राजा महेन्द्रले नेपालको कला, सङ्गीत, साहित्य र संस्कृतिलाई प्रचारप्रसार र प्रवर्धन गर्ने हेतुले वि.सं. २०१४ मा नेपाली साहित्य, कला एकेडेमीको स्थापना गर्नुभयो । त्यो पछि गएर वि.सं. २०३१ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो । नेपालमा गणतन्त्रको स्थापना भएपछि साबिक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान नेपाल प्रज्ञा-प्रतिष्ठान नामबाट परिचित भयो । यसले पुस्तक प्रकाशित गर्ने, साहित्यिक गोष्ठी आदिको आयोजना गर्ने क्रममा नै वि.सं. २०२२ सालदेखि राष्ट्रिय कवि गोष्ठीको पनि आयोजना गर्न सुरु गर्छ र प्रथम कवि गोष्ठीमा प्रथम हुन्छन् भैरव अर्याल र दोस्रो हुन्छिन् दार्जीलिङको प्रतिनिधित्व गरेकी बानिरा गिरी । तेस्रोमा गोविन्द भट्ट, रत्नदेव शर्मा र श्यामदास वैष्णव । यसैगरी वि.सं. २०२५-को राष्ट्रिय कवि गोष्ठीमा प्रथम हुन्छन् पूर्णप्रसाद ब्रह्मण, दोस्रोमा देव त्रिपाठी र तेस्रोमा कालीप्रसाद रिजाल, कृष्णप्रसाद पराजुली र प्रेम शेर्पा “विरोकी” । प्रेम शर्पा “विरोकी”ले पनि बानिरा गिरीले जस्तै दार्जीलिङलाई प्रतिनिधित्व गरेका थिए । फरक यति थियो दोस्रो भएपछि राजा महेन्द्रको निगाहमा बानिराले त्रिभुवन विश्चविद्यालयमा नेपालीमा एम.ए. पढ्न पाइन् छात्रवृत्ति पाएर प्रेम शेर्पा “विरोकी” त्यही छात्रवृत्ति पाएर नेपालीमा एम.ए. गर्न आएका थिए काठमाडौँ अनि भाग लिएका थिए कवि गोष्ठीमा तर यो कवि गोष्ठीमा भाग लिन पहिले नै ‘विरोकी’ले ‘पाहाडी फूल’ नामक कवितासङ्ग्रह सन् १९६३-मा प्रकाशित गरिसकेका थिए । छात्रवृत्ति पाएर आएका कतिपय अध्ययनपछि नेपालमा नै बसे पनि ‘विरोकी’ फर्किए दार्जीलिङमा ।
‘विरोकी’ नेपाली साहित्यमा अवतरित हुँदा अगमसिंह गिरी, वीरेन्द्र सुब्बा, ओकिउयामा ग्वाइन, तुलसी अपतन, सानुमति राई, सावित्री सुन्दास आदि नाम स्थापित भइसकेका थिए भने गुमासिंह चामलिङ, भीम थापा, हरेन आले, शरद् छेत्री, खड्कसिंह राई ‘काँढा’ हरू स्थापित हुने क्रममा थिए । सन् साठीको दशकमा गुमानसिंह चामलिङ तीन ओटा कवितासङ्ग्रहका कवि भइसकेका थिए भने ‘विरोकी’ दुई ओटाको । उनका अरू समकालीन कवि मित्रहरूको भने निकै पछि मात्र कवितासङ्ग्रह प्रकाशित भएको जानकारी पाउँछौँ । कवि ‘विरोकी’ले भारतीकालीन नेपाली साहित्यलाई प्रतिनिधित्व गर्न नपाए पनि उनी दियालो, धुवाँ, जनदूत आदिलाई आत्मसात् गरी आगाडि बढेका थिए ।
दार्जीलिङमा तेस्त्रो आयामको उदय हुँदा उनी काव्ययात्रामा पाइला टेक्दै थिए । त्यस समय धेरै कविहरू अन्योलमा थिए- कोही कविताको आयतन नाप्न नसकेर हतास थिए भने कोही साहित्यमा सम्पूर्णतामा बुझ्न नसकेर निराश थिए । सीमितले मात्र बुझ्न सक्ने कविताबाट अलग्गै धारमा कविता लेख्न पर्छ भन्ने बुझाइले अरू केही कविहरूझैँ ‘विरोकी’ पनि छोटो, मिठो तर ओजिलो कविता लिएर साहित्यमा आए । अरू कविहरूभन्दा ‘विरोकी’को कवितामा छुट्टै बान्की थियो । वि.सं. २००८ सालतिर भीमदर्शन रोकाले सुरु गरेको मुक्तक शैलीमा उनको कविताहरूको प्रस्तुती पाउँछौँ । कवि ‘विरोकी’ विद्यार्थी हुँदा उनका समकालीन साथीहरूजस्तै उनी पनि पारसमणि प्रधानको भनाइबाट निकै प्रभावित भएको हुनुपर्छ-
“कवि कविता होस्, कविता कवि होस्
कविता तब पो हुन्छ ।
शब्द थुपारीकन के हुन्छ ?
भाव भए पो हुन्छ !”
तर उनी कविता लेख्ने समयमा पारसमणिको उक्त भनाइबाट कविताको परिभाषा निकै परिवर्तन भइसकेको थियो । समालोचक एवं तेस्रो आयामका मुख्य प्रवर्धक इन्द्रबहादुर राईले कवितालाई हेर्ने दृष्टिमा ‘विरोकी’ जस्तै दार्जीलिङको अरू कविहरू समाहित भएको पाउँछौँ । इन्द्रबहादुर राई लेख्छन्, “पद्यमा कविको व्यक्तित्व, विचार र विश्वास, सङ्क्षिप्तमा कवि स्वयं पसेपछि कविता बन्दछ ।……कविले आफ्नो जीवनमा अरूहरूको जीवनलाई पनि समाविष्ट गरेपछि वा अरूको जीवनमा आफूलाई विस्तारित गरेपछि जे लेख्छन् त्यसमा हुन्छ कविता ।”
‘विरोकी’लाई नजिकबाट चिन्नेहरूमा युवा समालोचक नवीन पौड्याल पनि एक हुन् । कुनै समय दार्जीलिङ सरकारी महाविद्यालयमा ‘विरोकी’को रेखदेखमा प्राध्यापन गरेका पौड्याल ‘विरोकी’लाई संस्मरण गर्दै लेख्छन्, “प्रेम शेर्पा ‘विरोकी’ दार्जीलिङ सरकारी कलेजमा प्राध्यापन गर्नुहुन्थ्यो । उहाँसित मैले तीन वर्ष जति सँगै काम गर्ने अवसर पाएको हुँ । उहाँ विभागाध्यक्ष हुनुहुन्थ्यो । उहाँ शान्त स्वभावको, बिस्तारै मधुर बोल्ने गर्नुहुन्थ्यो । उहाँले मलाई निकै स्नेह गर्नुहुन्थ्यो । उत्तर बङ्गाल विश्वविद्यालयसित जति पनि सम्पर्क गर्ने प्रायः जसो काम यस पङ्क्तिका लेखकलाई विश्वास गरेर लाउनुहुन्थ्यो । उहाँ शुद्ध नेपाली बोल्ने, लेख्दा पनि एकदै शुद्ध, परिष्कृत नेपाली लेख्ने गर्नुहुन्थ्यो । उहाँका हस्तलिपि एकदम सुन्दर, सफा, स्पष्ट, काटकुट नभएको हुन्थ्यो । उहाँ विभागाध्यक्ष हुँदा नै दार्जीलिङ सरकारी कलेजमा नेपाली विषयमा एम.ए कक्षा सुरु भएको हो । एउटा ध्यातव्य कुरा के छ भने दार्जीलिङ सरकारी कलेज नै हो जसले सन् १९७० मा नेपाली विषयमा अनर्स प्रारम्भ भएको थियो भने त्यसका सुरुदेखि प्राध्यापन गर्ने सौभाग्य प्रेम शेर्पा ‘विरोकी’ नै हुनुहुन्थ्यो । त्यही कलेजमा २००२-मा नेपालीमा एम. ए. कक्षा सुरु गर्ने उहाँ नै भए । उहाँले स्थायीको नियुक्तिका निम्ति अन्तर्वार्तामा बङ्गला भाषाको अनिवार्यताको कुराको प्रसङ्गमा सोद्धा ‘नेपाली पढाउनेलाई बङ्गला किन चाहियो? म बङ्गला जान्दिनँ’ भनेर ठाडै भनिदिएका थिए रे । यसैकारणले उनको नोकरी स्थायी हुन रोक लागेको थियो । स्थायी नियुक्तिका लागि लगभग १४ वर्ष जति मुद्दा लड्नुपरेको थियो । पछि उहाँले मुद्दा जित्नुभएको थियो । उहाँले पहिलेदेखिकै स्थायीका दरमा पाउनुपर्ने सबै धनराशि एकैचोटि पाएनुभएको थियो । उहाँ सन् २००४-मा सेवानिवृत्त हुनुभएको थियो । उहाँको सुपुत्र सुरत्न शेर्पाले पनि लोक सेवा आयोग उत्तीर्ण गरेर दार्जीलिङ सरकारी कलेजमा नै वनस्पति विभागमा नियुक्ति पाएका थिए तर फेरि भारतीय वन सेवा (India Forest Service) परीक्षा उत्तीर्ण गरेर वन विभागतिर अधिकारी भएर गएका छन् ।” वरिष्ठताको हनन र नेपाली भाषामाथि बङ्गला भाषाको अतिक्रमणलाई लिएर ‘विरोकी’ले पश्चिम बङ्गाल सरकारका विरुद्ध कलकत्ता उच्च न्यायालयमा मुद्दा दायर गरे । लगभग १४ वर्षसम्म मुद्दा चलेपछि अन्तमा उनी विजयी भए र ५.३.९८ देखि पुनः नेपाली विभागका विभागीय प्रमुखको रूपमा पदासीन भए । यसबाट उनको भाषाप्रेमको झलक पाउन सकिन्छ ।
कुनै समय म ‘विरोकी’ र ईश्वर बल्लभका कविताबाट यति प्रभावित थिए कि उनको लेखनशैली हुबहु नक्कल गर्थे । मेरो कविता पढेर महाविद्यालयका प्राध्यापक दीपक गिरीले ती दुई कविका कविताहरू सारेरै प्रतियोगितामा भाग लिएको आरोप लगाउन पछि परेनन् तर मेरो कविता शैलीको नक्कल मात्र थियो, भाव र विषयवस्तु भिन्नै थियो । मैले नक्कल गरेको ‘विरोकी’को कविता थियो-
“कति-कति छालहरू छल्केर
त्यो किनारलाई अँगालो हाली रोएर गएको छ ।
कति कति रमाइलो वसन्तले
यो जीवनलाई छोएर गएको छ ।
तर पनि किन हो-
त्यो किनार र यो जीवन
यहाँ कसैको प्रतीक्षामा
सधैँ-सधैँलाई तिर्खाएको छ ।”
‘विरोकी’लाई एक-दुई पल्ट भट्ने अवसर पाए र उनीबाट प्रभावित छु भन्दा निकै खुसी व्यक्त गर्नुभएको थियो तर उनले मलाई आफ्नै शैलीमा लेख्ने प्रयास गर भनेको कुरा मेरा निम्ति गुरुमन्त्रसरह रह्यो ।
‘विरोकी’को कवितामा प्रेम छ, वियोग छ, व्यथा छ । सन् साठीको दशकमा दार्जीलिङको कविताहरूमा निकै परिपक्वता आइसकेको प्रतीत हुन्छ । नेपालमा गोपालप्रसाद रिमाल, भवानी भिक्षु, बालकृष्ण समको गद्य कवितामा देखिएको बौद्धिक कसरतको प्रभाव दार्जीलिङमा पनि नपर्ने कुरै भएन । पद्यमा अभिव्यक्त गर्ने नसेकेका पीडा, समयचेतना, अमूर्त भावना गद्य सहज तिरकाले व्यक्त गर्न सक्ने माध्यम भएकाले पनि धेरै कविहरू गद्यमा आकर्षित भएको हुनुपर्छ । ‘विरोकी’को काव्यात्मक यात्रालाई कवि-समालोचक जय योञ्जन ‘प्यासी’ले नजिकैबाट अवलोकन गर्नुभएको छ । सहयात्रीकै दर्जा दिन नमिले पनि ‘विरोकी’ पछिल्लो काव्यात्मक युगको प्यासी एक सशक्त हस्ताक्षर हुन् । ‘विरोकी’को कविताक्रमलाई प्यासीले यसरी शल्यक्रिया गर्छन्, “यसरी नवीनताको स्थापनातिर उक्लिरहेका कविका सुरु-सुरुका कविताहरू ‘गिरीका शैलीसँग साम्य देखिन्छन् भने अस्तित्वका कविताहरूमा ध्रुव, प्रेमराजेश्वरी, गोमा आदिका कविताहरूझैँ ज्यादै व्यथित देखिन्छ । अस्तित्वका कविताहरू गद्यात्मक पनि छन् । अहिले कविताहरू आलाङ्कारिक ढङ्गले काव्य प्रणालीमा आवश्यक गुणहरूमा उपमा र उपमेयहरूको समेत समाविष्ट गरेर अनुप्रासीय पनि भएका छन् । प्रसाद गुण कविताका टुक्राहरूमा पर्याप्त छन् । यसमा आयामिकहरूका झैँ शाब्दिक जन्जाल र ‘मोहन कोइराला प्रवृत्तिको अन्धाघुन्धको प्रायोगिक प्रचेष्टा र सिको पनि छैन । यस सङ्कलनमा केही विजय मल्ल प्रवृत्तिका र कतै-कतै भूपी प्रवृत्तिका आभास पाइए तापनि कवि ‘विरोकी’का छुट्टै, चटक्कै, सलक्कै, भिन्दै र आफ्नै निजीपनका कविताहरू छन् । “
सन् सत्तरीको दशकमा नेपाली भाषा आन्दोलनले दार्जीलिङलाई निकै हलचल ल्यायो । विद्यार्थीहरूको ‘भाषा हाम्रो प्राण हो’ नाराले सडक निकै तातिएको थियो ।
‘भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति
जीत वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’
बालकृष्ण सम यो भनाइ दार्जीलिङको कुनाकन्दरामा प्रतिध्वानित हुन्थ्यो । यस समयमा भाषाप्रेमी प्रेम शेर्पा अछुतो रहने कुरै भएनन् । उनका अग्रजहरू इन्द्रबहादुर राई, अगमसिंह गिरी, प्रेम आले, जगत् छेत्री, कुमार प्रधान आदिले भाषामान्यताको मागलाई भाषाआन्दोलनमा परिणत गरिसकेका थिए । नेपाली साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेर फर्किएका प्रेम शेर्पा पनि प्रभावित भए भाषा आन्दोलनबाट । विद्यार्थी जीवनमा उनी निकै विद्यार्थी राजनीतिमा सक्रिय थिए । दार्जीलिङ सरकारी महाविद्यालयमा पढ्दा महाविद्यालयको विद्यार्थी युनियनको सह-सचिव, महा-सचिव र अखिल भारतीय विद्यार्थी सङ्घ एकाइ महा-सचिव भएर काम गरे । विद्यार्थी छँदै भाषा प्रयोगमा पाएको विभेदले उनलाई गहिरो असर पारेको थियो । नेपालबाट फर्किएपछि सन् १९७० देखि उनको अगुवाइमा सुरु भयो ‘नेपाली भाषा प्रयोग गर’ अभियान । उनी यसको प्रमुख अभियन्ता मात्रै थिएनन् उक्त समितिका संस्थापक अध्यक्ष पनि थिए । भाषा आन्दोलनको समर्थनमा सांसद स्व. रतनलाल ब्राह्मणले भारतीय संसद्मा प्रथमपल्ट नेपालीमा शपथग्रहण गरेका थिए । यही भाषा आन्दोलनअन्तर्गत सर्वप्रथम नेपालीमा साइनबोर्ड, गाडीका नम्बर आदि लेख्ने काम भयो र पहिलोपल्ट स्नातक तहसम्म नेपाली भाषामा नै प्रश्नोत्तर लेख्न पाउने अधिकार विद्यार्थीहरूलाई हासिल भयो । ‘नेपाली भाषा प्रयोग गर’ अभियान समितिले नै भारतमा पहिलो भाषिक-पत्रिका ‘नेभाषा’ प्रकाशित गस्यो । यो पत्रिकाको उनी प्रमुख सम्पादक थिए ।
भाषाप्रेमले गर्दा ‘विरोकी’ले लामो कानुनी लडाइँ पनि लड्नुपऱ्यो । एउटा जाँचमा बङ्गला भाषा जान्नु जरुरी भएको तर ‘विरोकी’ले त्यो अस्वीकार गरी नेपाली पढाउनेले किन बङ्गला जान्नुपऱ्यो भन्ने विषयमा अडान लिए । १४ वर्षको कानुनी लडाइँ त जिते ‘विरोकी’ले तर यसले उनलाई अलिक शिथिल बनायो । फलस्वरूप यसको असर उनको कार्यक्षमतामा परेको उनका केही पूर्व विद्यार्थीहरू बताउँछन् । कार्यसम्पादनमा अरू प्राध्यपकहरूलाई प्रोहोत्सान दिए पनि उनी आफैँ कमै कक्षाहरू लिने बातउँछन् केही विद्यार्थीहरू ।
सत्तरीको देशकमा लामा-लामा कविता र खण्डकाव्य लेख्ने होडबाजीमा छोटा कविता र मुक्तक लेख्ने कवि ‘विरोकी’को एकल उपस्थिति निकै ओजपुर्ण र गरिमामय थियो । एक त महाविद्यालयमा पढाउने, नेपालीमा स्नातकोत्तर गरेका अनि सम्पन्न परिवारका सदस्य भएकाले कवि ‘विरोकी’मा छुट्टै शान थियो । अलिक खोलच्याङ खोलच्याङ गरेर हिँड्ने गरेकाले उनलाई नेपाली लड बाइरन पनि भन्थे कोहीले । सानो आकारमा छापिएको ‘तट, तरङ्ग र छालहरू’ कवितासङ्ग्रह दार्जीलिङबाट प्रकाशित भएको मानक मुक्तकसङ्ग्रह मान्न सकिन्छ । छोटा-छोटा तर तिक्खर, सहज र सरस तर अर्थपूर्ण, सामान्य विषयवस्तु तर गहन चिन्तन ‘विरोकी’का कवितामा पाइने गुणहरू हुन् जसले दार्जीलिङको समाजमा देखिएका र भोगिएका तितो यथार्थहरूलाई प्रतिनिधित्व गर्छन् । कविताले युगचेतना बोक्नु जरुरी छ, वर्तमान प्रतिविम्बित हुन आवश्यक छ । कवितामा पृथ्वीको कोरा सौन्दर्य वर्णन गर्ने मात्रै होइन कवि बाँचेको युगको पनि समयसापेक्ष प्रतिबोध हुन अपरिहार्य छ । यी काव्यशिल्पमा कवि ‘विरोकी’ निकै प्रशंस योग्य छन् । गिरीमा भएको जातीय चेतना कवि ‘विरोकी’मा पनि पाउँछौँ । उनी लेख्छन् : “श्रद्धाले चुलिएका महाकाल बाबा रहिमचुलीलाई दुइ हात जोडीएउटा अनपढ गाउँले भएरम बिन्ती चढाउँछुहाम्रो चोखो, पवित्र, कञ्चनचुलीको छायामाहामी बाँच्नतर अरूका दास भएर नबाचौँमरौँ अरूका अघि हामी हाँसेरतर नमरौँ गिदी र गुदी नभएको खोक्रो मान्छे भएर ।”
विरोकीको ‘तरङ्ग, लहर र छालहरू’ शीर्षक लेखमा कवि-समालोचक जय योञ्जन ‘प्यासी’ लेख्छन् – “कविका भावविभावहरू कलात्मक परिपाटि र शब्दचयनमा परिमार्जित भएर तरङ्ग, लहर र छालहरू-मा देखा पर्छन् । हामी कवि ‘विरोकी’ लाई यही कविता सङ्कलनको प्रकाशनपछि दार्जीलिङ काव्यसाहित्यमा एक नौलो कवि, बेग्लै शैलीका कवि, बहुदृष्टीय, झर्रो र दरो कविका रूपमा स्विकार्न सक्छौँ । हुन त यसो भन्दा कविका पूर्व प्रकाशित सङ्कलनहरूलाई हेयको दृष्टिले हेरेको र निर्मूल्य ठहराएको होइन । तात्पर्य यो हो कि कवि तरङ्ग, लहर र छालहरूमा बगेर नै काव्य महिमाका अन्तर्तम गहिराइमा डुबुल्की मार्न पुगेका छन् औ तरङ्ग, लहर र छालहरू उठाएर नै काव्यशिखरमा गजबले टेक्ने आँट गरेका छन् । यद्यपि कविको यही नै सर्वस्व र सम्पूर्ण सफलताको चरम एवं अन्तिम सीमा होइन । बरू यो त सफलताको पहिलो टेकाइ मात्र हो । प्रस्तुत सङ्कलनको अवधिसम्ममा कविका अन्तर्दृष्टिहरू निकै फराकिलो र बिटुलो हुँदै गएका हामी पाउँछौँ । फलतः यस सङ्कलनमा सँगालेका विविध टुक्राहरूमा जीवनका विविध रङ्गरोगन, विचार-अनुभव, स्थिति-परिस्थिति, गति-प्रवाह, दृष्टि-अन्तर्दृष्टिहरू छन् । यसै सङ्कलनबाट ‘विरोकी’ का कविताको नवीनता स्थापना भएको महसुस हुन्छ । नवीनताबोधको एउटा झस्को हुन्छ । तरङ्ग, लहर र छालहरूमा साँच्चै कविका स्वर र स्वरसन्धानहरूमा समुचित परिवर्तन आएको सहजै अनुभव हुन्छ तर कविका स्वर र स्वरसन्धानहरू केवल भावपक्षमा मात्र नभएर संरचनाशिल्पमा समेत भएर नवीनतम स्थापना निर्माण गर्न सक्षम भएका छन् ।”
दार्जीलिङ सरकारी महाविद्यालयमा पढ्दा ‘विरोकी’को सहपाठी गुमानसिंह चामलिङ, गोपाल योञ्जन र कवि-गीतकार नगेन्द्र थापा थिए । पाँच दशक पहिलेको कुरा सम्झन्दै नगेन्द्र थापा भन्छन्, “विरोकी मेरो मिल्ने साथी थिए, कविता लेख्नमा उनको र मेरो खुबै प्रतिस्पर्धा हुन्थ्यो । सोझो मान्छे उनी । हामी त्यस बेला हुने प्रायःजसो सबै कविगोष्ठीमा भाग लिन्थ्यौँ । कहिले उनी अगि हुन्थे, कहिले म ।”
पद्म दोर्जे भोटिया भएर जन्मेका उनी कालान्तरमा प्रेम शेर्पा ‘विरोकी’ले परिचित हुन्छन् नेपाली साहित्यमा । दार्जीलिङ सहरभन्दा निकै पर रिम्बीकमा ६ जनवरी १९४४ मा यस धर्तीमा पाइला टेकेका पद्म दोर्जे नेपाली भाषालाई अति नै मायाँ गर्ने एक स्रष्ट्रा र चिन्तक थिए । ३३ वर्षको लामो प्राध्यापन गरेर सेवानिवृत्त भएका ‘विरोकी’ नेपाली विभागको मुखपत्र ‘हिमाल’ (पटल-पत्रिका) -को १९७० देखि १९८६ सम्म संरक्षक भएर विद्यार्थीहरूलाई साहित्यिक क्षैत्रमा लाग्न प्रोहोत्सान गरे । तीन कवितासङ्ग्रह- पहाडी फूल, अस्तित्व र तरङ्ग, लहर र छालहरू बाहेक विभिन्न पत्र-पत्रिकाहरूमा रचनाहरू प्रकाशित भएका छन् विरोकीका । नेपाल भाषा र साहित्य भनेपछि हुरुक्कै हुन्थे विरोकी तर जीवनकालमै अरूजस्तै सम्मान पाउन सकेन । उनका कविता कृतिहरूमाथि पनि कमैले समीक्षा र विवेचना गरेका छन् । चाकडी र चापलुसीबाट दश हात पर बस्ने विरोकीलाई १४ वर्षको मानसिक र आर्थिक पीडाले निकै शिथिल बनाएको अनुभूत हुन्छ । पछिल्ला समय साहित्यमा कम क्रियाशील प्रेम शेर्पा ‘विरोकी’ ।
भरखरै साहित्यकार स्व. रामलाल अधिकारीमाथि शोधग्रन्थ लेखी विद्यावारिधि प्राप्त गरेकी दार्जीलिङ सरकारी कलेजका नेपालीकी प्राध्यापक एवं नेपाली विभाग प्रमुख सुजातारानी राई विरोकीलाई सम्झँदै लेख्छिन्, “प्रेम ‘विरोकी’ सरले मलाई बि.ए. (सम्मान)मा पढाएका थिए दार्जीलिङ सरकारी कलेजमा र जब म ‘पश्चिम बङ्गाल शिक्षा सेवा आयोग’ मार्फत दार्जीलिङ सरकारी कलेजमा प्रध्यापकका रूपमा प्रवेश गरेँ उनीसँग काम गर्ने अवसर पाएँ । त्यस समयमा हामी दार्जीलिङको लेबुङ्ग कार्ट रोडमा रहेको कलेजको ठीक तल सरकारी कलेज क्वार्टरमा बस्थ्यौँ । हाम्रा क्वार्टरहरू सानो लेनद्वारा अलग गरिएको थियो करिब ५ फिटले । मेरो सम्पूर्ण जीवनमा मैले उनलाई कहिले रिस उठेको देखिनँ । उनी मृदुभाषी, सरल र सज्जन थिए । उनका प्रिय मित्र थिए प्रोफेसर कवीन्द्र तामाङ जो बोटनी विभाग थिए । कवीन्द्र सर पहिले त्यही विभागको पूर्व छात्र पनि थिए र अप्रिल २०२१ मा उहाँ बित्नुभयो । स्वर्गीय कवीन्द्र तामाङ सर भन्ने गर्थे कि विरोकीले लेखेको ‘साथी’ कविता उनीमाथि नै लेखेका हुन् । उनीहरू मालरोड, चौरास्ता, दार्जीलिङमा साँझ घुम्न हिँडेका बेला मलरोडको बेन्चमा बसेर विरोकीले सहजै यस कविता सिर्जना गरेका थिए ।
प्रेम शेर्पा विरोकीको निधन भएको दुई वर्षपछि सन् २०१४ देखि ३५ वर्षमुनिका स्रष्ट्राहरूलाई प्रेम शेर्पा ‘विरोकी’ पुरस्कार दिँदै आइएको छ । भारतीय नेपाली साहित्यका धेरै साहित्यकारहरूको मनोग्रफ ( जीवनी र लेखनी) साहित्य एकेडेमीले प्रकाशित गरेर पुनीत काम गरेको छ तर प्रेम शेर्पाजस्ता धेरै सशक्त साहित्यकारहरू नअटाउनु निकै दुर्भाग्यको विषय हो । यस विषयतर्फ नेपाली भाषालाई प्रतिनिधित्व गरेर साहित्य एकेडेमीमा आसीन मूर्धन्य साहित्यकारहरूले गाम्भीर्यका साथ मनन गर्न जरुरी छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।