पोखरामा बसेर साहित्य लेखनमा सक्रिय रहँदै आउनु भएकी कवि लिली अधिकारीको गतसाल मङ्सिर १८ गते विमोचन भई, पहिलो कृतिको रूपमा कविता सङ्ग्रह “पहराको फूल” सार्वजनिक भएको छ । कृति बजारमा आइसकेपछि समालोचनात्मक, आलोचनात्मक र प्रोत्साहनपूर्ण तिनै किसिमका प्रतिक्रियाहरू कवि अधिकारीले प्राप्त गरिरहनु भएको छ । थुप्रै साहित्यकारहरूले कृतिको समीक्षा पनि लेखिरहनु भएको छ । आफ्ना कमिकमजोरीहरू औँल्याउने खालका समीक्षा आइदियोस भन्ने कवि अधिकारीको चाहना भए पनि, धेरैले प्रशंसा गरेर नै लेखिदिनु भएको छ । समीक्षाको क्रममा धेरैले धेरै कुरा लेखिसक्नु भएको छ । यसमा तुलनात्मक रूपमा आलोचना निक्कै कम आएको कवि अधिकारी बताउनु हुन्छ । धेरैले प्रशंसा नै गर्नुभएको छ । सायद पहिलो कृति भएकोले लेखकलाई प्रोत्साहन दिनुभएको पनि हुन सक्छ । कविता सङ्ग्रहभित्र कविकै जीवन भोगाइ, नारी जीवन र वेदना, दुखान्तलाई बढी प्राथमिकता दिइएको, केही बलिया विम्बहरूको प्रयोगका साथै कतिपय ठाउँमा अमूर्त शब्द र विम्बहरूको प्रयोग गरेर कविताहरू लेखिएको, कृतिलाई समीक्षा गर्नेहरूको भनाइ रहेको छ । यसका अलवा सामाजिक विषय वस्तुमा आधारित, माया प्रेम, राष्ट्रको अवस्था , सामाजिक विकृति विसङ्गति, जातीय विरोध, लैङ्गिक हिंसाको विरोध, कोरोना कहर,अन्धविश्वासले जन्माएको अँध्यारोको कथा, मानवीय मूल्य र मान्यता, प्रकृति आदिलाई सङ्ग्रहभित्रका कविताहरूले समेट्ने कोसिस गरेका छन् ।

लिली अधिकारी

यसै सन्दर्भमा सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष, कवि तथा कुशल चित्रकार जीवित खड्का मगर सङ्ग्रहको भूमिकामा लेख्नु हुन्छ, “कवि अधिकारी अत्यन्त सचेत लेखक हुन् । उनका कविताहरूमा आफ्नोपन देख्न सकिन्छ । यिनको लेखनशैलीमा जो एकरूपता छ, प्रस्ट वैचारिक दृष्टि र भाव गाम्भीर्य छ, प्रवाह छ, देश र समाजप्रतिको चिन्ता अनि भविष्यमाथि भरोसा छ, नारीप्रति अथाह श्रद्धा छ, विद्रोह छ, प्रेम छ, विश्वास छ आदि । यसरी प्रत्येक कविताको पाना पल्टाउँदै जाँदा पक्कै तपाईंलाई यो लाग्नेछ, कुनै सुपरिचित कवि जो वर्षौँ अघिदेखि लेखिरहेछ कविता र शब्दशब्दमा रोमाञ्चित हुँदै उसका कविता ध्यानपूर्वक पढिरहेछु म । कविहरूको प्रथम उपस्थितिमा प्राय: यस खालको सचेतता भेट्न मुस्किल देखिन्छ । त्यो पक्ष उनीजस्तै गम्भीर कविहरूले नै हेक्का राख्छन् । मलाई खुसी यस अर्थमा लागेको छ, नेपाली साहित्यमा लिली अधिकारीको यो दर्बिलो सुरुवात हो ।”

सङग्रहकै प्रतिनिधित्व गरेर कवि अधिकारीले कृतिको विम्बात्मक शीर्षक “पहराको फूल” राख्नु भएको छ । पहराको फूल भनेर यस कृतिमार्फत के कुरा भन्न खोज्नु भएको हो ? भन्ने सवालमा कवि अधिकारी भन्नुहुन्छ, “यो एउटा विम्ब हो । यसलाई पाठकले आ-आफ्नो तरिकाले बुझ्न सक्नुहुन्छ । परिश्रम गरेर सफलता प्राप्त गर्न निकै मुस्किल छ । मूलत: हरेक क्षेत्रमा जीवन फुलाउन निकै कठिन छ, जसरी पहरामा फूल फुल्न कठिन छ । सङ्घर्षले जीवन फुलाउनु पहरामा फूल फुल्नु जत्तिकै हो । सङ्घर्ष गरे अप्ठ्यारो ठाउँमा पनि फुल्न सकिन्छ भन्नु पनि हो यसको अर्थ । यसमा हेरक पाठकको बुझाइ आ-आफ्नो हुन सक्छ ।” हाम्रो संस्कृति र समाज नारीप्रति पहरोजस्तै कठोर छ । पहरामा फुल्नु सानो चुनौती होइन । त्यसैले विम्बात्मक रूपमा यो कुरा दर्शाउन सङ्ग्रहको नाम नै “पहाराको फूल” राखिएको कवि अधिकारी प्रष्ट्याउनु हुन्छ र यसलाई धेरैले मन पराउनु पनि भएको छ ।

डिजी शर्मा (युएई)

कवि अधिकारीको यो पहिलो कृति हो । यसअर्थमा कृति निकाल्नु भनेको प्रसव पीडा सहनु जतिकै कठिन हुने उहाँको अनुभव रहन गएको छ । हुन त हरेक नयाँ काम गर्दा सुरुमा बढी मेहनत गर्नै पर्छ । यसमा दुई मत छैन । यस हिसाबले केही कठिनाइका बीचमा पनि कृति प्रकाशनका क्रममा धेरै नयाँ अनुभवहरू बटुल्ने मौका पाएको उहाँ बताउनु हुन्छ । त्यसले आगामी दिनमा अन्य कृतिका लागि अलिक सजह हुन सक्ने उहाँको विश्वास पनि छ । निरन्तर साहित्य सिर्जना मात्र गर्नु र त्यसलाई सङ्गृहीत गरेर कृति निकाल्नुमा केही न केही फरक अनुभव त हरेक लेखकमा हुन्छ नै । यो कुरा कवि अधिकारीमा पनि लागू हुन्छ । अनुभव र सिकाइ भन्ने कुरा फरक हुने भएकाले पनि पहिलो कृति निकालिसकेपछि त्यसबाट आउने प्रतिक्रियाले लेखकमा परिपक्वता बढाउँदै लैजाने उहाँ बताउनु हुन्छ । “कविता लेख्छु” भन्नु र “मेरो पनि कृति छ” भन्नुमा पनि धेरै फरक हुने उहाँको बुझाइ छ ।

माता गङ्गा अधिकारी र पिता ओमप्रसाद अधिकारीकी जेठो सन्तानको रूपमा कास्कीकोट २४, पोखरमा जन्मनु भएकी कवि अधिकारीले स्कूले जीवनबाटै साहित्य लेखनको यात्रा थालनी गर्नु भएको थियो । घरमा हजुरबुबा रामायण र महाभारत पढ्नुहुन्थ्यो । त्यसको प्रभाव आफूमा पनि परेको कवि अधिकारी बताउनु हुन्छ । आमा गङ्गा अधिकारीलाई कविता खुब मन पर्ने भएकोले कवि लिलीले अन्य किताबमा भएका कविताहरू आमालाई सुनाउने गर्नुहुन्थ्यो । किताबका कविता मात्रै कति सुनाउनु भनेर कवि अधिकारीले पछि जानी-नजानी आफैँ लेखेर सुनाउन थाल्नु भयो । “त्यसरी कविता सुनाइरहँदा आमा मख्ख पर्नु हुन्थ्यो” कवि अधिकारी सम्झिनुहुन्छ, “यसरी नै सुरु भएको हो मेरो लेखन यात्रा” । आजको कवि बन्न र कविताप्रति रुचि जगाउनमा उहाँको पारिवारिक वातावरणले निक्कै ठुलो भूमिका खेलेको देखिन्छ । जुन वातावरण सबै कवि/लेखकहरूले सानोमा प्राप्त गरेका हुँदैनन् । सानै उमेरबाट साहित्य लेखनमा रुचि भए पनि कोरोना कहर उहाँको लागि उर्वर समय भएको कवि अधिकारी उल्लेख गर्नुहुन्छ । कोरोनाकालीन लकडाउनले जीवनका अन्य पाटोमा जे जस्तो असर पारे पनि लेखनका लागि सो समय उपलब्धिमूलक साबित भयो उहाँलाई ।

कविताका अतिरिक्त मुक्तक, गजल र नाटकमा पनि विशेष रूपमा कलम चलाउँदै आउनु भएकी अधिकारी लामो समयदेखि शिक्षण पेशामा समेत आबद्ध रहँदै आउनु भएको छ । कवि अधिकारीले शिक्षा सङ्कायमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ । कवि अधिकारी सगरमाथा साहित्य प्रतिष्ठानको गण्डकी प्रदेशकी शाखाकी सचिव पनि हुन्छ र उहाँको सङ्ग्रहको प्रकाशक पनि प्रतिष्ठान रहेको छ । प्रतिष्ठान प्रकाशकको रूपमा रहेको सो कृति पहिलो पनि हो । जसमा ५६ ओटा कविताहरू समेटिएका छन । यसपछि अन्य केही कृतिहरू पनि प्रतिष्ठान प्रकाशकको रूपमा रहेर बजारमा आइसकेका छन । यसलाई अझै बृहत् रूपमा अघि बढाउन प्रतिष्ठानले एउटा लगानी समूह बनाउने योजना बनाएको प्रतिष्ठानका अध्यक्ष जीवित खड्का मगर बताउनुहुन्छ । सगरमाथा साहित्य प्रतिष्ठानका अलवा कवि अधिकारी पोखरेली युवा सांस्कृतिक परिवार र शुभप्रभात साहित्य पुञ्ज पोखराको सदस्य, नेपाली भाषा शिक्षक परिषद कास्की र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी प्रदेशकी आजीवन सदस्य हुनुहुन्छ । त्यसैगरी उहाँले अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिको सचिवको रूपमा रहेर पनि काम गर्दै आउनुभएको छ ।

तुलनात्मक रूपमा कविता कृतिको माग बजारमा अलिक कम्ती छ भन्ने कुरा स्वयम् कविहरूले नै भन्दै आएको पाइन्छ र यस सत्यलाई नकार्न पनि सकिँदैन । पाठक कम्ती भएका हुन अथवा पाठकले खोजेजस्तो कविता कविहरूले दिन नसकेका हुन ? भन्ने सवाल पैदा हुनु पनि स्वभाविक हो । देशमा समग्र साहित्यिक पुस्तक पढ्ने मान्छे नै अति कम भएको र यसमा कविता पढेर त्यसलाई अनुभूत गर्न सक्ने पाठकहरूको सङ्ख्या थोरै भएका कारण पनि कविता कृतिको माग कम भएको हुन सक्ने कवि अधिकारीको बुझाइ छ । कविता अलिक विम्बात्मक, प्रतीकात्मक, मूर्त अमूर्त हुने हुँदा बुझ्न सजिलो नभएर पनि आख्यानतिर झुकाव बढेको हुन सक्छ । तर पनि कविताका पाठक नै नभएको भन्ने चाहिँ उहाँलाई लाग्दैन । किन भने कविता अनुभूत गर्न सक्ने पाठकहरूले पढिरहेकै छन् । सबैलाई सबै विधा मन पर्छ भन्ने छैन र त्यो सम्भव पनि नहोला । आफ्नो रुचिअनुसार पाठकहरूले पढिरहेकै छन् ।

साहित्यको बजारमा नाम चलेका र स्थापित भइसकेका लेखकहरूको पुस्तक पनि त्यहीँ हुन्छ । उदाउँदै गरेका लेखकहरूको कृति पनि त्यहीँ हुन्छ । यस्तो अवस्थामा पाठकले नयाँ लेखकलाई नपत्याउने सम्भावना पनि उत्तिकै रहन्छ । सामन्यतया “कस्तो लेखेको छ ?” भनेर पढ्नेभन्दा पनि “कसले लेखेको हो ?” भनेर पढ्ने प्रवृतिका कारण पनि नयाँ लेखकलाई पहिलो कृति चुनौतीको विषय बन्न पुग्छ । यसमा कवि अधिकारीको बुझाइ भने अलिक फरक छ । पत्याउने नपत्याउने भन्दा पनि कृतिको गुणस्तर सबैले खोजेका हुन्छन् । समय विज्ञापनको छ र जुन कृतिले धेरै विज्ञापन पाउँछ त्यही बढी चर्चामा आएको देखिन्छ । पाठक पनि आफ्ना-आफ्ना हुँदा रहेछन् भन्ने कुरा पहिलो कृति प्रकाशित गरिसकेपछि कवि अधिकारीलाई महसुस भएको छ ।

एक महिला सर्जक भएको नाताले घरव्यहार सम्हाल्दै, शिक्षण पेशालाई पनि साथमा राखेर साहित्य सिर्जना गर्नु कवि अधिकारीको लागि पक्कै पनि सहज कुरा होइन । हाम्रो समाज र संस्कृति नारीप्रति उदार हुन नसकेको कवि अधिकारी गुनासो गर्नुहुन्छ । स्वावलम्बी नबनेसम्म जीवन पिञ्जडामै सीमित हुन्छ । त्यसैले आफ्नै खुट्टामा उभिन सकेको खण्डमा केही सहज हुने उहाँको बुझाइ छ । उहाँ अघि थप्नुहुन्छ, “नारीलाई समाजको सङ्कुचित घेराभित्र सहज त छँदै छैन । त्यसै मैले मेरो कृतिको नाम नै “पहराको फूल” कहाँ राखेकी हुँ र ! जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ असहजतामा पनि सहजता खोजेर अगाडि बढ्ने हो ।” कति जानै पर्ने ठाउँमा नगएर, कति काम पछाडि सारेर, आराम गर्ने समय कटौती गरेर, साथीभाइ, इष्टमित्रसँगको भेटघाट पातलो बनाएर भए पनि उहाँले साहित्य सिर्जना गरिरहनु भएको छ । हुन त समय सबैको व्यस्त नै हुन्छ । त्यही व्यस्त समयलाई व्यवस्थापन गर्नु नै ठुलो कुरा हो भन्ने उहाँलाई लाग्छ । यसरी अहिलेसम्म गरिएका साहित्य सिर्जना र त्यसबापत प्राप्त उपलब्धिहरूबाट उहाँ सन्तुष्ट नै हुनुहुन्छ । अर्को कुरा साहित्य सिर्जना गरेरै जीवनयापन गर्नु पर्छ भन्ने पनि उहाँलाई लाग्दैन र त्यो सम्भव पनि देख्नु हुन्न । फेरि पनि आत्मसन्तुष्टि र केही पहिचानका लागि निरन्तर साहित्य सिर्जना गरिरहने उहाँको योजाना छ । लेखनमा आफूले चाहे जति समय दिन नसक्नु र चाहे अनुसारको अध्ययन गर्न नपाउने कुराले भने उहाँलाई बेलाबेला दुखी बनाउने गर्छ । साहित्य लेखनलाई लिएर आगामी दिनमा त्यस्तो कुनै खास योजनाहरू नभए पनि लेखनलाई निरन्तरता दिने विश्वास उहाँ व्यक्त गर्नुहुन्छ ।

कृतिबाट एउटा कविता :

पहराको फूल

पहराको छातीमा
छहरा पग्लिए झैँ
तिम्रो उपस्थिति
कस्तुरी-वीणाको सुगन्ध मगमगाए झैँ
तिम्रो साक्षात्कारको सुखानुभूति
गढेर बस्थ्यो हृदयको गुँडमै
र अविराम नजर
पुग्ने गर्थे तिमीसामु

सिमानामा बाँध्नै नसकिने
असीमित आवेग र आसक्तिसामु
कहिलेकाहीँ अनौठो पर्खाल देखिँदो रहेछ
लाभाको बाफ बोकेर तरङ्गित भइरहने मन
कहिले त
हिउँ झैँ सिरानीमा जमिरहँदो रहेछ !

मन चाहन्थ्यो
सहयात्राको समुद्र लहराइरहोस्
टाढाको प्रेमिल आकारको आभासले छुँदै चुमिरहोस्
तर
म त उभिरहेको रहेछु निर्जन पहरामुनि
र नियालिरहेको रहेछु अप्राप्य फूल !

अगाध स्नेहपूर्वक
हर बिहान
प्रेमको थाली सजाएर
आशाका उज्याला किरणहरूसँग
कल्पना माथिको सपनासँगै मेटिजाने पाइला
हराइरहने म एउटा मन
त्यो बगैँचा जो मैले सपनामा देख्ने गर्थेँ
त्यसमा सधैँ मुस्कुराइरहून् फूलहरू
सुनौला सपनाहरू जो म देख्ने गर्थेँ
सबैले देखिरहून्, भेटिरहून् ती प्राप्तिहरू !

म त प्रतीक्षामा छु युगौँदेखि
अतृप्तिको पछ्यौरी ओढेर
चखेवा उडेको हरेक साँझमा
तर थाहा थियो
तिमी मेरा निम्ति स्वप्न जस्तो मात्रै थियौ
सारमा थिएनौ
आकाशको जूनलाई
धरतीका आँखाहरूले हेरे झैँ
अदृश्य रहरहरू साँचुँला
सकुञ्जेल बतास भएर
तिम्रै छेउ ओहोर-दोहोर गर्दै
तिमीलाई हेरेरै भए पनि मन बाँधुँला

सोचेँ, खुब सोचेँ
जिन्दगी रहरको जस्तो अद्भुत भुल भएछ !
मन त छ तर स्पर्श हराएर टाढा छ
त्यो आकार त मेरा निम्ति पहराको फूल रहेछ !

“सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज तथा यूट्युब च्यानल “ए एस इन्टरटेन्मेन्ट” मार्फत हरेक शनिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदैआएको कार्यक्रम ” स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।