्यतामै द्वन्द्व सृजना गरिएको छ र यो उपन्यास नामअनुसार ऐतिहासिक पृष्ठभूमिको झलकले भरिएको पनि छ । हिटलरले गरेको नरसंहार र युद्ध वीभत्सता देखाएर यसमा पनि शान्ति नै मूल आधार हो भन्ने कुरा प्रस्ट पारिएको छ ।
उपन्यास ‘बाबु, आमा र छोरा’ प्रकाशनका दृष्टिले पनि अन्तिम उपन्यास हो । यसमा नामअनुसार नै तीन पात्रहरुको सम्बन्धको चित्रण गरिएको छ । यस उपन्यासमा यी तीनवटै पात्रहरुको मनोदशा, द्वन्द्व र यौन मनोविश्लेषणको चित्रण गरिएको छ ।
लेखनको प्रारम्भिक कालमा हिन्दीमा नै तटस्थ रहने कोइरालाले आफ्नो कलमलाई नेपाली साहित्यतर्फ नमोडेको भए उनी हिन्दी साहित्यकै इतिहासमा हिन्दी साहित्यकारको रुपमा प्रतिस्थापित हुने थिए । आफ्नो पुस्तक ‘झ्यालबाट’ मा डा. ईश्वर बराल लेख्छन्- “हिन्दुस्तानको राष्ट्रिय चेतना उद्बुद्ध भएका युगमा नजन्मेको भए वा नहुर्केको भए, चेतन राजनैतिक राष्ट्रसेवीमाझ बसउठ नभएको भए र मन साथै हृदय नेपाली जनता र स्वराष्ट्रिय उन्नतितिर आकर्षित नभएको भए सके कोइराला हिन्दीमै कथा लेख्नु हुन्थ्यो र हिन्दीका कथासाहित्यमा उन्नत कथा शिल्पीको तपसीलमा आफ्नो नाउँ दर्ता भएको अवश्य पाउनु हुन्थ्यो।”
विश्वेश्वरप्रसाद कोइरालाको कलम नेपाली र हिन्दी दुवै भाषाहरुमा चल्यो । दुवै देश उनको साहित्य साधना भूमि रह्यो। दुवै साहित्यमा उनको योगदान पुग्न गएको छ। दुवै देशका साहित्यकारहरुसित उनको घनिष्ठ सम्बन्ध रह्यो र विचारहरुका आदान-प्रदान भए । उनको यही योगदानको कदर गर्दै भारत र नेपाल दुवै देशको पहलमा ‘भारत-नेपाल वी.पी.कोइराला फाउण्डेसन’-को स्थापना भएको छ, जसको कार्यालय दुवै देशको दूतावासमा छ अनि यो संगठनले साहित्य र संस्कृतिको माध्यमले दुवै देशको सम्बन्धलाई दरिलो बनाउने र दुवै देशको जन जनलाई जोड्ने काम गर्दै आएको छ।
आफ्नो कलमको माध्यमले नेपाल र भारतलाई जोड़ेर राख्ने र नेपाली र हिन्दी दुवै साहित्यमा योगदान पुऱ्याउने विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं १९७१ मा भएको थियो भने मृत्यु वि.सं २०३९ मा भएको थियो । साहित्यमा स्वच्छन्दतावादी धारका मूर्धन्य व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक योगदान दुवै देशको सम्बन्धको इतिहासमा सदैव अक्षुण्ण रहनेछ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)