साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जातीय अस्मिताका कवि

नव सापकोटा नयाँ चेतनाका कवि हुन् । देखेको, भोगेको र जानेको जीवन र जगतलाई हेर्ने उनको आफ्नै,  दृष्टिकोण, बुझाइ र परिपाटि छ । उनी जातिको हितका निम्ति मरिमेट्ने कवि हुन् । उनको केन्द्रीय दृष्टिकोण नै जातीय प्रेम हुनाले प्रायः सबै जसो कवितामा परोक्ष-प्रत्यक्ष रूपमा यही भावना सल्बलाएको पाउँछौँ ।  

नेपाली साहित्यमा नव सापकोटा एउटा उल्लेखनीय कविको नाम हो। नेपाली कविता साहित्यमा उनको नाम पनि अग्र पंक्तिमा आउँदछ। उनी नयाँ युग, नयाँ चेतनामा रहेर कविता लेख्छन्। उनको जन्म २५ जनवरी, १९४८ मा तत्ताकीलन बड़ा गाउँ नेपाली बस्तीमा भएको हो। उनका माता पिताको नाम स्व. लीलाधर सापकोटा र र स्व. जसोदा सापकोटा हो। उनको वास्तविक नाम नन्दलाल हो। यद्यपि उनले स्कुलमा आफ्नो नाम नरबहादुर सापकोटा लेखाएका थिए। पछि साहित्य लेखनमा त्यही नरबहादुर नामलाई छोटो रूपमा नवसापकोटा राखेका हुन्। उनी यही नामले प्रसिद्द बए। उनले १९६६ मा मैट्रिक, १९७० मा स्नातकसम्म अध्ययन गरेका हुन्। यद्यपि गौहाटी विश्वविद्यालयको दुर तथा खुल्ला शिक्षाको माध्यमबाट नेपालीमा स्नातकोत्र बनेका हुन्। उनी असम सरकारीको सरकारी प्रशासनिक क्षेत्रमा रही उप सचिवसम्म बन्न पुगेका हुन्। उनी केही समयका लागि शिक्षक पनि बनेका थिए। गौहाटीका नेपाली साहित्यका निम्ति अभिभावकसरह रहेका छन्। गौहाटी जाने नेपाली साहित्यकिले लीलबहादुर छेत्री र नव सापकोटालाई सबैभन्दा पहिले सम्झन्छन्। उनको घर साहित्यिकहरूका निम्ति अतिथिगृहसरह रहेको छ।

नव सापकोटाका दुईवटा व्यक्तित्व-

bahulako diary small and inside post
नव सापकोटा

नव सापकोटाको व्यक्तित्वलाई साहित्यिक लेखक र सामाजिक सेवकका गरी दुईवटा व्यक्तित्व मान्न सकिन्छ। उनको कवि व्यक्तितव्माथि अलग चर्चा गरिन्छ । उनको सामाजिक सेवक व्यक्तित्व पनि उल्लेखनीय छ। एकजना प्रखर जातीय चेतनाका कवि हुन्। उनले नेपाली भाषा मान्यताको सङ्ग्राममा असम प्रान्तलाई नेतृत्व र प्रतिनिधित्व गरेका थिए। सन् १९७१ -७२ तिर उनले यस सङ्ग्राममा उनले निकै सक्रिय रूपमा काम गरेर आन्दोलनलाई उचालेका थिए। यसैगरी नेपाली साहित्य परिषद गठन गर्न उनको पनि विशेष योगदान रहेको थियो। यसको स्थापनादेखि लिएर सरकारी पञ्जीकरण, शाखा खोल्न, असमव्यापी बनाउन, कार्यक्रम सञ्चालन गर्न सक्रिय रूपमा अघि आएका थिए। उनी यस संस्थाको सस्थापक सचिव, उपाध्यक्ष, कार्यकारी अध्यक्ष, अध्यक्ष, सल्लाहकार आदिका रूपमा रहिसकेका छन्। अहिलेसम्म पनि असम नेपाली साहित्य सभामा परोक्ष र प्रत्यक्ष योगदान दिइरहेका छन्। यीबाहेक उनले जातित्वको सेवामा परोक्ष र प्रत्यक्ष सेवा पुर्‌याइरहेका छन्। आफ्नो जातिमाथि कतै थिचोमिचो तलमाथि केही परे उनी सशरीर समाधानका लागि प्रस्तुत हुन्छन्। आफ्नो गाउँको नामकरण गरी देवकोटानगर बनाउनु, असममा नेपाली भाषाको पठन पाठनको निम्ति सांगठनिक रूपमा सक्रिय योगदान रहेको छ। गौहाटीमा उनको घर कविता निकेतन नै नेपाली साहित्यकारका निम्ति तीर्थस्थानसरह बनिसकेको छ। गौहाटी जाने नेपाली साहित्यिकले लीलबहादुर छेत्री र उनको घर नपुगी धर पाउँदैनन्।

यही जातीयताको भावनालाई कवितामा पनि प्रकट गर्छन्। उनको सम्वेदना वैयक्तिक नभएर बारतमा बस्ने एक करोड गोर्खाहरूको सामुहिक चेतनाको प्रतिनिधित्व गरेका हुन्छन्। उनका कवितामा भारतका गोर्खाहरूको आवाज, चाहना, उकुसमुकुस, दुःख सुखको अनुभूति पाइन्छ।  सर्वप्रथम उनले आफ्नो गाउँलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको चिरस्मृतिमा देवकोटानगर बनाउन अग्रणी भूमिका खेलेका थिए। अहिले त्यहीँ गजधम्म विराजमान छन् जातीय अस्मिताको सिंहासनमा। उनी मूल रूपमा कविका रूपमा रहेका छन् भने निबन्ध विधालाई पनि स्याहारेका छन्। उनी जातीय साहित्यिक सामाजिक सांस्कृतिक सङ्घ- संस्थाका नेतृत्व गर्दछन्।

नवीन पौड्याल (कालिम्पोङ)

उनले गौहाटीमा बसेर नेपाली कविताको स्वर उरालेका हुन्। नेपाली पाठकलाई आयामेली लेखनको क्लिष्ट, दुर्बोध्य कविताहरूको एउटा कालखण्डपछि नव पुस्ताका कविहरू आएपछि नेपाली कविता नयाँ मोड लिएको हो। उनी आयामेली आन्दोलनको अवसानपछिका सर, सुबोध र सहज कविता लेखनले गति लिएको समयका कवि हुन्। आयामेली आन्दोलनको प्रभावले दुर्वोध्यतादेख तर्सेका नेपाली पाठकका निम्ति नवसापकोटा सरल तर प्रभावकारी कविका रूपमा लोकप्रिय भएका हुन्। यता भारतबाट अगमसिंह गिरी, हरिभक्त कटुवाल हुँदै विकास गोतामे, प्रेम शेर्पा बिरोकि, भीम थापा, नवसापकोटा, युद्धवीर राणा, भविलाल लामिछाने, अविनाश श्रेष्ठ, राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, मोहन ठकुरी, गिर्मी गोपर्मा, नोर्ज्याङ स्याङदेन, केवलचन्द्र लामा आदिसम्म आइपुग्दा नेपाली कविताले ठुलो र विस्तीर्ण क्षेत्र ओगट्दै गरेको देखिन्छ। अहिले युवा पुस्ताका धेरै कविहरूका योगदानले नेपाली कविता अझ फाँटिलो बन्न पुगेको छ।

अस्सीको दशकमा अविनाश श्रेष्ठको नेतृत्वमा रहेको चर्चित कोलाज आन्दोलनका एक प्रखर कविका रूपमा नव सापकोटा पनि संलग्न थिए। त्यतिवेला उक्त कोलाज कविताले नेपाली कवितामा एउटा छुट्टै स्थान ओगटेको थियो। नवसापकोटाहरू कविताको टोलि लिएर गुवाहाटीका विभिन्न प्राङ्गनमा, तेजपुर, नवगाउँ आदितिर कविताको रन्को हुन्थ्यो। गाउँ गाउँ गएर जातीय र जीवनचेतना ब्युझाउँने काम हुन्थ्यो। अविनाश श्रेष्ठ काठमाडौंतिर भासिएपछि कोलाज जस्तो झरिलो कविता आन्दोलन पनि बिसर्जित हुन पुग्यो।

त्यसपछि नवसापकोटाहरूको कविताको मोड मोडियो। यद्यपि सापकोटाज्यूले जातीय चेतनालाई झन तीब्र रूपमा अघि बढाए। उनी कविता लेखनमा नै अहर्निश लागिपरेका छन्। युवा पुस्ताका कविहरूलाई नेतृत्व दिइरहेका छन्। हालसम्म सापकोटा चारवटा कवितासङ्ग्रह प्रकाशित छन्। ती हुन् युक्लिप्टस आउँदो पीढीँलाई आशीर्वाद, काव्यान्तर, मदिरा होइन मेरो पसिना, मणिकुट।  युक्लिप्टस आउँदो पीढीँलाई आशीर्वादमा पैतालिसवटा, काव्यान्तरमा लामा छोटा गरी बाउन्नवटा, मदिरा होइन मेरो पसिनामा अडसट्ठीवटा र मणिकुटमा लामा छोटा, मुक्तक, गीत गजल गरी जम्मा पचासवटा जति कविता समावेश छन्।

यी चार कवितासङ्ग्रहहरूमा उनका जातीय र सौन्दर्य चेतना प्रज्ज्वलित भएका छन्। यी कवितासङ्ग्रहभित्र जातीय चेतनाका झिल्का छन्, जीवन अनुभव छन्, जीवन सार छन्, वैश्विक चेतना छन्। यी कविताहरूमा उनी कतै रोमान्टिक, कतै विद्रोही, कतै मानवतावादी कतै सुधारवादी, कतै परिवर्तानाकाङ्क्षी छन्। यदयपि उनको कवित्वको मूल स्वर भने जातीय अस्मिता चेतना हो। भारतमा गोर्खाहरू घरबारविहीन, राज्यविहीन, उत्पीडित, लाञ्छित र शोषित भएर बस्नुपरेको व्यथालाई उनले स्वर दिएका छन्। विगतमा पुर्खाले आफ्नो जातित्व रक्षाका निम्ति सङ्घर्ष गरेका छन् यद्यपि वर्तमानका युवा पिँढीमा यो चेतनामा ह्रास आएको पाएर कवि निराश छन्। अहिलेका युवा पुस्ताले हाम्रो जातीय इतिहास भुल्न थालेको महसुस गर्छन्। उनको एउटा कविता छ- ‘सिर्ज एउटा कागजको इतिहास तिम्रा यी पुर्खाको’। यसमा हाम्रो जातीय गौरव, अस्मिता , योगदानको इतिहास हामी आफैंले लेख्नुपर्ने छ, आलेख तयार पार्नु परेको छ। उनका विचारमा अहिलेका नाति पनातिहरू सिल्ली बनेका छन्, जातीय चेतनाविहीन बन्दै गएका छन्।

नवसापकोटाका कविताको अध्ययन गर्दा अगमसिंह गिरीको जातीय चेतना, हरिभक्त कटुवालको देश-काल चेतना, भुपी शेरचनको जस्तो व्यङ्ग्य चेतना आदिको मिश्रित कवितागत स्वर पाइन्छ। यद्यपि उनको आफ्नै मौलिक कविता लेखनको धार र आधार पाइन्छ। उपर्युल्लिखितबाहेक विद्रोह चेतना, प्रतीकात्मकता, प्रकृतिप्रेम, जीवन जगतका अनुभवगत दार्शनिकता, आशावाद आदि प्रवृत्ति पनि पाइन्छन्। उनका कवितामा असम बोल्छ, असमको जातीयता ब्युँझन्छ। राष्ट्रियता र जातीयताको सही तालमेल नभएको पाउँछन्। उनी बागमती र ब्रह्मपुत्रको सङ्गम चाहन्छन्। उनका कवितामा युग चेतना पाइन्छ, सभ्यताको झलक पाइन्छ।

उनी कवितामा रमेका छन्, डुबेका छन्। कविताको विषयमा उनका केही विचार यस्ता छन्- “कविता सृष्टिको एउटा शास्वत पक्ष हो; अनन्त विधा हो। यो सर्वव्यापी छ, परिव्याप्त छ। समयको विकासक्रममा यो विभिन्न रूपमा विकसिंदै जीवनको सञ्जीवनी बनिरह्यो। जीवन :  कविता, कविता :  जीवन। कविताबिना जीवन व्यर्थ छ, निरस छ। एउटा शाश्वत” (युक्लिप्टस आउने पीढीलाई आशीर्वाद, १९८०)। “सम्प्रति कविताबारे भएको मेरो स्वानुभूति के हो हाम्रो ब्रह्माण्डको सूक्ष्मतम कविता हो ऊँ अनि त्यसभन्दा पनि सूक्ष्म तर टडिल कविता हो- O । यस गोचर अगोचर, जड़-चेतन, सूक्ष्म-स्थूल, लौकिक0-पारलौकिकको समष्टि रूपको सूक्ष्मतम प्रतीक हो- शून्य”। (काव्यान्तर-१९९६)। “मेरा कविता कल्पनाको सुन्दर बगैंचादेखि पर जीवनको शाश्वत पक्षलाई अँगालो मारेर यथार्थको भावभूमिमा रमेका किम्बा रम्ने प्रयास गरेका हुन्छन्। मेरो दृष्टिमा कवितालाई जीवनसित जोड्नु नै सही रचनाधर्मिता हो।“ (असिना होइन मेरो पसिना-२००८)। “कविता साहित्यबाटिकाको अति सुन्दर औ सुगन्धित फूल हो, जसले जीवनलाई रसिलो, पोसिलो, भरिलो, झरिलो र जियालो बनाउँछ। कविबाट स्वत:स्फुर्त जन्मन्छ यो। अनायासै माथिबाट झरेको झरनासरि उकुसमुकुस भई आएका भावतरङ्गलाई जसरी जेजति समात्न सकिन्छ, त्यसैलाई छोपेर बाँधी राखिन्छ कविताका रूपमा। अत:  त्यहाँ प्राकृत तत्वको प्राचुर्य हुन्छ तर त्यति नै काव्यशिल्पको निर्वाह भएको नहुन पनि सक्छ। इनै हुन् मेरा कविता।“ (मणिकुट, २०२०)।

नव सापकोटा नयाँ चेतनाका कवि हुन् । देखेको, भोगेको र जानेको जीवन र जगतलाई हेर्ने उनको आफ्नै,  दृष्टिकोण, बुझाइ र परिपाटि छ । उनी जातिको हितका निम्ति मरिमेट्ने कवि हुन् । उनको केन्द्रीय दृष्टिकोण नै जातीय प्रेम हुनाले प्रायः सबै जसो कवितामा परोक्ष-प्रत्यक्ष रूपमा यही भावना सल्बलाएको पाउँछौँ ।

लेखक परिचय
नवीन पौड्याल
प्रतिक्रिया
Loading...