juice Thela- mahesh paudyal \ जब महेश पौड्याल जुसठेलामा भेटिए ...

कृष्ण खतिवडा, मेरा दाजु समान, अझ बढी मित्र हुन् । एउटै संस्थामा निकै वर्ष काम गर्ने भएर पनि होला हामीमाझ दरिलो घनिष्ठता छ । हँसिलो एवं मिलनसार व्यवहारका धनी छन् उनी ।

हालैमा दाजुभाइ रात्रि भोजन गर्दै थियौँ । कोरोनाकालपछि प्रशस्त समय लिएर बसेको यही दिन थियो । दुई वर्षसम्म कोरोनाले भेट गर्न अनुमति दिएन । तीमाथि शहरमा जीवनयापन गर्न बसेपछि एउटै बिल्डिङ्गमा भएका छिमेकीलाई त भेट्न समय पुग्दैन । यसलाई व्यस्तता भनूँ या मान्छे मान्छेबाट टाढिँदै गएका हुन्, यो एउटा गम्भीर बहसको विषय हुँदैछ ।

धेरै समयपछि आनन्दले बस्ने साइत जुरेको हुनाले हामीबिच कुराको थान थियो । भनूँ दुवै उकुस्मुकुस भइसकेका थियौँ । उनी झन् गफ गर्नमा सिपालु छन् । कसैले भेट्दैन गफ गर्नमा । गफ गर्ने प्रतियोगिता हुनु भने चाहिँ प्रथम स्थान उनले पाउँछन् । यो मेरो दावा हो । के सन्दर्भमा गफ गर्ने भन्दै सोच्नु पर्दैन उनीसँग बसेपछि ।

दाजुभाइको गफ सुरू हुन्छ । भेटी नराखे पनि एकअर्काको गतिविधिदेखि अवगत भइरहेका हुन्छौँ । प्रायः फोनमा भलाकुसारी साटासाट हुँदै गर्छ ।

खाना खान थालेपछि उनी भन्छन्- ‘यार भाइ, तिमी त आजकल साहित्यकार भयौ । कति मज्जा तिमीलाई।’

‘का हौँ दा ! यसो चाँसो राखेको मात्र । म त सिकौरे हुँ ।’

महेश पौड्याल

मेरो कुरा काट्दै भन्छन्- ‘होइन नि यार ! अनलाइन कार्यक्रममा आइरहेका हुन्छौँ । साहित्यिक संस्थाले अन्तर्वार्ता लिइरहेका हुन्छन् । दिनै कुनै न कुनै पत्रिकामा कविता, कथा, आलेख छाप्पिराखेको देख्छु । एउटा पुस्तक पनि छापिसक्यौ । ठुल्ठुला साहित्यकारसँग भेटेर फोटो खिचेका हुन्छौँ । यू आर ग्रेट भाइ ।’

उहाँले मेरो योग्यभन्दा धेरै नै प्रशंसा गरेको ज्ञान हुन्छ तर प्रशंसा कसलाई रुच्दैन र ? दुनियाँमा धनभन्दा मान्छेलाई प्रशंसा र सम्मान मन पर्छ । अधिक प्रशंसाको थान जानेर पनि म पनि मख्ख पर्नबाट बाँच्न सकिनँ ।

मुसुक्क हाँसेर जवाफ दिन्छु- ‘अलिअलि त गर्नु पर्यो नि दा थालेपछि ।’

उहाँ अगाडि मलाई प्रश्न राख्छन्- ‘अँ साँच्चै ! तिमी महेश पौड्याललाई चिन्छौँ ?’

‘किन नचिन्नु दा ! चिन्छु नि । एक वर्ष जति हुँदैछ परिचय भएको । तीँमाथि नेपाली साहित्यको चल्दो-बल्दै गरेको साहित्यकारलाई कहाँ नचिन्नु हौ !’

आश्यर्चको बोध गराउँदै उत्तर दिएँ ।

बिर्सिएको कुरा सम्झेजसरी भन्छन्- ‘अँ, अँ सम्झना आयो । तिमी अस्ति काठमाण्डौँ जाँदा महेश पौड्यालको मै बसेका थियौँ नि ? फेसबुकमा फोटो देखेको थिएँ ।’

‘हो नि दा । बासै चैँ बसिनँ । बिहानीपख गएको थिएँ । खाना खाएँ । गफ पनि दुई-तीन घण्टा जति गर्यौं ।’

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

उहाँ गफलाई अझ चखिलो बनाउँदै भन्छन् – ‘कोरोनाकालको पहिलो लहर मत्थर भएपछिको कुरा हो । म नक्सलबाडी बजारमा केही कामले गएको थिएँ । मे महिनाको दिन, टन्टलापुर घाम चर्केका थिए । गरमले हपहप बनाएको थियो । जुसठेलामा दुईजना अधबैँसे पुरुषलाई देखेँ । उनीहरूको नजिकै गएँ । दुई मध्ये एक जनाको पहिरनले मेरो ध्यानाकर्षण गर्यो । पेन्ट-सर्ट लगाएको, एकपट्टिको सर्ट बाहिर निस्किएको, काला चमडाका जुत्तालाई धुलोले ढाकेको, काँधमा ओम् लेखेको झोला भिरेको, बिचबाट सिउँदो कोरेको अनि पसिना कपाल र अनुहारमा सल्बलाइरहेका । मैले चिनिहालेँ । ऊ नेपालीका वरिष्ठ साहित्यकार महेश पौड्याल थिए ।’

मैले बिचैमा कुरा काटेँ ।

‘हैन होला दा । उहाँसँग मेरो कुराकानी भइरहन्छ । नक्सलबाडी गएको जानकारी सामाजिक सन्जालमा पनि देखिनँ अनि कहिले सन्दर्भ आएन कुरा गर्दा ?’

आत्मविश्वाससँग भनेँ ।

कृष्ण दाजुले मेरो आत्मविश्वालाई वज्रघात पार्दै जवाफ दिन्छन्- ‘तिमी के कुरा गर्छौ यार भाइ ! म महेश पौड्याललाई चिन्दिनँ र ! सँगै आर.एस.एस. (राष्ट्रिय स्वयं सेवक संघ) को हामीले प्राथमिक शिक्षा वर्ग गरेका थियौँ । यो यही कोरोनाकालको समयको कुरा हो । तिम्रो चिनजान थिएन होला त्यो बखत ?’

पछाडिबाट कृष्ण दाजुकी श्रीमतीले थप्नु भयो, ‘हो भाइ, महेश पौड्याल नै थिए ।’

मैले मानेँ, विश्वास गरेँ ‘ए ए’ भन्दै विश्वास गरेको जनाइ पनि दिएँ ।

‘के यार भाइ तिमीले बिचमा अड्काएर मेलैसित भन्न दिएनऔ ।’

‘भन्नू न, जुसठेलामा हुनुहुन्थ्यो ।’

‘अँ । म छक्क परेँ । नेपाली साहित्यको यत्रो ठुलो नाम । उहाँको उठक-बैठक ठुल्ठुला मान्छेसँग हुन्छ । साहित्यमा महेश पौड्यालको नाम आदरसहित लिइन्छ । मणिपुरमा उहाँलाई नचिन्ने कोही छैन । पढ्नमा किरा थिए किरा । ‘डाउन टू अर्थ’ नै भन्नु होला यति ठुलो मान्छे बजारमा जुस पिउन उभिएको देख्दा मेरा धेरै भ्रमहरू विलीन भए । ठुलो मान्छेको परिभाषा भिन्नै ठानेको थिएँ – सुटबुट, टाइ लगाउने, महङ्गो-महङ्गो गाडीमा हिँड्ने, सितारा होटलमा खाना खाने, इत्यादि । यस्तै मान्छेलाई उँचो अहोदामा बस्ने ठुला मान्छे हुन् भन्ने मैले मनमा अवधारणा पालेको थिएँ त्यो पलमै टुट्यो । मलाई आभास भयो, ठुलो मान्छे पहिरन, देखावटी तामझामले हुँदोरहेन, फगत यो त एउटा बाहिरी खस्रो सोच रहेछ मान्छेको । ठुलो मान्छेको अर्थ र परिभाषा त माटोमा, भुँइमा पाइला राख्नु रहेछ । आफ्नो अहंलाई थिचेर प्रकृतिले बनाएको प्रत्येक वस्तुसँग पो जोडिनु रहेछ । सायद यस्तै चरित्रले होला उहाँलाई यति ठुलो साहित्यकार बनाएको ।’

कृष्ण दाजु अगाडि दुवैजनाको वार्तालाप सुनाउँछन् –

‘नमस्ते दाजु !’ भनेर अभिवादन गरेँ ।

मैले मुखमा मास्क लगाएको थिएँ । नचिनेर होला । उहाँले सोध्नु भयो- चिनिनँ त ?

मास्क खोलेँ । खोलिसक्दा चिनिहाल्नु भयो महेश पौड्यालले मलाई ।

‘के गर्दै छौ आजभोलि कृष्ण भाइ ?’ उहाँको पहिलो प्रश्न ।

‘म सूर्या रोशनीमा काम गर्दै छु दाजु ।’ उत्तर दिएँ ।

‘कहाँसम्म जानु भयो ?’ मैले प्रश्न गरेँ ।

‘सिक्किम राज्य विश्ववि़द्यालयले साहित्यको कार्यक्रममा अतिथि वक्ताको रूपमा निम्त्याएको थियो । त्यही कार्यक्रम सम्पन्न भएपछि आउँदैछु ।’

मैले अनुरोध रार्खेँ- ‘मेरो घर नजिकै छ । जौँ न, मलाई खुसी लाग्ने छ ।’

‘मलाई अलिक हतार छ । कालिम्पोङमा साहित्यकार राजेन्द्र भण्डारी, समालोचक नवीन पौड्यालहरूसँग हुने साहित्यिक कार्यक्रममा पुग्नु छ । मेरो भाइको घर पनि यही नजिकै हुनाले त्यहाँ पुगेर मलाई कालिम्पुङका लागि निस्किनु पर्ने छ । फेरि कुनै दिन आउँछु ।’

उहाँले नम्रतापूर्वक मेरो अनुरोधलाई अस्वीकार गरे ।

कृष्ण दाजुले मजाले सुनाउँदै थिए । मेरो प्रश्न गर्ने बानी नराम्रो छ । प्रश्न गरिहालेँ ।

‘अघि भुन्नुहुँदै थियो नि, सँगै प्राथमिक शिक्षा वर्ग गरेको, के उहाँ शिक्षक हुनुहुन्थ्यो शिविरमा ?’

कृष्ण दाजुले जवाफ दिन्छन्- ‘होइन, हामी शिविरार्थी थियौँ । मणिपुरका विभिन्न ठाउँबाट प्रायः नेपाली शिविरार्थी आएका थिए । जसमा महेश पौड्याल पनि थिए । मेरो परिचय त्यस बखत उहाँसँग थिएन । शिविरको सुरूसुरूमा कसैसँग चिनजान हुँदैन । सबैसँग परिचय हुन निकै दिन लाग्छ । एक जना शिविरार्थीले सबैमा ध्यानाकर्षण गरायो । शिविरमा विभिन्न प्रकारका शारीरिक एवं बौद्धिक गतिविधहरू हुन्थे । प्रायः बौद्धिक गतिविधिमा त्यही शिविरार्थी कविता वाचन गर्ने, शिविरमा ऊ नै अमृत वचन पढ्ने, शुभाषित पाठ गर्ने, शिविर गीत गाउने, शिविरमा बौद्धिकका लागि आउने अतिथिलाई ऊ नै हेन्डल गर्ने । भिन्नै बौद्धिक क्षमता अनि अनुहारमा आत्मविश्वास बोकेको शिविरार्थी अरू कोही होइन, महेश पौड्याल थिए । यो मान्छे निकै माथि पुग्नेछ भन्ने कुराको भान मैले पाइसकेको थिएँ । पछि गएर थाहा पाएँ अखिल भारतीय विद्यार्थी परिषद्, मणिपुर गोर्खा विद्यार्थीको सङ्गठनमा पनि सक्रिय मात्र होइन अलग्गै छाप छोडेका रहेछन् । त्यो समयको महेश पौड्याल वर्तमानमा साहित्य क्षेत्रमा उदयमान साहित्यकार भएर पनि सामान्य रूपमा जुसठेलामा भेट्नु मेरा लागि अचम्मको कुरा थियो ।’

मलाई कृष्ण दाजुको कुराले अचम्म त पारेन किनभने केही महिना अगाडि मैले पनि काठमाण्डौँ अनि चितवनमा उहाँसँग समय बिताएको थिएँ । उहाँको ‘डाउन टू अर्थ’सँग म परिचित भइसकेको थिएँ ।

कृष्ण दाजुले महेश पौड्यालको ‘डाउन टू अर्थ’को कुरा निकाल्दा मलाई एक वर्षअघि महेश पौड्यालसँग परिचय हुँदाको पल याद आयो । कोरोनाकालको समय, अनलाइन कार्यक्रम भइरहन्थे । मैले अनलाइन कार्यक्रममा उहाँलाई अन्तर्वार्ताका लागि अनुरोध राखेँ । उहाँले सहजै रूपमा आग्रह स्वीकार्नु भयो । अन्तवार्ता हुनु अघि मैले उहाँलाई गहराइमा चिनेको थिइनँ । अन्तर्वार्ता गर्नका लागि अतिथिको जीवनी वृतान्त, साहित्यिक योगदानबारे अनिवार्य रूपमा थाहा हुनु आवश्यकता हुन्छ । मैले उहाँको जीवन परिचय पत्र पाँए । गुगल, यूट्युबमा सबैतिर अनुसन्धान गरेँ । उहाँको वृतान्त जानेपछि मैले उहाँप्रति राखेको सम्मानमा अझ बढी सम्मान थपियो । अन्तर्वार्ता लिन नै डर-डर लाग्यो । किनभने उहाँले यति थोरै समयमा साहित्य एवं शिक्षाका लागि गरेको कार्य अप्रतिम थियो ।

बचपनबाट नै पढाइमा अब्बल- कक्षा दशको बोर्ड परीक्षामा प्रथम श्रेणी साथै डिस्ट्रिक टोपर, बाह्रको बोर्ड परीक्षामा प्रथम श्रेणी, बी.ए. (अंग्रेजी अनर्स) मा मणिपुर विश्वविद्यालय टपर जसका लागि रेबिता देवी मेमोरियल गोल्ड मेडलद्वारा सम्मानित भारतका पूर्व प्रधानमन्त्री डॉ . मन मोहन सिंहको हातबाट, एम.ए. (अंग्रजी) मा त्रिभुवन विश्वविद्यालय टपर, एम.फिल (अंग्रेजी) मा पोखरा विश्वविद्यालय टोपर । यो छ उहाँले शिक्षा क्षेत्रमा गरिएको प्रशंसनीय प्रदर्शन । विलक्ष्ण बुद्धिका धनी ।

एक दशकयता उनी शिक्षक कार्यमा संलग्न हुँदै शिक्षाको क्षेत्रलाई पल्लवित बनाउन शिक्षाविद् भएर उदाएको कसैबाट लुकेको छैन । आठभन्दा अधिक विभिन्न शैक्षिक संघ-संस्थामा आबद्ध भएर कार्य गर्दै छन् । लेखनका कुरा गरौँ भने अङ्ग्रेजी एवं नेपाली भाषा मिलाएर उन्नाइस कृति छन् जसमा अनामिक यात्री (कथासंग्रह), तादी किनारको गीत (उपन्यास), त्यसपछि फुलेन गोदावरी (कथासंग्रह), माय सेयर (अंग्रेजी बाल उपन्यास) हरू औँल्याउन सकिन्छ भने हालैमा प्रकाशित भएको अपरिचित अनुहार (कथा संग्रह) ले पाठक वर्गमा निकै चर्चाको विषय बनायो छ । उहाँले दुईवटा स्कुल पाठ्यक्रमका लागि पनि पुस्तक लेखिसकेका छन् । महेश पौड्याल अनुवादको रूपमा अझ प्रख्यात भएको देखिन्छ । हुनु पनि स्वभाविक कुरा नै हो, अहिलेसम्म अडतालीस पुस्तकको अनुवाद गरिसकेका छन् । यहाँको कलम यहाँ थामिँदैन, सम्पादकीय कार्यमा अहिलसम्म तिसभन्दा बढी कार्य सम्पादन भइसकेको छ ।

नेपाली साहित्यलाई प्रतिनिधित्व गर्दै महेश पौड्यालले बङ्गालादेश, चाइना, भारत, दक्षिणी कोरिया, जापानजस्ता देश गएका छन् ।

नेपाल विद्या भूषण-२०६७, राष्ट्रपतिको हातबाट, गोठाले युवा वयस्क साहित्य पाण्डुलिपि पुरस्कार-२०७२, युवा वर्ष मोती पुरस्कार- २०७७, नेपाल सरकारद्वारा लगायत नौ पुरस्कारबाट उहाँ साहित्यिक सेवाका लागि अलङ्कृत भएका छन् ।

उहाँको साहित्यिक एवं शैक्षिक वृतान्तलाई औँलामा गन्न गाहै्र पर्छ । उहाँको साहित्यप्रति भएको निष्ठाले कोही पनि अचम्मित हुन्छन् । म पनि भएँ ।

कृष्ण दाजुले जुसठेलामा देख्दा अचम्म हुनु ठुलो कुरा थिएन तर महेश पौड्यालले गरेका कार्य एवं पाएको सम्मानले उहाँका पाइला आकाशमा नभएर भुइँमा हुनु त्यो कुरा ठुलो हो । ठुलो अहोदामा पुगरे धेरै मानुभावहरू साधारण देखिन साधरण कुरा गरेको हामी साक्षी भइरहेका हुन्छौँ । साधारण कार्य गरेर पत्र-पत्रिका, न्यूज चैनलमा छाएको पनि हामी देखिरहन्छौँ तर अनिर्धारित जीवनचर्याले साधारण देखिनु वास्तवमा महान् कार्य हो । उँचो अहोदाको पदभन्दा ठुलो स्थान हो ।

सायद यही कुराले कृष्ण दाजुको मनलाई छोएको हुन सक्छ ।

मनै मन महेश पौड्यालका उक्त वृतान्तबाट निस्किँदै पुनः दाजुभाइको वार्तालाई अगाडि बढाउँछु ।

‘अनि अरू कुरा के के भयो दाजु ?’ मेरो जान्ने उत्सुकता बढिरहन्छ ।

कृष्ण दाजुले हाँस्दै मलाई भन्छन्- ‘भाइ तिमी त होम्योपेथीको डाक्टर जसरी प्रश्न गर्छौ त हौ ।’

मैले ठहाँका लगाएर हाँसेँ ।

जवाफ त फर्काउनु तै थियो ।

‘अब जान्नु त पर्यो नि दा । लेखनमा काम लाग्छ । आखिर महेश पौड्याललाई भेट्नु भएको रहेछ ।’

कृष्ण दाजु झन् ठुलो ठहाँका लगाएर हाँस्दै भन्छन्- ‘भाइ तिमीले चैँ बिताउने रहेछौ । तिमीलाई केही सुनाउनु नहुने रहेछ ।’

हाँसेर भने पनि कृष्ण दाजुले सही कुरा नै गरेका थिए । लेख्ने बानी लागेपछि जे कुरामा पनि लेखनको दृष्टिले हेरिँदो रहेछ । यो लेखनप्रेमीको एउटा रोग हो ।

यति बेरसम्म हामीले खाना खाइसकेका हुन्छौँ । इण्डिया गेट जाने भनेर उहाँका अनि मेरा परिवार तयार भएर हिँड्ने सङ्केत दिन लागेका हुन्छन् ।