काठमाडौँ उपत्यका अर्थात् देशको राजधानी । ७७ जिल्लाका मान्छेहरु आ-आफ्नो सपना बोकेर थुप्रिने ठाउँ । अर्थात सबै कुराको केन्द्र । विभिन्न कारणले राजधानी आउने अधिकांशले काठमाडौँलाई कुनै न कुनै किसिमले गाली गरिरहेको पाइन्छ । काठमाडौँलाई दिनभरी धारे हात पार्दै राती त्यसैको ओछ्यानमा पल्टिनेहरु कति होलान् त्यसको हिसाब काठमाडौँसँगै होला । कसैले काठमाडौँमा टिक्न गाह्रो भएपछि गाली गर्छन र राजधानीले मलाई के दियो ? भनेर आफैँलाई प्रश्न गर्छन् । कसैले अनेक सास्ती बेहोर्नु परेको भन्दै काठमाडौँलाई नै गाली गरिरहन्छन । गाउँमा कुटो कोदालो गर्नका पिरले राजधानी आएको, गाउँमा भन्दा बेसी दुख पाइयो भनेर काठमाण्डौंलाई गाली गर्दै गाउँ नै फर्किनेहरु पनि थुप्रै भेटिन्छन् । आम मानिसका कुरा छोडौं, स्वयम् कवि साहित्यकारहरुले पनि काठमाण्डौंलाई आफ्नो लेखनमा तारो बनाइरहेको पाइन्छ । काठमाण्डौंप्रतिको सारा आक्रोश आफ्नो मसीमा ओकल्नेहरुलाई पनि काठमाडौँमै बसेर लेखिराख्न पाए राष्ट्रिय लेखक बनिन्छ कि भन्ने आश पनि हुन्छ । काठमाण्डौंलाई जसले जति गाली गरे पनि काठमाडौँमै केही गर्ने र एउटा घर बनाउने सपना देख्न भने प्रायले छोड्दैनन् । यसर्थ काठमाडौँ प्रायः नेपालीको सपनाको केन्द्र हो भन्दा फरक नपर्ला । तर काठमाडौँ सबैको साझा हो र यसलाई सबैले आफ्नो सहर सम्झिनु पर्छ, सबैले आफ्नै सम्झेर यसलाई माया गर्नुपर्छ भनेर लामो समयदेखि कवितामार्फत शसक्त रुपमा आवाज उठाउँदै आउनु भएका एक कवि हुनुहुन्छ राम गोपाल आशुतोष भक्तपुरमा जन्मिएर हाल सोही ठाउँमा बसेर साहित्य लेखन, रेडियो कर्म र शिक्षण पेशामा आवद्ध रहेर सक्रिय रहँदै आउनुभएका कवि आशुतोषले काठमाडौँलाई अरुले हेर्ने दृष्टिकोण र गर्ने सौतेलो व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै “एक्लो उपत्यका” शीर्षकको शृङ्खला कविता लेख्नु भएको छ । जसको अहिलेसम्म पाँच शृङ्खला लेखिसकिएको छ र यो कविता उहाँको मास्टरपिस कविता पनि हो ।
“उपत्यकाले
बहुरूपियालाई सिंहदरबार दिएर शासक बनायो
शासकले उपत्यका भत्काएर-
कंक्रिटको कङ्काल बनायो
बहुराष्ट्रिय योजनाका उद्योगलाई
फूल दिएर ईश्वर बनायो
हाइब्रिड ईश्वरले पहिचान र इतिहासलाई मासेर
– सामूहिक चिहान बनायो
त्यसपछि एउटा उखान बनायो
– बाउ दुष्ट
र, उपत्यका इष्ट हुँदैन”
यो उक्त कविताको पहिलो शृङ्खलाको अन्तिम हरफ हो ।
बाहिरबाट राजधानी टेक्नेहरुको भिडले उपत्यकाको सुन्दरता बिग्रँदै गएकोमा कवि आशुतोषको चिन्तासँगै आक्रोश प्रष्ट रुपमा देख्न सकिन्छ यी हरफहरुमा । सिङ्गो कविता नै त्यसैमा केन्द्रित छ । आफ्नो शृङ्खला कविता “एक्लो उपत्यका” बारे बोल्दै कवि आशुतोष अघि थप्नुहुन्छ, “म आफ्नो कला, आफ्नो पर्यावरण आफ्नो, संकृती र सभ्यताका कुराहरु लेख्छु र त्यही सुनाउँछु । म आफ्नै संस्कृतिको वरिपरि नालिबेली पढ्दै बहेली खेल्दै हुर्किएको मान्छे हुँ । त्यसकारण मलाई यो उपत्यकाको माया छ । म किन उपत्यका-उपत्यका भनेर कराइरहेको छु ? यदि यो उपत्यका यहाँ आउने हरेक व्यक्तिहरुको होइन भन्नुहुन्छ भने मलाई यो नेपाल चाहिएन । यदि यो उपत्यका तपाईंको होइन भन्नुहुन्छ भने मलाई नेपालमा बस्नु छैन, यो नेपाल पनि मेरो होइन । त्यसकारण यो काठमाडौँ हामी सबैको हो । यो उपत्यका सबैको हो । यो उपत्यकामा उपत्यका बाहेकका सबै मान्छेहरु शासक बनेका छन । प्रशासक बनेका छन । तर बाहिरका मान्छे अथवा अन्य जिल्लाका मान्छे आएर जुन किसिमले यहाँको प्रदुषणको ताण्डप मच्चिएको छ त्यसको दोषी को हो ? के यसको दोषी उपत्यका बासी हो ? उपत्यका बासीले कसैको घाम छेकेको छ ? कसैको हावा रोकेको छ ? कसैको पानीको मूल छेकेको छ? छैन । तर अरुका कारण हाम्रो हावा रोकिएको छ । हाम्रो घाम छेकिएको छ । हाम्रो पानीको मूल फोहोर भएको छ । हामीले फेर्ने हावा मैलिएको छ । फेरि पनि हामी केही नभनी बसेका छौँ । किन भने यो सबैको हो । यहाँ आउन पाउने सबैको अधिकार छ । तर सर्त के हो भने बाहिरी जिल्लाबाट आउनेहरुले पनि यो काठमाडौँ मेरो हो भन्नुपर्यो । यो ठाउँको विकास गर्न पर्यो । यसलाई संरक्षण गर्न पर्यो । समग्रमा यसलाई आफ्नो सम्झिनु पर्यो । बस यति मात्र हो ।”
काठमाडौँबारे यसरी गम्भीर चिन्ता, चासो र आक्रोश व्यक्त गर्नुहुने यिनै कवि तथा सञ्चारकर्मी रामगोपाल आशुतोषलाई सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रममा २०७८ भदौ २४ गते बिहीबार शृङ्खला ७३ मा जोड्ने अवसर जुर्यो । कार्यक्रममा उहाँको साहित्य लेखनसहित नेपाली साहित्य र सञ्चारका विविध पाटोलाई केलाउने कोसिस गर्यौँ ।
माता तुइनानी किसिजु र पिता हिराभक्त किसिजुको सन्तानको रुपमा भक्तपुरमा असार २३ गते कवि आशुतोषको जन्म भएको थियो । जन्मिएको साल भने उहाँले सार्वजनिक गर्न चाहनु भएन । हाल भक्तपुर नगरपालीका वार्ड नम्बर २ मा बस्दै आउनु भएका कवि आशुतोषले कक्षा ८ पढ्दादेखि नै साहित्य लेखनको यात्रा सुरु गर्नु भएको थियो । आठ कक्षामा पहिलो पटक “एउटा गाउँको कथा” शीर्षकको कविता लेख्नु भएको थियो । सोही कविता उपत्यकाव्यापी कविता प्रतियोगितामा प्रथम पनि हुन सफल भएको थियो । पछि उहाँले मातृभाषामा मात्र केन्द्रित रहेर लेख्न थाल्नु भयो । कलेज पढ्न थालेपछि लेखन कार्य केही पातलियो । २०५१ सालमा कलेजको स्मारिकामा “मनको मीत” शीर्षकको कविता छापिएको उहाँ सम्झिनुहुन्छ । बिस्तारै हवाइ पत्रिका, साहित्य मासिक र पाक्षिकमा केही छापिन थाले । ब्रड शिटहरूमा भने २०५७ सालदेखि मात्र छापिन सुरु भएका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा “प्रजातन्त्र, जस र सम्मान” शीर्षकको कविता र स्पेस टाइम्स दैनिकमा “कविको बली” शीर्षकको कविता २०५७ सालमा पहिलो पटक छापिएका थिए । गजल भने अलि अघिदेखि नै छापिएका हुन् ।
२०६० सालमा मधुपर्कमा “ईश्वर र फूलहरू” शीर्षकको कविता छापिएपछि भने उहाँले नेपाली साहित्यमा दरिलो पाइला चाल्ने मौका पाएको बताउनु हुन्छ । सोही कविताले उहाँलाई कविको रुपमा स्थापित पनि गराएको थियो । पछि २०७१ सालमा प्रकाशित कविता सङ्ग्रहको नाम नै सोही कविताको शीर्षकबाट राखियो, “ईश्वर र फूलहरु” । जुन उहाँको पहिलो र एकमात्र कविता सङ्ग्रह हो । एक पछि अर्को बलिया कविताहरु प्रकाशित हुन थालेपछि उहाँलाई कविता छपाउन गाह्रो भएन । देशका राष्ट्रिय दैनिक पत्रिकाका साथै प्रशिद्ध साहित्यिक पत्रिकाहरुमा पनि निरन्तर कविताहरु छापिए र उहाँको कविको परिचय फराकिलो बन्दै गयो । प्रकाशन गर्न ठिक्क पारेर राखेको कविता सङ्ग्रह “आमा र देश” तथा उपन्यास “ऊ हत्यारा थिएन” को पाण्डुलिपि एक दुखत दुर्घटनामा परि नष्ट भयो । त्यो दुर्घटना के थियो भन्ने कुरा उहाँले खुलाउन चाहानु भएन । यो २०५२ सालतिरको कुरा हो । लेख्नेहरुका लागि शब्दभन्दा प्यारो चिज अर्को हुँदैन । यसकारण पनि कवि आशुतोषलाई त्यस घटनाले लामो समयसम्म निक्कै विचलित बनाइरह्यो । नेपालभाषा, नेपाली र अङ्ग्रेजीमा समानान्तर रुपमा साहित्य लेखनसँगै विविध साहित्यिक अभियानमा उहाँ सहभागी बन्दै जानुभयो । यसैक्रममा भक्तपुर साहित्यिक समाजले सञ्चालन गर्ने घुम्ती मासिक साहित्य अभियानमा उहाँ संलग्न हुन पुग्नु भयो । २०५९ सालमा ऋतुकालीन गजल उत्सव कार्यक्रम सञ्चालन गर्नुभयो । जसमा वार्षिक ४ वटा कार्यक्रम हुने गर्थे । नेपालमा पहिलो पटक बाजागाजासहित गजल वाचनको आयोजना गर्ने पहिलो कार्यक्रम पनि त्यही थियो । त्यसैगरी उहाँले २०७० सालको मंसिर महिनादेखि सँझ्या साहित्य अभियान थालनी गर्नुभयो । जसमा तीन पुस्ताका कवि र एक उदीयमान कविका कवितालाई एउटै मञ्चमा वाचन गराउने काम भए ।
कविताका अलवा गीत, गजल र आख्यानमा पनि उत्तिकै शसक्त रुपमा कलम चलाउँदै आउनु भएका कवि आशुतोषका दुई ओटा गजल सङ्ग्रह पनि प्रकाशित छन । “आशुतोषका रहरहरू” नामक पहिलो गजल सङ्ग्रह २०६० सालमा प्रकाशित भएको थियो भने “यी रहरका पराकाष्ठाहरू” “ई–गजल संस्करण”- २०७३ मा प्रकाशित भइसकेका छन । त्यसैगरी ६ ओटा गीती एल्बम प्रकाशित गरिसक्नु भएका कवि आशुतोषका दुई दर्जनभन्दा बढी गीतहरू विभिन्न गायक गायिकाको आवाजमा रेकर्ड भएर बजारमा आइसकेका छन । लामो समयदेखि शिक्षण पेशामा समेत आवद्ध रहनु भएका कवि आशुतोषले कक्षा ९ र १० को जनसङ्ख्या शिक्षाको पाठ्यक्रम पुस्तक पनि प्रकाशित गर्नु भएको छ । त्यसैगरी थुप्रै साहित्यिक मासिक तथा त्रैमासिक पत्रिका र केही साहित्यिक पुस्तकहरुको सम्पादन गर्नु भएका कवि आशुतोषले थुप्रै सिर्जनाहरुको अनुवाद पनि गर्नु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा विभागमा रहेर काम गरिसक्नु भएका कवि आशुतोष “ग्रेस एफएम” र “रेडियो रसुवा”को कार्यक्रम निर्देशक तथा समाचार प्रमुख भएर काम गर्दै आउनु भएको छ । त्यसैगरी “सारङ्गी न्युज” का साहित्य तथा कला संयोजक, “सबैको समाचार डटकम”, “नेपाल प्रेस सोसाइटी” का महासचिव लगायत संघसंस्थामा आवद्ध रहेर काम गर्दै आउनु भएको छ । उहाँले नेपाल भाषा तःमुंज्या कविता पुरस्कार, विराट नेपाल भाषा कविता पुरस्कार, विराट नेपाल भाषा सर्वोकृष्ट निबन्ध पुरस्कार, उत्कृष्ट राष्ट्रिय गीत शब्द रचना पुरस्कार, उत्कृष्ट शिक्षक सम्मान, उत्कृष्ट आरजे सम्मान लगायत अन्य दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ ।
अहिले त नेपाली साहित्यको क्षेत्रमा कवि आशुतोष स्थापित नाम भइसकेको छ । उहाँका रचनाहरु छपाउन कुनै आइतबार पर्खिनु पर्ने अवस्था अहिले उहाँलाई छैन । तर लेखनको सुरुवाती चरणमा लेख्न थालेको करिब १२ वर्षसम्म आफ्ना कविताहरु प्रकाशित नभएका तीता अनुभवहरु उहाँसँग जीवितै छन् । त्यसरी ती कविताहरु नछापिनुमा कविता कमजोर भएर हो अथवा सम्बन्धित ठाउँसम्मको पहुँच कमजोर भएर हो भन्ने कुरा स्वयम् उहाँलाई पनि थाहा छैन । यसमा फेरि निजि मिडियाप्रति उहाँको कुनै गुनासो छैन पनि । किन भने उहाँहरुको लगानी हो, उहाँहरुको पैसा हो । कसलाई छाप्ने, कसलाई नछाप्ने भन्ने अधिकार उहाँहरुलाई छ । कवि आशुतोषले कुरा गर्नुभएको सरकारी मिडियाको कुरा हो । जसमा लामो समयसम्म कवि आशुतोषका कविताहरुले स्थान पाएनन् । देशको एक नागरिक भएको नाताले सरकारी मिडियामा आफ्नो पनि पहुँच पुग्नु पर्छ भन्ने उहाँको भनाइ हो । आफ्ना कविताहरुको रङ नबुझेका कारण पनि सरकारी मिडियाले आफूलाई स्थान नदिएको हो कि भन्ने उहाँलाई लाग्छ । “इन्ट्रा कल्चर” नबुझेका मान्छेहरु सरकारी मिडियामा भएका कारण पनि यस्तो समस्या आएको उहाँ आरोप लगाउनु हुन्छ । उहाँ नेवार समुदायको मान्छे । उहाँको कवितामा ब्राह्मण, क्षेत्री अथवा अन्यको जस्तो स्वाद पक्कै पनि नभेटिन सक्छ । उहाँका कवितामा नेवार समुदायकै संस्कार, संस्कृती, त्यही माटोको सुगन्ध र सौन्दर्य, उहाँ हुर्केको समाज, परिवेश र वातावरण जस्ता कुराहरु भेटिन्छन र यो स्वभाविक पनि हो । अग्रज कविहरुलाई एकदमै सम्मान गरे पनि आफूले उहाँहरुको जस्तो कविता लेख्न नसक्ने कवि आशुतोष स्पष्ट पार्नुहुन्छ । हरेक कविको आ-आफ्नै शैली भएजस्तै आफू पनि एउटा आफ्नै अलग्गै शैली निर्माणको अभियानमा लागिरहेको उहाँ बताउनु हुन्छ ।
भोलि कसैले आफूलाई सम्झिँदा आफ्नै शैलीका कारण सम्झियोस् भन्ने उहाँको चाहना छ । त्यसैको स्थायीत्वका लागि उहाँ त्यही अनुरुप लेखिरहनु भएको छ । तर यो कुरा मूलधार भनिएका मिडिया, र त्यहाँ काम गर्नेहरुले नबुझेको उहाँ पुन: आरोप लगाउनु हुन्छ । मिडियाले यही “इन्ट्रा कल्चर” लाई बुझ्न नसकेकै कारण आफूले स्थान नपाएको उहाँको बुझाइ छ । पछि बिस्तारै मिडियाहरुले पनि यो कुरा बुझ्दै गए र उहाँका कविताहरुले पनि स्थान पाउन थाले । तर लामो समयसम्म त्यसरी कविता नछापिएका कारण आफूले निरन्तर साधना गर्ने मौका पाएको र त्यो नै आफ्नो सफलता भएको कवि आशुतोषको भनाइ छ । अहिले त मिडियाहरुले पनि कवि आशुतोषका कविता र उहाँको लेखन शैलीलाई बुझ्न थाले र कवि आशुतोषको पनि त्यहाँसम्म पहुँच बढ्दै गयो । जसका कारण अब उहाँलाई कविता प्रकाशनकै लागि भने समस्या छैन । बरु पारिश्रमिक पाउने, नपाउने अथवा कति पाउने भन्ने कुरा रहला अब त । तर उहाँ भने अहिले पनि आफ्नो त्यस्तो खास पहुँच कहीँ कतै नभएको कुरा मिठो मुस्कानका साथ भन्नुहुन्छ । केही चिनेजानेका साथीभाइ र पहुँचका आधारमा पनि छापिन्छन् । यो सत्यलाई नकार्न सकिन्न । तर यसको लागि त्यहाँ जात हेरिन्छ, कद हेरिन्छ । कद र जात नहेरी कहिलेकाहीँ एक वर्षमा एउटा कविता छापिनुलाई पहुँचका आधारमा छापिएको भन्न नमिल्ने उहाँको भनाइ छ । त्यो त आफ्नो कविताको शक्तिले नै छापिएको हो भन्ने उहाँलाई लाग्छ ।
साहित्य लेखनकै क्रममा २०६२ सालमा उहाँ रेडियोमा पनि प्रवेश गर्नुभयो । भक्तपुर एफएम १०५.४ मेगाहर्जमा इन्द्रेणीको रङ कार्यक्रम सञ्चालन गर्नुभयो । जहाँ नेपाली गजल कार्यक्रमकै इतिहासमा पहिलो पटक बाजागाजासहित प्रत्यक्ष गजल गायन कार्यक्रम सञ्चालन गर्ने श्रेय पनि उहाँलाई जान्छ । २०६४ सालमा अर्को रेडियोसँग सम्बद्ध हुनुभयो। त्यहाँ ईश्वर र फूलहरू शीर्षकको साहित्यिक कार्यक्रम चलाउनु भयो । २०६६ श्रावण १२ गतेदेखि आजका मितिसम्म आरजेको डायरी शीर्षकको रेडियो साहित्यिक कार्यक्रम चलाउँदै आउनुभएको छ । यसका साथै उहाँले कविता र आख्यान वाचन पनि गर्नुहुन्छ साताको दुई दिन । कफी विद आशुतोष रेडियो टक शोमा पनि विविध क्षेत्रका सेलिब्रेटीहरुसँग अन्तरवार्ता पनि गरिहनुभएको छ । यसअघि द बटम लाईन टक शो गोर्खा एफएम ९३ मेगाहर्जमा २०६८ सालको मंसिरदेखि २०७६ सालसम्म सञ्चालन गर्नुभएको थियो । यसरी तीन ओटा रेडियोका तीन ओटा कार्यक्रममार्फत अहिले सम्म १२ सय भन्दा धेरै सर्जकहरुलाई अतिथि बनाएर कुराकानी गरिसक्नु भएका कवि आशुतोषलाई फेसबुकमा प्रसारण हुँदै आएको हाम्रो कार्यक्रममा जोडिँदा थोरै नर्भस फिल भएछ । सयौँ स्रष्टालाई सयौँ प्रश्न सोधिसकेको मान्छेलाई पनि कार्यक्रममा के के प्रश्न सोधिएला ? के के जवाफ दिने होला भन्ने पनि लागेछ । तर हामीले भने उहाँको यस अनुभुतीलाई हामी र हाम्रो कार्यक्रमप्रतिको प्रेमको रुपमा बुझ्यौँ ।
सामन्यतया हरेक मान्छेको मनमा प्रतिपक्षीको भावना हुन्छ भनेर भनिन्छ । तर आफूमा त्यस्तो किसिमको कुनै पनि प्रतिपक्षी भावना नभएको उहाँ दाबी गर्नुहुन्छ । त्यसको मतलब अन्य साहित्यकारहरु जहाँ-जहाँ पुगे पनि उहाँहरुप्रति कवि आशुतोषको मनमा प्रतिपक्षीको भावना कहिल्यै रहँदैन । तर यदि कसैले आफूलाई निशेध गरेर, आफ्नो काव्य चेत र कला तथा आफ्नो संस्कृतिलाई निशेध गरेर आफूलाई कहीँ कतै पुग्नबाट वञ्चित गर्छ भने आफूले त्यसको सधैँ प्रतिरक्षा गर्ने उहाँ बताउनु हुन्छ । त्यसरी निशेध गर्ने चाहे सरकार होस अथवा साहित्यकार आफू सधैँ उनीहरुको प्रतिपक्षी भएर उभिने उहाँ दोहोर्याउनु हुन्छ । कविता लेखेकै कारण आफूलाई फाँसीमा चढाइन्छ भने त्यहाँ चढ्न तयार हुने कवि आशुतोष आफूमाथिको निशेध सह्य नहुने उल्लेख गर्नुहुन्छ । अरु साहित्यकारहरु पुगेको ठाउँमा, आफू पनि पुग्न पाए हुन्थ्यो भन्ने लाग्नु, अरु साहित्यकारले बनाएको उचाइ र सफलता, आफूले पनि बनाउन पाए हुन्थ्यो भन्ने लाग्नु, अरुले पाएको सम्मान र पुरस्कार आफूले पनि पाउन पाए हुन्थ्यो भन्ने लाग्नु स्वभाविक हो । त्यो हरेक सर्जकको अधिकार पनि हो भन्ने उहाँलाई लाग्छ । तर त्यसको लागि आफूले कसैसँग प्रतिस्पर्धा नगरेको र आगामी दिनमा पनि नगर्ने उहाँ विश्वास दिलाउनु हुन्छ । तर कसैले कसैलाई निशेध भने गर्न नहुने उहाँको धारणा छ ।
माथि उल्लेखित कुराहरुमा सहमति जनाउँदै पाल्पाको तानसेन निवासी युवा कवि तथा अनुवादक जनक कार्की कवि आशुतोष बारे भन्नुहुन्छ, “उहाँ एउटा कवि मात्र नभएर सञ्चारकर्मी पनि हुनुहुन्छ । सञ्चारकर्मी मात्र नभएर म उहाँलाई कविताको एउटा अभियानताको रुपमा पनि चिन्दछु । मिडिया मार्फत उहाँले जुन साहित्य सेवा गरिरहनु भएको छ त्यो एकदम सराहनीय काम छ । उहाँका धेरै कार्यक्रमहरु मैले हेरेको/सुनेको छु । सञ्चारकर्मी भएर पनि उहाँले साहित्यलाई नै प्रमोट गर्नु भएको छ । कविलाई नै प्रमोट गर्नु भएको छ र सङ्गीतलाई नै प्रमोट गर्नुभएको छ । यस अर्थमा उहाँ एउटा कला प्रेमी हो । हामी सँगै मिलेर कुनै समय सात दिन सात कविता ईन्द्रेणी अभियान पनि चलाएका थियौँ । यसर्थ म उहाँलाई भौतिक रुपमा नचिने पनि भर्चुअल रुपमा म उहाँसँग नजिक छु । उहाँका कवितासँग नजिक छु । उहाँको अभियानसँग नजिक छु । उहाँको विचारसँग नजिक छु । उहाँको कवितामा एउटा छुट्टै सुगन्ध पाइन्छ । उहाँको कवितामा मलाई सबैभन्दा मन पर्ने भनेको उहाँले गर्ने नेवारी समुदायको मिथकीय प्रयोग हो । माटोको सुगन्ध मैले त्यसमा पाउँछु । सांस्कृतिक हिसाबले पनि ती कुराहरु एकदमै महत्त्वपूर्ण हुन सक्छन् । उहाँको कवितामा देश र समाजप्रतिको चिन्ता, राजनीतिक अस्थिरता, वेथिती, कुसंस्कार यी सबै कुराहरु हामीले पाउँछौं । उहाँका कविता एकदमै शसक्त खालका छन र यो नेपाली कविताको भिडमा धेरै कविहरु हुनुहुन्छ । तर उहाँको कवितामा एउटा छुट्टै स्वाद छ । उहाँको कवितामा कविको नाम नदिएर पनि यो पक्कै पनि राम गोपाल आशुतोषको कविता हो भन्न सकिने खालको पहिचान उहाँले बनाउनु भएको छ । त्यो एकदम सराहनीय छ । उहाँले आफू मात्रै नभएर अरु कविहरुलाई पनि सँगै लिएर जान चाहाने उहाँको सोँच छ । उहाँका केही नराम्रो र मलाई मन नपर्ने बानी उहाँ कुनै पनि कुरामा तल्काल प्रतिक्रिया जनाइहाल्नु हुन्छ । ती कुराहरुप्रति तल्काल प्रतिक्रिया नगरिदिएको भए पनि हुने थियो भन्ने हामीलाई महसुस पनि हुन्छ । एक अर्थमा त्यो राम्रो बानी पनि हुन सक्छ । किन भने मनमा पाप नराख्ने भन्ने बुझाउँछ यसले ।”
कवि कार्कीको मुल्याङ्कनप्रति आभार प्रकट गर्दै कवि आशुतोष भन्नुहुन्छ, “उहाँले भनेको कमजोरी अथवा नराम्रो बानी चाहिँ मेरो शक्ति हो भन्छु म त्यसलाई । कसैलाई यो लाग्छ तर म कसैप्रति आग्रही पूर्वाग्रही त्यस्तो छैन र मलाई त्यस्तो गर्नु पनि छैन । म सबैप्रति प्रेम भाव नै रहोस भन्ने चाहन्छु । तर जुन विक्रिती, विसङ्गती र अन्याय छ समाजमा त्यसप्रति म चुप लागेर बस्न सक्दिन । जुन बेलामा म कविता लेख्न सक्दिन अथवा कविता लेखेर यो कुरा बुझाउन सक्छु होला जस्तो लाग्दैन तब म तत्काल प्रतिक्रिया जनाउँछु । त्यो बेला म फेसबुकमा स्टाटसहरु हाल्छु । त्यो चाहिँ खराब बानी नै होला सायद ।”
साहित्यको विकासका लागि समूह बनाउनु अथवा गुटबन्दी गर्नु त्यो एक किसिमले राम्रो पनि हो । यसरी हेर्दा हरेक साहित्यिक संघसंस्था पनि एउटा गुट नै हुन । तर कहिलेकाहीँ एउटा गुटले अर्को गुटलाई प्रतिबन्ध गर्ने । एउटा गुटको मान्छेले अर्को गुटको मान्छेलाई प्रतिबन्ध गर्ने । उसको सिर्जनलाई बहिष्कार गर्ने खालका घटनाहरु बेलाबेला देखिन्छन नेपाली साहित्य वृतमा । निशेधको राजनीति देखा पर्छ बेलाबेला साहित्यमा पनि । आफ्नो गुटको मान्छेले जस्तोसुकै लेखोस, राम्रो नराम्रो भन्ने कुरा ख्याल नगरी प्रशंसा मात्र गर्ने, गुटको मूल उदेश्य कसैलाई निशेध गर्नु र अफवाहा फैलानु हो भने, अथवा नेपाली वाङ्मयलाई खतरमा पारेर निचा देखाउनु हो भने त्यस खालको गुटको कवि आशुतोष खुलेर विरोध गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “त्यो निषेधमा म त्यो अचानो हुँ जसलाई खुकुरीको प्रहार थाहा छ ।” तर यदि गुटको उद्देश्य सँझ्या साहित्यको जस्तो हो भने यस्तो गुटको खुलेरै सरहाना गर्नुहुन्छ उहाँ । सँझ्या साहित्य उहाँको गुट अर्थात साहित्यिक संस्था हो । जसमा कवि आशुतोषसँगै कवि महेश पौड्याल, अभय श्रेष्ठ र हरिहर तिमिल्सिना संलग्न हुनुहुन्छ । यसले कुनै समय ५ वर्षको दौरानमा करिब ४/५ सय कविहरुलाई एउटै मञ्चमा प्रस्तुत गरिसकेको छ । जात, भाषा, वर्ग, लिङ्ग र अन्य आधारमा तीन पुस्ताका कविहरुलाई मञ्च प्रदान गरेको थियो । त्यसमा पनि हरेक पटक एक जना एकदमै नयाँ प्रतिभालाई ठाउँ दिने गरेको थियो । गुट भनेको यस्तो हुनु पर्छ भनेर कवि आशुतोष सँझ्या साहित्यको उदाहरण दिनु हुन्छ । कोरोना कहरका कारण अहिले सो कार्यक्रम अवरुद्ध भएको छ । चाँडै नै त्यसलाई पुन: सुचारु गर्ने योजना रहेको उहाँले जानकारी पनि गराउनु भयो ।
साहित्यमा कवितालाई एउटा शक्तिशाली विधाको रुपमा लिइन्छ । कुनै कुरा भन्नू पर्ने भयो तर त्यसलाई सिधा भन्न नसकेको अवस्थामा कवितामार्फत भन्ने गरिन्छ । जसले गर्दा कविताको शक्तिको पहिचान हुन जान्छ । कविताले महान भनिएका शासकलाई पनि डराउने अवस्थाको निर्माण गर्छ । यसो भनिरहँदा कवि आशुतोष भने आफ्ना कविताभित्रको शक्ति पहिचान हुन बाँकी नै रहेको बताउनु हुन्छ । जहाँसम्म कविताहरु पुग्नु पर्ने हो त्यहाँसम्म पुगेकै छैन । आफ्ना कविताहरु धेरै पढिएकै छैनन्, उहाँलाई यस्तो लाग्छ । किन भने हाम्रा कविताहरु अहिले पनि जातमा फँसिरहेको छ । हामीलाई अझै पनि जातले छेकिरहेको छ । त्यसले गर्दा साहित्यमा निशेधको राजनीति जन्मिएको छ । त्यो निशेधको घनचक्करमा थुप्रै कविहरु पिसिएका छन । कविता प्रतियोगितादेखि पुरस्कारसम्म सबैमा निशेधको राजनीति मौलाएको छ । नेपाली भाषाको सेवा कसले गर्नु पर्ने हो र कसले गरिरहेको छ भन्ने कुरा सबैलाई थाहा छ । निशेधको दायरा भन्दा माथि लगेर आफ्ना कविताहरुलाई इन्ट्रा कल्चर कविताभित्र मिसाएर एक चोटि आँखा चिम्लिएर मूल्याङ्कन गर्ने हो भने आफ्ना कवितामा पनि शक्ति अवश्य भेटिने उहाँको भनाइ छ । किन भने त्यो उहाँको पहिचान हो । उहाँको शिल्प हो । उहाँको बोध र चेतना पनि हो ।
नेपालमा प्रदान गरिँदै आएका अधिकांश पुरस्कारहरुमा लेखकले आवेदन दिनु पर्ने प्रावधान हुन्छन । जुन प्रावधन कवि आशुतोषलाई चित्त बुझ्दैन । यसले सर्जकहरुको शक्ति, स्रोत र ओज अनावश्यक रुपमा खर्च गराइरहेको उहाँलाई लाग्छ । यसकारण उहाँले अहिलेसम्म कुनै पुरस्कारका लागि निवेदन नदिएको दाबी गर्नुहुन्छ र निवेदन नदिएकै कारण आफू पुरस्कृत नभएको हो भन्ने पनि उहाँ ठान्नुहुन्छ । पुरस्कार र प्रतियोगिताहरुमा आफ्नो जातले पनि ठुलो फरक पार्ने गरेको उहाँको अनुभव छ । पैसाले पैसा तान्छ भनेजस्तो यो जातले आफ्नै जात तान्दो रैछ । कवि लेखकलाई भनेर राखिएको पुरस्कार जातलाई जाँदो रैछ । पुरस्कार र प्रतियोगिताहरु विवादमा पर्नुको मुख्य कारण पनि यही हो । अर्को महत्त्वपूर्ण कुरा हामीमा सहिष्णुता नभएका कारण पनि सम्मान तथा पुरस्कारहरु विवादित बन्ने गरेको पाइन्छ । जस्तो कुनै एउटा जातको लेखकले पुरस्कार अथवा सम्मान पायो भने अर्को जातको सर्जकले त्यसको विरोध गर्ने चलन हामीमा बढ्दै गएको छ । यसरी हामी जातको घेराबन्दीमा नजानिँदो पारामा फँसिरहेका छौँ । जसका कारण नेपाली साहित्यमा साच्चिकै योगदान दिएका सर्जकहरु ओझेलमा परिरहेका छन् । यसका लागि पुरस्कार प्रदान गर्ने संस्थाहरुले आफ्नो खोजको दायरालाई फराकिलो पार्नु पर्ने कवि आशुतोष सुझाब दिनुहुन्छ । जातकै कुरा गरिरहँदा हामीमा अर्को पनि समस्या छ। त्यो के भने आफ्नो बाहेक अर्को जातको अस्तित्व स्वीकार गर्न हामीलाई गाह्रो पर्छ । आफ्नो पहिचान बचाउन संघर्ष गरिरहेका अथवा भनौँ आफ्नो पहिचान जोगाउनु पर्छ भनेर लागेकाहरु स्वयंले अरुको पहिचान स्वीकार गरेको देखिन्न । पहिचानवादी स्वयमले पनि अर्को पहिचानलाई निषेध गरिरहेको अवस्था छ । यो स्वीकार गरियोस् भन्ने कवि आशुतोषको माग छ । नश्लवादको विरोध गर्नेहरु स्वयम् नश्लवादी हुँदै गएका छन । आफ्नो पहिचान बचाउन अरुको पहिचानको सम्मान गर्नु पर्छ भन्ने कुरामा उहाँ जोड दिनुहुन्छ ।
कवि आशुतोष आफू मात्र साहित्य सिर्जना गर्नुहुन्न । अरुको सिर्जना अध्यन पनि गरिरहनु हुन्छ । अग्रज र नयाँ पुस्तालाई धेरैहदसम्म नजिकबाट नियाल्ने कोसिस गर्दै आउनुभएको छ । उहाँ आफैँ पनि रेडियोमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आउनु भएको नाताले थुप्रै सर्जकहरुलाई अतिथि बनाएर उहाँहरुसँग भलाकुसारी गर्नुका साथै उहाँहरुका सिर्जनाहरुलाई नजिकबाट बुझ्दै पनि आउनु भएको छ । यसरी हेर्दा नयाँ पुस्ता र पुरानो पुस्ता दुबैका सिर्जनामा खोट लाउने ठाउँ रहेको उहाँको अध्यनले भन्छ । हुन त जतिसुकै लामो समयदेखि लेख्दै आएको भए पनि एउटा कवि हरेक सिर्जनामा ऊ नयाँ नै हुन्छ । ऊ सधैँ सिकारु नै हुन्छ । कवि आशुतोष पनि आफूलाई त्यही अनुभव गर्नुहुन्छ । मैले २० बर्ष अघिदेखि लेख्दै आएको छु त्यसकारण मेरो कविताको शक्ति यो हो भनेर आफूले कहिल्यै दाबी गर्ने नगरेको उहाँ उल्लेख गर्नुहुन्छ । उहाँ आफूलाई हस्तसिद्द कवि भनेर पनि सावित गर्नुहुन्न । यसकारण युवा कविहरुमा प्रशस्त मात्रामा कमीकमजोरीहरु रहेको उहाँ स्वीकार गर्नुहुन्छ । समयक्रमसँगै कविको बोध र चेतनाको तह, विचारको तहका साथै कला र शिल्प, शैली बुन्ने तरिकामा पनि फरक पर्दै जाने भएका कारण निरन्तरको प्रयासमा लेखनमा सुधार हुने कुरा छँदै छ । त्यसकारण युवा कविहरुले आफूभित्रको दम्भ अलिकति त्याग्ने हो भने उहाँहरुको कवितामा कसी लगाइराख्नु नपर्ने कवि आशुतोषको भनाइ छ । त्यसका लागि दम्भ त्यागेर कुनै गुटभन्दा बाहिर आएर साधाना गर्नु पर्ने आवश्यकता उहाँ औँल्याउनु हुन्छ । अहिलेको पुस्तामा अति राम्रो लेख्ने कविहरु पनि छन । तर गुटमा रमाएर गलत कुरालाई पनि सहि हो भन्ने ध्याउन्नमा लागेको पाइएकाले उनीहरुले त्यो छोड्नु पर्छ । यसका अलवा अग्रज पुस्तालाई प्रसस्त सुन्नु पर्ने र उहाँहरुले के भन्न खोजिरहनु भएको छ त्यो मनन् पनि गर्नु पर्ने कवि आशुतोषको सल्लाह छ ।
यसअघि अन्त दिइएका अन्तरवार्ताहरुमा कवि आशुतोषले अहिले हामी जे जति लेखिरहेका छौँ त्यसमा नयाँ कुरा खासै केही नभएको र पुरानै कुरालाई ओल्टाइपल्टाइ गरेर लेखिरहेका छौँ भनेर टिप्पणी गर्नु भएको थियो । सोही कुरा यहाँ पनि दोहोर्याउनु भयो । नयाँ पुस्ताका कविहरुमा अध्य्यनको दायरा कम भएका कारण यस्तो हुन गएको हो भन्ने उहाँको धरणा छ । कविता लेखिसकेर मात्रै कविको जिम्मेवारी पूरा हुँदैन । कविता लेखिसकेपछि एक पटक आफैँले पढेर,विगतका कुराहरु, इतिहासका पानाहरु पल्टाएर हेर्न सकेको खण्डमा आफूले लेखेको कविताको ऐना आफैँ देखिन्छ । त्यसभित्रका कमीकमजोरीहरु आफैँ पत्ता लाग्छन । हिमाल, पहाड अथवा गुराँसको कविता लेखिरहँदा त्यो गुराँस कहाँबाट कसरी फुल्यो, त्यसको जरा कहाँ छ भन्ने कुरा आजका कविहरुले पत्ता लगाउनु पर्छ । गुराँस फुल्ने छातीलाई बिर्सेर गुराँसको सौन्दर्य मात्रै हेरेर कहाँ हुन्छ ? कवि आशुतोष प्रश्न गर्नुहुन्छ । त्यो गुराँसको सौन्दर्य आदिवासी सौन्दर्य हो । गुराँस एक्लै फुलेको हुँदैन । कसैको छातीमाथि टेकेर फुलेको हुन्छ । तर कविहरु गुराँस, हिमाल, पहाड, नदीमा र थोरबहुत केही कल्चरहरुमा मात्र रुमल्लिरहेका छन । त्यसकारण सधैँ क्लिसे र मृत बिम्बहरुको प्रयोगले नयाँ कविताहरु नजन्मिने उहाँको बुझाइ छ । यसका बाबुजुद पनि केही कविहरु जसले आदिवासी सौन्दर्यसहितका कविताहरु लेखेर नेपाली कवितामा फरक स्वाद थप्ने काम गरेका छन ।
नेपाली कवितामा जब आदिवासी पहिचान, त्यसको सौन्दर्य र त्यसको पेरिफेरिको पर्यावरणसहितको कविताहरू आए तब नेपाली वाङ्मयको स्तर विश्व स्तरीय भएको कवि आशुतोषको दाबी छ । उहाँ पनि विगत दुई दशकदेखि यस्तै आदिवासी सौन्दर्य चेतका कविताहरु निरन्तर लेख्दै आउनु भएको छ । तर यस किसिमका कविताहरु धेरै पढिएकै छैन । स्वयम् समालोचकहरुले समेत यस्ता कविताहरु माथि आफ्नो समालोचकीय दृष्टिकोण प्रस्तुत नगरेको उहाँको गुनासो छ । यसकारण कवि आशुतोषलाई पनि आफ्ना कविताहरुको ऐना देखाउन मन छ । समालोचनाको ऐना देखाउ मन छ तर समालोचकको होइन । किन भने समालोचकहरु जातीय छन/हुन्छन भन्ने गम्भीर आरोप छ उहाँको । समालोचकहरु जात, वर्ग र दलको दायराभन्दा बाहिर जान चाहनु हुन्न । आफूलाई समालोचक भनेर युगौँयुगसम्म चिनाउन चाहानु हुन्छ भने उहाँहरुले त्यो दायराभन्दा बाहिर निस्किनु पर्छ । यो पहिलो र अनिवार्य सर्त हो ।
कवि आशुतोष लामो समयदेखि रेडियोमा पनि काम गर्दै आउनु भएको नाताले मैले उहाँलाई “अहिले समय यतिधेरै परिवर्तन भइसकेको छ कि मान्छेको हात-हातमा मोबाइल छ । नेट छ । जसले गर्दा उसले चाहेको कुरा एक बटम थिचेको भरमा प्राय सबै कुरा पाउन सक्ने अवस्था सिर्जना भएको छ । मनोरञ्जनका लागि मोबाइल नै काफी हुँदै गएको अवस्था छ। यस्तो अवस्थामा मान्छेले अब रेडियो किन सुन्ने ?” भनेर प्रश्न गरेको थिएँ । “संसारकै सबैभन्दा सस्तो र सर्वसुलभ सञ्चार माध्यम रेडियो हो । यो गरिब र मजदुरहरुको सम्पत्ति हो । निमुखाहरुको आवाज बोल्ने एउटा साधन हो । निरक्षरहरुको आवाज हो रेडियो । अन्य सञ्चारका माध्यमसम्म सबैको पहुँच नपुग्न सक्छ । ती माध्यमसम्म पहुँच नहुनेहरुले पनि सजिलै प्रयोग गर्न सक्ने सजिलो सञ्चार हो रेडियो । यसलाई साथमा राखेर आफ्ना दैनिक काम गर्न सकिन्छ । अरु माध्यमले जस्तो यसले मान्छेको समय खोस्ने काम गर्दैन अथवा मान्छेलाई आफ्नो काममा अलमलाउने गर्दैन । यसलाई सुन्दै आफ्नो काम गर्न सकिन्छ । संसारमा अहिलेसम्म कुनै पनि यस्तो प्रविधी बनेको छैन जसले निरक्षरहरुलाई चलाउन सिकाइयोस । तर रेडियो छ उहाँहरुको साथमा ।” कवि आशुतोषले यस्तो जवाफ दिनु भयो । तर रेडियोले पनि समय र प्रविधिसँगै आफू र आफ्नो प्रस्तुतिमा परिवर्तन गर्दै लैजान सकेको खण्डमा कुनै पनि सञ्चारका माध्यमले रेडियोलाई विस्थापित गर्न नसक्ने उहाँको विश्वास छ । त्यसो हुँदा प्रत्यक्ष रेडियो सुन्न नसक्नेहरुले पनि सामाजिक सञ्जाल मार्फत विश्वको कुनै पनि कुनामा बसेर त्यसलाई सुन्न सक्ने छन् । जुन अहिले पछिल्लो समय अधिकांश रेडियोहरुले त्यसलाई अपनाउँदै पनि आएका छन् ।
“सगरमाथा साहित्य प्रतिष्ठान”को फेसबुक पेज तथा युटुब च्यानल “ए एस ईन्टरटेन्मेन्ट” मार्फत हरेक शनिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदैआएको कार्यक्रम “स्रष्टा र सिर्जना”मा गरिएको कुराकानीमा आधारित ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।