Chovar Blues Mobile Size

१. जन्म र बाल्यकाल

राजेन्द्र भण्डारीको जन्म गहिरी गाउँ, बम बस्ती कालिम्पोङमा २८ सितम्बर १९५६ मा भएको हो । उनको पिताको नाम स्व. भगीरथ भण्डारी र आमा स्व. साबित्री भण्डारी हो । घरमा धार्मिक आध्यात्मिक परिवेश थियो। उनका पिताजी स्वयम् एक एकजना कुशल साहित्य मर्मज्ञ, कवि, आध्यात्मिक र धर्म चिन्तक थिए । उनले घरमा गाउँबस्तीको गरिने सामान्य कामहरू जस्तै गाई बाख्रालाई घाँस काट्नु, दाउरा काट्नु, धान र मकै रोप्नु, सब्जी उपार्जन गर्नु आदि गरिआएका हुन् । उनलाई माटोको गन्ध थाहा छ, पानी- झरी, जाडो- गर्मी सबै झेलेका हुन् । बाल्यकाल प्रायः गरीबी र शारीरिक श्रम गरेर नै बितेको भए तापनि विद्या हासिल गर्न भने घरका छोराछोरी पछि हटेका थिएनन्।

२. शिक्षा-दीक्षा

नवीन पौड्याल (कालिम्पोङ)

उनले शिशु श्रेणीदेखि स्थानीय गणेश प्राथमिक पाठशाला र गणेश निम्न माध्यमिक विद्यालयमा आठौं श्रेणीसम्म पढेपछि कुमुदिनी विद्याश्रम नवौं, दशौं र एघारौं अध्ययन गरेपछि उति बेलाको हायर सेकेन्डरी उत्तीर्ण गरेका हुन् । (उति बेला माध्यमिक परीक्षा प्रणाली थिएन) त्यसपछि कालिम्पोङ महाविद्यालयबाट स्नातक अध्ययन गरेपछि उत्तर बङ्गाल विश्वविद्यालयबाट स्नातकोत्तर सन् १९८१ मा उत्तीर्ण गरेका हुन् । त्यसपछि आफ्नो अध्ययनलाई बढाएर सन् २००२ मा विद्यावारिधि हासिल गरेका हुन् । उनी साहित्यका गहन अध्येता हुन् । अहिले पनि साहित्य अध्ययन र लेखनमा सक्रिय छन् ।

३. नोकरी 

राजेन्द्र भण्डारीले आफ्नो जीवनको पहिलो नोकरी सन् १९७५ मा खाद्य आपूर्ति विभाग, गान्तोकमा लगभग एक वर्षजति गरेका हुन् । त्यसपछि सन् १९७६ को नोभेम्बरदेखि स्टेट बैंक अफ सिक्किमको कनिष्ठ अधिकारी भएर सन् १९८३ सम्म नोकरी गरेका हुन् । त्यसपछि सन् १९८४ अगस्टदेखि १९८६ को अगस्टसम्म जम्मा २ वर्ष जति सोरेङ उच्चतर माध्यमिक विद्यालयमा शिक्षण कार्य गरेका हुन् । त्यसपछि १९८६ को सितम्बरदेखि भने उनी सिक्किम सरकारी महाविद्यालय तादोङमा प्राध्यापनको सेवा पुर्याएका हुन् । यसै महाविद्यालयबाट २०१६ मा सेवानिवृत्त भएका हुन् ।

४. रूचि

कविता लेख्नबाहेक भण्डारीको किताब पढ्न अत्यन्त रूचि देखिन्छ । उनले समसमायिक हिन्दी, अङ्ग्रेजी र नेपाली साहित्य अध्ययन गर्दछन् । यसकारण समसामयिक साहित्यसित उनी लगभग परिचित छन् । विश्व साहित्य कता जाँदैछ ? कुन कुन मार्गतिर जाँदैछ ? कस्तो प्रवृत्ति चल्दैछ ? प्रायः धेरथोर जानकारी राखेका हुन्छन् । उनको नेपाली, हिन्दी, बङ्गला र युरोपका अन्य साहित्यका कविहरूसित पनि आफ्नो सुसम्बन्ध र सम्पर्क रहेको पाइन्छ । उनका युरोपलगायत विदेशी र भारतका हिन्दी, मराठी, बङ्गला आदि भाषाका कविहरूसँग मित्रता र सुसम्पर्क रहेको थाहा पाइन्छ । उनीहरूसँग भण्डारीको सामाजिक सञ्जाल इमेल आदिमा साहित्यिक चर्या, परिचर्चा, अनुवाद विमर्श आदि चलिरहन्छ।

डा. राजेन्द्र भण्डारी
चित्र : जीवित खड्का मगर

उनी सुगम सङ्गीतका गम्भीर स्रोता र पारखी हुन् । नारायण गोपाल उनको प्रिय गायक हुन् । उनी नारायण गोपालकै गीत गुनगुनाउँछन्, एकाग्रमा भएर सुन्छन् । उनको एउटा कवितामा नारायणगोपालप्रतिको उद्गार पनि अभिव्यक्त भएको पाइन्छ । अन्य गायकका त पनि सुन्ने गर्छन् । गीत सुन्नु र गीतको शाब्दिक रचनाको खोजी-चर्चा गर्नु पनि उनको रूचि देखिन्छ।

५. आदर्श शिक्षक

राजेन्द्र भण्डारी एक इमानदार, कर्तव्यपरायण र आदर्श शिक्षक हुन् । उनका निम्ति आफ्नो विद्यार्थीहरू छोराछोरीसरह हुन्। विद्यार्थीहरूका निम्ति पनि प्रिय गुरूबा हुन्। उनले १९८६ देखि सिक्किम सरकारी महाविद्यालय तादोङ (वर्तमान नरबहादुर भण्डारी महाविद्यालय) मा सेवा प्रदान गरेर २०१६ मा सेवानिवृत्त भएका हुन् । यति लामो अवधिमा उनले धेरै विद्यार्थी कमाए, धेरैलाई मार्ग निर्देशन गरे । छोरीछोरीसरह विद्यार्थीको उज्जवल भविष्यका निम्ति कम्मर कसे। अहिले उनका विद्यार्थी सिक्किमभरि टुङ्गा टुङ्गामा पुगेका छन्, प्रायः ठुल्ठुला ओहदामा पुगेका छन्। उनीहरू अधिकांश पुष्पित पल्लवित छन्। उनका विद्यार्थीहरू मुख्यमन्त्रीदेखि लिएर मन्त्री, निर्देशक, उच्च पदस्थ अधिकारी, प्राध्यापक सबै किसिमका छन् ।

६. विदेश यात्रा

भारतीय नेपाली थोरै कविहरूमा राजेन्द्र भण्डारीले युरोपतिर गएर आफ्ना कविता सुनाएका वा कविगोष्ठीहरूमा सहभागी हुन पाएका हुन् । उनी २०१६ मा जर्मनीको बर्लिनमा आयोजित १७ औं अन्तर्राष्ट्रिय कविता महोत्सवमा आफ्नो कविता वाचन गर्ने अवसर पाएका हुन् । यस महोत्सवमा ९० वटा भन्दा बढी देशका कविहरूको सहभागिता रहेको थियो । त्यसै गरी २०१७ मा सिरियाइ शरणार्थीहरूको समर्थन र ऐक्यबद्धताका लागि इटलीको रोममा आयोजित अन्तर्राष्ट्रिय कविता गोष्ठीमा पनि आफ्नो कविता सुनाउने अवसर पाएका हुन् । यस गोष्ठीमा ६० भन्दा बढी देशका कविहरूको सहभागिता थियो।

७. मान सम्मान र पुरस्कार

राजेन्द्र भण्डारीले साहित्यमा विशिष्ट सेवा पुर्याएबापत धेरै ठाउँबाट सम्मानित, अभ्यर्थित र पुरस्कृत भएका छन् । यिनले हासिल गरेका पुरस्कारहरूमा दियालो पुरस्कार, दार्जलिङ (१९८१), शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार, (१९९९), शिवकुमार राई स्मति पुरस्कार (२०००), गुमानसिंह चामलिङ स्मृति पुरस्कार, विजनबारी (२००७), भाइचन्द प्रधान स्मृति पुरस्कार, कालेबुङ (२००८), नेपाली साहित्य परिषद् गान्तोकको भानु पुरस्कार (२००९), विश्व नेपाली स्रष्टा सम्मान (२०१४), सिक्किम राज्य साहित्यश्री सम्मान, गान्तोक (२०१४), गोर्खा प्रतिभा पुरस्कार, सिलगढी (२०१४), नेपाली साहित्य अध्ययन समिति, कालेबुङको पारसमणि प्रधान पुरस्कार (२०१४), भारतीय नेपाली शिखर सम्मान गान्तोक (२०१७), र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको पक्षबाट प्रदान गरिने अगमसिंह गिरी पुरस्कार (२०१९) आदि हासिल गरेका हुन्। उनी विभिन्न स्थानका संस्थाबाट पनि सम्मानित भएका छन्।

८.साहित्यिक व्यक्तित्वका रूपमा 

राजेन्द्र भण्डारीका साहित्यिक व्यक्तित्वमा एक सिद्धहस्त कवि, एक दक्ष समालोचक, एक कुशल सम्पादक, एक सफल अनुवादक र एक कविता मर्मज्ञ हुन् । उनका साहित्यिक व्यक्तित्वका अलगअलग पाटालाई अध्ययन गरेर हेर्न सकिन्छ । उनी साहित्यका एक प्रखर अध्येता पनि हुन् । उनले नेपाली, अङ्ग्रेजी, हिन्दीका कृतिहरू पढ्ने गर्छन्।

८.१. कविका रूपमा राजेन्द्र भण्डारी 

राजेन्द्र भण्डारी मूलतः कवि हुन् । उनको कवित्वको स्फुरण कलिलै उमरदेखि भएको हो । घरका परिवेश नै साहित्य सिर्जनका निम्ति अनुकूल थियो । उनका पिताजी स्व. भगीरथ भण्डारी नै एक कुशल कवि थिए । उनको पनि छन्दोबद्ध कवितासङ्ग्रह शब्दाञ्जलि र श्रीमद्भागवत गीतालाई झ्याउरे छन्दमा रचेका लोकगीताको प्रकाशन गरेका छन् । उनका दाजुहरू पनि साहित्य अध्येता हुन् । यिनको माल्दाजु देव भण्डारी कुशल कथाकार, उपन्यासकार र कवि हुन् । घरमा धार्मिक र साहित्यिक पुस्तक आदि हुन्थे । घरका प्रायः दैनिक रूपमा अभिभावकहरूको आध्यात्मिक र साहित्यिक चर्चा र गफ हुने गर्थ्यो । यसैबाट उनको कवित्वको बीज रोपिएको हुनसक्छ ।

सर्वप्रथम सन् १९७५ मा पहिलोचोटि कविता पूर्व पश्चिम मधुपर्क पत्रिकामा प्रकाशित भएको थियो । सन् १९७९ मा प्रथम कवितासङ्ग्रह प्रकाशन सुरू भएर अहिलेसम्म पनि कविता लेखन प्रकाशन जारी छन् । ‘हिउँदे यी चिसा रातका पर्दाहरूमा’ (१९७९)’, “यी शब्दहरू यी हरफहरू’ (१९८६), ‘क्षऱ अक्षर’ (१९९८), ‘शब्दहरूको पुनर्वास’ (२०१०), ‘प्वाँखहरू र आकाश’ (चयनित कवितसङ्ग्रह, (२०११) ‘इतिहासको बाडुली’ (२०१९) गरी हालसम्म उनका छवटा मूल कवितासङ्ग्रह र एउटा कवितासङ्ग्रह प्रकाशित भएका छन्। सङ्ग्रहबाहिर पनि उनका कविता प्रशस्त मात्रामा प्रकाशित छन्।

८.२. समालोचकका रूपमा राजेन्द्र भण्डारी 

राजेन्द्र भण्डारी एक विशिष्ट कविका साथै एक दक्ष समालोचक पनि हुन् । उनले सिक्किमेली कथा परम्परामाथि विद्यावारिधि सम्पन्न गरेका हुन् । उनले १९८५ देखि नै समालोचनामा कलम चलाएका छन् । उनको प्रकाशित समालोचनाको पुस्तकमा लीला लेखन (सहलेखन), सिक्किमका नेपाली कथाको अध्ययन (2022) देखिन्छन् । उनले प्रतिमान नामक समालोचना सङ्ग्रहको कुशल ग्रन्थको सम्पादन गरेका छन् । यसको सम्पादकीयमा नै उनको समालोचनात्मक सिर्जना झल्किन्छ ।

उनका अनेकौं लेखादि जर्नल, पत्रिका र पुस्तकतिर धेरै समालोचनाका लेखादि प्रकाशित छन् । उनका केही उल्लेखनीय समीक्षात्मक लेखहरूमा खलील जिब्रान व्यक्ति अनि कृतित्व, जापानी हाइकु परम्परा र महाकवि वाशो, कवि वीरेन्द्र सुब्बा कवितायात्रा, भारतीय नेपाली कथा एक सर्वेक्षण, पारसमणि प्रधान उहिलेदेखि अहिलेसम्म, नेपाली समालोचना प्रवृत्ति अनि सम्भावना र भविष्य, नोर्जाङ स्याङ्देनका कविताहरू एउटा चिनारी, भारतीय नेपाली कथा अभिप्राप्ति र सीमा आदि रहेका छन् ।

सिक्किमका नेपाली कथाको अध्ययन ग्रन्थमा सिक्किमेली कथाको परम्परा र प्रवृत्तिको सर्वेक्षणका क्रममा स्वच्छन्दतावाद, सामाजिक यथार्थवाद, मनोविश्लेषात्मकता यथार्थवाद, समाजवादी यथार्थवाद, अस्तित्ववाद आदिको सैद्धान्तिक पक्षमाथि पनि गम्भीर अध्ययन गरिएको पाइन्छ भने यी प्रवृत्तिका आधारमा सिक्किमली कथाहरूको अध्ययन गरिएको छ । शोधग्रन्थका रूपमा रहेका यस पुस्तकले सिक्किमेली कथाहरूको लेखाजोखा गरेको छ ।

उनको अङ्ग्रेजीमा पनि समीक्षा प्रकाशित भएको देखिन्छ । उनले विशेषगरी नेपाली कथालगायत कविताको सैद्धान्तिक, विवेचनात्मक र व्यवहारिक समालोचना लेखेका छन् । यिनी विश्वसाहित्यका गहन अध्येता हुनाले यिनका समालोचना विश्वसाहित्य प्रसङ्गको नयाँ साहित्य सिद्धान्तका आधारमा कृति समीक्षा गरिएको पाइन्छ । उनी साहित्यका गहन अध्येता हुनाले उनको समीक्षामा कृतिभित्रका विविध पक्षलाई अन्वेषण गरिएको हुन्छ । विषयगत गहिराइ, सूक्ष्म विश्लेषण, अन्वेषणात्मकता प्राज्ञिकता आदि उनको समालोचकीय विशेषता हुन् ।

८.३. सम्पादकका रूपमा

राजेन्द्र भण्डारी एक कुशल सम्पादक हुन्। उनले सम्पादन गरेको दृष्टिकोण (१९८८) एकै अङ्क भए पनि स्तरीय पत्रिकाको डा. घनश्याम नेपालसित मिलेर सम्पादन गरेका हुन्। यस पत्रिकामा धेरै गहकिला लेखादि समावेश छन्। यसैगरी उनले प्रतिमान (१९८६) मा आत्म बाइबासित मिलेर सम्पादन गरेका छन्। यस समालोचनाप्रधान पुस्तकमा पनि प्रायः सबै लेख उच्चस्तरीय छन्। नेपाली साहित्य इतिहासमा यस पुस्तकको महत्त्वपूर्ण स्थान छ। उनले सम्पादन गर्दा लेखको भाव, शिल्प, भाषा आदिमा सचेत छन् । लेखको मूल्यवत्ता अनुसार पत्रिकालाई स्तरीय बनाएका छन् ।

८.४. अनुवादकका रूपमा

राजेन्द्र भण्डारी एक कुशल अनुवादक पनि हुन् । उनी अङ्ग्रेजी भाषाका राम्रा ज्ञाता हुन् । उनले आफ्ना लगायत अरूका पनि केही कविता नेपालीबाट अङ्ग्रेजीमा र अङ्गेजीबाट नेपालीमा अनुवाद गरेका छन् । कविताको मर्मलाई यथावत् राखेर अनुवाद गर्नु भनेको कठिन कार्य हो । उनले अनुवाद गरेका केही कविता सिक्किमका पत्रिकाहरूमा प्रकाशित छन् ।

८.५. अनुवादहरूमा राजेन्द्र भण्डारी

राजेन्द्र भण्डारीका केही कविताहरू अन्य भाषामा अनुदित भएका छन्। उनका कविताहरू हिन्दी, अङ्ग्रेजी, बङ्गला, उडिया, असमीय, पञ्जाबी भाषामा अनूदित-प्रकाशित भएका छन् । उनका कविताको अङ्ग्रेजी अनुवाद साहित्य अकादमीको Contemporary Indian Literature नामक पत्रिकामा पनि प्रकाशित छन् । उ

नका सबैभन्दा बढी कविता प्रा. पङ्कज थापाले अँग्रजीमा अनुवाद गरेका छन्। हिन्दीमा बिर्ख खँड्का डुवर्सेली अनुवाद गरेका छन्। अभय केले सम्पादन गरेको Great Indian Poem मा उनको कविता ‘समय बित्दैन’- को अँग्रेजी अनुवाद (अनुवादक श्री अनमोल प्रसाद) पनि समावेश गरिएको छ। यसमा हजार वर्षदेखि भारतीय कविहरूको लहरमा हाम्रा राजेन्द्र भण्डारीको कविताले पनि स्थान पाउनु भारतीय नेपाली साहित्यका निम्ति गर्वको कुरा हो । यसैगरी उनका अस्सीवटा प्रतिनिधि कविताहरूको सुवास दीपकद्वारा अनूदित हिन्दी अनुवाद पुस्तक छोटी छोटी खुशियाँ (2021) प्रकाशित भएको छ। यसमा जम्मा १९६ पृष्ठहरू रहेका छन् भने यसको प्रकाशक रश्मि प्रकाशन, लखनऊ रहेको छ। यसमा अनुवादकले भण्डारीका कवितालाई जतिसक्दो भाव र शिल्पनजिक लाने प्रयास गरेका छन्।

८.6. कविता विचरणमा राजेन्द्र भण्डारी

राजेन्द्र भण्डारीको कविता लेखनका विभिन्न कोणहरूबाट अध्ययन गरिएको पुस्तक प्रकाशित भएको छ कविता विचरण। यस समीक्षा सङ्कलनमा केही लेख पूर्व प्रकाशित पुस्तकहरूबाट साभार गरिएको छ भने केही नयाँ छन्। यसमा समावेश रहेका डा. अभि सुवेदी, डा. गोविन्दराज भट्टराई, अर्जुन प्रधान, जय क्याक्टस, सुधीर छेत्री, योगेश खाती, डा. देवचन्द सुब्बा, रत्नबहादुर रसाइली, निमा निची शेर्पा, छत्र तामाङ, डा. इन्दुप्रभा देवी, डा इन्द्रबहादुर छेत्री, डा. वासुदेव पुलामी, महेश पौड्याल, छत्र तामाङका लेख यसै ग्रन्थका निम्ति लेखिएका हुन्। यसबाहेक डा. दिवाकर प्रधान, डा. गोपालप्रसाद भण्डारी, पेम्पा तामाङ, डा. गीता त्रिपाठी, डा. टेकबहादुर छेत्री, निमेश निखिल, नवीन पौड्याल, लेखनाथ भट्टराई, प्रकाश सायमी, डा. शोभा शर्मा आदिका लेख भने उहाँहरूको अन्यत्र प्रकाशित भएका पुस्तक वा पत्रिकाबाट साभार गरिएका छन् । यसमा सुवास दीपक र सुधीर छेत्रीले लिएर एकेकवटा अन्तर्वार्ता समावेश छन् ।

यसैगरी यसमा अरूणधति सुब्रामण्यम, रोन पल सलुस्त्की, डा. शोभा शर्मा, एम एम गुरूङ, एन डि आर चन्द्र – निगमानन्द दासका अङ्गेरजीमा लेखिएका मूल्याङ्कन लेखहरू पनि समावेश छन् । यसमा वरिष्ठ समालोचकदेखि लिएर कनिष्ठ समालोचकका लेखहरू पनि समावेश छन् । यसमा परम्परागत दृष्टिकोणदेखि लिएर नयाँ साहित्य सिद्धान्तका आधारमा समीक्षा गरिएको छ । यसमा डा. दिवाकर र प्रधान र पेम्पा तामाङका दुई दुईवटा लेख राखिएको छ। अन्यका एक-एकवटा लेख रहेका छन् । यसमा अधिचेतना, विश्व चेतना, प्रतीक र बिम्बविधान, भाव विस्तार, शिल्प-शैली, इतिहास चेतना, पर्यावरण चेतना, अन्तर्पाठ, बौद्ध दर्शन, संरचना, समय चेतना, प्रकृति चेतना आदि विभिन्न कोण-प्रतिकोणबाट अध्ययन गरिएको छ।

८.७ प्रतिनिधि कविताहरूको संकलन 

राजेन्द्र भण्डारीका विभिन्न कवितासङ्ग्रबाट चयन गरेर एउटा प्रतिनिधि कवितासङ्ग्रह निमेश निखिलको सम्पादकत्वमा प्वाँखहरू र आकाश (2010) प्रकाशित भएको छ । यसमा भण्डारीका मझौला र छोटा मुक्तक आदि गरी जम्मा एक सय नौवटा कविताहरू सङ्ग्रहीत छन् । महेश पौड्यालले पनि उनका प्रतिनिधि कविताहरूको संकलन प्रकाशित गर्न लागेका छन् । यसैगरी काठमाडौंबाट महेश पौड्यालको सम्पादकत्वमा पनि राजेन्द्र भण्डारीका प्रतिनिधि कविता प्रकाशोन्मुख छ । यसमा केही पुराना र असंकलित नयाँ कविताहरू पनि समावेश गरेका छन् ।

९. शोधनायकका रूपमा राजेन्द्र भण्डारी

नरबहादुर भण्डारी महाविद्यालयकी अङ्गेजी प्राध्यापक डा. शोभा शर्माले राजन्द्र भण्डारी र जयन्त महापात्रको कवित्वका विभिन्न पक्षलाई लिएर तुलनात्मक रूपमा अध्ययन गरेर विद्यावारिधि हासिल गरेकी छन् । यसैगरी, हिन्दी विभागबाट पनि कसैले उनको कवित्वमाथि शोधकार्य गरिरहेको थाहा लागेको छ । स्नातकोत्तर र एमफिलका केही शोधपत्रमा पनि उनका काव्यत्वको अध्ययन गरिएका छन् ।

१०. वेबसाइटहरूमा कवि भण्डारी

कवि राजेन्द्र भण्डारीका कविता अब विभिन्न वेबसाइटहरूमा छाएका उनका कविताहरू विशेष गरी www.poetryinternationalweb.com, (रोटरड्याम) www.poemhunter.com, lyrikline.org.com (जर्मनी) उपलब्ध छन् ।