आज पहिलोचोटि स्वर्गीय मणिकुमार सुब्बाबारे केही कुरा लेख्न जाँदैछु। मैले उहाँलाई परोक्ष रूपले नै जाने तापनि  उहाँ एकजना मानवतावादी पुरूष हुनुहुन्थ्यो भनेरै ज्ञात छु र साथै एकजना सफल राजनैतिक नेता र समाज सङ्गठकका रूपमा पनि स्वर्गीय मणिकुमार सुब्बाले एक अमेट छाप छोडेर गएको कुरा सर्वविदितै छ । हुन त उहाँलाई मैले नजिकबाट कहिल्यै भेटिन र पनि अर्काको मुखबाट सुनेअनुसार उहाँको मानिसप्रति भएको दया, परोपकार र महानुवताका कुराले मलाई आकृष्ट पार्दथ्यो। कुनै प्रकारको कृत्रिमता नभएको एउटा सहज-सरल व्यक्तिको निवास थियो वहाँको मनभित्र । शिक्षाको ठुलो डिग्री थिएन तर व्यवहारिक ज्ञानको खानी थियो उहाँभित्र । जस्तो सुन्दर अनुहार त्यस्तै सुन्दर हृदय बोकेर आउनु भएकोथ्यो सर्वसाधारणका निम्ति।

मणिकुमार सुब्बा

मणिकुमार सुब्बाको जन्म १९५८ सन् १६ मार्चको दिन दार्जीलिङको दावाग्राम, पश्चिम बङ्गालमा भएको थियो। उहाँको पिताको नाम धनबहादुर सुब्बा अनि माताको नाम पद्मावती सुब्बा हो। बाल्यकाल दार्जीलिङमा बिताएपछि सिक्किम सरूवा भएको थाहा लाग्दछ । अनि फेरि त्यहाँपछि माथिल्लो असमको तिनसुकिया सहर हुँदै अरूणाचल प्रदेश पसेको जानकारी पाइन्छ। अरूणाचल प्रदेश पसेपछि आफ्नो बुद्धिमत्ता र लगनशीलताले गर्दा “ए-क्लास ” कन्ट्रेक्टर हुन पुग्नु हुन्छ। तर, त्योभन्दा अघि काठको कुन्डा (आरा कटाउने) ठेकेदारी गर्नुहुन्थ्यो। अरुणाचलमा काम गर्दा उहाँको निष्ठा र कर्मकुशलताको नमुना देखेर अरुणाचल सरकारले पनि मित्रताको हात अघि बढाएका थिए । यो सन् १९८४_८८ तिरको कुरा हो। “ए-क्लास” ठेकेदार भएपछि अरुणाचलमा धेरै बाटा-घाटाका कामका ठेका भेटन सक्षम हुनुहुन्छ। समयमा फेरि उहाँले अरुणाचलको पहिलो मुख्यमन्त्री प्रेम खांडु थुङ्गनकी बहिनीलाई विवाह गर्नुहुन्छ। उहाँले बहुविवाह गर्नु भएको थियो । अर्को कुरा लगभग २२ वर्षसम्म मुख्यमन्त्रीको पद अलङ्कृत गर्नु हुने अरुणाचल प्रदेशका गेगङ अपाङसँग उहाँको थियो घनिष्ट सम्पर्क। व्यवसाय गरेर अपार सम्पतिका मालिक भएपछि “एम एस एशोसिएसन” को नाममा आफ्नो लटारी साम्राज्य विस्तार गरेको कुरा जानकारी आउँछ । त्यसैले उहाँलाई “लटारी माफिया” भनेर पनि भनेको सुनिनथ् यो।

अरुणाचलबाट असम पसेपछि चाहिँ उहाँको राजनैतिक जीवन प्रारम्भ हुन्छ। सन् १९९२ मा पहिलोचोटि उहाँले नाउबैसा समष्टिबाट भारतीय राष्ट्रिय काङ्ग्रेसको टिकटमा विजयी भएर विधायक चुनिनुहुन्छ। लगत्तै फेरि त्यही समष्टिबाट सन् १९९६ मा विजयी हुनुहुन्छ। १९९८ सनमा तेजपुर संसदीय क्षेत्रबाट सांसद चुनिएर सन् २००९ सम्म स्वर्गीय मणिकुमार सुब्बाले १२औँ, १३औँ र १४औँ लोकसभामा असमको उषा नगरी तेजपुरजस्तो ऐतिहासिक ठाउँलाई प्रतिनिधित्व गर्नुहुन्छ। काङ्ग्रेस दलमा उहाँको दर्बिलो स्थान भएको हुनाले धेरै गोर्खा नेता-कर्मीहरूलाई पनि राजनैतिक मञ्चमा लगेर जनताको नजिक पुग्न सक्ने अवसर प्रदान गर्नुहुन्छ। त्यसमध्ये मुख्य रूपमा हुनुहुन्छ असम विधानसभाका पूर्व कैबिनेट मन्त्री टङ्कबहादुर राई । तर, सन् २००९ मा असम गणपरिषद् दलका प्रार्थी जोसेफ टप्पसँग लोकसभा चुनावमा परास्त भएपछि २०१४ सनको लोकसभा निर्वाचनमा उहाँले निर्दलीय प्रार्थी रुपमा चुनाव  लड्नुहुन्छ। त्यही निर्वाचनमा चुनावी प्रचार सभा चलाउँदा चलाउँदै उच्च रक्तचापजनित रोगमा ग्रसित भएर पाँचवर्षसम्म अस्वस्थ्य जीवन बिताएपछि २०१९ सनको २७ मईको दिन दिल्लीको आफ्नो फार्म हाउसमा देहत्याग गर्नु हुन्छ।

रिजु देवी (असम)

मणिकुमार सुब्बा एक सफल राजनैतिक नेतामात्र नभएर हास्यरसिक, मृदुभाषी र गरीब-दुखीहरूको दाता हुनुहुन्थ्यो । मानवताका पूजारी हुनुहुन्थ्यो । उहाँले धेरै रोगीहरूको उपचार आफ्नो खर्चले गरिदिएको कुरा पनि थाहा लाग्दछ । उहाँले जात-धर्मको विचार नगरी जुनै जातिलाई पनि प्रत्यक्ष र परोक्षरूपले आर्थिक सहयोग गरेको जानकारी पाइन्छ । धेरैलाई जागिरमा लगाइदिएर स्वाबलम्बी जीवन जीउन महत्त्वपूर्ण सघाउ पुर्याउनु भएको थियो । धेरैका व्यक्तिगत खाँचाहरू पनि टारिदिनुमा उहाँको अहम् भूमिमा रहेको थाहा लाग्दछ । त्यसैले उहाँलाई आर्तजनहरूले आज पनि “त्राता” भनेरै मान्दछन्।

मान्छेको सद्गुण र वद्गुण दुइटै हुँन्छन्। कुनै पनि व्यक्ति विशेषले आफूलाई शुद्ध र पवित्र छु भनेर तोकेर भन्न सक्दैन। त्यसर्थ सुब्बाको हामीले पनि व्यक्तिगत जीवनलाई छोडेर सामाजिक कृतिहरूको बखान गर्नु पर्दछ जस्तो मलाई लाग्दछ। राजनैतिक जीवनमा रहेर पनि उहाँले सामाजिक कामहरू निकै गरेर जानु भएकोछ। शिक्षा निमित्त मात्र हुनाले गर्दा उहाँ दार्शनिक भाषण छाँट्न असमर्थ भए तापनि एक रसिक भाषणदाताका रूपमा सबैको हृदयमा जीवित हुनुहुन्छ। सुब्बालाई उहाँको कर्मले नै अमर बनाउने छ । आफ्नो कर्मको बलले नै उहाँ समग्र भारतकै प्रिय हुनुहुन्थ्यो प्रत्यक्ष/अप्रत्यक्ष रूपमा । असममा “गोर्खा उन्नयन परिषद्” ल्याउने जनहितकारी काम उहाँद्वारा भएको हो । त्यसरी नै गोर्खाहरूलाई डमिसाइल दिने काम, श्रीरामपुर चेकगेटमा पुलिसको शोषन-अत्याचारबाट गोर्खाहरूलाई मुक्ति दिलाउने आदि कामहरू पनि उहाँकै नेतृत्वमा भएका हुन्। लामो समयसम्म असम गोर्खा सम्मेलनको सभापति पदमा रहेर गोजीका पैसा खर्च गरेर सम्मेलन चलाउने काम मनिकुमार सुब्बाले गर्नु भएको थियो । यो कुरा सबैलाई थाहा छ। त्यसैगरी गुवाहाटीको पल्टन बजारस्थित असम गोर्खा सम्मेलनको केन्द्रीय कार्यालय औँ  मणिकुमार सुब्बा भवन, उहाँकै व्यक्तिगत अनुदानमा बनिएको हो । जसलाई लिएर समस्त गोर्खा जातिले गर्वबोध गर्दछ आज। रोगाग्रस्त, गरीब-दुखी तथा सर्वसाधारणका निम्ति यो एउटा सुरक्षित आश्रय स्थल बनेको छ आज। मेरा सानाबाले पनि यहाँ बसेर डाक्टरी चिकित्सा ग्रहण गर्नु भएको थियो । व्यक्तिगत तथा सामाजिक क्षेत्रमा उहाँले कहाँ,कति अनुदान दिनु भयो त्यसको कुनै लिखित प्रमाण भएन, जुन चाहिँ अत्यन्त आवश्यक थियो उहाँको कर्मराजीको मूल्याङ्कन गर्न। मृत्युपछि पनि उहाँको बारेमा लेख्ने एक-दुईबाहेक अरू भए जस्तो लाग्दैन । यो पनि एउटा दुर्भाग्यको कुरा हो । कथाकार विक्रमवीर थापाज्युले उहाँको एउटा सोसल मिडिया पोष्टमा मणिकुमार सुब्बाले शिलांगको “गोर्खा हाईस्कूल” लाई आर्थिक अनुदान दिएर सघाउ पुर्याएको कुरा लेख्नु भएको छ।

लखिमपुर दङिबिल निवासी कवियत्री पद्मा देवीज्युले मेरो कुराको मान राखेर मलाई लखिमपुर तथा नाउबैसा समष्टिमा मणिकुमार सुब्बाले कहाँ, कस्तो किसिमको सामाजिक अनुदान दिनु भएको थ्यो, त्यसको केही तथ्यहरू दिनु भएको छ र हजुरहरू समक्ष साझा गर्न जाँदै छु । प्राप्त तथ्य यसप्रकार छ-लखिमपुर पिठागुरीका देवकुमार छेत्रीज्युले लिखित रूपमा जानकारी दिनु भएको छ कि १९८५ सनमा उहाँ अरूणाचल प्रदेशको C. P. W. D. को L. D. C. पोष्टमा क्वालिफाइड भएर सिलेक्सन पाउन सक्षम भए तापनि एपइन्टमेन्ट पाउन असमर्थ हुनुहुन्थ्यो । तब उहाँले गएर मणिकुमार सुब्बालाई सबै बृतान्त सुनाएपछि देवकुमार छेत्रीको नौकरी भयो । लखिमपुरका धेरै दुखी-गरीब, बिरामी, बेरोजगारहरूलाई सुब्बाले चिकित्सा, धन दान, नौकरी दिलाएको कुरा थाहा पाइएको छ । सुब्बाकै सम्पूर्ण अनुदानमा १९८८ सनमा हारमतीमा मणिकुमार हाइस्कूल बनिएको हो । स्कूलको आसवाबदेखि लिएर लाइब्रेरीसम्मको जम्मै खर्च सुब्बाले गर्नु भएको थियो भनेर वर्तमान त्यो स्कूलका अध्यक्ष विरेन दलेज्युले जान्न दिनु भएको छ। त्यो स्कूल त्यतिबेला कक्षा पाँचसम्म थियो र अहिले कक्षा दससम्म भएको छ । लखिमपुर, हारमतितिर उहाँले धेरै अनुदान दिनुभएको छ भन्ने कवियत्री पद्मा देवी मार्फत् र तत्थ्यसङ्ग्र गरिदिने महानुभवहरूबाट जान्न पाइएको छ । जस्तै-सुब्बाले दुखी-गरीबका घरमा चेली-बेटीहरूको विवाहमा आर्थिक सहयोग पुर्याउनु भएको थियो । कसै कसैलाई आवास गृह बनाइदिनु भएको थियो । १९९२ सनमा दङिबिल र नाउवैसा समष्टिका लगायत अरू अरूलाई पनि हिन्दी शिक्षकको पदमा नियुक्ति प्रदान गर्नु भएको थियो। नियुक्ति पाउने मध्ये हुनुहुन्छ दङिबिल निवासी सनक छेत्री, मीना देवी र लीलावती बाइलुङ आदि । असमका प्राथमिक विद्यालयहरूमा नेपाली शिक्षकका १०० वटा पद मध्ये १० वटा पदमा लखिमपुर जिल्लाका विभिन्न अञ्चलका युवकहरूले नियुक्ति पाएका हुन् । उहाँहरू हुनुहुन्छ- शिमलगुडीबाट चक्रपाणी उपाध्याय, नारायणपुरबाट लक्ष्मी वशिष्ठ, दङिबिलबाट चन्द्र छेत्री खड्का, सन्तपुरबाट दलबहादुर छेत्री, बोगीनदीबाट रोहित गौतम, हलकबारीबाट देवराज शर्मा, साउल धोवाबाट मोहन भूषण राई, फूलबारीबाट मीन बहादुर थापा , विष्णु शर्मा र राधिका शर्मा ।

१९९२ सनमा एम.ई.स्कूलहरूमा असम सरकारद्वारा प्रदान गरिएको विज्ञान शिक्षकको नियुक्तिमा पनि सुब्बाज्युको धेरै अवदान रहेको छ । धेरै विज्ञान शिक्षकहरूले त्यतिबेला नियुक्ति पाएका हुन् । त्यसमध्ये एकजना हुनुहुन्छ दङिबिल निवासी उमाकान्त शर्मा। त्यसबखत अरुणाचल सरकारसँग (गेगङ अपाङ) सुब्बाको सुसम्पर्क रहेकोले गर्दा अरुणाचल पुलिसको पदमा असम तथा लखिमपुर जिल्लाका धेरै युवकहरूले कर्मसंस्थापन प्राप्त गर्न सफल भएका हुन् । ८० को दसकपछि नाउवैसावासीहरू बीच जति पनि सरकारी अथवा व्यक्तिगत खण्डमा जागिर भए सबैमा सुब्बाको असीम कृपा रहेको छ । साँच्चै नै उहाँ एकजना परोपकारी व्यक्ति हुनुहुन्थ्यो। अर्कालाई सहायता गर्न उहाँ स्वइच्छाले अघि बढेर आउनुहुन्थ्यो । असममा आरोग्य हुन नसकेका रोगीहरूलाई दिल्ली नै बोलाएर आफ्नो खर्चले चिकित्सा गरेको धेरै उदाहरण छन्। चिकित्सा पूर्ण भए पछि फेरि उनीहरूलाई दिल्ली घुम्ने व्यवस्था मिलाइदिनु हुन्थ्यो। उहाँको दिल्लीकै घरमा पनि मान्छेहरू ढुक्कै गएर बस्दथे।

प्रायः १९८०/८१ तिर अर्थात् राजनीतिमा प्रवेश गर्नुभन्दा पहिलै डिक्रङ गाउँ पञ्चायतको वार्षिक अधिवेशनको सफल समाप्तिका लागि अधिवेशनको जम्मै खर्च उहाँले नै गर्नु भएको थियो। राजनीतिमा आएपछि पनि दान-धर्म गर्ने क्रम निरन्तर चलि नै रह्यो। नाउवैसा समष्टिका १० वटै पञ्चायतमा उहाँको पूर्ण सहयोगीता रहेको देखियो । निर्मियमान नामघर, मठ-मन्दिर, गिर्जाघर, मसजिद सबैमा व्यतिगत रूपमा अनुदानअघि सार्नुको साथै हरसाल प्रत्येक दूर्गा मण्डपमा समान अनुदान दिनुहुन्थ्यो। १९९७ सनमा दङिबिल हरिहर मन्दिर निर्माणको काम थालनी गर्न नगद १० हजार रूपैँया दिनु भएको थियो । त्यसपछि मोहनवासी एम. ई. स्कूलको भवन पनि सुब्बाको अनुदान पाएरै निर्मित भएको थियो । बान्दरदेवा जुनियर कलेज प्रतिष्ठाको क्षेत्रमा पनि सुब्बाज्युको अहम् भूमिका रहेको छ…।

सुब्बाज्युको मनमा जात-पात, उच्च-नीचको कुनै भेद थिएन । सबैलाई एकै व्यवहार, समान आदर गर्नु हुन्थ्यो। अन्य जातिका मानिसहरूले पनि उहाँलाई उतिकै माया आदर गर्नुहुन्थ्यो। एकजना असमीयाभाषी पत्रकारले फेसबुक माध्यममा सुब्बाको बारेमा धेरै कुरा लेख्नु भएको छ । उहाँ ‘आजि’ असमीया खबर काकतका स्टाफ रिपोर्टर र इन्चार्ज मिष्टर  सइकीया उपाधिधारी हुनुहुन्छ। उहाँले लेखेका कुराहरू यहाँ उल्लेख नगरे यो लेख अधुरो भइरहने छ । पहिले त पत्रकार सइकीयाले सुब्बाको बारेमा एउटा खबर लेख्नु भएको थियो। जुन निरपेक्ष खबर पढेर सुब्बा पत्रकारप्रति आकृष्ट हुनुहुन्छ अनि एकदिन उहाँलाई घरमै बोलाउनु हुन्छ र निकैबेर बात मार्नुहुन्छ। यो चिनाजानीपछि गएर एउटा मधुर सम्पर्कमा बदलिन्छ । सइकीयाले उहाँलाई ‘सर’ भनी बोलाउँथे अनि सुब्बाले ‘सइकीया’ भनी बोलाउनु हुन्थ्यो । मिष्टर सइकीयाले लेख्नु भएको कुराहरू यस प्रकार छ- “सुब्बा सर एकजना व्यतिक्रम किसिमका मानिस हुनुहन्थ्यो। उहाँले धेरै दरिद्र परिवार, रोगी, मेधावी छात्र-छात्रा,सामाजिक-सांस्कृतिक अनुष्ठान, क्रीडा, धर्मीय अनुष्ठान, सङ्गठन आदिलाई आर्थिक अनुदान दिनु भएको थियो। दिल्ली, गेङटक, शिलीगडी आदि ठाउँ जाने व्यक्तिहरूलाई विभिन्न दिशाबाट सहाय गर्नुहुन्थ्यो । त्यतिबेला उहाँको गेङटकमा भएको ‘रयल प्लाजा’, शिलीगडीमा भएको ‘रयल प्रिमियर सरोवर’को जस्तै पञ्चतारका होटलमा मसँग सम्पर्क रहेका सबै परिचित व्यक्तिलाई थोरै खर्चमा बस्ने सुबिधा दिनु भएको थियो। त्यसरी नै २०१० सनको २१ सेप्टेम्बरमा शिलीगडीमा भएको पञ्चतारका होटलको शुभ उद्बोधन अनुष्ठानमा गहपुरका त्यतिबेलाका विधायक उत्पल बराज्यु, मेरा एकजना साथी र म  उपस्थित थियौँ। तब हामीलाई उहाँले नेपाल घुम्न जाने चाँजो पनि मिलाइदिनु भएको थियो । २००७ सनमा गहपुरका संवादसेवी पल्लव बरा, राम कटकी, जीतेन सइकीया (वर्तमान संवाद कर्मी छैन) र म माउन्ट आबुको एउटा अन्तर्राष्ट्रिय कर्मशालामा अंश ग्रहण गर्न जाँदा सुब्बा सरले नयाँ दिल्लीमा पाँचदिनसम्म हामीलाई राखेर सबै ठाउँ घुमाएर बस्ने-खाने व्यवस्था लगायत गएको-आएको खर्च पनि दिनु भएको थियो। गहपुरका कवि-साहित्यिक-सांवादिक-सांवादिक नगेन कोंवरले नयाँ दिल्लीको गंगाराम अस्पतालमा तीन पटक किड्नीको जटिल अस्त्रोपचार गर्दाखेरि पनि सुब्बा सरले धेरै सहाय-सहयोगिता गर्नु भएको थियो। तब सुब्बा सर सांसद् भइरहेका थिएनन् । नगेन कोंवरले कुनै आर्थिक सहायता नलिए पनि पछि हामी चारैजनालाई सरले हवाई जहाजमा घर पठाइदिनु भयो।

अर्को एकपटक म, जीतेन, कन्दर्प दादा र मृदुल बरा हामी चारजना मित्र मिलेर कलकत्ता गएका थियौँ। सुब्बा सरले थाहा पाएर हाम्रो निम्ति होटल र गाडीको व्यवस्था गरी राख्नु भएको रहेछ । तर हामी सबै ‘आसाम हाउस’मै बास बस्यौँ। फेरि पनि हाम्रो कामको निम्ति यता-उता  जान र घुम्नको निम्ति सधैँ बिहानै सुब्बा सरले पठाएको गाडी गेटअघि पर्खि रहन्थ्यो। मेरो नजरमा सुब्बा सर एकजना सामाजिक,मानतावादी,अति परोपकारी, निरहंकारी , आफ्नो नीति-आदर्शमा अटल रहने राजनैतिक नेता थिए। गरीब-दुखीका त्राता थिए । मेरा बडीबाकी छोरीको बिहेमा बहिनीलाई दामी औँठी उपहार दिनुको साथै मलाई पनि उपहार भएको थियो । उहाँ जहाँ भए पनि सधैँ स्मरणीय र वन्दनीय हुनुहुन्छ । ” यसरी सइकीयाको लेख टुङ्गिएको छ । पत्रकार सइकीयाको अकपट स्वीकारोक्तिले सुब्बाज्युको जीवनबोधको मूल्यांकन गर्न अलिकति भए पनि सहज भएको छ।

साङ्गठनिक अवदान

सङ्घ-सङ्गठनहरूसँग पनि मणिकुमार सुब्बाको सौहार्दपूर्ण सम्पर्क रहेको थियो । उहाँ आफ्नो जाति-भाषा-संस्कृतिलाई औधि माया गर्नु हुन्थ्यो। मणिकुमार सुब्बा “भारतीय गोर्खा परिसङ्घ” को स्थापनाकालदेखि नै जोडिनु भएको हो । भागोपका उहाँ मार्गदर्शक हुनुहुन्थ्यो। दिल्लीमा भागोपको तत्त्वाधानमा भएको राष्ट्रस्तरको सेमिनर राष्ट्र निर्माणमा गोर्खाहरूको योगदान र हाम्रो चिन्हारी समस्या “-मा देशभरिकै विद्वान् व्यक्ति साथै केन्द्रीय सरकारका मन्त्रीहरूलाई उपस्थित गराएर सेमिनर सफल अनि शोभायमान तुल्याउनु भएको थियो। राजनैतिक क्षेत्रमा उहाँलाई प्रवेश गर्नका लागि तीनजना विशेष व्यक्तिले आग्रह गर्नु भएको थियो। उहाँहरू हुनुहुन्छ-(पद्मा देवीको तथ्यानुसार) स्वर्गीय भीमलाल शर्मा, मन बहादुर क्षेत्री (दङिबिल) र हारमती निवासी दुर्गा दाहाल । उहाँ जीवित कालमा जोडिनु भएको सङ्घ-सङ्गठन यस प्रकार छन-

१.सन् १९८६-हारमति मण्डल कंग्रेस उपाध्यक्ष।

२.सन् १९८६-मुख्य परामर्शदाता, असम गोर्खा सम्मेलन, लखिमपुर जिला समिति।

३.सन् १९८८-लखिमपुर जिला कंग्रेस कमिटिका उपाध्यक्ष।

सल्लाहकार ,अन्यान्य पछौटे वर्ग (ओबीसी)

सम्पादक, असम प्रदेश कमिटि।

४.सन् १९९१-९८- दु   ईवटा कार्यकालसम्म कंग्रेस प्रार्थीका रूपमा असम विधानसभामा विधायक निर्वाचित।

५.सन् १९९८-२००९- तेजपुर संसदीय निर्वाचन क्षेत्रबाट १२औँ, १३औँ र १४औँ लोकसभा सदस्य निर्वाचित।

६.सन् १९९२-२०१६-सभापति, असम गोर्खा सम्मेलन।

७.सन् १९९८-२०१५-सभापति, अन्यान्य पछौटे वर्ग।

यसरी नै उहाँले सहायता पुर्याएर सङ्गठनहरूलाई दर्बिलो मुकाममा पुर्याउन सफल हुनुभएको थियो । २०१९-२० सनमा भारत सरकारद्वारा प्रदान गरिएको पद्म पुरस्कारको निम्ति (मरणोपरान्त) गोर्खा गौरव मणिकुमार सुब्बाको नाम पनि चयन भएको हो । उहाँको मृत्यु गोर्खा समाजको निम्ति अपूरणीय क्षति हो। उहाँको त्याग र बलिदानलाई गोर्खा समाजले कहिल्यै बिर्सिने छैन। गोर्खा जाति रहुन्जेल उहाँ अमर भइरहनु हुनेछ।

(नोट:- लखिमपुर तथा नाउवैसा समष्टिमा सुब्बाद्वारा प्रदान गरिएको सामाजिक अवदानबारे तथ्यसङ्ग्रह गरेर मलाई हात लगाइदिने दङिबिलकी कवियत्री दिदी पद्मा देवीलाई हार्दिक धन्यवाद दिनुका साथै चन्द्र छेत्री,रञ्जित शर्मा,हीरा शर्मा (दङ्गिबिल), पद्म शर्मा (फूलबारी) र तुलसी रिमाललाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। (पिठागुडी, अशेष धन्यवादको पात्र हुनुहुन्छ पत्रकार सइकीया । यो लेख तयार पार्नुमा अन्य लेख, पत्र-पत्रिकाको पनि सहायता लिएको छ।)