देखिएका सबै सत्य हुँदैनन् भन्ने जानेकै हुन् धेरैले । भन्नेहरु जीवनलाई रङ्गमन्च भनिरहेका छन् । हामी अभिनय गरिरहने पात्र मात्र पनि भनिरहेका छन् । हो पनि, जीवन कुनै सुनिश्चित हुँदैन । न तिथि न मिति । सुरु भएको निश्चित समय हुने त्यसपछिका एकै दिन पनि ग्यारेन्टी नहुने जीवन मात्रै हो । त्यही जीवनका लागि बनेका थोरै दामका औषधीमा पनि काम नदिने समय तोकिएको हुन्छ । सबैभन्दा मूल्यवान भनिएको जीवन भने सबैभन्दा अनिश्चित । कति निरीह छ मानिसको बचाइँ ।

हो पनि, कुनै वस्तु खोजिएकै भरमा आफ्नो भन्न कहाँ पाइएको छ र ? जे भेटियो त्यही मात्र आफ्नो हुने गरेको छ । देखिने अनुहार नै हुन् मानिसका, त्यसपछि मात्र लगाएका लुगा । अनुहारले अलिअलि र आँखाले अलि बढी उसभित्रलाई देखाउँछ भनिन्छ । यो पनि जान्नेहरुका लागि मात्र हो । नजान्नेहरुका लागि होइन । समाजमा उज्याला र विनम्र जस्ता देखिने आँखा भएकाहरुबाटै जघन्य अपराधहरु भएका छन् । राम्रा लुगा लगाएर हिँड्नेहरुबाटै भएका छन् कैयौँ नराम्रा घटनाहरु ।

देखिएको जस्तो नहुनेहरु धेरै छन् । भनिएजस्तो नगर्नेहरुका प्रतिशत पनि बढेकै छन् । समाजले नै सम्मान गरेका राजा महाराजाहरुका काला कर्तुतहरु पनि समाचारका बलिया शीर्षक बन्ने गरेका छन् । ठूला लगानी, वषौँको साधना, जीवनभरको यात्रा पनि ग्यास भरेको बेलुनजस्तै फ्याट्टै फुट्ने गरेका छन् । भने पनि नभने पनि अहिलेको सामाजिक रोग बनेको छ । वर्षैाँसम्म विश्वास र आदर गरेकाहरुको कालो स्वार्थ बाहिर आउनासाथ भक्तहरु मात्र होइन पूरै समाजलाई नै प्रभाव पार्ने गरेको छ । नगर्नु भन्नेहरुले गर्ने, नभन्नु भन्नेहरु नै भन्दै हिँड्ने । धर्मको नाममा अधर्म, आस्थाको नाममा अनास्था, विश्वासको नाममा घात गर्नेहरु फरकफरक बनिरहेका छन् ।

डा. हरिप्रसाद पोखरेल

झण्डै तीन दशक जति हुन लागेछ परिचय भएको । वषौँ भेट नहुँदा पनि कहिले टाढा नलाग्ने तर भेट हुनासाथ सधैँको साथ र सहयोग भइरहेको जस्तो लाग्ने । यही नै होला स्वार्थ नभएको सम्बन्ध र चट्टाने सम्बन्ध पनि । यति भएपछि न विश्वासको तौल तलमाथि हुने, न स्वार्थको नै । डा. हरिप्रसाद पोखरेलको सादगी जीवनजस्तै सादगी नै सम्बन्ध । सुरुका दिनमा उनलाई देख्नासाथ म अनौठो मानेर हेर्थेँ । अनेक जिज्ञासाहरु मनमा उब्जन्थे तर कहिले सोध्न चाहिनँ । नसोधे पनि उनीसँगको सम्पर्क र व्यवहारले नै हरेक जिज्ञासाका उत्तरहरु म पाइरहन्थे पनि ।

उमेरमा आफूजस्तै लाग्थ्यो मलाई । तर अनुभव र व्यवहारमा निकै पाका लाग्थ्यो । सेता पाइजामा र सुरुवाल ,कालो दाह्रीको बीच च्यापूमा सेता दाह्री । मुसलमानले लगाउने जस्तो सेतो टोपी । सधैँ काँधमा हुने कपडाको झोला । कहिले पनि नहतारिकन बोल्ने उनी देख्दै गौप्राणी देखिन्थे त्यतिबेला । अहिले झन् पाकिसकेका छन् । कसैसँग एकपटक मात्र भेट भए पनि कहिले नबिर्सने गरी मनभित्र छिर्नसक्ने व्यक्तित्व लाग्थ्यो मलाई । कोही अनुहारले नै रिस उठ्ने हुन्छन् केही नगरेका भए पनि, कोही देख्नासाथ मनपर्ने हुन्छन्, असल नभए पनि । डाक्टर पोखरेल त्यही कोटीका छन्, आँखाले देख्नासाथ मनमा पुगिहाल्ने । उनका निर्दोष आँखाहरु सधैँ मित्रताका लागि कामना गरिरहेजस्ता । भेटे जतिलाई स्वस्थ र दीर्घायुको कामना गरिरहेजस्ता । मलाई यस्तै लाग्छ, अरुलाई नलाग्न पनि सक्ला । अनुभूति सबैका स्वतन्त्र हुन्छन् । मिल्नुपर्छ भन्ने हुँदै होइन ।

मलाई त डाक्टर पोखरेल नेपालमा प्राकृतिक चिकित्साका पिताजस्ता पनि लाग्छन् । योगका गुरुजस्ता । मित्रवत्जस्ता । लाग्ने कुरा हुन् मेरा । भएर पनि कति उबडखावडमा हिँड्नु परेका होलान् उनले । धोका पाएका कति अभिलेख होलान् । कति बेइमानीहरुसँग चाहेर नचाहेर साक्षात्कार गर्नुपरेका होलान् । भए पनि कहिले नदेखिने वा नदेखाउने उनको कला वा स्वभाव जस्तो पनि लाग्छ मलाई । न आत्तिने न मात्तिने । सायद डाक्सापको जीवनको प्राप्ति पनि यही नै हो कि ?

श्रीओम श्रेष्ठ ‘रोदन’

डाक्साप र्कीतिमानका पनि डाक्साप नै हुन् । कीर्तिमानी भनेको सगरमाथा चढेर मात्र हुने हो र ? के खेलमा रेकर्ड तोडेर मात्र हुने हो र ? कीर्तिमान सधैंँ नापेर , जोखेर मात्र कायम हुने हो र ? होइन नि ।

नेपालमा पहिलो पटक संंस्थागतरुपमा प्राकृतिक चिकित्सालय खोल्नु नयाँ कीर्तिमान होइन र ?

पहिलो पटक नै कक्षा नौदेखि बाह्रसम्मका प्राकृतिक चिकित्सा, योग र आयुर्वेदका पाठ्यक्रम बन्नु नयाँ कुरा होइन ? हो भने यसले कीर्ति कायम गर्दैन र ?

कसैले चासै नदिएको बेलामा योग दिवस घोषणका लागि वि.सं २०३६ देखि निरन्तर कार्यक्रम गरेर स्थापना हुनु आफैँमा कीर्तिमान होइन र ।

बनिसकेको बाटोमा हिँड्न कसैलाई गाह्रो हुँदैन । तर केही नभएको ठाउँमा बाटो बनाउने सोच नै नयाँ हो । त्यस्तो अवस्थामा बाटो बनाएर सबैलाई हिँड्न सजिलो बनाइदिने डाक्सापको मूल्याङ्कन हुँदैन र ?

आधुनिक चिकित्साको ट्याबलेट र इन्जेक्सनबाट हार मानेकाहरु नै थिए सुरुताकाका बिरामीहरु डाक्सापका । ‘यो पनि गरी हेरौँ न’ भन्नेहरु नै पुग्थे डाक्साप कहाँ । निराश बनिसकेका बिरामीको आशा जाग्दै गएपछि बिरामी र आफन्तमा बढेको मनोबल नै डाक्सापको लागि उर्जा बनेको थियो । आफ्नो कामप्रति विश्वास जगाएको थियो । बिरामीको मुहारमा बढ्दैै गएको आभा, आभार र हाँसो नै डाक्सापका लागि निरन्तर सफलताको भरेङ बनेका हुन् ।
यसरी दिन प्रतिदिन व्यापक बन्दै गएको मौखिक सञ्चारले नै प्राकृतिक चिकित्साको प्रचार र डाक्सापको प्रभाव बढ्दै गएको हो ।

यसरी स्वस्थ रहन योग र उपचारका लागि प्राकृतिक चिकित्साको जनचेतना फैलाउने कामको जस कतै न कतै अभिलेख डाक्सापको भएकै हुनुपर्छ ।

अहिले प्राकृतिक चिकित्सामा विद्यावारिधि गर्ने छ जना भइसकेका छन् । नौ दश जना अध्ययनरत छन् । यसको श्रेय पनि डाक्सापलाई नगए अरु कल्लाई पो जाला र ?

हिजो ऋषिमुनिका कुरा, ग्रन्थका कुरालाई आधार बनाइएको प्राकृतिक चिकित्सा अहिले विषद अध्ययन अनुसन्धानमा आधारित भएको छ । यसलाई अवमूल्यन गर्न मिल्छ र ?

प्राकृतिक चिकित्सा पढेरभन्दा अनुभवले गरिन्छ भन्ने भ्रम धेरैअघि नै लगभग हटिसकेको छ । प्राकृतिक चिकित्सा , योगमा पाँच वर्षको अध्ययन सकेर पचास जना जति डक्टर अफ नेचरोप्याथी बनिसकेका छन् । पैँतालीस जना उपाधि चुम्ने क्रममा छन् ।

के यी सजिलै प्राप्त भएका उपलब्धी हुन् र ? होइनन् नि । यसमा डाक्सापको अहम् भूमिका छ । डाक्सापकै कारण पिएचडी गरिरहेका छन् , डाक्टर बनिरहेका छन् ।

प्राकृतिक चिकित्सामा लागेको फलको स्वादको प्रशंसा गरिरहेका छौँ अहिले । तर यो फल लाग्ने कसको श्रम, कसको पसिना, कसको समय र कसको प्रतिवद्धता थियो भन्ने बिर्सन मिल्छ र ? फल र फूल दिने माटोमुनिको जरालाई बिर्सन मिल्छ र ? मिल्दै मिल्दैन । किनभने जरा विना न हाँगा न पात, न फल न फूल नै । यस अर्थमा प्राकृतिक चिकित्साको स्वादिलो फल दिने जरा नै हुन् डाक्साप ।

चालीसको दशकतिर मातृभूमि सेवक सङ्घको नेतृत्व डा. बिहारीलाल श्रेष्ठको थियो । आवद्ध थिएँ म पनि । प्रत्येक शनिबार बिहान टीका विद्याश्रमको चउरमा पुग्थ्यौँ हामी । सूर्य नमस्कार योगदेखि अन्य आसन गराइन्थ्यो । समसामयिक विषयमा छलफल हुन्थ्यो । त्यही सन्दर्भमा भेट हुनुभएको थियो डा. हरिप्रसाद पोखरेल । प्राकृतिक चिकित्साको बारेमा सुनाउँथे डाक्साप । हामी नयाँ कुरा ध्यान दिएर सुन्थ्यौँ । सङ्घले प्रत्येक वर्ष विभिन्न जिल्लामा शिविर सञ्चालन गथ्र्यो । त्यहाँ पनि डाक्सापबाट योगा र प्राकृतिक चिकित्साबारे ज्ञान पाउँथ्यौँ ।

डाक्सापले प्राकृतिक चिकित्साको अस्पताल खोल्ने तयारी चलिरहेको थियो । डा. बिहारीलाल, बद्रीविक्रम थापा, चिन्तामणि योगी , जीवनचन्द्र कोइरालालगायतको केही छलफलमा मैले पनि उपस्थित हुने अवसर पाएको थिएँ । अस्पतालको सञ्चालन हुन थालेपछि पनि म विभिन्न सन्दर्भमा पुगिरहन्थे ।

पचासको दशकको सुरुदेखि नै प्राकृतिक चिकित्साका केन्द्रहरु स्थापना हुनलागेका थिए । धेरैजसो डाक्सापबाट दीक्षित भएका प्रशिक्षकहरुले नै सञ्चालनमा ल्याएका थिए । बिरामीको उपचार र परीक्षणका लागि डाक्साप प्रायः केन्द्रहरुमा पुगिरहन्थे । धेरै वर्षदेखि म पिनासबाट पीडित थिएँ । प्रत्येक वर्षको जाडो सुरु हुनासाथ म पिनासबाट पीडित हुन्थेँ । आयुर्वेदका औषधीमूलो कति गरियो गरियो । पिनासको मन्त्र झार्नेलाई पनि पटक पटक दक्षिणा दिइयो । धेरै दुखेको बेला पेनकिलर पनि खाइयो । तर प्राकृतिक चिकित्सालयमा सिकेर आफैँले जलनेती, रबडनेती, भास्तृकाजस्ता प्राणायाम गरेपछि निर्मूल भएको छ । कुनै बेला पिनासले दुःख दिएको थियो भन्ने पनि बिर्सिसकेको छु अहिले ।

सङ्घको कार्यक्रम र उपचार क्रममा डाक्सापसँग निरन्तर भेट भइरहन्थ्यो । एक दिन डाक्सापले प्राकृतिक चिकित्साको कोर्स सुरु गर्न लागेकोले सहभागी हुनका लागि अनुरोध गरे । पढाइ काठमाडौँबाट हुने भए पनि परीक्षा श्रीलङ्काबाट हुने र सफल भएपछि डाक्टर लेख्न पाइने बताए । किन हो कुनि ? ममा कुनै रुचि नैे जागेन त्यसबेला । डाक्टरको भारी बोक्न गाह्रो हुने पनि लाग्यो र सहभागी भइनँ । त्यही भएर भनेको होे विद्यार्थी बन्न सकिनँ म डाक्सापको । त्यहीबेला नै हुनुपर्छ धेरै जनाले एकैपटक प्राकृतिक चिकित्साको डाक्टर बन्न पाएका । त्यसपछि उपत्यकाका विभिन्न ठाउँमा प्राकृतिक चिकित्साका केन्द्रहरु खोल्ने लहरजस्तै चलेको थियो । यो अभियानलाई सार्थक बनाउने डा.हरिप्रसाद पोखरेल अर्थात् डाक्साप नभएका भए यस्तो दिन कहिले पो आँउथ्यो होला ?

जुनसुकै कुराको पनि बीऊ चाहिन्छ विस्तार हुन । बीऊ यदि खराब पर्यो भने त्यसप्रति आकर्षित गराउनुको साटो विकर्षित गराउँछ । तर डाक्साप त्यस्तो बीऊ बने जसले निरन्तर राम्रो फल फलेर सबैको ध्यान आकृष्ट गरिरहेका छन् । यद्यपि म विद्यार्थी बन्न सकिनँ । यसमा कुनै दुःख पनि छैन मलाई । त्यतिबेला मैले जे निर्णय गरेँ, त्यही समयअनुरुपको थियो । फेरि म आफू गरिसकेको निर्णयमा सितिमिति डग्दिनँ र पछुतो पनि मान्दिनँ । आफ्नोपन होला यो मेरो ।

हो, म औपचारिकरुपमा डाक्सापको विद्यार्थी होइन । हस्ताक्षर गरिएको प्रमाणपत्र पनि छैन मसँग । तर डाक्सापको सादगी जीवनको , हार्दिक व्यवहारको , इमान्दारिताको , शालीनताको, ज्ञानको , निरन्तरताको , प्रतिवद्धताको र उदाहरणको म असल विद्यार्थी होइन भनेर मलाई कसैले पुष्टि गर्न सक्दैन । न कुनै अदालत नै छ मैले झूठो बोलेको मुद्धा लाग्ने । अरु निश्ति समयावधिका विद्यार्थी हुन्छन् । म सदाको विद्यार्थी हुँ भन्ने लाग्छ । अहिले पनि डाक्सापसँगको प्रत्येक भेट मेरा लागि सिकाइ भएका छन् ।

डाक्सापले दिव्य बाह्र वर्षसम्म अन्न ग्रहण गरेनन् । सुन्दा पनि अनौठो लाग्थ्यो मलाई । हामी एकछाकबाट टाढा भयौँ भने हुनसम्मको गाह्रो हुन्छ । डाक्साप पनि मानिस नै हुन् क्यारे । तर अन्न अनिवार्य होइन बाँच्नका लागि । म दुबोको रस पिइरहेको छु भन्थे डाक्साप । त्यत्रा अजङ्गका हात्ती त घाँस खाएर बाँच्छन् भने हामी मानिस किन सक्दैनौँ ? एक प्रकारको प्रयोग, एक प्रकारको परीक्षण डाक्सापले आफैँमाथि गरे । सफल पनि भए । के यो परीक्षणको मूल्य हुँदैन र ?

म बारबार सम्झन्छु डाक्सापलाई । यदि पाल्पाबाट काठमाडौँ नआएका भए अहिलेसम्म नेपालमा प्राकृतिक चिकित्साको अवस्था कहाँ पुगेको हुन्थ्यो होला । यदि डाक्साप त्यतै व्यापार गरेर बसेका भए कमाएर व्यापारी हुन्थे होलान् । जागिरे भएका भए उच्च पदमा निर्देशन र हस्ताक्षर गरेर बसेका हुन्थे होलान् । विवाह गरेका भए घरव्यवहार गरेर पारिवारिक र सामाजिक जीवन बिताइरहेका हुन्थे होलान् । राजनीति गरेका भए झण्डा फहराएर हिँड्थे होलान् । तर सबै त्यागे र सके पनि । म र मेरो भन्ने केहीमा पनि लागेनन् डाक्साप ।

एक्लो जीवनको लागि के नै पो चाहिन्छ र ? बाँच्न सजिलै सकिन्छ । आफू एक्लो बने तर अरुलाई स्वस्थ बनाउन सिकाए । समूहमा बाँच्न सिकाए ।

हो पनि, गर्ने भनेकै अरुकै लागि हो , आफ्नो लागि गर्ने त सबै हुन्छन् । त्यही भएर भन्छु म, सबै डाक्साप बन्न खोजेर पनि सक्दैनन् । यही हो हरिप्रसाद पोखरेल हुनुको अर्थ ।

समाज झन्झन् स्वार्थी र भ्रष्ट बन्दै गइरहेको छ । क्षणिक लाभका लागि हतकडी लगाउनेका सङ्ख्या बढिरहेका छन् । भविष्य नदेख्ने अन्धकार समाजको निर्माण गति बढिरहेको बेला डाक्साप एक जना किन मरिहत्ये गरिरहेका छन् ? यो सोध्ने प्रश्न होइन , मलाई लागेको मात्रै । डाक्सापका प्रशिक्षार्थीहरु चर्चा कमाइरहेका छन् । आर्थिकरुपमा सम्पन्न बनिरहेका छन् । घर परिवारलाई सुख दिइरहेका छन् । तर डाक्साप न चर्चाको पछाडि दौडेका छन् , न कमाउनतिर लागेका छन् । न वंश जोगाउन लागेका छन् । हिजो पनि एक्लै , आज पनि एक्लै ।

त्यस्तै पनि होइन , डाक्सापको नाम आउनासाथ स्वतः प्राकृतिक चिकित्सा जोडिएर आउँछ । यो पर्याय सानो त्यागको परिणाम हुँदै होइन । त्यसैले डाक्सापलाई अरुसँग तुलना गर्नु अन्याय हुनेछ , अपमान हुनेछ । त्यसैले डाक्सापको विगत पनि डाक्साप, वर्तमान पनि डाक्साप र भविष्य पनि डाक्साप नै । सम्पूर्ण नै हुन् डाक्साप ।

समाज र प्राकृतिक चिकित्सा मात्र नभएर डाक्साप त मानसाग्नी पनि हुन् । सिर्जनशीलताको अर्को पाटो । कथाका कुरा, कविताका कुरा , निबन्धका कुरा त छँदैछन् । डाक्साप एक भएर अनेक बनेका छन् । कहिले लेख्छन् पत्रपत्रिकामा , कहिले बोल्छन् रेडियोहरुमा , टेलिभिजनहरुमा पनि देखिरहन्छन् । स्वस्थ हुनका लागि । सबै अरुका लागि , सधैँ अरुका लागि ।

महाकवि देवकोटाले त्यतिकै किन भनेका होलान् र ? यस अर्थमा पनि जान्ने नै हुन् जस्तो लाग्छ डाक्साप ।

सबै खोज्छन् सुख भनी त्यो कहाँ छ ?

आफू मिटाइ दिनु जहाँ छ ।

अब अरु के भनुँ र म डाक्साप !