‘आफ्नो छाया तिम्रो आँखाको दर्पणमा हेरूँ भनेर आएँ

मेरो त्यही छायाँ तिमीलाई अर्पण गरूँ भनेर आएँ

यो अठोट र सदाशयतामा तिमीलाई चित्त बुझ्दैन भने

सम्पूर्ण जिन्दगी नै तिमीमा समर्पण गरूँ भनेर आएँ ।’

कवि ज्ञान उदासको ‘यस्तो लाग्छ’ मुक्तकसङ्ग्रहबाट

आफ्ना सन्तानले राम्रो उन्नतिप्रगति गरेर पुर्खाकै नाम उँचो राखेको हेर्ने अभिलाषा नराख्ने सायदै कोही होलान् । त्यसो हुन सकेन भने कम्तीमा पनि पुर्ख्यौली पेसालाई निरन्तरता दिएरै भए पनि पुर्खाको पेसागत धर्म निर्वाह गरिदिऊन् भन्ने आकाङ्क्षा हुनु त स्वाभाविक नै हो ।

ललितपुर (पाटन) बाट सङ्खुवासभा जिल्लाको चैनपुर पुगेको उदास परिवार भोटतिरबाट कपडा ल्याएर चैनपुरमा व्यापार गर्दथ्यो । जिजुबाजेले नेवार कन्यासँग विवाह गरेर शाक्यबाट ‘उदास’ मा झरेपछि सम्भवतः पारिवारिक असजिलाकै कारण चैनपुर पुगेथे । उनका सन्तानले व्यापारका साथै एकाधले सरकारी जागिर पनि खाएथे । मुखिया कर्णबहादुर उदासका छोराहरूले पनि भोटको व्यापारलाई नै निरन्तरता दिएर जीवन निर्वाह गरेथे । जनाति पुस्तामा आएर मात्रै पेसामा परिवर्तन गर्नेहरू एकपछि अर्को निस्किँदै गए । यही जनाति पुस्ताका ज्ञान उदासलाई पिताजी कृष्णप्रसाद उदासले धेरै पढाएर न्यायाधीश बनाउन चाहनुभएको थियो । आखिरमा आएर ‘बरु जेसुकै बने पनि बन् तर कविचाहिँ नबन्’ भन्दाभन्दै पनि कवि नै बन्नुभयो र अब्बल साहित्यकारका रूपमा आफ्नो पहिचान स्थापित गर्नुभयो ।

पिताजी फिटिक्कै मन नपराउने कवि भनेपछि । यता श्रीमतीचाहिँ आफैँ पनि कवयित्री भएका कारण औधी मन पराउने । उहाँ स्वयंलाई चाहिँ व्यापार, जागिर, ठेकेदारी, राजनीति अनेकतिर हात हालेर पनि अस्थिर स्वभावका कारण कतै पनि स्थायित्व नभएपछि अन्तिममा आएर केही न केही त गर्नैपर्‍यो, केही गर्नका लागि पनि त्यसका बारेमा जानकारी भएकै हुनुपर्‍यो । त्यो भनेको साहित्य नै हो । भन्छन् नि– ‘नहुनु मामाभन्दा कानो मामै जाती’ भनेर लेख्दालेख्दै ‘लत’ बसेको स्विकार्नुहुन्छ कवि ज्ञान उदास ।

ज्ञान उदास

त्यस बेला अदालतमा न्यायाधीशको सट्टामा डिट्ठाले नै सिङ्गो अदालत चलाउँथे । डिट्ठाको सानसौकत देख्नुभएका पिताजीमा आफ्नो छोरोले धेरै पढेर न्यायाधीश नै भएको हेर्ने धोको पूरा गर्न सरस्वती हाइस्कुल चैनपुरमा भर्ना गरिदिएर स्कुले शिक्षा प्रारम्भ गराउनुभएको थियो । जेठो छोरो ज्ञान उदासले मात्रै नभएर अरू छोराले पनि पढाइलाई महत्त्व दिएर पढ्न सकेनन् । वि.सं.२०१९ मा आफूले एसएलसीको परीक्षा दिएको स्मरण गर्दै कवि ज्ञान उदास भन्नुहुन्छ– धरानमा परीक्षाको केन्द्र थियो । पहिलोपटक फेल भएपछि एक वर्ष त्यत्तिकै बसेँ । पढाइमा कमजोर विद्यार्थीमा पर्थेँ म । मास्टरहरू त राम्रै थिए तर पढाइमा मनै नभएपछि के गर्नु । फेल भएर बसेका बेला कसैमार्फत फेला पारेर पारिजातको ‘शिरीषको फूल’ उपन्यास पढेँ । त्यसले मलाई निकै प्रभाव पार्‍यो र मनमा सोच पनि आयो एसएलसी पास गरेर काठमाडौँ गएँ भने पारिजातलाई अवश्य पनि भेट्नेछु । वि.सं. २०२१ मा धनकुटा केन्द्र गरेर परीक्षाको फारम भरेर यसपटक चाहिँ पास भएँ । वि.सं. २०२२ मा उच्च शिक्षाको अध्ययनका लागि काठमाडौँ आएर त्रिचन्द्र कलेजमा मानविकी सङ्कायमा आइएमा भर्ना भएँ । सोधीखोजी गर्दै पारिजातलाई भेट्न पुतलीसडकस्थित उनकै कोठामा पुगेँ । आफ्नो परिचय दिएपछि उनले राम्रो व्यवहार गरिन् र फुर्सदमा आउँदै गर्नू भनेर मायाँ देखाइन् । त्यसपछि आउजाउ बढ्दै गयो र मैले नै धरानका कवि कृष्णप्रसाद श्रेष्ठ ‘बीए’, मञ्जुल, रामेश, रायनहरूलाई पनि पारिजातकहाँ लगेर पहिलोपटक भेट गराइदिएँ । मेरो काठमाडौँ बसाइ लामो भएन । चैनपुर नै फर्किएँ र पनि पारिजातसँगको सम्बन्ध रहिरह्यो । चिठीहरू आदानप्रदान भइरहे । भेटमा नभएका कतिपय कुरा पनि चिठीमा लेखिएका हुन्थे । उनले म पनि सङ्खुवासभाकै हुँ, पछि मात्रै दार्जीलिङ गएका हौँ भनेर चिठीमा लेखेकी थिइन् । आइए पढ्दै गर्दा साथीहरूले उल्काएर धरान पुगेथेँ । अभि सुवेदी धरानमै पढ्थे भने आनन्ददेव भट्ट पढाउँथे । नरेश शाक्य, कृष्ण पाख्रिन, वेणु आचार्यहरू धरानमा सहपाठी हुन् । यता छोटो समयका सहपाठीहरूमा गोविन्दराज जोशी, तिलक रावल, सूर्य सुवेदीहरू थिए । अरूसँग सम्बन्धको निरन्तरता नरहे पनि सूर्य सुवेदीसँग भने घनिष्ठता रहिरह्यो । धरानले पनि एक वर्षभन्दा ज्यादा मलाई अड्याउन सकेन र घरै फर्किएँ । उता चैनपुरमा त्यस बेला एसएलसी फेल हुनेहरूको फेसनजस्तै चल्थ्यो बनारस गएर पास भएर आउने । उनीहरूसँगै लागेर बनारस जाने निर्णय गरेँ । यता वि.सं. २०१७ मै एसएलसी उत्तीर्ण गरेर पनि क्याम्पस नपढी घरमै बसेकी प्रेमा श्रेष्ठसँग प्रेम सम्बन्ध गाँसिएकाले उनी पनि मसँगै बनारस गइन् । फाराम भरेर परीक्षा त दियौँ तर हिन्दीमा लेख्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले हिन्दीमा राम्रोसँग लेख्न नजान्दा पास हुन सकिएन । फर्किएर आएपछि विवाह गर्ने निर्णय गर्‍यौँ तर माथिल्लो टोले श्रेष्ठहरूले तल्लो टोले उदासहरूलाई हेप्ने भएकाले हामीले वि.सं. २०२४ मा भागीविवाह गर्‍यौँ । विवाह गरिसकेपछि पुनः परीक्षा दिएर जसोतसो एसइलसी पास गरेँ  । यसबीचमा किराना पसल चलाएर बसेँ । पढाइलाई ध्यान पुर्‍याउनै नसकिरहेका बेला परशु प्रधान, शैलेन्द्र साकारहरूले निकै घचघच्याउन थालेपछि वि.सं. २०२८ मा पुनः काठमाडौँ आएर त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा भर्ना भएँ । आइए त पास भएँ तर स्नातकमा चाहिँ अङ्ग्रेजीमा फेल भएपछि दोहोर्‍याएर परीक्षा दिन मनै लागेन । मेरो पढाइमा यत्तिकैमा विश्राम लाग्यो ।

श्रीमतीका साथमा कवि ज्ञान उदास

विवाहपछि चैनपुरमै बसेर रात्रि पाठशालामा पढाउने काम केही समयसम्म गरेको स्मरण गर्दै ज्ञान उदास भन्नुहुन्छ– स्कुलचाहिँ रात्रि तर पढाइ चाहिँ बिहानी नै थियो । वाशु शाक्य, केदार राई, घनेन्द्र शर्मा र म थियौँ  । घनेन्द्रले त लोकसेवा परीक्षा पास गरेर हिँडिहाले । वासु शाक्य भने प्रतिबद्ध वामपन्थी थिए । त्यस बेला झापाकाण्ड भइसकेको थियो । म पनि वामपन्थीहरूकै सङ्गतमा थिएँ र उनीहरूका भूमिगत कार्यक्रममा सहभागी हुन्थेँ । जिल्लामा एसपी रामप्रसाद श्रेष्ठ गएपछि उनले निकै कडाइका साथ धरपकड सुरु गरे र पञ्चायतमा प्रवेश गर्न चाहनेहरूलाई अवसर पनि खुला गरे । जेल पर्नुभन्दा पञ्चायतमै लाग्नु उपयुक्त लाग्न थाल्यो र पञ्चायतमा प्रवेश गरेँ । त्यसपछि त कुनै किसिमको भागदौड गर्नु परेन । तुरुन्तै नै वि.सं. २०२९ को सुरुतिरै हिमालय माध्यमिक विद्यालयमा पढाउन बोलाए र २०३१ सम्म त्यहाँ पढाएँ । आफ्नो स्वभावअनुसार पढाउने काममा अल्झिरहन मन भएन  । छोडेर वि.सं. २०३३ देखि खाँदबारीमा किराना पसल गर्न थाल्यौँ । पसलमा श्रीमती बस्ने भएकाले आफूले ठेक्कापट्टाको काम पनि गर्न थालेँ । ठेक्कापट्टामा रहँदा जिल्लाका निर्माण कार्यमा आफ्नो ठेकेदारीको राम्रो प्रभाव पारेको थिएँ । जुनसुकै काममा पनि पहिलो प्राथमिकता मैले नै पाउँथेँ र पनि धेरै समयसम्म गर्न मन भएन । पसलचाहिँ चलाइरहेकै थिएँ ।

तुलसीहरि कोइराला

वि.सं. २००० मङ्सिर २४ गते पिता कृष्णप्रसाद उदास र माता बालकुमारी उदासको जेठो सन्तानका रूपमा सङ्खुवासभा जिल्लाको चैनपुरमा जन्मिनुभएका ज्ञान उदास आफूलाई कुनै किसिमको जिम्मेवारीबोध नभएको, अस्थिर स्वभावको र अरूको कुरामा विश्वास गरिहाल्ने बानीको भएकाले कतिपय राम्रा अवसर पनि गुमाएको छु भन्नुहुन्छ । वि.सं. २०१९ मा मलेरियामा जागिर खाएर पहिलो जागिरे यात्रा प्रारम्भ भएको थियो । वि.सं. २०२१ मा पुनः भूमिसुधारमा जागिरे भएँ भन्दै उहाँ भन्नुहुन्छ– वि.सं. २०२७ मा नेपाल बैङ्कमा पनि जागिरे भएको थिएँ । पढ्न भनेर काठमाडौँ आएपछि वि.सं. २०२८ मा केदारमान व्यथितले प्रज्ञा–प्रतिष्ठानमा नाटक विभागमा जागिर लगाइदिएथे । जितेन्द्र महत ‘अभिलाषी’, मदनदास श्रेष्ठ, भरत सुवेदीहरू त्यस बेलाका प्रज्ञाका साथी थिए । प्रज्ञाको जन्मोत्सवमा हाम्रो टोलीले हृदयचन्द्रसिंह प्रधानको नाटक ‘कीर्तिपुरको युद्ध’ को मञ्चन गरेका थियौँ । मैले सिपाहीको भूमिकामा खेलेको थिएँ । नाटक समापन भएपछि बालकृष्ण समले ‘स्याबास, राम्रो भूमिका निर्वाह गर्‍यौ’ भनेर धाप मारेको स्मृतिमा रहिरहेको छ । प्रज्ञाको जागिर पनि आफ्नै मनखुसीले छोडिदिएँ । मनले अह्राएपछि तत्कालै निर्णय गरिहाल्ने बानीका कारण छोडेर जिल्लातिरै लागेँ । मैले कहिल्यै चरमाभाव पनि झेल्नु परेन र हतास हुन पनि स्वभावले दिएन । परिस्थितिले केही न केही जुटाइहाल्थ्यो । एउटा छोड्दै, अर्कामा जाँदै गर्दा जागिरे जीवन पूरै ‘तिहुनचखुवा’ जस्तो भयो ।

स्कुल पढ्दा गुरुहरू प्रकाशराज जोशी र रुद्रनाथ शर्मा साहित्यकार नै थिए । उनीहरू ‘भारती’, उदयजस्ता पत्रिका नियमित झिकाउँथे र आफूहरूले पढेपछि इच्छुक विद्यार्थीलाई पनि पढ्न दिन्थे । यसरी पढ्दै जाँदा साहित्यतिर रुचि बढेको र कविता लेख्नतिर आकर्षित भएको सन्दर्भमा उहाँ भन्नुहुन्छ– “गुरुहरू लेख्न प्रेरणा दिने र कार्यक्रममा वाचन गर्न पनि लगाउने गर्थे तर पिताजी भने कविता लेखेको फिटिक्कै मन नपराउने । साहित्यकारप्रति उहाँको रुचि र सद्भाव पटक्कै थिएन । ठूला-ठूला कविले पनि दुःख पाएका प्रसङ्ग उहाँ सुनाउनुहुन्थ्यो । पढ्नचाहिँ पुस्तकहरू उहाँ पनि पढ्नुहुन्थ्यो । पढाइमा पनि अघि बढिएन, जागिरमा पनि स्थायित्व भएन, पसल चलाइरहन पनि उति मन भएन, राजनीतितिर पनि राम्रो पक्कड बनाउन सकिएन । अनि केचाहिँ गर्ने त ? आफ्नो रुचि र अलिअलि जानेको भनेकै साहित्य लेख्ने थियो । त्यसैले लेख्ने कामलाई निरन्तरता दिइरहेँ । पिताजी भने ‘मैले भनेको टेरिनस्’ भन्नुहुन्थ्यो बेला-बेलामा । अलिकपछि केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, पारिजात, भीमनिधि तिवारी जस्ता ठूला साहित्यकारहरूसँग राम्रै सम्पर्क र निकटता हुन थालेपछि भने अलिक परिवर्तन हुनुभयो र भन्न थाल्नुभयो– ‘ठीकै छ, अब अरू केही गरिनस्, यतैतिर लाग्ध्र तिमीहरू कसैले पनि ठूलो उद्यम नगर्ने भयौ ।’”

उहाँका कविता वि.सं. २०१९ बाट पत्रपत्रिकामा प्रकाशित हुन थालेका थिए । व्यापारका सिलसिलामा धरान आउजाउ भइरहन्थ्यो । धरानको पिण्डेश्वर संस्कृत महाविद्यालयको मुखपत्र ‘नेपाल’ मा ‘आमासित’ शीर्षकको कविता र सोही वर्ष सिंहनाद’ मा ‘रस लिन सकेन’ शीर्षकको कविता प्रकाशित भएपछि उत्साह बढ्दै आएकाले सङ्ग्रह नै निकाल्ने सोच बनेको स्मरण गर्दै रोचक सन्दर्भ सुनाउनुहुन्छ– “त्यति बेलासम्म चालीस–पचास वटा कविता लेखिसकेको थिएँ र सङ्ग्रह निकाल्न पाए नि हुने भन्ने इच्छा जागेको थियो । धरानबाट पिताजीले व्यापारका सामान लाने गरेका साहूहरूलाई म पनि चिन्थेँ । कृष्णप्रसादको छोरो भनेपछि उनीहरू राम्रो व्यवहार गर्थे । मैले यही सद्भावलाई अवसरका रूपमा सदुपयोग गर्ने सोच बनाएँ । ती व्यापारीको प्रेस थियो र त्यहाँ पुस्तक छापेको मैले देखेको थिएँ । त्यसैले उनलाई भनेँ– ‘बुबाले भन्नुभएको, यो मेरो पुस्तक छापिदिनू अरे । उनले ए हो ! भनेर मेरो कापी हेरेर चाइँचुइँ नगरी हुन्छ भन्दै प्रकाशनको काम थालिहाले । मैले पनि प्रकाशकमा पिताजीकै नाम राखिदिएँ र पुस्तक तयार भएपछि लिएर घर गई पहिले पिताजीलाई हातमा थमाइदिएँ । यसो हेर्नुभयो र कसरी छपाइस् भनेर सोध्नुभयो । मैले पनि जस्ताको तस्तै बताइदिएँ । त्यसपछि चुप्प लाग्नुभयो । यसपछि काठमाडौँ आएका बखत वि.सं. २०२८ मा हरिभक्त कटुवालले रत्नप्रसाद श्रेष्ठकहाँ लिएर गए र यिनका कविता राम्रा छन्, तपाईँले प्रकाशन गरिदिनुपर्‍यो भने । उनले पनि नाइँनास्ति केही नगरी ‘हामी बस् पर्खिरहेका छौँ’ प्रकाशित गरिदिए । हरिभक्त दाइलाई धन्यवाद दिएँ । यसपछि भने केके परिस्थितिले हो पुस्तक प्रकाशनमा आउनलाई लामै समय लाग्यो । यसबीचमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा लागिपरेका स्रष्टाका विचार र हस्ताक्षर सङ्कलन गरिरहेको थिएँ । त्यसलाई वि.सं. २०४९ मा पुस्तकाकारका रूपमा प्रकाशन गरेँ । नेपाली साहित्यका क्षेत्रमा यस प्रकारको सङ्कलन ग्रन्थ यही नै पहिलो हो । अन्य केहीले पनि मेरै सिको गर्दै प्रकाशन गरेका छन् । वि.सं. २०५८ मा ‘मनका कुरा (गीत, गजल र मुक्तक सङ्ग्रह), ज्ञान उदासका कविता (२०७१), मेरो हराएको कविता (२०७३), यस्तो लाग्छ (मुक्तकसङ्ग्रह, २०७४), खाली सारङ्गी (हाइकुसङ्ग्रह, २०७४) प्रकाशित भएका छन् । पछिल्लो पुस्तकचाहिँ ‘स्रष्टा हस्ताक्षर’को दोस्रो भागका रूपमा भर्खरै प्रकाशित भएको छ । स्रष्टाहरूलाई प्रत्यक्षरूपमा भेटेर उनीहरूका विचारसहितको व्यक्तिगत विवरण र हस्ताक्षर सङ्कलन गरेर प्रकाशित गरिएको यस ग्रन्थले अनुसन्धानकर्तालाई सहयोग पुग्ला कि भन्ने सोचेको छु ।

वि.सं. २०३९ मा डि.बी. भट्टराई सिडिओ बनेर सङ्खुवासभा गएका थिए । उनी पनि साहित्यमा रुचि राख्ने रहेछन् र पत्रपत्रिका पढ्न औधी मन गर्ने । ज्ञान उदाससँग सम्पर्क भएपछि उनले बोलाएर भनेछन्– तिमी त कवि मान्छे, त्यत्तिकै किन बस्छौ, साप्ताहिक पत्रिका चलाएर बस । आवश्यक पर्ने सरसहयोग म पनि गरुँला । उनले त्यति आश्वासन दिएपछि ‘नयाँ खबर कागज’ साप्ताहिक दर्ता गरेको स्मरण गर्दै उहाँ भन्नुहुन्छ– “वि.सं. २०३९ मा सङ्खुवासभामा दर्ता गरेर प्रकाशन प्रारम्भ गरेँ तर प्रेस र छपाइको असुविधाले गर्दा काठमाडौँ आएर वि.सं. २०३९ देखि २०४२ सम्म पत्रिकालाई निरन्तरता दिएँ । यति बेलै मरिचमान सिंहसँग सम्पर्क भयो र उनले तपाईँजस्तो मान्छे यहाँ बसेर हुँदैन, जिल्लामै बसेर राजनीति गर्नुस् भने । श्रीमतीजी महिला सङ्घकी केन्द्रीय सदस्य भएकीले पनि राजनीतिमा ज्यादा तानिएको थिएँ । वि.सं. २०४२ को चुनावमा जिल्ला पञ्चायतको उपसभापतिमा निर्वाचित भएँ । वि.सं. २०४६ मा बहुदल आएपछि त्यत्तिकै भयो र राजनीतिमा खासै सक्रियता पनि भएन । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ एउटै हुँदासम्म यसैमा लागेको थिएँ तर यो पार्टीमा पनि चिरा परेपछि पार्टी राजनीतिमा भागबन्डामा लाग्न मन भएन । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला वि.सं. २०६१ मा पुनः सङ्खुवासभाको उपसभापतिमा दरबारका सचिवबाट प्रस्ताव आयो । पहिले नै निर्वाचित उपसभापति भइसकेकाले फेरि त्यही पदमा नजाने तर सभापतिमा हो भने जाने भनेर आफ्नो कुरा राख्दा राजाको सचिवले यो भनेको अवसर हो, राजाको सवारी हुँदै छ । यसपछि पनि अन्य अवसर आउँछन्, अहिलेलाई यही नै स्वीकार गरेर सहयोग गर भनेपछि नाइँ भन्न सकिनँ ।

पद्मकेशर कार्कीलाई सभापतिमा मनोनित गरियो र मलाई उपसभापतिमा । राजाको सवारी त भयो तर त्यसको कुनै ठूलो उपलब्धि हुने अवस्था नै थिएन । राजाले थेग्नसक्ने अवस्था नै थिएन ।”

उहाँले सम्पादनका क्षेत्रमा पनि पटक-पटक काम गर्नुभएको छ । अभि सुवेदीलाई सल्लाहकार मानेर वि.सं. २०२८ मा ‘पहाड’ शीर्षकको पत्रिका प्रकाशन प्रारम्भ गर्नुभएको थियो । विधागतरूपमा क्रमशः प्रकाशन गर्ने योजना बनाएर पहिलो अङ्क कविताको र दोस्रो अङ्क कथाको निकालेपछि त्यसमा पनि त्यत्तिकै विश्राम लागेको थियो । वि.सं. २०५५ मा घनेन्द्रप्रसाद शर्मासँग मिलेर ‘नानी’ बालपत्रिकाको प्रकाशन प्रारम्भ गर्नुभएको थियो । यसका २२ अङ्क प्रकाशित भएपछि वि.सं. २०५९ बाट बन्द भयो । यसैमा प्रकाशित बाल साहित्यकारका कथालाई सङ्कलन गरेर ‘नानीका कथा’ बालपुस्तक पनि प्रकाशित गर्नुभएको छ । यसरी उहाँले कविता, गजल, मुक्तक, गीत, हाइकुका सात कृति र सम्पादनका तीन कृति प्रकाशित गरिसक्नुभएको छ । उहाँलाई धर्मपत्नी प्रेमा उदासबाट साहित्यमा लागिरहन ठूलो सहयोग प्राप्त भइरहेको छ । उहाँ स्वयं पनि कवयित्री हुनुहुन्छ र श्रीमान्‌ले सिर्जना गरेका सामग्रीलाई अनेक गरेर पनि प्रकाशनमा ल्याइदिनुहुन्छ । पछिल्लो सम्पादित कृति ‘स्रष्टा हस्ताक्षर’मा लेख्नुभएको प्रकाशकीयमा भन्नुभएको छ– “म साहित्यिक क्षेत्रमा विशेष अभिरुचि राख्ने एक साधारण पाठक मात्र हुँ । मैले जीवनमा केही कविता लेखेँ र बनारसबाट प्रकाशित ‘उजेली’ र नेपालबाट प्रकाशित केही पत्रपत्रिकामा प्रकाशित पनि भएका छन् । मेरा कविताका पाण्डुलिपि आफ्नै बेहोसीका कारण हराएको हुँदा प्रबुद्ध पाठकवर्गसामु कृतिकारका रूपमा देखापर्न सकिनँ । सीमित साधन र स्रोत भएका हामीजस्तालाई पुस्तक प्रकाशन गर्न त्यति सजिलो छैन । त्यो जान्दाजान्दै पनि यो लागेको लत बिर्सिन पनि सकिँदैन । ज्ञान उदासजी सिर्जनाको क्षेत्रमा निरन्तर लागिरहने प्रतिभा हुनुभएकाले उहाँको उत्साह नमरोस् भनेर प्रकाशनमा साथ दिएकी हुँ ।”

उहाँले मूलरूपमा आफूलाई कविताकै क्षेत्रमा केन्द्रित गर्नुभयो तर एउटा सङ्ग्रह पुग्ने कथा पनि लेखिसक्नुभएको छ । गजलमा पनि पाण्डुलिपि तयार भइसकेको छ । अबको योजनामा यिनै छन् र श्रीमतीजीको आगामी योजनामा प्रकाशन गर्ने लिस्टमा परेका छन् भन्नुहुन्छ उदास । उहाँ वि.सं. २०४५ देखि चैनपुरलाई छोडेर काठमाडौँको चाबहिलमा बस्न थाल्नुभयो । पितामाता उतै हुनुभएकाले आउजाउ त छँदै थियो । फेरि वि.सं. २०६१ मा उपसभापतिमा मनोनित भएपछि बाक्लै आउजाउ भयो । वि.सं. २०६३ देखि मातापिताको निधन र पदीय जिम्मेवारी पनि सकिएपछि उताको मोह कम हुँदै गएको भए पनि भाइले पुर्ख्यौली थलो र व्यवसाय चलाइरहेकै छन् । वि.सं. २०७१ मा ‘सङ्खुवासभा साहित्यिक महोत्सव’ को आयोजनामा सम्मान ग्रहण गर्न निम्त्याएकाले गएको थिएँ भन्नुहुन्छ । उहाँको व्यक्तित्व र कृतित्वमाथि स्नातकोत्तर तहमा दुई विद्यार्थीले शोधपत्र तयार पारेका छन् । उहाँलाई साहित्यमा निरन्तर लागेका कारण केही सम्मान–पुरस्कार प्राप्त भएका छन् । वि.सं. २०५७ मा केदारमान व्यथित राष्ट्रिय प्रतिभा पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, भानु पुरस्कारलगायतका सम्मान–पुरस्कारले साहित्यमा लागिरहन हौसला प्राप्त भइरहेको बताउनुहुन्छ ।

पछिल्लो समयमा आएर सिर्जनामा उति सक्रिय हुन नसकेको भन्दै उहाँ भन्नुहुन्छ– “पुरानै सिर्जनालाई जोरजाम गरेर सङ्ग्रह निकाल्नेतिर लागिरहेको छु । संस्मरणतिर कलम चलाउनुपर्ने हो, सोचसम्म बनाएको छु तर जाँगरचाहिँ उति छैन । पुराना कुराको सम्झना हुन्छ तर तुरुन्तै त्यसको शृङ्खला टुट्छ । पछिल्लो पुस्ता उत्साहका साथ सिर्जनामा लागेको छ तर लेखनभन्दा हल्ला र विज्ञापन ज्यादा भइरहेको छ । विज्ञापन र पुरस्कारले उचालेका भरमा लामो समयसम्म टिक्न सकिँदैन ।”

आफ्ना समकालीनमा भेटघाट, सुन्ने–सुनाउने प्रचलनमा उहाँ पनि सक्रिय हुनुहुन्थ्यो । परशु प्रधान, कृष्ण जोशी, शैलेन्द्र साकार बढी नजिकका हुनुहुन्छ तर पछिल्लो चरणमा आएर त्यो क्रम टुटेको छ । ‘भेटिहालौँ, सुनाइहालौँ, रमाइलो गरौँ भन्ने लाग्न पनि छोडेको छ’ भन्नुहुन्छ । वासु शशीकहाँ बसाइको नजिकका कारण पनि निरन्तर गइरहने गरेको स्मरण गर्दै भन्नुहुन्छ– उनको शैली मलाई निकै मनपर्ने भएकाले उनकै शैलीको नक्कल गरेर म पनि कविता लेख्थेँ र उनैलाई सुनाउँथे । उनी मेरा कविताको प्रशंसा गर्थे । कविता लेखिसकेपछि पारिजात, बालकृष्ण सम, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, नीरविक्रम प्यासी, लीलाध्वज थापालगायतलाई सुनाउँथेँ । उनीहरू पनि आफ्ना रचना कहिलेकाहीँ सुनाउँथे तर मलाई चाहिँ लेखिसकेपछि कसै न कसैलाई नसुनाई चित्तै बुझ्दैनथ्यो । सुनिसकेपछि ‘राम्रो छ, लेख्न नछोड्नू’ भन्दा बढी आलोचनात्मक टिप्पणी र सुधार गर्नुपर्ने सल्लाह भने अग्रजबाट कहिल्यै पाइएन । काठमाडौँ आएपछि सबैभन्दा पहिले भेटेको पारिजातलाई नै हो । उनीबाट चाहिँ धेरै प्रेरणा पाएको छु । वासु शशीलाई उनले निकाल्ने पत्रिका ‘सञ्चय’का लागि सहयोग पनि गर्थेँ । उनीकहाँ बेलुकीको माहोल निकै रमाइलो हुन्थ्यो, साहित्यकारको जमघट र खानपान चल्छ भन्ने सुन्थेँ तर त्यो माहोलमा म कहिल्यै सामेल भइनँ । म जाने भनेको बिहान–दिउँसो मात्रै हो ।

उहाँले धेरैतिर जागिर खानुभयो तर स्थायित्व कुनैमा पनि भएन । यसको असर बुढ्यौलीमा आएर देखिएको छ । उपदान, पेन्सन केही भएन । छोराछोरी आ–आफ्नो बाटो लागेका छन् । घरमा बूढाबूढी टामाटिमी बस्नुपर्ने अवस्था उहाँहरूको पनि छ र आयस्रोत साँघुरो भएका कारण मन लागेको कुरा गरिहाल्न सकिँदैन तर जीवनसँग कुनै किसिमको असन्तुष्टि नरहेको भन्दै उहाँ भन्नुहुन्छ– “म कहिल्यै निराश भइनँ । एकछिन दुःख लागे पनि त्यो क्षणिक हुन्छ । प्रेमाजीमा ज्यादै ठूलो धैर्य र सहनशील स्वभाव छ । उनको बलले नै मैले केही गर्न सकेको हुँ । मैले लेखेका कुरा जम्मा पारेर प्रकाशनका लागि चाँजोपाँजो मिलाइदिइहाल्छिन् । दश वर्षदेखि सेयर कारोबारमा लागेको छु । सालोले सहयोग गरेर यो बाटामा लागेको हुँ । किनबेचमा राम्रै फाइदा भइरहेको छ । अर्को विकल्प खासै देखेको छैन । परेका बेला छोराछोरीले सहयोग गर्दै आएका छन्, गाह्रोसाह्रो परिहाल्यो भने गर्ने त उनीहरूले नै हो नि ।”