कसैलाई चिनेँ भन्नु एउटा स्वादिलो भ्रमजस्तै रहेछ । मान्छेले मान्छेलाई चिन्नुजस्तो गाह्रो अरू केही हुँदैन रहेछ । देख्दैमा, भेट्दैमा, सहकार्य गर्दैमा कसैले कसैलाई चिन्न सकिँदैन । हो, चिनेजस्तो भने मज्जाले लागिरहन्छ । भन्ने हो भने आफू र आफ्नै परिवारलाई त पूर्णाङ्कमा चिन्न सकिँदैन । जाबो एउटा जीवनमा कतिलाई चिनेर साध्य ? आफैँलाई त राम्ररी चिन्न सकिँदैन साँच्चै भन्ने हो भने । नत्र किन पश्चात्ताप र आत्महत्याका समाचारहरू बढिरहन्छन् ?

त्यसै पनि म मान्छे चिन्न कमजोर मान्छे । जो सुकैसँगको भेटमा पनि । कसैसँग भेट हुँदा अल्जेब्राका अङ्कहरूजस्तै अलमल लाग्छ मलाई प्रारम्भमा । केहीपटकको भेटले भने सूत्र फेला परेजस्तो लाग्छ । सूत्र जानेपछि हिसाबजस्तो सजिलो अरू केही हुँदैन । मान्छे पनि एउटा त्यस्तै हिसाब हो । जसको ठ्याक्क मिल्ने सूत्र जान्नुपर्छ । यही कारण धेरै क्षेत्रका धेरै चिनेँ कि भन्ने लाग्थ्यो मलाई तर होइन रहेछ । साँच्चै नै मीठो भ्रम स्वाद मानेर चपाइरहेको रहेछु । होस् र भइरहोस् पनि यस्तै । रमाइलो पनि यसैमा छ । जसलाई पनि एब्स्ट्र्याक्टमा हेर्ने, पानीको ऐनामा जस्तै, बादलको आकारमा जस्तै । हेरुन्जेल चिनिने, दायाँबायाँ गर्नासाथ किरिङमिरिङ रेखाहरूजस्तै । फुस्काउन नसकेका गाँठाहरूजस्तै । यस्तै त हो नि जीवन; रेखैरेखा, गाँठैगाँठाका ।

शशी भण्डारी

शशी भण्डारी पनि एउटा एब्स्ट्र्याक्ट चित्र नै हो । जसले जसरी बुझ्न खोज्यो, त्यसरी नै बुझ्न सकिने । यो समाज नै छ यस्तै । जसले जस्तो व्यवहार गऱ्यो त्यसले त्यस्तै व्यवहार पाउन सक्ने । खेतमा जे रोप्यो, त्यही नै फल्ने हो । हो नै, पसलमा जति पैसा दियो, त्यति बराबरको पो सामान दिन्छ साहूले । थोरै दिएर धेरैको अपेक्षा गर्नु भनेको एउटा रोपेर अर्कोको आशा गर्नुजस्तै हो । जति कराए पनि, जति शक्ति खर्च गरे पनि, जति नै तपस्या गरे पनि हुने कुरा होइन । यस्तोमा हठ गर्नु आफ्नो काँधमा मूर्खको साइनबोर्ड झुन्ड्याउनु वा दिमागका नटहरू ढिला भएको प्रमाणित गर्नुभन्दा अरू के नै हुन्छ र ?

सम्पर्क माध्यम साहित्य नै हो हाम्रो । भेट पनि साहित्यिक नै । शशी दाइ भने साहित्यमा मात्र हुनु हुन्न । चिनिने धेरै ठाउँ छन् उहाँका । गीत लेख्नुहुन्छ, गाउनुहुन्छ । लेकाली नेपालको साङ्गीतिक यात्राको सँगालो निकाल्नुभएको छ । पर्यटन पनि उहाँकै क्षेत्र हो । संस्मरणबाट साहित्यमा कृतिकार बन्नुभयो । अनुवादक पहिलेदेखि नै । कविता, तान्का, हाइकु, उपन्यास, कथा धेरै विधामा बाँडिएका छन् उहाँको कलम । सङ्ग्रह पनि आठवटा भइसके । गतिलै सिर्जनशील हुनुहुन्छ कलममा ।

त्यसै पनि कलमको क्षेत्र ठूलो छ । ठूलाको सीमा नै छैन । लेखक जहाँ गए पनि लेखकै हुन्छ । सिर्जनशीलताको डाहा गरेर के पो हुन्छ र ? भोकाएको बेला अन्न भण्डारको ईर्ष्या गरेर हुन्छ र ? ईर्ष्या नै गरे पनि न उसको पेट भर्छ न साहूको भण्डार कम हुन्छ । स्रष्टाको परिचय छाप हात्तीजस्तै प्रस्ट हुन्छ । कसैले चाहँदैमा र नचाहँदैमा लेखकत्वमा केही फरक पर्दैन । न हटाउन सक्ने न मेट्न सक्ने । ब्ल्याकबोर्डमा चकले लेखेका अक्षर हुन् र एकैपटकमा मेट्न सकिने । स्रष्टा भनेको प्रकृति नै हो । समय आएपछि परिवर्तन भइहाल्ने, कसैले रोकेर रोक्न नसकिने । सूर्यको किरणलाई हत्केलाले छोपेर कहाँ ढाक्न सकिन्छ र ?

अलिअलि कुरो चुहिने गरेको छ साहित्यमा तारे होटलको । अन्य धेरैलाई जस्तै शशी दाइमाथि पनि छ । यो खासै आरोप होइन । अङ्गुर अमिलो छ भनेजस्तै । लेखकको परम्परागत इमेजमा फरक नस्विकार्नेहरू । क्लासरुमको डेस्कबेन्चबाट माथि उठ्न नचाहनेहरू । साहित्यिक नास्तामा, चिया समोसाभन्दा कल्पना गर्न नसक्नेहरू । तिनीहरू नै हुन्, तारे होटलको निम्तामा सबैभन्दा अगाडि पुग्ने फेरि । निम्ता गर्न लगाएर पनि पुग्नेहरू कति छन् कति ? अलिअलि बोतलमा रङ्गिन थालेपछि उठाउने गर्छन् तिनीहरू नै तारे होटल र लेखनका कुरा, पैसा र सिर्जनाका कुरा ।
लेखक—कवि गरीबै हुनुपर्छ भन्ने गरीब मानसिकता मात्र हो भन्ठान्छु म । अलिकति हुनेखानेहरू लेखनमा आउनु, कार्यक्रमलाई विस्तार गर्न खोज्नु, राम्रै हो भन्ठान्छु । आखिर सक्नेले त गर्न हो नि । होटेलमा कार्यक्रम हुन थालेर अन्य कार्यक्रमको अलिकति पनि इज्जत घटेको छैन र घट्ने पनि छैन ।

श्रीओम श्रेष्ठ ‘रोदन’

यस्ता आरोप अरूलाई पनि लाग्ने गरेका छन् । पैसाको बलले लेखक बने भनेका छन् । यो सम्भव हुने कुरै होइन । पैसाले कसरी लेखक बन्छन् ? नत्र कुन व्यापारी साहित्यबाट टाढा बन्न खोज्छन् होला ? नत्र कुन भ्रष्ट नेता असाहित्यिक भइरहन्छन् होला ? हो, पैसाले किताब छापिएला, क्षणिक चर्चा पनि पाइएला, त्यो बेग्लै कुरा हो । बालुवामाथि गुलाफका फूल एकैछिन सजाउन सकिएला तर उमार्न त सकिँदैन नि । कहिलेकाहीँ चित्त पनि दुख्दो हो । अरूले पनि चित्त दुखाउँदा हुन् तर निरर्थक तर्कमा सिर्जनशील चित्त दुखाउनु पनि सार्थक हुँदैन । कसैले पनि कसैको उचाइ घटाउन गोडामा करौँती लगाउन सक्ने होइन क्यारे ।

भन्नेहरू भनिरहुन् । भनेर केही खर्च हुने होइन । फेरि भन्नलाई कसलाई पो बाँकी राखेका छन् र भन्नेहरूले । कसैको राम्रो रचना हुँदा कलम अर्कैको भने, कसैले कलम आफ्नो भए पनि मसी अर्कैको भने । कसैले मसी आफ्नै भए पनि दिमाग अर्कैको भने । भन्नेहरू जे हुँदा पनि भनिरहन्छन् । भनेरै थाकून् भन्नेहरू । मुख थुनेर कहिल्यै सकिने होइन । करोडौँ छन् मुखहरू । नबोलुन्जेल छुट्याउनै सकिँदैन त्यस्ता मुखहरू । त्यसैले आजसम्म भन्नेहरूबाटै अछुतो रहन सकेका छैनन् कोही पनि । सायद आरोप जीवनको पर्याय बनिसकेको छ अहिले । भन्नेहरूको पछाडि लाग्न थाल्यो भने कहिल्यै कहीँ पुग्न सकिँदैन । जुनसुकै यात्रामा पनि अवरोध हुन्छ । भन्नेहरूलाई भन्न दिइरहनुपर्छ । यो उनीहरूको चारित्रिक स्वतन्त्रता हो । होस् र भइरहोस् पनि । उनीहरू भनिरहन्छन्, गर्नेहरू अगाडि बढिरहन्छन् । भन्नेहरू भन्दा जुनै अदालतमा पनि भारी हुन्छन् गर्नेहरू र भइरहेका छन् ।

मनास्लु होटलमा पहिलो भेट भयो हाम्रो । परिचय भएको तर परिचित नभएको । भीडको परिचय । हिरण्य भोजपुर दाइको विमोचन कार्यक्रम ‘छिटेन र गोरी’ को । लेकाली भएकाले गीत पनि सुनाइएको थियो, पुराना तर अत्यन्तै लोकप्रिय रेडियोका गीतहरू । कुरो २०५५ साउनतिरको हो । कार्यक्रमपछि खानापिना चल्यो । त्यहीबेला भएको हो हाम्रो परिचय ।

त्यही दिनको साइतले होला यो धर्तीमा हुन्जेलसम्म सँगसँगै हिँडिरह्यौँ हामी । विविध क्षेत्रका एक व्यक्तिसँग आठ वर्षसम्मको यात्रा सुगम भइरहनु सजिलो होइन तर भइरह्यो । यसबीच शशी दाइका थुप्रै पुस्तक निस्किए । केही पुरस्कारले सम्मानित हुनुभयो । हाम्रो सम्बन्धको पुल नै लेखन हो । हामीलाई छुट्याउन सकेको त्यसैले । जीवनका अन्य क्षेत्रमा गुडिरहेका छौँ हामी आ—आफ्नै गतिमा । आ—आफ्नो काममा एकअर्काको संलग्नता छैन तर पूरै असंलग्न पनि होइन । धेरै मतलब राख्ने कुरा पनि होइन भन्ठान्छु ।

आठ वर्षले अङ्क मात्र परिवर्तन गराएको छैन । धेरै—थोरै जे भए पनि बाग्मतीमा पानी बगिरहेकै छ । बाटो बनिरहेको पनि छ र भत्किरहेको पनि छ । उक्लने उक्लिरहेका छन् र ओर्लने ओर्लिरहेका छन् । निमेष—निमेषको समयले मान्छेलाई कहाँबाट कहाँ पुऱ्याउने गरेको छ । इन्टरनेटमय समयले मान्छेलाई पनि इन्टरनेट नै बनाउन खोजिरहेको छ । समयले गर्दा शशी दाइले कति परायालाई आफ्नो बनाउनुभयो होला । कति आफ्नोलाई पराया पनि बनाउनुभयो होला । नछोड्नुपर्ने छोड्नुभयो होला, कति छोड्नैपर्नेहरू छोड्न नसक्नुभएको होला ।

सन्दर्भ पनि यी र यस्तै हुन् । हामीबीच त्यस्तो कुनै पहाड उम्रेन । हामीले कविता प्रतियोगिता गऱ्यौँ, विमोचन र अन्तःक्रियाहरू गऱ्यौँ । कार्यक्रमको निम्तो पठायौँ । फोन गरी—गरी लेखकहरूलाई बोलायौँ । धेरैपटक कविताको निर्णय गऱ्यौँ र कविहरूको बायोडाटा बढाइदियौँ । हामी भनेको शशी दाइ र म मात्र हैन । अरू पनि धेरै छन् । म भएर मात्र भएको भन्ने अर्थ होइन ।

हामी इलामसम्म सँगै गुडेका छौँ । जोमसोमसम्म उडेका छौँ । अरूका सबै खुवाइ, पियाइ, हिँडाइ र गुडाइहरू त कति हुन् कति । यी यात्राहरूले गर्दा मैले उहाँलाई धेरै चिनेँ भन्ने लाग्थ्यो तर बढी त उहाँले नै चिन्नुभयो कि ? मलाई यस्तै लाग्छ । उहाँले मेरो रेखा—रेखा कोरेर कविता लेखेको भएर भनेको होइन । हामीले विश्वासमा धेरै काम र कुरा गरिरहेका छौँ । आत्मविश्वासले बाक्ला कुरा पनि भएका छन् । आखिर मनको कुरा मनलाई बुझ्नेलाई त हो नि ।
यति लामो साथ र सान्निध्य भने त्यतिबेला भएको हो जतिखेर उहाँको अफिस राष्ट्रिय नाचघरको ढोकैअगाडि थियो । त्यहीबेला उहाँ स्वर्गवासी रानीको जन्मोत्सवको साहित्यिक कार्यक्रमको संयोजक हुनुहुन्थ्यो । त्यसमा प्रत्यक्ष डा. हरि शर्मा र रोशन थापा हुनुहुन्थ्यो । पछि म पनि डाकिएँ । म साहित्यको लागि जहाँ डाक्दा पनि हार्न सक्दिनँ । अवसर के हो भन्ने भन्दा पनि काम के हुन्छ भन्नेलाई महत्त्व दिन्छु ।

जुन दिन हामी संयुक्त भयौँ, कार्यक्रम नजिकिइसकेको थियो । त्यति नै बेला डा.हरि शर्मा विदेश जानुभयो अफिसको काममा । बाँकी हामी तीन जना भयौँ । हामीले राति अबेरसम्म बसेर काम गऱ्यौँ, प्रतियोगिताका लागि कविताको आह्वान गऱ्यौँ, कवितासङ्ग्रह निकाल्यौँ, कार्यक्रम गऱ्यौँ र पुरस्कार दियौँ । यही कारण शशी दाइ साहित्यमा बढी चिनिनुभयो । सरसङ्गतको ऊर्जाले लेख्न थाल्नुभयो । त्यसबेलाका क्षणहरू अहिले सम्झँदा पनि रमाइलो लाग्छ ।
यात्रा हामीले धेरै घण्टाहरूको गरिसकेका छौँ । रातहरू पनि सँगै बिताइसकेका छौँ । एकपटक नमिल्ने कुरामा उत्पात कराउनुभयो । अबदेखि हामी नभेटौँ भनेर छुट्टियौँ पनि सल्लाहले तर भोलिपल्टै माफी मागेर पठाउनुभयो पत्र ।
साठी सालमा मुक्तिनाथ पुग्दाका दिनहरू कसरी बिर्सनु ? राजेशजीको दम्पती, शशी दाइ र म गएका थियौँ ।

पोखराबाट प्लेनको टिकट नपाएर हत्तु । बल्लबल्ल टिकट पायौँ । राजेशजी र शशी दाइ एउटामा, भाउजू र म अर्को प्लेनमा । आखिर यात्रु भनेको हामी बाहेक एक—दुई जना मात्र अरू । कसरी बिर्सनु ? त्यत्रो गाह्रो गरेर लिएको टिकटको प्लेन खाली—खाली भएको । कागबेनीमा थाकेर पल्टेको, घोडा चढ्न भाउ गरेको, दोर्जे रिसाएको, जोमसोम फर्कँदा रात परेको, थाकेका पैताला र आत्तिएको मन । भोलिपल्ट बिहान एक्लेभट्टीको बगरैबगर हिँडिरहेका थियौँ । शशी दाइले मुक्तिनाथमा पुगेर चुरोट छोडेको सुनाउनुभयो । म निकै खुसी भएँ ।

उहाँलाई खोकीले दुःख दिइरहेको थियो । एकातिर हिमाली चिसो हावा, अर्कातिर अनवरत सल्किइरहने चुरोट । घरपरिवारको चिन्ता पनि चुरोट नै थियो । मुक्तिनाथको यात्रा शशी दाइलाई जति गाह्रो भए पनि उपलब्धिमूलक हुने भयो भन्ने ठानेँ तर काठमाडौँ फर्किएको केही समयपछि एक दिन फेरि चुरोट च्यापेको देखेँ । मैले प्रश्न गर्नुपूर्व नै जवाफ दिनुभयो, “यो उपन्यास सकाउन खोजेको चुरोट, नभएर सक्दै सकिनँ ।”

सायद त्यही उपन्यास हुनुपर्छ ‘विचलन’ । त्यसको विमोचन ऐतिहासिक दिनमा अविस्मरणीय रूपमा गरेका थियौँ । उपन्यास प्रेसबाट निस्किएपछि विमोचनको कार्यक्रम मिलायौँ । निम्तोपत्रहरू यथास्थानमा पुगिसकेका थिए तर जनआन्दोलन २ का कारण स्थगित गर्नुपऱ्यो । उपन्यासको प्रकाशक सारांश नेपाल थियो । त्यतिबेला मेरो अमेरिका जाने दिन नजिकिँदै थियो । वैशाख १५ गते उड्ने टिकट बनिसकेको थियो । हरेक दिन आन्दोलन र कर्फ्यू चलिरहेको थियो । छापिएर आइसकेको कृतिलाई थुनेर राख्न कसलाई पो मन लाग्छ र ? बिक्रीवितरणमा पठाउनुपूर्व एउटा औपचारिक कार्यक्रम होस् भन्ने शशी दाइको चाहना र मेरो पनि ।

सारांश नेपालको प्रकाशन थियो र म अध्यक्ष थिएँ । केही महिना बिदेसिन लागेकाले झन् बढी चाहना मेरो थियो । प्रत्येक दिन सम्पर्क र सल्लाह गर्थ्यौँ तर सम्भव हुन्थेन । हुँदाहुँदै वैशाख ११ गते जसरी भए पनि विमोचन गर्ने टुङ्गो गऱ्यौँ । प्रमुख अतिथि डायमनशमशेर राणा र प्रमुख वक्ता कृष्णचन्द्रसिंह प्रधानलाई फोन गरेर अनुरोध गरेँ । बाध्यता देखाएपछि नमान्ने कुरै भएन । त्यो दिन पाँच बजे कर्फ्यू खुल्यो । कर्फ्यू खुल्नासाथ कृष्णचन्द्रसिंह दाइलाई लिएर हामी ललितपुर ज्वागलमा डा.केदार कर्माचार्यको घरमा पुग्यौँ । उहाँ डायमनशमशेरको छिमेकी र बुढ्यौली मित्र पनि । त्यसैले ठाउँ त्यही रोजिएको थियो ।

साँझको सात बजे कोठामा ब्यानर टाग्यौँ । कार्यक्रमको सञ्चालन मैले गरेँ । प्रमुख अतिथि डायमनशमशेर, प्रमुख टिप्पणीकार कृष्णचन्द्रसिंह प्रधान, अतिथि र व्यवस्थापक डा.केदार कर्माचार्य र आयोजकमा म एक्लै । जम्माजम्मी हामी पाँच जनाले संयुक्त विमोचन गऱ्यौँ । सबैद्वारा पुस्तक मन्तव्य प्रकट र कार्यक्रम समापन । खानपिनपछि हामी नौ बजेतिर निस्कियौँ । त्यो रात खाना खान सपरिवार ओमबहालमा दिदीले डाक्नुभएको थियो । अबेर त भइसकेको थियो तैपनि हतारिएर पुगेँ । केहीबेरमै टेलिभिजनमा सूचना आयो—राति साढे एघार बजे राजाको विशेष सम्बोधन हुने रे । रात त्यहीँ बितायौँ हामीले । राजाको सम्बोधनबाट संसद्को पुनःस्थापना र लोकतन्त्रको स्थापना भयो । यसरी ‘विचलन’ को विमोचन जति अनौठो ढङ्गले भयो त्यति नै ऐतिहासिक दिनमा हुनपुग्यो । सहज मात्र होइन, असहज परिस्थितिमा पनि सँगै सफल भएको दृष्टान्त हो ।

शशी दाइसँग मिलेर धेरै काम गऱ्यौँ हामीले । मित्रताको सबैभन्दा ठूलो उपलब्धि भनेको पनि यति नै हो । नाफा—घाटाको हिसाब नहुने काममा यहाँभन्दा ठूलो अरू के नै हुन सक्छ र ? नठान्नेहरू पनि होलान् । मित्र पाउनु, विश्वास कमाउनुलाई जीवनको उपलब्धि नै भन्छु म ।

हो, समय—परिस्थितिले बहकिन सक्छन् मनहरू । कहिलेकाहीँ भनेको कहिलेकाहीँ नै हो । हो, मानिस स्वयंमा पूर्ण हुन्छ नै तर सधैँ पूर्णता प्रकट गरिरहन सक्दैन । नत्र किन एउटै मान्छे कहिले भगवान्‌जस्तो र कहिले राक्षसजस्तो बन्न सक्छ ? कमजोरी नहुने को नै हुनसक्ला र ? भगवानै पनि अछुता छैनन् तर त्यसैलाई ऐनाजस्तो देखाइरहनु हुँदैन । ठूलो र राम्रो काम गर्न पनि साना र नराम्रा कुराहरू बिर्सिँदै जानुपर्छ । सबैभन्दा ठूलो कुरा प्रतिबद्धता हो । प्रतिबद्धताका अगाडि जस्तै सुनामी पनि झुक्छन् र झुकेका छन् ।

आखिर दुईवटा ढुङ्गा ठोकिँदा त आगोको झिल्का निस्कन्छ भने हामी अक्षरकर्मीहरूको साथ र मित्रता सधैँ परिणाममुखी हुन्छ, हुन्छ । यही विश्वास हो मेरो । अरू के भनौँ म । तपाईँ त्रिसठ्ठी सालमा साठीको हुनुभयो । भएर पनि साथी हुन पाएकोमा खुसी छु । तपार्इँको साठीले सिर्जना र मित्रतालाई अझ ऊर्जाशील र उपलब्धिमूलक बनाइरहन सकोस् ।