प्रखर वक्ता, कवि तथा सञ्चारकर्मी रमेश प्रसाईंले कुनै एउटा कार्यक्रममा भनेको कुराबाट आजको लेख सुरु गर्न मन लाग्यो । उहाँले त्यतिबेला भनेको कुरा अहिले जस्ताको त्यस्तै त याद भएन । तर उहाँले भन्न खोजेको आशय राख्न चाहन्छु । उहाँ भन्नुहुन्छ, “अरूसँग भएको कुनै कुरा अर्को दोस्रो व्यक्तिसँग छैन अथवा नहुँदैमा, अथवा अर्को कुनै व्यक्तिले गरेजस्तो अर्को दोस्रो व्यक्तिले गर्न सक्दैन अथवा सकेन भन्दैमा त्यसलाई अपाङ्ग भन्ने हो भने हामी सबै अपाङ्ग हौँ । जस्तो जमैकन धावक उसैन लिओ बोल्टले जस्तो हामी कुद्न सक्दैनौँ । यसअर्थमा उनको लागि हामी अपाङ्ग भयौँ । माइकल ज्याक्सनले जस्तो हामी नाच्न सक्दैनौँ । उनकोसामु हामी अपाङ्ग भयौँ । पेलेले जस्तो हामी फुटबल खेल्न सक्दैनौँ । उनको लागि पनि हामी अपाङ्ग हौँ । त्यस्तै अल्बर्ट आइन्स्टाइनले जस्तो हामी सोच्न सक्दैनौँ । उनको नजरमा पनि हामी अपाङ्ग नै हौँ ।”
यसरी प्रसाईंले अपाङ्गता भन्ने कुरा हाम्रो तुलनाले निर्माण गरेको हो भनेर जोड दिनुभएको थियो । तुलना नगर्ने हो भने हरेक मान्छे आफैँमा विशेष हो र विशेष हुन्छ भन्ने उहाँको धाराण पनि हो । कसैसँग केही कुरा नहुँदैमा त्यसलाई सानो देखाइहाल्नु पर्ने, त्यसलाई होच्याइहाल्नु पर्ने र अरूलाई होच्याएर आफू महान भएको आत्मारतिमा रमाउने, अहङ्कार पाल्नेजस्ता हाम्रा सामाजिक मानसिकताप्रति पनि उहाँको गम्भीर आपत्ति छ । एक पटक उहाँलाई कुनै कार्यक्रममा सञ्चालकले “अब आउँदै हुनुहुन्छ दृष्टिबिहिन कवि भाइ रमेश प्रसाईं” भनेर स्टेजमा बोलाएछन् । स्टेजमा पुगेपछि कवि प्रसाईंले पनि “धन्यवाद छ दृष्टि सम्पन्न उद्घोषकज्यू” भनेर कटाक्ष्य प्रहार गर्नु भएछ । कार्यक्रम उद्घोषकले पछि प्रसाईंसँग माफी मागेछ्न् । यी तमाम कुराहरूलाई कवि प्रसाईंले “म जन्मसिद्ध दृष्टि बिहीन” शीर्षकको आफ्नो कवितामा बडो मिठो शैलीमा प्रस्तुत पनि गर्नु भएको छ । त्यसैले अपाङ्गताको विषयमा प्रसाईंको धारणाप्रति म पनि सहमत छु । किन भने संसारमा यस्ता थुप्रै उदाहरणहरू छन् जसले समाजले सपाङ्ग भनिएका मान्छेले भन्दा चमत्कारिक काम गरेर गरिरहेका छन् । यसकारण जिन्दगीमा कुनै एक कुराको कमी हुनु भनेको जिन्दगी सकिनु हो जस्तो लाग्दैन ।
केही नहुनु भनेको धेरै कुरा हुने सम्भावनाहरूको द्वार खुल्नु हो भनिन्छ । जस्तो पानीले भरिएको गिलासमा पानी मात्रै हुन्छ । तर खाली गिलास हेर्दा त केही छैन जस्तो देखिन्छ तर त्यसमा जे पनि भर्न सकिने सम्भावना सधैँ रहिरहन्छ । त्यसकारण केही नहुनु भनेको रित्तो हुनु पक्कै होइन । अनन्त सम्भावनाहरूले पर्खिरहेका हुन्छन् । स्वयम् प्रसाईंकै हकमा पनि हामी दुवै आँखा भएकाहरूले भन्दा धेरै उत्कृष्ट काम गरिरहनु भएको छ । ज्ञानको भण्डार पनि उत्तिकै उच्च छ । अपाङ्गताको कुरा यस कारण गरिरहेको छु कि, आज यस्तै एक व्यक्तिको बारेमा केही लेख्ने कोसिस गरिरहेको छु । विज्ञान र समाजले अपाङ्ग भनेर ट्याग भिराए पनि सपाङ्ग व्यक्तिलेभन्दा राम्रो र सिर्जनशील काम गर्दै आउनु भएका एक सर्जकको बारेमा लेख्दैछु ।
सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेजबाट हरेक शनिबार प्रसारण हुँदै आएको अन्तर्वार्तामूलक कार्यक्रम “स्रष्टा र सिर्जना” को १ सय शृङ्खला पार भइसकेपछि अबका दिनमा के कस्ता सर्जकहरू कार्यक्रमको पाहुना हुनुहोला भन्ने जिज्ञासा भइरहेकै बेला कार्यक्रमका लागि पाहुना खोज्ने जिम्मेवारी लिनुभएका प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरले ०३ अप्रिल २०२२ मा केन्द्रीय कार्यसमितिमा एउटा प्रस्ताव लिएर आउनु भयो । त्यो प्रस्ताव थियो श्रवण अपङ्गता भएका एक जना युवा कविलाई कार्यक्रममा जोडेर अन्तर्वार्ता गर्ने । सुरुमा त यस्तो कसरी सम्भव होला र ? भन्ने लागेर मैले बरु साहित्यपोस्टका लागि लिखित अन्तरवार्ता गर्न सकिने कुरा राखेँ । फेरि एकैछिनमा अध्यक्ष मगरले नै साङ्केतिक भाषा दोभासेको सहयोगमा कार्यक्रम गर्न सकिने सुझाब दिएपछि भने मसहित केन्द्रका प्रायः साथीहरूले एउटा नयाँ प्रयोग पनि हुन्छ कार्यक्रम गरौँ भन्ने सुझाब दिनुभयो र उहाँसँग कार्यक्रम गर्ने निधोमा पुगियो । जहाँसम्म लाग्छ नेपाली साहित्यमा “दोभासे” प्रयोग गरेर यसअघि साहित्यिक अन्तर्वार्ता लिइएको छैन । यदि कतै लिइएको भए मेरो ज्ञानको दायरा कम रैछ भनेर बुझिदिनुहोला ।
तर हामीले भने कार्यक्रम सञ्चालनको १ सय ३ शृङ्खलामा आइपुग्दा पहिलो पटक नयाँ प्रयोग गर्यौं र केही हदसम्म सफल पनि भएको महसुस गरेका छौँ । विशेष कारणवश युवा अवस्थामै श्रवण क्षमता गुमाउन पुग्नु भएका तर पछिल्लो समय निक्कै सशक्त रूपमा कविता लेख्दै आउनु भएका र पत्रकारिता, भाषा सम्पादन तथा चित्रकलामा पनि उत्तिकै सक्रिय रहँदै आउनु भएका कवि/पत्रकार राजेन्द्र तारकिणीलाई हामीले कार्यक्रममा निमन्त्रणा गर्यौं र साहित्य लेखनसहित उहाँको व्यक्तिगत जीवनको केही पाटोमा केन्द्रित रहेर कुराकानी गर्यौं । साथमा “राष्ट्रिय साङ्केतिक भाषा दोभासे संघ नेपाल” का अध्यक्ष दिनेश श्रेष्ठले हाम्रो वार्तालाई सहजीकरण गरिदिनु भएको थियो दोभासेको रूपमा रहेर । अन्य किसिमका अन्तर्वार्ताहरूमा दोभासेको रूपमा यसअघि काम गरिसकेको भए पनि साहित्यिक अन्तर्वार्ता अध्यक्ष श्रेष्ठको लागि पनि यो पहिलो अनुभव थियो । यतिबेला उहाँ निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा दोभासेको रूपमा नियुक्त हुनु भएको छ ।
माता नर्मादेवी पन्त र पिता नरीदत्त पन्तको माइलो सन्तानको रूपमा बैतडी जिल्लामा हालको पुरचौँडी नगरपालिका– ३ नाकाली गाउँमा कवि राजेन्द्रको जन्म भएको थियो । उहाँ अहिले ३० वर्षे उमेरमा हुनुहुन्छ र विगत १५ वर्षदेखि पूर्णरूपमा दुवै कान सुन्न नसक्ने अवस्थाबाट गुज्रिरहनु भएको छ । युवा अवस्थामै श्रवणशक्ति गुमाउनुको पीडा सम्झिँदै उहाँ सुनाउनु हुन्छ, “मेरो जीवनमा त्यो एक अविष्मरणीय घटना थियो । २०६३ साल कात्तिकमा, जतिबेला म ९ कक्षामा पढ्दै थिएँ । भर्खर तिहार सकिएको थियो । स्कुल बिदा भएकाले खेतबारीमा गहुँ छर्ने काममा मस्तै खट्नुपरेको थियो । काम सकिनु र स्कुल बिदा सकिनु सँगै भयो । तर हाँडे रोगको संक्रमण फैलिएर मेरा दुवै गाला (कानको जरामुनि) सुन्निएर भकुन्डोजस्तो भयो । केही दिन स्कुल जान सकिनँ । नजिकै गिरेगाडा भन्ने ठाउँमा मेला लाग्थ्यो, सबैजना जात्रा हेर्न गए । म भने घरैमा थलिएँ । यसकै कारण अचानक मेरो कानको सुन्ने क्षमता गुम्यो । त्यसपछि मेरा लागि संसार नै गुमेजस्तो लागेको थियो । एक–दुई महिनासम्म तीव्र रिङ्गटा चल्ने, टाउको र जिउ भारी दुख्ने भएको थियो ।” जसका कारण कानको सुन्ने क्षमता गुम्दै गयो र अहिले उहाँ पूर्ण रूपमा सुन्न नसक्ने अवस्थामा हुनुहुन्छ ।
यत्रो घटना हुँदा पनि उहाँले तत्काल भरपर्दो उपचार पाउन सक्नु भएन । चेतनाको कमी, असुविधा आदिका कारणले गर्दा उहाँले गाउँमा धामी, देवी–देउता र ज्योतिषीको भर पर्नुपर्यो । ती उपायबाट समस्याको समाधान नभएपछि ढिलै भए पनि बुबा र दाइले भारतको पिथौरागढ र पछि नयाँदिल्लीसम्म लगेर उहाँको उपचार गराउने कोसिस गर्नु भयो । तर त्यो बेला डाक्टरहरूले सामान्य जाँच बाहेक केही गरेनन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएका काराण पनि उहाँको बेलैमा उपचार हुन पाएन । जसका कारण कवि तारकिणी विगत १५ वर्षदेखि कान सुन्नेहरूको बीचमा रहेर एउटा कष्टकर जीवन बाँचिरहनु भएको छ । कान सुन्न नसक्नुका पीडा कति होलान् त्यसको हिसाब उहाँसँग मात्रै छ । प्रतिष्ठानको फेसबुक पेजबाट उहाँसँगको कार्यक्रम प्रसारण हुनुभन्दा पहिले उहाँको यस समस्याबारे धेरैलाई थाहा थिएन । साहित्यिक वृत्तमा पनि उहाँ कान सुन्न सक्नुहुन्न भन्ने कुरा एकदमै थोरै र निकटका मान्छेहरूलाई मात्रै थाहा थियो । धेरैले पत्याउँदैनन् पनि थिए र थाहा पाइसकेपछि भने छक्क पर्ने गरेको कवि तारकिणी सुनाउनु हुन्छ । यसकारण पनि कवि तारकिणी आफ्नो यो समस्या बाहिर ल्याउन चाहानु हुन्थ्यो । जसको माध्यम बनिदियो प्रतिष्ठानको फेसबुक लाइभ कार्यक्रम ।
विश्व प्रसिद्ध अमेरिकी लेखक हेलेन एडम्स केलरको एउटा भनाइ छ, “जब दृष्टि गुम्छ, केवल वस्तुसँगको दूरी बढ्छ । तर जब श्रवणशक्ति गुम्छ, तब मान्छेसँगकै दूरी बढ्छ ।” उनको यस भनाइबाट पनि अनुमान लाउन सकिन्छ कि कान सुन्न नसक्नुको समस्या र पीडा कति गहिरो हुन्छ भन्ने कुरा । कवि तारकिणीलाई पहिलेपहिले त यो समस्या सामान्य नै लाग्थ्यो । तर अहिले आएर जीवन जिउँदै जाँदा, जिन्दगी भोग्दै जाँदा यो समस्या जटिल बन्दै गएको महसुस हुन्छ । किन भने यो समस्याले उहाँलाई हरेक ठाउँ र परिस्थितिमा असहज बनाइरहेको छ । यसको सबैभन्दा ठुलो समस्या सञ्चारमा हुने अवरोध हो भन्ने उहाँलाई लाग्छ । कतै अस्पताल, सरकारी कार्यालय, कार्यक्रम आदिमा जाँदा उहाँले यो समस्या भोग्दै आउनु भएको छ । पहिलो कुरा त मान्छेहरू लेखेर कुरा गर्न र बुझाउन मान्दैनन् । अर्को कुरा त्यसरी कुरा गर्न जान्दैनन् र चाहँदैनन् पनि । त्यो भन्दा पनि ठुलो कुरा यो सब गर्नका लागि मान्छेसँग समय नै कहाँ छ र ? मान्छेले लेखेर नबोलिदिएपछि उनीहरूको ओठको चाल र हाउभाउबाट सबै कुरा बुझ्न नसकिने कवि तारकिणीको अनुभव छ । उहाँ भन्नुहुन्छ, “म न बहिरा समुदायमा भिज्न सकेको छु, न त सुन्नेहरूको समाजमा जम्न सकेको छु । यसरी झन अन्योलको जिन्दगी बन्दो रैछ ।” बहिरा समुदायमा उनीहरु निर्धक्क साङ्केतिक भाषामा सारा कुरा गर्छन र आफ्ना विचार आदान प्रदान गर्छन र उनीहरुको आफ्नै परिवेश पनि छ । तर कवि तारकिणी त्यता हुनुहुन्न । कारण उहाँ साङ्केतिक भाषा पूर्णरूपमा बुझ्न सक्नुहुन्न, जसरी त्यो समुदायका अन्यले बुझ्छन् । उहाँले पहिले साङ्केतिक भाषाको ६ महिने तालिम लिनुभएको थियो । कक्षा ११ र १२ मा त्यही समुदायमा रहेर पढे पनि पछि कलेज थिएन त्यस्तो भाषाको र उहाँले कान सुन्नेहरूसँग बसेर पढ्नु पर्ने अवस्था आयो । त्यो अवस्थामा उहाँले कलेजमा भर्ना मात्र भएर स्व-अध्यन मार्फत परीक्षा दिएर कक्षाहरो उत्तीर्ण गर्दै जानुभयो । अहिले पनि साथीभाइ, अफिस, सबै सुन्नेहरूकै सङ्गतमा मात्र उहाँ हुनुहुन्छ । उनीहरू लेखेर बोल्छन्। जसले गर्दा साङ्केतिक भाषा बिर्सँदै गएको उहाँ बताउनु हुन्छ र सुन्नेहरूसँगको सङ्गतमा रहिरहँदा अनेक बाधा र समस्या त छँदै छन् ।
यी सारा अप्ठ्याराहरूको बाबजुद पनि स्व-अध्ययनकै माध्यमबाट उहाँले त्रिभुवन विश्वविद्यालयबाट मानविकी सङ्कायमा स्नातकोत्तर गर्नुभएको छ भने हाल कानुनमा स्नातक पनि गरिरहनुभएको छ । कुनै पनि कक्षा नलिइकन यति गर्नु पक्कै पनि सजिलो भने थिएन होला उहाँको लागि । अहिलेसम्म जे जति प्रगति भइरहेको छ त्यसमा उहाँको आत्मविश्वास, परिवारका सबैको सकारात्मक हौसला, साथ र सहयोगले ठुलो काम गरिरहेको कवि तारकिणी उल्लेख गर्नुहुन्छ । तर रूप, रङ्ग अङ्ग, पद–प्रतिष्ठा र हैसियतजस्ता कुराहरू हेरेर समाजले गर्ने मूल्याङ्कन र व्यवहार भने कवि तारिणीलाई चित्त बुझ्दैन । उहाँ भन्नुहुन्छ, “मान्छे अङ्ग अभावले अपाङ्ग हुन्छ यो सत्य हो । तर मान्छेको सोचाइ र विचारले पनि ऊ अपाङ्ग हुन्छ ।” शारीरिक अङ्ग अभावका बाबजुद पनि त्यस्ता व्यक्तिभित्र रहेको प्रतिभा, सीप, क्षमता, योग्यता र भावना देख्न बुझ्न नसक्नु समाजका त्यस्ता मानिसको सोचाइको अपाङ्गपन हो भन्ने कवि तारकिणीको भनाइ छ ।
१५ वर्षको उमेरसम्म त उहाँको कानमा कुनै समस्या थिएन । राम्रोसँग सुन्नुहुन्थ्यो । २०६३ सालको तिहारमा रेडियो नेपालबाट बजेका देउसी भैलोका गीतहरू नै उहाँको अन्तिम सुनाइ बन्न पुग्यो । १५ वर्षअघि सुनेका ती गीतहरू तिहार आउनसाथ अहिले पनि कानमा गुन्जिरहेको महसुस हुन्छ उहाँलाई । त्यसअघि टेप रेकर्डरमा केही लोकगीत र जनयुद्धका समयमा माओवादीले विद्यालयमा गर्ने आमसभामा विद्रोहका गीतहरू सुनेको उहाँ सम्झिनु हुन्छ । यसका अलवा त्यो वेला सुनेका चरा, प्रकृति, समाजका यावत ध्वनिहरू अहिले पनि उहाँको मन मस्तिष्कमा गुञ्जिरहेको भान हुन्छ । यी सारा कुराहरू सम्झिँदा सुन्न नसक्नुको पीडाले कवि तारकिणीलाई ऐंठन हुन्छ बेलाबेला ।
कानको उपचार गराएर अब फेरि सुन्न सकेको खण्डमा सबैभन्दा पहिला आमा र बुबाको बोली फोनमा सुन्न मन छ उहाँलाई । लामो समयदेखि तारकिणी काठमाडौँमा बसेर पत्रकारिता, साहित्य लेखन र चित्रकलामा सक्रिय रहँदै आउनुभएको छ । तर उहाँका आमा बुबा गाउँमै हुनुहुन्छ । चाडबाडका बेला र अन्य समयमा पनि उहाँहरूको यादले कवि तारकिणीलाई पिरोलिरहन्छ। त्यो बेला फोन गरेर उहाँहरूसँग कुरा गर्न नसक्नु अथवा भनौँ कल गर्न असमर्थ हुनुको पीडाले उहाँलाई झन् धेरै बिथोलिदिन्छ । यसकारण अब कानले पुनर्जीवन पाएको खण्डमा बा-आमाको बोली पहिलो पटक सुन्न मन छ उहाँलाई ।
पूर्णरूपमा कान सुन्न नसक्नेहरूका लागि काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरी कृतिम प्रविधिबाट कान सुन्न सक्ने बनाइन्छ र नेपालमा त्यो खालको उपचार त्यहाँ मात्रै हुँदै आएको छ । वार्षिक ४०/५० जनाले त्यस्तो उपचार गराउँदै आएका छन । कानको भित्र र बाहिर दुई मेसिन जडान गरेर सुन्न सक्ने बनाइन्छ । यसमा सामन्यतया भित्री मेसिन जीवनभर टिके पनि बाहिर जडान गरिएको मेसिन भने मोबाइल सिस्टमजस्तै अपडेट गरिरहनु पर्ने हुन्छ । त्यसको आयु सकिएपछि मेसिन नै परिवर्तन गर्नु पर्ने पनि हुन्छ । त्यसमा ब्याट्री, चार्ज, म्यापिङ, केयर आदिको लागि वार्षिक ५०/६० हजार रुपैयाँ अलग्गै खर्च जुटाउनु पर्ने हुन्छ । प्राकृतिक श्रवणशक्ति गुमेको र मेसिनको सहायताले सुन्नु पर्ने भएकोले अपरेसन गरेपछि पनि लामो समयसम्म थेरापी गरिरहनु पर्ने डाक्टर बताउँछन । त्यसका लागि उपचार पद्धति पनि महँगो छ ।
अप्रेसन गरेर कानमा जडान गरिने मेसिन, अप्रेसन खर्चलगायत करिब २० लाख रुपैयाँ लाग्ने डाक्टरले बताएका छन् । यसमा कवि तारकिणीको पारिवारिक आर्थिक अवस्थाले यतिधेरै खर्च जुटाउन नसक्ने भएकाले कतैबाट सहयोग जुटेको खण्डमा उपचार सम्भव छ । त्यसका लागि अहिले सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगरको संयोजकत्वमा कवि तारकिणीको उपचारार्थ आर्थिक सहयोग अभियान विश्वव्यापी रूपमा चलिरहेको छ । गत बैशाख ३ गते कवि तारकिणीसँगको अन्तर्वार्तामूलक कार्यक्रम प्रतिष्ठानको फेसबुक पेजबाट प्रसारण भएसँगै उहाँको उपचारका लागि आर्थिक सहयोग सङ्कलन अभियान चलाउनु पर्ने माग आउन थालेपछि प्रतिष्ठानले अभियान चलाउने निर्णय गरेको थियो । यसमा विश्वभरिबाट थुप्रै सहयोगीहरूले आर्थिक सहयोग गरिरहनु भएको छ । तर उहाँको उपचारका लागि धेरै नै रकम आवश्यक रहेकोले थप अन्य सहयोगी दाताहरूको खाँचो परेको छ । यस अभियानमा यो लेख तयार पर्दासम्म १ सय ४० जना भन्दा धेरै सहयोगी मनहरूबाट ५ लाख रुपैयाँ रकम बोलकबोल भइसकेको छ भने विश्वभरि रहनुभएका थुप्रै नेपालीहरूबाट सहयोग आउने क्रम पनि चलिरहेको छ ।
उपचारका लागि करिब २० लाख रुपैयाँ जुटाउनु पर्ने भएकोले अन्य दाताहरूलाई पनि सहयोगका लागि आह्वान गरिरहेको अध्यक्ष मगरले जानकारी गराउनु भयो । यसमा सबैभन्दा ठुलो सञ्जाल रहेको साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को जापान च्याप्टरले आन्तरिक रूपमा सहयोग अभियान चलाइरहेको छ । त्यसैगरी किराँत राई यायोख्खा शाखा युएईलगायत अन्य केही संघसंस्थाले पनि आर्थिक सहयोग जुटाइरहेका छन । आवश्यक रकम जुटाउन सकेको खण्डमा त्रि.वि. शिक्षण अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. रविन्द्रभक्त प्रधानाङ्गको टोलीले कवि तारकिणीको उपचार गर्नेछ । डा. प्रधानाङ्गका अनुसार कवि तारकिणीको दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुनेछ भने बोलीमा समेत सुधार हुनेछ ।
७ कक्षा पढ्दाताका ‘मेरी आमा’ शीर्षकको कविता लेखेर साहित्य लेखनको यात्रा थालनी गर्नुभएका कवि तारकिणीको पहिलो कविता ०६६ सालमा प्रकाशित भएको थियो । सोही साल पहिलो पटक काठमाडौँ आएपछि उहाँको लेखनले गति लिएको हो । आफू २५ वर्षको हुँदासम्म २५ वटै पुस्तकहरू प्रकाशित गरेर एउटा रेकर्ड बनाउने उहाँको योजना थियो कुनै बेला । त्यसको लागि प्रशस्त खेस्रा लेखनको काम पनि गर्नु भएको थियो । तर सङ्ख्यात्मकभन्दा गुणात्मक साहित्य टिकाउ हुन्छ भन्ने बोध भएपछि उहाँले लामो समयसम्म कुनै पनि कृति छाप्ने हिम्मत गर्नु भएन । फेरि पनि फुटकर रूपमा लेख्ने काम भने गरिरहनु भयो । त्यो बीचमा धेरै पढ्ने र थोरै लेख्ने काम भए । यसले साहित्यको गुणवत्ता बुझ्नमा निक्कै मद्दत गर्यो उहाँलाई ।
आफ्नो साहित्य लेखनको छोटो समयमै तारकिणीले तीन वटा साहित्यिक र दुई ओटा गैर-साहित्यिक कृति प्रकाशित गरिसक्नु भएको छ । साथै अर्को एउटा कविता सङ्ग्रह “बिगन रामको मादल” प्रकाशोन्मुख अवस्थामा छ । शिखा बुक्सले बजारमा ल्याउन लागेको सो कविता सङ्ग्रहको “बुक कभर” गत बैशाख १ गते फेसबुक मार्फत सार्वजनिक गरिएको छ ।
त्यसैगरी उहाँ छिट्टै नै निबन्ध सङ्ग्रह निकाल्ने सोचमा पनि हुनुहुन्छ । यसका अलवा विभिन्न राष्ट्रिय पत्र-पत्रिका, म्यागेजिन तथा अनलाइन पोर्टलहरूमा उहाँका फुटकर कविता, निबन्ध, कथा, गजल, मुक्तक र समसामयिक लेख-रचनाहरू प्रकाशित हुँदै आएका छन् । ०६६ सालमा प्रकाशित कविता सङ्ग्रह ‘आमाको वेदना’ उहाँको पहिलो कृति हो भने “नारी पूजा” खण्डकाव्य २०६७ र ‘बहिरो जीवन’ मुक्तक सङ्ग्रह २०६८ उहाँका अन्य साहित्यिक कृतिहरू रहेका छन् । त्यसैगरी गैर-साहित्यतर्फ “विश्व–ब्रह्माण्डका रोचक रहस्यहरू-२०६७” र “अनौठा कुरा, रोचक तथ्य-२०७३” नामक दुई पुस्तक पनि प्रकाशित छन् ।
पहिलो कृति प्रकाशित भएपछि झोलाभरि तिनै किताब बोकेर विभिन्न कार्यलय चाहार्दै २५ रुपैयाँका दरले किताब बेचेर आफ्नो खर्च जुटाएको उहाँ सम्झिनु हुन्छ । त्यसरी उहाँले त्यो बेला ४ सय ओटा किताब बिक्री गर्नुभएको थियो । १० हजार रुपैयाँ सापट गरेर दाइले उहाँलाई गाउँबाट काठमाडौँ ल्याउनु भएको थियो । आज सोही ठाउँमा बसेर कवि तारकिणी सङ्घर्ष गरिरहनु भएको छ । ०६६ सालतिरकै कुरा हो एक दिन उहाँ एउटा प्रकाशन गृहमा पुग्नुभयो अनायसै । त्यही क्रममा उहाँले आफ्नो कविता सङ्ग्रह प्रकाशित गरिदिनका लागि त्यस प्रकाशन गृहका मालिकलाई अनुरोध गर्नुभयो । ती प्रकाशक आफैँ पनि बाल साहित्यकारका रूपमा कहलिएका व्यक्ति थिए । जसका किताबहरू तारकिणीले गाउँमै छँदा स्वाद मानी- मानी पढ्नुभएको थियो । तर “तपाईंको कवितामा पैसा लगानी गरेर किन छाप्ने? त्यो भन्दा त बरु सडकका माग्नेलाई दान दिनु ठिक छ ।” भनेर प्रकाशन गृहका मालिकले जवाफ दिएपछि कवि तारकिणी रन्थनिँदै थप केही नबोली त्यहाँबाट निस्कनु परेको थियो ।
प्रकाशकको उक्त कुराले तारकिणीको मनमा गहिरो चोट परेछ क्यारे त्यसपछि उहाँले आफ्ना कवितालाई शक्तिशाली बनाउने प्रण गर्नुभयो र त्यही अनुरूप आफूलाई निखार्दै जानु भयो । जुन अहिलेको कवि तारकिणीमा हामीले पाइरहेका पनि छौँ । पछि ०६७ सालमा रत्न पुस्तक भण्डारले उहाँको खण्डकाव्य कृति “नारी पूजा” प्रकाशित गरिदिएको थियो । त्यो घटना सम्झिँदै कवि तारकिणी भन्नुहुन्छ, ” कम्तीमा आज म आफ्ना कविता/कृति छापिदिनुस् भनी गुहार माग्ने अवस्थाबाट मुक्त छु ।”
कविता र निबन्धका अलवा मुक्तक, गजल, खण्डकाव्य, कथा र बालकवितामा समेत कलम चलाउँदै आए पनि तुलनात्मक रूपमा कवितामा आफू सफल भएको उहाँ ठान्नुहुन्छ । लेखनका हिसाबले पनि उहाँले सबैभन्दा धेरै कविता नै लेख्नुभएको छ र पहिचानको कुरा गर्दा पनि चिन्नेहरूमध्ये धेरैले उहाँलाई कवितामार्फत नै चिनेका छन् । तर कलम चलाउने अन्य विधामा पनि उत्तिकै न्याय गरिरहेको उहाँलाई लाग्छ । हुन त यहाँ कोही पनि जन्मजातै कवि भएर आएको हुँदैन । तर पनि कसैसँग खास प्रतिभा छ भने जीवन र जगत्को बोध, भोगाइ र सामाजिक परिवेशले एउटा मान्छेलाई कवि बनाउ सक्छ । कवित्व सबैभित्र निहीत हुन सक्छ तर त्यसलाई अभिव्यक्ति गर्ने कला सबैमा नहुने भएकोले पनि सबै मान्छे कवि बन्न सक्दैनन् । तसर्थ कवि बन्न अथवा कवि हुनको लागि व्यक्तिमा कला पनि हुनुपर्ने कवि तारकिणीको बुझाइ छ । उहाँले पनि कवि बन्छु भनेर पहिले कहिल्यै सोच्नु भएको थिएन । आफ्नै जीवनमा घटेको त्यो पीडादायी घटना र हुर्केको सामाजिक परिवेशले साहित्यमा आफूलाई मोडिदिएको उहाँ बताउनु हुन्छ । राम्रो कविता लेख्नका लागि केही कुराले मन मस्तिष्कमा हिर्काउनुपर्छ या त हृदय छुनुपर्छ । विभिन्न घटना, प्रसङ्ग, भोगाइ आदिले उहाँ ज्यादा भावुक हुने गर्नुहुन्छ । सानैदेखि एकाग्र र एकान्तप्रेमी हुनुहुन्थ्यो भने उहाँको ज्यादा सोच्ने बानी पनि छ । अरूको पीडाले पनि उहाँलाई उत्तिकै दुखाउँछ । यी सारा कुराहरूका अलवा साहित्यको पर्याप्त स्व-अध्ययनका कारण पनि उहाँले आफूलाई तिखार्ने मौका पाउनु भयो ।
आजभोलि प्रायः मुद्दा केन्द्रित, विचारप्रेरित कविताहरू बढी लेखिन्छन् । यस खालको कविताको आयु कस्तो देख्नुहुन्छ ? भन्ने सवालमा कवि तारकिणी भन्नुहुन्छ, “कविता इतिहासको अभिलेखन हो । साहित्यले तत्कालीन समय, कालखण्ड र समाजको अवस्था मुखरित गरेको हुन्छ । कविताले मुद्दाहरू स्थापित गर्नु राम्रो पक्ष हो । कोरा भावना मात्र भन्दा सशक्त विचार र सामाजिक मुद्दाहरूलाई पक्रेर लेखिएका कविता नै आजको समयमा शक्तिशाली मानिन्छन् । ती कविता पछिसम्मका लागि पनि सान्दर्भिक हुन्छन्, या भनौँ आजको समयको कविता भोलिको पुस्ताले पढ्दा आजको समय र समाज बुझ्न सजिलो हुनेछ ।” यसकारण यसकिसिमका कविताहरूको वर्तमान र भविष्य राम्रै भएको उहाँको भनाइ छ ।
तुलनात्मक रूपमा त्यतिधेरै अध्यन गर्न नपाएको भए पनि जे जति अध्यन गर्नुभएको छ त्यस हिसाबले हेर्दा पनि हिजोको साहित्यभन्दा आजको साहित्य कम छैन भन्ने उहाँलाई लाग्छ । शैली र शिल्पमा पनि नयाँपन आइरहेको छ भने विषय र प्रयोगका हिसाबले पनि हिजो र आजको साहित्यमा पर्याप्त अन्तर देखिँदै आएको छ । वर्तमान नेपाली कविताको केन्द्रीय स्वर विसङ्गतिपूर्ण जीवनको चित्रण र मानवमूल्यको खोजी नै हो । आज हाम्रो जीवन, समाज, समय, विचार सबै असङ्गत भइरहेका छन् । यिनै कुराको वरिपरि वर्तमान नेपाली कविता रुमल्लिएको छ र एउटा व्यवस्थित, सार्थक र आत्मसम्मानपूर्ण जीवनको खोजी जारी छ । पछिल्लो समय पहिचानको मुद्दाले पनि नेपाली कविताको मूलधारमा सशक्त उपस्थिति देखाएको छ । सामाजिक मुद्दाहरू, सीमान्तकृतका स्वरहरू, दबिएका, हेलामा परेका, पेलिएकाहरूको कुण्ठा, नारीमुक्ति र अन्धसंस्कृति एवम् विभेदको विरोध, राजनैतिक चेतना, ग्लोबलाइजेसन र सांस्कृतिक विचलनप्रतिको सचेतताजस्ता विषयवस्तुहरूको प्रवेशले पछिल्लो नेपाली कविता मुद्दावादी बन्दै गएको हो कि भन्ने उहाँलाई लाग्छ ।
साहित्य लेखनको अलवा कवि तारकिणी चित्रकलमा पनि उत्तिकै रुचि राख्नुहुन्छ । स्कुलमा चित्रहरू बनाएर सबैको नजरमा पर्नुहुन्थ्यो। तर काठमाडौँ आएपछि उहाँले चित्रकला सिक्न र साधना गर्न पाउनु भएन । अहिले पनि बेलाबेला चित्रहरू कोर्ने गर्नुहुन्छ र बनाइएका ती चित्रहरू नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र अन्य समूहमा सामूहिक प्रदर्शनी पनि हुँदै आएका छन् । उहाँले झण्डै तीन दर्जनभन्दा बढी पुस्तकहरूमा आवरण चित्र तथा डिजाइन गर्नुभएको छ भने केहीमा स्केच प्रकाशित भएका छन् । कवि तारकिणी पत्रकारिता र भाषा सम्पादनमा पनि उत्तिकै सक्रिय भएर लागिरहनुभएको छ । उहाँले ८/१० वर्षअघि मित्र दीपसागर प्यासीसँग ‘प्यास’ गजल पत्रिकामा काम गरेर यसको यात्रा सुरु गर्नुभएको थियो ।
त्यहीँबाट उहाँले पत्रकारिता तथा सम्पादन सिक्दै र अनुभव बटुल्दै आउनु भयो । पछि केही वर्ष ‘युनिभर्सल टाइम्स’ नामक नेपाली साप्ताहिक पत्रिकामा पनि उहाँले काम गर्नु भयो । पछिल्लो ३ वर्षदेखि न्युज २४ नेपालमा आबद्ध रहेर पत्रकारितालाई अगाडि बढाइरहनु भएको छ । पत्रकारिता र सम्पादन पनि गर्छु नै भनेर गरिएका काम हैनन् । आफूमा भाषाको ज्ञान र सीप भएकाले यता पनि काम गर्ने अवसरहरू पाएको उहाँ बताउनु हुन्छ । अहिले “सम्पादन हाउस” मार्फत उहाँले साहित्यिक किताबहरूको सम्पादन तथा भाषा हेर्ने काम पनि गर्दै आउनु भएको छ । यसरी काम गर्दै जाँदा धेरै कुराहरूको ज्ञान र अनुभव पनि हुँदै जाने उहाँको अनुभव छ ।
साहित्य मानव सभ्यताको विशिष्ट देन हो । साहित्य र कलाविना कुनै पनि सभ्यता अधुरो हुने उहाँको धारणा छ ।
यही साहित्यले नै उहाँलाई अप्ठेरो परिस्थितिमा पनि जीवन जिउन सिकाएको छ । त्यसैले साहित्य नै उहाँको लागि बाँच्ने एउटा आधार पनि हो ।
सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज तथा यूट्युब च्यानल “ए एस ईन्टरटेन्मेन्ट” मार्फत हरेक शनिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदैआएको कार्यक्रम ” स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।
==================================
‘कवि राजेन्द्र तारकिणी’लाई सहयोग रकम पठाउन चाहने पाठकका लागि बैंक खाता नम्बर:
नाम : Rajendra Prasad Pant
बैंक : Global IME Bank Ltd / Kantipath Branch
खाता नम्बर : 0107010024497
थप जानकारीका लागि : +977-9849560709 (गणेश)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।