‘तिमी बोल, यदि बोल्दैनाै भने बोल्न जानेकाहरूबाट शासित हुन तयार होऊ।’
बोल्न सक्नु र बोल्न जान्नु दुई बेग्लाबेग्लै विशिष्ट गुण हुन् । सबैजना यी दुवै गुणले भूषित हुँदैनन्। अझ, राष्ट्र, समाज र व्यक्तिको सर्वोपरि हितमा बोल्न सक्नु र बोल्न जान्नु अझै थप विशिष्टता हो। पेशा, अध्ययन र लेखनका हिसाबले सर्वोपरि हुनुहुन्थ्यो स्व. रामकृष्ण शर्मा – अझ नेपाली संसारमा एक मात्र !
उहाँलाई विभिन्न व्यक्तिले आ-आफ्नै हिसाबले चिनेका होलान्। कसैलाई खरा, कसैलाई तीता, कसैलाई सन्काहा, कसैलाई रिसाहा, कसैलाई फर्स्याइला र कसैलाई अभिमानी लाग्दाहुन् तर उहाँ एकदमै स्वाभिमानी हुनुहुन्थ्यो – कसैसँग नडग्ने , नझुक्ने, होंचो-अर्घेलो पटक्कै नसहने, कसैलाई नहेप्ने ! सबैले आत्मनिर्भर बन्नुपर्छ, अर्काको आशेगाँसे बन्नु हुँदैन , कसैले थिचोमिचो गर्न खोजे लाछी भई सहेर बस्नु हुँदैन भन्ने कुरामा दृढ विश्वास गर्नुहुन्थ्यो ।उहाँलाई भेटेका जति सबैले कुरा गर्छन् – उहाँको निर्भीक स्वभाव र शालीन व्यक्तित्वको !
बोल्न सक्ने र बोल्न जान्नेले मात्रै सर्वत्र शासन गरेको पाइन्छ तर बोल्न नसक्ने र बोल्न नजान्नेबाट बोल्न सक्ने र बोल्न जान्नेहरू पनि शासित भएका केही उदाहरण पनि छन् । बोल्न जान्ने र बोल्न सक्ने हुँदाहुँदै पनि स्व. शर्मालाई समय र परिवेशले साथ दिएन । उहाँबाहेक , अरू बोल्न सक्नेले बोल्न नजान्दा र बोल्न जान्नेले बोल्न नसक्दा दार्जीलिङ पहाड आजको यो क्षतविक्षत अवस्थामा आइपुगेको हो ।
आफूमाथि जे जे परिआउँछ ती सबैलाई सहेर चुपचाप बस्ने पहाडको सहनशील स्वभावले आज यो निरीह अवस्था भोग्नुपरिरहेछ। यस क्षेत्रबाट उठेजति समवेत् स्वर टिष्टा,रङ्गीत,बालासन, मेची, महानदी, सनकोश, लिस र जलढक्का भेदन गरेर बाहिर उरालिनै सकेन । बेला बेला उठेका जस्ता लाग्ने स्वरहरू पनि ‘चीँ मुसी ‘ – भन्दा बढ्ता केही हुनै सकेनन्। दार्जीलिङ र दार्जीलिङवासीका हितविरुद्ध दबावहरू यथावत् छँदैछन्। भाषिक ,धार्मिक , शैक्षिक, बौद्धिक, सामाजिक , पारिवारिक अतिक्रमणका विरुद्ध सशक्त आवाज उठाउन नसक्दा यो भूक्षेत्र झन् ग्याँचे हुँदै गयो। यी समस्त झञ्झावात् पर्गेलेर यस पार्वत्य क्षेत्रलाई बाहिर निकाल्न चाहनुहुन्थ्यो स्व.रामकृष्ण शर्मा।
विचार कसैको पेवा हुँदैन । विचार कहिले पनि मर्दैन । उहाँका विचार अरूका पनि विचार हुन् । उहाँका विचार बुझेर तदनुरूप कार्यान्वयन हुन नसक्नु नै दार्जीलिङको गहिरो पीडा हो ।
पहाडमा धेरै कथाहरू जन्मे तर ठूलो उफान बोकेको अर्को ‘चपरासी’ आजसम्म जन्मन सकेकै छैन अनि यसै कथाको आत्मा केलाउँदै सठीक निर्क्यौल बोकेको अर्को ‘चपरासीको हाउ’ पनि जन्मेको छैन। नेपाली भाषा र साहित्यमा ठूल्ठूला तरङ्ग पैदा गरेका उहाँका अरू पनि धेरै समालोचना छन्। त्यसबेला ‘चपरासी’ कथालाई पाठ्यक्रममा समावेश गर्ने निर्णायक जो भए पनि तिनी आँटिला र दूरदर्शी हुन्। तिनको त्यस निर्णयलाई सबैले नमन गर्नैपर्ने हुन्छ। पछि ‘चपरासी’ कथा हटाएर उनै कथाकारको अर्को कथा औंठी’ समावेश गरियो। अघिल्लो कथाको तुलनामा पछिल्लो कथा ओजश्वी छैन। शासकवर्गको अमानवीयताको पोल खुल्ने भएपछि ‘ चपरासी’ – लाई हटाइएको हो। अघिल्लो कथा यथार्थ हो भने अर्को कथा ओजविहीन कल्पना। पहाडलाई सचेत गराउन, वास्तविकता बुझाउन ‘चपरासी’ जति सफल र सबल छ त्यति ‘ औंठी’ छैन। ‘चपरासी ‘ हटाएर ‘औंठी’ समावेश गर्न जसले सल्लाह दियो एकदमै दु:खद भयो। त्यसबेला पहाडमा त्यस्तै माहौल थियो। बोल्न जान्ने र बोल्न सक्ने पनि थिए- अहिलेजस्तो विचारमा विचलन र छिन्नभिन्नता थिएन त्यसबेला।
अब, बहस र पैरवीहरू जोडदार रूपमा चुलिनुपर्छ स्व. रामकृष्ण शर्माका बारेमा। कालिम्पोङ, सिक्किम र बनारसमा बहस/पैरवी शुरु भयो। अब, यो चर्चा-परिचर्चा नेपाललगायत असम, देहरादून, कलकत्ताजस्ता नेपालीबहुल क्षेत्रमा चल्नुपर्छ। विद्यालय, विश्वविद्यालय र प्रबुद्धवर्गबीचमा चर्चा चुलिनुपर्छ र मात्रै हामी दिवंगत रामकृष्ण शर्माबारे वास्तविक लेखाजोखा गर्न सकौँला। प्रतिमा स्थापनाको सार्थकता पनि त्यतिबेलै झल्केला।
भूषण शर्मा हुमागाइँ रामकृष्ण शर्माका भानिज हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।