वरिष्ठ साहित्यकार परशु प्रधानलाई कसरी सम्झना गरुँ ? निजामती सेवालाई त्यागेर स्वतन्त्र साहित्यिक छविमा रमाउने व्यक्ति भनुँ ? वा वाणी प्रकाशनका अध्यक्षको रूपमा साहित्यलाई स्थापित गराउने योद्धाको रूपमा सम्झुँ ? वा नयाँ पुस्ताका कवि, लेखकलाई स्नेह गर्ने स्नेह पुरुषका रूपमा याद गरूँ ?

परशु प्रधानलाई सम्झिँदा, वाणी प्रकाशन आँखामा आउँछ । वाणीलाई सम्झिदा, परशु प्रधानको हुलिया टुप्लुक्कै हाजिरी हुन्छ । चर्को गर्मीको स्थानविराटनगर । जोगवनीको जेरी र दालचिनीमा अल्झेको सर्वसाधारणको दिनचर्या । गोल्छा र दुगडलगायत मारवाडी समुदायले धानेको विराटनगरको परिचय । बरु राजनीतिक विरासतमा कोइराला र अधिकारी परिवार ।

मेरो पहिलो भेट वाणी प्रकाशन विराटनगरमा भएको हुनाले परशु प्रधान र वाणी प्रकाशन एक अर्काका पर्यायवाची हुनजस्तो लाग्छ । दुई कार्यकालअर्थात एक दशक वाणी प्रकाशनको अध्यक्ष पद कुशलतापूर्वक चलाउनु भएकोले पनि मलाई त्यस्तो लागेको हुन सक्छ । वाणी प्रकाशनलाई व्यावसायिक रूपमा लैजान उहाँ सफल हुनुभएको मेरो ठम्याइ छ ।

साहित्य लेखेर मात्र हुँदैन । साहित्यलाई समाजमा सँस्कृतिको रूपमा स्थापित गर्नुपर्छ । सायद यही भावनाले खोलिएको थियो, वाणी प्रकाशन विराटनगर । म पनि साहित्य पढ्न रुचि राख्ने । अलि–अलि लेख्ने पनि । तर म पनि लेख्न सक्छु भनेर आत्मविश्वास नभएको ।

परशु प्रधान

इलाका हुलाक कार्यालय छेउ, वाणी प्रकाशनको कार्यालय । सायद २०५६ साल साउन । केहीकिताव बारेमा सोधखोज गर्ने क्रममा परिचय भयो कथाकार विवश पोखरेल दाइ । विवशदाइ वाणीमा नै व्यवस्थापकको रूपमा कार्यरत हुनुहुँदो रहेछ । उहाँले नै प्रसिद्ध कथाकार एवम् तत्कालीन वाणी प्रकाशनका अध्यक्ष परशु प्रधानसँग परिचय गराउनु भयो ।

त्यसको केहीदिनमा नै वाणीको नियमित कार्यक्रम पाक्षीक कविगोष्ठी भयो । मैले त्यहाँ डराइ डराइ ‘शरणार्थी’ भन्ने कविता सुनाएँ । खासमा म कविता सुनाउन भन्दा पनि सुन्ने र सिक्ने मनसायले त्यहाँगएको थिएँ । यद्यपि त्यस अघि वीरगञ्ज साहित्य परिषदद्वारा आयोजित राष्ट्रिय कविगोष्ठीमा भागलिएको अनुभव भने थियो ।

उहाँले मेरो पुख्यौली घर भोजपुर भन्ने थाहा पाए पछि भोजपुरको पानी नै कडा भनी खुसी हुनुभयो । उहाँ आफैं पनि भोजपुरको हुनु भएकोले चासो लिनु स्वाभाविक थियो । त्यो कविगोष्ठीपछि करिब ६ महिना जति वाणी प्रकाशन गएको थिइन । एकदिन अचानक बाटोमा परशु प्रधान भेट हुनुभयो । उहाँले वाणी प्रकाशनको कविगोष्ठीमा सहभागी हुन उत्प्रेरित गर्नुभयो । त्यसपछि कागोष्ठीमा मैले सक्रियताका साथ भाग लिएँ । ती गोष्ठीमा सुनाएका कविताहरूले धेरै प्रशंसा पनि पाए ।

संयोगले भनुँ वाणी प्रकाशनको स्वर्णकालीन अवधिमा म त्यहाँ सतसङ्गमा पुगें। स्वर्णकाल यस अर्थमा कि योगदान र गुणवत्ता दुवै सूचकमा यो शिखरमा थियो । सफलताको यो ग्राफ पश्चा त्यति उँचाइमा वाणी प्रकाशन कहिले पुगेजस्तो लागेन ।

साथै, वाणी प्रकाशनमा रहेका त्रय साहित्यकार परशु प्रधान, कृष्णभूषण बल र विवश पोखरेलको पनि सम्पूर्ण शक्ति केन्द्रित भएको अवस्था थियो । साहित्यप्रेमी सबैको तन,मन वाणी प्रकाशनले समेटन् सकेको समय थियो त्यो ।

अझ नयाँ प्रतिभाका लागि वाणी प्रकाशन साहित्यको क..ख..ग..सिक्ने विद्यालय जस्तो थियो । म पनि वाणी प्रकाशन बाक्लै जानथालेँ । साहित्यकार परशु प्रधानको प्रेरणा र कवि विवश पोखरेलको मीठो व्यवहारले म निकै आकर्षित भएँ । पाक्षीक कविगोष्ठीमा हुने कवितामाथिको टिप्पणी र प्रेमले पनि म थप आकर्षित हुनपुगें ।

परशु प्रधानको लवजमा भन्ने हो भने म उहाँहरूले पत्याएको कवि बनें । काठमाडौं र दार्जिलिङबाटआउने स्रष्टमाझ परिचय गराउदा उहाँको उही वाक्य दोहोरिन्थ्यो ‘ हामीले पत्याएको कवि अकिञ्चन ’ त्यो वाक्य सुन्दा ठूलै पुरस्कारको घोषणा मेरो नाममा भए जस्तो लाग्थ्यो । यसो हुनुको अर्थ उहाँले दिनु भएको उत्प्रेरणा र स्नेहका कारण थियो । फेरि उहाँको उँचाइ, मेरा लागि सगरमाथाजस्तो थियो ।

उमेश अकिञ्चन

अहिले बुझ्दा उहाँकाठमाडौंमा उच्च प्रशासनिक पद र साहित्यिक माहौंल छोडेर विराटनगर आउनु भएको रहेछ । त्यो समयमावाणीले प्रकाशनको काम त गथ्र्यो नै । त्यसका अलावा मजस्ता तृषित आत्मालाई तृप्त पार्न कविगोष्ठी पनि हुन्थ्यो । अहिले सम्झँदा परशु प्रधान हामीजस्ता सिकारुलाई साहित्यको उज्यालो बाँड्न विराटनगर आउनु भएको रैंछ जस्तो लाग्छ ।

परशु प्रधानको उच्च छवि मेरो लागि किन पनि थियो भने मैले सानैदेखि उहाँको नाम सुन्दै आएको थिएँ । उहाँ हाम्रो पहाडघर कुलुङको विरेन्द्र मा.वि.मा हेडसर रहनुभएको अरूले सुनाउथे । साथै, हाम्रो छिमेकी काका पवन आलोकलाई स्थापित गर्न उहाँको योगदान छ भन्ने पहाडघरतिरका दाइहरूको कथन थियो ।

उहाँलाई उच्चआदर गर्नुपर्ने कारण उहाँद्वारा लिखितकथा ‘टेलिग्राम अन द टेबल’हामीले पढ्ने स्नातकतहको अनिवार्य अँग्रेजीमा पढाइ हुन्थ्यो । कलेजका विद्यार्थी साथीहरूका माझ पनि फलानो कथाका कथाकारसँग मेरो राम्रो परिचय छ भनेर सुनाइन्थ्यो ।

यस्तै, त्यो समय उहाँ ‘रचनागर्भ’भन्ने नियमित स्तम्भ लेख्नुहुन्थ्यो । रचनागर्भमा आफ्ना रचनाका पृष्ठभूमि र प्रसंगवश जोडिएका पात्रहरूको बारेमा रोचक प्रस्तुति गरिएको हुन्थ्यो। मूलतः गरिमा मासिकमा छापिएका रचनागर्भ निकै पठनीय र जानकारी मूलक थियो ।

वाणी प्रकाशनमा बेला–बेलामा अतिथिकवि/साहित्यकारलाई पनि आमन्त्रण गरिन्थ्यो । सुप्रसिद्ध उपन्यासका डायमण्ड शमशेर राणा, तत्कालीन सुनसरीका सि.डि.ओ. कथाकार बाबा न्यौपाने अर्थात वामन प्रसाद न्यौपाने, चर्चित कथाकार सीता पाण्डे आदिलाई सुन्न र देख्न पाइयो । यी सबै साहित्यकारको उपस्थिति र संलग्नतामा साहित्यकार परशु प्रधानको व्यक्तित्वको प्रभाव थियो भन्ने मलाई लाग्छ । उहाँ वाणीको अध्यक्ष हुनु भएकोले, उहाँको सक्रियता हुनु स्वाभाविक नै थियो ।

त्यो समय वाणी प्रकाशनले काठमाडौंको व्यावसायिक साहित्यिक प्रकाशन सरह साख प्राप्त गरेको थियो । सबैभन्दा सकारात्मक पक्ष भनेको नयाँ पुस्ताका कवि, लेखकलाई दिल खोलेर मञ्च उपलब्ध गराउथ्यो । राजधानी र मोहफसललाई जोडने सेतुको रूपमा काम गथ्र्यो ।

वाणी प्रकाशनको पाक्षिक गोष्ठीमा भाग लिएको केही वर्षपश्चात, पुस्तक प्रकाशन गर्ने रहर लाग्यो । कृति प्रकाशनको लागि कसले भूमिका लेख्ने ? एकजना परशु प्रधानआफैंले लेख्ने । अर्को कसले लेख्ने ? उहाँले गीत, गजल संग्रह भएकोले कृष्णहरि बरालको नाम सुझाउनु भयो । तत्कालीन समय म कीर्तिपुर बस्थें । थेसिसको डाटा लिन विराटनगर गएको थिएँ । बराल सरजस्तो प्रखर गीतकारसँग परिचय हुने संभावनाले म उत्साहित बनें । विराटनगरबाट परशु प्रधानले लेख्नु भएको पत्रबोकेर काठमाडौं फर्किए ।

त्यो समय मोबाइल पनि आजको जस्तो थिएन । सम्पर्कको माध्यम जटिल थियो । परशु प्रधानले स्नेहपूर्वक, बराल सरलाई भूमिका लेखिदिनआग्रह गरेर एक पत्र लेख्नु भयो । पत्र च्यापेर विराटनगरबाट काठमाडौं आएँ । बराल सरलाई ल्याण्ड लाइनमा फोन गरें । बराल सरले खासै मन दिनुभएन । मैले पनि धेरै कर गरिन । ‘एक सगर, दुई तारा’नामको कृतिका लागि परशु प्रधानले बराल सरलाई आग्रह गरेर लेखिदिनु भएको पत्रभने मसँगै रह्यो । परशु प्रधानलाई मैले सम्झिनु पर्ने, आदर गर्नुपर्ने अन्य धेरै कारणहरू छन् । त्यसमध्ये यो पनि एउटा हो । फल लागेपछि रुखको माया सबैले गर्छन् । तर विरुवादेखि नै मलजल गरेर हुर्काउने गुणी व्यक्तिकमै भेटिन्छन् । मैले परशु प्रधानलाई साहित्यिक मालीको रूपमा चित्रण गर्न चाहन्छु । त्यसैको प्रमाणको रूपमा यो पत्र संलग्न गर्न चाहेको छु ।