वि.सं. २०७८ साल भाद्र १३ गतेका दिन बेलुका करिब ६ बजेको समय हुँदो हो, मोबाइलमा लगातार म्यासेजको घण्टी बज्न थाल्यो । सुरुका २-४ घण्टी त मैले त्यति वास्ता गरिनँ जब लगातार रिङटोन बज्न थाल्यो । नहेरी सुखै भएन । मेसेजमा त बधाईको ओइरो पो रहेछ ।

सुरुमा त मैले कुरै बुझिनँ, के कारणले मैले बधाई पाइरहेको छु ? पछि त थुप्रै महानुभावहरूबाट फोन पनि आउन थाल्यो । फोन गर्नेमा वरिष्ठ पत्रकार श्री अश्विनीप्रसाद कोइराला, चि.सा.प.का अध्यक्ष श्री सुरेन्द्र अस्तफल, ई. श्री भरत पोखरेल आदि हुनुहुन्थ्यो । उहाँहरू सबैको एउटै कथन थियो, “ल तपाईँको माइला छोरा प्रकाशजी ‘युवा मोती पुरस्कार २०७८’ बाट सम्मानित हुनुहुनेभयो, तपाईँलाई बधाई छ ।”

म त छक्क परेँ । माइलाले जापानमा बसेर त्यस्तो के गरेछ र पुरस्कृत हुने भयो ? मलाई अलि धेरै नै चासो र खाँचो पर्‍यो, र कुरा सोध्न, बुझ्न र खोज्न थालेँ ।

मोती पुरस्कारको विषयमा मैले २०४३ सालतिर लोकसेवा आयोगको परीक्षाको तयारी गर्ने बेलामै सामान्य ज्ञानमा पढेको थिएँ, तर पनि धेरै वर्षअगाडिको कुरा भएकाले धेरैजसो बिर्सिसकेको थिएँ । कुरा बुझ्दै जाँदाखेरि नेपालको युवा तथा खेलकुद मन्त्रालयले सन् १९८७ साल देखि ४० वर्ष उमेर ननाघेका युवाहरूमध्येलाई उनीहरूको साहित्यप्रतिको योगदानलाई अध्ययन गरेर कदर गर्दै सम्मानस्वरूप वार्षिक रूपमा प्रदान गर्दैआएको सम्मानित पुरस्कार रहेछ । कुरो बुझ्दै गएपछि खुसी त लाग्यो, तर ऊ जापान बसेको छ,  नेपालमा बसेर मूल्याङ्कन गर्ने मूल्याङ्कन समिति वा कमिटी के हो, त्यसका पदाधिकारीज्यूहरूले कसरी मूल्याङ्कन गर्नुभयो होला ? भन्ने पनि लाग्यो । फेरि अर्को मनले सोचेँ, केही न केही गरेरै त पुरस्कृत भएको होला ।

यस्तै यस्तै केके सोच्दै थिएँ, त्यही क्रममा Facebook, Viber र Twiter बाट समेत धेरै बधाईहरू आउन थाले । विदेशबाट समेत फोन आइरहेको थियो । माहोल अलि नौलो बन्दै गयो । यो कुरा घरपरिवार कसैलाई पनि थाहा थिएन । मैले घर परिवारमा भन्नैपर्ने भयो । मेरो घरपरिवार यस्तो साहित्य क्षेत्रमा कुनै जानकारी भएको, चासोखाँचो राख्ने र ज्ञान भएको परिवार थिएन । पुरस्कृत भएको विषय राम्रो हो भन्ने कुरा त सबैलाई थाहा थियो, तर यो पुरस्कृत भएको विषयमा राम्ररी जानकारी गराउन मैले पनि बुझेको अवस्था थिएन ।

प्रकाश पौडेल ‘माइला’

म सरकारी जागिरे, जहिले घर छाडेर हिँड्नुपर्ने । कहिले कास्की त कहिले रुकुम, कहिले बारा त कहिले पर्सा । चितवन जिल्लाको दक्षिणी भेगको एउटा कुनामा पर्ने रातापुर गाविसअन्तर्गत चनौलीको पुछारमा धानखेतको बीचभागमा बनेको टायलले छाएको एउटा पुरानो घर थियो । ३ ओटा छोराहरूलाई बुढा भएका सासू र ससुराका काखमा छाडेर आमा मकै गोड्ने, धान रोप्ने, धान गोड्ने, मल बोक्ने तथा गोरस दिने गाईका लागि घाँस काट्ने । ५ कि.मि.को दूरीमा रहेको राप्तीपारिको जङ्गलबाट दाउरा बोकेर ल्याउने, मेलापात र छिमेकी थारू समुदायका कृषकहरूसँग अर्मपर्म लगाउने काममा व्यस्त रहनुपर्दथ्यो । यिनै साना लालावालाहरूलाई राम्ररी पढाउन सके र भोलिका दिनमा एसएलसी पास गराउन सकेको खण्डमा नेपाल सरकारको बहीदार, मुखिया, खरिदार र नासुहुँदै अधिकृत स्तरसम्मको जागिरे बनाउन पाए पैसा कमाउलान्, अलि सुगम ठाउँमा घडेरी किन्लान् र घर पनि अलि राम्रो बनाउन सक्लान् कि भन्ने आशा राखेर प्रकाश बाबुलाई पनि नजिकैको रातापुर प्राविमा पढ्न पठाइन्थ्यो । गर्मी ठाउँ, बिजुलीको सुविधा थिएन । हजुरबुबाले बेलुका सुत्ने बेलामा काखमा सुताएर हाते पङ्खाले हम्कँदै कखरा, बाह्रखरी र शान्ताकारं भुजगशयनं….. भन्ने स्तुती र सरस्वती स्तुती आदि घोकाउनुहुन्थ्यो । अङ्ग्रेजीको ABCD नजाने पनि हात समातेर कखरा लेख्न पनि सिकाउनुहुन्थ्यो ।

चितवनको एकान्त कुनामा रहेको घर, छिमेकमा थारू गाउँमात्र थियो । प्रकाशको बाल्यकालको लामो समय आफ्नै वृद्ध हजुरबुबा र हजुरआमाका काखमा बित्यो । सायद त्यसैले गर्दा होला पछिसम्म पनि उसको बढी नै पाका उमेरका मानिसहरूसँग उठबस र भलाकुसारी बढी हुने गर्दथ्यो । आधुनिक र रोमान्स गर्ने ठिटाहरूसँग त्यति सम्पर्क गर्न उसले चाहेन कि सकेन, त्यो त हामीले बुझेनौँ । हामीलाई आफ्नो कक्षागत पढाइ राम्रोसँग पढिदिए हुन्थ्यो भन्ने लाग्दथ्यो, तर उसले कक्षा ४ मा नै पढ्दाखेरि कविता कोर्न थाल्यो । जुन कुरा हामीलाई पटक्कै मन पर्दैनथ्यो । किनकि त्यतिबेला कुनै साहित्यकारकाे सङ्गत थिएन । कविता लेख्नेलाई उर्जा प्रदान गर्ने माहाेल त्यस परिवेशमा थिएन । सहित्य र यसकाे महत्त्वप्रति हामी परिचित थिएनाैँ । अहिले मलाई सम्झना आउँछ, उसले रचना गरेको पहिलो कविताको शीर्षक ‘बुद्धि बालक’ भन्ने थियो । “स्कुलबाट मास्टरले तलाईँ खुरुखुरु पढ् भनेर पठाएका हुन् कि कविता लेखेर बस् भनेर पठाएका हुन् ?”, भनी हामीले त्यो कविताको एक शब्दमात्र पनि नपढीकन च्यातेर फालिदियौँ ।

चुडामणि पौडेल

प्रकाश स्कुलबाट आउँथ्यो, आमाले भुटेर राखिदिएको मकै र मोहीको खाजा खान्थ्यो, र आफ्नो कामधन्दामा लाग्थ्यो । थारू गाउँको बिचमा पढाइमा ऊ राम्रो थियो । त्यसैले म, आमा, हजुरबुबा र हजुरआमाले उसले हामीले सोचेजस्तै गरी जागिर खान्छ, धेरै कमाउँछ, ठुलो मान्छे हुन्छ भन्ने ठान्थ्यौँ, तर ऊ भने स्कुलको गृहकार्य सकेर लुकी-लुकी भए पनि कविता लेखेर बस्ने गर्दथ्यो ।

महिना र वर्ष बित्दै गए, कक्षा चढ्दै गयो । रातापुर प्रावि, चितवनबाट कक्षा ५, भीमनगर मावि चितवनबाटै कक्षा ८ र पार्वतीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी पासपश्चात् आई.ए.को परीक्षा सकिँदा नसकिँदै मैले उसलाई “लौ बाबु, अब तैँले लोकसेवाको परीक्षा दिनुपर्छ” भनेर प्रस्ताव गरेँ । ऊ केही बोलेन । त्यसको २ दिनपछि फेरि मैले त्यही कुरा दोहोर्‍याएँ । फेरि पनि उसले कुनै उत्तर दिएन । ६ महिनामा खुल्ने लोकसेवाको फारम भर्ने म्याद गुज्रिन लागेपछि अलि बल गरेर जागिरको कुरा गर्दा उसले अत्यन्त शिष्ट भाषामा भन्यो, “नासु तहको जागिर त हजुरले नै खाइसक्नुभएको छ । म किन खरिदार हुने हो र बुबा ? म खरिदार बन्ने होइन, खरिदार बनाउने किताबै लेखिदिन्छु ।”, नभन्दै उसले खरिदारको गाइड लेखेर देखाइदियो । सो किताबका केहीप्रति अहिले पनि घरमा सुरक्षित रहेका छन् । म त आश्चर्यचकित भएँ । त्यसपछि खरिदार तथा नासुको जागिरका लागि उसलाई भन्ने मेरो हिम्मत नै आएन ।

समयको गतिसँगै वर्ष व्यतीत हुँदै गएपछि २०६१ सालमा उसले बि.ए.सम्मको अध्ययन पूरा गर्यो । यसैबिचमा उसले हाइकु विधाको कविता लेखिरहेको हुँदो रहेछ । त्यो हाइकु भन्ने शब्द त्यतिबेलासम्म हाम्रो परिवारका कसैले पनि सुनेका थिएनौँ । यसैबिचमा चितवन पोस्ट राष्ट्रिय दैनिक नामक पत्रिकामा अचानक उसको एउटा लेख छापिएको हामीले देख्यौँ । त्यसमा ‘आओ माइला हो, हाम्रो अस्तित्व लोप हुन थालिसक्यो, हामी एकजुट होऔँ …’ भनेर व्याकुल माइला, पं. नारायण पोखरेल, पत्रकार युवराज घिमिरे, प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला लगायतका माइलाहरूको लामो सूची नै तयार गरी लेख छापिएको रहेछ । हामी चाहिँ सकी नसकी छोरालाई बि.ए. पढाउने, ऊचाहिँ माइलाहरूको चिन्ता गर्दै हिँड्ने ? यसमा पनि हाम्रो कुरा मिलेन ।

यसरी पारिवारिक कुरा नमिलिसकेपछि अब उसलाई पढाएर काम लाग्दैन, यसले जागिर पनि खाँदैन भन्ने निधो भएकै अवसरमा फेरि उसले एम.ए. पढ्ने प्रस्ताव लिएर आयो । पढ्ने भन्ने कुरा त राम्रो हो । हामी जस्तो सामान्य परिवारको छोराले जागिर खानचाहिँ मन नगर्ने अनि दुनियाँभरको तनाव लिएर हाइकु लेख्ने र माइलाहरूको चिन्ता गर्दै हिँड्न थाले पछि केको एम.ए.पढ्ने हो र ? हामी सबैले हुँदैन भनिदियौँ । पढ्न पाउँदैनस् मात्र के भनेका थियौँ, उसले एकैचोटि भन्यो, “म हाइकुको गहिरो अध्ययन गर्न हाइकुकै उद्गमस्थल जापान जान्छु, र हाइकु नै पढ्छु । म यसैमा लाग्छु । मलाई जापान जान दिनोस् ।”

परेन त फसाद ? जागिरको मेसो मिलाभन्दा त्यसो भन्छ । किन एम.ए. पढ्न पऱ्यो ? भन्दा जापान जान्छु भन्छ । माइलाले कत्ति पनि कुरो बुझेजस्तो लागेन । छोरा हो,  कोसँग गुनासो गर्न जानु ? हाम्रो केही उपाय नलागेपछि अन्ततोगत्वा जापान गएरै छाड्यो माइलो ।

हामी परिवारको फेरि उही पुरानो सोच । जापानमा त धेरै कमाइ हुन्छ रे, लाख लाख तलब खान पाइन्छ रे, हामीले गाउँमा गाइँगुइँ कुरा सुनेका थियौँ । छोरो बिग्रन्छ कि भनेको त झन् धेरै कमाइ हुने देशमा गयो, अब धेरै पैसा पठाउने भयो भनेर हामी खुसी भयौँ । जापान गएपछि १ महिना पर्खियौँ, २ महिना पर्खियौँ, ६ महिना पर्खियौँ, वर्ष दिन र २ वर्षसम्म पनि पर्खियौँ । केको पैसा पठाउनु ? सामान्य चाडबाड खर्च र आमाबुबाकाे मुख हेर्ने दिनमा बाहेक जापानी यनसँग अपेक्षाकृत सन्ताेष हुनसक्ने ठाउँ थिएन । हामीले उसको कुरो बुझ्नै सकेनौँ । २०६६ सालमै नवलपरासी बर्दघाट निवासी श्री बृहस्पति अधिकारीकी कान्छी छोरी भूमिका अधिकारीसँग विवाह सम्पन्न भइसकेको थियो । जहिले फोनसम्पर्क गर्दा कुरा राम्रो गर्थ्यो, सबैको आदर गर्थ्यो । दिदीभिनाजु, फुपूपुसाजु, ठुलोबुबा-ठुलीआमा, दाइभाउजू, छिमेकी-मावली सबैलाई सोधीखोजी राम्रै गर्दथ्यो । तर अलिकति पैसा पठाउन भन्दा भन्थ्यो, “म विदेशमा बसेर घर पैसा पठाउन सक्दिनँ । मसँग राष्ट्र, राष्ट्रियता, साहित्य, संस्कार र प्रतिष्ठाको कुरा गर्नू न, खुसी लाग्छ । बरु जापानमा के गरेर बसेको छ भनेर हेर्न मन लाग्यो भने आउनू, म भिसाको मेसो मिलाउँछु ।”

अनि त के खोज्छेस् कानो ? आँखो, भनेजस्तो भइहाल्यो । त्यसको केही दिनभित्र नै हामी बुढाबुढी जापानतर्फ प्रस्थान गरिहाल्यौँ ।

वि.सं. २०७० सालमा हामी जापान पुग्यौँ । जापान पुगेकै दिनमा जापानको यकोहामा स्थित साहित्यिक एकाइले एउटा विशेष साहित्यिक कार्यक्रम राखेको रहेछ । संयोगवश हामी पनि त्यही दिन पुगेका रहेछौँ । त्यही मौका पारेर हाम्रो सम्मानमा पनि कार्यक्रम तय भएको रहेछ । त्यस कार्यक्रममा सहभागी हुँदै गर्दा र वक्ताहरूले बोल्दै गरेको सुन्दा बल्ल प्रकाश बाबुको साहित्यिक जीवनको वास्तविक चरित्र देख्ने, सुन्ने र बुझ्ने मौका पाइयो । कुराहरू ध्यान दिएर सुन्न पनि मन लाग्यो ।

स्टेजमा विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । त्यहाँ विभिन्न मुलुकबाट आमन्त्रित अतिथिगण रहनुभएको थियो । सबैका मन्तव्य सुन्दा र प्रकाश बाबुको क्रियाकलाप देख्दा सन्तोष लागेर आयो । आत्मगौरव बढ्यो । साहित्यको कला र सोचसमेत बुझ्ने मौका पाइयो । अनि बल्ल आफ्नो छोराले बालापनदेखि गरेको साहित्यिक चलखेलहरू सम्झेँ, कतिपय कामहरूमा उसलाई हामीले दिएका ठेसहरूलाई पनि सम्झेँ, मन छोयो । कक्षा ४ मा उसले लेखेको कविता च्यातेर फालेको कुरा सम्झेर पश्चात्ताप लाग्यो । उसको त्यो ‘बुद्धि बालक’ भन्ने कविता अहिले हेर्न पाएको भए कस्तो हुन्थ्यो होला ?

दिनहरू व्यतीत हुँदै गए । हामी जापानबाट फर्केर नेपाल आएको पनि धेरै भइसक्यो । ऊ जापानतिर साहित्यिक यात्रामा दौडिरहेको छ । जापानमा प्रधान कार्यलय रहेको वल्ड हाइकु एसोसिएसनमा पनि पहिलो नेपालीका रूपमा प्रवेश पाएको छ रे भन्ने सुन्छु । सबै साहित्यकारज्यूहरू मिलेर निर्विरोध रूपमा अनेसासको केन्द्रीय अध्यक्ष पनि बनाइदिनुभएको रहेछ । जीवनको लामो समय साहित्यिक क्षेत्रमा खर्च गरेरै भए पनि मेलोमेसो राम्रै मिलाएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान राम्रै बनाएको देख्दा धेरै सन्तोष लाग्यो, तर यसभन्दा अगाडि मैले साहित्यमा लाग्ने व्यक्तिहरू थोत्रो झोला भिर्ने, मुड चल्नेबित्तिकै नानाथरीका कविता सुनाउने, आफूलाई धेरै जान्ने छु भन्दै हिँड्ने, बुज्रुक सम्झने, चिया पसलमा पनि कविता सुनाउन रुचाउने, सित्तैमा चिया खान पाए मात्र पनि एउटा कविता सुनाइहाल्ने जस्ता हुन्छन् भन्ने लाग्दथ्यो । तर त्यहाँ अवस्था पृथक् देखियो । माइलाको साहित्य ठाउँमा प्रयोग गर्ने, राष्ट्रलाई नबिर्सने, अग्रजको पछि लाग्ने, पछाडि परेकालाई तातेताते गराउने, ‘अतिथि देवो भवः’ भन्ने उक्तिलाई अङ्गीकार गर्दै पाहुनाको सम्मान गर्ने, आइपरेमा हीरा फोर्नेजस्ता कर्महरू देखेर हामीलाई छोरा युवा मोती पुरस्कार २०७८ बाट सम्मानित भएकोमा साँच्चै नै खुसी लाग्यो ।

साथी पनि कति हुन् ? परिचय पनि कति धेरैसँग रहेछ ? यस्तै धेरै कुराहरू सम्झँदै र महसुस गर्दै जाँदा प्राप्त हुन आएको बधाई पनि स्वीकार्य लाग्यो । माेति पुरस्कार सम्मानको हिसाबले धेरै नै उच्च रहेछ भन्ने महसुस भयो । अनि साहित्यिक क्षेत्रमा चलेको यत्रो ठुलो हल्ला पनि स्वाभाविक नै हो जस्तो लाग्यो । र, अहिले सबैको चित्त बुझाएर उसलाई हुर्काउने हजुरबुबा र हजुरआमाले आफ्नो नातिलाई स्वर्गबाट भए पनि हेरिरहनुभएको छ भन्ने कुराको स्मरण गर्दैछु । जीवनको हरेक साहित्यिक मोडमा साथ दिने बुहारीलाई समेत आशीर्वाद दिँदै माइलाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।