कुनै साहित्यिक समारोहबाट फर्किरहेका थियौँ हामी । गौशाला चोकमा आइपुग्दा ट्राफिकको रातो बत्ती बल्यो । मोटरसाइकल रोक्यौँ एकैसाथ । त्यतिबेला नै पत्रकार जयदेव गौतमले भन्नुभयो – “लघुकथाकार गोरखबहादुर सिंह बिरामी हुनुहुन्छ ।”
केही समयपछि फेरि जानकारी गराउनु भयो– “गोरखजी त्रिपुरेश्वरको ब्ल्युक्रस हस्पिटलमा भर्ना हुनुभएको छ ।”
मधुपर्कको समयपछि निस्किएर तुलसीहरिजी र म हस्पिटल गयौँ, सोधखोज गर्यौँ तर भेटिनु भएन । पछि थाहा भयो, उहाँलाई त आजै मात्र महाराजगन्जको टिचिङ हस्पिटलमा लगिएको रहेछ । गोरखजीलाई भेट्न साथीहरूसहित जान पाए हुन्थ्यो भन्ने लाग्यो मलाई ।
लघुकथा समाज गठनको प्रारम्भिक चरणदेखि नै छलफलमा हुनुहुन्थ्यो गोरखजी । २०६५ भदौ ५ गतेको दिन सम्झन्छु । हामी थियौँ न्युरोडको एउटा रेस्टुरेन्टमा । लघुकथा समाजको परिकल्पना गरेका थियौँ त्यही दिन; माइन्युट नै गरेर । गोरखजी, किशोरजी, ध्रुवजी, रवीन्द्रजी र मसमेत पाँच जना थियौँ । खबर नै त्यति मात्रलाई गरेको थिएँ मैले ।
समाजको उद्देश्यमा स्पष्ट भयौँ पहिला । त्यसपछि नाम राख्ने कुरामा छलफल गर्यौँ । केही प्रस्तावित नामहरू लिएर गएको थिएँ मैले । सहजै टुङ्गियो सुनाउनासाथ । लघुकथामा गर्नुपर्ने कामको अभिलेख बनायौँ । पाँच जनामा संयोजक को बन्ने ? भन्ने छलफल भयो । किशोरजीलाई प्रस्ताव गरेँ मैले, लघुकथालेखनको दृष्टिले तर मान्नु भएन अनि ध्रुवजीलाई गरेँ । उहाँले पनि मान्नु भएन । गोरखजीलाई पनि गरेँ । सबैले एकैस्वरमा प्रस्ताव गर्नुभो ममाथि । सम्पर्क छ र सङ्गठन गर्न सक्नुहुन्छ भनेपछि नाइँ भन्न सकिनँ । लघुकथा समाजको संयोजक बनेँ म ।
अर्को बैठकको दिन टुङ्गो गर्यौँ र बैठक सकायौँ । रेस्टुरेन्टको बिल तिर्न अगाडि सरेँ । गोरखजीले रोक्नुभयो र बगलीमा भएको खामबाट पैसा निकाल्दै भन्नुभयो –”म भर्खर खेलकुद परिषद्को बैठकबाट आउँदैछु । त्यहाँ पाएको भत्ता प्रयोग गर्छु किनभने आज लघुकथा समाज जन्म भएको दिन छ ।” त्यतिबेला उहाँ शिक्षा मन्त्रालयमा सहसचिव हुनुहुन्थ्यो ।

गोरखबहादुर सिंह
भदौ सत्र गते बैठक बस्यौँ दोस्रो । कार्यसमितिको गठन गर्यौँ । म अध्यक्ष भएँ । गोरखबहादुर सिंह उपाध्यक्ष, डा. रवीन्द्र समीर सचिव, कोषाध्यक्षमा सुमन सौरभ । ध्रुव मधिकर्मी, तुलसीहरि कोइराला र कृष्ण साह ‘यात्री’ लाई सदस्य बनाएर पहिलो समिति बनायौँ लघुकथा समाजको ।
गोरखजी पहिलेदेखि नै क्रियाशील हुनुहुन्थ्यो लघुकथाको काममा । “पहिरो थुप्रिएको बगर” एकसय नौवटा लघुकथाको सङ्ग्रह सम्पादन गरिसक्नुभएको थियो । पचपन्न सालमा नै प्रकाशित । संयुक्तसङ्ग्रहको प्रकाशनले लघुकथाको आकर्षण बढाउन सघाउ पुर्याएको थियो ।
समाजको गठनपछि प्रकाशनपूर्वका लघुकथाका पाण्डुलिपिमा छलफल गर्ने कार्यको सुरुवात गर्यौँ । प्रकाशनपूर्वको छलफलले लघुकथासङ्ग्रह बजारमा आउँदा गल्तीहरू कम हुने हाम्रो विश्वास थियो । गोरखजीको लघुकथासङ्ग्रह साझाबाट प्रकाशनको तयारीमा थियो ।
नगरसभाको पाँचौँ दिन, पाण्डुलिपिमाथि छलफल उहाँले घरमा राख्नुभयो । छलफलमा किशोरजी, ध्रुवजी, तुलसीजी, रवीन्द्रजी र म सहभागी भयौँ । केही ठाउँमा मिलाउने सल्लाह भयो । फेरि के लाग्यो कुन्नि उहाँलाई ? छलफलका कुनै सुझावलाई पनि प्रयोग गर्नु भएन । पुरानै पाण्डुलिपिअनुसार साझाबाट पुस्तक प्रकाशित भयो ।
अन्तःक्रियाका लागि साप फाल्चामा कार्यक्रम गर्यौँ समाजबाट २०६६ साउन २१ गते । कार्यक्रममा वरिष्ठ आख्यानकार परशु प्रधान प्रमुख अतिथि हुनुहुन्थ्यो । पुस्तकमाथि समालोचक कुमार कोइराला, पवन आलोक, धीरकुमार श्रेष्ठ, साधना प्रतीक्षा, कृष्ण शाह यात्री, चन्द्रप्रसाद भट्टराई, सिन्धु गौतम, श्रीबाबु कार्की र कृष्णदेव सिग्देलले टिप्पणी गरेका थिए । पुस्तकको प्रकाशनपूर्व छलफल गर्दा जेजस्ता टिप्पणीहरू आएका थिए लगभग त्यस्तै कुरा दोहरिएका थिए । कार्यक्रमपछि गोरखजीले छलफलअनुसार मिलाएको भए कुनै टिप्पणी नहुने रहेछ भनेर स्वीकार गर्नुभयो ।
केही महिनापछि अर्थात् माघतिर उहाँले आफ्नो कार्य व्यस्तताका कारण समाजको उपाध्यक्षमा बस्न असमर्थता जनाउनुभयो । अफिसको कारणले होला भनेर हामीले पनि सहज स्वीकार गर्यौँ । ध्रुवजीलाई उहाँको स्थानमा जिम्मेवार बनायौँ ।

श्रीओम श्रेष्ठ ‘रोदन’
लघुकथाका नियमित कार्यक्रम भइरहेका थिए । काठमाडौँबाहिर फनि सहआयोजनामा कार्यक्रम गर्न थालेका थियौँ । लघुकथाका जुनै कार्यक्रम हुँदा पनि निम्ता गर्ने नामावलीमा गोरखजी अगाडि नै हुनुहुन्थ्यो । उहाँलाई निम्तो गर्ने काम मैले नै गर्थेँ । फोनमा सधैँ आउँछु नै भन्नुहुन्थ्यो । आउनु भएन कहिल्यै । मीनभवनमा बस्नुहुन्थ्यो उहाँ । बानेश्वरमै कार्यक्रम हुँदा पनि आउनु भएन । किन नआउनुभएको होला भनेर मनमा कुरा खेल्न थाल्यो । कुनै कुरामा चित्त नबुझेको पो थियो कि ? भए पनि प्रस्टै भन्नुपर्थ्यो । कसैले भ्रम पो सिर्जना गरिदियो कि ?
सेवानिवृत्त भएको केही समयपछि नै उहाँ थलापर्नुभएको रहेछ ।
वि.सं. २०६९ जेठ २० गते सुमन सौरभको लघुकथासङ्ग्रह “चौथो लिङ्गी” को विमोचन भयो बानेश्वरमा । गोरखजीलाई भेट्न जाने कुरा गरेँ साथीहरूसँग । कार्यक्रम बिहानको थियो । सकाएर उहाँको घरमा पुग्दा बाह्र बज्न लागेको थियो । समाजका सदस्यहरू बाहेक ठाकुर, मणि र मधु पनि जानुभयो हामीसँगै ।
गोरखजीको घरमा दोस्रोपटक प्रवेश गर्दै थियौँ हामी । उत्साही थियौँ पहिलोपटक भित्रिँदा । यसपटक भने निकै कौतुहल थियौँ । भर्याङबाट एक तलामाथि उक्लिएपछि बैठक कोठामा भित्रियौँ । सबै जना बस्यौँ हामी । बैठक कोठमा गोरखजी हुनु हुन्थेन । उहाँसँग भेट्न र कुरा गर्न लालायित थियौँ हामी ।
केहीबेरपछि उहाँ आइपुग्नुभो बिस्तारै । उहाँको बिरामी अनुहार र शरीर देखेर मन खिन्न भयो । पहिला स्वस्थ हुँदाको गोरखबहादुर अहिले आधाआधी भइसक्नुभएको थियो । दुवै मिर्गौला बिग्रेर काम नलाग्ने भएपछि डायलिसिस गर्दै हुनुहुँदो रहेछ । गलेर थकितजस्ता आँखाहरूमा कुनै उत्साह थिएन । हामी देखेर हाँस्नुभयो तर शारीरिक शिथिलताले उन्मुक्त थिएन । केही कुरा गर्नुभयो तर थाकेको आवाजले । डा. रवीन्द्रले कागजपत्र हेर्नुभयो । केही सल्लाह पनि दिनुभयो । समग्रमा उहाँको आवाजमा निराशा बढी झल्किन्थ्यो ।
“जीवनमा जे गरियो, भोगियो त्यही नै ठूलो कुरा भयो । रोग पनि यस्तो लाग्यो अब । उमेर पनि भइहाल्यो नि भन्नेजस्ता आशयका कुरा गर्नुभयो । अरूले पनि उत्साहका कुरा गरे । मैले राष्ट्रकवि माधव घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीको उमेर, उत्साह र सक्रियतालाई हेरेर हामीले बाँच्न सिक्नुपर्ने बताएँ । डायलिसिसका लागि हस्पिटल जानेबेला हुन लागेको रहेछ । स्वास्थ्य लाभको कामना गर्दै बिदा मागेर फर्कियौँ हामी ।
अर्कोपटक आउँदा तपाईँ तगडा भएको देख्न पाइयोस् भन्दै छुट्टिएको थिएँ म । भयो ठीक विपरित । त्यही भेट नै हामी सबैको अन्तिम भेट बन्यो । त्यही बिदावारी नै अन्तिम बिदा बन्यो । दुर्भाग्यले भयो नै त्यस्तै ।
गोरखबहादुर सिंह साहित्यकार त हुनुहुन्थ्यो नै । एक दर्जन कृतिका स्रष्टा पनि । लघुकथाको विकासका लागि प्रतिबद्ध हुनुहुन्थ्यो त्यत्तिकै । लघुकथा समाजको संस्थापक उपाध्यक्ष । नेपाल सरकारको कुशल प्रशासकका रूपमा स्थापित हुनुहुन्थ्यो । व्यक्तित्व र व्यवहारले गर्दा गोरखजीको परिवारका निम्ति हुन सम्मको क्षति भयो । नेपाली साहित्यले एक जना क्रियाशील साहित्यकारलाई गुमाउनुपर्यो । लघुकथाका लागि अग्रज अभिभावकको अभाव गराउनुभयो ।
मानिस जन्मनु र मृत्यु हुनु ठूलो कुरो होइन, स्वाभाविक प्रक्रिया हो । जीवनको एकमात्र सत्य भनेकै मृत्यु हो । मानिस जन्मेपछि नमर्ने कोही हुँदै हुँदैन । जन्मसँगै आएको हुन्छ मृत्यु पनि । असामयिक भएको मात्र हो उहाँको निधन । सामाजिक र साहित्यिक व्यक्तित्व हुनुभएकाले पनि बढी चित्त दुखाइ भएको हो ।
लेखकीय सम्बन्ध आफ्नो ठाउँमा छ उहाँको । मित्रहरूप्रतिको सद्भाव पनि हार्दिक थियो । सरकारको उच्चपदस्थ कर्मचारी हुनुहुन्थ्यो । कहिले देखाउनु भएन हाकिमी पारा । सजिलो बन्नुहुन्थ्यो साथीहरूसँग सधैँ ।
एकपटक उहाँले ५४५० मिटर अग्लो थोराङलाको यात्रा गरेर आउनुभयो । दश दिने पदयात्राको निकै प्रशंसा गर्नुभयो । जीवनमा एकपटक गर्नैपर्ने यात्रा भनेर प्रोत्साहित गर्नुभयो । उहाँको बयान सुनेर म निकै आकर्षित भएको थिएँ । संयोगले अन्नपूर्ण प्रकृति संरक्षण कोषले आयोजना गरेको संरक्षण कवितायात्रामा सहभागी हुने अवसर पाएँ २०६५ मा ।
सम्झिरहेछु त्यो दिन पनि । उच्च माध्यमिक विद्यालयको परीक्षा नियन्त्रक हुनुहुन्थ्यो त्यस समय । मधुपर्कमा आउनुहुँदा कुराकानीको सन्दर्भमा प्लस टुको परीक्षामा घुम्न चाहनुहुन्छ भन्नुभयो । मैले रहर गरेँ, सम्पादक कपिल घिमिरेले पनि इच्छा गर्नुभयो । वि.सं. २०६१ सालको एघार र बाह्र कक्षाको परीक्षामा विशेष सुपरिवेक्षणको व्यवस्था गरिदिनुभयो ।
परीक्षा सुरु हुने दिन नै हामी परीक्षा नियन्त्रणको कार्यालय, सानोठिमी पुगेका थियौँ । त्यतिखेर उहाँ मिटिङमा हुनुहुन्थ्यो । सक्किनासाथ हामी भित्र गयौँ र उपत्यकाका सम्पूर्ण परीक्षा केन्द्रमा सहज सुपरिवेक्षण गर्न सक्ने परिचयपत्रको व्यवस्था गरिदिनुभयो । परीक्षा अवधिभर हामीले काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा गएर सुपरिवेक्षण गर्यौँ ।
परीक्षा सकिएपछि हामी पुगेका परीक्षा केन्द्रहरूका बारेमा उहाँलाई प्रतिवेदन बुझायौँ । प्रतिवेदन हेरेर गोरखजी छक्क पर्नुभयो । रमाइलाका लागि दुईचार ठाउँमा जालान् भन्ने सोच्नुभएको रहेछ उहाँले । हामीले दिइएको जिम्मेवारीमा पटक्कै बेइमानी गरेका थिएनौँ । यसरी फरक क्षेत्रको अनुभवका लागि म गोरखजीले गर्नुभएको सद्भावलाई कसरी बिर्सन सक्छु ?
२०६५/०६६ तिर जस्तो लाग्छ । शिक्षा दिवसको उपलक्ष्यमा प्रदान गरिने पुरस्कार, पदक तथा विभूषण पाउनेमा मेरो नाम पनि आयो । साहित्यकारका रूपमा प्रंशसापत्र पाउनेमा मेरो नाम थियो । गोरखापत्रमा नाम छापिएपछि केही साथीहरूले फोन गरेर बधाई पनि दिए । म भने अलमलमा थिएँ । शिक्षा दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालयले दिने सम्मानमा मेरो नाम कसरी आयो भन्ने जिज्ञासा लागिरहेको थियो ।
आफू सम्बद्ध नभएको क्षेत्रको पुरस्कार, सम्मानको कुनै अर्थ थिएन मेरा लागि । त्यसप्रति कुनै चासो राखिनँ र लिन पनि गइनँ । असम्बन्धित क्षेत्रमा मेरो नाम कसले सिफारिस गर्यो भन्ने जिज्ञासा मैले अहिलेसम्म मेट्न पाएको छैन । कताकता गोरखजीले नै सिफारिस गर्नुभएको पो हो कि भन्ने लाग्छ । मैले उहाँलाई कहिले सोधिनँ र उहाँले पनि मलाई कहिले भन्नु भएन ।
लघुकथासम्बन्धी कुनै पनि सन्दर्भ आउनासाथ सधैँ सम्झनामा आउनुहुन्छ । लघुकथाको विकासका लागि उहाँले गर्नुभएका कामहरू कहाँ हराउँछन् र ? लघुकथा समाजको संस्थापक उपाध्यक्ष भएर गर्नुभएको योगदानलाई कसले बिर्सन सक्छ र ? इतिहास कहिले मेटिने छैन । भौतिक रूपमा पो हुनुहुन्न तपाईँ गोरखबहादुर सिंह । सिर्जनामा कहाँ हराउनुभएको छ र ? बाँच्ने भनेको अक्षरमा नै हो गोरखजी । बाँचुन्जेल मात्र बाँच्ने जीवन के जीवन ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

