‘आफैंलाई आफ्नो प्रतिद्वन्द्वी ठानेर मेरो लेखक ऊसँग प्रतिस्पर्धा गर्ने गर्छ । एकपछिको अर्को लेखनले लेखिसकेको असन्तोषमा सधैँभरि गुनासो र सङ्घर्ष गरिरहन्छ । …. म उसलाई हराउन खोज्छु, पटक्कैपिच्छे जित्न खोज्छ तर जित्न नसके पनि हार स्वीकार नगर्ने विश्वासको द्यौरालीमा मेरो दुर्ग छ । यो दुर्ग जब ढल्छ, म गतिरुद्ध हुन्छु । सायद लेखकको एउटा मृत्यु यो पनि हो ।’

हो, हार स्वीकार नगर्ने विश्वासको दौराली ढल्यो । नढलुञ्जेल कहिले हार स्वीकार्नु परेन तपाईँले र अब कहिल्यै गर्नुपर्ने पनि छैन । जित तपाईँकै भयो । बधाई छ कृष्णचन्द्र दाइ ! जित सगरमाथा जत्तिकै सत्य छ । यत्ति हो कि, बयासी सालको नागपञ्चमीको दिन खुलेको क्यालेन्डर फेरिफेरि पल्टिरहनु पर्दैन अब । क्यालेन्डरमा सत्र जेठको टाँचा लागेर बन्द भएको छ । अस्वाभाविक मान्नुहुन्न यो शाश्वततालाई । नमानेर पनि कसको के जोड चलेको छ र ?

के कृष्णचन्द्र उमेरले बाँचेको मान्छे हो र ? होइन, कदापि होइन । उमेरले बाँच्नेहरू र शरीरले बाँच्नेहरू आर्यघाटमा पुगेपछि फेरि बाँच्दैनन् तर अक्षरले बाँच्नेहरू, कीर्तिले बाँच्नेहरू आर्यघाटमा कहाँ जलेर खरानी भएका छन् र आजसम्म ? त्यसमा थपिनु भो तपाईँ कृष्णचन्द्रसिंह प्रधान भएर । यसरी म वकालत गर्न सक्दिनँ, गोविन्दप्रसाद प्रधानको नाममा । यद्यपि यो नाम पनि तपाईँकै थियो ।

रातको एघार बजेको थियो । तपाईँ ब्रह्मनालमा हुनुहुन्थ्यो । ८६ वर्षको व्यस्तताको थकाइ मारेजस्तै गरेर । त्यही दिनको बिहान त हो नि ज्वरो आएर वान्ता भएकोे तपाईँलाई । निकै बढेपछि दिउँसो अस्पताल जानलाई आफैँले सर्ट लगाएर पाइन्ट लगाउन खोज्दा ढल्नु भएको थियो । त्यही ढलाइबाट त हो नि नउठ्नु भएको तपाईँ । त्यो रात आर्यघाटमा पुत्र पुस्तुनले गोडामा ढोगेर मुखाग्नि दिएपछि नेपाली साहित्यको एउटा बलियो कालखण्ड दनदनी जलिरहेको थियो र हामी हेरिरहेका थियौँ ।

कृष्णचन्द्र सिंह प्रधान

यत्ति हो कि, अब फेरि तपाईँलाई प्रमुख अतिथिका लागि अनुरोध गर्नुपर्ने छैन । नयाँ निबन्धका लागि कराइरहनुपर्ने छैन । भूमिकाको लागि पाण्डुलिपि बोकेर आउनुपर्ने छैन । अन्तर्वार्ताका लागि कुरा गरिरहनुपर्ने छैन । कोठामा बसेर तपाईँका नयाँ निबन्ध सुन्न पाइने छैन । पुस्तकै पुस्तकले भरिएको कोठाभित्र नयाँ पुस्तक र लेखहरूका बारेमा छलफल गर्न पाइने छैन । सँगै बसेर चियाको स्वाद लिन पाइने छैन । सँगै भोज खान नपाएला, ह्विस्की खाएर गफ गर्न नपाइएला । त्यस्ता नपाइएला र नपर्नेहरू धेरै होलान् । त्यसले के फरक पार्छ र ? के तपाईँलाई भेट्ने हाम्रा मनहरू छैनन् र ? के तपाईँलाई पढ्ने अक्षरहरू छैनन् ? के तपाईँलाई सम्झिने संस्मरणहरू छैनन् ? के कृष्णचन्द्रको शोकमा ‘शालिक’ ढल्छ र ? के कृष्णचन्द्रको मृत्युमा ‘अनाम सत्य’ झूठो हुन्छ र ? के कृष्णचन्द्र नभएर ‘पाइला आगतमा टेकेर’ मेटिन्छ र ? के ‘बागमतीको हरक’ हट्छ र ? के ‘समय सुनामी’ रोकिन्छ र ? के ‘नफर्कने दिनहरू’ फर्किएर आउँछन् र ? के ‘जिन्दगीका टिपोटहरू’ पानीअक्षर भएर जान्छन् र ? जाँदैनन्, हराउँदैनन्, कतै केही हुँदै हुँदैनन् । होइन भने तपाईँ , तपाईँ हुनुको के अर्थ ? तपाईँ र तपाईँ पढ्ने पाठकबीच के फरक ?

त्यसैले माफ गर्नुहोला कृष्णचन्द्र दाइ ! तपाईँको मृत्यु र तपाईँका पुस्तकहरूसँग कुनै सम्बन्ध छैन । सत्य हो, चाहेर पनि अब तपाईँ केही गर्न सक्नुहुन्न । तपाईँको वशको कुरा होइन अब । त्यसैले म, हामी जतिसुकै लामो जुलुस निकालेर पनि भन्न सक्छौँ –तपाईँ अक्षर भएर कहिल्यैकहिल्यै मर्न सक्नुहुन्न । मर्ने अक्षरहरू त आयु बोकेर आएका हुन्छन् । तपाईँका अक्षरमा कहाँ आयु छन् र ? छैनन् र हुँदैनन् पनि । जति च्याते पनि नटुक्रिने अक्षरहरू छन् तपाईँका । जति जलाए पनि नबल्ने अक्षरहरू छन् तपाईँका । त्यसैका परिणाम त हुन् नि, तपाईँको आयुको अन्त्यसम्म पनि पुरस्कारहरूले छोड्दै नछाडेका, आदर र सम्मानहरूले छोड्दै नछोडेका, उपहार र प्रमाणपत्रहरू घरमा अट्दै नअट्ने भएका । त्यसैले फेरि भन्छु – तपाईँ मरेर के हुन्छ ? मर्दै नमर्ने भएपछि ।

विश्वस्त छु म त्यसैले जस्तै भीडको कठघरामा बसेर घोषणा गर्न तयार छु । मलाई थाहा छ, अक्षर र इमानको अदालत बेइमान बन्न सक्दैन ।

श्रीओम श्रेष्ठ ‘रोदन’

हुन त तपाईँले लेख्नुभएको छ – ‘यथार्थमा म संस्मरणमा बाँच्न चाहन्न । संस्मरण जो सुखद् पनि हुनसक्छ, दुखद् पनि । त्यसमा रमाएर वर्तमानलाई कहाँ फ्याँक्ने ? के त्यसबाट भविष्य जोडिन्छ ? अथवा कल्पेर यथार्थलाई कहाँ बिसाउनु ? के त्यसबाट वर्तमान सप्रिन्छ ?’

मैले संस्मरणमा बचाउन खोजेको होइन तपाईँलाई । मैले मात्र होइन कसैले पनि तपाईँलाई संस्मरण लेखेर बचाउन खोज्ने छैनन् । किनभने हामी आफैँ बाँच्न नजानेका र नसकेका संस्मरण नै हौँ । फेरि के अधिकार छ र मसँग/हामीसँग ? कुनै, अधिकार छैन होला तर भन्न त पाइन्छ नि हो आफ्नो कुरा । यो भने अधिकार हो मेरो/हाम्रो । मलाई थाहा छ नि, कलमलाई कदापि रोक्न सक्नुहुन्न तपाईँ भनेर । कलम र किताब नै त हुन् नि तपाईँका कमजोरीहरू ।

सधैँ अक्षरसँग विद्रोह गर्नुभयो तर कहिले सत्ता र नेतासँग नजिकिनु भएन । सदावहार प्रतिपक्षी बन्नुभयो । समयमा गोदवाको त्यत्रो महत्त्व थियो । मरिहत्ते गर्थे पाउनका लागि जो पनि । तर तपाईँ भने दिएको पनि नलिइदिने । बाध्य हुनुुभयो पछि स्वीकार्न तर राजाको हातबाट लिनुभएन ।

नढाँटी भन्ने हो भने हार्न त हामी हारिरहेका छौं तपाईँसँग । मजस्ता धेरै धेरै छन् हारेका । आर्यघाटबाट हामी हारेर नै फर्किएका हौँ । तपाईँका नयाँ निबन्ध पढ्न नपाउनु हाम्रो सानो हार होइन । मञ्जुल सरले तपाईँको बारेमा एउटा पुस्तक तयार पार्न मलाई पटक पटक भन्नुभएको थियो, तपाईँको अबको अनुपस्थिति पनि हार नै भयो मेरो । शङ्कर लामिछानेको नाममा स्थापना गरिएको निबन्ध पुरस्कार पहिलोपटक तपाईँले नै पाउनुभयो । दोस्रो वर्ष पहिलोपटक युवा निबन्ध पुरस्कार मैले नै पाएँ तपाईँकै हातबाट । त्यहीं कारण पनि हुनसक्छ, मञ्जुल सरको आग्रह थियो ममाथि । ‘नाइँ’ भनेको पनि थिइनँ, रहर पनि त्यत्तिकै थियो । पटकपटक कुरा पनि गरेको हो हामीले । तर के गर्नु ? सबै सोचेजस्तो सम्भव नहुँदो रहेछ । भोलि भोलि भन्दाभन्दै कहिले नहुने भो भोलि ।

केही अन्तर्वार्ताहरू क्यासेटमा छन् मधुपर्कका लागि लिएका । ‘सारांश’का लागि पनि लामो आवाज रेकर्ड गरेका छौँ भीष्मजी र मदन लामाखुले दाइसँग । एक दिन बिहानदेखि बेलुकीसम्म नै भिडियो क्यामरामा कुराकानी गर्ने सोच थियो मेरो । क्यामरामा जीवित दृश्यहरू खिच्न नपाउनु पनि हारै हो मेरो ।

‘सारांंश–५’ को लागि अन्तर्वार्ता लिन समय मिलाएर हामी ताहाचल पुगेका थियौंँ चैततिर । रेकर्डर अन गरेपछि कुराकानी सुरु गर्छौँ । केहीबेरपछि रेकर्डर हेर्छु, क्यासेट चक्का त घुम्दै घुमेको रहेनछ । कुराकानी रोक्छु र क्यासेट बनाउन यताउति गर्छु, तर के बन्थ्यो ? केही नलागेपछि त्यत्तिकै फर्कियौँ त्यो दिन हामी । क्यासेट बनाएपछि फेरि समय मिलाएँ मैले नै र गयौँ हामी तीनै जना । त्यो दिन पनि केही कुरा गरेपछि मैले क्यासेट रिवाइन्ड गरेर सुन्न खोजेँ, तर आवाज आउँदै आएन । त्यो दिन क्यासेट घुमिरहेको भए पनि आवाज रेकर्ड गरिरहेको थिएन । दोहोर्याएर रेकर्डरले धोका दिएकोमा म निकै लज्जित भएँ । मदनदाइ र भीष्मजी पनि खिन्न हुनुभो तर कृष्णचन्द्र दाइले सजिलैसँग भन्नुभो – यसमा हाम्रो के दोष ? कहिलेकहीँ यस्तै हो प्रविधि । त्यो दिन फेरि नमज्जा मान्दै निस्कियौँ हामी ।

तेस्रो पटक, दोहोर्याएर रेकर्डर परीक्षण गरेपछि मात्र उहाँको घर गयौँ । मदनदाइले ठूलो क्यासेट प्लेयर नै बोकेर आउनुभएको थियो त्यो दिन । दुबैमा रेकर्ड गर्यौं उहाँको आवाज । तीनपटक लिएको अन्तर्वार्ता केही ढिलो छापियो ‘सारांश’मा । त्योभन्दा धेरैपछि मधुपर्कको आत्मपरक निबन्ध विशेषाङ्कका लागि लिएको अन्तर्वार्ताचाहिँ तुरुन्तै निस्कियो र घरमै पुर्याउन गएको थिएँ । ‘सारांश’ निस्किएपछि पनि घर पुर्याउन जान सकिरहेको थिइनँ । अन्नतः जुन दिन उहाँको घरमा जान्छु भनेर सोचेको थिएँ, त्यसको एक दिनअघि जेठ १७ ले नफर्कने गरी बिदा गरायो उहाँलाई । त्यहीँ दिन बिहान मित्र प्रकाश सायमीले फोन गरेर भन्नुभएको थियो, ‘तपाईँलाई कृष्णचन्द्र दाइले सम्झिरहनुभएको छ ।’

मैले पनि सहजै भनेको थिएँ – म भोलि घरै जान्छु उहाँलाई भेट्न ।

तर त्यो भोलि पनि कहिल्यै आएन । नआउने भोलिको सङ्केतसम्म थाहा पाइनँ मैले । यो पनि मेरा लागि सानो हार होइन । एउटा पुस्तकमा फेरि पनि उहाँको भूमिका राख्ने इच्छा थियो । त्यो इच्छामा पनि हार्नुपर्यो मैले ।

‘घोडा दौडका घोडाहरू र म’ निबन्ध सम्झँदै एक दिन भन्नुभएको थियो ‘नेपाली निबन्धको गोष्ठी एकपटक मात्र भएको छ सिसासको आयोजनामा । त्यसमा हामी १२/१३ जनाले निबन्ध पढेका थियौँ । खोइ त्यस्तो प्रयास ? हामी निबन्धकार भन्नेहरूबाट पनि अहिलेसम्म भएको छैन ।’ वि.सं. २०४३ वैशाख ३ गते नेपाल–भारत सांस्कृतिक केन्द्रमा भएकोजस्तो निबन्धगोष्ठी कसैसँग मिलेर गरौँला भनेको थिएँ । तपाईँसँग यो बाचामा पनि हारेँ मैले ।

भो संस्मरण नगरुँ भन्छु तर बिर्सिन सकिँदो रहेनछ । अहिले पनि तपाईँले लगाइरहनुभएको चस्मा उचालेर निबन्ध सुनाउनु भएको सुनिरहेको छु । कुरा गरिरहँदा गोलीगाँठो कोट्याइरहेको देखिरहेको छु । हरेक सन्दर्भमा मस्तसँग हास्नुभएको सुनिरहेको छु । समसामयिक साहित्यिक लेखन बुझ्न पुस्तक किनेको देखिरहेको छु । बूढोपास्नी (जङ्कु) र ‘नफर्कने दिनहरू’ को विमोचन गर्न घरमा सल्लाह गरेर मञ्च बनाएको दिन सम्झिरहेछु । त्यही कार्यक्रमको उद्घोषणमा बोलिरहेको छु । त्यसैको भोज धेरै लेखकसँग बसेर खाइरहेको छु । अनि कसरी बिर्सन सक्छु ती दिनहरू ।

एक दिन फोन गरेर घरमा बोलाउनु भो । म गएँ, धेरैपटक गएको छु त्यसरी, तर त्यो दिन तपाईँको ८५ औं जन्मदिन रहेछ । त्यत्तिकै अमेरिकाबाट ल्याएको राम्रो कलम दिन लगेको थिएँ, त्यसैलाई उपहार बनाएँ । त्यहाँ डा. गोविन्दराज भट्टराई, विष्णुविभु घिमिरे, अविनाश श्रेष्ठ र ममात्र थियौँ साहित्यकारहरूमा, बाँकी परिवारका सदस्य मात्र ।

एक दिन घरमा बोलाउनुभएको बेला सुरक्षित कुनै सहकारीमा पैसा राख्ने कुरा गर्नुभयो । पुल्चोकमा सँगै गएर राख्यौँ पनि । अमेरिकाको भिसाका लागि गोबर्धन पूजासहित सल्लाह गरेको कुरा, फर्म भर्न र पैसा बुझाउनका लागि दूतावास नजिकै मोटरसाइकलमा गएको कुरा, भिसा नदिएको र त्यसपछिका चर्चाका कुरा कसरी बिर्सन सक्छु र म ? गरिबीले तराई झर्नुपरेको कुरा, छत्तीस सय ऋण लिएर एकनाले घर किनेको कुरा, सहकर्मी मन्त्री डीपी अधिकारीलाई भनेर आफ्नो घरक्षेत्रमा पानी ल्याएको कुरा, मदन पुरस्कार पाउँछु भनेर विश्वासका साथ पुस्तक तयार पारेका कुरा, पाएरै घरको ऋण तिरेको कुरा, सन्देश गृह खोलेर विदेशी पत्रिका भित्र्याएको कुरा, पुस्तकालय खोलेर चेतना फैलाएको कुरा, दुईपटक जेल परेको कुरा, आफ्नो बिहेभोज आफैँले भद्रगोल जेलमा खाएको कुरा, पढेर कुनै प्रमाणपत्र नपाएको कुरा, पैसा तिर्न नसकेर स्कुलबाट निकालिएको कुरा, धेरैलाई पढाएर कागजको भन्दा बढी चेतनाको प्रमाणपत्र दिलाएको कुरा, तुलसीमेहरको आग्रहमा बर्धाको गान्धी आश्रममा पढाएको कुरा, नपढेने तपाईँको कृतिमाथि ठूलाठूला प्रमाणपत्रका लागि पढिएको कुरा, बाबुलाई तमाखु बनाउने झन्झटले ‘हाय तमाखु’ पहिलो कविता लेखेको कुरा, पहिलो पुरस्कार कविता प्रतियोगिताबाटै पाएको कुरा, पहिलो कथा ‘झ्यालबाट’ र पहिलो निबन्ध ‘थोत्रो लुगा’ लेखेको कुरा, १४ वर्ष साझा प्रकाशनको महाप्रबन्धक भएको कुरा, केदारमान व्यथितले तपाईँलाई दुई दुईपटक प्रज्ञा प्रतिष्ठानको सदस्यमा सिफारिस गर्दा दरबारबाट नाम काटिएर आएको कुरा र तेस्रोपटककको सिफारिसमा प्राज्ञसदस्य भएको कुरा । यस्ता कुराहरु धेरै छन् । जुन कहिले बिर्सन सकिन्छ र ? कसरी बिर्सन सकिन्छ र ?

तपाईँ संस्मरणमा बाँच्न नचाहने मान्छे, म पनि नचाहने मान्छे नै हुँ तर पनि लेखिरहेको छु । फेरि भन्छु, तपाईँका अक्षरहरू पढेर थाक्न चाहँदैनन् मेरा आँखाहरू । यही स्वार्थले भनिरहेको छु, कृष्णचन्द्र दाइ तपाईँ निबन्ध भएर सधैँ हामीसँग हुनुहुनेछ । आखिर तपाईँले पनि स्वीकार्नु भएकै छ, क्यारे ?

‘त्यसैले भन्ने गर्छु म शून्यको उपज हुँ । शून्य अर्थात् मरुभूमि, त्यो अनुर्वर होइन, त्यो अनाथ होइन त्यो बेवारिस होइन । परम्परा, इतिहास, मर्यादा, धन सम्पत्ति क्यै नहुनेको कुरा होइन यो । हिजो देश नहुने यहुदी, प्यालेष्टाइनीहरूको कुरो होइन । वाफवाफमा असंयमित भएर शोख गरिहिँड्नेको असावधानीको सिकार हुनेको कुरा गर्दैछु, जो म हुँ । त्यही नियति भोग्न बाध्य परिवारका सदस्यको कुरा गर्दैछु, जो म हुँ । देश हुनेको कुरा गरिरहेको छु, जो म हुँ । शून्यताबाट मुक्त हुने पहिलो सङ्केत त अस्तित्वबोध रहेछ, जसले मलाई साहित्यमा हिँडायो ।’