०६२/०६३ सालभन्दा पहिले, अहिलेका कवि तथा गजलकार पुरुषोत्तम ढुङ्गेललाई गजलको बारेमा केही पनि थाहा थिएन । त्योभन्दा पहिले उहाँ कविता र गीत लेखनमै रमाइरहनु भएको थियो । शिक्षण पेशाका कारण त्यो समय उहाँ झापाको दमकमा हुनुहुन्थ्यो । त्यही क्रममा एक दिन दमकमा बस्दै आउनुभएका गजलकार भोलानाथ पुरानाघरेलाई कवि ढुङ्गेलले, आफूले लेखेका गीतलाई “ल सुन्नूस् है मैले लेखेका गजलहरू” भनेर सुनाइदिनु भयो । गीतलाई गजल भनेर सुनाइरहँदा कवि ढुङ्गेललाई “पुरानाघरे” गजलकार हुन् भन्ने कुरा पनि थाहा थिएन । एकछिन त उहाँले ढुङ्गेलका गीतलाई गजल नै भनेर सुनिदिनु पनि भयो । तर लगत्तै उहाँले कवि ढुङ्गेललाई “तपाईंले लेखेको गजल भएन” भनेर सामुन्ने नै भनिदिएपछि भने कवि ढुङ्गेल छाँगाबाट खसेजस्तै हुनुभयो । एक किसिमले उहाँलाई लज्जा बोध पनि गरायो, “इन्द्रको अघि स्वर्गको बयान” भनेजस्तै गरी । गजलकार पुरानाघरेले कवि ढुङ्गेलको गजलप्रतिको त्यो अज्ञानतालाई त्यतिकै छोडिदिन पनि सक्नुहुन्थ्यो । तर उहाँले त्यसो गर्नुभएन । बरु कवि ढुङ्गेलको गजलप्रतिको मोह र अज्ञानतालाई माफ गर्दै उहाँले गजलका आधातभूत सिद्धान्तहरू सिकाइदिनु भयो । जसले गर्दा कविता र गीत लेख्दै आउनुभएका ढुङ्गेललाई गजलमा पनि सक्रिय हुने मौका मिल्यो । गजलकार पुरानाघरेले त्यसो नगरिदिनु भएको भए आजका गजलकार ढुङ्गेल जन्मिने सम्भावना पनि रहँदैन थियो सायद । यसकारण पनि ढुङ्गेल हाल अमेरिकामा रहँदै आउनुभएका गजलकार पुरानाघरेलाई सम्झिरहनुहुन्छ ।

त्यस घटनापछि ढुङ्गेल गजल लेखनमा निक्कै सक्रिय रहनुका साथै पुरानाघरेसँगै थुप्रै कार्यक्रममा गजल वाचनका लागि हिँड्नु पनि भयो । गजलकार तथा कवि सुन्दर कुरूप, प्रकाश आङ्दाम्बे, शिव प्रणत, धनकुटे कान्छा, यमन सुवेदी, विवश वलिभद्र कोइरलालगायतलाई उहाँले त्यही कार्यक्रमको दौरानमा चिन्नुभएको थियो । तर ढुङ्गेल भने उहाँहरूको नजरमा सर्जकको रूपमा नोटिस भइसक्नु भएको थिएन । उहाँहरूले राम्रोसँग चिन्न नपाउँदै ढुङ्गेल काठमाण्डौ हानिनु भयो आफ्नो लेखन कलालाई साथमै लिएर । गजल लेखन यात्रा राजधानी पुगेपछि पनि चलिरह्यो । लेखनमा उहाँलाई मज्जा पनि आइरहेको थियो । राम्रो-नराम्रोसँग सरोकार नराखी केवल लेख्ने काम मात्रै भयो । त्यही क्रममा एक दिन अहिलेका लोकप्रिय गायक राज सिग्देलसँग भेट हुन पुग्यो । गायक सिग्देल त्यो बेला आफ्नो एल्बम प्रकाशनको तयारीमा हुनुहुन्थ्यो र त्यसैको लागि गीत/गजलको खोजीमा हुनुहुन्थ्यो । गजलकार ढुङ्गेलकी एक जना गङ्गा नामकी बहिनीले “तपाईंलाई म एक जना खतरा गजलकार भेटाइदिन्छु” भनेर गायक सिग्देललाई भन्नुभएको रहेछ । त्यसरी गायक सिग्देल र गजलकार ढुङ्गेलको भेट हुन गएको थियो ।

पुरुषोत्तम ढुङ्गेल

गजलकार ढुङ्गेलमा पहिलेदेखि नै सङ्गीतप्रति रुचि र त्यसको चेत भएका कारण पनि गायक सिग्देलसँग सुमधुर सम्बन्ध स्थापित हुन पुग्यो । विज्ञानको भाषामा भन्नुपर्दा उहाँहरूको केमेस्ट्री मिल्यो । पहिलो भेटमा गायक सिग्देलले, “म तपाईंको गीत/गजलहरू गाउन चाहन्छु, तर पहिले म तपाईंलाई अन्य केही गीत/गजल सुनाउँछु, मेरो आवाज मन पर्यो भने मात्र मलाई गीत/गजल दिनुहोला” भनेर गजलकार ढुङ्गेललाई भन्नुभएको थियो । त्यो बेला गायक सिग्देलले पहिलो गीतको रूपमा इश्वर बल्लवको शब्द र भक्तराज आचार्यको सङ्गीत तथा आवाज रहेको कालजयी गीत “हजार सपनाहरूको माया लागेर आउँछ” सुनाउनु भएको थियो, ढुङ्गेल सम्झिनुहुन्छ, त्यसपछि उहाँले अरू पनि केही गीत गाउनु भयो । कतिपय प्रसङ्गमा यही कुरालाई “पुरुषोत्तम ढुङ्गेलले राज सिग्देललाई गीत दिने बेलामा अडिसन लिएको थियो अरे” भन्ने हल्लाहरू पनि सुन्न पाइन्छ । तर त्यो गलत भएको ढुङ्गेल प्रष्ट्याउन चाहनु हुन्छ । गीत गाउने र सुन्ने क्रम त्यतिमा मात्रै सिमित भएन । पछिका दिनहरूमा पनि चलिरह्यो नै । गीत सुन्नकै लागि भनेर ढुङ्गेल प्रायः गायक सिग्देलकोमा गइरहनु हुन्थ्यो । त्यसले उहाँहरूको सम्बन्धमा थप मिठास थपिरहेको थियो । गीत गाउने र सुन्ने क्रममै एक दिन गायक सिग्देल गीत गाइरहनु भएको समयमा ढुङ्गेलले अनायसै केही शब्दहरू कोर्नुभयो ।

“ऊ जितेर गई या हारेर गई
नजिता आफैँतिर पारेर गई
हिजो निम्ता दिई बस्न दिलमा
आज काँडेतारले बारेर गई

प्रितको एउटा फूल थ्यो बगैँचमा
आकाशबाट असिना झारेर गई
बाँच्दै त थिएँ घायल नै भए पनि
मुस्कानको छुरा रोपी मारेर गई ।”

डिजी शर्मा (युएई)

सरासर यति लाइन कोरेर ढुङ्गेल त्यो कागज गायक सिग्देलकोमै छोडेर निस्कनु भयो । गायक सिग्देलले त्यो कागज वरिष्ठ सङ्गीतकार चण्डीप्रसाद काफ्लेकोमा पुर्याउनु भयो र सङ्गीतकार काफ्लेले पनि त्यही रात त्यसमा सङ्गीत भर्नु भयो । सङ्गीत भरिसकेपछि तीनै जनालाई त्यो गजल झन् मन पर्यो । यही गजल बोकेर गायक सिग्देल रेडियो नेपालले आयोजना गरेको “अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता” मा भाग लिन जानु भयो । यो २०६७ सालतिरको कुरा थियो । तर रमाइलो कुरा प्रतियोगितामा गीत प्रस्तुत गर्ने अघिल्लो दिनसम्म पनि गजलको अन्तिम दुई शेर लेखिएको थिएन । गायक सिग्देलले त्यसअघि पनि बेलाबेला गजलका बाँकी शेर लेख्न अनुरोध गरिरहे पनि ढुङ्गेलले त्यसलाई पूरा गर्न सकिरहनुभएको थिएन ।

प्रतियोगिताको अघिल्लो दिन गायक सिग्देलले म्यासेज मार्फत फेरि सम्झाउनु भयो गजलकार ढुङ्गेललाई । त्यतिबेला गजलकार ढुङ्गेल परीक्षाहलमा गार्ड बसिरहनु भएको थियो । हलमै उहाँले बाँकी अन्तिम दुई शेर लेख्नु भयो र गजल पूरा भयो । त्यही गजलले गायक सिग्देललाई रेडियो नेपालको उक्त प्रतियोगितामा तेस्रो स्थान हासिल गरायो । योसँगै गायक सिग्देल र गजलकार ढुङ्गेलको चर्चा पनि सुरु हुन थाल्यो साङ्गीतिक वृत्तमा । प्रतियोगिताको करिब ६ महिनापछि सोही ” ऊ जितेर गई” लाई मूख्य गजलको रूपमा राखेर गायक सिग्देलको पहिलो साङ्गीतिक एल्बम “गुरु” बजारमा आयो २०६८ सालमा । जसलाई प्रतिष्ठित म्युजिक कम्पनी बिन्दबासिनी म्युजिक प्रालीले बजारमा ल्याएको हो । यसरी एउटा सर्वप्रिय गजल जन्मियो र विगत एक दशकदेखि हजरौँको कानमा गुञ्जिरहेको पनि छ । यही गजल ढुङ्गेलको पहिलो साङ्गीतिक गजल पनि हो । यस गजलको लोकप्रियतासँगै गजलकार ढुङ्गेललाई व्यावसायिक रूपमा गीत/गजल लेखनको माग आउन सुरु भयो । यही क्रममा हालसम्म उहाँका एक सयभन्दा धेरै गीत/गजलहरू विभिन्न गायक गायिकाको आवाजमा रेकर्ड भएर बजारमा आइसकेका छन । साथै उहाँले मारुनी, कृष्णलीला, म, प्रेमगञ्जलगायत नेपाली चलचित्रको लागि पनि गीत लेखन गरिसक्नु भएको छ ।

माता तारा ढुङ्गेल र पिता भवानी शंकर ढुङ्गेलका जेठो सन्तानको रूपमा वि. सं. २०४२ साल पौष १८ गते इलामको कन्याममा जन्मनु भएका गजलकार ढुङ्गेलले १० बर्षको कलिलो उमेरबाटै साहित्य लेखनको यात्रा सुरु गर्नुभएको थियो । पारिवारिक माहोल नै साहित्यिक, साङ्गीतिक र त्यसप्रति मरिमेट्ने भएका कारण त्यसैको प्रभाव आफूमा पनि सानैबाट पर्न गएको उहाँ बताउनु हुन्छ । आमा तारा ढुङ्गेलले गीत गाउनुका साथै हारमोनियम पनि राम्रोसँग बजाउनु हुन्छ । त्यसै गरी मामा दुर्गा खतिवडा बाँसुरी वाधक हुनुहुन्छ । जसले नेपालमै पहिलो पटक बाँसुरीमा स्नातकोत्तर गर्नुभएको थियो । काइँलो मामा तबला वाधक हुनुहुन्छ भने काइँली माइजू क्लासिकल भोकलिस्ट हुनुहुन्छ । त्यस्तै कान्छो मामा कम्पोजर तथा गायक हुनुहुन्छ । पारिवारिक वातावरण नै साङ्गीतिक भएका कारण कवि ढुङ्गेललाई सानैबाट त्यसमा रस बस्न थालेको थियो ।

मामाहरूले लेखेको र बाजागाजासहित गाइरहँदा ढुङ्गेललाई त्यसले लोभ्याइरहन्थ्यो । तर उहाँलाई आउँदैन थियो र मामाहरूको अघि कहिल्यै प्रस्तुत हुने आँट पनि आएन । तर मामाहरूले सुनाउनु भएको कुरा आफ्ना साथीहरूको अगाडि प्रस्तुत गरेर सबैभन्दा जान्नेजस्तो चाहिँ उहाँ भइरहनुहुन्थ्यो । एक दिन उहाँ अध्ययनरत श्री आदर्श मा.वि. जयपुर, झापामा कविता गोष्ठी भयो र त्यसमा उहाँले पनि भाग लिनु भयो । त्योबेला उहाँले अन्य तीन चार जना कविहरूको कविताबाट अलिअलि निकालेर एउटा सिङ्गो कविता बनाएर प्रस्तुत गर्नुभयो । त्यो कुरा उहाँका साथी र स्वयम् शिक्षकहरूले पनि थाहा पाउनु भएन । एक जना शिक्षकले भने सो कुरा पत्ता लगाउनु भयो र “बाबु कविता त राम्रो लेख्यौ तर यसरी अरूको कविता लेखेर ठुलो मान्छे चाहिँ बनिँदैन है” भनेर सम्झाएपछि त्यो बेला पनि ढुङ्गेललाई लाज भएको थियो । पछि शिक्षक सनत ओलीले ढुङ्गेललाई अनुप्रास मिलेका कविताहरू लेख्न सिकाउनु भयो र आजको कवि बन्नमा एउटा महत्त्वपूर्ण भूमिका निभाउनु भयो । त्यस कविता गोष्ठीपछि त विद्यालयका हरेक कार्यक्रममा सहभागी भएर कविता सुनाउन थाल्नु भयो र उहाँले स्कुले जीवनबाटै कविको परिचय बनाउन सुरु गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “सुरुवाती दिनमा साथीहरूलाई सुनाउन लेखियो । अलिकपछि अनुभूतिजन्य तरिकाले लेखियो । आफ्ना अनुभूतिहरू कवितामा प्रस्तुत गरिरहँदा आफूलाई अलिक हल्का भएको महसूस पनि हुने । कसैलाई केही भन्नु छ भने पनि कवितामै भन्न मन लागेजस्तो हुने । एक किसिमको अञ्जानबाट सुरु गरेको कविता यात्रा आजसम्म चलिरहेको छ ।” आफूले लेख्दा मात्रा नभई अरूका सिर्जनाहरू पढ्दा पनि कवि ढुङ्गेललाई उत्तिकै आनन्द आउने गर्छ । जब साहित्यका कुरा आउँछ, तब उहाँ बच्चा बन्नु हुन्छ । अहिले पनि लेखिरहँदा होस् या पढिरहँदा उहाँ घर व्यवहार, दुनियाँदारी सबै भुलेर त्यही निश्छल बालक बन्नुहुन्छ जसले १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेको थियो । यसरी साहित्यमा हराइरहँदा एउटा छुट्टै अप्रतिम मज्जा आइरहेको हुन्छ जुन मज्जा अन्य कुनै पनि कुराले उहाँलाई दिन सक्दैन । साहित्यमा जुन रस र स्वाद छ त्यो स्वाद अन्त कहीँ कतैबाट पनि प्राप्त नहुने भएकोले उहाँको जीवनमा साहित्य एउटा नशा अथवा भनौँ लत भएर बसेको छ र यस लतले आफूलाई सधैँ जवान बनाइरहेको उहाँ महसूस गर्नुहुन्छ । यही कुराले उहाँलाई साहित्यतर्फ तानिरहेको छ अहिलेसम्म पनि ।

साहित्य लेखनसँगै कवि ढुङ्गेल गायनमा पनि सानैबाट उत्तिकै रुचि राख्नु हुन्थ्यो र त्यो रुचि अहिले पनि कायमै छ । झापाबाट काठमाण्डौ आउँदै गर्दा गायक बन्ने सपना पनि थियो उहाँको । सङ्गीत पनि सिक्ने र गीत पनि गाउने उहाँको योजना थियो । आफूले लेखेका गीत गजलहरू रेकर्ड भएर बजारमा आउलान भन्ने उहाँले कहिल्यै सोच्नु भएको थिएन । लेखनलाई जीवनको एउटा पाटोको रूपमा राखेर गायनलाई अघि बढाउने उहाँको उदेश्य थियो । तर ठिक विपरीत भइदियो । काठमाण्डौ गइसकेपछि औपचारिक रूपमा सङ्गीतमा लाग्नुभन्दा पहिल्यै उहाँका गीत/गजलहरू रेकर्ड हुन थाले र बजारमा आउन सुरु भयो । त्यसले उहाँको ध्यान सङ्गीतमाभन्दा शब्दतिर मोडियो र जिन्दगीको एउटा अर्कै अध्याय सुरु गरायो । गायनमा रुचि राख्नुका साथै उहाँको आवाज पनि राम्रै छ र सङ्गीतमा केही दक्षता पनि छ । तर अहिलेसम्म कहीँकतै पनि गायनको प्रस्तुति भने उहाँले दिन पाउनु भएको छैन । कवि, गजलकार तथा गीतकारको परिचयले उहाँको गायनलाई ओझेल पार्यो भन्दा अनुचित नहोला भन्ने लाग्छ ।

भारतीय सुप्रसिद्ध गायक किशोर कुमार कुनै समय नायक बन्न मुम्बई गएको तर गायक बनेको प्रसङ्ग निकाल्दै कवि ढुङ्गेल आफ्नो जीवनमा पनि यही कुरा लागू भएको स्वीकार गर्नुहुन्छ । कवि ढुङ्गेल राजधानी जानुको अर्को एउटा कारण पनि थियो । त्यो हो एसएलसीपछि छुटेको आफ्नो पढाइ पूरा गर्नु । पढाइप्रति निक्कै रुचि र मेहनती विद्यार्थी हुँदाहुँदै पनि एसएलसी सकिएपछि विविध कारणले गर्दा दुई वर्ष उहाँको पढाइ छुट्यो । पढाइसँगको त्यो दुई वर्षको बिछोडले उहाँलाई निक्कै दुखी बनाएको थियो । बडो विषादपूर्ण समय गुजार्नु भयो त्यो बीचमा । तर हरेक घटनाको सकारात्मक पाटो पनि हुन्छ भने जस्तै उहाँले त्यही दुई वर्षको अवधिमा गजल लेख्न सिक्नु भयो र साहित्य लेखनमा आफूलाई निखार्ने मौका पनि पाउनु भयो । साहित्य र सङ्गीतलाई अगाडि बढाउनुको अलवा पढाइबाट गुमेको आफ्नो शोख पनि फिर्ता गर्नु थियो उहाँलाई । यसकारण पनि उहाँले काठमाण्डौ जानुको विकल्प देख्नु भएन । त्यही क्रममा उहाँ राजधानी पुगेर पशुपति क्याम्पसमा भर्ना हुनु भयो साहित्य विषय लिएर । पछि उहाँले त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तरसम्मको औपचारिक अध्यन पूरा गर्नु भयो ।

हरेक लेखकका सिर्जना गर्ने अथवा भनौँ सिर्जना फुराउने तरिका आ-आफ्नै हुन्छन् । कवि ढुङ्गेलको पनि आफ्नै तौर तरिका छन् । कुनै पनि सिर्जना जन्मिँदैछ अथवा फुर्दैछ अथवा उहाँबाट केही लेखिँदैछ भने त्यसको सङ्केत उहाँमा देखा पर्न थाल्छ । त्यो समय एउटा विचित्रको मनोदशाबाट गुज्रिनु हुन्छ उहाँ । वैराग्य लागेजस्तो पनि तर वैराग्य नभएको जस्तो पनि । खुसी भए जस्तो पनि । तर पटक्कै खुसी नभएजस्तो पनि । भीडमा जान मन लागेजस्तो पनि । एक्लै बस्न मन लागेजस्तो पनि । निन्द्रा लागेर पनि निदाउ नसकेजस्तो । लगाएका आफ्नै कपडाहरूले बिझाएजस्तो । रुन पनि मन लागेजस्तो । हाँस्न पनि मन लागेजस्तो । यो पृथ्वीभन्दा बाहिर कतै उछिट्टिएर अर्कै कुनै ग्रहमा जान मन लागेजस्तो । यस्तै यस्तैमा उहाँ रुमल्लिरहनु हुन्छ र बडो पीडादायी पनि हुने गर्छ त्यो समय । त्यो बेला उहाँको दैनिक जीवन पनि निक्कै नराम्रोसँग प्रभावित हुने गर्छ । यस्तो एउटा अनौठो अवस्थाबाट गुज्रिसकेपछि भने एउटा सुन्दर सिर्जनाको जन्म हुन पुग्छ र त्यसले एउटा आनन्द पनि दिन्छ । जुन आनन्द अरू केहीबाट पनि प्राप्त हुँदैन । तर यी सब कुरा के ले गराउँछ भन्ने कुरा उहाँले अहिलेसम्म पनि बुझ्न सक्नु भएको छैन र यस्तो अवस्था सधैँ रहन्छ भन्ने पनि हुन्न । उसो त उहाँले कहिलेकाहीँ सामन्य अनुभूतिमा पनि सिर्जना गर्ने गर्नुहुन्छ ।

कहिलेकाहीँ कसैले ब्याकग्राउण्डमा कुनै धुन बजाइरहँदा त्यसको माधुर्यसँगै सिर्जनाहरू पनि भएका छन् । फेरि कहिलेकाहीँ लामो समयसम्म केही पनि सिर्जना भइरहेको हुँदैन र जबर्जस्ती पनि लेख्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा लेख्छु भनेरै पहिले नै योजना बनाएर पनि थुप्रै सिर्जनाहरू भएका छन । तर त्यसरी प्रायोजित रूपमा गरिएका सिर्जनाहरूबाट भने खासै आत्मसन्तुष्टि प्राप्त नहुने उहाँको अनुभव छ । चलचित्रको हकमा भने कथा पढ्दै गएपछि त्यसलाई सुहाउने गीतहरू पनि फुर्दै जान्छन् । कहिलेकाहीँ सङ्गीतकारले धुन बनाएर पठाउनु हुन्छ र त्यसको झङ्कारले छोएपछि त्यही धुनमा मिल्ने गरी पनि गीत/गजलहरू सिर्जना भएका छन् । यसरी लामो समयदेखि लेखनमा सक्रिय रहँदै आए पनि कवि ढुङ्गेलको पुस्तक आकारमा अहिलेसम्म कुनै कृति भने प्रकाशित भएको छैन ।

सामन्यतया हामी आफ्नै जीवन र जगत्मा घटेका घटनाहरूलाई नै कलात्मक रूपमा साहित्यमा प्रस्तुत गर्ने गर्छौं । तर कवि ढुङ्गेलको हकमा भने कहिलेकाहीँ अर्कै भइदिन्छ । कुनै एउटा बसाइमा अनायासै लेखिएका कुराहरू केही समय अथवा केही वर्षपछि आफ्नै जीवनसँग हुबहु मेल खाएका धेरै उदाहरणहरू छन ढुङ्गेलसँग । यो संयोग मात्रै पनि नहुन सक्छ । केही समय पहिले कवि ढुङ्गेल, श्रीमती र छोरा छोरीको साथमा काठमाण्डौमा बस्दै आउनु भएको थियो । साहित्य लेखनसँगै उहाँ शिक्षण पेशामा पनि आवद्ध हुनुहुन्थ्यो काठमाण्डौमा । यस हिसाबले उहाँको दैनिक जीवन राम्रैसँग चलिरहेको थियो । कुनै दिन राजधानी छोडिएला भनेर उहाँलाई कहिल्यै लागेको थिएन । एक दिन अचानक उहाँको मनमा वैराग्य चलेर आयो । नजिकैको चिया पसलमा जानुभयो । दुई चार कप चिया मगाएर पिउनु भयो । चिया पिइरहँदा “म जस्ता कति जनाले यो कपमा चिया पिए होलान् ?, कति जनाको ओठले यो गिलासलाई जुठो बनाएर गए होलान् ?, आज ती मान्छेहरू कहाँ होलान् ?” भन्ने खालका सवालहरू पैदा हुन थाले । यस्ता प्रश्नहरू जन्मिने क्रममै त्यहीँ चिया पिँदा-पिउँदै उहाँले एउटा कविता लेख्नु भयो ।

“मलाई सम्झिने को नै पो होला
छोडी गएमा मैले यो शहर
नियास्रो मान्दै को नै पो रोला
छोडी गएमा मैले यो शहर
उस्तै रहला या न रहला
म बस्ने टोलको साँघुरो गल्ली
जहाँ हिँड्दा मैले देखेको छु
मनको सन्नाटा र हल्लीखल्ली
बाटो छेउको त्यो ढुङ्गालाई कसैले फेरि
पुज्लान कि नाई ?
भीडमा मलाई नदेख्दाखेरि कसैका आँखा
रुझ्लान कि नाई ?

बैशाख लाग्ला
सडक किनार नीलो शिरीष ढपक्कै फुल्ला
बिर्सिन्नँ भन्ने मान्छेले पनि
अल्ली पछि त मलाई भुल्ला
चिया अड्डामा मजस्तै अर्को
चिया अम्मलीले दूध चिया पिउला
यो शहरलाई के फरक पर्ला र
म बिना पनि त यो शहर जिउला ।”

चिया पसलमा बसेर यो कविता लेखिरहँदा काठमाण्डौ छोड्ने त्यस्तो कुनै योजना नै थिएन उहाँको । संयोगको कुरा भनौँ अथवा नियति, यो कविता लेखेको केही महिना पनि बित्न नपाउँदै पारिवारिक कारणले गर्दा कवि ढुङ्गेलले राजधानी छोड्नु पर्ने दिन आयो । राजधानी छोड्दै गर्दा उहाँले साथीहरूलाई यो कविता सुनाउनु भयो । साथीहरू पनि चकित हुनु भयो यो संयोग देखेर ।

यसरी आफैँले लेखेका प्रायः कुराहरू कालन्तरमा आफ्नै जीवनमा घटित भइरहेको देख्दा आगामी दिनमा लेख्ने कुरामा अलिक सचेत पो हुनु पर्ने हो कि भन्ने पनि लाग्छ कवि ढुङ्गेललाई । उहाँले “वृद्धाआश्रम” भन्ने एउटा कविता लेख्नु भएको छ । जुन कवितामा एउटा बूढो मान्छेको श्रीमती मर्छिन् निक्कै वर्ष पहिले । त्यसैको बारेमा लेखिएको कविता हो त्यो । त्यसैगरी “लठ्ठी” भन्ने एउटा बूढो मान्छेकै बारेमा अर्को कविता पनि लेख्नु भएको छ । जसको चाहिँ सबैथोक त्यही लट्ठी हुन्छ । अब उहाँलाई एउटै डर छ, “बुढेसकालमा कतै मेरो जिन्दगी पनि त्यस्तै त हुने होइन” भनेर । आफूले लेखेका कुराले आफैँलाई अप्ठेरोमा पार्दै आएकोले पनि उहाँलाई यस्तो पीर हुनु स्वभाविक हो । हुन त विज्ञानले अवचेतन मनमा भएका कुराहरू नै जीवनमा प्रतिबिम्बित भएको हो भन्छ । तर हामी कतिपय अवस्थामा वैज्ञानिक आधारहरूलाई मान्न तयार हुँदैनौँ ।

हाल कवि ढुङ्गेल सपरिवार झापाको बुद्धशान्तिमा बस्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “म स्वर्गबाट फेरि अर्को स्वर्गमा आइपुगेको छु । म जुन ठाउँमा उम्रिएँ त्यही ठाउँमा म रुख भएर आएको छु । त्यसो हुँदा यो ठाउँलाई पनि म पक्कै केही छाया त दिन सक्छु होला ।” उहाँलाई सबैभन्दा धेरै मन पर्ने कुरा भनेको पढ्ने र पढाउने हो । जुन कार्य झापा गएर पनि रोकिएको छैन । अझ उहाँले काम गर्ने विद्यालय र कलेजमा साहित्यिक र साङ्गीतिक माहोल भएका कारण पनि रमाइलो भइरहेको छ झापा बसाइ । काठमाण्डौमा हुने साथी सङ्गत त झापामा नहुन सक्छ तर पनि एउटा बेग्लै किसिमको मज्जा महसूस भइरहेको छ उहाँलाई । काठमाण्डौ छोड्दै गर्दा केही कुराहरू छुटेका पनि छन् । त्यसो हुँदा त्यसको परिपूर्तिका लागि भए पनि अझै धेरै मेहनत गर्नु पर्ने पो हो कि, अझै धेरै अध्ययन गर्नु पर्ने पो हो कि, अझै धेरै सुन्नु पर्ने पो हो कि, अझै बढी संवाद गर्नु पर्ने पो हो कि भन्ने उहाँलाई बोध हुँदै गएको छ । त्यसो गर्न सकेको खण्डमा काठमाण्डौको रिक्ततालाई पूरा गर्न सकिएला कि भन्ने उहाँको विश्वास छ ।

फेरि पनि राजधानी बस्नु र जिल्लामा हुनुमा केही न केही त पक्कै फरक पर्छ होला नि ? भन्ने सवालमा कवि ढुङ्गेल भन्नुहुन्छ, “लेखनको भन्दा पनि अलिअलि सङ्गतको कुरो आउँछ । काठमाण्डौमा जस-जसलाई भेट्न सकिन्थ्यो यहाँ त्यो सम्भव हुन्न । तर ती साथी सङ्गत नहुँदा पनि मभित्रको दियो निभ्नु भएन । मलाई प्रकाश देखाउने भनेको मेरो साथीको हातको दियोले होइन, मैभित्रको दियोले हो । त्यो दियो नहुँदा अथवा अरूको दियोमा भर परियो भने अप्ठेरो पर्न सक्छ । त्यसैले म आफ्नै दियोको उज्यालोमा हिँड्ने कोसिस गरिरहेको मान्छे हुँ । भलै मेरो दियोको उज्यालो अलिक मधुरो होला । मेरा साथीहरू र अग्रजहरूको दियो चहकिलो हुन सक्छ । त्यो चहकिलो दियोसँग मेरो दियोले सङ्गत गर्न पाउँदा अलिक बेसी प्रकाश मिल्थ्यो होला । मलाई हिँड्न सजिलो हुन्थ्यो होला । ती सब कुरा आफ्नो ठाउँमा छ । तर यहाँ म आफ्नै अधुरो मधुरो प्रकाशमा हिँडिरहेको छु । त्यसो हुँदा कहीँकतै मलाई ठेस लाग्ने सम्भावना पनि रहन्छ । तर अब मलाई ती ठेसहरूसँग पनि केही गुनासो हुने छैन । यसको मतलब म जहाँ छु, जस्तो अवस्थामा छु, जे गरिरहेको छु म त्यसैमा खुसी छु । म जहाँ बसे पनि मैले आफ्नो यात्रा रोक्न मिल्दैन र म हिँडिरहेको पनि छु । भलै काठमाण्डौमा भएजस्तो छिटो नहिँडिरहेको हुन सक्छु । तर म मेरो यात्रामा मेरै गतिमा हिँडिरहेको छु र यात्रा यसरी नै अघि बढिरहेको छ । अर्को महत्त्वपूर्ण कुरा काठमाण्डौजस्तो झापा हुन सक्दैन र झापाजस्तो काठमाण्डौ पनि हुन सक्दैन । आ-आफ्नो ठाउँको आ-आफ्नो विशेषता हुन्छ । त्यही विशेषतमा आफूलाई ढालेर त्यही विशेषताको, त्यहीँको रङ्गले रङ्गिएर सिर्जना गर्नेछु र अहिले म यही शहर झापामा छु ।” साहित्य लेखनका अवलवा लामो समयदेखि शिक्षण पेशामासमेत आवद्ध रहनुभएका कवि ढुङ्गेल हाल जयपुर इङ्लिस बोर्डिङ स्कुल, वाल्मीकि लिंकन कलेज, घर दलान साहित्य, अर्बाजो आर्ट्सलगायत संघसंस्थामा आवद्ध रहेर काम गर्दै आउनु भएको छ ।

विगत अढाई दशकदेखि कविता, गीत र गजल लेखनमा सक्रिय रहँदै आउनुभएका ढुङ्गेल नेपाली गीतसङ्गीत क्षेत्रमा हुने केही कुराबाट असन्तुष्ट पनि हुनुहुन्छ । एउटै सिर्जनाबाट कोही रातारात हिट हुने, चर्चाको शिखरमा रहने र आर्थिक उपलब्धि पनि हासिल गर्ने । तर त्यसको मूल सर्जक भने सधैँ पर्दा पछाडि नै रहने, चाहे त्यो आर्थिक होस् या चर्चाको हिसाबले । यो परिपाटी उहाँलाई पनि खासै मन पर्दैन । तर यो परिपाटी उहाँले मात्रै होइन नेपाली गीत सङ्गीतका प्रायः सबै सर्जकहरूले भोग्दै आएको व्यथा हो । एउटा गीत तयार हुन गीतकार, सङ्गीतकार र गायक/गायिका यी तीनै पक्षको भूमिका उत्तिकै भए पनि प्रस्तुतिका हिसाबले गायक/गायिका अगाडि आउने भएकोले गायक/गायिकाको चर्चा अलिक धेरै हुनु स्वभाविक पनि हो । तर गायक/गायिकाले कुनै पनि गीतबाट कहीँकतै कुनै पनि किसिमको लाभ लिइरहँदा त्यसको केही प्रतिशत अंशियारहरू त्यस गीतका गीतकार र सङ्गीतकार पनि हुन भन्ने कुरा सोचिदिनु पर्ने गीतकार ढुङ्गेलको भनाइ छ । कतिपय गायक गायिकाबाट “तपाईंको नाम लिएकै छु, त्यहाँभन्दा धेरै तपाईंलाई के चाहियो ?” भन्ने खालका अभिव्यक्तिहरू पनि सुन्ने गरेको उहाँ बताउनु हुन्छ । यो कृतघ्नताको पराकाष्ठा हो । अझ कतिपय गायक गायिकाले त “मैले नगाइदिएको भए तपाईंको गीत डायरीमै थन्किएर बस्थ्यो” भनेर भन्ने गरेको पनि सङ्गीत बजारमा सुनिने गरेको गीतकार ढुङ्गेलको अनुभव छ ।

एउटा गीत बजारमा आइपुग्दा त्यहाँ थुप्रै व्यक्ति र पक्षको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहन्छ । ती हरेक पक्षले उचित पारिश्रमिक पाएकै हुन्छन् । तर त्यसको मूल सर्जक गीतकारलाई भने कम पैसा दिने परिपाटी पनि गीतकार ढुङ्गेललाई मन पर्दैन । यसले पनि नेपाली सङ्गीतमा साहित्य भन्ने कुरा लोप हुँदै गएको र गुणात्मक गीतहरूको सङ्ख्या कम हुँदै गएको उहाँको बुझाइ छ । किन भने हामीले गुणात्मक लेख्ने सर्जकहरूलाई हतोत्साहित पार्दै लग्यौँ । सुन्दा कस्तो-कस्तो पनि लाग्न सक्ला । कतिले यसलाई विवादको रूपमा पनि लिन सक्नु होला तर यो हामीले भोगिरहेको यथार्थ हो । हुन त गीतकार ढुङ्गेल यस किसिमका गुनासाहरु खासै गर्नुहुन्न र उहाँको त्यस्तो स्वभाव पनि छैन । तर यो नेपाली गीतसङ्गीत क्षेत्रको एउटा तीतो सत्य चाहिँ हो । यसो हुनुमा धेरै कुराहरूले काम गरेको छ । ढुङ्गेल भन्नुहुन्छ, “राम्रो नीति नभएको देश हो यो । नीति भए पनि कार्यान्वयन पक्ष हाम्रो कमजोर छ । अनि जहाँ नीति हुँदैन, त्यहाँ इज्जत हुँदैन । जहाँ इज्जत हुँदैन, त्यहाँ सिर्जना हुँदैन । जहाँ सिर्जना हुँदैन, त्यहाँ सफलता हुँदैन । जहाँ सफलता हुँदैन, त्यहा आनन्द पनि हुँदैन । अनि जहाँ आनन्द हुँदैन, त्यहाँ अराजकता मौलाउन थाल्छ ।” यस्तो अवस्थामा एउटा राम्रो सर्जक र उसको राम्रो सिर्जनाले स्थान पाउने सम्भावना पनि कम हुन्छ र बजारमा कमसल सामानले राज गर्न थाल्छन् र आम पाठक त्यसैमा रमाउन थाल्छन् पनि । पछिल्लो समय तुकबन्दी र उखान टुक्काको अधिक प्रयोग गरेर सिर्जना गरिएका गीतहरू बजारमा भाइरल हुनुका धेरै कारणमध्ये एउटा यो पनि हो कि हामीले सिर्जनाको स्तर मापन गर्न सकिरहेका छैनौ र त्यसो गर्ने फुर्सद कसैलाई छ होलाजस्तो पनि लाग्दैन ।

उखान टुक्का भनेको साहित्य होइन । यो त एक छिन सुनिन्जेलका लागि रमाइलो हुने मात्रै हो । गीतमा साहित्य हुन्छ र यो जरुरी पनि छ । गीतमा एउटा लालित्य र लय हुन्छ । माधुर्य हुन्छ जसले दिमागलाई आल्हादित गराउँछ । प्रेरित गराउने अथवा भनौ मुड चेन्ज गराउन सक्ने ताकत गीतसँग हुन्छ । त्यसलाई साहित्य भनिन्छ । जुन अहिलेको गीतसङ्गीतमा पाउन मुस्किल हुँदै गएको छ । त्यसकारण गीतमा साहित्य चाहिन्छ र त्यसका लागि साहित्यलाई सम्मान गर्नु पर्छ । त्यो साहित्य लेख्ने कलमलाई सम्मान गर्नु पर्छ । कलम समाउने हातहरूलाई सम्मान गर्नु पर्छ । त्यो हातलाई निर्देशित गर्ने मन र मस्तिष्कलाई पनि सम्मान गर्नुपर्छ । जसरी प्रस्तोताले आफ्नो जीवनलाई सम्मान गर्छन् त्यसरी नै सर्जकको जीवनलाई पनि सम्मान गर्नुपर्छ भन्ने गीतकार ढुङ्गेलको माग छ ।

सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज तथा यूट्युब च्यानल “ए एस ईन्टरटेन्मेन्ट” मार्फत हरेक शनिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदै आएको कार्यक्रम ” स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।