कुनै पनि देश समृद्ध हुन कलम र चेतनाले जति प्रभाव पार्छ त्यति अरू कुनै साधन स्रोतले हत्तपत्त पार्दैन भन्ने कुरामा दुई मत छैन । जब चेतनाका कुराहरू अक्षर बनेर जनमानसमा पुग्छ तब चिन्तनको बाटो खोल्न सजिलो हुन्छ । जसरी नदीले अनेक ठक्कर खाएर पनि आफ्नो बाटो आफैँ बनाएर गति दिन्छ त्यसरी नै त्यस्ता मानिस पनि जीवनगतिका लागि संवेदित भैरहेको हुन्छ र ऊ ती संवेदनाका स्वरहरू सुनाउन उद्वेलित हुन्छ । बौद्धिकताका साथ चेतनाबाट उत्पन्न भावका तरङ्ग जनमानसमा अर्थात् देश देशान्तरमा पुग्नका लागि एउटा ठोस माध्यम चाहिन्छ । यदि यसो भएन भने जतिसुकै बौद्धिकताको गहिराइले चेतनाका कुरा लेखे पनि गर्भमा नै रहेर त्यही तिनीहरूको अवसान हुन्छ ।
ज्ञानका कुरा आफैँमा मात्र सीमित रहे के अर्थ र ? यो त बाँड्ने कुरा हो फिँजाउने आयाम हो । त्यसैले आफूले जानेका कुरा अरूलाई पनि भन्नु महत्त्वपूर्ण हुन्छ । हामीले सिकेको दर्शन र नैतिक समर्थनमा यही अनुभूत गर्दै आएका छौँ ।
समयको सेरोफेरोमा अल्झेर बहकिनु ठिक हो कि होइन मलाई थाहा छैन तर किन हो नेपाली साहित्य जगत्मा दुई कर्ममा विभाजित एकजना विशिष्ट स्रष्टा र एउटा अब्बल साहित्यिक पत्रकारबारे लेख्ने अभिष्ट राख्दैछु । मेरो यस आलेखका नायक रूपमा साहित्यकार र साहित्यिक पत्रकार रोचक घिमिरेको साहित्यिक दुई कर्म भनौँ । आफूले बाँचेको समयलाई परिस्थितिको कलेवरमा रङ्गाउने क्षमता वा चेतनाका कुरा लेख्न आफूले जानेर वा बुझेर जीवन्तता दिन पूर्ण र सम्पूर्ण नभए पनि सारत्व प्रकाश पार्नु उहाँको गहिरो तह भएको ठान्छु । रोचक घिमिरे त्यस्ता बिम्ब लाग्छ जो मेरो पत्रकारिताको प्रारम्भिक चरणदेखि नै ज्ञान नै नभएकी मलाई सद्भावको बाटो हिँडाउने मन्त्र दिनुभयो ।
सबैको जीवनका केही गुण केही अवगुण हुन्छन् तर रोचक दाइका अवगुण भेट्नै मुस्किल हुन्छ सायद । अत्यन्त सुमधुर, सरल अनि आत्मीय शैलीमा कुरा गर्ने उहाँले असजिलो सबै हटाएर सहज बनाइदिनुहुन्छ । मन हलुको पारेर एउटा ठूलो युद्धमा विजय हुन सक्ने उत्साह थपिदिन खप्पिस उहाँलाई ठान्छु । सबै मानिसले अरू मानिसलाई आफ्नो ठानेर सहयोग गर्ने, सुखदुःखमा सद्भाव राख्ने गर्दैनन् तर उहाँमा यो गुण भएको पाउँछु । जहाँ गए पनि खोजखबर गर्ने र स्थितिअनुसार सुझाव दिएर रेचकदाइले मप्रति राखेको सद्भाव, भाउजुको स्नेह र भाइहरूको नम्रताबाट म बारम्बार पुलकित भएकी छु । रोचक दाइबाट नै सुनेको एउटा ऐतिहासक प्रसङ्ग उपयुक्त नै होला जस्तो लागेर राख्ने अभिष्ट गरे ।
जब देवकोटा बिरामी भएर कलकत्ता उपचारका लागि गएका थिए त्यसबेला रोचक दाइका बुबा पनि कलकत्तामा जाँदा आफ्ना हितैषी बिरामी देवकोटालाई हेर्न जानुभएछ । त्यसबेला देवकोटाले जीवन हारेको कुरा गरेर `पण्डितजी अब म बाँच्दिनँ होला । मलाई आफ्नै देशमा मर्न मन छ तर देश फर्कनेसमेत पैसा भएन`भनेर निराश हुनुभएछ । यसैबेला केही पैसा बोकेर जानुभएका रोचक दाइका बुबाले कति पैसा चाहिन्छ कविजी भनेर सोध्नुभयो रे । कविजीले ५०० कं रू (त्यसबेला भारूलाई कं रू भन्थे ) भए पुग्छ भने पछि ५०० कं रू दिनुभयो । पैसा दिएको बुबाले कागज गर्न मान्दै नमानेपछि नेपाल फर्केर देवकोटाले मलाई बोलाउन उनका भाइलाई पठाए । रोचक नभई आत्माराम या घननाथ भनिने म देवकोटाकामा गएपछि बुबाबाट ५०० कं रू लिएको कुरा गर्दै बुबालाई नभन्ने सर्तमा एउटा पहाडे कागजमा हजुरबुबा जन्ममिति सबै तीनपुस्ते खुल्ने गरी लेखेर दिनुभयो । यत्रा कविले लेखेको त्यो कागजलाई बहुमूल्य सोचेर कागज लिँदै घर आएर हेर्दा त छक्क परेँ । त्यो कागजमा रित पुराएर ।
”मैले यो मितिमा फलानेसँग घर खर्चका लागि लिएको ५०० कं रू को जमलस्थित लीला शमसेरबाट प्राप्त एक रोपनी जग्गाबाट आधा रोपनी ( आठ आना ) जग्गा मेरो राजीखुसीले दिएँ ।” भनेर बकसपत्र पो लेखेको रैछ । मलाई जग्गा भन्दा देवकोटाका अक्षरको बढी महत्त्व थियो जतनले राखे कसैलाई नभनी । बुबालाई पनि नभनी । समय बित्दै गयो देवकोटाको देहवसान भयो । देवकोटाको ऋण सरकारले तिरिदिने भयो अनि मलाई पनि साहू तिर्न बोलाइयो । त्यसबेला देवकोटाका जेठा दाजुले नानी भाइले कुनै कागज गरेर दिएको छ भनेर सोध्दा छ भनेँ । अनि त्यसपछि त्यो कागज लिएर आऊ अनि पैसा लैजाऊ भनेपछि त्यो दिन त्यत्तिकै घर आएर भोलिपल्ट कागज लगेर उनको हातमा दिएँ । दाजु पैसा त दिए तर त्यो कागज त्यसैबेला चर्चर्ती च्यात्दा मेरो मुटु कर्दले रेटेजस्तो अनुभूति भएको स्मृति नमीठो मान्दै हामीलाई सुनाउनुभयो ।
मान्छेको मूल्यमान्यताका पर्खालहरू भत्किएर जीवनको सारत्व पनि शून्य भइरहेको परिस्थितिमा माझिएको लेख लेख्न सक्ने रोचक घिमिरे सम्पूर्णताको उचाइमा रहेर पनि साहित्यिक पत्रकारिताबाट नै सन्तुष्ट भएर यसैमा अनवरत हिँडिरहने यात्रीजस्तो लाग्छ । तर यो पनि के हो आफैँले अन्दाज गरेका सबै कुरा सही हुन्छ भन्नु पनि आफैँलाई भ्रमजस्तो हुन्छ कहिलेकाहीँ । जे होस्, लेख्नुभन्दा लेख्नेहरूको माया गर्ने र अक्षरको बाटो हिँडाउन मन गर्ने रोचक दाइलाई रचनाका पर्याय मानिन्छ । रचनाका सारथि ठानिन्छ । कतिकति लेखकका रचनालाई पहिलोपटक स्थान दिएर राष्ट्रियस्तरमा स्थापित भए भने कतिले आफ्ना सिर्जना रचनामा प्रकाशित भएपछि सहज बाटो बनाएर हिँड्दै अघि बढेका पनि छन् । यसमा कोही लेखकहरू रचनाप्रति कृतज्ञ छन् कति कृतघ्न पनि नभएका हैनन् ।
निजीस्तरबाट साहित्यिक पत्रिका चलाउन सहज छैन । त्यहीँ पनि ठूलाठूला सुविधा युक्त प्रकाशन सरकारी र गैरसरकारी कम्पनीभन्दा अब्बल साहित्यिक पत्रिका वि. सं. २०१८ सालदेखि स्तरीयताको दायरामा रहेर निरन्तर प्रकाशन हुनुमा सम्पादक, प्रकाशकको त्याग र तपस्या मान्नुपर्छ । उसो त साहित्यिक यात्रामा विशेष त निबन्धको क्षेत्रका विशिष्ट लेखक साहित्यिक पत्रकारितातिर २० वर्षकै उरन्ठेउलो उमेरमा सोच आउनु र लागिपर्नु कुनै सहज भएन होला । साहित्यिक पत्रिका रचनालाई हाक्ने चिन्तन मात्र होइन प्रकाशनमा ल्याएर यसकै यात्रामा अविरल जुट्न जो सुकैले कहाँ सक्छ र ? सुरुमा पत्रिका निकाल्न हुटहुटी लगाएर साथ दिने अरू शुभचिन्तक साथी भए पनि रचनात्मक कर्म छाडेर रचना पत्रिकाको आविष्कारमा लाग्न निकै संशय भयो सायद तर साहित्यलाई माया गर्ने बौद्धिक लेखकको चेतनाले मनैदेखि स्विकारेपछि पत्रिकाको सौन्दर्य नझल्कने कुरै भएन ।
उहाँले चाहेको भए भौतिक सम्पनताका मार्गहरू पनि त प्रशस्त थिए । जे गर्छु भन्दा पनि हाता लाग्थ्यो सायद तर साहित्यप्रतिको प्रेमले अरू कर्मको विचरणमा लाग्नुभयो या भएन थाहा छैन । साहित्यिक पत्रकारिताको अभिष्ट भएर रचनालाई जीवित इतिहास बनाइछाड्नु भयो । पछि पनि यदि यसमा रुचि नभएको भए अरूजस्तै बन्द भैसकेको पत्रिकाहरूका पङ्क्तिमा पार्न पनि सक्नुहुन्थ्यो होला तर रोक्नु भएन स्थिर भई अविरल यात्रा गरिरहनुभयो र अब अझै एक पुस्ताले रचनालाई हाँक्ने सम्भावना देखिन्छ । रचनाका सम्पादक रोचक दाइ र पछिल्लो समयदेखि सहयोगी हात छोराहरू भएर रचनाको सौन्दर्य कायम नै भइरहेको कुरामा दुई मत छैन । अनि त रोचक घिमिरे र रचना एक अर्काका पूरक हुन र रचनाका पर्याय रोचक घिमिरे भन्दा फरक पर्दैन ।
आज आएर १७० अङ्क प्रकाशित भइसकेको रचना साहित्यिक पत्रिका र अरू पत्रिकासँग लगभग तुलना हुन नै सक्दैन । स्तरीयताका साथ न्यूनतम ८० पेजदेखि अधिकतम २०० पेजको रचना सुरुदेखि आजसँम पनि एउटै साइजमा प्रकाशित भइरहेको छ । प्रायः गहकिला रचना रहने रचनामा दाइको सम्पादन शक्ति प्रभावकारी छ । उसो त हाल नियम कानुनको दायरामा रहेका नेपालका राष्ट्रभाषा र मातृभाषाका साहित्यिक पत्रिका प्रशस्त निस्कन्छन् । पेजका हिसाबले रचनालाई उछिन्ने पनि छन् । तर तीनमा शुद्धाशुद्धि र भाषाशैलीको भाँडभैलो पाइन्छ । सम्भवतः त्यसबेला निजीस्तरबाट साहित्यिक पत्रिका प्रकाशन गर्ने अरू थुप्रै थिए तर स्तरीयताको कुरा गर्नुपर्दा मलाई लाग्छ शारदा, रूपरेखा लगायतका पत्रिकासँग तुलना गर्न मिल्ला रचनालाई, तर शारदा, रूपरेखा निकै पहिलादेखि विभिन्न कारणले बाटामै अड्किएर लेखक पाठकहरू रनभुल्लमा परे ।
पछिल्लो समयमा शारदाले गति लिनु नेपाली भाषा साहित्यका लागि राम्रो हो । रचना प्रकाशनको व्यवस्था नभएर २०४६ बाट जम्मा चार वर्ष अड्कियो । रचना अड्किएको समयमा उहाँले आफूलाई रित्तो ठान्नुभएको अनुभूति पनि उहाँमा छ, तर त्यसअघि प्रकाशित भइरहेको रचना त्यसपछिदेखि आजसम्म पनि निरन्तर प्रकाशित भइरहेको छ, स्तरीयताको मानकमा रहेर । रचनाभन्दा लगभग ९ वर्षपछि वरिष्ठ कथाकार नगेन्द्रराज शर्माको सम्पादनमा प्रकाशित हुन थालेको अभिव्यक्तिसँग केही सोच्नसम्म सकिएला, नत्र अरूसँग त तुलना गर्नु पनि रचनालाई न्याय गरेको ठहरिँदैन जस्तो लाग्छ ।
रोचक दाइभन्दा ४ वर्ष जेठा नगेन्द्र दाइको अभिव्यक्ति रचनाभन्दा ९ वर्ष कान्छो छ र दुवैको निरन्तर प्रकाशित भइरहेको छ, स्तरीयताको मानकमा रहेर ।
बौद्धिक र चेतनाका आयम झल्काउने सचेत इमान्दार निबन्धलेखनका दरिला स्तम्भ रोचक घिमिरेले आफ्नो लेखकीय क्षमता र चिन्तनको गहिरो भाव प्रस्तुत गरेर प्रेरक भैसक्नुभएको छ । उहाँको जन्म रामेछाप जिल्लामा वि. सं. १९९८ सालमा सामान्य परिवारमा बुबा शोमनाथ र आमाका मोहनकुमारीका सन्तानका रूपमा भयो । बुबाको कर्मले प्राप्त गहना पोखरीछेउको जग्गामा घर बनाएर स्थायी रूपको बसोवाससँगै जीवनको लय बगाउँदै मन, वचन र कर्मले साहित्य र साहित्यकारको सम्मान स्वरूप रचनालाई बोकिरहनुभएको छ । उहाँले बनाउनुभएको अहिलेको घरअगाडि पुरानो घर थियो जुन घर सम्भवतः बुबाले बनाउनुभएको थियो । लगभग ५८/५९ सालतिर म पहिलोपटक त्यही घर गएर उहाँलाई प्रत्यक्ष भेटेँ । जुन घरमा देवकोटा, लेखनाथ र समको पाइला परेको थियो । देवकोटा, लेखनाथ र समका संसर्गले उहाँको जीवनमा आभा छाएको अनुभूति प्रशस्त छ रोचक दाइसँग । यी त्रिमूर्तिको समयदेखि नै साहित्यलेखन र साहित्यकारलाई प्रोत्साहित गरेर नेपाली साहित्यलाई ठुलै गुन लगाएको कुरा एक दिन इतिहासले देख्नेछ ।
साहित्यिक पत्रकारिता क्षेत्रको विकासका लागि चिन्तन र चिन्ताका ज्वलन्त उदाहरण उहाँले अनुजलाई सरसल्लाह सहयोग गर्न कहिले चुक्नुभएन । अर्थात् म खाऊ मै लाऊँ भन्ने रत्तिभर पनि भावना रोचक दाइमा छैन भनेर मुक्तकण्ठले भन्ने आधार मैले नै प्रशस्त अनुभव गरेकी छु । चाहे नेतृत्व तहमा हुँदा होस्, चाहे अलग्गै हुँदा होस् । यो नै उहाँको जीवन दर्शन हो सायद ।
नेपाल साहित्यिक पत्रकार सङ्घको दुई कार्यकालको नेतृत्व बढो सरल ढङ्गले निर्वाह गर्नुभयो । साहित्यिक पत्रिकाको हकहितमा बिनास्वार्थ लागेर अरू पत्रिकाहरूको संरक्षण र सम्वर्द्धनमा जोड दिनुहुने रोचक दाइको सकारात्मक पक्ष छ । यति भनेपछि यदि नेपाली साहित्यमा अझ नेपाली साहित्यक पत्रकारितामा उहाँको नाम बिर्सनु हो भने कहिल्यै नभरिने खाडल हुनु हो । नेपाली भाषा साहित्यका आधार स्तम्भ रोचक घिमिरेलाई इतिहासले मूल्याङ्कन कसरी गर्ला ? थाहा छैन, तर वर्तमान नेपाली साहित्यकार र साहित्यिक पत्रकार र पाठकहरूले उहाँलाई आफ्नो यात्राको सौन्दर्य ठानेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।