जस्तोसुकै मानिसमा पनि पहिलो पटक परेको प्रभाव जीवनभरि परिवर्तन हुन नसक्दो रहेछ । छैटीको दिनमा भावीले कोरेको नमेटिने अक्षरजस्तै । मनको क्यामराले खिचेको फोटोजस्तै । अग्रजहरुले त्यसै भनेका होइन रहेछन्– बिहान उठ्नासाथ राम्रो दृश्य हेर्न पाइयोस् । कानले राम्रो आवाज सुन्न पाइयोस् । मुखले राम्रो कुरा बोल्न पाइयोस् । फष्ट इम्प्रेसन इज एभर इम्प्रेसन भनेजस्तै । पहिलो प्रभाव नै अन्तिमसम्मको बनिरहँदो रहेछ । मलाई पनि त्यस्तै भइरहेको छ, तपाईँप्रति मदन दाइ ।
मदन दाइलाई चिनेको आवाज अभिनयबाटै हो मैले । तपाईंको आवाजलाई ध्यान दिन थालेको समय नाटकको नशा खोजिरहेको थिएँ म पनि । तपाईं र तपाईंजस्ता अन्य कलाकारको आवाज सुनेकै कारण एउटै संवादलाई विभिन्न आवाज र शैलीमा बोल्न खोज्थेँ । आफैँ बोल्थेँ र आफैँ सुन्थेँ । अलिअलि अभिनय गर्न जानेँ भन्ने भ्रममा दङ्ग पर्ने गर्थेँ ।
हो, त्यति नै बेला तपाईंको आवाजले मलाई मदनदास श्रेष्ठ भनेर चिनाएको थियो । नचिनेरै चिनेको मान्छे तपाईं । नभेटेरै मन पराएको मान्छे तपार्ईं । चिनेपछि र भेटेपछि पनि खासै चिन्न नसकेको मान्छे तपाईं । कहाँ कहाँ चिनुँ ? के के भनेर चिनुँ ? तपाईं एक भएजस्तै मदनदास पनि एक भए पो ?
तपाईंको आवाजले चिन्दा मदनदास अग्लो छ कि होचो छ ? मलाई थाहा थिएन । मदनदास कालो छ कि गोरो छ ? त्यो पनि थाहा थिएन । मदनदास मोटो छ कि दुब्लो ? त्यो पनि मतलब थिएन । मदनदास कहाँको हो ? के काम गर्छ ? कहाँ बस्छ ? बदमास छ कि असल ? कुनै कुराको पनि वास्ता थिएन । मात्र मदनदास थाहा थियो । मदनदासको वजनदार आवाज थाहा थियो । मदनदासको लामो समयसम्म हाँसिरहने राक्षसी हाँसो थाहा थियो । सायद पक्का फ्यान भनेको यस्तै हुन्छ होला ।
तपाईं रेडियोमा बोल्ने जागिरे, रेडियोमा अभिनय गर्ने कलाकार । लोकप्रियता पनि छिट्टै कमाइहाल्नु भयो । रेडियोबाहेक त्यतिबेला अर्को कुनै विकल्प पनि थिएन । देशको विदेशको जुनसुकै कुरा थाहा पाउनको लागि सुन्नुपर्ने रेडियो नेपाल मात्रै थियो । समाचारको लागि, गीत सङ्गीतका लागि, शिक्षाका लागि, स्वास्थ्यका लागि, कृषिका लागि, मनोरन्जनका लागि जे सुन्नुपरे पनि रेडियो नेपाल नै सुन्नु पर्दथ्यो ।
त्यसैले मदनदास र मदनदासजस्ता प्रिय आवाज चर्चित थिए । हो, त्यही नै बेला तपाईंको आवाज सुनेर कसकसले कस्तो कस्तो अनुमान गरे होलान् तपाईंलाई । तर मेरो इमेजमा तपाईं दसैंमा अट्टहास हाँस्ने दैत्यराजजस्तै हुनु होला भन्ने थियो ।
त्यतिबेलाको मेरो दसैं भनेकै स्कुलमा लामो छुट्टी भएपछि हुन्थ्यो । बाले सिलाइदिनुभएको नयाँ लुगा लगाएपछि हुन्थ्यो । टोलमा हालेको पीङ खेल्न पाएपछि हुन्थ्यो । आँगनमा खसी बोका कराउन थालेपछि हुन्थ्यो र रेडियो नाटकमा तपाईंको गह्रुङ्गो आवाजले बोलेको र लामो दैत्यहाँसो हाँसेको सुनेपछि दसैंको मज्जा आउँथ्यो ।
हुन पनि अचम्मैको पो छ त तपाईंको आवाज । तपाईंको हाँसोले नै देवगणलाई कता कता पाखा लगाइदिनुहुन्थ्यो । तपाईँको सण्डमुसण्ड आवाज र हाँसोले सधैँ जितेको जस्तो लाग्थ्यो । त्यसैले मलाई लाग्थ्यो मदनदास भनेको कथाहरुको राक्षसजस्तै होला । चित्रमा देखेकोजस्तै भयङ्कर जीउडाल भएको कालो न कालो, लामो जुङ्गा भएको हेर्दै डरलाग्दो हुनुहोला भन्ने सोचेको थिएँ । तर तपाई त दैत्यजस्तो होइन देवको पनि सोझो देवजस्तो हुनुहुँदो रहेछ ।
तपाईंको हाँसो मात्र होइन । तपाईंले भन्ने गीतिकथाहरुबाट पनि म निकै प्रभावित भएको थिएँ । तपाईंको गीतिकथा सुनेपछि मलाई पनि त्यसरी नै बोल्न मन लाग्थ्यो । आफूलाई मनपर्ने गीतहरु कपीमा लेख्थेँ र तपाईंले जस्तै रुन्चे आवाजको नक्कल गरेर एक्लै भन्ने गर्दथेँ । संयोगले इमेज एफएमका सुरुका वर्षहरुमा दुई दर्जन जति गीतिकथाहरु भनेर धीत मारेको थिएँ ।
सुनेरै चिनेको र भेटेको पनि रेडियोमा नै पहिलो पटकजस्तो लाग्छ । नाचघरमा पनि भेटेकै हो । एकेडेमीतिर पनि भेट भएकै हो । चलचित्र र अन्य फिल्मी पत्रिकाहरुमा काम गर्दा तपाईं र तपाईंको अभिनयको बारेमा लेखेकै हो । चलचित्र पत्रिकाको ‘श्रीमतीजी भन्नुहुन्छ’ भन्ने स्तम्भका लागि घरमा आएर भाउजूसँग अन्तर्वार्ता लिएकै हुँ । सुटिङ स्पटमा आएर सुटिङ रिपोर्ट पनि गरेकै हुँ । ‘श्रीमान् श्रीमती’ भन्ने धारावाहिक शृङ्खलामा सँगै अभिनय पनि गरेकै हो । एउटा टेलिफिल्मको नाम बिर्सिंएँ । अनामनगरको एउटा घरमा दिनभरि सुटिङ भएको थियो । तपाईं केटोको बा र म केटीको बा भएर जुङ्गाको लडाइँ लडेको भूमिका पनि निर्वाह गरेकै हो । यसरी धेरै समय र सन्दर्भहरु साक्षी छन् मसँग । तपार्ईको अनेक व्यक्तित्व बुझेको छु मैले । तर पनि तपाईंको नाम कतै पढ्नासाथ, फोटो देख्नासाथ वा भेट्नासाथ तपाईं त्यही हाँसो हाँस्ने राक्षस नै क्लिक गर्छ मेरो दिमागमा ।
रेडियोबाट सुनेर चिनेको मान्छेलाई यति नजिकबाट चिनिसक्दा पनि किन यस्तो भइरहेको होला हगि ? हुन त प्रभाव भनेको प्रभाव नै हो । कसैले बना भनेर बन्ने होइन, नबना भनेर नबन्ने पनि होइन । हेर्नोस् न, टेलिभिजनहरुमा रामायण महाभारतहरु प्रसारण हुन थालेपछि कुनै देवदेवीको नाम सम्झ्यो कि त्यही भारतीय कलाकारको अनुहार दिमागमा आइहाल्छ । शायद कलाकारको चरम सफलता भनेकै यही होला ।
तपाईंको खलहाँसोले पनि एउटा मापदण्ड र मान्यता पाएको छ । खलहाँसो भनेको मदनदासको जस्तो हुनुपर्छ भन्ने ब्राण्ड छ । यो सानो जित हो र ? कसैले चाहेर, ईष्र्या गरेर वा खर्च गरेर पाउन सकिने कुरा हो र ? त्यसैले अहिले रेडियो, नाटक, फिल्म, टेलिफिल्ममा खल हाँसो मदनदास हाँसो हुने गरेको छ । दोलखामा जन्मेर तपाईं देशभरिको हाँसोको ट्रेड बन्नुभएको छ । मोडेल बन्नुभएको छ । अब स्वदेशमात्र होइन नेपाली पुगेका जुनसुकै देशमा पनि नाटक हुँदा तपाइकै हाँसो आइहाल्छ ।
अँ, अर्को कुरा मदन दाइ । तपाईंको हाँसोले तपाईंलाई धेरै घाटा पनि पु¥याएको छ है । तपाईंको उज्यालो अनुहारलाई त्यही हाँसोले जितेको छ । तपाईंले अभिनय गरेका १५० भन्दा बढी टेलिफिल्महरु ओझेल परेका छन् । धाराबाहिक शृङ्खलाहरु बिर्सेका छन् । कति नाटक र चलचित्रहरुमा कति भव्य भव्य अभिनय गर्नु भएको छ । ती सबैलाई बिर्साएर मदनदास भन्दासाथ त्यही हाँसो कसैले नबिर्सने बनेको छ ।
हो, पनि, तपाईंको हाँसो जताबाट आए पनि मदनदास आइहाल्छ । जीवनमा पहिलो पटक ‘गहना’ भन्ने नाटक खेल्नु भएको कुरा तपाईंले नै भनेपछि मात्र थाहा हुन्छ । २०२६ मा सात दिन लगाएर काठमाडौं आउनुभएको, सङ्घर्ष गर्नुभएको, अर्को वर्ष नै महाकवि देवकोटाको ‘कृषिवाला’ नाटक खेलेर तीनसय रुपियाँ कमाउनु भएको कतिले सम्झेका होलान् र ? अहिले त के केमा कति अभिनय गर्नुभयो भन्ने आफै पनि बिर्सिसक्नु भयो होला सायद । एकेडेमीमा काम गरेको, कृषि कार्यक्रममा बोलेको, रेडियोमा जागिर खाएको, २०६६ मा अवकास पाएको तपाईंले भनेपछि मात्र थाहा पाउने परिचय भएका छन् । तर तपाईंको हाँसो कसैले बिर्सने छैनन् र कसैलाई सम्झाइरहनु पर्ने पनि हुँदैन ।
हो, पनि हाँसो तपाईंको जीवनको पर्याय बन्यो । रेडियो तपाईंको इतिहास, वर्तमान र भविष्य पनि बनेको छ । रेडियोले नै तपाईलाई नाम दियो, काम दियो, माम दियो, कलाकार बनायो, प्रतिष्ठित बनायो । यति धेरै भएर पनि तपाईं सरल हुुनुहुन्छ । त्यसैले नजानिँदो किसिमले तपाईंको योगदानको मूल्याङ्कन हुनसकेको छैन । नाटकको योगदानलाई छायाँमा पारिएको छ । रेडियो नाटकमा गरेको एउटा क्रान्ति , एउटा परिवर्तनलाई अवमूल्यन गर्न खोजिएको छ । तपाईंले छानीछानी जन्माएका कलाकारहरु पनि नजिक बनिरहन सकेका छैनन् । यसको जिम्मेवारीको अंश हामी हौँ । खाजीपस्दै जाने हो भने म पनि नहुँला भन्न सकिन्न । कतै हामीले मदनदासको हाँसो हाँसो भनेर हाँसोमा नै उडाइरहेका त छैनौ ?
यदि यस्तै हो भने यो मदनदासप्रतिको अन्याय हो ।
मदनदासको कलाको अन्याय हो ।
मदनदासले बनाएको एउटा मोडेलप्रतिको अन्याय हो ।
मदनदासलाई न्याय गर्न नसक्नु भनेको धेरै मदनदासहरुप्रति अन्याय गरिरहनु हो ।
हामी फेरि उठ्नुपर्छ न्यायको लागि र मदनदासहरुका लागि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।