सफलता र लोकप्रियता राजेश्वर देवकोटाको एकदिनको कमाइ अवश्य होइन । त्यो त उहाँको ८६ वर्षे जीवनकालभरिको विविध साधनाको प्रतिफल हो । राजेश्वर देवकोटा आज हामीमाझ हुनुहुन्न र त्यो समय पनि छैन । तर अत्यन्तै प्रितिकर अनि रुचिकर छन् उहाँका रङ्गीविरङ्गी सम्झनाहरू । त्यही सम्झनारूपी डोरीको पोयो समाउँदै राजेश्वरको जीवनको जोड घटाउको हिसाबमा म बारम्बार घोत्लिइरहेछु । यसैक्रममा हृदयमा उठेका अनगिन्ती उहाँसम्बन्धी विषयवस्तुहरू नदीको छाल बनेर घरी वल्लो किनारा त घरी पल्लो किनारा गरिरहेछन् मेरो दिमागमा । यसै क्रममा फराकिलो भूगोल नाघेर मेरो वर्तमानले विगतसँग भेट गर्न पुग्छ । राजेश्वरसँगका अतीत अञ्जुलीमा थापेर पिउँदै छु र त्यसकै नशामा डुब्न गइरहेछु म ।
यो संसारको रङ्गमञ्चमा आफ्नो भागमा परेको जति अभिनय सकेर राजेश्वर विदा हुनुभयो । ती अभिनयहरू मध्येमा राजनीति र साहित्य सर्वाधिक महत्त्वपूर्ण र चर्चित रहन पुगे । कारण ती सजीव, उत्कृष्ट, अब्बल र अनुकरणयोग्य थिए । उहाँका ती दुवै अभिनयहरूसमेतलाई एकै ठाउँमा घोलेर प्रस्तुत गर्ने जमर्को गरिएको छ यो लेखमा । यथार्थमा राजनीतिले उहाँलाई मान, मर्यादा, पद र प्रतिष्ठायुक्त परिचय दियो भने साहित्यले त्योभन्दा माथि अनन्तकालसम्म अमर बनायो । अपराजित बनायो । भन्न सकिन्छ- उहाँको पूर्वार्ध राजनीतिले उजिल्यायो उत्तरार्ध साहित्यले ।
नेपालको गौरवपूर्ण इतिहासको दोसल्ला ओढेर गोरखा जिल्लाको पश्चिम भागमा ‘लिगलिग’ गाउँ बडो स्वाभिमानका साथ मुस्कुराइरहेको छ । वृहद् नेपालको प्रारम्भविन्दु त्यो ‘लिगलिग’ जो क्रमशः विजित हुँदै गएपछि हाम्रो प्यारो नेपाल निर्माण भएको हो । त्यही रमणीय र जागरुक थलोमा स्व. राजेश्वर देवकोटा बाबु पण्डित स्व. हरिभक्त देवकोटा र आमा स्व. बसुन्धरा देवकोटाको कोखबाट वि.सं. १९८६ असोज २३ गते मङ्गलबार जन्मनुभएको थियो ।
राजेश्वरका पिताजी हरिभक्त देवकोटा पण्डित, शिक्षक हुनुहुन्थ्यो । विद्वत् पारिवारिक पृष्ठभूमि थियो उहाँहरूको । त्यसैले भन्न सकिन्छ, राजेश्वर देवकोटा टुप्पोबाट पलाएको व्यक्ति नभई भुइँबाट नै उम्रदै र फुल्दै आएको एउटा सभ्य, सुसंस्कृत अनि सुगन्धित पारिवारको सदस्य हुनुहुन्थ्यो ।
हो, ‘जगको ढुङ्गा देखिँदैन’। नेपालको राजनैतिक इतिहास बुझिल्याउँदा वि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलन २००४ मा भएको जयतु संस्कृतम् आन्दोलनको जगमा सफल भएको यथार्थ कहिल्यै भुल्न हुँदैन । २००४ असार १ गतेदेखि रानीपोखरी पाठशालाका छात्रहरूले विद्यार्थीगत हक अधिकारको लागि आरम्भ गरेको जयतु संस्कृतम् आन्दोलनको प्रमुख अगुवाहरूमध्येमा राजेश्वर एक हुनुहुन्थ्यो । राजनितिमा यसरी प्रारम्भ भएको उहाँको सक्रियता र सहभागिता क्रमशः फैलँदै गयो । वि.सं. २००७ को प्रजातन्त्र प्राप्तिको प्रसङ्गमा त उहाँ गोरखा र लमजुङ्को कमाण्डर हुनुहुन्थ्यो । यसरी देवकोटाको सानै उमेरदेखि राजनीतिमा नेतृत्व गर्ने क्षमताको विकास भइसकेको पाउँछौ हामी ।
जयतु संस्कृतम् आन्दोलनको अगुवा राजेश्वर देश निकाला भई भारत प्रवासमा रहनुभयो । काँडाको बिछ्यौनामा मात्र सुत्नु भएन, २००७ को प्रजातन्त्र प्राप्तिको आन्दोलनमा जीवनको बाजी थापेर क्रान्तिमा होमिनुभयो । क्रान्ति सफल भएको छोटो समयमा नै अर्थात वि. सं. २००९ जेठमा नेपाली काङ्ग्रेस पार्टी परित्याग गर्नुभयो । त्यसो हुनुमा काङ्ग्रेस अत्यन्तै भारत परस्त भएको आरोप लगाउनुभयो । पञ्चायतकालमा ३ पटक राष्ट्रिय पञ्चायतको अध्यक्ष, भूमिसुधार मन्त्री अनि बहुदल प्राप्तपछि पनि उहाँ संसद् सदस्य भई देशको सेवा गर्नुभयो । पूर्व पञ्चहरूले खोलेको विभिन्न पार्टीमा संलग्न हुँदै अन्त्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राष्ट्रवादी) को अगुवाई गर्नुभयो ।
राजेश्वर देवकोटा पदीय हिसाबले सर्वोच्च शक्तिमा पुग्न सक्नुभयो वा सक्नुभएन त्यो बेग्लै पक्ष छ अपितु उहाँ सधैँ चर्चामा रहिरहनुभयो । उहाँको जीवनको उत्तरार्धमा आइपुग्दा राजेश्वरको पार्टी क्षयरोग लागेको रोगीझैँ दुब्लाउँदै गयो तर पनि विभिन्न कारणहरूले गर्दा उहाँको नाम नेपाली राजनीतिको केन्द्र भागमा नै रह्यो । वरिष्ठ राजनीतिज्ञको सम्मानित सम्बोधमा सजिइरहनु भयो ।
राजेश्वर निर्लोभी हुनुहुन्थ्यो । बेलाइनबाट स्वार्थको थाल कहिल्यै थाप्नु भएन । नैतिक मूल्य, मान्यता र निष्ठाको राजनीति उहाँको विशेषता थियो । भ्रष्टाचारले जरो गाडेको राजनीतिमा पनि जीवनभर निष्कलङ्क र दागरहित हुनुभयो । अर्थात् सच्चरित्र र इमानदारीको घडा कुबाटोमा कहिल्यै पोख्नुभएन । चित्त नबुझेका कुराहरूमा सम्झौता नगर्ने सद्गुण थियो । निर्भीक, निडर र स्पष्टवादी चरित्रका राजेश्वर प्रतिकूल अवस्थामा पनि पानी मरेको घट्टझैँ मौन बस्नु भएन । विद्रोही भावना दबाएर शालिकजस्तो चुप रहनु भएन । ‘आज अदालतमा गोरू ब्यायो’ जस्ता व्याङ्ग्यात्मक अभिव्यक्तिहरू संप्रेषण गरिरहनु भयो।
राजा महेन्द्रले देवकोटाको ज्ञान, विद्वत्ता र स्वाभिमानी चिन्तनको कदर गरेको पाउँछौँ हामी। उनी जीवित हुँदासम्म दरबारसँगको सम्बन्ध राजेश्वरको राम्रो देखियो। विभिन्न राजनैतिक पदहरूमा रही देशको सेवा गर्न पाउनु भयो राजेश्वरले ।
महेन्द्रको मृत्युपछि जब वीरेन्द्रको शासन सुरू भयो तब दरबारसँगको राजेश्वरको सम्बन्ध क्रमश: बिग्रदै गयो । आफ्नो आत्म कथामा देवकोटा लेख्नु हुन्छ- राजाका आफन्त र कर्मचारीहरू बढी शक्तिशाली र उच्छृङ्खल भए । राजा वीरेन्द्रको कार्यकालमा मेरो कुरा सुन्न छाडियो। मैले राजाकै हितमा बोलिरहेको विषयलाई विरोध गरेको मान्न थालियो।
सम्बन्धमा यस्तो दरार आयो कि राष्ट्रिय पञ्चायतको अध्यक्ष पदबाट समेत राजिनामा दिनु भयो । त्यसपछि सम्पूर्ण श्रोत र शक्ति आफैँमा थुपार्न चाहने दरबारीया शक्तिकेन्द्रको मुठ्ठी फुस्काउन चाहनुहुन्थ्यो राजेश्वर । दरबारको जुठेल्नामा रमाउने भूमिगत गिरोहलाई ठाडो चुनौती दिनुहुन्थ्यो। जिहजुरी गर्ने प्रवृत्ति र बिन्ती बिसाउने परम्पराको सख्त विरोधी हुनुहुन्थ्यो। शक्तिकेन्द्रसँग सिँगौरी खेल्न सक्ने साहस, हिम्मत थियो उहाँमा । यसरी सँधै गलत परम्पराको विद्रोही झिल्को भएर रहनुभयो। त्यसैले तत् अवस्थादेखि राजेश्वर देवकोटा अघोषित प्रतिपक्षी राजनीतिज्ञको रूपमा देखिनुभयो पञ्चायतभरि । दरबारले राजेश्वरबाट मनग्य बुद्धि र ज्ञान त लियो तर आफू अनुकुल खेलाउन नसक्ने भएपछि अवसरबाट बिमुख गराइरह्यो । शक्तिको हालीमुहालीमा रहेको दरबारको कोपभाजनमा सधैँ पर्नुभयो । क्षमता र ज्ञान देख्दादेख्दै पनि देशको प्रधानमन्त्री उहाँलाई नदिने महायज्ञमा दरबार निरन्तर लागिरह्यो । राजेश्वरको स्वाभिमान, अटल विश्वास, निष्ठाको राजनीति अनि शक्तिकेन्द्रको स्वार्थमा नरहने चिन्तन तत्कालीन समयको ठूलो शत्रु भएर निस्कियो ।
राजेश्वर युद्धमा होमिएको बन्दुकजस्तो निष्ठुरी हुनुहुन्नथ्यो । उहाँमा गुनासो, आक्रोश र बदलाको भावना नै थिएन । आफ्नै घाँटीमा सधैँ सुर्कने कस्न लालायित दरबारलाई मृत्युपर्यन्त काँधमा थापिरहनु भयो । त्यसैले त भन्न सकिन्छ, खुकुरी उज्याउनेहरूप्रति पनि आभारी छु भन्ने हार्दिकतायुक्त चिन्तन थियो उहाँमा ।
राजेश्वर देवकोटा देशभक्त चिन्तक, राष्ट्रवादी दार्शनिक हुनुहुन्थ्यो । उहाँले जीवनभर माटोको चुम्बन गरिरहनु भयो । देशभक्तिको शङ्ख फुकिरहनु भयो । उहाँको छातीमा हरदम देश दुख्यो । मनको बाँसुरीले राष्ट्रगान बजाइरहन्थ्यो । राजेश्वरको अङ्ग अङ्गबाट राष्ट्रियताको सुगन्ध प्रवाहित हुन्थ्यो ।
उहाँको हृदयमा देशप्रेमको सङ्कीर्तन चलिरहन्थ्यो । स्वमाटोसँग कलामी भई गाँसिनु भयो । आफ्नो कर्मको दियो देशप्रेमको तेलमा सधैँ बालिरहनु भयो । देशलाई नै सिरानी हालेर सुत्नुभयो । त्यसैले निसङ्कोच भन्न सकिन्छ– देशप्रेम, राष्ट्रियता, देशभक्ति, राष्ट्रवाद, स्वाधिनताजस्ता विविध शब्दहरू नेपालीहरूको नजरमा राजेश्वरको तस्बिर बन्यो । ती शब्दहरूको पर्यायको रूपमा राजेश्वर देखिनु भयो। उल्लेखित शब्दहरूले सम्प्रेषण गर्ने भावना, धारणा कमजोर हुँदै गएको वर्तमान अवस्थामा त झन् राजेश्वर देवकोटाको सम्झना टड्कारो र सान्दर्भिक हुन पुगेको छ ।
देशभक्तिकै सन्दर्भमा म एउटा कथन जोड्न गैरहेछु यहाँ । हाल म बसिरहेको देश अमेरिकाको भ्रमणमा आएका नेपालका पूर्व प्रधानसेनापति ‘रुक्माङ्गत कटुवाल साथीभाइसँग गफिने क्रममा भन्दै थिए’ भनी नेपाल खबर डक कम अनलाइन पत्रिकामा एउटा लेख छापियो । “राजेश्वर महेन्द्रका हरेक कदमहरूको समीक्षा गर्थे । आलोचना पनि गर्न सक्थे । राजेश्वरको आलोचनात्मक चेतबाट प्रभावित भई दियालो वङ्लामा जाने क्रममा महेन्द्रले वीरेन्द्रलगायतका परिवारलाई भनेका थिए– “जब देशमा ठूलो आपत् विपत् आउँछ तब राजेश्वरसँग सल्लाह लिनू” । यो प्रसङ्ग सत्य हो वा होइन कटुवाल नै जानून् तर यो चाहिँ ध्रुव सत्य हो कि– राजेश्वरको आँखामा देशको नक्सा टल्कन्थ्यो । माटो दुख्दा उहाँको मुटुमा घाउ लाग्थ्यो । जन्मेको माटो नै आफ्नो चिनारी ठान्नुहुन्थ्यो । मृत्युपर्यन्त राष्ट्रवादको झण्डा सगौरव उचालिरहनु भयो। समग्रमा भन्न सकिन्छ, “आमाको मृत्युमा जन्मोत्सव” मनाउने देशद्रोही दुष्प्रवृत्तिको घोर विरोधी हुनुहुन्थ्यो राजेश्वर ।
नदी, नाला, सन्धी, सम्झौताको प्रसङ्गमा गफ हुँदा उहाँ भन्नुहुन्थ्यो– गल्ली–गल्लीमा मन्दिरै मन्दिर भएर के गर्नु ? पाइलै पाइलामा देश बेचुवा पापीहरू भएपछि भनेर चिन्तित हुनुहुन्थ्यो ।
राजेश्वरको भाषण मास ओरियन्टेड हुँदैनथ्यो। अर्थात् सर्वसाधारणले बुझ्ने लोकप्रिय सुमधुर गीतजस्तो नभै अमुर्त चित्रजस्तो, शाङ्केतिक कविताजस्तो हुन्थ्यो। प्राय: शिक्षित समुदायले मात्र त्यसको परख गर्न सक्ने किसिमको हुन्थ्यो।
मेरो वालापनदेखिको सम्झनामा उनिएर बसेको अत्यन्त मर्यादित व्यक्तित्वमा पर्नुहुन्छ राजेश्वर । आफ्नो चेतनाले भेटेको पहिलो नेता । २०१९/२० सालतिरको घटना हुनुपर्छ । गृह जिल्ला भ्रमणको सिलसिलामा गोरखामा राजेश्वर जाँदा स्वागतार्थ लामबद्ध भई बाल्यावस्थामा प्रतिक्षारत रहेको दृश्य म झलझली सम्झिरहेकोछु अहिले।
मेरो पिताजीसँग राजेश्वरको बडो हार्दिकतापूर्ण उठबस थियो । वि.सं. २०४५ सालको कुरा हो– पिताजीको देहावसानमा काठमाडौँदेखि हाम्रो निवास गोरखा आई हामीलाई समवेदना दिनु भएको घटना प्रस्तरमा कुँदिएको अक्षरझैँ गाढा छ हाम्रो हृदयमा । राजेश्वरभन्दा म धेरै कनिष्ठ र तल थिएँ अपितु उहाँसँग बाक्लै सम्पर्कमा रहने अवसर जुर्यो मलाई । उहाँलाई नजिकबाट चिन्ने, बुझ्ने र अनुभव गर्ने मौका मिल्यो ।
राजेश्वरको राजनीतिसँग सहमत वा असहमत त्यो बेग्लै कुरा हो तर विभिन्न तह र तप्काका मानिसहरू राजेश्वरको महाराजगञ्ज निवास पुग्थे । त्यो निवास थकाइ बिसाउने डाँडाको शीतल चौतारी थियो । ज्ञानगुन प्राप्त गर्ने एउटा पाठशाला जस्तो मात्र थिएन सादा जीवन उच्च विचार सम्प्रेषण गर्ने एउटा मर्यादित सङ्ग्रहालयजस्तो लाग्थ्यो । आज राजेश्वर नभएको त्यो घर डाँडाभाटा र छानो मात्र जस्तो, महविहीन मौरीको फोस्रो घारजस्तो भयो होला भन्ने लाग्छ मलाई ।
राजेश्वरसँगको जैविक रसायन मिलेको हुनाले नै होला सायद बारम्बार उहाँको सान्निध्यमा रमाउन चाहन्थेँ म ।उहाँको छायाँको प्राज्ञिक शीतलतामा सुस्ताउन मन जान्थ्यो । हामी कुनै नाता, सम्बन्ध र साइनोमा थिएनौँ । वास्तवमा एउटा विद्वान् र ज्ञानी महापुरुषसँगको आउजाउ, उठबस र लगाव नाता, साइनोको साँघुरो घेराभित्र मात्र सीमित हुँदोरहेनछ । विद्वत्ताको उचाइँ साइनोभित्रको यो र ऊभन्दा पनि अधिक हुन जाँदोरहेछ । मलाई स्पष्ट भन्न मन लाग्छ– विद्वत्ताको सामर्थ्यमा मेरो हृदयमा कोरिएको एउटा सकारात्मक विम्ब हुनुहुन्थ्यो राजेश्वर ।
राजनीति र साहित्यलाई समानान्तर रूपमा ग्रहण गर्ने व्यक्तिहरू हाम्रो समाजमा अत्यन्त न्यून छन् । न्यूनभित्रको चर्चित र लोकप्रिय व्यक्तिको रूपमा राजेश्वर देवकोटालाई लिन सकिन्छ। नेपाली साहित्य लेखनमा राजेश्वरले एउटा बेग्लै विशेषता र छुट्टै पहिचान कायम राख्न सफल हुनुभयो । उहाँको लेखनीमा चुम्बकीय आकर्षण पाउँछौँ । प्रयुक्त शब्द र निर्माण गरिएको वाक्यले पाठकको दिल झङ्कृत, कम्पित बनाउने क्षमता राख्दछन् ।आफ्नो लेखको मर्म मर्न नदिन मिलेसम्म आफैँले प्रुफ हेर्न रूचाउनुहुन्थ्यो। ‘ज्ञानबिन्दु’ पत्रिकामा वहाँका लेखहरू प्रकाशित गर्दाका मेरा अनुभव हुन् यी।
राजेश्वर देवकोटा शब्द र वचन कम मात्रामा प्रयोग हुनसक्यो भने आधा समस्या स्वतः समाप्त भई जान्छन् भन्ने मान्यता राख्नु हुन्थ्यो । संक्षिप्त लेखनीमा पनि व्यापक परिस्थिति बोध गराउन सक्ने एउटा कुशल शिल्पी हुनुहुन्थ्यो । हामीले प्रयोग गर्दा मृत सरह हुने शब्द उहाँले प्रयोग गर्दा उमङ्ग सृजना गर्न सक्षम हुन्थे । प्रत्येक शब्दहरूले व्यापक परिभाषा र अर्थ बोकेका पाउँछौँ हामी । उहाँका सिर्जनाहरू गहकिला, स्तरीय हुन्छन् र तिनले गम्भीर विश्लेषण र अध्ययनको माग गर्दछन् । भाषिक सामर्थ्य उच्च पाउँछौँ । व्यापक कल्पनाशीलता उहाँको लेखनीको अर्को विशेषता हो। संस्कृतनिष्ठ भाषिक प्रस्तुतिले मिठास सृजना गरेको हुन्छ । लेखाइ घनत्वपूर्ण, लाक्षणिक र शाङ्केतिक किसिमका हुन्छन् । विम्ब, प्रतीक, उपमा र उपमेयको कलात्मकताका साथ प्रयोग भएका छन् । समग्रमा भन्न सकिन्छ- निर्जीव शब्दहरूमा प्राण भर्ने कलाका पारखी हुनुहुन्थ्यो । शब्दहरूलाई साहित्यिक आरनमा राखेर उजिल्याउने खुवी थियो उहाँमा।
देवकोटाका हालसम्म प्रकाशित कृतिहरू २६ वटा छन् । नेपाली साहित्यको ७ विधामा गरी २१ र राजनीतिसम्बन्धी पुस्तक ५ हुन् । उपन्यास–८, कवितासङ्ग्रह–४, संस्मरण–३, निबन्धसङ्ग्रह–२, कथासङ्ग्रह–१, बालसाहित्य–१, नेपाली व्याकरण–२ गरी ७ विधामा जम्मा साहित्यिक कृति २१ हुन्।
नेपाली साहित्यका सात विधाहरूमा कलम चलाए तापनि राजेश्वरलाई मूलतः आख्यानकारको रूपमा हेरिन्छ । विशेषतः उहाँका आख्यानहरू दार्शनिक चिन्तनले भरिएका हुन्छन् । त्यसमा गहिरो लगाव र साधना पाउँछौँ । उपन्यासहरू मार्फत विद्वत्ता र दार्शनिक पक्षलाई उजागर गर्न सफल हुनुहुन्छ देवकोटा । आख्यान विधामा नै उहाँ सर्वाधिक चर्चित र प्रख्यात हुनुहुन्छ । वास्तवमा अमिट चिनारीको मौलो गाड्नुभयो उपन्यासमा राजेश्वरले । त्यसैले होला सायद उहाँको उत्सर्ग प्रेम नामक आख्यान कृतिले नेपालको लोकप्रिय मदन पुरस्कार–२०४४ प्राप्त गर्न पुग्यो । त्यसो त २०४३ सालमा नै पूर्व कथा कृतिले पनि साझा पुरस्कार प्राप्त गरिसकेको थियो ।
राजेश्वरका बेजोड आख्यानका तुलनामा कविताहरू पुग्न नसके तापनि उहाँमा फराकिलो कवि चेत थियो। राजेश्वरमा एउटा गुलावको फूलमा शौन्दर्र्यको मात्र अनुभूति गर्ने नभै सुवासना र काँडाको समेत परख गर्न सक्ने खूबी थियो। त्यही कवि चेतले उरालेर नै त होला चार वटा कविता सङ्ग्रहहरू प्रकाशित हुन सकेका ।
देवकोटाले साहित्यमा लागेका नवप्रतिभाहरूलाई उत्साही पार्न बारम्बार भन्नुहुन्थ्यो, अनुभव बाँड्नु हुन्थ्यो– निष्ठार्पूक साधनामा लागिरहनुपर्छ है ! अभ्यास नगर्ने हो भने त विद्या पनि विष बन्छ । साथै बाँच्ने आयु मनग्य छैन, अतः अर्काको अनुभवबाट पाठ सिक्नुपर्छ ता कि अरू लडेको ठाउँमा आफू पछारिन नपरोस् । मुख्य कुरा म को हुँ ? र कहाँ छु ? भनेर ज्ञान हुनु जीवनको सबैभन्दा ठूलो उपलब्धि हो भन्ने गर्नुहुन्थ्यो ।
राजेश्वर ज्ञानी, महात्माजस्तो गम्भीर प्रकृतिको आदर्शवादी व्यक्ति हुनुहुन्थ्यो । स्वभावैले बोलीमा मितव्ययी, अल्पभाषी हुनुहुन्थ्यो तर अर्काको कुराहरू सुन्नसक्ने धीरता थियो । दौरासुरुवाल, कोट र टोपीमा सधैँ सजिएर चिटिक्क भै हिँड्ने राजेश्वरको मुखमण्डलमा विद्वत्ताको र दार्शनिकताको प्रभा झल्कन्थ्यो । अत्यन्तै कम अर्थात् विरलै हाँस्नुहुन्थ्यो तर हाँस्दा जूनले चाँदनी पोखेजस्तो लाग्थ्यो मलाई ।
राजेश्वरको शारीरिक कद होचो थियो । तर होचो कदउपर टिप्पणी गर्नेहरूप्रति उहाँको विराट व्यक्तित्व र ज्ञानराशिले उपहास गरेजस्तो लाग्थ्यो । उहाँको निष्ठा, त्याग, इमानदारी, देशभक्ति र राष्ट्रवादी कदसामु होचो शारीरिक कदले कहिल्यै अधिकार जमाउन सकेन ।
कुरीति, कुसंस्कारयुक्त सामाजिक स्थितिको बन्धन चुडाउन चाहनुहुन्थ्यो राजेश्वर । हलो क्रान्तिको अगुवा हुनुहुन्थ्यो । लिङ्ग र जातिको बीचमा हुने असमानताको खुलेर विरोध गर्नुहुन्थ्यो । छुवाछुतको घोर विरोधी हुनुका साथै नारीहरूउपर ठूलो सम्मान र सद्भाव थियो । श्रीमानको मृत्युसँगै श्रीमतीको जिन्दगी खरानी हुने गलत परम्पराको मात्र हैन नारीलाई उर्वर भूमि अनि पुरुषलाई भूपति ठान्ने हाम्रो कुसंस्कारको विरुद्धमा हुनुहुन्थ्यो ।
हाम्रो धार्मिक कर्मकाण्डी चालचलनहरूलाई समयसापेक्ष सुधार गर्नुपर्छ भन्ने मान्यता मात्र राख्नुभएन सोको थालनी आफैँबाट गर्नु भयो । सन्तानलाई आदेश दिनुभयो – ‘मेरो क्रियाकर्म ७ दिनमा सक्नु’। फलस्वरूप १३ दिनसम्म गरिने उहाँको मृत्यु संस्कार ७ दिनमा नै सम्पन्न हुन गयो ।
आफ्ना पिता पुर्खाप्रति अत्यन्तै गर्व थियो राजेश्वरमा । उहाँमा ज्ञान थियो कि – पितृ (ईश्वर) प्रतिको संस्मरणले सही मार्ग पहिल्याउन अनि आशा जगाउन भावनात्मक र मनोवैज्ञानिक हिसाबले सजिलो पर्छ । शान्ति, सन्तोष र आनन्द प्राप्ति हुन्छ । संरक्षकत्व मिलेको महसूस हुन्छ । पितृ टाढाको वस्तु हुँदै होइन । त्यो त आफ्नै रगतमा भएको अंश हो । आफैँ नै हो । त्यही ज्ञान अनुसार वि.सं. २०४६ सालमा आफ्ना पिताजी स्वर्गीय पं. हरिभक्त देवकोटाको स्मृतिमा ‘हरि सांस्कृतिक केन्द्र’ नामक सामाजिक संस्था गोरखामा स्थापना गर्नु भयो। त्यो संस्थाको आफ्नै स्वामित्वको जग्गामा पक्की भवन छ र त्यसले साहित्यिक सामाजिक गतिविधि सञ्चालन गर्दै गोरखा जिल्लाभित्रका सर्जकहरूलाई वार्षिक रूपमा पुरस्कृत गर्दै आइरहेको छ ।
यसरी राजेश्वर देवकोटाले नेपाली साहित्यको सृजनामा मात्र लाग्नुभएन अरूलाई समेत प्रेरित गर्नुभयो । वातावरण बनाउनुभयो । हौसला प्रदान गर्नुभयो । साथै समाजमा पितामाता र पुर्खाप्रति सन्तानले गर्नुपर्ने कर्तव्यको सकारात्मक सन्देश समेत प्रवाहित गर्नुभयो । फलस्वरूप जिल्लावासीहरूमा एउटा जागरण नै पैदा भयो । यस्तै प्रकृतिका सामाजिक संस्थाहरू खुल्न पुगे । यो पङ्तिकार समेत संलग्न भई ‘दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र’ नामक संस्था आफ्नो पिताजीको नाममा २०६२ सालमा काठमाडौँमा स्थापना भयो । सो स्मृतिकेन्द्रको स्थापना भेलाको प्रमुख अतिथि स्वयं राजेश्वर देवकोटा हुनुहुन्थ्यो ।
राजेश्वर देवकोटा एउटा चिन्तक, वरिष्ठ साहित्यकार र प्रज्ञावान मानिस हुनुहुन्थ्यो । जीवनको उत्तरार्धमा आइपुग्दा आफ्नो कर्मको प्रकाशले उहाँ सारा नेपालीको एउटा सर्वमान्य अभिभावक हुन पुग्नुभयो । राजेश्वरको राजनीतिक पदको उदय र अस्तसँग समाजको खासै सरोकार थिएन । थियो त केवल उहाँको प्रज्ञासँग, राष्ट्रवादी छविसँग, सच्चरित्रतासँग, निष्ठासँग अनि माटो भक्तिसँग र साहित्यसँग ।
मेरो परदेश बसाइँको कारण राजेश्वरसँग साक्षात्कार हुन नपाएको केही वर्ष भएथ्यो अपितु अमेरिकामा नै बस्ने उहाँका पुत्र र्इश्वर देवकोटालगायतका शुभचिन्तकहरूबाट जानकारी लिइरहन्थे म । राजेश्वरमा कुनै ठूलो दीर्घ रोग केही थिएन । लाग्थ्यो– उहाँको चिन्तन, आहार–विहार, निरामिष भोजन अनि सकारत्मक सोच र हल्का, फूर्तिलो शरीरका कारण समयले देवकोटाको घाँटीमा दीर्घायूको सुवासित माला पहिर्याइदिएको छ । त्यही आत्मविश्वास सारा नेपालीहरूको मनमा थियो । तर काललाई सह्य भएन । एकातिर आधुनिक विज्ञानको दबाइ निष्प्रभावी हुनपुग्यो, अर्कोतिर सारा नेपालीको कामनाको ओखतीले उहाँलाई छोएन ।सबैलाई छक्याएर वि. सं. २०७२ श्रावण २५ गते उहाँको भौतिक शरीर सदाका लागि अस्त भयो ।
राजेश्वरको अप्रत्याशित मृत्युको समाचार हुरीमा परेको डढेलोझैँ संसारभर फैलियो । उहाँको असामयिक मृत्यु पत्याउनु भनेको बादलबिनाको बर्षा बेहोर्नुसरह अकल्पनीय हुनपुग्यो । सारा नेपालीका गह भरिए, घाँटी शुष्क भए। हृदयमा नमीठो विरह धुन बज्न पुग्यो । उहाँको पार्थिव शरीर आर्यघाटको ब्रम्हनालमा सुताएको कल्पनामा डुबेँ म । अनि भावुकतामा निचोरिँदै आमा हराएको बालकजस्तो भक्कानिएँ । चिन्ताग्रस्त भै सोचेँ- एउटा इतिहासको अन्त्य मात्र भएन, देशले एउटा प्रखर राष्ट्रवादी चिन्तक गुमायो । प्रज्ञावान व्यक्तित्व मात्र हैन एउटा दार्शनिक सर्जक सदाको लागि अस्त भयो ।
राजेश्वर देवकोटा प्रकृतिसमान उदार, दानी र सहनशील हुनुहुन्थ्यो । प्रकृतिलेझैँ उहाँले पनि नेपाली समाजलाई दिएर मात्र जानुभयो । कतिको घाउ बनेको हृदयमा शीतल मलहम भएर बस्नुभयो । आफ्नो छायाँको शीतलतामा धेरैलाई सुस्ताउन दिनुभयो । सबैलाई फूलको आँखाले मात्र हेर्नुभयो । कसैको जिन्दगी जलेको न्यानो तापमा कहिल्यै रमाउनु भएन ।
राजेश्वरका प्रेरणादायी वचनहरू धेरैका मनमा चाङ् लागेर बसेका छन् । धर्म जेसुकै अपनाऊ तिमी, मान्छेको हिसाब किताब कर्मको आधारमा हुन्छ भन्ने धारणा राख्नुहुन्थ्यो । यसरी कर्मशील बन्नका लागि सबैलाई प्रेरित गर्नुहुन्थ्यो । बेचैनी भई रुमल्लिरहेको बेला उहाँ भेट्दा शान्ति मिल्थ्यो ।
राजेश्वर उखुसमान गुलियो वृक्ष हुनुहुन्थ्यो । चुस्नुस्, निचर्नुस् या भाँच्नुस् । जे गर्दा पनि सधैँ मीठो र गुलियो । असल, विद्वान्, अनि गुणी मान्छेसँगको सङ्गत उखुजस्तै हो भन्ने मान्यता राख्छु म ।
राजेश्वर देवकोटा यो लोकबाट हराएर गए पनि सारा नेपाली मन मस्तिष्कमा झलमल्ल उज्यालिने दियो बनेर बस्नुभएको छ । आफ्ना सुकर्म र अमूल्य सिर्जनाहरूको प्रभावले नेपालीका स्मृतिकोशभरि सुन्दर चित्र बनेर रहनुभएको छ । उहाँको राजनैतिक, सामाजिक यात्रा त्यसमाथि अक्षरको यात्रा अमरताको यात्रा हुनपुग्यो।
राजेश्वर देवकोटाले आफ्नो जीवनयात्रा विसर्जन गरेपछि वेदनाले आहत मेरो हृदयको निकास मात्र हैन यो लेख, अतीतमा उहाँसँग बिताएका अनुभव र अनुभूतिहरूका इतिहाससमेत हो । देवकोटाको विद्वत्ताको बेहद प्रशंसक हुँ। जीवनपर्यन्त राजेश्वर मेरो हृदयको केन्द्र भागमा रहिरहनु हुनेछ । एउटा गुणीप्रतिको सम्झनामा लेखिएको यो लेख अञ्जुलिमा राख्दै सम्मानपूर्वक राजेश्वरप्रति नै अर्पण गर्न चाहन्छु । श्रद्धा सुमन व्यक्त गर्दछु । अस्तु।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।