नाम – पूर्णचन्द्र ढुङ्गेल, पूर्व उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय । जन्म मिति – वि.सं. १९८७ साल, माघ २४ गते । जन्मस्थान- बर्माको मखान्ती, इरावती नदी किनार । 

पिता –  पण्डित अग्निप्रसाद उपाध्याय ढुङ्गेल;  माता – नर्मदेश्वरी ढुङ्गेल; मातापिताको जन्मस्थान –  ताप्लेजुङ जिल्लाको थेचम्बु । पितामह –  पण्डित कपिलदेव उपाध्याय ढुङ्गेल ।

पूर्णचन्द्रलाई आफ्ना पूर्वजहरू ओखलढुङ्गाबाट थेचम्बु आएको भन्ने थाहा छ । कति पुस्ताअघि र  को आएको भन्ने थाहा छैन । उहाँका पूर्वजहरू परम्परागत रूपमा पुराण वाचन र पौरोहित्य कर्ममा संलग्न थिए ।  धेरै जजमान थिए । खेतीपाती पनि थियो ।

पूर्णचन्द्र ढुङ्गेल

पूर्णचन्द्र ढुङ्गेल

पिताको बर्मा गमन: 

पिता अग्निप्रसाद थेचम्बुमै खुशीसाथ यजमानी र खेतीपाती गरेर बस्नुभएको थियो । उहाँका नजिकका केही मानिसहरू भने बर्मा गएर बस्न थालेका थिए । उनीहरूले उहाँलाई बर्मा बसाइ आउन अनुरोध गर्न थाले । कुनै परिबन्दले होइन, खान लाउन अनिकाल पर्नाले पनि होइन, बेरोजगार भएर पनि होइन, तर उहाँलाई बर्मा जान मन लाग्यो । वि.सं. १९७९/८० तिर उहाँ सपत्नीक बर्मा पुग्नुभयो । नयाँ ठाउँ देख्ने बुझ्ने उत्सुकताले ढुङ्गेल दम्पतीलाई बर्मा पुर्‍यायो ।

बर्मामै अग्निप्रसादका सात जना सन्तानको जन्म भयो । चार छोरा र तीन छोरी । पूर्णचन्द्र अग्निप्रसादका साहिँलो छोरा हुनुहुन्छ ।

त्यसबेला बर्मामा अङ्ग्रेजको शासन् थियो । समाजमा शान्ति र अमनचयन थियो । बर्मामा उहाँको परिवार खुशहाल थियो । प्रशस्त यजमानहरू थिए । सेनाका जवानहरूले पनि उहाँलाई पुरोहित बनाएका थिए । खेतीपाती प्रशस्त थियो । गाईगोठ थियो, जहाँ नेपाली गोठालाहरूले दूध र घिउको कारोबार गर्थे ।

सुखका दिनहरू धेरै दिन टिकेनन् । अकस्मात दोस्रो विश्वयुद्ध शुरु भयो । सन् १९४२ मा जापानले बर्मामाथि आक्रमण गर्‍यो । बर्माका अनेकौं इलाका जापानी सेनाको कब्जामा पर्दै गए । सर्वसाधारण मानिसहरू हत्या, हिंसा र लुटपाटको शिकार हुन थाले ।

युद्धको विभीषिकाले गर्दा रसद, औषधी र अन्य उपभोग्य सामग्रीको भारी कमी हुन थाल्यो । सैनिक अत्याचारका कारण ज्यान जोगाउन धौधौ भयो । टिक्नै कठीन हुँदै गएपछि बर्मामा विभिन्न व्यवसाय गरेर बसेका नेपाली र भारतीय प्रवासीहरू त्यहाँबाट भाग्न थाले । कोही रेल चढेर, कोही डुङ्गा चढेर र कोही वनको बाटो समातेर पैदल नै बेतहासा भागेर हिन्दुस्तानतिर हानिए । हजारौं मानिस डुबेर मरे । हजारौं महामारीले मरे । हजारौं भोकले मरे । हजारौं घनघोर जङ्गलमा अलप भए । कतिको सारा परिवार नै नामेट भयो । कति परिवारका सबै सदस्यलाई कालको मुखमा छाडेर एक्लै हिन्दुस्तान पुगे । को कता गयो, को मर्‍यो र को लापता भयो कुनै लेखा रहेन । युद्धको समय भएको हुँदा ती निमुखा भगोडाहरूलाई कसैले दया गर्ने गुन्जायस थिएन । ब्रिटिस सरकारको ध्यान विशेष गरेर सेनाको सुविधातर्फ केन्द्रित थियो । नेपालको त के कुरा, भारतीय इतिहासले पनि यो मानवीय त्रासदिको बीभत्स घटनालाई छायामै राखेको छ ।

भयानक सफर:

सन् १९४५ को मनसुन शुरु हुने बेला हुँदै थियो । टिक्नै हम्मे हुन थालेपछि अग्निप्रसाद पनि सारा यजमान, खेतबारी, गाईगोठ र बैंकमा राखेको पैसासमेत च्याट्ट छाडेर सपरिवार वनको बाटो हिन्दुस्तानतिर लाग्नुभयो । त्यसबेला पूर्णचन्द्र करीब १५ वर्षको हुनुहुन्थ्यो । जेठा तथा माहिला दाजु र  जेठी दिदीको विवाह भइसकेको थियो । भिनाजु (जेठी दिदीका पति) हिन्दुस्तानतर्फ भाग्न मन्जुर हुनुभएन । उहाँ सपत्नीक बर्माकै वन कन्दरातिर लुक्न जानुभयो । अहिले जेठी दिदीका सन्तान उतै बर्मातिरै बस्छन् ।

अग्निप्रसदकी माता टाढा कान्छो भाइसँग बस्ने हुँदा उहाँहरूको हवीगत के भयो भन्ने कुरा तत्काल थाहा  हुन सकेन । अग्निप्रसादको  भगोडा डफ्फामा उहाँ र धर्मपत्नी नर्मदेश्वरी, चार भाइ छोरा, दुई बहिनी अविवाहित छोरी र दुइटी बुहारी गरी जम्मा दश जना थिए  ।

बर्माबाट पलायन गरेको केही दिनपछि पाँच वर्षका कान्छा छोरा कुलप्रसाद ढुङ्गेल जरोले थलिएर बिते । फुट्लाझैं दुख्दो कपाल र जरोले हनहनी तातेको ज्यानलाई येनतेन तान्दै बबुरा बालक हिँडिरहे, हिँडिरहे । बेथाले अति नै च्यापेपछि आफ्नो उत्कट जिजीविषालाई त्यागेर वनमै ढले उनी । घनघोर अरण्यमा अकस्मात झरेको हृदयको टुक्रालाई छाडेर पिता अग्निप्रसाद पत्नीको हात थाम्दै अगाडि बढ्नुभयो ।

कान्छा बितेको दश दिनपछि भगोडा समुदायमाझ हैजा फैलियो । पूर्णचन्द्र भन्नुहुन्छ, “मानिसहरू ‘पानी  पानी !’ भन्दै  प्याक्क प्याक्क मुख बाउँथे । त्यहाँ नेपाली मात्र  थिएनन् । हिन्दुस्तानी पाण्डे, तिवारी, त्रिपाठी, माडवारी र बनियाहरू पनि थिए । हैजाले मरेका कतिपय लासहरू नोटको सिरानीमा सुतेका देखिन्थे । न शोक गर्नु, न मुर्दाको सद्गत गर्नु, न आँशु बगाउनु र न त आपसमा दु:ख साटासाट गर्नु । त्यही क्रममा अकस्मात हैजा लागेर माहिलो दाजु छविलाल ढुङ्गेल पनि बित्नुभयो । अरण्यरोदन गर्नुको कुनै अर्थ थिएन । उर्लिरहेको आँशु पछिलाई साँच्दै अगाडि बढ्दै जानुको विकल्प थिएन । हामी अगाडि बढिरह्यौं ।’

एक महीना लगातार हिँडेपछि उहाँहरू आसामको बोर्डरमा पुग्नुभयो । तेजपुर जिल्लामा आइपुगेपछि आमा नर्मदेश्वरी ढल्नुभयो । हिलो, दलदल, धमिलो पानी, काँडाको घोचाइ, किराको टोकाइ, हिँडाइको थकाइ, शोक र भोकले गर्दा आमा साह्रै नै गल्नुभयो । आमाका दुबै गोडा कुहेर सडेका थिए । आमा त्यहीँ बित्नुभयो ।

कोही भोकले मरे । कोही पानी खान नपाएर मरे । कोही पानी पिउँदा पिउँदै मरे । कोही शरीर सडेर गलेर मरे । गुहार माग्नु त कता माग्नु, दयाको भिक्षा माग्नु त कोसँग माग्नु ? कतै कुनै साहारा थिएन । गुहाटी नजिक पुग्दा बल्ल अङ्ग्रेज सरकारले हवाइजहाजबाट चामलका बोरा र दूधका बट्टा खसाल्न  थाल्यो । त्यो भेट्टाउन मानिसहरू छिनाझपटी गर्थे । जो बलिया थिए,  तिनले टिपे । नसक्नेहरू हेरेको हेर्‍यै भए । पूर्णचन्द्र भन्नुहुन्छ, “त्यो आआफ्नो जीवन बचाउने प्रतिस्पर्धा थियो । तत्कालीन अवस्थामा त्यो छिनाझपटी कुनै अनैतिक कार्य थिएन ।“  हुन पनि हो । विपत्तिको अति भोग्दै बल्लतल्ल बाँचेको मानव कुन स्रोत, साधन र मनोबलबाट करुणामय हुने ?

दु:खका दिन अझै सकिएनन् । अब त दुर्दशाको अन्त्य होला कि भन्ने दिलासामा फेरि कुठाराघात भयो । आमा बितेको तीन दिनपछि भोक, शोक, थकाइ र शारीरिक कमजोरीले पस्त भएकी एघार वर्षकी माहिली छोरी शारदा पनि बितिन् । अरू सबै त गुहार नपाउँदै मरे । शरीर गलेर रोग प्रतिरोध क्षमता गुमाएकी शारदा बरा गुहार पाएपछि र जीवनको आशा पलाएपछि दिवङ्गत भइन् ।

स्थिति केही सामान्य भएपछि परिवारका बाँचेका सदस्यहरूले आसाममै चारै जना मृतकको एकमुष्ट काजकिरिया गरे ।

चरैवेति चरैवेति: 

जति नै ठूलो विपत्ति परे पनि, परिवारमा जस्तोसुकै बीभत्स घटना भए पनि र जतिसुकै दु:खदायी मृत्युले शोकाकुल बनाए पनि बाँच्नेले त जीवनलाई चलायमान गराउनु पर्दो नै रहेछ । श्रद्धेय पूर्णचन्द्र ढुङ्गेलको परिवारमा भएको एक पछि अर्को पीडादायी मृत्युको घटना पटाचाराको दु:खद कहानीभन्दा ज्यादा बीभत्स छ । पिता अग्निप्रसाद सारा चल – अचल सम्पत्ति छाडेर ठूलो विपत्ति सहँदै अनकण्टार वनको बाटो पलायन गर्ने सिलसिलामा अत्यन्त दारुण शोकमा पर्नुभयो । जीवनको विडम्बना पनि कस्तो । उहाँ जुन पत्नी, छोरा र छोरीको ज्यान बचाउनका लागि भाग्नुभएको थियो, नियतिले तिनैलाई खोसेर लग्यो । नियतिको यस्तै निष्ठुर निर्णयलाई लिएर त होला, ‘बर्मा गए कर्म सँगै नेपाल गए कपाल सँगै’ भन्ने उखान चलेको ।

अब मरिन्न भन्ने लागेपछि उहाँहरूले बसेर सल्लाह गर्नुभयो । पूर्णचन्द्रले पिताजीसँग ‘काशीतिर पढ्न जाने’ आज्ञा माग्नुभयो । बर्माबाट हिँड्ने बेलामा पिताजीले घरमा रहेको नगद र सुनचाँदी कम्मरमा बाँधेर प्रस्थान गर्नुभएको थियो । केही बाटामा खर्च भयो र केही दिवङ्गतहरूको काजकिरियामा खर्च भयो । उहाँले बाँकी रहेकोमध्ये थोरै सुन पूर्णचन्द्रलाई दिएर काशी जाने आज्ञा दिनुभयो । त्यसबेलासम्म युद्ध समाप्त भइसकेको थियो । पिताजी अग्निप्रसाद, जेठा छोरा इन्द्रप्रसाद, बुहारीहरू र कान्छी छोरी दुर्गादेवी बर्मातिरै फर्कनुभयो । पछि बुवाको बर्मामै मृत्यु भयो ।

जेठा दाजुकी पहिली पत्नीबाट दुई भाइ छोरा भए । जेठीको असामयिक मृत्युपछि उहाँले कान्छी विवाह गर्नुभयो । कान्छीतर्फ सन्तान भएनन् । इन्द्रप्रसाद पछि नेपालको कैलाली आएर बस्नुभयो । कैलालीमै उहाँको मृत्यु भएपछि कान्छी पत्नी बर्मातिरै लाग्नुभयो ।  अहिले इन्द्रप्रसादका एक भाइ छोराको कैलाली र अर्का भाइको काठमाडौंमा बसोवास छ । बिधवा माहिली भाउजु बर्मा फर्केर माइतीमै बस्नुभयो । कान्छी बहिनी दुर्गादेवीका चार छोरी र एक छोरा भए । दुर्गा दम्पतीको देहावसान भइसक्यो । छोराछोरी बर्मामै बस्छन् ।

जीवन हो चलिरहन्छ । मृत्युले बोलाएर विश्राम नदिंदासम्म कर्म गर्नै पर्छ । सांसारिक सुखदुःख भोग्नै पर्छ । रोजगारी र बेहतर जीवनको खोजीमा भौंतारिनु नै पर्छ । जीवनको यही आरामहीन यायावरीलाई सम्झंदै ९५ वसन्त पार गरेका अविरल यायावर पूर्णचन्द्र भन्नुहुन्छ, ‘चरैवेति चरैवेति’ ।

पूर्णचन्द्र वाराणसी पुग्नुभयो: 

उहाँ पितासँग बिदा भएर एक्लै बनारसतिर लाग्नुभयो । उहाँले त्यहाँ फेरि अचम्मको कुरा देख्नुभयो । पूर्णचन्द्रकी हजुरआमा सरस्वतीदेवी कान्छा छोरा ज्वालाप्रसादसँग बस्ने हुँदा बर्माबाट भाग्ने समयमा साथमा हुनुहुन्थेन । जेठा छोराको परिवारमा त्यति ठूलो बिचल्ली परेको कुरा उहाँलाई थाहा हुने कुरा पनि भएन । बर्मामा भएका दु:खद घटना र भागाभाग देखेर उहाँमा वैराग्य छाएछ । उहाँले काशी जाने इच्छा गरेकी हुँदा ज्वालाप्रसादले काशी पुर्‍याएर छाडेर हिँड्नुभएको रहेछ । न पूर्णचन्द्रलाई हजुरआमा काशी पुगेको थाहा थियो, न त हजुरआमालाई जेठो छोराको परिवारमा परेको विपत्तिको जानकारी नै ।

पूर्णचन्द्रको शिक्षादीक्षा: 

सन् १९४५ को अन्त्यतिर उहाँ बनारसमा गोयन्का संस्कृत महाविद्यालयमा प्रथमा तहमा भर्ना हुनुभयो । प्रथमामा टप गरेपछि उहाँलाई पूर्वमध्यमा तह पढ्ने सिलसिलामा महीनाको २० रुपैयाँ छात्रवृत्ति प्राप्त हुन थाल्यो । त्यस बखतको सन्दर्भमा त्यो रकम ठूलो थियो । पूर्व र उत्तरमध्यमा पनि प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो । शास्त्री (स्नातक) मा भने द्वितीय श्रेणी आएको हुँदा छात्रवृत्ति प्राप्त भएन ।

तत्पश्चात उहाँ सम्पूर्णानन्द विश्वविद्यालयमा आचार्य तहमा भर्ना हुनुभयो । उहाँले त्यहाँबाट प्रथम श्रेणीमा व्याकरणाचार्य गर्नुभयो । त्यत्तिले मात्र उहाँको ज्ञानको भोक मेटिएन । उहाँले नव्य न्यायाचार्य, वेदान्ताचार्य, साहित्याचार्य, ज्योतिषाचार्य , साङ्ख्ययोगाचार्य र इतिहास पुराणाचार्य समेत सात विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तिर्ण गर्नुभयो र सबै उपाधि हासिल गर्दा छात्रवृत्ति प्राप्त गर्नुभयो । कुनै कुनै उपाधि एकै समयमा खप्टेर हासिल गरेको हुँदा उहाँले बनारसमा पढ्दा करीब सत्र वर्ष बिताएको देखिन्छ ।

अध्यापन: 

वि.सं. २०१९ सालतिर उहाँलाई दाङका शिक्षाप्रेमीहरूले जनता कलेज बिजौरीमा पढाउन बोलाए । बिजौरीमा झन्डै एक  दशकसम्म जे पर्छ त्यही विषय पढाउनुभयो । सबैले मन पनि पराए । समयक्रममा सञ्चालक समितिमा दुई गुट भए । एक जना पोखरातिरका गङ्गाधर पराजुली भन्ने व्यक्ति काशीबाट बिजौरी पुगे । समितिको एउटा गुट गङ्गाधरको पक्षमा लागेको हुँदा पूर्णचन्द्रलाई त्यहाँ बस्ने वातावरण भएन । उहाँ पुनः भारत जानुभयो ।

उहाँले संस्कृत महाविद्यालय हरिद्वारमा अध्यापन गर्न थाल्नुभयो । केही समय हरिद्वारमा पढाएपछि उहाँ गोरखपुर जानुभयो । गोरखपुरमा गोरखनाथ संस्कृत विद्यापीठमा लामो समयसम्म प्राचार्य (क्याम्पस चिफ) को पदमा रहनुभयो । हाल उहाँले उत्तरप्रदेश सरकार, भारतबाट निवृत्तभरण प्राप्त गरिरहनुभएको छ ।

पूर्णचन्द्र स्वदेशमा: 

२०५६ सालतिर उहाँ नेपाल फर्कनुभयो । तत्कालै उहाँलाई नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति पदका लागि ‘अफर’ आयो । गोरखपुरमा भेट भइरहँदा उहाँको योग्यताको पहिचान गरेका योगी नरहरिनाथको उहाँमाथि विशेष विश्वास र आस्था थियो । २०५७ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र आमोदप्रसाद उपाध्याय शिक्षामन्त्री भएको समयमा उहाँ चार वर्षका लागि नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभयो । उपकुलपति पदमा आसीन भएकै समयमा उहाँलाई सम्पूर्णानन्द विश्वविद्यालयले अभिनन्दनसाथ ‘विद्या  वाचस्पति’ उपाधिले विभूषित गर्‍यो ।

पारिवारिक जीवन: 

पूर्णचन्द्रको जवानी पढेरै बित्यो । चढ्दो यौवनको समयमा उहाँले विवाहका अनेकौं प्रस्ताव अस्वीकार गरिरहनुभयो । उहाँको पहिलो विवाह ३५ वर्षको उमेरमा विराटनगर निवाशी पण्डित रत्नकुमार गौतमकी छोरी मनोरमासँग भयो । मनोरमाबाट सन्तान नभएको हुँदा उहाँले ४५ वर्षको उमेरमा स्याङ्जा निवाशी यज्ञप्रसाद काफ्लेकी साहिँली छोरी पार्वतीसँग दोस्रो विवाह गर्नुभयो ।

पार्वतीबाट दुई छोरी र दुई छोरा जन्मे । जेठी छोरी रीतिका हाल पति श्रीकान्त पौडेलसँग क्यानाडामा बस्छिन् । रीतिका दम्पतीका एक छोरा र एक छोरी छन् । कान्छी छोरी नीतिका पति मुक्तिबोध न्यौपानेसँग काठमाडौंमा बसोवास गर्छिन् । नीतिका दम्पतीका दुई छोरी र एक छोरा छन् ।

जेठा छोरा प्रकाशचन्द्र ढुङ्गेल आइटी इन्जिनियर हुन् । हाल उनी पत्नी इन्दुसँग पेन्सिलभेनिया, अमेरिकामा बस्छन् । प्रकाश/इन्दुका एउटा छोरा र एउटी छोरी छन् । कान्छा छोरा आदित्यचन्द्र ढुङ्गेल पनि आइटी इन्जिनियर नै हुन् । उनी पत्नी वन्दनासँग संयुक्त राज्य अमेरिकाको टेक्सासमा बस्छन् ।


पूर्णचन्द्रको जीवनदृष्टि: 

जीवन के हो ? भन्ने प्रश्नमा उहाँको उत्तर यस्तो छ-

जीवन आवत जावतको वृत्तमा घुमिरहने एउटा चक्र हो ।

धर्म के हो ? उहाँ भन्नुहुन्छ  – जे धारण गरिन्छ त्यही नै धर्म हो । धर्मले हामीलाई धारण गर्दछ र हामीले धर्मलाई । सच्चाइ धर्म हो । सदाचार धर्म हो । धर्मलाई रक्षा गरे धर्मले पनि हाम्रो रक्षा गर्छ । धार्येते पाञ्चभौतिक शरीर येन स धर्म । 

पाप के हो ? 

पातयेति नीचै: इति पापम् पातकम् वा । (जसले मनुष्यलाई तलतिर पतन गराउँछ त्यही नै पाप या पातक हो ।)

कर्तव्य के हो ? 

जसबाट ऊर्ध्वगमन हुन्छ त्यही नै मनुष्यको कर्तव्य हो । सम्पत्ति आर्जन, यश, योग्यता, नैतिकता, प्रतिष्ठा, करुणा, दान र परोपकार मनुष्यको कर्तव्य हो ।

सुख के हो ? 

चित्त प्रसादनम् सुखम् (जेबाट मन प्रसन्न हुन्छ त्यही सुख हो) ।

के गर्दा मन प्रसन्न हुन्छ ? 

मनुष्यको ज्ञान र सोचाइको स्तरमा भर पर्छ । सच्चा मैत्री र प्रेममा मन प्रसन्न हुन्छ । उद्दण्डलाई मित्र बनाउने या सुमार्गमा ल्याउने यत्न गर्नु हुँदैन । मूर्खको सङ्गतले मनको प्रसन्नता खत्तम हुन्छ । मूर्ख भनेर चिनेपछि त्यस्तालाई शालीन उपेक्षा गर्दै दूरीमा बस्नुपर्छ ।

दु:ख के हो ? 

‘अकर्तव्य कर्म करणम्  दुखम्’, अर्थात जे गर्न हुँदैन त्यही गरे दु:ख पाइन्छ । लोभ दु:ख हो । ‘अप्राप्य वस्तुन: प्राप्ति कामना लोभ’  आफ्नो काबु बाहिरको या कसै गरे पनि प्राप्त गर्न नसकिने वस्तु या विषयको कामना दु:ख हो ।

आफ्नो जीवनसँग सन्तुष्ट हुनुहुन्छ ? 

सन्तुष्ट छु ।

आफ्नो कुन कर्ममा गौरव लाग्छ ? 

मेरो परिश्रम र हासिल गरेको शिक्षामा गौरव लाग्छ । मेरो परिवार र पूर्वजमा गर्व लाग्छ । जस्तै विपत्तिमा पनि धीरता नगुमाई आफ्नो कर्तव्यमा सरिक भइरहने पिता अग्निप्रसाद उपाध्यायको पुत्र हुनुमा गर्व लाग्छ । दारुण शोकको घडीमा पनि शान्त र विनम्र हुँदै नियतिको निर्णयलाई सहन गर्न सक्ने माता नर्मदेश्वरीप्रति गर्व लाग्छ ।

अरू केही भन्ने इच्छा छ कि ? 

मेरो अन्तिम अवस्था छ । व्यक्तिगत इच्छा र चाहना केही बाँकी छैन । ‘सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ’को मनस्थितिमा छु ।  सनातन धर्मको रक्षा होस् । अन्य धर्मको सम्मान गर्दै सनातन धर्मको हिफाजत गरियोस् ।

संस्कृत भाषाको सम्पदा नै उच्चकोटिको साहित्य हो । वेद, दर्शन, पुराण, उपनिषद्,  व्याकरण र अन्यान्य सबै शास्त्रहरूको सुरक्षा, अध्ययन, अनुशीलन र अध्यापन हुँदै जाओस् । समाजमा धर्म र सदाचार कायम होस् । बालबालिका, वृद्धवृद्धा र नारीको यथोचित सम्मान होस् ।

मेरो देश सदा सर्वदा उन्नतिको मार्गमा अग्रगामी बनिरहोस् ।

अन्तमा:

जयन्ति ते सुकृतिनो रससिद्धाः कवीश्वराः ।

नास्ति येषां यशः काये जरामरणजं भयम् ॥