नेपाली साहित्यमा मिथ जस्तो बनेका हरिभक्त कटुवालको जन्म वि.सं. १९९२ असार १८ गते (१९३५, जुलाई २) मङ्गलबारका दिन पिता वीरबहादुर कटुवाल र आमा विष्णुमाया कटुवालका जेष्ठ पुत्ररत्नका रूपमा असमको लखिमपुर (वर्तमानको डिब्रुगड) जिल्लाको खोवाङ् गाउँमा भएको थियो । कटुवाल जन्मेको डेढ वर्षपछि कटुवाल परिवार बोगीबिलमा बसाईँ सरेर गएको थियो । बोगीबिलको प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा प्रारम्भ गरेका कटुवालले डिब्रुगढको जर्ज हाइस्कुलबाट म्याट्रिक गरी कानै कलेजबाट प्राइभेट परीक्षार्थी भएर आई.ए. उत्र्तीण गरेका थिए । आर्थिक अवस्था कमजोर भएको र त्यहीबेला बाबुको देहावसान भएको हुँदा बी.ए. अध्ययन पूरा गर्न पाएनन् ।
पचासको दशकदेखि नै असमिया भाषामा गीत कविता लेख्न प्रारम्भ गरेका हरिभक्त कटुवालले सन् १९५६ देखि १९५७ सम्म पब्लिक हेल्थ इन्स्पेक्टर, एल.ओ.सी. स्कूलमा सन् १९५७ देखि १९६९ सम्म शिक्षक, सन् १९५८ मा नेपाली शिक्षा प्रचार समितिको मूलमन्त्री, केही समय होटल व्यवसाय (सन् १९६८) आदि कार्य समेत गरे ।
सन् १९६८ गोर्खा सम्मेलनको गडपाल अधिवेशन सम्पन्न भएपछि एकाएक जागिरबाट राजीनामा दिएर साहित्य नै जीवनको उद्देश्य भएकोले परिवेश र अनुकूल वातावरणको खोजीमा सन् १९६९ सेप्टेम्बरमा ३४ वर्षको उमेरमा उनी नेपाल प्रवेश गरे । नेपाली साहित्य संस्थान काठमाडौँमा कार्यालय सचिव, प्रज्ञाको प्रबन्ध सम्पादक हुँदै रूपरेखा र साझा प्रकाशन आदिमा समेत जागिरे जीवन र साहित्य साधना गरेका थिए ।

हरिभक्त कटुवाल
सन् १९६७ साहित्य संस्थान पदक, सन् १९६८ मा श्रेष्ठ साहित्यकारको रूपमा सम्मान, सन् १९६९ मा सर्वश्रेष्ठ कविका रूपमा रोयल एकेडेमी पदक र सन् १९७१ मा श्रेष्ठ साहित्यकारको रूपमा सम्मान समेत प्राप्त गरका हरिभक्त स्वतन्त्रता, स्वाभिमान र अस्तित्वका पक्षपाति थिए । स्वाभिमानी आत्मालाई ठेस लाग्ने व्यवहारहरू हुँदा उनले राजकीय प्रज्ञा प्रतिष्ठानको जागिरबाट राजिनामा दिए ।
बुहभाषिक हरिभक्त कटुवालको गीत सङ्ग्रह (गीत, सन् १९५८), सम्झना (गीत, सन् १९६०), भित्री मान्छे बोल्न खोज्छ (कविता, सन् १९६२), ऐतिहासिक (कथा, सहलेखन सन् १९६०), सुधा (खण्डकाव्य, सन् १९६४), यो जिन्दगी खै के जिन्दगी (कविता, सन् १९७२), स्पष्टीकरण (कथा, सन् १९७३), बदनाम मेरा आँखाहरू (कविता र गीत, सन् १९८७), चरित्रपाठ र शिशुबोध गरी दुई अनुवाद कृति पनि प्रकाशित छन् ।
कटुवालले मुक्ति (सन् १९५८), हिमालय (सन् १९६२), दाली (असमिया, सन् १९६४) प्रज्ञा (सन् १९७०), हिमाली (सन् १९७०), सङ्गीत सरिता (सन् १९७१) र बान्की (सन् १९७१), अभिव्यक्ति (सन् १९७८) जस्ता साहित्यिक पत्रिका र पूर्व किरण (सन् १९६४) आसामका १२ जना कविका कविताहरूको सङ्ग्रह सम्पादन समेत गरेका थिए ।
नेपाली साहित्यमा कृतिगत रूपमा गीत सङ्ग्रह बोकेर औपचारिक देखापरेका हरिभक्त कटुवाल आशावादिता र जीवनको सपनालाई विवरणात्मक कविता ‘सुधा’ को प्रवाहले पवित्र पारेर ‘पूर्वकिरण’ मा बिउँझिएका तीसको दशकका चर्चित कवि एवम् गीतकार पनि हुन् । कविता र गीतको क्षेत्रमा कटुवाल जीवन निर्माणको उच्च आदर्श र विद्रोहको प्रखर सूर्यलाई काँधमा बोकेर आएको पाइन्छ ।

दीपक सुवेदी
भारतीय नेपालीहरूले अधिकांश समय वर्गीयभन्दा जातीय लडाइँमा लगाएका छन् । वर्गीय सङ्घर्ष गौण भएर जातीय, भाषिक तथा क्षेत्रीय सङ्घर्ष प्रमुख भएकाले भारतीय नेपाली प्रगतिवादी साहित्यको विकास एकै प्रकारले भएको देखिँदैन । जसका कारण भारतीय नेपाली कविहरूले धेरै हाँक र विषम परिस्थितिबाट गुज्रनु परिरहेको छ । आफूलाई विदेशी भनिएकोमा र विस्थापनको जटिल प्रश्न छ यहाँ । भारतीय नेपाली साहित्य प्रयोगवादमा नेपालभन्दा अगाडि छ । स्वच्छन्दतावादी र यथार्थवादी साहित्यिक धारामा भने भारतीय नेपाली साहित्यमा नेपालमा जत्तिकै कमल चलेको छ ।
भारतीय नेपाली प्रगतिवादी साहित्यको चर्चा गर्दा हरिभक्त कटुवालका प्रगतिशील तथा प्रगतिवादी विद्रोहचेत बोकेका सिर्जनाहरूलाई भुल्न मिल्दैन । हरिभक्त जन्मदा (वि.स. १९९२) नेपाली साहित्यमा देवकोटा र सिद्धिचरणहरूले रोमाण्टिक धाराको सुत्रपात गरिसकेका थिए । त्यहीँ गोपालप्रसाद रिमाल, विजय मल्लहरू रोमाण्टिक प्रगतिवादी धाराका उत्तरार्धमा प्रयोगवादी धारातिर पनि लम्कने प्रयासमा थिए । पछि हरिभक्त काव्य यात्राको उर्वर चरणमा प्रवेश गर्दा नेपाली साहित्य र संगीत जगत्मा नयाँ भाव, नयाँ शैली र शिल्प प्रयोग हुन थालिसकेको थियो । नेपाली साहित्यमा प्रयोग हुन थालेको यस धारलाई सरल र सम्प्रेषणीय लोकधरातलमा ल्याउन भूपि शेरचनपछि हरिभक्त कटुवालको महत्वपूर्ण योगदान रहेको छ ।
कला र शब्दको गरिमालाई जस्तोसुकै अवस्थामा पनि नभुल्ने हरिभक्त कटुवाल नेपाली कवितायात्रामा स्वच्छन्दतावादी प्रगतिवादी धाराका कवि हुन् । वि.स. २०१२ सालतिरदेखि नेपाली साहित्यमा कलम चलाउन थालेका कटुवाल प्रारम्भमा असमिया भाषामा सिर्जना गर्ने कवि हुन् । उनी समसामयिक धाराका कवितालेखनमा पनि सक्रिय रहे । उनले आफ्ना कवितामा मानवजीवन, जीवनभोगाई, सामाजिक विषमता, आशाा निराशा, विसङ्गति र जीवनप्रतिको आस्थालाई विषय बनाए ।

कटुवालकी जेष्ठपुत्री कवितासँग लेखक
विक्रम संवत् २०२० देखि २०३७ सालसम्म साहित्य लेखनमा निरन्तर क्रियाशील हरिभक्तले अभावका तगारा बाटामा तेर्सिए तापनि कवितामा जीवनको वास्तविक अर्थको खोजी गरेका छन् । जीवनका सङ्घर्ष, मानवीय वदेना, राष्ट्रियता, प्रकृति, मानवता र नेपाली समाजको समसामयिकताले उनका कवितामा विविधता थपेका छन् । यिनले आफ्ना कवितामा प्रणय, विरह, संवेदना, डरत्रास र मानवीय अस्तित्वलाई सहजरूपमा प्रस्तुत गरेकाछन् । नाटक, कथा एवम् चित्रकलाका क्षेत्रमा पनि रुचि राख्ने कटुवालले प्रारम्भतिर आशावादी र जीवनका कोमलतम भाव सुसेलेको पाइन्छ । पछिल्ला चरणतिर उनका कवितामा निराशा एवम् विद्रोहात्मक स्वर अभिव्यक्ति भएको भेटिन्छ ।
जीवन भोगाइका अनेक बिध्न बाधासँग जूध्दै विसङ्गत जीवनका जटिलतम क्षणसँग हातेमालो गर्ने हरिभक्तका कवितामा पलायनवादी प्रवृत्ति पनि पाइन्छ । युगीन सामाजिक परिस्थितिसँग जुध्ने कवि कटुवालका कवितामा आशावादी स्वर मुखरित भएको छ । विभिन्न अप्ठ्यारा परिस्थितिसँग सङ्घर्ष गर्दै विजय प्राप्त गर्न सकिने अवधारण प्रकट गर्ने कटुवालले जटिल परिस्थितिमा पनि सहज किसिमबाट जीवनजगतलाई प्रस्तुत गरेका छन् । उनी मानवीय अस्तित्व र सहत्ताको सम्बन्धलाई सहज ढङ्गले व्यक्त गर्ने कवि हुन् ।
छोटा छरिता रचनाका माध्यमबाट जीवनजगतका तिक्तानुभूतिलाई स्पष्ट रूपमा व्यक्त गर्नु कटुवालको अभिव्यक्तिगत वैशिष्ट हो । उनका कवितामा मानवीय कथा, व्यथा एवम् विसङ्गतिबोधको कलात्मक प्रस्तुति पाइन्छ । मानवतावादी अवधारणा, राष्ट्रियताप्रतिको प्रगाढ प्रेम, प्रकृतिको कलात्मक चित्रणजस्ता काव्यकलागत वैशिष्ट्यले गर्दा उनका कविता मार्मिक एवम् हृदय संवेद्य बनेकाछन् ।
साहित्यका कुनै वाद वा प्रवृत्तिसँग प्रत्यक्ष सरोकार नराखी स्वतन्त्र रूपमा काव्य साधनामा अडिक रहने कटुवाल स्वाभिमानी कवि हुन् । उनका कवितामा मानवीय वेदना र त्यसका विरुद्ध विद्रोहात्मक र व्याङ्ग्यात्मक स्वर उरालेको पाइन्छ । उनी राष्ट्रियताप्रति हुरुक्क भएर प्रकृतिको चित्रणमा रमाउने मानवतावादी कवि हुन् । उनका कवितामा राष्ट्रवादी स्वर र निर्माणको सन्देश पाइन्छ । प्रकारान्तरले प्रणयमूलक भाव र विरह, वेदनाले ओतप्रोत उनका कविता÷गीत मार्मिक र हृदयस्पर्शी बनेका छन् ।
आकाश ताराभन्दा धर्तीका तारालाई प्रिय मान्ने, सडकमा ढुङ्गा फोर्ने ज्यामीको अनुहारमा लय देख्ने हरिभक्तका गीतमा प्रयुक्त प्रेमालाप, विछोड, विरह र मायालु भावनाका सुकुमार भावले संवेदनशील हृदयलाई चाँडै छुन सक्छ । कटुवालका गीतहरूमा प्रेम र विरहको स्वर बढी पाइन्छन् । उनका गीतहरू बढी रोमाण्टिक भए तापनि जीवन भोगाइका यथार्थताका अभिव्यक्तिहरू पनि उनका गीतहरूमा पाइन्छन् । उनी सरल अभिव्यक्तिमा गहन भाव व्यक्त गर्ने आशावादी रचनाकार हुन् ।
गीतमा प्रयुक्त शब्द तथा लय विधान हेर्दा कटुवालका गीतहरूका भावभूमि र शिल्प सौन्दर्य विशेष उल्लेखनीय मात्र छैनन् । तत्कालीन समयको देश, काल परिस्थिति र समयको मूल्यवोधका हिसावले उनी निक्कै उम्दा गीतकारको रूपमा स्थापित छन् । उनको गीति व्यक्तित्व अनेक प्रकारबाट विभाजन गर्न सकिन्छ । प्रारम्भिक कालका गीतमा कटुवाल केही अपरिपक्व देखिए पनि उनको गीति लेखनको मध्यकाल र पूर्वार्धतिर निक्कै सशक्त र कालजयी गीत रचना गर्न पुगेका छन् । जीवन एकदम कष्टकर र लथालिङ्गमा चलाएका कटुवालले सिर्जना शक्तिमा भने अत्यन्त व्यवस्थित, मर्यादित र मर्मस्पर्शी भनाएर प्रस्तुत भए । उनका हरेक रचना पाठकको मन मस्तिष्कमा झङ्कृत पार्न सक्ने सामथ्र्यले भरिपूर्ण छन् ‘मलाई नसोध कहाँ दुख्छ घाउ ?’, ‘डाली डाली फूल फूल्यो’, ‘मेरो आँखालाई राख्ने…’ जस्ता चर्चित गीतहरू हरिभक्तका शब्दमा आजपर्यन्त पनि उत्तिकै सञ्चार माध्यमबाट बजिरहेका छन् । सबै तहका श्रोता एवम् पाठकलाई तान्न सक्ने सुवोध र सुपाच्य सिर्जना गर्न सक्ने कटुवाल अनुप्रासको उच्चतम प्रयोक्ताका रूपमा निकै सफल कवि तथा गीतकार हुन् ।
वसन्तका गीतहरू बतासका ओठओठमा सरसराइ रहेको बेला, सुवासलाई बैँस चढेको बेला नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा हरिभक्त कटुवालका रचनाहरूको कुरा नगरी रहन सकिँदैन । उनले रचेका ‘मेरो घाउ तिमी नहाँसे पो दुख्छ’, ‘पोखिएर घामका झुल्का’ र ‘मेरो यो गीतमा’ जस्ता गीतहरू नेपाली सङ्गीत क्षेत्रका कोशेढुङ्गा बनेर रहिरहेका छन् । नेपाली कविताको स्वच्छन्दतावादी प्रगतिवादी धाराका पछिल्ला र समसामयिक धाराका अग्रज हरिभक्त युग सचेत व्यङ्ग्यधर्मी राष्ट्रवादी स्रष्टा एवम् द्रष्टा हुन् ।
जनमुखी साहित्य सिर्जना गर्ने स्वाभिमानी हरिभक्त कटुवाल लयात्मक कविताको रचना गर्ने कवि हुन् । उनले स्वर व्यञ्जन वर्णको समानुपातिक वितरण गरी गीत कवितालाई लयात्मक र गेयात्मक बनाएका छन् । उनले परम्परित बिम्ब र प्रतीकका अतिरिक्त नवीनतम बिम्ब र प्रतीकको छनोट गरी युगीन जीवनलाई हेर्ने दृष्टिकोणको निर्माण गरेकाछन् । लयात्मक भाषाशैलीका प्रयोक्ता कटुवाल रचना रोचक र संवेदनशील छन् । सरल, सहज र स्वभाविक भावाभिव्यक्ति, भाव गाम्भीर्य तथा तुकबन्दीयुक्त लयात्मक भाषिक प्रयोग उनको शिल्पगत वैशिष्ट हो । प्रयोगवादी धाराभित्र पनि सम्प्रेष्य र बोधगम्य कविताका रचयिता हरिभक्त कटुवाल आशा, उमङ्ग र प्रेरणाको सन्देश प्रवाह गर्ने प्रगतिवादी विद्रोही कवि हुन् ।
अधिकांश रचनाहरूमा उत्साह र जाँगरका लहरहरू सल्बलाएका पाइए पनि दुःख र वियोगका बादलले जिन्दगीको घामलाई डिब्रुगढ स्थित मेडिकल कलेजमा २०३७ साल भदौ २५ गते छोप्यो । घामको झुल्का पोखिने आँगन पनि स्तब्ध भयो । तुसारो पर्यो । हुस्सुले छोप्यो । शीतले भिज्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

लेखनमा व्यक्तिगत अनुभवबाहेक समाजलाई दिशानिर्देश गर्ने तत्त्व पनि हुनुपर्छ
