अनेक बाटा छन् उज्यालो भेट्ने । मात्र कुन बाटाबाट कसरी जाने भन्ने हो । जहाँबाट गए पनि उज्यालो नै भेटिनुपर्यो । आफ्नै पाइला परेकालाई मात्र सत्य ठान्नु भ्रम हो । सत्य हुन् सबै बाटा, गर्ने यात्रा मात्र हुन् फरक ।
सिर्जना शक्तिको अभिलेख नापजोखबाट हुन सक्दैन । नदेखिने शक्ति धेरै हुन्छन् देखिने भन्दा । त्यसैले भन्छु , साहित्य अनुत्पादक भन्नु भ्रम होइन महाभ्रम हो, नबुझ्नेहरूलाई खुर्पा बिँड भनेजस्तै । अनुभूति गर्नेहरूका लागि श्रीखण्डजस्तै हुन् सिर्जना । नसक्नेको उपाय हुँदैन । सक्तिनँ भन्नेको उपचार पनि हुँदैन । आँखाले देखेपछि मात्र सत्य ठान्नु अरूप्रतिको अविश्वास हो । समाजप्रतिको पनि अविश्वास नै हो ।
तुलसी दिवस, नामसँगै जोडिन्छ नेपाली कविता । उहाँसँग कविताको शक्तिलाई प्रमाणित गर्न सक्ने सामर्थ्य छ । संसारमा सिर्जना छ र सिर्जनामा कविता । जिउँदो बनाउनसक्नुहुन्छ कवितालाई तुलसी दिवस । अक्षरलाई आकृतिमा अनुभूति गराउने दमदार आवाज छ । लय दिने कला पनि छ आवाजमै । भनौँ, कवितामा प्राणप्रतिष्ठा गर्न सक्ने कवि नम्बर एक ।
झ्याम्म दारी पाल्नुहुन्थ्यो कुनै बेला । नचिन्नेले पनि सजिलै चिन्न सकिने । एकपटक सुन्नेले बिर्सन सक्दैनन् आवाज उहाँको । आकर्षक छन्दजस्तै छ वाचन । अखबार पढ्दा पनि पढ्न सक्नुहुन्छ कविताजस्तै । जे पढे पनि कविता । जे बोले पनि कविता । कवितालाई पूर्णता दिन सक्ने कविवर तुलसी दिवस नै हुनुहुन्छ ।
हो नै, शब्द आफैँमा केही हैन । शब्दलाई अर्थमा ल्याउन सहारा चाहिन्छ केही न केहीको । शब्द आफैँमा सजीव होइन र पूर्ण पनि । सार्थक बनाउने ,साकार बनाउने ,उज्यालो बनाउने कर्मी नै भन्दा हुन्छ कविलाई । धेरै छन् सङ्ख्यामा कविहरू । लेख्छन् कविता जसले पनि । तुलसी दिवसजस्तो कवि भने तुलसी दिवस मात्रै हुनुहुन्छ ।
शब्दलाई केलाउन जान्ने, निफन्न जान्ने, ठीक ठाउँमा ठीक प्रयोग गर्ने पनि तुलसी दिवस नै हुनुहुन्छ । कविताको कुरा आउनासाथ वाचनको कुरा । वाचनको कुरा आउनासाथ तुलसी दिवसकै कुरा । तुलसी दिवसको कुरा आएपछि आउँछ आवाज र अनुहारको पनि कुरा । तुलसी दिवसले वाचन गरेपछि कविता कहिल्यै नराम्रो हुँदैन भनेर नभन्ने कोही छैनन् उहाँलाई । आवाजको दम, आवाजको कला र आवाजमै छ कविता ।
सिकेको होइन, जानेको हो देखेरै वा सुनेरै । बुबा महाप्रसाद जोशी लय हालेर पढ्नुहुन्थ्यो स्वस्थानी । जोडिएको हुन्थ्यो अभिनय पनि । नाटकको कलाकार नै हुनुहुन्थ्यो उहाँ । लेखिएको भन्दा बुझ्ने गरी भन्ने बुबा । छाप गहिरो थियो धनकुटाको धुरीदेखि नै ।
कविताले नै चिनायो तुलसीप्रसाद जोशीलाई तुलसी दिवस बनाएर । तुलसी रोप्ने दिन जन्मनुभयो साउनमा । लेखिएको सबैतिर अन्ठानब्बे नै छ । नागरिकताको वर्ष हुन सक्छ । जन्मेको वर्ष सन्तानब्बे साल नै हो । ठाडो बजार थियो ठाउँ धनकुटाको । चित्त बुझेन नामसँग बुझ्ने भएपछि । पुरुष पनि तुलसी ,महिला पनि तुलसी । जन्मदिनभन्दा ठूलो दिवस अरू के हुनु ? मनाउनका लागि अनेक तरिका छन् । थर नै बनाएर मनाउनुभयो । प्रसाद र जोशीलाई दिवस बनाएर । तुलसी दिवस बनेपछि कवितामा पहाडजस्तै तुलसी दिवस बनेपछि कवितामा पहाडजस्तै अग्लो बन्नुभयो ।
कवितामा मात्र हुँदै होइनन् तुलसी दिवस । चिन्ने चिनाउने चाहिँ कविता नै हो तर अपूर्ण हुन्छ यतिमा मात्र भनियो भने । लोकसाहित्य उहाँको अर्को बलियो व्यक्तित्व हो । लोकसाहित्यको खोज गर्ने, संरक्षण गर्ने, पुस्तक लेख्ने र प्रकाशन गर्ने । गोष्ठी गर्ने राष्ट्रिय, अन्ताराष्ट्रिय र प्रचार गर्ने देशविदेश । लोक जीवन र लोक संस्कृतिका पनि ज्ञाता त्यत्तिकै ।
आफूलाई लोकवार्ता, लोकसाहित्य, लोक संस्कृतिमा निथ्रुक्क भिजाउनुभएको छ । स्कुलमा नै लोकगीत गाउने, लोकनाच नाच्ने र किशोर हुँदै सङ्कलन गर्ने रुचि । त्यही बाटाले अग्लो बनाएको छ लोकसाहित्य र संस्कृतिमा । नेतृत्व गरिरहनुभएको छ लोकवार्ता तथा संस्कृति समाजको । गन्धर्व, गोपाली, आठपहरिया, राई, मेचे, थारूलाई नजिकै गएर छाम्नुभएको छ नाडी, छाप्नुभएको छ किताब, सङ्कलन गर्नुभएको छ भाका, ल्याउनुभएको छ लोकगाथा, बुझ्नुभएको छ गाउँखाने कथा, चाडपर्व एवं रीतिरिवाज साथै नियाल्नुभएको छ नजिकैबाट उत्सव, मातृभाषा, मौखिक भाषा र जातीय इतिहासलाई ।
शतप्रतिशत कवि नै हो तुलसी दाइ । बोलीमा रङ्ग भर्ने कला छ उहाँसँग । स्वाद भर्न सक्ने क्षमता छ उहाँसँग । ध्यान तान्न सक्ने, सुनिरहन मन लाग्ने कला छ उहाँको गलामा । बोल्न सक्नुहुन्छ घण्टौँ कवितामा । लोकसाहित्य र संस्कृतिमा पनि त्यस्तै धाराप्रवाह छ देशमा र विदेशमा पनि ।
सोच्ने होइन भोग्ने हो आनन्द, संवेदना, सुख, दुःख । भोग्नकै लागि बनेको छ जीवन तर सक्नु भएन दाम्पत्य जीवन बुझ्न । उहाँ बिहेको विरोधी त होइन, पक्षपाती पनि होइन तर किन बनिरहनुभएको छ त एक्लो ? कुन घटनाले ?
धपक्क बलेजस्तो उज्यालो छ अनुहार, खाइलाग्दो छ ज्यान, लठ्ठै पार्ने छ बोली । आँखा नलगाउने कोही हुन्थेन होला उमेरमा, आँखा लडाउनेकै पनि कमी हुने कुरै भएन । नभएका हुँदै होइनन् होला मन बाँध्नेहरू पनि । कुरा देशको मात्र होइन । विदेश टाढा भएन कहिल्यै । साक्षी बनेको छ कविता ‘रातो गुलाफ’ । भन्नुभएकै छ, “कथा छन् मेरा प्रत्येक कवितामा” । फेरि किन भन्नुहुन्छ, “जिन्दगी उत्सव हो मनाइरहनुपर्छ । जिन्दगी दिवस हो मनाइरहनुपर्छ । भो छाडौँ वैयक्तिक कुरा । इच्छाअनुसार बाँच्ने स्वतन्त्रता छ सबैमा ।”
कविता जन्माउँदा कविता बाँच्ने कुरामा सचेत हुनुहुन्छ निकै । विश्वास सङ्ख्यामा होइन गुणमा गर्नुहुन्छ । सदाबहार हुनुहुन्छ , जोसिलो हुनुहुन्छ कवितामा । बहादुर पनि हुनुहुन्छ त्यत्तिकै । मन भने हुन सम्मको कमलो । ‘हृदयको बालक’ जन्माउने कवि पो हो । माया गर्नुहुन्छ मुटु नै देखाउने गरी ।
सम्झिरहेछु त्यो दिन ५३ सालको । ‘अर्थहीन अर्थहरू’ निस्किएको थियो मेरो पहिलो निबन्धसङ्ग्रह । रहर निकै ठूलो थियो विमोचन गरेर प्रचार गर्ने । त्यही बेला मेरो भयो अप्रेसन र गर्नुपर्यो आराम । सकिनँ आँट गर्न । पालेरै बसेको थिएँ मनमा रहर ।
गरिदिनुभयो आफ्नै घरमा भव्य कार्यक्रम । माधवलाल कर्माचार्य, तेजेश्वरबाबु ग्वगं, ठाकुर पराजुली, कृष्ण गौतम, चेतन कार्की, मञ्जुलजस्ता निबन्ध र समालोचनाका हस्तीहरू माझ । तुलसी दाइ नै हुनुभएको थियो सभापति । आकाश परिवार बनेको थियो आयोजक । चैतको तेस्रो हप्ता थियो ५३ सालकै । सिकारुजस्तै थिएँ म निबन्धमा । थाहा पाएको छैन आजसम्म किन मायाँ गर्नुभयो यति धेरै । सोधेको पनि छैन र सोध्दिनँ पनि कहिल्यै । साक्षी राख्नुभएको थियो बुबा महाप्रसाद र आमा चण्डिकादेवीलाई पनि । भारी हुन्छु अहिले पनि सम्झिँदा तपाईँको मायाँ ।
संयोगले जीवनको पहिलो पुरस्कार दिलायो त्यही किताबले ५४ को पहिलो महिनामा नै । उत्तमशान्ति पुरस्कार सर्वाधिक प्रतिष्ठित निबन्धका लागि । विश्वास नै लागेको थिएन धेरैबेरसम्म । साँझको समाचार बज्यो रेडियो नेपालमा । त्यसपछि ढुक्क भएँ । नाम अर्थहीन अर्थहरू राखेको थिएँ तर अर्थपूर्ण बन्यो अझ भनूँ बनाइदिनुभयो तुलसी दाइले । उदाहरण मात्र हुँ आफ्नो । होलान् अरू पनि मजस्ता कतिकति ?
आफू मात्र लेख्ने कवि होइन तुलसी दाइ, अरूमा ऊर्जा थपिदिने लेखक पनि हुन् । समूह साहित्यकै बनाउने, विकास साहित्यकै गर्ने र विस्तार गर्ने अभियन्ता पनि । सिर्जनशील साहित्यिक समाज (सिसास) लाई जन्माउने पनि उहाँ नै, हुर्काउने पनि उहाँ नै । वर्ष ३९ को हो । कवितालाई, कथालाई, निबन्धलाई, लघुकथालाई देशैभरि चहलपहल गराउने पनि उहाँ नै ।
कविताको प्राण भर्न कविता लेख्ने मात्र होइन सुनाउने नै हुनुपर्छ । पूर्णता दिन वाचन नै गर्नुपर्छ भनेर सधैँ भनिरहनुहुन्छ । यही नै हो सत्य, तपाईँसँग त्यो कला छ जुन हुन सबैमा सक्दैन । त्यसैले हो विशेष हुनुभएको र प्रतिष्ठा बढेको पनि ।
नपढ्दा पनि कविता, कविताजस्तै लाग्ने तपाईँको बोली । टुङ्ग्याउनु हुन्न एउटै कुराले कहिल्यै । अर्थ हुन्छन् दुइटा हरेकका । बन्दका कुरामा खुला पनि र खुलामा बन्द पनि । तलको माथि हुने, माथिको तल पनि हुने । अँध्याराभित्र उज्यालो हुने, उज्यालामा अँध्यारो पनि हुने । तुलसी दिवसपन भनेकै यस्तै बनेजस्तो लाग्छ ।
तुलसी दिवस जति उचाइको हुनुहुन्छ व्यवहारले पनि त्यतिकै । हुने बिरुवाको चिल्लो पात त्यत्तिकै भनिएको होइन । १४/१५ वर्षमा नै कविताले चिनिन खोज्नुभएको थियो । प्रथम राष्ट्रव्यापी साहित्य सम्मेलनको कवितामा १८ सालमा प्रथम नै हुनुभएको थियो । १९ सालमा पनि राष्ट्रव्यापी सङ्गीत सम्मेलनको लोकगीतमा प्रथम । १९ सालमै साँस्कृतिक प्रतिष्ठान, धनकुटाको सभापति । २३ वर्ष हुँदा पढाउने गुरु नै धनकुटा डिग्री कलेजमा ।
त्यसपछि यात्रा निरन्तर भो । काठमाडौँ आउनुभयो र बन्नुभयो कान्छो प्राज्ञ । प्रज्ञाको कुर्सीमा बस्दा मात्र २९ वर्ष । पूरा सदस्य हुनु भो एकतीस सालमा । राजकीय प्रज्ञाप्रतिष्ठान मात्र होइन, कवि र कुर्सी मात्र होइन, संसारै पुर्याउन थाल्नुभयो नेपाली कवितालाई । बन्नुभयो विदेशमा देश चिनाउने कवि । कविताले धनकुटाबाट काठमाडौँ ल्यायो र घुमायो संसारका तीन चौथाइ देश नै । कतै बोल्न, कतै पढ्न र कतै पढाउन नै । राष्ट्रिय भएर नेपाली दूत हुनु भो विश्वकवितामा ।
दर्जनौँ कृति त्यत्तिकै भएका होइनन् लेखन र सम्पादनका । कल्चरल काउन्सलर हुनुभयो भारतको नेपाली दूतावासमा । प्राध्यापक, कवि, संस्कृतिविद् जेजे भए पनि प्रख्याति छ कविमा नै । कुरो देशको मात्र होइन, सदस्य हुनुहुन्छ विश्व पोयट्स अफ कङ्ग्रेसको । अतिथि प्राध्यापक हुनुभयो टोकियो विश्वविद्याल, जापानको । फेलो हुनुहुन्छ बिट्रिस काउन्सिल र जापान फाउन्डेसनको ।
भन्नुहुन्छ, इन्द्रेणीजस्तो हुनुपर्छ जीवन । अनुभूति र संवेदनाबाट गुज्रनुपर्छ पनि भन्नुहुन्छ । गुज्रनु पनि भयो दुःखको सबैभन्दा गहिरो दुःखमा । आङ नै सिरिङ्ग हुन्छ सुन्दा मात्र पनि । हार्नु भएन त्यसैलाई बहाना बनाएर । शक्तिमा परिवर्तन गर्नुभयो सामूहिक शोकलाई । जीवनको सबैभन्दा दुःखको दिन त्यही । जीवनको सबैभन्दा गहिरो ज्ञान प्राप्त गरेको दिन पनि त्यही । भाका तपाईँकै हो यो ।
परिवार बढाउने उत्सव थियो खुसीको । वर्ष थियो ६४ सालको र बिहे थियो भानिजको । दुलहीसहित फर्किँदै थिए धरानबाट । दिन थियो तराई बन्दको । बिग्रेको थियो धनसर खोलाको पुल । खोलाबाटै गुड्थ्यो गाडी डाइभर्सन भएर । गुड्दै थियो खोलामा गाडी । बस आयो पछाडिबाट । बाटो दिँदा फस्यो गाडी धसेर । समय बाक्लो रातको थियो; औँसीको रात । केही लागेन दुई घण्टा कोसिस गर्दा पनि । गाडी छोडेर फर्किन खोज्दै गर्दा आयो पानी बौलाएर अकस्मात् एकछिन अघिसम्मका भाइ जीवन, दिदी इन्द्रायणी, बहिनी जयन्ती र बहिनी सञ्चारकर्मी शमी जोशी र ज्वाइँ नरोत्तम बगाएर बनायो लाश । बाँच्ने दुलाहादुलही, ठूलो बहिनी, ड्राइभर र आफू मात्र ।
एकैपल्ट गुमाउनुपर्यो पाँच जना परिवारमा । कहालीलाग्दो समाचार बन्यो सुन्ने जति सबैका लागि । खुसी नसहने पानी, पाँचपाँच जना सिध्याउने पानी । दुःखको योभन्दा ठूलो भारी अरू के हुन सक्छ र ? थचक्कै पर्नु भएन । तपाईँको कविता जत्तिकै बहादुर हुनुहुन्छ तपाईँ तुलसी दाइ, क्या बात !
सजिलो बाटो मात्र होइन जीवन । अप्ठेरा पनि हुन्छन् जहीँतहीँ । सम्याएर सजिलो बनाउने आफैँले नै हो । खुट्टा कमाएर हुँदैन उकाली ओरालीमा । आफू भनेको आफ्नै हो, आफ्नोपन हो । सत्य जे गरे पनि सत्य नै हुन्छ । अदालतले असत्य बनाएर हुँदैन । अज्ञानतालाई अरूका साथ सापटी लिएर चल्दैन सधैँ । शब्दले सिँगारेर बन्दैन सुन्दर सधैँ । भोग्नुभएको छ धेरै माथिसम्मको सुख र दुःख पनि गहिरोभन्दा गहिरोसम्मको ।
जीवनलाई अभिव्यक्ति गर्ने कला सानैदेखि छ साथ । अभिव्यक्ति गर्नुभयो चित्रमार्फत, खेलमार्फत, नाटकमार्फत पनि । डाक्टर बन्न आउनुभयो अस्कल क्याम्पसमा । विद्यार्थी बन्नुभयो पहिलो ब्याचकै । धनकुटादेखि काठमाडौँसम्म विज्ञान पढ्न आउनुभयो । तानिँदै जानुभयो साहित्यमा र बन्नुभयो अग्लो कवि । लेख्न त सुरुमा निबन्ध पनि नलेखेको होइन । छापिएकै हो कथा पनि र उपन्यास पनि छोड्नु भएन । बाँच्ने र बाँच्न सिकाउने काम भने कविताबाट नै भयो । कविता नै परिचय, कविता नै प्रतिष्ठा र कविता नै बन्यो जीवन ।
त्यत्तिकै बनेका होइनन् कविता गहिरा न गहिरा तपाईँका र अग्लोमा पनि त्यत्तिकै अग्लो । मान्छेका सूक्ष्मतम संवेदनालाई केलाउन जानेपछि नहोस् पनि कसरी ? खेलाउनुहुन्छ अनुभूति अरूका जस्तै गरी । संवाद गराउनुहुन्छ आफैँसँग । साक्षी बन्छन् जीवन नै कविता चढेपछि ।
भनिरहनुभएको छ तपाईँ कविले समयको रचना गर्नुपर्छ । समयसँग कविले आत्मसमर्पण गर्नु हुँदैन । कविलाई उठाउन भाले बासिरहनु पदैँन पनि भन्नुहुन्छ ।
कविता लिपिमा सुत्ने वस्तु होइन भन्नुहुन्छ । कविता शिलालेख होइन । ताम्रपत्रका अक्षरजस्तै नाङ्गै राख्नु हुँदैन भन्ने पनि तपाईँ । हो साँच्चै, कविमा देउता चढेपछि व्यथा लागेजस्तै हुन्छ । कविता र कवि अलगिनु हुँदैन । भौतिक रूपमा सम्भव हुँदैन सधैँ । भावनामा असम्भव हुँदैन कहिल्यै ।
राष्ट्रियताले कविवर तुलसी दाइ नेपालको । जन्मले धनकुटाको, बसाइले चाकुपाट, ललितपुरको । भए पनि बन्नुभएको छ तुलसी दिवस संसारकै । विदेशमा सजिलै चिन्ने तपाईँ नै हो नेपाली कवि । तपाईँ उचाइँले धनी, आवाजले धनी, व्यक्तित्वले धनी, अभिव्यक्तिले धनी र कविताले त झनै धनी ।
तुलसी दिवस हुनुको पूर्णता, नेपाली कविताको पनि सफलता होइन र ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।