पृष्ठभमिः
पाठक र साहित्यकारको दूरत्वलाई समीक्षकहरूले पूरा गरेको हुनुपर्ने त हो तर समालोचना सिद्धान्तकै ज्ञान पूरा नभएर त्यसो नभएको बोध हुन्छ। जसो होस्, हालको नेपाली समालोचनाको स्वरूप मूल्याङ्कनपरक, विवेचनात्मक, प्रभावकारी र व्याख्यात्मक हुँदैगरेको र विश्व साहित्यकै मार्गमा अग्रसर भइरहेको कुरालाई युगानुकूल प्रयास भन्न सकिन्छ। त्यसैकारण साहित्यभन्दा समालोचनाको कर्तव्य अझ जटिल देखिन्छ। आफ्नो स्वरूप र पद्धतिमा समयोचित संशोधन गर्दै साहित्यलाई सर्वसाधारणको मानससम्म पुर्याउनु पर्ने अहिलेको युगको प्रयोजन देखिन्छ। पाठकहरूमा समीक्षा सिद्धान्तको उति ज्ञान नहुनाले केही जिज्ञासुबाहेक अन्यलाई यस विधाले उति आकर्षित र सम्प्रेषित गरेको भेटिँदैन ।
विशेषतः समालोचक रामकृष्ण शर्माको नेपाली समालोचना साहित्यमा के कस्तो योगदान र स्थान रहेको थियो र छ-त्यसको केही विवेचनाको आवश्यकताको बोध हुँदछ। तसर्थ् भारतीय नेपाली साहित्य निर्माणको परिप्रेक्ष्यमा नेपाली भाषामा लिखित उनका माटो सुहाउँदा विचारहरू नै पृष्ठपोषक तथा आधार-स्तम्भ भएर उभिएका छन्।
योगदानः जसरी अङ्ग्रेजी भाषा-साहित्यको अध्ययन गर्दा इङ्ल्याण्ड र त्यसको सेरोफेरोको सामाजिक, राजनीतिक, अर्थनैतिक, धार्मिक पारिपाटीको इतिहास बुझ्न आवश्यक हुँदछ, त्यसरी नै नेपाली भाषाको इतिहास पहिल्याउँदा नेपाल राष्ट्रकै ऐतिहासिक आदि पृष्ठभमिको अध्ययन, मनन पनि आवश्यक भएको हुनाले रामकृष्ण शर्माले पनि नेपालबाट प्रकाशित साहित्यिक कृतिहरूको पनि वृहत् अध्ययन गरेका नै थिए । त्यसपछि नेपाल र भारतका कृतिहरूको तुलना गर्दै नेपाल-भारतमा सिर्जित साहित्यमध्ये रूपनारायण सिंहको ‘भ्रमर’ उपन्यासलाई उनले अत्याधुनिक भनी ठोकुवा गरेर ‘प्रथम साहित्यकार’भनी निर्णय गरिदिएका छन्, जसलाई आजसम्म कसैले अस्वीकार गरेको छैन । त्यसरी नै भाषा-सेवीहरूमध्ये डा. पारसमणि प्रधानलाई भारतवर्षमा ‘नेपाली भाषाको घड़ेरी खन्ने प्रथम व्यक्ति’ भनी सम्मान जनाउँदै भारतीय नेपालीहरूलाई भारतमुखी भाषा साहित्यको सेवा गर्नमा परोक्ष प्रोत्साहन गरेका छन्। यस दृष्टिकोणले समालोचक शर्मा समाज र साहित्यका पारखी र मर्मज्ञ प्रमाणित भएका छन्।
यहाँका साहित्य सर्जकहरूले भारतभूमिकै माटोको सुगन्ध बोकेका, आफ्नै पृष्ठभूमिमा जातिगत, भाषा र संस्कृति इत्यादि बोध गराउने लेख-रचनाहरूको प्रशंसा गर्न शर्माज्यू चुकेका छैनन् तर नेपाल र भारतका रचनाहरूमा एउटा सीमा रहनुपर्ने सुझाउ परोक्ष रूपमा दिँदै राष्ट्रियताको बोध गराउन पछि परेका छैनन्, यी विचारहरू उनका ऐतिहासिक लेख र समालोचनाहरूद्वारा स्पष्ट भएका छन्। त्यसकारण सही समयमा सही बाटो देखाउने मार्गदर्शनका रूपमा हामी रामकृष्ण शर्माज्यूको दूर-दर्शितालाई नमन गर्दछौँ ।
रामकृष्ण शर्माका समालोचनात्मक मान्यता, सिद्धान्त र मानदण्ड – संक्षिप्त विश्लेषण र मूल्याङ्कनः
साहित्यको समालोचना गर्दा शर्माज्यूले साहित्यकारको व्यक्तित्वको पनि मूल्याङ्कन गरेका छन् । आई. ए. रिचार्डस्को भनाइ छ-‘समीक्षक उभ्याउनु भनेको नै मूल्यको निर्णायक तोक्नु हो।’ यो उक्ति शर्माको निम्ति उपयुक्त देखिन्छ किनभने ‘कृतिको मूल्य निर्धारण गर्दा त्यसको बाह्य-सौन्दर्य, भाषिक विविधता, प्रतीक र विम्बको सही प्रयोग तथा सतही आकर्षणलाई मात्र हेर्नु हुँदैन। समग्र कृतिबाट प्राप्त हुने गरिमामय प्रभाव, विभिन्न अनुभवलाई सार सङ्ग्रह, ठोस-निष्ठा, मस्तिष्क र हृदयलाई स्पर्श गर्नसक्ने अटूट आग्रहका साथै कृतिकारका अविच्छिन्न व्यक्तित्वको पनि अपेक्षा राखिन्छ।’ (विक्रमादित्य राय लिटरेरी एसेज-प्रा. 1971-पृ. 867, मोतीलाल बनारस/दिल्ली-प्र.सं.) यसरी अवलोकन गर्दा शर्मा आफ्नो युगमा पूर्ण रूपले व्याप्त र प्रतिष्ठित देखा पर्छन् ।
साहित्य सम्बन्धी उनका स्पष्ट धारणाहरू यस्ता छन्-‘मन र मथिङ्गलको मन्थन भएर साहित्य जन्मन्छ। साहित्यले प्रकाश पाउने माध्यम भाषा हो।… एउटा न एउटा पृष्ठभूमि नलिई साहित्य जन्मँदैन। पृष्ठभूमिको परिप्रेक्ष्यमा नै साहित्यका जन्म र विकासको विचार हुनुपर्छ।
(सप्त-शारदीय-बाट)
धर्म र साहित्यमा भिन्नता देखाउँदै उनले भनेका छन्-‘धर्मले गर्न नसकेको काम साहित्यले आफ्नो मनोवैज्ञानिक तरिकाले तथा प्रचार माध्यमद्वारा सफल तुल्याउन सक्छ। साहित्यलाई सभ्यताको कसी ठान्दै ‘सत्यम् शिवम् सुन्दरम्’ को प्रकाश माध्यम हो ।’ अनि म्याथ्यू आर्नोल्डसित हात मिलाउँदै भनेका छन्-‘मानव जातिले जीवनमा शान्ति, जिउने शक्ति र जीवन अनुवाद गर्न कवितातर्फ फर्कनुपर्छ भन्ने कुरा गुरुतर अंशमा चाल पाउँदै जानेछन्। (पूर्ववत्)
आफ्नो निबन्ध ‘विचार कतिपय’-मा शर्माज्यूले भानुभक्तलाई ‘देवत्व’-को श्रेणीमा राखेको विषयमा साथै बङ्गला साहित्यकारको धूमिल व्यक्तित्व, देवकोटा र बालकृष्ण समका दोषतर्फ पनि व्यङ्ग्य कसेका छन् भने पछिल्ला दुइजनाको कलाप्रेम, जातिप्रेम, लगनशीलता तथा उच्च विचारहरूको प्रशंसा गर्दै साहित्यकारमा हुने गुणको प्रशंसा पनि गर्न बिर्सेका छैनन्।
उनलाई डम्बरसिंह गुरुङ, तेञ्जिङ शेर्पा, ‘वीरगतिको धोको’-का नायक-बलभद्र, लक्ष्मीप्रसाद देवकोटा, डा. विनयकुमार सरकार, श्यामाप्रसाद मुखर्जी, बालकृष्ण सम, रूपनारायण सिंहका उज्याला व्यक्तित्व मन परेको थाहा लाग्छ। यसरी शिक्षा-सभ्यता, संस्कृतिले मानव-व्यक्तित्वमा पार्नसकेको अमेट छापको मूल्य सदैव रहोस् भन्ने उनको कामनाबाट उनी आदर्श यथार्थवादी समीक्षक रहेछन् भन्ने बोध हुँदछ।
साहित्यलाई जीवन-रक्षक संजीवनीको रूपमा स्वीकारेर माटोको स्वभाव अनुरूप यसको विकास हुनुपर्ने आवश्यकतातिर यसरी उनको द़ृष्टिकोण सराहनीय देखिन्छ।
समाजलाई सभ्य र शिक्षित तुल्याउन शर्माले व्यङ्ग्योक्ति, हाँस्य-व्यङ्ग्यको प्रयोग आवश्यक ठानेका छन् भने करुण-रसमा मानिसको हृदय पगाल्ने तत्त्व हुन्छ भनेका छन् । मानव-मनका उदासीन भाव जड़ेको आधारमा ‘विश्व-व्यथा सिद्धिचरण मेरो दृष्टिकोण’ समालोचनामा उनले सिद्धिचरणलाई विश्व कविको लहरमा उभ्याएका छन्। यस प्रकार उनले मानव-जीवनलाई सराबरी केलाएर नित्य स्थायी मूल्यवान भावलाई सर्वोपरि स्थान दिँदै साहित्यमा भाव-पक्षको पनि दृढ़ पक्षधर रहेका छन्।
साहित्यको रूप-पक्षमा पनि रामकृष्ण शर्मा सचेत देखिन्छन् अनि ‘भाव र शैली’ दुवै नै ‘कविका धन’ भनेका छन्।
‘बहुरूप कहाँ ?’ समीक्षात्मक लेखमा शैली र भाषाबारे राम्रो व्याख्या प्रस्तुत गरेका छन्। शैलीले पृथकता र विविधता अपनाउँछ तर भाषाले अपनाउँदैन भन्दै ‘भाषामा एकरूपताको विवाद’-लाई टुङ्ग्याइदिएका छन्।
गीताको श्लोकमा रहेका लालित्य, अलङ्कार, भावपक्ष, भाषापक्ष र काव्यपक्षको आड़मा यसलाई एउटा उच्चतम् खण्ड-काव्य, महाकाव्यकै बराबर मान्ने शर्मा काव्यको रूपप्रति कति सजग रहेछन् भन्ने कुरा बुझ्न सकिन्छ। शब्द मोहको सन्दर्भमा कठिन शब्दहरूको साटो नेपाली भाषामा संस्कृत शब्दकै प्रयोगलाई रुचाएका छन् र अङ्ग्रेजबाजलाई हल्का व्यङ्ग्य हानेका छन्। रूपपक्षकै सन्दर्भमा व्याकरण र शब्द सम्बन्धी उनका तर्कपूर्ण विचार व्यावहारिक देखिन्छ। आफ्नै कृतिहरूमा पनि प्रशस्त उखान, तुक्का प्रयोग गरेर तिनलाई सजीव तुल्याएका छन्-भाषिक विमर्श गरेर तिनको महत्त्व बढ़ाएका छन्।
साहित्य-चर्चामा शर्माले व्यक्तित्व, पृष्ठभूमि, भाव-पक्ष, रूप-पक्ष सबैतिर दृष्टि पुर्याएर आफ्नो समालोचकीय धर्म निर्वाह गरेको पाइन्छ।
उपसंहारः
रामकृष्ण शर्मा मूलतः प्रभाववादी समालोचक हुन् । उनी नेपाली समालोचना साहित्यका मूल गौरव-स्तम्भ हुन् । उनमा पूर्वीय सभ्यता, धर्म र संस्कृतिको प्रगाढ़ छाप परेको छ भने पाश्चात्य शिक्षण, वैज्ञानिक प्रगति र पद्धतिको पनि प्रशस्त प्रभाव परेको छ। निरन्तरको आत्म-चिन्तन र व्यावहारिक जीवनसित हेलमेल पश्चात् उनमा प्रशस्त अन्तर्विकास भएको पाइन्छ। यसैबाट प्रेरित उनी विश्व-जनीन ‘शाश्वत् मूल्य’-को खोजीमा लागिपरेको बुझिन्छ। पाठक, दर्शक र श्रोताका मन छामेर उनीहरूको कल्याण कामना गर्ने शर्मा सम्प्रेषण सिद्धान्तका पोषकका रूपमा उभिएका छन्।
यिनै प्रभावहरूका माझमा पनि आाफ्नो मौलिकता वर्चस्व राख्न सकेका छन् र आफूले राखेको मानस्तरको कदर उनले यसरी आफ्नो व्यक्तित्व र कृतित्वमा अक्षुण्ण राखी नेपाली समालोचना साहित्यमा समन्वय धारणाको एक उत्कृष्ट नमूना प्रस्तुत गर्दै युग र समाजमा प्रतिष्ठित पनि भएका छन्।
एक मनोविश्लेषणात्मक कथाकार तथा स्वछन्दवादी कविका रूपमा परिचित छन् । निबन्ध, प्रबन्ध, नियात्रा आदिमा पनि उनको कलम चलेकै थिए। त्यसबाहेक उनी कला-पारखी र सौन्दर्यका पुजारी पनि थिए, यद्यपि उनीमाथि अति प्रभाववादको आरोप पनि लागेकै थियो ।
आफ्नो जीवनको अन्तिम चरणमा ‘अष्टावक्र’ कृतिमा ईश्वरप्रतिको उनको चिन्तनले उनी अध्यात्मवादी दार्शनिक थिए भन्न सकिन्छ । कुनै पनि समालोचनाले दर्शनको आधार पक्रेकै हुनुपर्छ भन्ने धारणामाझ रामकृष्ण शर्माको यस चिन्तनले उनलाई विश्व-स्तरीय समालोचकको रूपमा प्रतिष्ठापित गरेको भन्न सकिन्छ । यसरी एउटा जटिल विधा पक्रेर ठीक बेलामा भारतीय नेपाली साहित्यकारलाई सटिक बाटोतिर मार्गदर्शन गरिदिनसक्ने उनको बहुमुखी प्रतिभालाई भविष्यले अवश्य बुझ्दै र स्वीकार्दै जानेछ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।