१
नेपाली स्रष्टाको सेवामा नित्य समर्पित श्री शेषराज सिवाकोटीले प्रस्तावना राख्नु भएको धेरै भयो, गत वर्षकै कुरा थियो । आफ्नो ज्ञानगुनका कुराको आगामी अङ्क रोचक घिमिरे विशेष हुनेछ भन्नुभएको । तर कोरोनाको व्याप्तिले गर्दा लेखक, सम्पादक, प्रकाशक, वितरक, पाठक सबैको निमित्त कसरी ज्यान जोगाउने होला भन्ने चिन्ताको वर्ष आयो । अन्य सारा प्राथमिकताहरू ओझेल पर्दै गए; जीवन बाहेक सबै गौण भए ।
आज दश महीना कटेपछि अनुसन्धेय व्यक्ति रोचक घिमिरेले पनि मलाई स्मरण गराउनु भयो, भाइ त्यो अङ्क भनेको अब चाहिँ निकाल्ने तयारीमा पुग्यो । शेषराजजीको पनि टाढादेखि फोन आयो ।
अनि आत्तिँदै उहाँका विषयमा केही लेख्न बसेको छु । एक मन ता सम्झेँ— उहाँ यही रचनाका सम्पादक अहिलेसम्ममा दुर्लभ १६८ अङ्कका प्रकाशक स्वयम् लेखक र एक निरन्तर संयोजकको सम्झनामा फक्रिएका थुँगाहरू (संस्मरणात्मक निबन्धसंग्रह (२०५६) जस्तो कृतिका सर्जक, अनेक संस्थासित आवद्ध एक व्यक्ति जसको पृष्ठभूमिमा सत्तरी वर्ष जतिको नेपाली साहित्यका आवागमनको मूलधारीय चेतना छ । उहाँ त्यतातिरको एक नेपाली विश्वकोष नै हुनुहुन्छ । २०१८ सालदेखिका साहित्यिक चिन्ता र वार्ताका अक्षुण्ण साक्षी । बाटामा भेटिएका कति अस्ताउनेहरू कति उदाउनेहरू कमसेकम चारपाँच पुस्ता लेखक पाठक, कम्तीमा चारपाँच राजनैतिक सामाजिक विद्रोह, आन्दोलन, परिवर्तन, क्रान्ति र स्रष्टा सबै भोग्ने लेख्ने एक अमूल्य निधि हुनुहुन्छ उहाँ । हिजो मात्रै आइतबार ४ माघ २०७७ का दिन अन्नपूर्ण पोष्टमा प्रकाशित श्रीओम श्रेष्ठको एक उत्तम लेख पढ्ने अवसर पाएँ । श्रीओम भाइले रोचक दाजुलाई अनुभवका विश्वविद्यालय भनेको पदावली नै उहाँको सर्वाेत्तम मूल्याङ्कन हो । मलाई त्यो देखेर आफ्नो लेखको पनि त्यही शीर्षक राखौँ कि जस्तो पनि भएको थियो ।
तर प्रत्येकको आफ्नै कर्म हुँदोरहेछ, आआफ्नै व्यस्तता र रातदिनको दौडधूप । वरिपरि को कता कुधिरहेको छ, के कति प्राप्त भए, के कति बाँकी छन् केही पत्तो नहुँदो रहेछ । यस्तैमा पनि बेलाबेला रोकिएर रोचक घिमिरे जस्तो तपस्वी साधक यतिखेर कहाँ पुगे, उनी कुन अन्धकार युगमा उदाएका थिए, आफ्नो पछिल्तिर कत्रो राजमार्ग बनाएका छन् त्यतातिर पनि हेरौँ लाग्दो रहेछ ।
जसको जीवन नै एउटा “इन्साइक्लोपेडिक भोल्यूम” जत्रो भएको छ । जसका कर्महरूमा, त्याग, तपस्याका प्रतिफलहरू दृश्यमान् भन्दा अदृश्य, अमापनीय ज्यादा भइसके तिनको बारेमा म धेरै पछि उदाएको बाहिरियाले आकलन गर्न सक्तिनँ होला । किनकि रोचक घिमिरेलाई म धेरै माथि, धेरै सम्मानित स्थानको उचाइमा देख्तछु । मेरो जन्म हुने बेलासम्म उहाँले नेपाली साहित्यमा हिँडेको दुई तीन दशकको गोरेटो नजिकैबाट देख्न सकिन्छ । किनभने उहाँ यथासमयमै सदर नेपालमा प्रवेश गर्ने सौभाग्य लिएर आउनु भएको रहेछ, किनभने उहाँले एक संस्कारित सुपठित कुलमा जन्म लिनुभएछ, किनभने उहाँका पिताजीले काठमाडौँको सामाजिक सांस्कृतिक राजनैतिक केन्द्रमा प्रवेश पाउनु भएछ । त्यही (पिताजीका) संस्कार र सम्पर्क चेतनाले नै उहाँले पनि सानै उमेरमा साहित्यकर्म पक्रिनु भएछ । यसरी एक जीवन सम्पूर्ण रूपले एक परसेवी कर्ममा सुम्पिने कति होलान्— भवानी घिमिरे जस्तै, उत्तम कँुवर जस्तै, नगेन्द्रराज शर्मा जस्तै— थोरै होलान् यो जीवनभरि थाम्न नसकिने कर्म पक्रेर थामिरहने बेग्लाबेग्लै रङ्गरूपका, शक्ति क्षमता र प्रयोगका रुचि र ढंगका स्रष्टाहरूलाई एउटै धागोमा उनेर हिँड्ने क्षमता भएका योजकहरू । थाम्न नसक्नेहरू बीचैमा टुटेका छन्, शारदाकालीन अनेक प्रकाशन, रूपरेखाकालीन अनेक ।
२
तर रोचक दाइमा विनयशीलता र स्वाभिमान दुवै तत्वको संयोग अत्यन्तै प्रशंसनीय मात्रामा छ । त्यसैले हामी सबैलाई तानेको छ । अझ उहाँ ता मेरा भाइका एक आदरणीय विम्ब हुनुहुन्छ । मेरा दाजुका पनि । म पनि अनेक प्रेमहरूले उसै तानिएको छु । उहाँले रचनालाई हुर्काएर १४ वर्षे पारेपछि बल्ल मेरो भेट भयो र एक समीक्षा त्यसमा छापियो । ‘रचना’ को वर्ष १४ अङ्क २ मा छापिएको त्यो समीक्षा थियो ‘विषाक्त भोगाइको मूर्तरूप : साबिती’ । भर्खर काठमाडौँ पसेर यहाँको भयङ्कर तिरिमिरि देख्न थालेको युवक थिएँ २०३२ सालमा; त्यसबेला मेरो प्रथम समीक्षा छापिदिनु भयो रचनामा । यसरी समालोचनातिर मेरो बाटो सोझिएको थियो । मैले भुल्न नसक्ने कुरो । मेरो उपन्यास ‘मुगलान’को परिचय पनि २०३२ भदौ–असोजको ‘रचना’मा छापिएपछि ममा झन् प्रसन्नता थपियो ।
रोचक दाइको जीवनसँग धेरैपछि मिसिएको पात्र हुँ । मूलबाट पलाएर धेरै धेरै बगिसकेपछि बीचतिर उहाँसँग मिसिन आउने खोली हुँ म । ता पनि आज उहाँमाथि मैले देखे–बुझेका उहाँका सुकर्ममाथि केही लेख्न बसेको छु ।
अघिका मेरा भेटहरू परोक्ष मात्रै भएछन् । त्यसो ता उहाँ हाम्रो घर (दमक) मा पनि पुग्नुभएको थियो । पछि पनि कति ठाउँका साहित्यिक यात्रामा परियो— रामेछाप, चपुर, विराटनगर, धनगढी आदि । ती सबै निकटताहरू म २०४८ सालमा धनकुटा क्याम्पसबाट सरुवा भई काठमाडौँ आएँ, त्यसपछिका मात्रै हुन् । उपत्यका भित्रका अनेक स्रष्टा, सम्पादक, लेखक, प्रकाशकलाई भेट्न थालेपछि नै उहाँलाई भेटेको हुँ ।
त्यसपछि ता बिस्तारै म एक ज्यादै चल्तीको सिक्का भएँ । हप्तैपिच्छे हुने गोष्ठी भेलातिर पुग्छु रोचक दाइ र नगेन्द्र दाइ कहिले अध्यक्षता गर्नु हुन्छ कहिले सदस्यता कहिले अग्रपंक्तिका दर्शक श्रोता । सधैँ जस्तो कृष्णचन्द्रसिंह, बैरागी काइँला, धु्रवचन्द्र गौतम पनि भेटिनुहुन्छ । सानो छरितो काँटको रोचक दाइ प्यान्ट शर्ट र ज्वारीकोट अथवा मौसम अनुसारको ट्युनिकमा कतिपल्ट मञ्चमा सँगै बस्यौं, बोल्यौँ दुई दशक चल्यौँ । हामीलाई कोरोनाले भड्काएको भर्खरै हो ।
त्यसमा अर्थाेक ज्यादा हुन्छ साहित्य कम । रचनामा छापिएपछि हामीलाई पुग्छ । अगणित संख्यामा स्रष्टा र साहित्यकार जन्मायो होला रचनाले तीमध्ये एक म पनि हुँ । यसको श्रेय रचनालाई छ ।
कतिपल्ट आफ्ना रचना पठाउँछु छापिदिनु हुन्छ, कतिपल्ट अरूका पनि मिसाउँछु छापिदिनु हुन्छ । भेट भएको दिन कहिले हातबाट, झोलाबाट, कहिले ज्वारीबाट झिकेर एकप्रति रचना लुकाएर पनि दिनुहुन्छ । पठनीय लाग्छ, स्तरीय लाग्छ । देवकोटा, भानुभक्त, भैरव अर्याल, हास्यव्यङ्ग्य, समालोचना, असमे नेपाली सिक्किम सम्बन्धी ‘रचना’ का विशेषाङ्क गहकिला र महŒवपूर्ण छन् । अरू थुप्रै विशेषाङ्क पनि निस्केका छन् । नेपाली साहित्यको क्षेत्रमा रोचक दाइले गरेको सेवाको यो पाटो पनि अविस्मरणीय छ । बाहिरका साहित्यकार पनि रचनामै छपाउन सकिँदैन ? भनेर मेरो तागतको परीक्षा लिन चाहन्छन् । एकपल्ट लीलबहादुर क्षत्रीको ३० पेज लामो लेख आयो, त्यो पनि त्यहीँ छपाइदिनु भो । लीलबहादुरले प्रसन्नता व्यक्तगर्दै दुवैतिर फोन गर्नुभो । उहाँले भाषाको पनि हामीलाई मन पर्ने एउटा स्तर कयम गर्नुभएको छ, वैचारिक रूपले पनि एक सन्तुलित स्थानबाट आफ्नो पत्रिका जोगाउँदै ल्याउनु भएको छ । साहित्य नछापेर धेरै जसो उत्तरका छेउदेखि दक्षिणका कुना पुग्नेहरू छन् । त्यसमा अर्थाेक ज्यादा हुन्छ साहित्य कम । रचनामा छापिएपछि हामीलाई पुग्छ । अगणित संख्यामा स्रष्टा र साहित्यकार जन्मायो होला रचनाले तीमध्ये एक म पनि हुँ । यसको श्रेय रचनालाई छ ।
३
आज म अरू कुरा गर्दिनँ । रोचक दाइको पत्रकार जीवनसँग जोडिएका रचना पत्रिकासँग जोडिएका सबै कुरा गर्दा ठूला ठूला तीन भोलुमले पनि पुग्दैन होला । म एक छोटो लेखमा उहाँको कृति अनुहार र अनुभूति को बारेमा अलिकति कुरा राखेर रोकिन चाहन्छु । तर एक दुई कुरा सम्झनाका त्यो भन्दा पहिले उठाउन चाहन्छु । तीन–चारपल्ट म रोचक दाइको घरमा पुगेको छु ।
उहाँ हाम्रो घर (ट्याङ्लाफाँट कीर्तिपुर) मा आइपुग्नु भो— जगदीश घिमिरे र नगेन्द्रराज शर्मासित लागेर दुईपल्ट, फेरि एक्लै भाइ (देवेन्द्र) बिरामी परेको बेला । म बिरामी पर्दा पनि हेर्न आउनुभो वसन्त रिजालसँग । आज रोचक दाइले सुन्नेगरी जगदीश दाइको बारेमा एउटा कुरा भन्न चाहन्छु—जगदीश घिमिरे राम्रा लेखक हुन् तर उनले गरेको एउटा व्यवहार चाहीं मलाइ निको लागेन । बिरामी परेका बेला लौरो टेक्तै दुई जना बन्धु (नगेन्द्र–रोचक) सँग अन्तर्मनको यात्राको भूमिका लेखिमाग्न आएका थिए । दुईपल्ट आए । म पनि दुईपल्ट उनका घरमा गएँ । भूमिका लेख्नु मात्र होइन अन्तर्मनको यात्रा गहिरिएर पढेपछि मैले तीस प्रतिशत कुरा थपघट गर्ने, कुनै कुरा नलुकाउने सल्लाह दिएँ पहिलो पाण्डुलिपिमा एकैचोटि बन्दूक भिरेर। क्रान्तिलाई मधेशदेखि पहाड चढेको थियो, बाल्यकाल थिएन । राजतन्त्रका ठूलाठूला जागिर खाएका, तक्मा पाएका व्यक्ति अहिले आएर जोड गाली गर्ने शक्ति प्रकट गरेका थिए । ती अशोभनीय छन् भन्ने । तर त्यो शक्तिशाली लेखाइले छोएर । भूमिका पनि हृदय खोलेर लेखेँ । तर हाम्रो सम्बन्ध त्यहीँ टुङ्गियो । दोस्रो संस्करणपछि ता पुस्तकबाट मेरो भूमिकै हटाइदिए । पछि मलाई लाग्यो उनीसित चिनारी नभएको भए पनि केही गुमाउने थिइनँ होला तर असाध्य रोगसँग लड्दा लड्दा असमयमै बितेर जाने ती दाजुको सम्झना आइरहन्छ । जहिले पनि एक जनालाई सम्झिँदा तीनै जनालाई सम्झिन्छु ।
रोचक दाइको घरमा पहिलोपल्ट म भाइ देवेन्द्रसित पुगेँ उहाँ बिरामी परेर तङ्ग्रिदै गरेको बेला । अरूपल्ट एक्लै जान सक्ने भएँ । एकपल्ट चाहिँ दाइले जसरी पनि आफ्नो संस्मरण लेख्नुहोस् भन्न गएको थिएँ । तर लीलबहादुर क्षेत्रीले जसरी उहाँले पनि त्यता जान सक्तिनँ भन्नुभयो । गरे ता सक्ने थिएँ होला, तर अब गरिएन भन्नुभो ।
दुनियाँलाई कति कति कुरा अन्धकारमा राख्ने हुुनुभयो भन्ठानेँ । छोरा प्रतीक र सुधीरको जिम्मामा राखिदिनुभो । गतवर्ष मात्रै मुकुन्द शरण उपाध्यायलाई भेट्न गहनापोखरी जाँदा रोचक दाइसित पनि एकछिन भेटेर आएँ । अलिक पछि गणेश रसिक दाइलाई भेट्न जाँदा पनि एकपल्ट भेट्यौँ । उहाँ अघिल्तिर टेबल राखेर भित्ताका दराजहरू सामूको सोफामा निहुरिरहेको भेटिनुहुन्छ । बाहिरका कार्यक्रममा पनि धेरैजसो भेट भइरहने मान्छे । कोरोना नहुँदासम्म उहाँ हिँडडुल गर्न नरोकिने मान्छे नभेटेका १० महीना बिते ।
उहाँको प्रशस्ति वाचन गरियो, दाइका जेठान बिराटनगरवासी काशीनाथ बराललाई सम्मानपत्र र पुरस्कार राशि जिम्मा लगाइएको थियो ।
कति सम्मान पुरस्कार मैले यस्ता आदरणीय दाइका हातबाट पनि ग्रहण गरेँ । तर एकदिन म पनि प्रमुख अतिथि भएको सभामा दाजुलाई निमन्त्रणा थियो । उहाँको एक गतिलो पुरस्कार र सम्मान पनि थियो । २०७० सालको कुरा होला विराटनगरबाट गुरु बालकृष्ण पोख्रेलले निम्ता गर्नुभयो । म प्रमुख अतिथि बनेर गएँ तर बिरामी परेकोले रोचक दाइ त्यहाँ उपस्थित हुन सक्नुभएन । उहाँको प्रशस्ति वाचन गरियो, दाइका जेठान बिराटनगरवासी काशीनाथ बराललाई सम्मानपत्र र पुरस्कार राशि जिम्मा लगाइएको थियो ।
४
आज म अर्काे र अन्तिम कुरातर्फ अवतरण गर्दछु त्यो हो रोचक घिमिरेको अनुहार र अनुभूति (२०७४) शीर्षक बुक आर्ट नेपालले प्रकाशनमा ल्याएको कृतिको चर्चा । यस गद्य कृतिमा चालीसवटा लेख रचना समावेश छन् । कृतिमा अत्यन्तै आकर्षक छपाइ, कागज र अक्षरको संयोजन देख्न पाइन्छ । के के कर्माचार्यको सो क्लासिक कभर तस्वीर त्यस्तै लोभ्याउने छ ।
प्रकाशक भाइ कार्तिकेय घिमिरेको तत्परताले आएको यो कृतिको विमोचनमा मलाई पनि निमन्त्रणा प्राप्त भएको थियो । ठूलो पुस्तकमेला लागेको बेला भृकुटीमण्डप भित्रको विशाल हलमा भव्य उपस्थितिबीच यसको सत्यमोहन जोशीज्यूबाट विमोचन भएको थियो । सोही अवसरमा लेखक रोचक दाइले “स्नेही भाइ गोविन्दराज भट्टराईमा स्नेहोपहार” लेखेर मलाई एक प्रति दिनुभएको थियो । जसमा हस्ताक्षरित मिति २९–४–२०७४ थियो । यस्तो उपहार प्राप्त गरेपछि अलिकति ऋण बोकेको छुु भन्ने लागिरहन्छ । एउटा भावनात्मक ऋण, निःशुल्कताको अर्काे छ केही लेखेर उऋण हुन पाए हुन्थ्यो भन्ने प्रकृतिको यद्यपि मैले त्यही समारोहमा केही बोलेको थिएँ, एकदिन यस कृतिबारे धैर्यसाथ म केही लेखौँला भन्ने वाचा पनि गरेको थिएँ ।
आज त्यही वाचा पूरा गर्दछु । शेषराज सिवाकोटीज्यूलाई यस्तै एक रचना तयार पारेर उपहार गर्ने निश्चय गरेको थिएँ । त्यसो त रोचक दाइले गरेका अमूल्य साहित्यिक कर्म अरू पनि छन्, हामीले तिनको पनि प्रशंसा गर्न सकेका छैनौँ । यिनमा एक अमूल्य कृति हो भैरव अर्यालको बारेमा उहाँले तयार पार्नुभएको शाश्वत व्यङ्ग्य शिल्पी (२०७५) शीर्षकको । त्यो पछि गरौँला अथवा कसैले गरिसकेको होला ।
एउटा आर्काइव जस्तो बनिसकेको व्यक्तिले जे लेखे पनि बोले पनि अमूल्य कुरा लाग्छ । प्रस्तुत अनुहार र अनुभूति शीर्षक कृतिमा उहाँले सुने जानेका, देखे–भेटेका व्यक्ति र घटना स्मरणमा रहेका केही अवशेष र अमूल्य कुराहरू छन् । तर धेरैमा ता तात्कालिकता नै छ ।
यी रचनाले रोचक दाइको सरल र सौम्य चाला बोल्छन्, उहाँको शिष्टता र अत्यन्तै सुन्दर भाषा बोल्छन् । शुरूका केही लेखमा मैले त्यस्ता कुराको संकेत पाएपछि कति ऐतिहासिक कुराले भरिएका प्रत्येक लेख एक शब्द नछोडी पढेँ । केही जिज्ञासा अप्रकट रहेका ठाउँमा उहाँलाई नै सोधेर बेलाबेला प्रस्ट हुँदै बढेँ ।
यी रचनाहरू विभिन्न कालमा प्रकाशितहरूको चयन र पुनः प्रकाशन रहेछ । तर संकलित एकतृत रूपमा । ती छाप्ने केही पत्रिकाका नाम पुस्तकको अन्त्यमा आउँछन् तर तीबाट कुरा प्रस्ट खुल्दैन साथै रचनाका अन्त्यमा मिति छैन, प्रकाशकको सूचीमा पनि छैन । त्यसैले कुन कुन कहिले लेखिए वा छापिए होलान् जस्तो पनि लाग्छ तर त्यो चिन्ता गर्नु आवश्यक छैन, उहाँकै जिम्मा छ, कुनै अनुसन्धाताले गर्ला हो । यी रोचक दाइका उत्तराद्र्ध वयमा लेखिएका कुरा यद्यपि यी कति घटना धेरै पहिलेका बाल्यकालदेखिका स्मृतिमा रहेका तत्व हुन् । यी सबै संस्मरणात्मक निबन्धको संकलन हो ।
तर प्रत्येक रचनाले एक व्यक्ति पक्रिन्छ । विशेष गरी उनले गरेका साहित्यिक पत्रकारिताका योगदानका उल्लेख आउँछन् । जस्तै अच्युतरमण अधिकारी, वादेपा, मदनमणि, भवानी घिमिरे … यस विधाका जगका ढुङ्गा हुन् । त्यस बाहिरका रचना पनि थुप्रै छन् । सबै मिलेर एक विविधता पुञ्जको निर्माण गर्दछन् । तर चालीस लेखमा एकमात्र नारी स्रष्टाले स्थान प्राप्त गरिछन्— देवकुमारी थापा । यो अलिक खड्केको कुरा छ ।
लामो विवरण छैन, प्रत्येकलाई जीवनको एक क्षण एक झल्का मात्रै । धेरै जसोमा आफूसँग जोडिएका स्रष्टाको चर्चा छ, आफ्नो जीवनसँग परिवेशसँग, र रचना पत्रिकासँग । जस्तै आनन्ददेव भट्टको कुरा जोडिएका छन् । रचनाको आकलनले नै उहाँलाई बताउँछ । तर आजसम्मका अङ्कमा कुन स्रष्टा कहिले हरायो कि अझै छ— यस्ता कुरा अरु कसलाई थाहा हुन्छ ? उहाँलाई स्वयम् पनि कति मुस्किल कुरा हुन् तर आनन्ददेव भट्टका अनुसन्धाताका दृष्टिमा यी कुरा परेन भने ता धेरै छुट्ने छन् ः २०१८ सालमा “भैरवप्रसाद अर्याल र उपवन” शीर्षक समालोचना प्रकाशित भएको छ । यसपछि पनि २०२१ सालमा ‘रचना’ को पूर्णाङ्क— ३ मा ‘हाम्रो समालोचना कस्तो हुनुपर्छ ?’ शीर्षक उहाँको लेख छापिएको छ । ०३२ सालको ‘रचना’ पूर्णाङ्क २५ मा ‘साबितीका सम्बन्धमा’, २०४२ ‘रचना’ पूर्णाङ्क ४५ मा ‘सगरमाथा नाङ्गै देखिन्छ र कवि विक्रम सुब्बा’, २०६१ को ‘रचना’ पूर्णाङ्क ८१ मा ‘श्री हरिहरनाथ रेग्मीः एक गुरुगम्भीर व्यक्तित्व’ २०६५ को ‘रचना’ पूर्णाङ्क ९९ मा ‘मनको एउटा आधारभूत समस्या’ शीर्षक भट्टज्यूका लेख रचनाहरू छापिएका छन् (पृ २१) ।
त्यही लेखमा आनन्ददेव भट्टले रोचक दाइलाई सोधेको एक प्रश्न छ त्यसको उत्तर पनिः आफ्ना छरिएका लेख–निबन्ध संस्मरणलाई पुस्तकाकारमा ल्याउन किन वास्ता नगरेको ? भन्ने उहाँको प्रश्नलाई उत्तर दिँदै भनेको थिएँ — आफ्ना पुस्तक छाप्न प्रकाशक कहाँ खुसामद गर्न जाने स्वभाव मेरो छैन । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आफ्नै मित्रहरू कार्यरत हुँदा मागेको पाण्डुलिपि स्वीकृत भएर पनि पन्ध्र वर्ष थन्किएर फिर्ता गरियो । यसबाट झन् मेरो जाँगर मर्यो ! आफ्नो पुस्तक आफैँले छाप्नुभन्दा त्यस खर्चबाट ‘रचना’ पत्रिकाकै एक दुई अङ्क निकाल्नु ठीक लाग्छ मलाई ! (पृ. २२)
प्रत्येक लेखमा एक विशेष कथ्य हुन्छ । बालमुकुन्द देव पाण्डे (बादेपा) को एउटा ऐतिहासिक अतीत पनि छ । उनले कसरी श्रम गर्थे कसरी अर्काले शोषण गर्थे भन्ने दृष्टान्त छः नयाँ समाजका सम्पादक कहलाएर देश विदेश भ्रमणको सुख भोग्ने पशुपति देव हुन्थे भने ‘नयाँ समाज’ लाई चम्काउँदै , परिस्कृत पार्दै बचाउन दश नङ्ग्रा खियाउने चाहिँ बालमुकुन्द हुन्थे (पृ. ३०) ।
आज इतिहासको गर्तमा लुकेको, विलीन भएको रूपरेखाको इतिहास पढ्दा दुःख लाग्छ । रोचक दाइले प्रत्यक्ष देखेका अनुभव गरेका कुरा र तिनको विश्लेषण पढ्दा मन नमीठो हुन्छः राष्ट्रिय पुस्तकालयले २०१७ सालमा वासु रिसाल र श्री रामदेव भट्टराईको सम्पादनमा ‘रूपरेखा’ द्वैमासिक निकाल्यो । त्यसको प्रेस व्यवस्थापनको जिम्मेदारी बालमुकुन्दले पाए । ‘रूपरेखा’ दुई अङ्क निस्केपछि त्यसका सम्पादकहरू लाखापाखा लागे । बालमुकुन्द र योगेन्द्र अर्यालले ‘रूपरेखा’लाई नबचाएको भए त्यसबेला नै अस्तित्वहीन भइसक्ने थियो । पछि उत्तम कुँवरलाई आफूसँगै सम्पादक बनाएर ‘रूपरेखा’ मा ल्याएका हुन् बालमुकुन्दले । अचेल ‘रूपरेखा’को चर्चा चल्दा बालमुकुन्दलाई ओझेलमा पार्ने गरिन्छ । ‘रूपरेखा’लाई ‘शारदा’ पछिको उल्लेख्य पत्रिका बनाउन बालमुकुन्दको पर्याप्त बौद्धिक श्रम र सीप लागेको तथ्य बिर्सन मिल्दैन । ‘रूपरेखा’ का दिमाग बालमुकुन्द थिए भने उत्तम कुँवर त्यसका प्राण ( पृ. ३१) ।
रोचक दाइका आफ्ना मित्र मण्डली छन् । कसरी अरूसित जोडिँदै गइयो ककसको गू्रप थियो, ककसको मन भावना उत्साह मिल्ने समूह भन्ने कुरा शुरूदेखि नै ख्याल गर्नु पर्दछ यसरीः बालमुुकुन्दले सम्पादकका रूपमा थुप्रै प्रतिभालाई प्रकाशनमा ल्याए र प्रोत्साहित गरेका छन् । अहिलेका ख्यातिप्राप्त कतिपय साहित्यकारलाई स्थापित गराउन उनले गरेको सहयोग बिर्सन सकिँदैन । मदनमणि दीक्षित, मदन रेग्मी, धु्रवचन्द्र गौतम, धु्रव सापकोटा, पीटर जे कार्थक, मधुवन पौडेल, हेम हमाल, गोपाल पराजुली, ज्ञानुवाकर पौडेल, नारायण तिवारी जस्ता थुप्रै नाम छन् बालमुकुन्दले ‘रूपरेखा’ मा प्रकाशनको मौका दिएर चर्चामा ल्याएका ! त्यस्ता कैयौँ स्रष्टाका सृजना परिष्कृत पारेर छाप्न बालमुकुन्दले पर्याप्त प्रयत्न गरेको त्यो बेला ‘रूपरेखा’ कार्यालयमा पुगेका जो कसैले पनि देखेकै कुरा हो (३१–३२) ।
आफ्ना पिताजीको संस्कार र साधनाले पहुँच र क्षमताले महाकविसित पनि जोडाएको कुरा पढ्दा कत्रो आनन्द लाग्छ ।
वासुदेव लुइँटेललाई एक्ला चोखा वृहस्पतिको रूपमा परिचय गराएका छन् । आफ्नो पनि बिस्तारो संगत बढ्दै गएको लेखक सर्कल बढ्दै गएको विस्तारित हुँदै गएको अनुभव छ । चिनिँदै गएको चिन्दै गएको अनुभव छ, छुट्तै गएको पनि सूची लामो छ । साठी वर्षको निरन्तर तपस्यामा केके मात्रै भएन होला । भैरव अर्याल, मदनमणि दीक्षित, कवि शिरोमणि, वासुदेव लुइँटेल, अच्युतरमण, रमेश विकल, विजय मल्ल, क्षेत्रप्रताप, माधवलाल, सम, नेपाली साहित्यका धमनी हुन् । ती सबै काठमाडौँ उपत्यकामै उदाए, यहीँ अस्ताए । आफ्ना पिताजीको संस्कार र साधनाले पहुँच र क्षमताले महाकविसित पनि जोडाएको कुरा पढ्दा कत्रो आनन्द लाग्छ । आधुनिक कालको नेपाली साहित्य निर्माणाधीन थियो । त्यसैबेलाको केन्द्रमा सबैले देख्ने ठाउँको एक नक्षत्र उहाँ हुनुभयो । त्यसैले गर्दा अनेकबाट ग्रहण गर्दै अनेकलाई दिँदै जानुभयो । छ दशकको तपस्या सानो होइन ।
यसमा केवल साहित्यिक कुरा छैनन् तर लामो संगतले मात्र थाहा पाइने कति स्रष्टाका आन्तरिक स्वभाव र चरित्र छन् । एउटा उदाहरण छ मदनमणि दीक्षितको ः आफ्ना रचनाहरू सुनाउने क्रममा आफ्ना पात्रहरूका घटना वृत्तान्त सुनाउँदा ती पात्रहरूसँगै आफू आत्मसात् हुँदै भावविह्वल भएर आँसु झार्न थाल्नुहुन्छ माड्साब् । ‘माधवी’ का अंश सुनाउँदा होस् वा ‘त्रिदेवी’ ‘भूमिसूक्त’ आदिका अंश सुनाउँदा त्यस्तो भावुक अवसरका साक्षी हामी उहाँका केही मित्रहरू बारम्बार भएका छौँ । कुनै कुनै कथा अथवा लेख त माड्साब्ले टेलिफोनबाट समेत सुनाउनु भएको छ । आफूू त्यस्ता निष्णात विद्वान् र क्षमताशील साहित्यकार भएर पनि मित्रहरूसँग आफ्ना रचनाहरूबारे सल्लाह र सुझाव लिने गर्नु हुन्छ उहाँ । कनिष्ठहरूका उचित सुझावलाई ग्रहण गर्ने, सम्मान गर्ने यस्तो विनयशीलता छ उहाँमा ( पृ. ४३ )
कतिमा बाल्यकालका आफ्नै स्वभाव चरित्र, इच्छा वा असम्बद्ध भए पनि कहीँ गडेर बसेका सम्झनाका ती कुरा सुनाउने उद्देश्यले कति लेखोेट बनिएका छन् । जस्तै घोडाबाट पछारिए कर्णेल डम्बर समशेर थापा शीर्षक लेख । यसमा साहित्यको सन्दर्भ छैन तर आफ्नो बाल्यकालीन उट्पट्याङ कर्म छ । त्यसको अन्त्य अन्त्यमा एउटा कुराको जानकारी छ ः ‘शारदा’ कालीन कवयत्री प्रेम राजेश्वरी थापा यिनै डम्बर समशेरकी छोरी हुन् । उनी आफू पनि लेखक थिए । ‘डायरीका पाताबाट’ शीर्षक पुस्तक डम्बर शमशेरको निधन पछि वि.सं. २०३४ मा प्रकाशित भएको छ (पृ. ५२) ।
उहाँले आफ्ना पिताजी रामेछापबट कसरी काठमाडौँ आउनु भयो, कसरी भीम शमशरको टङ्गाल दरबारमा राजकीय स्थान पाउनु भो त्यो कम्ती रोचक कुरा छैन । काठमाडौँ आएपछि कत्रा कत्रा व्यक्तिसँग सम्पर्क हुँदो रहेछ ः कवि शिरोमणि र मेरा पिता सोमनाथ घिमिरे व्यासको सम्पर्क एउटा अनौठो संयोगबाट हुन पुगेको थियो । त्यही संयोगले नै रामेछापको एउटा दुर्गम गाउँका पहाडिया पण्डित सोमनाथको परिवारलाई राजधानी काठमाडौँमा बसोबास गर्ने अवसर जुरेको थियो ( पृ. ५४) ।
कस्तो स्वभाव, चरित्र, बानी, बेहोरा, शासकवर्गको । लेखनाथ पौडेल त्यही दरबारमा चाँदीका थाल कचौरामा भोजन गरेको सन्दर्भ छ । धेरै प्रतिभा बाहिरबाट नेपाल शहरमा प्रवेश गरी प्रतिभा शिप विद्वत्ता देखाएका छन् । खोटाङबाट अच्युतरमण आए । पोखराका लेखनाथ, उतैतिरका क्षेत्रप्रताप, तेह्रथुमका पुण्यप्रसाद सुवेदी । काठमाडौले अघिदेखि नै उताका प्रतिभा तानेर यहाँ ल्याई पारंगत गराउँदोरहेछ । एउटा ज्यादै महत्वपूर्ण संस्मरण छ स्मृतिमा सजिएका महाकवि । यो अघि देवकोटाको शतवार्षिकीको अवसरमा कतै छापिएको हो भने यसमा धेरै कुरा उल्लेख्य पनि छन् । महाकविको जुत्ता काण्ड छ एक भने तमसुक काण्ड छ अर्काे । यी कुरा अरूले भन्न सक्तैनथे । रोचक दाइका पिताजीले लेख्नुभएको आशौच विज्ञान तथा घिमिरे वंशावलीको प्रसंग पनि त्यसैगरी कम्ती रोचक छैन । त्यसरी महाकविले लेखिदिनुभएको अंग्रेजीको भूमिका शिव रेग्मीले रोचक दाइबाट पाए होलान् पछि महाकविका भूमिका शीर्षक एउटा पुस्तक तयार भयो । रत्न पुस्तकद्वारा प्रकाशित सो ३५ भूमिकाको कृतिमा अंग्रेजीको एउटा देख्ता आश्चर्य लाग्छ । महाकविको मूड पनि हो । मैले तयार पारेका ती भूमिकाहरूको वृत्तान्त भूमिकामा व्यक्त गरेको छु ।
त्यसैगरी यहाँका अरू पनि केही रचना अघि नै पढेका अन्यत्र प्रयोग गरिएका पनि छन् ।
पाँच वर्षअघि गणेशबहादुर स्मृतिग्रन्थ सम्पादन गर्ने जिम्मा ममा आयो । त्यसको प्रधान सम्पादक भै मैले गणेशबहादुरका लेख रचना सकेसम्म धेरैतिर खोजेँ, बटुलेँ र हजारपेजी ग्रन्थ बनाएँ । एकदिन रोचक दाइलाई सोधेँ— त्यो पुरानो पत्रिका रचनामा कुनै छन् कि दाइ ? उहाँले रचना पूर्णाङ्क १० माघ–फागुन २०२१ मा प्रकाशित गणेशबहादुर प्रसाईंको ‘मैले पढेको ‘रचना’ एक टिपोट शीर्षक लेख र हक्की समालोचक गणेशबहादुर प्रसाईं शीर्षक आफ्नो नयाँ लेख दिनुभो, त्यो ठूलो ग्रन्थमा पस्यो । कस्तो हुन्छ समकालीनताको महत्व ? मैले भानु, रूपरेखा धेरै भेटिन । भेटेका अभिव्यक्ति र रचना यतै छन् ।
२०३० सालमा म काठमाडौँ पस्ता पनि साहित्यकार पत्रकार, भिक्षुक, सीआइडी सबैको एउटा मूल केन्द्र थियो— न्यूरोडको पीपलबोट । त्यही सँगैको इन्दिरा रेष्टुराँ । सबै त्यहीँ जान्थे । भेला हुन्थे, बात गर्थे । चिया कफी लिन्थे । त्यस संस्कृतिको यहाँ बारम्बार उल्लेख सम्झना छ । त्यसै सन्दर्भमा विजय मल्लको सम्झना गर्दा दाइका मनमा ती दिनका दौँतरी अग्रज तथा चल्ती संस्कृतिको यसरी उल्लेख गर्नुहुन्छ ः रश्मिपछि धेरै जसो हामी इन्दिरा रेस्टुराँमा जान्थ्यौँ । त्यहाँ सिङ्गल पट, डबल पट चिया सुक्र्याउँथ्यौँ । पुरुषोत्तम बस्नेत, प्रेमध्वज दाजुभाइ सकभर अरूलाई पैसा तिर्नै दिँदैनथे । नियमित रूपमा भेटघाट हुने हाम्रो मण्डली नै थियो । मोहन कोइराला, मदन रेग्मी, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, रत्नशमशेर थापा, पुण्यप्रसाद सुवेदी, उपेन्द्र श्रेष्ठ, उत्तम कुँवर र विजय मल्ल त्यस मण्डलीका सदस्य थिए । काठमाडौँमा भएका बेला भूपी शेरचन पनि सामेल हुन्थे । शङ्कर लामिछाने, विकल, चैतन्यकृष्ण, रमेश धिताल, डी. पी. नेपालीहरू समेत आक्कल झुक्कल टुप्लुकिन्थे । इन्दिरा बाहेक कहिले डाँफे, कहिले मौसूर क्याफे, कहिले सङ्कटा र कहिले साँझमा पारस तिर पनि जमघट हुन्थ्यो हाम्रो । पारसमा भवानी भिक्षु, पनि आउने गर्थे । भिक्षुलाई आदर गर्थे विजय, भन्थे— “मलाई साहित्यमा लाग्न भिक्षुजीले निकै प्रेरणा दिएका छन् उनीबाट लेखनमा निकै कुरा सिकेको छु मैले” (पृ. ११६) ।
रमेश विकलको साहित्यिक स्वभाव कस्तो थियो, विजय मल्लको कस्तो, क्षेत्रप्रताप अधिकारीको कस्तो, प्रत्येकका उत्पत्ति कस्ता अनेकका समकालीन को थिए— कति अमूल्य कुरा यसमा पाइन्छ ।
छोराहरूले लेखाए, लेखेँ तर निकालेनन् । यहाँका एक पात्र महेश्वर शर्मासित मेरो संगत भएन । युगवाणी काल देखिका रहेछन् उनी ।
एउटा संयोग मैले जनकलाल शर्मालाई भेटिनँ तर उनको लेखन धेरै पढेँ र म अति प्रभावित छु । पछि प्रा. माधव पोेख्रेल र शर्मा पुत्र सुमनबाट जनकलालका एक ठेली पुग्ने निबन्ध पाएर रत्नपुस्तकबाट छपाउने कर्म गरेँ । होसियारले त्यसको भूमिका लेखेको छु । त्यस्तै माधवलाल दाइसित पनि चार पाँच काममा जोडिएँ २०५६ देखि एकेडेमीमा हुँदा । उनी नेपाली अनुवाद अनुसन्धानका पायोनियर भई काम गरेका थिए । जनकलाल र माधवलाल बारेका रोचक दाइका संस्मरणले कति नयाँ जानकारी दिएका छन् । माधवलालको देहान्त पछि स्मृति ग्रन्थ निकाल्ने भनेर परिवार जनले भने र २० पृ लामा सम्झनाहरू लेखेँ सात वर्ष भयो त्यो निकालेनन् । त्यस्तै भयो भानुभक्त पोख्रेलको पनि गति । छोराहरूले लेखाए, लेखेँ तर निकालेनन् । यहाँका एक पात्र महेश्वर शर्मासित मेरो संगत भएन । युगवाणी काल देखिका रहेछन् उनी । त्यस्तै शेषराज सिवाकोटी अध्ययनमा समर्पित अनुसन्धाता हुन् । उनको ज्ञानगुनका कुराको लागि अघि दुईटा लेख लेखेँ । आज यो तेस्रो गर्दैछु ।
अन्त्यतिर पुगेपछि यस संग्रहको एक शीर्ष लेख पढ्ने पालो आयो— ‘मेरो रचना यात्रा’ । सो पढेपछि मात्रै मन अत्यन्तै तृप्त हुन्छ । रोचक दाइको विनयशील वाणीले यो भिजेको छ । उहाँलाई चिन्न चिनाउन यति एउटा लेखले जगको कुरा बताउँछ । पितापुर्खाको संस्कारयुक्त विद्वत् परम्परा, पिताजीको साहित्यप्रेम र साधना, माताको प्रेरणा र स्वतन्त्र भई बाटो पक्रिने अवसर फेरि सानैदेखि आएको घरको जिम्मेवारी र साथीभाइ अग्रजहरूको प्रेरणा अनेक कुरा छन् । ती सारा साहित्यिक व्यक्तित्वहरू जो जीवन भरका अभिन्न भए, कति बितेर गए तिनको नाम यसैमा छ ।
रोचक दाइलाई लाग्छ— खास ठूलो काम गरेको छुइनँ होला । तर छ दशकसम्म कहिल्यै पछि नफर्की एउटै तपस्यामा लाग्ने प्रतिज्ञा कसरी पालना गर्न सकिन्छ ? अब पनि आफ्नै उत्तराधिकारी प्रतीकलाई सुम्पिएको पाइन्छ । । अक्षुण्ण राख्ने आकांक्षा छ यो सानो कुरा होइन । हत्तपत्त इतिहासले यस्ता साधक जन्माउँदैन यस्ता परोपकारी जो आफ्नो मातृभाषा सेवालाई नै सर्वस्व ठानी मनमनै आनन्द लिइरहनुभएको छ । व्यक्ति रोचक घिमिरेको कथा रचनामै छ; व्यक्तिको मात्र होइन देशका स्रष्टा र भाषा÷साहित्य भोगाइका कथा पनि यहीँ छन् । कयौँपल्ट यो धान्न नसकिने जस्तो भयो होला । त्यस्तो कुरा अभर पर्न लागेका कुरा कतिपल्ट आउँछन् । आफ्ना र परिवारका कति इच्छा थाति राखेर पनि रचनामा प्राण हालिरहनु भो । त्यसैले रचना आउनासाथ म नछुटाइ यसका सम्पादकीय पढ्छु । पढेर तृप्त हुन्छु कहिलेकाहीँ चिन्तित पनि । प्रा. अभि सुवेदीको ‘रचना’ बारेको महत्वपूर्ण लेख समावेश भएको ‘रचना’को शताङ्क एक अमूल्य निधि । फेरि पनि २०० अंक पुग्न लागे, अहिले १६९ चल्दै छ । रूपरेखाले पनि २०० निकालेको हो । यसले त्यसै गरी निकालोस्, अघि बढोस् भन्ने कामना छ ।
यस कृतिको लेखमा मेरो पनि नाम छ । मेरो आरम्भिक दिनमै माथि भनिएको समालोचनात्मक लेख छपाइ दिएर मलाई यो विश्वतिरको दैलो उघारिदिने रोचक दाइ सामू यो शिर निहुराएर रचना प्रकाशनार्थ शेषराजजीलाई इमेल गर्दछु । मेरा भाइ देवेन्द्रले आफ्नो उत्तम शान्ति पुरस्कार प्रापक कृति स्रष्टा र सयम वि.सं. २०६२ मा रोचक दाइलाई ८५ जना स्रष्टाको हारमा राखेर रचनादेखि रचनासम्म शीर्षकमा अत्यन्तै गहिरो लेख समावेश गरेका छन्। उक्त लेख पहिले कान्तिपुरमा आइसकेको थियो । आज १५ वर्षपछि उहाँबारे यति लेखेर म रोकिन्छु ।
शेषराज सिवाकोटी संस्थापक सम्पादक रहनुभएको ज्ञानगुनका कुराको १९७ औं पूर्णाङ्क “रोचक घिमिरे ८० वर्ष प्रवेश शुभेच्छा अङ्क–१” का रूपमा प्रकाशन गर्नका लागि तयार पारिएको लेख ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।