चट्याङ परेजस्तो भयो एकैपटक छातीमा । कल्पना पनि नगरेको त्यो क्षण । हजारौँ भोल्टको करेन्ट लागेजस्तो । बिर्सनै नसकिने दिन । माघ एक्काइस गते पचपन्न सालको । अनपेक्षित पनि र आकस्मिक पनि । नहुनुपर्ने भयो रामचन्द्र गौतमको निधन ।
पत्रकारिताको लामो इतिहास छ गोरखापत्रसँग । अर्को अभिलेख थपिएको दिन थियो त्यो । काम गर्दागर्दै मृत्युवरण गर्ने प्रधानसम्पादक रामचन्द्र गौतम । कार्यालयमा मात्र होइन । होइन कार्यकक्षमा मात्र पनि । कुर्सीमा नै ढलेर मृत्यु हुने प्रधानसम्पादक । पेसागत धर्म निर्वाह गर्दागर्दै नेतृत्व आसनबाट संसार छोड्ने प्रधानसम्पादक । भीषण दुर्घटना नै हो सुन्नेका लागि र भोग्नेका लागि पनि । बन्नुचाहिँ भो भाग्यमानी आफ्नो लागि रामचन्द्र गौतम ।
सत्य हो मृत्यु । ब्रम्हाण्डमा नै छैन योभन्दा शाश्वत । चाहिँदैन कुनै निहुँ । जहिले पनि र जतिखेर पनि । कोही छैन टाढा न नजिक । सक्दैन हुन पनि कोही । लाग्दैन त्यसैले दोष पनि । खोजी गर्दैनन् महावैज्ञानिक पनि यसमा । निको हुने भए पो बन्छ औषधी ? नहुने उपचारको अर्थ के ? गुनासो छैन पनि कसैसँग । नजानेको कसैले छैन । भन्दैनन् त्यसैले मृत्युको औषधी बनेन भनेर ।
गुनासो नहुने कुनै मृत्यु हुँदैन । मात्र धेरै र थोरैको कुरा । पत्याउनै गाह्रो हुन्छ रामचन्द्र गौतमको जस्तो हुँदा । मृत्यु दुर्लभ र भाग्यमानी पनि ।
बुझ्नुपर्ने नै यही रहेछ । बिर्सदोँरहेछौँ जिउने दौडमा । सुखले अलिकति । सुविधाले अलिकति । बाँच्ने बानीले भने बढी नै । चेतनशील नै हौँ हामी अरूभन्दा बढी । भएर पनि बिर्सन्छौँ, बोकिरहेछौँ मृत्यु भन्ने । बाँचेका दिन मृत्युकै प्रतीक्षा दिन हो भन्ने पनि ।
बोध अलिकति हुन्छ अरूको शव देखेपछि । बिर्सन्छौँ आफूसँग भएको मृत्युलाई । सम्झन्छौँ अरूको मृत्यु देखेपछि । दियोमुनि अँध्यारोजस्तै । देख्ने नै पहिला अरूकै हो । सजिलो पनि छैन आफूभित्र देख्न । नहुनुपर्ने कारण नै यही हो समाजमा । भ्रम र अहम्को युद्ध हुने यस्तै होला ।
कर्मले नै हो मान्छेलाई मान्छे बनाउने । कर्मले नै गर्छ विचारको निर्माण । लाग्छ, बुझ्नुभएको थियो रामचन्द्र गौतमले । वचनमा, मनमा र कर्ममा पनि । मूल परिचय पत्रकार नै थियो रामचन्द्र दाइको । साढे दुई दशक बिताउनु भयो गोरखापत्रमा । पस्नु भाथ्यो तीस सालमा । नबाँडिनु भएको त होइन अरू क्षेत्रमा पनि । लिनुहुन्थ्यो मज्जाले साहित्य र सङ्गीतको स्वाद । बजाउनु हुन्थ्यो बाँसुरी । औँलाहरू खेल्थे सितारमा । खेल्नुहुन्थ्यो टेबुलटेनिस ।
लामो सत्सगं होइन मेरो उहाँसँग । कर्मथलो थियो एउटै हाम्रो । वरिष्ठ उहाँ, नयाँ म । गोरखापत्र दैनिकमा उहाँ । मधुपर्क मासिकमा म । सम्बन्धमा हुँदैन लामोछोटोको अर्थ । गोरखापत्रमा पढिरहने नाम थियो रामचन्द्र गौतम । राचगौ पनि पढिरहेको । लेख्न त लेख्नु भो गौराचन भएर, कौटिल्य बनेर पनि । मैले चिन्दा पुनर्वाहाली भएर आउनुभएको थियो गोरखापत्रमा ।
पढेको थिएँ ‘पत्रकारको पीडा’ उहाँको । चिनेको त्यही लेखबाट हो पहिले । मार्मिक थियो लेख निकै नै । काम गरेको बीस वर्ष नपुग्दै पुगेको भनेर दिइयो अवकाश गोरखापत्रबाट । थिए अरू बत्तीस जना पनि । सहनु भो अपमान कति कति ? सहनु भएन अन्याय । भएको थियो हृदयघात त्यही चिन्ताले । पन्ध दिन बस्नुपर्यो वीर अस्पतालमा । फर्केपछि निवास, हात पर्यो अवकाश । आरामै बस्नु भो चार महिना । दैलो बन्द गरिदिएको थाहा पाउनु भो कर्मथलोले ।
कारण थिएन निकालिनुको । पुनर्स्थापना भएको थियो प्रजातन्त्रको । बन्नुपर्थ्यो काँग्रेस कि एमाले । बन्यो त्यही अपराध । काँग्रेसीहरूले भने बामपन्थी । बामपन्थीहरूले भने हाम्रो होइन । लेख्नु भो आक्रोश । भनियो अनि प्रजातन्त्र विरोधी ।
चाकडी नगर्ने कसैको । नबोक्ने झण्डा कुनै पार्टीको । नडराउने बोल्न कोहीसँग । नसहने अन्याय । कलम थियो कडा । बन्यो अपराध यही ।
पुग्दैथियो विवाहको वर्ष दिन । निकालियो जागिरबाट । सहनु भएन अन्याय । ढकढकाउनु भो ढोका अदालतको । पाउनु भो न्याय । फर्कनु भो फेरि गोरखापत्र । संयोग पनि कस्तो ! जुन प्रधानमन्त्रीको पालामा खोसिएको थियो जागिर, बन्नु भो प्रधानसम्पादक त्यही प्रधानमन्त्रीकै पालामा । पुग्नु भो सम्पादकीय शीर्षस्थानमा नौ गते असोजको । वर्ष एउटै थियो नेतृत्व लिएको र गएको पनि ।
प्रमाणित गर्नुभो झूटो टिक्दैन भनेर । सत्य लुकिरहँदैन भनेर । मागेर नपाइने अधिकार लडेर पाइन्छ भनेर ।
प्रतीक्षापछिको परिणाम मीठो हुने भनेर । सफलता निरन्तरताले नै दिन्छ भनेर । जित निष्ठाको नै हुन्छ भनेर ।
दानापानी हरेर दाँत बजाउनेहरू हाँस्न सकेनन् । सातो गएको थियो षडयन्त्रकारीहरूको । गर्ला कारवाही अब भनेर । गर्ला व्यवहार त्यस्तै भनेर । गर्न पनि सक्ने जति गरेकै थिए ।
कामविहीन बनाएर दिइएको थियो तनाव । दिइएन कुर्सीसमेत कार्यकक्षमा । खोसिइएको थियो दराजको घर्रा र ताल्चा पनि । गर्नु भएन कसैलाई कारवाही । न राख्नु भो पूर्वाग्रह कसैप्रति । उदाहरण बन्नुभो समान व्यवहार गर्नेमा ।
सम्पर्क भयो केही महिना नजिकबाटै उहाँसँग । स्वार्थ देखिनँ कहिले र कुनै सन्दर्भमा पनि । देख्थेँ मन सधैँको उज्यालो र सफा । सुनिनँ कहिले ठूलो स्वरमा बोलेको । सादा जीवन, सरल व्यवहार, सात्विक भोजन ।
आत्तिनु हुन्थेन जस्तै आपत्तीमा । मान्नु हुन्थ्यो धर्म कलमलाई नै । गर्नुभएन दुरुपयोग कलमको । बनाउनु भएन वेश्या कलमलाई । सम्मान गर्नुभो कलमको । इज्जत बढाउन खोज्नुभो कलमकै । जोतिरहनुहुन्थ्यो कलम कागतको खेतमा । उदाहरण हुनुहुन्थ्यो कलमबहादुरको ।
आउनुहुन्थ्यो कहिलेकहीँ मधुपर्कमा । चिनेको अलिअलि त्यही बेलादेखि । सम्पादक हुनुभयो मधुपर्कमा नै । विशेष रूपमै चिनेँ त्यसपछि । बाहिरबाट देखेभन्दा फरक रामचन्द्र गौतम पनि । भित्रको उज्यालो, उत्साह र हार्दिकतालाई पनि त्यसपछि ।
निस्के जतिका अखबार हेर्नैपर्ने । सुन्नैपर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार । हुँदा आमसभा जानैपर्ने । चलेको बेला संसद जानैपर्ने । निम्ता आएपछि जानैपर्ने साहित्यिक, साँस्कृतिक कार्यक्रममा । जिज्ञासु जहिल्यै जेमा पनि । सरल हुनुहुन्थ्यो । शालीन हुनुहुन्थ्यो । जीहजुरी गर्नु भएन कहिल्यै । विचारले, विधिले, कानुनले छोड्नु भएन लड्न कहिल्यै ।
राजनीतिक विकृतिमाथि आक्रमण गरिहाल्ने । सामाजिक विसङ्गतिमा पनि कलम चलाइहाल्ने । प्रहार गर्ने कडा आर्थिक र साँस्कृतिक विचलनमा पनि । पछाडि नपर्ने यस्ता काममा कहिल्यै । नडराउने पनि पटक्कै । कसिङ्गर बन्नुभो आँखाको त्यस्ता सहकर्मीहरूका । देखिँदा मित्रजस्तै देखिने अमित्रहरूबाट ।
मनलाई जित्नसक्छ जसले । जित्नसक्छ जगत् उसले । नसकुन्जेल जित्न मनलाई । सकिन्न जित्न रागद्वेषलाई । दास बन्छ मानिस अनि इन्द्रियको । बन्नसक्दैन खुसी अनि । राख्नसक्छ मनलाई शान्त । चिरशान्ति पाउँछ त्यसले । मिल्ने विचार हो रामचन्द्र दाइसँग ।
जिम्मेवार हुनुहुन्थ्यो कामप्रति । सधैँको चिन्तन पत्रिकाको गुणस्तर कसरी बढाउने भन्ने ? सुधार कसरी गर्ने भन्ने ? छलफल नै गर्दै हुनुहुन्थ्यो त्यतिबेला । जतिबेला बन्द भएको थियो हृदयको गति । भन्नेहरूले भनिरहेका थिए । प्रधानसम्पादक भएपछि काम गर्न गाह्रो हुन्छ भनेर । तोड्नुभो समूह केन्द्र हुने गोरखापत्रको परम्परालाई । गर्नुभो समान व्यवहार सबैलाई । विचारमा पनि र राजनीतिक पार्टीमा पनि । पाउनु भाथ्यो सहयोग सबैबाट । धेरै मुख बने यसरी भन्नेहरू ।
जन्मनु भाथ्यो पूर्वी नेपालको तेह्रथुममा । कोयाखोला गाउँ । गाविस थियो खाम्लालुङ । तेह्रथुमबाट ब्यूँझेर काठमाडौँमा अस्ताउँदा वर्ष अड्चालीसभन्दा अलि बढी । छोटै रहेछ छैँटीमा कोरेको आयु ।
पत्रकारितामै बित्यो आधा जीवन । गोरखापत्रकै नाममा । नाम थियो रामचन्द्र पुराणकै । कमी हुनदिनु भएन कर्ममा पनि । पक्कै खुसी भएनन् नहुँदा उहाँमाथि अन्याय गर्नेहरू । भूकम्प त गयो नै जुनै रेक्टरको भए पनि ।
दुःख दिनसक्छ मान्छेले मान्छेलाई । दिन्छ धोका पनि । सक्छ ठग्न पनि । सक्छ छेक्न पनि । सक्दैन कहिल्यै आफैँलाई ढाँट्न । सक्दैन लुकाउन पनि । नमर्ने कोही हुँदैन । मात्र हो ढिलो चाँडो ।
गरिएको थियो शोकसभा रामचन्द्र दाइको । बाँचुन्जेल दुख दिनेहरू दुखी देखिए त्यस समय । देखिएका कि देखिएजस्तो गरेका सकिँन्थेन छुट्याउन । पहाड बनाउँथे सानो गल्तीलाई उनीहरू । गरिहाल्थे प्रचार । गर्नखोज्दा राम्रो, आग्लो लगाउनेहरू । जस पाउला भनेर डराउनेहरू । समूह तयार पार्थे भत्काउनेहरू ।
गरे गर्नसम्मका प्रशंसा त्यही मुखबाट । रामराज्य नै भनियो गोरखापत्रको नेतृत्व अवधि । उदाहरण पनि भनियो असलको । गुणगान सभा भएको थियो शोकसभा । श्रद्धा व्यक्त गरेका थिए फूल चढाएर सबैले । अग्लो पदका एक भने सुपाडी चपाउँदै गर्दैथिए शोक मन्तव्य ।
टोपी फुकाल्ने चलन छ देखेमा कसैको लास । भए केही मुखमा, परम्परा छ थुक्ने । सूचना टाँसेर गराइएको थियो शभा । जानकारी थियो सबैलाई । सुपाडीको टुक्रो नत्याग्नेको कस्तो होला श्रद्धान्जली ?
देखिन्छ जसरी पनि मन कालो भएको । बोलीमा र व्यवहारमा पनि । अरूको उचाइँ घटाएँ भनेर अट्टहास गर्नेहरू । देख्दैनन् ऐनामा हेरेर पनि आफू पुड्को भएको । उहाँको जीवन हुँदा र नहुँदाको नाटक देखेपछि । गर्छु प्रश्न आफैँसँग । आउँदैन जवाफ केही पनि । उत्तरहीन प्रश्नैप्रश्नको बनेजस्तो लाग्छ सयपत्री ।
भन्नुभएको छ खप्तडबाबाले धर्म विज्ञानमा । मनुष्य जीवन सांसारिक भोगका लागि मात्र होइन । सांसारिक विषयमा सुखको प्रतीत हुन्छ । वास्तवमा हुँदैन सुख । विषयवासनाबाट सुखको आशा गर्नु छायाको मणी पाउनुजस्तै हो । भइरहेको यही छ आज । वास्तविक सुखबाट टाढा भएर दुखसँग नजिक बनिरहेका छौँ । सुखको खोजीमा विवेकशून्य भएर व्यर्थको चक्कर लगाइरहेका छौँ । विषय सुख नित्य हुँदो हो त दुख कहिल्यै हुन्थेन । कहीँ देखिँदैन यस्तो । वास्तवमा मानिस सुखी हुनका लागि क्षणभङ्गुर पदार्थबाट विरक्त हुनैपर्छ । परमात्माको यथार्थ ज्ञानतर्फ अनुरक्त हुनैपर्छ । अनि सम्भव हुन्छ स्थायी सुख ।
मोहित हुनुभो चाँडै रामचन्द्र दाइ । स्थायी सुखका लागि । लाग्छ त्यस्तो हामीलाई । नहुनसक्छ उहाँलाई ।
रामचन्द्र दाइलाई सम्झेपछि बिर्सनुहुन्न मधुपर्कका दिनलाई । साक्षी हुँ अझै म । व्यवस्थापनले सार्यो मधुपर्कमा उहाँलाई । अर्को व्यवस्था नभएसम्मका लागि भनेर पत्रमा । माघ सत्र गतेको दिन थियो चवन्न सालको । जिम्मेवारी दिइएको थियो कार्यकारी सम्पादकको । पदै त्यही थियो उहाँको । सम्पादक हुनुहुन्थ्यो कपिलजी त्यसअघि ।
सम्पादकमाथि बनाइयो कार्यकारी सम्पादक । जिम्मेवारी थियो नेतृत्वको । हुनुपर्ने नेतृत्व सम्पादककै हो । दिइएन तर शब्दमा । चार जना भयौँ मधुपर्कमा । रामचन्द्र दाइ कार्यकारी सम्पादक । कपिलजी सम्पादक । म सहसम्पादक । वसन्तजी उपसम्पादक ।
मतभेद सुरू भयो केहीसँग । लगियो प्रिन्टर अन्यत्रै । सुरु त्यहीँबाट भयो समस्या । कार्यकारी सम्पादक प्रमुख र दोस्रो व्यक्ति सम्पादक मिल्ने क्रम थिएन । अनुरोध गरेर पठाउनु भो पत्र पटकपटक । प्रधानसम्पादक, मुख्यसम्पादक वा प्रमुख सम्पादक राख्नका लागि पत्रिकामा । सुनुवाइ भएन कहिले । आएन प्रतिक्रिया पनि । नियमसङ्गत हुने भनी राख्नुभो प्रधानसम्पादक । पहिलो अङ्क थियो उहाँको । चवन्नको फागुन अङ्कमा । आपत्ति जनायो व्यवस्थापनले आकाशै खसेजस्तो गरेर । रोकियो बजार पठाउनलाई पत्रिका । जिम्मेवार अधिकारी हुनुहुन्थ्यो शिव अधिकारी । छाप्न लगाइयो कार्यकारी सम्पादक लेखेको टुक्रो । प्रधानसम्पादकलाई छोपिने गरी टाँसियो कार्यकारी सम्पादक । पठाइयो बजारमा त्यसपछि ।
जिम्मेवारी दिइयो मधुपर्कको । दिइएन पटक्कै अनुभव गर्न । दुई हप्ताजति अफिस आएनन् एकजना । सोध्नु भो स्पष्टिकरण आएपछि । भाषा थियो शिष्ट । जवाफको सट्टामा सोधियो उहाँलाई नै स्पष्टिकरण व्यवस्थापनबाट ।
निकै कोसिस गर्नुभो गुणस्तरीय कागज राख्न मधुपर्कमा । उत्साही हुनुहुन्थ्यो हुनसम्मको । सल्लाह लिन थाल्नुभो । सुझाव लिन थाल्नुभो । भेटेर, फोन गरेर लेखक कविहरूसँग । मधुपर्कको सुधारका लागि । परिवर्तनका लागि । विज्ञापनको पनि पहल गर्नुभयो । लिएर जानु भो कतिपय ठाउँमा मलाई पनि । सधैँ चिन्तित हुनुहुन्थ्यो पत्रिका पठनीय बनाउन । अन्तर्राष्ट्रिय र सार्क साहित्यलाई नियमित प्रकाशन गर्न प्रत्राचार गर्नुभो दुतावासमा ।
सल्लाह गर्नुभो प्राविधिकहरूसँग । मधुपर्कको आकार परिवर्तनका लागि पनि । अनुरोध पत्र पठाउनुभो व्यवस्थापनलाई । तयारी भयो डिमाइ साइजमा प्रकाशन गर्ने । २०५५ भदौको समालोचना विशेषाङ्कदेखि । आवरणको डिजाइन गरेपछि स्क्यानिङका लागि पठाउनुपथ्र्यो दिल्ली त्यतिबेला । आइसकेको थियो आवरणको स्क्यानिङ । परिवर्तन भयो व्यवस्थापन त्यहीबेला । बन्नु भो डा. परासर व्यवस्थापक । सपनामा ग्रहण लाग्यो उहाँको । अरू के के कारण पनि जोडिएर । निकाल्नु पर्यो पुरानै साइजमा । नहुँदै महिना बन्नुभो नारद भारद्धाज अध्यक्ष तथा महाप्रबन्धक । असोज अङ्कमा नाम छापिने गरी कपिलजी नै हुन भो सम्पादक । सारिनुभो गोरखापत्रमा रामचन्द्र दाइ ।
अलि लामो लेख्ने बानी थियो उहाँको । हुनुहुन्थ्यो संस्कृतको ज्ञाता । भाषामा निपूण । मधुपर्कका लागि लेख्नुभएका लेख हेर्न भन्नुहुन्थ्यो मलाई । आवश्यक भए काँटछाँट गरिदिन पनि ।
भाषासाहित्यमा आफ्नोपन बनाइसकेको उहाँ । सम्पादनको सिकारु म । त्यसमा पनि सहयोगी उहाँको । रचना हेरिदिन भन्नु शिष्टतामात्र होइन उहाँको । आफूभन्दा तलकालाई गर्ने व्यवहारबाट उत्प्रेरित गर्नुहुन्थ्यो । महानता हो उहाँको ।
राखिदिनुभएको छ पुरस्कार पत्रकारहरूका लागि । धर्मपत्नी इन्दु गौतमले । ‘रामचन्द्र इन्दु गौतम पत्रकारिता पुरस्कार’ । घोषणा भइसक्यो यही वर्षदेखि । पचपन्न हजार नगदराशिसहितको । दिने प्रत्येक वर्ष अग्रज पत्रकारलाई । राखिदिनु भएको छ अक्षय कोष पाँच लाखको ।
अस्वाभाविक हो निधन रामचन्द्र दाइको । सत्य भने मृत्यु नै हो फेरि । समय र सत्य हुँदैन कहिले अस्वाभाविक । तोकिएको छ जे ,भएरै छाड्छ त्यही । निहुँ चाहिँदैन मृत्युलाई । दोष पनि लाग्दैन मृत्युलाई । सजिलो हुँदैन । त्यो बेग्लै कुरा हो ।
गोरखापत्रको इतिहास एक सय बीस वर्षको छ । इतिहासमा इतिहास बनाउनु भएको छ रामचन्द्र दाइले । पत्रकार भएर । प्रधानसम्पादक भएर । कुर्सीमै अचेत अनि मृत्यु भएर । कलमजीवी भएर । कर्मयोगी भएर । इतिहास बनेर । जीवनलाई सार्थक बनाएर । भाग्यमानी मृत्यु बनेर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।