त्यसो त जीवन भन्नु नै सिकाइ हो र मानिस सधै विद्यार्थी नै रहन्छ तर जीवनको लय फेरिन्छ । यस्तै भयो, २०४५ सालले जीवनको लय फेरिदियो । कारण हो, यसैवर्षको मध्यमा जागिरे जीवन प्रारम्भ भयो जसले औपचारिक शिक्षाको एउटा लामो यात्रा टुँगियो र जीवनले अर्को मोड लियो, ‘विद्यार्थी’बाट ‘जागिरे’मा परिणत भइयो ।
विकल्प धेरै नभएकाले पनि जीवन निर्वाहका लागि जागिर खोज्नु बाध्यता थियो । जागिर पाउनु ठुलै कुरो हात पर्नु थियो, जागिरकै निम्ति पढ्ने मजस्ता सबैलाई त्यसताका । जागिर पाउँदा वाहवाही हुन्थ्यो । घरपरिवारमा खुसी छाउँथ्यो, आफन्त इष्टमित्रले जागिर पाउनेको चर्चा परिचर्चा गर्थे, आफ्ना सन्तानलाई जागिर पाउनेको उदाहरण दिँदै ‘फलानो जस्तो हुनुपर्छ’ भन्ने चलन पनि थियो । जागिर भन्नु नै पराधीन हुनु हो । अर्काको आदेश पालन गर्नु र नियन्त्रणमा रहनु हो । त्यसका लागि तयार हुनु जागिर रोज्नेको बाध्यता हो ।
यही बाटो रोजेपछि त्यसभन्दा परतिर सोच्नु अर्थात् आफूले चाहेजसो हुनु वा गर्न पाउनु अवश्य सम्भव हुँदैन । यस्तै भयो, जागिरे जीवनको प्रारम्भमै नेपालगञ्ज पुगियो । पश्चिमको प्रमुख नाका नेपालगञ्ज सहर अहिले जस्तो सुगम र नजिक थिएन, त्यतिबेला त्यो काठमाडौबाट निकै टाढा थियो । त्यसताका दिनको समयमा बुटवल हुँदै बीरगञ्ज–नेपालगञ्ज दुईवटा मात्र बस चल्थे ध्रुव तारा र रैना, रात्रि सेवाका भने थुप्रै थिए ।
पहिलोपटक नेपालगञ्ज जानका लागि मैले रात्रि सेवा नै रोजेको थिएँ । यसका लागि पाल्पाबाट बुटवल झरी त्यहाँबाट १५ गतेको रात्रिबस चढेका हामी असोज १६ गतेका दिन विहान नेपालगञ्ज पुगेका थियौँ । सहयात्री हुनुहुन्थ्यो काका ईश्वर नेपाल, उहाँ पनि जागिरकै क्रममा नेपालगञ्ज जाँदै हुनुहुन्थ्यो ।
पहिलोपटक सीमावर्ती त्यस सहरमा पुग्दा म अत्तालिएको थिएँ, कहाँ आइयो कहाँ जस्तो लागिरहेको थियो । असोज महिनाको त्यो मध्यमा विहानी समयमा नै उखर्माउलो गर्मी थियो ।
साँगुरा सडक–गल्ली, ठेलमठेल साइकल र रिक्सा, टाँगाको टङटङ अनि घोडाका टापको टकटक त थियो नै खुला ढलहरू, यत्रतत्र फोहर देख्दा र त्यतिखेरको त्यस सहरको परिवेश, मानिसहरूको बोलिचाली र लवज, पहिरन आदि हेर्दा सुन्दा कहाँ आइपुगें ? जस्तो लाग्थ्यो । साँच्चिकै भन्नुपर्दा पाल्पामा जन्मे हुर्केको विशुद्ध पहाडे मलाई कहिलेकाहीँ त यस्तो पनि लाग्थ्यो कतै म छिमेकी मुलुकतिर त छैन ? रहँदै बस्दै जाँदा बानी पर्दै गयो, त्यहाँको गर्मी र पसिना अनि लाम्खुट्टेको टोकाइ पनि सामान्य लाग्न थाल्यो ।
जगिर न हो, नेपालगञ्जमा धेरै समय बस्नु परेन, तर त्यहाँबाट अझ पर पुगियो बर्दियाको गुलरिया जहाँ न सडक पुगेको थियो, न बिजुली नै थियो ।
नेपालगञ्ज र गुलरिया गरी झण्डै चार वर्ष पश्चिमको बसाइपछि स्याङजाको गल्याङबजार सरुवा भयो । त्यहाँको बसाइ पनि चार वर्षकै भयो ।
एक त दुरी र बिदा आदिको कुरा, अर्को खर्चको कुरा पनि हुन्थ्यो । चाकडी, चाप्लुसी र चुक्ली नजान्ने स्वभाव तथा रिझाउन सक्ने कला र हैसियत नभएकाले पनि होला नियुक्ति लिएपछि ठ्याक्कै पाँच वर्ष काठमाडौ आइएन,आउन आवश्यक ठानिएन ।
पाँच वर्षपछि साइत निस्क्यो राजधानी आउने । त्यो पनि स्वेच्छाले होइन, केन्द्रीय कार्यालयले एउटा एकहप्ते तालिममा मनोनयन गरी सहभागी हुन बोलाएपछि । यता नजिकतिर र काठमाडौ भित्रै बसेर जागिर खान पाएका भाग्यमानीहरू सबैसँग परिचित र निकट भइ हाकिम रिझाएर सुविधा र अवसरको लाभ लिन थालिसकेका थिए आफू चाहिँ अपरिचित बबुरो नै थिएँ । बाहिर रहनेले राख्न सक्ने सम्बन्ध र सम्पर्कका हकमा त्यसताका न अहिलेजस्तो मोबाइल फोन थियो न त सामाजिक सञ्जाल नै । टेलिफोन नै सबैको पहुँचमा थिएन । यसैले आफ्नै संस्थाका पनि सीमित व्यक्तिहरूसँग मात्रै परिचय थियो ।
२०५० सालको महिना थियो माघ । तालिम सुरु हुने अघिल्लो दिन काठमाडौ आइपुगेँ । तालिमका लागि आएको म टङ्गाल स्थित केन्द्रीय कार्यालय पुगेँ र भेटेँ मित्र बुद्धिराज पाण्डेलाई जसबाट २०४८ सालमा मैले गल्याङबजार शाखाको जिम्मेवारी लिएको थिएँ ।
यसपछि हामी पुग्यौँ कर्मचारी प्रशासन विभागमा कार्यरत विनय रावलको कोठामा । यो नै उहाँसँगको मेरो पहिलो भेट थियो ।
उहाँ सामु पुगि बुद्धिराज पाण्डेले मेरो नाम उच्चारण गर्ने बित्तिकै उहाँले मसँग चिर परिचितजस्तो व्यवहार गर्नुभयो ।
पहिलो भेटमै उहाँको मप्रतिको व्यवहार देखेर म अनौठो मानिरहेको थिएँ । अन्तर्मुखी र हत्तपत्त कसैसँग घुलमिल हुन नसक्ने स्वभावको म आश्चर्यमा परेँजस्तो महसुस गर्नुभएछ क्यारे, उहाँले प्रस्टै भन्नुभयो ‘तपाईं त लेखक हो नि, हाम्रो संस्थाको अर्को एउटा लेखक, लेख्नुपर्छ है, छाड्नुहुन्न ।’
उहाँबाट यत्ति सुनिसकेपछि मलाई लाग्यो, उहाँ लेखकहरूलाई भिन्न ढंगले हेर्नुहुन्छ र मेरा बारेमा जानकारी राख्नुहुन्छ । तर वास्तवमा कार्यालयको जिम्मेवारी तथा अनुकूल वातावरणको अभावमा त्यसताका मेरो लेखन सुस्ताएको थियो । यसैले मैले असहज मान्दै भने, ‘ लेखक त कहाँ हुनु र सर, अलिअलि कलम चलाउँछु ।’
उहाँले भन्नुभयो ‘लेख्ने हरेक व्यक्ति लेखक हो । यो अद्भूत क्षमता हो । बोल्न त जो पनि बोल्छ, कलम चलाएर आफ्नो विचार सम्प्रेषण गर्ने क्षमता जो कसैमा हुँदैन, त्यस्तो सामर्थ्य र कला हुनेजति सबै लेखक नै हुन् ।’
उहाँले भन्नुभयो ‘लेखक ठूलो र सानो हुँदैन, लेखक भनेको लेखक नै हो ।’ उहाँको यो अभिव्यक्तिबाट मैले हौसला प्राप्त गरें । एउटा स्थापित लेखकले मजस्तो भर्खर लेखनमा वामे सर्दै गरेको व्यक्तिलाई त्यसरी उत्साहित बनाउनु,हौस्याउनु आफैंमा गजब थियो ।
जागिरकै क्रममा स्थानान्तर भई चितवन पुगेपछि संस्थाका धेरैजना अग्रज, समकालीन र अनुजहरूसँग परिचित हुने मौका मिल्यो । एकातिर काठमाडौसँगको सहज पहुँच,अर्कोतिर काठमाडौंबाट बाहिर जिल्लातिर जानेहरू प्रायः चितवन भएर हिंड्ने र बाटोमा पर्ने भएकाले हाम्रो कार्यालयमा पस्थे । विनय रावलको हकमा पनि घरायसी कामले पैतृक थलो बीरगञ्ज जानुपर्दा होस् वा कार्यालयको कामले जिल्लातिर जानुपर्दा नै, बाटो पर्ने भएकाले उहाँसँग बारम्बार भेट हुन थाल्यो । फोनमा सम्पर्क गर्ने र केही नयाँ कुरा छ कि सोध्ने वा उहाँ स्वयम् पनि ‘ल यस्तो छ है’ भन्ने गर्नुहुन्थ्यो । र, चितवन हुँदै कतै जाँदा भरतपुर पुगेपछि मलाई खोज्नुहुन्थ्यो र भेटघाट हुन्थ्यो ।
कार्यालयको सम्बन्ध त थियो नै म फाटफुट साहित्य सँगसँगै पत्रपत्रिकामा समसामयिक विषयमा लेखहरू पनि लेख्थें । उहाँ पनि पत्रिकामा स्तम्भ लेख्नुहुन्थ्यो । सायद यसैले पनि होला उहाँ मलाई धेरै माया गर्नुहुन्थ्यो । यसैले काठमाडौं आउँदा उहाँको कार्यालय कोठामा पुग्थेँ, नपुगे मलाई कतै देख्नासाथ ‘मकहाँ आउनु है भन्नुहुन्थ्यो । कोठामा गएपछि छेउमा रहेको चाङबाट पत्रपत्रिका,पुस्तक आदि निकाल्ने, दिने र त्यहाँ अन्य कुनै साहित्यकार उपस्थित भए तीसँग परिचय गराउने गर्नुहुन्थ्यो ।
एउटा यस्तै भेटमा उहाँले भन्नुभयो ‘पत्रिकाको कटिङहरू राखिराख्नु है, पछि चाहिन्छ ।’ ‘अहिले लेखेको कुराको महत्त्व पछि हुन्छ, पछि त्यो इतिहास हुन्छ । यसैले आफूले लेखेका, चाहे प्रकाशित हुन् वा अप्रकाशित,सबै सामग्री जतन गर्नुपर्छ । तिनैबाट छानेर राम्रालाई पछि पुस्तकाकार दिनुपर्छ ।’
त्यसो त म आफैं पनि यस मामलामा सजग थिएँ । २०४० साल देखि रचनाहरू प्रकाशित हुन थालेका र ती मध्ये प्रायः सबै नै मसँग सुरक्षित रहेकाले म भन्थे, ‘धन्दै नमान्नुस् सर,राखेको छु, राख्छु तर पुस्तक निकाल्न सकिने पो कहिले हो ।’
यसो भन्दा उहाँ भन्नुहुन्थ्यो ‘सकिहालिन्छ नि, निकाल्नुपर्छ, म छु सकेको सहयोग गरिहाल्छु ।’ उहाँ यसो भनेर मलाई लेख्न हौस्याउनु हुन्थ्यो ।
एउटै संस्थामा कार्यरत र आफूभन्दा माथिल्लो ओहदामा रहनुभएकाले मैले सम्बोधनमा उहाँलाई ‘सर’ नै भन्थें,उहाँ चाहिँ मसँग हाकिम होइन, दाजु र अग्रजको व्यवहार गर्नुहुन्थ्यो । उहाँ मसँग यति प्रष्ट,खुलस्त र आत्मीय हुनुहुन्थ्यो कि म आफै छक्क पर्थें ।
हामी कार्यरत बैंकको वित्तीय अवस्था अत्यन्त कमजोर थियो । पूर्ण सरकारी स्वामित्वको बैंक भएकाले यसमा राजनीतिक हस्तक्षेप थियो । यो व्यावसायिक ढंगले चल्न सकेको थिएन । उता निजी क्षेत्रका बैंकहरू बढदै थिए, ती प्रविधिको प्रयोग गर्न र व्यावसायिक रूपमा चल्न थालेका थिए, यता हाम्रो मात्र होइन अन्य सरकारी बैंकको समेत वित्तीय स्वास्थ्य कमजोर थियो । यसैकारण सरकारले पचासको दशकको अन्त्यतिर वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत हाम्रो बैंकलाई विदेशी व्यवस्थापनको जिम्मा लगायो ।
बैंक नयाँ व्यवस्थापनको नियन्त्रणमा गएपछि, एकप्रकारले भन्नुपर्दा जागिर प्रारम्भ गरेको छोटो समयदेखि नै बैंकको उच्च व्यवस्थापन निकट रहेर काम गर्दै आउनुभएका विनय रावल नयाँ व्यवस्थापकहरूको प्राथमिकतामा पर्नुभएन । त्यसो त जागिरे भएपछि कसैले पनि विशेष सुविधा र सहुलियत पाउनु हुँदैन, सबैसँग समान व्यवहार हुनुपर्छ । उहाँले पनि अरूले भन्दा भिन्न वा विशेष सुविधा दाबी गर्न मिल्ने कुरा नै हुँदैनथ्यो तर त्यसपछि उहाँको मनोबल प्रभावित हुने र आत्मसम्मानमा ठेस पुग्ने खालका निर्णय हुन थाले । प्रतिस्पर्धी,विरोधी र चाटुकारले उहाँका विरुद्ध कुरा लगाउने तथा व्यवस्थापन त्यसबाट प्रभावित हुने अवस्था आयो । यिनै चलखेल पछि उहाँको सरुवा भयो । संयोग, उहाँ मैले जागिरे जीवन प्रारम्भ गरेको क्षेत्रीय कार्यालय नेपालगञ्ज पुर्याइनुभयो । केही समय त्यहाँ रहेपछि उहाँको आत्मसम्मानमा चोट पुग्ने खालको निर्णय गर्दै उहाँलाई पुनः स्थानान्तरण गरियो ।
यसपछि जागिर खाँदाखाँदै पनि साहित्यिक र पत्रकारिता क्षेत्रमा सक्रिय र राजनीतिप्रति समेत चासो राख्दै आउनुभएका उहाँ ती क्षेत्रमा अझ बढी सक्रियता देखाउने निर्णयमा पुग्नुभयो । विभिन्न संघसंस्थामा जोडिनुभएका उहाँ साझा प्रकाशसनका सञ्चालक हुनुहुन्थ्यो । यसैबिच केही साथीहरूका साथ साहित्यिक यात्राको क्रममा पूर्वोत्तर भारतका नेपाली बहुल क्षेत्र दार्जिलिङ, खस्र्याङतिर पुग्नुभएका उहाँको २०६२ साल जेठ २५ गतेका दिन भारतीय भूमिमै सवारी दुर्घटनामा परी आकस्मिक निधन भयो ।
रावलको निधनबाट परिवारले आफ्नो अभिभावक गुमायो, एउटै संस्थामा काम गर्ने हामीले एउटा अग्रज गुमायौं, समस्त लेखक, पत्रकार, साहित्यकारले एउटा सक्रिय सर्जक गुमाए । देशलाई त उनको मृत्यु एकजना नेपालीको मृत्यु भन्दा बढ्ता हुने कुरो भएन तर नेपाली साहित्यले एउटा होनहार सर्जक र सक्रीय स्रष्टा असमयमै गुमायो भने नेपालको प्रजातान्त्रिक आन्दोलनले प्रजातन्त्रको एउटा पहरेदार र प्रवक्ता गुमायो ।
आज विनय रावललाई सम्झिरहँदा उहाँको दृढनिश्चयी स्वभाव सम्झन मन लाग्छ । निश्चय नै यो स्वभाव कहिलेकाहिँ घमण्डको रूपमा पनि देखापरेको र त्यसैकारण अत्यन्त निकट रहेका साथीभाइसँगको सम्बन्धमा तिक्तता आएको पनि सबैलाई जानकारी भएकै विषय हो । ती मध्ये कतिपयसँगका सम्बन्ध समयक्रममा सुध्रिए भने कतिपयसँगका सम्बन्ध सुध्रन नपाउँदै उहाँको निधन भयो । सम्बन्ध दुबै पक्षको आनिबानी र स्वभावले निर्धारण गर्ने विषय हो । यसमा दुबै पक्षको धेरथोर कमजोरी हुनसक्छ । यस्ता व्यक्तिगत कुराभन्दा माथि उठेर हेर्दा उहाँको लोकतन्त्रप्रतिको आस्था, प्रतिबद्धता र समर्पण सम्झनलायक छ ।
आजको यस दिनमा उहाँकै योे कविता मार्फत स्वर्गीय विनय रावलप्रति हार्दिक श्रद्धाञ्जली !
काठमाडाँमा कविता
म कवितामा चाहन्छु
मान्छेको मुक्ति
र,स्वाभिमानको कुरा ।
तर अपसोच
मेरो कविता
काठमाडौको गल्लीमा भौँतारिइरहेछ ।
किनकि
काठमाडौको सिंहदरबारमा
एउटा उचका आएर बसेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।