आँखाले चिनिने अनुहार हृदयको सम्पति नबन्न पनि सक्छ । देख्नेमात्र हो आँखाले । तर त्यही आँखा भएर मनको भित्री तहसम्म देख्न पनि सकिन्छ र छाम्न पनि सकिन्छ । हेर्ने कला हो यो पनि एउटा । आँखा भएर देख्ने र देखिने पनि एउटै मात्र कुरा हो । आँखाको सम्पति नै व्यवहारको र मनको पनि सम्पति बन्न पुग्दछ । मनको यस्तो खाता खोल्न न कुनै बैङ्क चाहिन्छ न कुनै ब्यालेन्स नै । यसरी नै प्रमाणित हुन भएको थियो भट्ट सर ।

सेता कपाल ,सेतै दाह्री जुँगाबीचको काला ओठको गम्भीर मुस्कान, त्यही ओठले तानेको चुरोटको सेतै धुवाँ, सामान्य पहिरन, काँधमा झुण्डिने कपडाको झोला नै हुन् भट्ट सरलाई देख्नेले चिन्ने आकृति ।

तेज छन् र गति पनि छन् भट्ट सरका आँखामा । गहिरो दृष्टि भएका आँखा आफैमा अर्थपूर्ण लाग्छन् । गहिरिएर हेर्न सक्नेले भट्ट सरका आँखामात्र हेरेर उहाँलाई सर्वाङ्ग चिन्न सकिन्छ । एक्सरेभन्दा पनि सिटीस्क्यान गरेजस्तै भित्रसम्मै देख्न सकिन्छ । अर्थात् भट्ट सर जस्तो हुनुहुन्छ त्यस्तै देखिनुहुन्छ । कुनै पनि कृत्रिमता छैन । देखिने र देखाउनेमा कुनै अन्तर छैन उहाँको । शरीरले स्वरुपलाई देखाएजस्तै ,स्वरुपले बचनलाई देखाउँछ । बचनले व्यवहारलाई देखाएजस्तै व्यवहारले मनलाई देखाउँछ । यस मामलामा पनि सफा पानीजस्तो हुनुहुन्छ भट्ट सर । यसरी मुखमा र मनमा फरक नहुने भट्टहरु कोही पनि आफूप्रति र समाजप्रति बेइमान बन्न सक्दैनन् । यही पारदर्शिताले नै मानिसलाई साक्षात रुपमा मानिस बनाएको हुन्छ । भट्ट जस्तै मानिस र मानिस जस्तै भट्टहरु बढिरहने समय कहिले आउला हामी कहाँ ?

गोविन्द भट्ट

प्रश्नहरूबीच नै योगी स्वरुप झैँ लाग्छ मलाई गोविन्द भट्ट । टिलिक्क टल्किने फुलेका सेता कपालले, सेतै आकर्षक दाह्री जुङ्गाले भट्ट सरलाई केही नभने पनि बौद्धिक भन्न, चिन्तक भन्न करै लाग्छ । हो पनि त्यस्तै । उहाँको भव्य व्यक्तित्वले भट्ट नेपालको नेपाली मात्र नभएर विश्वकै एक प्रखर चिन्तक भएजस्तो लाग्दछ । के हाम्रो भौगोलिक रेखाले थुनेको हो त उहाँको व्यक्तित्वलाई ? होइन । सिमानाले रोक्न सक्दैन विचार र प्रसिद्धि । यदि त्यस्तो हो वा हुनसक्छ भने हामी र हाम्रा साँघुरा मानसिकता नै हुन सक्छन् । गहिरो बौद्धिक चिन्तनलाई अलि व्यापक मानसिकताले विश्वास गर्न सकिएको भए, स्वीकार गर्न सकिएको भए धेरै त होइन एक जना नेपाली चिन्तक विदेशी झण्डा फहराउने माटोमा पनि सम्मानित हुनसक्ने सम्भावनाको ढोका खुल्ने थियोे ।

संयोगले आज साउन दुई गते नै परेछ लेखनीको । आजकै दिन हो भट्ट सर जन्मेको दिन । वर्षले अहिले पचहत्तर लागेको छ । उहाँ हुनुहुन्न अहिले तर शरीर आएको उन्नाइस सय चौरानब्बेमा हो । यो संयोगमा म अठ्सठ्ठी सालको असोजलाई सम्झिन चाहन्न । पच्चीस गतेको सात बजेको साँझलाई पनि सम्झिन चाहन्न । त्रिहत्रर वर्षमा नै बिदा लिनुभएको दिनलाई सम्झिन चाहन्न म । मन छैन सम्झिनलाई । सम्झिनुपर्ने कुरा पनि होइन यो । मृत्युलाई जति व्याख्या गरे पनि मृत्युभन्दा फरक हुनै सकिँदैन । न आयु छ मृत्युको न औषधी नै । न बढाउन मिल्ने न घटाउन मिल्ने । मान्छेले मङ्गल ग्रह जितिसकेको छ । तर अलिकति पनि चलाउन नसकेको मृत्युलाई नै हो । मानवीय जीवनको सबैभन्दा सत्य हो मृत्यु । तर पनि नबुझ्नेहरूका लागि मृत्यु आफैँमा भयावह बन्छ । बुभ्नेहरुका लागि साश्वत र स्वाभाविक मात्रै । मृत्युपछि जो फेरि बाँच्न सक्दैनन्, उनीहरुका लागि मृत्यु डरलाग्दो र अँध्यारो गुफा नै हो । जो मरेर पनि मर्न पाउँदैनन्, उनीहरुका लागि त्यति ठूलो कुरा नहुन पनि सक्छ ।

त्यसै पनि भट्ट सर विचारले बाँच्नु भएको मानिस हो । व्यवहारले बाँच्नुभएको मानिस हो । साहित्यले बाँच्नुभएको, कठोर परिश्रम र सङ्घर्षले बाँच्नुभएको मानिस हो । यस मामिलामा भन्नेहरु भन्छन् धेरैलाई तर लासमाथि गरिने प्रशंसाको कुनै अर्थ छैन । जीवन हुन्जेल गर्ने एकथरी र हुने अर्काथरीहरूको त हिसाबकिताब नै छैन ।

दुर्लभ जस्तै भएको छ झन् गणतान्त्रिक समयमा । गरिबको आँसुको मूल्य खोज्नेहरु,पसिनाको प्रतिफल खोज्नेहरु, तिनीहरुकै लिस्नो चढेर माथि पुगेका छन् र उनीहरुमाथि नै शासन गरेका छन् । कुर्सी बलियो बनाउनका लागि उनीहरुकै आँसु र पसिनामा अबिरको होली खेलेर रमाउनेहरु पनि छन् । यस दृष्टिले भट्ट वामपन्थीका आदर्श र उदाहरण हुनुहुन्छ । इतिहास साक्षी छ, उहाँ सिद्धान्तमा सगरमाथा जत्तिकै अटल हुनुहुन्थ्यो । न लोभले, न सोचले, न फकाएर, न बहकिएर । जस्तै अप्ठेरा परिस्थितिमा पनि प्रतिबद्धतामा अलिकति पनि हावा नलाग्ने थोरैमध्ये थोरैमा पर्नुहुन्छ भट्ट सर । त्यसैले आस्थाका अविचल, अविश्रान्त शिखर बन्नुभएको छ भट्ट सर ।

अनौठो लाग्छ कहिलेकहीँ । सिद्धान्तमा यति कठोर मानिस व्यवहारमा कसरी शालिन बन्न सक्नुभएको होला ? मृदु र मिलनसार बन्न सक्नुभएको होला ? हो रहेछ, मन बलियो भएको मानिस सितिमिति भत्किन सक्दैन । हात्तीपाइले ढलान गरेर उठाएको पिलरजस्तै भरपर्दो हुन्छ । जसको मनमा समाजप्रतिको गहिरो चिन्ता हुन्छ उसको मन जतिसुकै ठूलो सुनामीले पनि बगाउन सक्दैन । जतिसुकै कडा रङ दले पनि रङ्ग्याउन सकिंदैन । यो नै आफ्नोपन हो र यो नै सच्चा कमाइ पनि । अन्यथा समाजमा धेरै बिक्ने भनेकै रङहरु हुन् । विश्व प्रवृति नै बनेको छ यो । एउटै मानिस उज्यालोमा एउटा रङ र अँध्यारोमा अर्को रङ दलेर हिँडछन् । सके आँखा, कान, हात, खुट्टा पनि फरक फरक बनाउन खोज्छन् । डाँडामा हावा चल्नासाथ कता बहकिनु पर्छ उतै लागिहाल्छन् । यस्ताहरुका भीडमा भट्ट सर एक्लो जस्तै बन्नुभएको छ ।

आठ सालमा हुलाकबाट कविता पठाएर छापियो युगवाणीमा । ‘शोसित पुकार’ कविताबाट सुरु भएको यात्रामा कथा र निबन्ध पनि आए । दर्शन र समालोचना त विशेष नै भइहाले । लेखक भएर माक्सवादी र माक्सवादी भएर चिन्तक भट्ट सरको चिन्ता जीवनभर असल समाजको नै रह्यो । समाजलाई सांस्कृतिक रुपान्तर, विचारक भएर नदी झैँ अविरल र विचारक भएर निष्ठाका स्तम्भ बन्नुभएको छ । साहित्यलाई जनमुखी विचारप्रति सचेतता ल्याउने,साहित्यलाई समाजको वास्तविकतामा ल्याउने अभियन्ता नै हुनुहुन्छ भट्ट सर । उहाँ विचारको शक्ति बढ्दा प्रसन्न हुनुहुन्थ्यो, उत्साही हुनुहुन्थ्यो । तर सत्तामा पुगेर पूर्ववत् शासक र सत्ताभन्दा फरक नहुँदा दुखी बन्नुहुन्थ्यो ।

बलियो छाती बनाएर राखेको छातीमा क्षय हुन थालेपछि उहाँका उज्याला आँखामा काला बादल मडारिएका देखिन्थे । कलिलो मुटुमा घाउ लागेको पीडा कति प्रकट गर्न सक्नुभयो कति सक्नुभएन भन्ने प्रश्न आफैँमा छ ।

धादिङबाट राजाहरुको पुरेत भएर रौतहटमा जन्मिएका भट्ट सर सात सालको गोलीकाण्डमा काँग्रेसको झण्डा बोकेर निस्कनु भएको थियो । जुलुसमा गोली चलेपछि उहाँ मन्दिरको पछाडि गएर लुक्नुभयो । तर सेनाले पक्रिहाले चारतारे झण्डासहित । सेनाले मार्नलाई घिसार्दै लगिरहेको बेलामा उहाँको बुबाको साथीले देखेर खबर गरेकोले मात्र बाँच्नु भएको थियो । बुबा मालमा तहबिलदार हुनुहुन्थ्यो । नत्र भट्ट सर काँग्रेस भएरै सिद्धिनुहुन्थ्यो । माक्सवादी भएर विचारक बन्न पाउनु हुन्थेन ।

स्मृतिमा छन् ती दिनहरु त्रिपन्न सालतिरका । त्यसबेला मित्र मनरुप जुम्लामा हुनुहुन्थ्यो । उहाँको कवितासङ्ग्रह ‘यक्ष प्रश्नहरु’ प्रकाशनको तयारीमा थियौँ । उहाँले भट्ट सरको भूमिका लेखाउन र भेट गर्ने रहर सुनाउनुभयोे । उहाँ काठमाडौं आएको समय पारेर हामी खोर्सानीटार पुगेका थियौँ भट्ट सरलाई भेट्न । मनरुपजी भट्ट सरबाट निकै प्रभावित हुनुुहुन्थ्यो । भट्ट सर पनि उहाँबाट निकै प्रभावित हुनुभयो । मनरुपजीको जुम्ला बसाइ, प्राविधिक शिक्षा, सरल व्यवहार र सरल तर शक्तिशाली कविताबाट ।

त्यसपछि पनि पटकपटक भट्ट सरको आँगन टेकेको छु । कोठामा बसेरसँगै चिया पिएको छौँ । साहित्यका कुरा, विसङ्गतिका कुरा, पुस्तकका कुरा, विचारका कुरा, दर्शनका कुरा गरेका छौँ । धेरै कार्यक्रममा उहाँका बौद्धिक प्रवचन सुनेको छु । शालिनताको हदैसम्म अनुभव गरेको छु । भट्ट सरको नेतृत्वमा काम गर्ने अवसर पनि पाएको छु ।

गोरखापत्रमा उहाँ कार्यकारी अध्यक्ष बनेर आउनु भयो । राजनीतिक सत्ता परिवर्तन हुनासाथ नेतृत्व परिवर्तन हुने प्रचलन नै थियो । भट्ट सर जस्तो व्यक्तित्व गोरखापत्रका लागि उपयुक्त थियो थिएन त्यो आफ्नो ठाउँमा छँदैछ । विचारक मानिस प्रशासक हुँदा पनि संस्था र सबैको भलो नै चिताउनु भयो । कसैप्रति नराम्रो कहिले सोच्नु पनि भएन । उहाँको शालिनता र इमान्दारिताले सबैको मन जितेको थियो । पदबाट बाहिरिनु भएको दिन उहाँले गोरखापत्रमा कमाएको सम्पति देखिएको थियो ।

संस्थानले औपचारिक बिदाइ गर्यो । उहाँलाई बाहिरी ढोकासम्म पुर्याउन जानेहरुको निकै ठूलो भीड थियो । उहाँलाई पुर्याउनका लागि गाडी तयार थियो तर उहाँले गाडी चढ्न मान्नु भएन । यो गाडी मैले पदमा बसुन्जेलसम्म मात्र चढ्ने हो, म अब ट्याक्सीमा जान्छु भन्दै दुई हात जोडेर विदा माग्नु भयो । धेरै जनाले अनुरोध गर्यौँ तर उहाँ आफ्नो अडानमा विचलित हुनुभएन । हामी सबै जना बाहिरको ढोकासम्म पुर्याउन गर्यौंँ । अकस्मात उहाँले केही सम्झे जस्तो गर्नु भयो । संस्थानले दिएको पाइलट पेन उहाँको सर्टको बगलीमा रहेछ । उहाँले त्यो पनि झिकेर फिर्ता गर्नुभयो । हामी सबैले अनौठो मानेर उहाँको अनुहार मात्र हेर्यौँ, केही भन्न सकेनौँ । बिदाइ गरेर फर्किँदा सबैका अनुहार दुलही अन्माएको घरकोजस्तो बनेको थियो ।

कुरा पदमुक्त भएपछि गाडी चढ्नु नचढ्नुको मात्र होइन । एउटा पेनको मात्र पनि होइन । कुरा प्रचारको लागि होस् भन्ने पनि होइन । अरुले अनुकरण गरोस् भन्ने पनि होइन । कुरा आदर्शको हो । मानसिकताको हो । त्यो भट्ट सरको जीवन शैली हो र हो स्वभाव ।

संस्थानमा अहिलेसम्म उहाँजस्तो हाकिम कति आएका छन् र कति गएका छन् । आउँदा ढोकामा गाग्रीमाथि दहीको ठेकी राखेर,माला लगाएर स्वागत गरिएका भए पनि जाँदा भट्ट सर जस्तो गरेर जाने आजसम्म कोही पनि बन्न सकेका छैनन् । यस दृष्टिले भट्ट सरजस्तो भाग्यमानी कोही बन्न सकेका छैनन् । राजनीतिक नियुक्ति लिएर जानेहरुको मात्र कुरा होइन यो । तीसौँ वर्ष काम गरेका संस्थान प्रमुखलाई बिदाई गरेर घर पुर्याउने बेलामा चालकहरु भागाभाग गरेका थिए, पुर्याउन जानुपर्ला भनेर । कोही के भनेर नजाने, कोही के भनेर निहुँ बनाउने । तर भट्ट सरलाई घर पुर्याउने चालकहरुको मात्र हानथाप होइन घरसम्मै पुर्याउन जानेहरुको पनि हानथाप थियो ।

जीवनमा कमाउने भनेको नै यस्तै होला सायद । कहिले नसकिने कमाइ । धन कमाउनेहरु, पद कमाउनेहरु, प्रतिष्ठा कमाउनेहरु पनि समयमा लाजै जोगाउन नसकिने गरी टेलिभिजनमा रुमालले मुख छोप्नेहरु कति छन् कति ।

हिजोसम्म जोर सलाम ठोक्नेहरुकै हातबाट हतकडी लगाउनेहरु पनि कम छैनन् ।

शक्ति, सत्ता, पद धनले गर्न नसक्ने काम मनले गर्दो रहेछ । अरु कमाउने अनेक माध्यम हुन्छन् । महादेवको पनि तेस्रो आँखा खुल्ने कुराले धेरै कुरा गर्न सकिएला । यसको शक्ति देखिनेभन्दा नदेखिने बढी हुन्छ । यसले कमाउन नसक्ने भनेको एउटै मन मात्र हो । धन कमाउनेहरु कहीँ नहुँदा पनि मन कमाउनेहरु जहीँतहीँ हुनसक्छन् । जीवनको सार्थकता भनेको यही नै हुनपर्छ । भट्ट सरले पनि मनै कमाउनु भएको रहेछ भकारीका भकारी ।

एक व्यक्ति हो भट्ट सर तर करोडौँमा एक । लोभ मोह केही नभएका सन्त स्वभावका योगी जस्ता । हुन त समयमा जोगी बन्न हिँडनु भएकै हो भारतीय साथीसँग । साथीलाई आमाको माया लागेर फर्किएपछि भट्ट सर एक्लै नबन्नुभएको हो जोगी । दिनभरि सारनाथमा बुद्धको मूर्ति अगाडि बसेर ध्यान गरेपछि फर्किनुभएकै हो उहाँ । स्वभावले जोगी नै हो भट्ट सर बन्न नसकेको भए पनि ।

साहित्यमा समर्पित नहुनुभएको भए, माक्सवादमा नलाग्नुभएको भए, चिन्तनमा नडुब्नुभएको भए भट्ट सर स्वामी गोविन्द महाराज पो बन्नुहुन्थ्यो कि, के थाहा ?