साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हाम्रा लोकसङ्गीतका विशेषज्ञ इन्द्रप्रसाद अधिकारी – एक चिनारी

लोकसाहित्य र लोकवार्ताको अध्ययन गर्नु परे गाउँ पस्नुपर्छ । गाउँका बुढा-बुढी, कलाकार आदिसित लोकज्ञानका स्रोत पाइन्छ । हाम्रा मौलिक सांस्कृतिक परम्परा, लोकज्ञान आदिको परिचय पाइन्छ ।

Chovar Blues Mobile Size

लोकसाहित्य र लोकवार्ताको अध्ययन गर्नु परे गाउँ पस्नुपर्छ । गाउँका बुढा-बुढी, कलाकार आदिसित लोकज्ञानका स्रोत पाइन्छ । हाम्रा मौलिक सांस्कृतिक परम्परा, लोकज्ञान आदिको परिचय पाइन्छ । केही बुढाबुढीसित लोककथा, लोकगाथा, उखान तुक्का, लोकगीत, लोककला, लोकचिकित्सा, लोकव्यवहार, लोकविश्वास आदिबारे जानकारी पाउन सकिन्छ। उनीहरू नै मौखिक परम्पराका संवाहक हुन्। हामीले त्यस्ता लोककलाकारहरूका सामाग्रीलाई जतिसक्दो संकलन, संरक्षण र संवर्द्धन गर्नुपर्ने देखिन्छ। यस्ता लोककलाकारको हामीले खोजी गरी जात र जातिको बारेमा अध्ययन र अनुसन्धान गर्नुपर्ने देखिन्छ।

इन्द्रप्रसाद अधिकारी

कालिम्पोङ बमबस्तीमा एकजना लोककलाकार छन्। उमेरले बयासी वर्षको लग लागेका ती वृद्ध मानिसमा आफ्नो लोकसंस्कृति बचाउने औडाहा छ। उनी आफुले जानेका कुरा युवा पुस्तालाई सुनाएर, सिकाएर, बुझाएर तथा हस्तान्तरण गरेर आफ्नो लोकपरम्परालाई जोगाइ राख्न चाहन्छन्। उनी आफ्नै गाउँ पाखामा फक्रिएका वनफूल हुन्। उनलाई समाज र समयले ठिकसँगले चिन्न सकेन, प्रतिभा फस्टाउन सकेन। उनको ख्याति सीमित ठाउँमा मात्र रह्यो। न त राम्रोसँगले उनको सम्मान भएको छ न रेडियो आदितिर खासै प्रतिभा देखाउने अवसर पाएका छन्, न कसैले लिखित रूपमा चर्चा गरेका छन्। यद्यपि उनको प्रतिभालाई आफ्नो क्षेत्रमा कसैले पनि उछिन्न सकेन। उनी पक्का लोककलाकार हुन्।

यी लोककलाकार हुन् श्री इन्द्रप्रसाद अधिकारी। कालिम्पोङको बमबस्ती गहिरी गाउँमा १ गते भदौ वि सं १९९० मा जन्मिएका श्री अधिकारी गाउँका एकजना गहना हुन्। उनले आफ्नो बाल्यावस्थादेखि नै आफ्नो घर र गाउँबाट नै हाम्रो लोकसंस्कृति, लोकनृत्य र लोकगीतादि परम्परागत रूपमा सिकेर आएका हुन्। पहिलेदेखि नै खासगरी आफ्नो देवसे टोलीमा लोकभाकालाई भट्ट्याउदै र लोक विरासतलाई थाम्दै र आफ्नो प्रतिभालाई निखार्दै आएका हुन्। उनी बालन, मागल, खैंजडी भजनमा सिपालु छन्। यी गीतादिमा उनी अग्रणी भई आफ्नो समाजमा युवा पुस्तालाई सिकाउँदै आएका छन्। उनका धेरै शिष्यहरूले पनि हाम्रा यस्ता अमूल्य लोकगीतहरूलाई जोगाएर राखेका छन्। गाउँका नरेश भण्डारीलगायत उनकै पुत्रहरू पनि यस्ता हाम्रो लोकगीतादिको संरक्षणमा लागिपरेका छन्।

नवीन पौड्याल (कालिम्पोङ)
sagarmani mobile size

उनी रात-रातभर रामायण, महाभारत र भागवत् आदिबाट कथा र लीलालाई लयवद्ध रूपमा सुनाउँछन्।  बालुन मात्र पनि रातभरिलाई सुनाउन सक्ने सामर्थ्य र सामल छ। उनको गायन कला र गला पनि मिठो छ। उनी यी प्रत्येक लोकगीतको उत्पत्तिको कथा तथा कारण केलाउँछन्। उनका अनुसार ‘बालन’ शब्द ‘व्यायाम लय’ बाट व्युत्पन्न भएको हो। देवताहरूले ब्रह्मलोकमा दिनभरि कार्यक्रम गरेपछि रातमा मनोरञ्जन गर्नलाग्दा एकप्रकारले व्यायाम गरेर सिर्जना भएको लयलाई गाउने चलन बसाए र यही व्यायाम लयबाट बालन भएको हो। सीताभारत पनि बालनकै एउटा भाग हो। सीताभारतमा रामायणको सीताको गाथा गाइन्छ। सीताभारत उत्पत्तिको एउटा छुट्टै लोकरामायणको उपकथा पाइन्छ। जब सीतालाई नन्द पर्ने एउटी नारीले सोध्छे- ‘भाउजू, तपाईं त तेत्रा दिन लङ्का बस्नु भयो, रावण पनि नजिकैबाट देख्नुभयो होला। रावण कस्ता थिए’ भन्ने एकोहोरो सोध्न थाली। केही सीप नचल्दा सीताले एउटा काठको पीरामा रावणको आकृति जस्तो बनाएर नाम पनि लेखिन्। त्यसै पीरामा त रामले भोजन गर्ने गरेको रहेछ। त्यसको राती राम खान खान लाग्दा त्यो पीरा एक तमासले हल्लिएछ। के हो भनी बुझ्नलाई पीरालाई ओल्टाइ-पल्टाइ गर्दा त रावणको नाम देखेछन्। यो कसले लेखेको भनी सोध्दा त सबै कुरा खुलिहाल्यो। उनको पालो सीताको चरित्रमा शङ्का गरेर उनलाई बनवास पठाउन लक्ष्मणलाई अह्राउँछन्। लक्ष्मणले करैले दोजिया सीतालाई जङ्गलमा छोड्छन्। पछि सीताले धरती फाटेर मृत्यु वरण गरेको लोकरामायणको कथा पाइन्छ। अधिकारीसित यस्तो लोककथाका भण्डार छन्। उनको लोकगायनमा नै लोकगाथा र लोककथा गाँसिएका हुन्छन्।

अधिकारीले देवसीमा भट्याँदा विशेषगरी रामायण तथा महाभारतका विभिन्न प्रसङ्गका लीला सुनाउँछन्। महाभारतको पनि कृष्ण कंशको युद्ध, कृष्ण र बाललीला, स्वर्गारोहण पर्व सुनाउने गरेका थिए। उनका लीला भट्याइमा लोकगाथाका विभिन्न स्वरूप सुन्न पाइन्थ्यो। ती लोकगाथाहरूमा हाम्रा मौलिक चिन्तन, मानसिकता, आध्यात्मिक चेतना झल्किन्छ। उनका राम, कृष्ण र अन्य पौराणिक पात्रहरू हाम्रा लोकपात्र बन्दछन्। हामीजस्तै मानवीय गुणले युक्त छन्।

अधिकारी बालनबाहेक खैंजडी भजन, मागल, सङ्गिनी र कवित्तका पोख्त हुन्।उनको आफ्नो समयमा उनका तीसचालिस जनाको एउटा विशाल साङ्गीतिक टोली लिएर तिहारको गोवर्द्धन पूजा भाइटीका दिनमा भव्य रूपमा देवसी खेलाउँछन्। उनको टोलीलाई कालिम्पोङका संस्कृतिप्रेमी सचेत व्यक्तिहरूले आफ्नो घर-आँगनमा देवसी खेलिदिन आग्रह गरेका हुन्थे। उनको नेतृत्वको देवसे टोलीले एउटै घरमा दुईदेखि तीन घन्टाको देवसी खेल्छन्। उक्त देवसीमा उनले अत्यन्त मिठो लवज र र स्वरलहरीमा भट्याउने र एउटा ठुलो टोलीले देवसिरी राम भनेर पछ्याएको सुन्दा साँच्चै आनन्द लाग्ने गर्थ्यो। त्यस देवसीको कथा प्रसङ्गभित्र मिलाएर खैंजडी भजनसित चारजना पुरूषले खैंजडी लिएर अत्यन्त चित्ताकर्षक नाचेको हेर्न पाइन्थ्यो। त्यो नाचमा धेरै तकनीकि कुरा रहेका हुन्छ। नाच्नेहरूले एकार्कालाई घुमिघुमि छेकारो मार्दै नाचेको देख्न पाइन्छ। उनले देवसीमा महाभारतको स्वार्गारोहन पर्वबाट लीलाकथा भनेको सुनिन्थ्यो। यसबाहेक रामायणका विभिन्न प्रसङ्गको पनि लीला भन्थे। अहिले उहाँ अशक्त अवस्थामा हुनहुन्छ। उनको लीला कथन र वाचनमा मोहनी छ । देवसीको प्रसङ्गमा उनको एउटा टोलीले लगभग तीन घन्टा जति लीला सुनाउने गर्थे भने बालन भने प्रायः रातभर गर्दथे। यीबाहेक समाजमा छोरीको बिहा हुँदा मागल गाउने गर्दथे। यसैगरी बिहाको अवसरमा कवित्त र सिलोक पनि गाउने गर्दथे। कवित्तमा वर र बधु पक्षका मानिसहरूका बिच लयबद्ध रूपमा व्यङ्ग्यवाणको घोचाघोच हुने गर्थ्यो। उनले कवित्त गाउने केही गाउँले युवाहरूलाई पनि सिकाएका छन्। उनले सङ्गिनीका शब्द र लय पनि जानेका छन्।

इन्द्रप्रसाद अधिकारीले आफ्ना सहयोगी साथीहरू र प्रसिद्ध फिल्म निर्देशक श्री तुलसी घिमिरे, श्रीमती भारती घिमिरेको तत्परतामा हाम्रो परम्परा भन्ने एउटा सिडी अल्बम तयार पारेका छन् । त्यसमा गणेशको स्तुतिको लोकलय, मागल, सङ्गिनी, खैंजडी भजन, कवित्त, खाँडो जगाउने, बालन, देउसी, भैलेनी गरी दशवटा लोकगीतहरू प्रस्तुत गरेका छन्। ती प्रत्येकको उत्पत्ति, विशेषता, महत्त्व र अवसर आदिबारे जनाउँदै एकेकवटा नाचेर र गाएर नमूना देखाइएको छ। गाईको खाँटी दुध पिउँदाको प्राप्त आनन्दसरह उनले संकलन र सामूहिक गायन गरेको हाम्रा यस्ता लोकगीतहरू हाम्रा लोकधरोहर हुन्। पश्चिम बङ्गाल सरकारले लोककलाकारलाई मासिक पेन्सन दिने बन्दोबस्त गर्दा यी अधिकारीले पनि यो अवसर भने पाएका छन्। अहिले उनी उमेरको बार्धक्यले सुन्न कठिनको स्थिति छ। यद्यपि अहिले पनि उनीसित लोकसांस्कृतिक कुराहरू, लोककथा, लोकगीत आदि तमाम जानेका छन्, सुनाउँछन् बुझाउँछन्। उनीसित लोकज्ञानको भण्डार छ। उनले नेपाली समाजमा आफ्नो चौध वर्षको उमेरदेखि अहिले अठासी वर्षको उमेरसम्म प्रत्यक्ष र परोक्ष रूपमा लोकज्ञान र अनुभव बाँडिरहेका छन्। उनीपछि उनको बिँडो थामिदिने बलियो काँध भने पाएका छन्। गाउंका केही युवाले उनको बिँडो थाम्ने कोसिस गरेतापनि त्यो अपूर्ण र आंशिक रूपमा मात्र रहेको पाइन्छ। अहिले उनी गाउँका एक सफल सांस्कृतिक कर्मी, एक अगुवा, प्रतीक बनेर रहेका छन्। उनले आफ्नो लोककलाको प्रदर्शन भने एक दुई पटक दार्जिलिङ, कोलकाता र कालिम्पोङको सरकारी कार्यक्रममा अवसर भने पाएका छन्।

हाम्रा तादिदेखि चलेर आएका यस्ता गीतहरूको खोजी गरेर तिनलाई जोगाएर राख्नु आवश्यकता भएको सबैले बोध गरेको हुन्छ तर तिनलाई वास्तविकता दिन कोही अघि सर्दैनन्। यस्तोमा हाम्रा श्री इन्द्रप्रसाद अधिकारी र उनको साथीहरूको समूह साँच्चै हाम्रा अमूल्य निधि हुन्। उनी नेपाली संसारकै एउटा ठुलो भागको सांस्कृतिक संरक्षक हुन्। उनले अझै सिकाइरहने आयु लामो पाउन्, गाउन नसके पनि उनका ज्ञानगुनका कुरा सुनिरहन पाउँ। अझै पनि उनको कला र गलाको अमूल्य सम्पदाको भावलहरीमा हेलिन पाइरहूँ भन्ने कामना छ।

लेखक परिचय
नवीन पौड्याल
प्रतिक्रिया
Loading...