मेरो मुहारमा सन्तुष्टिको आभा मडारिएको म हेर्दै थिएँ, ट्याक्सीको ऐनाबाट । सरको मुहारमा घरी घरी मेरा आँखाहरू ठोक्किन पुग्छन् । तेजस्वी मुहार मेरा आँखामा पोखिन्छन् । मुहारभरि सकारात्मक ऊर्जा छरपस्ट फैलिएको देख्छु ।

पुषको चिसो दिन घरको छतमा पल्टिएर पारिलो घाम ताप्दै छु । मेरै छेउमा घाम तापिरहेको छ मनकामनाको सुन्तला । एकान्तिक समयलाई भङ्ग गर्दै छ सुन्तला र मेरै रसानले । घरी न घरी सुन्तलालाई छुन पुग्छु । छुँदा मात्र पनि सुन्तला हरर मगमगाउँछ । सुन्तलाको बास्नासँगै मनमा नानाभाँती कुराहरू खेल्न थाल्छन् । आकाश पूरै खुलेको छ । नीलो आकाशमा सेता बादलका टुक्राहरू लाग्छ सेता गुलाफ फुलिरहेका छन् । आकाशले मेरो दृष्टि खिच्दैछ । मेरा दृष्टिहरू गगनतिर विमुग्ध हुँदैछन् । आहा ! विचित्रको छ मैले देखेको आकाश । बुझेर बुझ्न नसकिने छ, सगरको विशालता । आकाशको आयतन अभेदनीय छ । दत्तात्रयको चौबीसौँ गुरूमध्येका गुरुलाई शतशत नमन गर्न पुग्छु । आकाशलाई गुरु मान्नुको गहिरो रहस्यलाई मनन गर्दै म मन्द मन्द मुस्कुराउँछु । आकाशतिर हेरेर गुरुलाई प्रणाम गर्दै आनन्दविभोर हुन्छु। आँखा चिम्म गर्दै हृदय आकाशमा केहीबेर निमग्न  । आकाशको अगम्य रहस्यलाई पार गर्न सक्दिनँ । गगनको सीमा  अमापनीय छ । अतुलनीय छ ।

मनमा एक किसिमको ज्वारभाटा उठ्छ । अनि अचानक मन र आकाशलाई तुलना गर्न पुग्छु । भित्री र बाहिरी आकाशमा मेरो मन हराउँछ । चिसोले कट्कट खाएको शरीरमा सूर्य स्पर्शले बढो आनन्ददायी अनुभूति हुँदै छ । पटक्कै उठ्न मन छैन तातो घाम छोडेर । घामको रापमा म त्यसै त्यसै लठ्ठ परेकी छु, बिनको आवाजमा लठ्ठिएको सर्पझैँ । मद्होश भएकी छु प्रकृतिको अनुकम्पालाई अनुभूत गरेर । आज मेरो मन चन्द्रागिरिको डाँडा जस्तै सफा भएको महसूस गर्दैछु । चन्द्रागिरिको डाँडा त्यस्तै निर्मल देखिएको छ । हिजो जस्तै त छ प्रकृति । हिजो जस्तै त छ मेरो दैनिकी पनि तर आज किन हलुको महसूस गर्दै छु म ?

सफा आकाशमा कालो बादल उठ्दा जसरी आकाशको नीलिमा विलुप्त हुन्छ, मन पनि त आकाश जस्तै हुन्थ्यो हिजोअस्ति । बेला न कुबेला काला काला बादलहरू मडारिएर आउँछन् र मनको आकाशमा राज गर्छन् । भित्री आकाशमा पनि यस्तै पारिलो सूर्य उदाए मनको आकाश पनि कति सफा हुन्थ्यो होला ? मन र आकाशलाई जोख्दै छु मनैकै तराजुमा । मेरो मनमा योजनाहरूले लाप्पा खेल्दैगरेको चाल पाउँछु–“ आज घाममा बसेर तीनचार घण्टा उमाकान्त पौड्यालको ‘वुद्धकालीन समाज’ पढेर बस्छु, किताब पाएको यतिका दिन भैसक्यो । फेरि अर्को मनले भन्छ- आ ! आज पढ्दिनँ, कपन जान्छु। दशैँमा गएदेखि गएकी छैन । तीन महिना भएछ आमासँग भेट नभएको । आज त जान्छु जान्छु । त्यो पनि एकरात बस्ने गरी, भोलि शनिबार छ । घरको व्यवस्थापन कसो नहोला ।  मन तरङ्गित भयो, माइत जाने र आमासँग बस्ने योजनाले । आमाको स्पर्शले कल्पनाकै मनमा ढकमक्क तोरी फुल्यो। मखलेल भएर कपन पुग्दै थिएँ मनको जहाज चढेर।

म्यासेन्जरमा घण्टी बज्यो । बहिनी अनिता पन्थीको रहेछ । हालखबर सोधपुछ गरेपछि कुरैकुरामा बहिनीले स्रष्टा समाजको साधारण सभामा जाने योजना सुनाउनुभयो । मैले पनि भर्खरै मनमा उब्जिएको कपन जाने योजना सुनाएँ । अनिता बहिनीले डाक्टर गोविन्दराज भटराई सर प्रमुख अतिथि भएर सो कार्यक्रममा उपस्थित हुने जानकारी पनि दिनुभयो । जमलमा सरसँग भेटेर पाटन जाने योजना रहेछ । बहिनीले भन्नुभयो –

“दिदी, कि हजुर पनि पाटन जाने त ! सरसँग भेट पनि हुन्छ । चिनजान पनि हुन्छ । सरको मार्गदर्शन दिदीलाई पनि उपयोगी हुनसक्छ । आज म जे छु गोविन्द सरको आशीर्वाद र उत्प्रेरणाका कारणले छु । दिदीलाई पनि सरसँगको यो भेट पक्कै फलदायी हुने छ ।” अनिता बहिनीले यति भनिसक्दा मेरो मन तुलबुलियो । मलाई पनि रहर थियो गोविन्दराज भटराई सरसँग चिनजान गर्ने ।

‘कि कपन भोलि बिहानै जौँ त ?’ मनको मति कसले जानोस्, गन्तव्य र दिशा एक्कैछिनमा बदलियो ।’ आज पाटन नै जान्छु । सरसँग भेट हुन्छ ।’ आफ्नै मनलाई फकाएँ, बच्चालाई फकाए जसरी ।

मैले पनि डाक्टर गोविन्दराज भटराई सरसँग भेटने इच्छा पाल्दै आएकी थिएँ । कुरैकुरामा बहिनीसँग मनको पोयो खोलेकी थिएँ । मेरो पाटन जाने निर्णय सुनेर अनिता बहिनी पनि दङ्ग पर्नुभयो।

एक महिना अगाडि शिखा पब्लिकेशनमा आफ्नै किताबको सम्पादनको शिलशिलामा गएकी थिएँ । त्यहाँ एकजना लेखकसँग भेट भएको थियो । ट्याङ्ला फाँटमा बस्ने विश्वविद्यालयकै पूर्व प्राध्यापक हुनुहुँदो रहेछ। उहाँको नाम अहिले भुसुक्कै बिर्सिएँ । उहाँको पनि किताब प्रकाशित हुँदै रहेछ । उहाँले भन्नुभएको थियो – “गोविन्दराज भटराई सरलाई चिन्नु हुन्छ ?”

मैले भने – “चिन्छु ।”

“उहाँको घर पुग्नु भएको छ ?”

मैले भनें- “म उहाँलाई चिन्छु तर उहाँले मलाई चिन्नुहुन्न । अनि कसरी पुग्नु उहाँको घर ?”

–  “अहो ! उहाँको घरमा एकपटक अवश्य पुग्नुहोला । साहित्यको क्षेत्रमा लागेका साहित्यप्रेमीहरूले एकपटक टेक्नै पर्ने ठाउँ हो भट्टराई सरको घर । अद्भुत छ त्यो घरको वातावरण । उहाँको पुस्तक प्रेम, अध्ययन अनुकरणीय छ । सरको पठन, अध्ययन, लेखन साधना हेर्नलाई जानै पर्छ  सरको घर । उहाँको अध्ययन कक्ष तीर्थस्थल जस्तै छ । सरस्वतीका उपासकहरूका लागि गोविन्द सरको पुस्तकालय दर्शनीय छ ।”  उहाँको कुरा सुनेर म कल्पनाकै ट्याक्सी चढेर ट्याङ्लाफाँट पुगेकी थिएँ । गोविन्द सरको घर, उहाँको अध्ययन कोठा, अध्ययन गर्ने तरिका र पुस्तकालयको स्वरूप आफ्नै मनमा निर्माण गरिसकेकी थिएँ । अहो ! कसरी पुग्ने होला त गोविन्द सरको साधनाधाम ? नजानिँदो किसिमले भावनात्मक रूपमा गोविन्द सरसँग नजिक भएकी थिएँ त्यो दिनदेखि । सपना बुन्दै थिएँ सरसँगको सत्सङ्गको ।

तँ चिता म पुर्याउँछु भनेको सत्य रहेछ । एक महिनाभित्र इच्छा पूरा हुँदै थियो । पवित्र मनले गरेको पवित्र संकल्प साँच्चै पूरा हुनेरहेछ । त्यो दिन यो  मनले सरसँग भेट गर्ने रहर गरेको कुरा अनिता बहिनीलाई सुनाएँ । बहिनीले हृदय खोलेर हाँस्दै भन्नुभयो, “आज राम्रो संजोग छ दिदी सरसँग सत्सङ्ग गर्ने तर दिदी माइत जानलाग्नुभएको छ आमालाई भेट्न, म के भनौँ दिदी !”

मैले निर्णय लिएँ र त भनें – “म भोलि जान्छु आमालाई भेट्न । आज पाटनै जाने ।”

दुवै अनिता खुशी भयौँ । अनिता बहिनीको सल्लाहमा म ठीक एक बजे जमल पुगेँ । केहीबेरको प्रतीक्षापछि बहिनीसँग भेट भयो । हामी दिदीबहिनी साहित्य, सृजना र अध्ययनसँग घेरिएर कुराकानी गर्दै थियौँ, सरको फोन आइहाल्यो। केहीबेरको प्रतीक्षापछि सर ट्याक्सीमा आइपुग्नुभयो । परैबाट सरलाई  दुवै कर जोडेर श्रद्धानत भएँ। म देख्दैछु सेतो ट्याक्सीमा उज्यालो मान्छे । अगाडिको सीटमा सरको भद्र काया मुस्कुराइरहेको छ। ठूलो निधारमा आत्मविश्वासको चम्किलो सूर्य उदाएको परैबाट देख्दैछु । म महसूस गर्दैछु सरको मुहारभरि सन्तुष्टिको जून हाँसेको । हामी दुवै अनिता सरलाई अभिवादन गर्दै ट्याक्सीमा उक्लियौँ ।

अनिता बहिनीले संवाद आरम्भ गर्नुभयो । भारती गौतम दिदीको ‘विगत र बाडुली’ कृतिमा मैले गरेको समीक्षाबाट । अनिता बहिनीले त्यो समीक्षा सरलाई पनि पढ्न अनुरोध गरेकी रहिछिन् । म त आह्लादित भैइ पो हालेँ । मैले लेखेको कुरा गोविन्द सरले पढेर राम्रो रहेछ भन्नुभयो । त्योभन्दा हर्षको पल मेरा लागि अरू के होला र ! सर भन्दै हुनुहुन्थ्यो पुस्तक समीक्षा र पारिश्रमिकको कुरा – ‘कसैको कृति माथि कुनै पनि समीक्षकले समीक्षा गर्छ भने त्यो समीक्षकको समय र श्रमको मान गर्नुपर्छ । समीक्षा कर्म गर्नुभनेको कसैको बाँझो खेत खन जोत गरेर उर्वर पारेको जस्तै हो । अरूको पुस्तक पढेर समीक्षा गर्ने कुरा सधैँ सजिलो पनि हुँदैन, अनि वेतन चाहिँदैन त ! पैसा नआउने ठाउँमा सधैँ समय खेर फाल्नु हुँदैन । कुनै काम गरे वापत केही पैसा आउँछ भने त्यो कामप्रति स्वतः इमानदार भइन्छ । लगनशील भइन्छ ।” म सरका कुरा सुनेर वाक्यहीन हुँदै थिएँ । अनिता बहिनी पनि मलाई सल्लाह दिँदै थिइन् – ‘दिदी, काम गेरेपछि माम त खानु पर्यो नि ! अझ म त विद्यार्थी मान्छे, काठमाडौँको बसाइ । कति दिन फोकटमा लेख्न सकिन्छ । पारिश्रमिक बिना लेख्न भन्दा त बरु मूल्यवान कृतिहरू पढ्नू । साहित्यको साधना गर्नू, भाषा पढ्नू, शिल्प र शैली सिक्नू र आफ्नो जग बलियो पार्नू ।” अनिता बहिनीका गम्भीर र पाका कुरा सुनेर म त अलमलको अवस्थामा पुगेँ । गाडी पुल्चोकको सडकमा बगिरहेको छ ।

सरसँगको संवाद सुनेपछि, सरको सोच, विचार, चेतना, सहयोगीपन, सहृदयी भावनासँग जोडिन पटक्कै समय लागेन । सकारात्मक ऊर्जाले भरिएको सरको चेतनासँग मेरो ऊर्जा पनि समाहित भएको मैले महसूस गर्दै गएँ । पठनको महत्त्व, लेखनको प्रभाव, साधनाको मूलस्रोत उत्कृष्ट पुस्तकहरूको स्वअध्ययन नै भएको कुरा सरले गरिरहनुभयो । सरका प्रत्येक वाणी मेरा लागि मार्गदर्शन भएर गुञ्जिरहे । दुवै अनिता सरका प्रेरणादायी वचनमा हराएका छौँ । फोन जोडले बज्छ । छोरी मीमांसाको फोन रहेछ । कलेजबाट प्रतियोगितामा गएकी थिई । प्रथम भएकी रहिछ । पुरस्कार पाउने बित्तिकै आमालाई फोन गरेकी रे, मलाई भन्दैछे, “मामू म त फस्ट भएँ नि ! पैसा पनि पाएकी छु । मेडल, ठूलो ट्रफी र प्रमाण पत्र पाएर हजुरलाई फोन गरेकी । कति पैसा जितेँ थाहा छ हजुरलाई ?”

छोरीको खुशीमा खुशी हुँदै सबैको अगाडि पोखिन्छु –‘बधाई छ नानी । कति पैसा जित्यौ ?’ छोरी उताबाट भन्छे , “बीस हजार ।”

त्यो कुरा सुनेर म मात्र होइन गोविन्द सर र अनिता बहिनी पनि हाम्रो खुशीमा मखलेल बन्न पुग्नुहुन्छ । छोरीको क्षमताप्रति सदैव कृतज्ञ छु ईश्वरप्रति ।  प्रार्थना गर्नपुग्छु इष्टदेवसँग । अनि हतारिँदै फोनबाटै छोरीलाई गोविन्द सरसँग आशीर्वाद लिन लगाउँछु । छोरी मीमांसाको प्रसङ्ग कटेपछि हामी साहित्यकै चौतारीमा फर्किन्छौँ । म जस्तो कच्चा कलमप्रेमीलाई सरले दिनुभएको सल्लाह, सुझाव र मार्गदर्शनले कृतकृत्य बनाएको छ। सरलाई जति सुन्दै गएँ, सरप्रति अनिता बहिनीले प्रकट गरेको श्रद्धा नमनयोग्य लाग्दैगयो । उहाँको व्यक्तित्व र कृतित्वको साक्षी भइसकेकी छु। सरलाई नजिक भएर हेर्नु थियो । आज त्यो पनि पूरा भयो ।

जरै नपलाएकी जस्ती साहित्यिक बिरुवाप्रति सरले गरेको व्यवहार सम्झेर म आफूलाई निकै भाग्यमानी ठान्दैछु । एउटै ट्याक्सीमा बसेर यति नजिकबाट यति लामो समय सरसँगको सत्सङ्ग जुरेकोमा । मेरो मुहारमा सन्तुष्टिको आभा मडारिएको म हेर्दै थिएँ, ट्याक्सीको ऐनाबाट । सरको मुहारमा घरी घरी मेरा आँखाहरू ठोक्किन पुग्छन् । तेजस्वी मुहार मेरा आँखामा पोखिन्छन् । मुहारभरि सकारात्मक ऊर्जा छरपस्ट फैलिएको देख्छु । ट्याक्सीमा हामी आरामले गफ गरिरहेका छौँ । पिताको सान्निध्य प्राप्त भएको आभास भएको छ । निकै आत्मीय वातावरण महसूस गर्दैछु उहाँको निकटतामा ।

मैले मेरो परिचय सरलाई दिनै परेको थिएन । अनिता बहिनीले  मेरो बारेमा केही कुरा सरसँग गरिसकेकी रहेहिछन् । मैले लेखेका पुस्तकको पाठकीय प्रतिक्रियाको सन्दर्भ र सेतोपाटीका लेखहरूको आधारमा ।  म सरसँग यसरी पोखिँदै गएँ, जसरी सीमोल्लङ्घन गरेर पोखिन्छ बालख आफ्नो पिताको अगाडि  । सरसँगको यो पहिलो भेट औपचारिक भेट जस्तै लागेन । म त सरसँग वर्षौंदेखि परिचित छु जस्तो लाग्यो । सरको वाणी यति कर्णप्रिय थियो कि मैले त भुसुक्कै बिर्सिएँ यो मेरो पहिलो भेट हो भन्ने कुरा । सरसँग लेखनका कुरा भए । पठनका कुरा भए । पारिश्रमिकका कुरा भए ।

अब हामी पाटन दरबार स्क्वायर परिसरमा हिँडिरहेका छौँ । पर्याकविता वाचन हुँदैछ यो कार्यक्रममा । पाटन सङ्ग्रहालयको खुल्ला डबलीमा जम्मा भएकाछन् मूर्धन्य साहित्यकारहरू । मेरा आँखाले अभिवादन गर्दैछन् चिरपरिचित साहित्यकारहरूलाई । कार्यक्रम आरम्भ हुनै लागेको रहेछ हामी पुग्दा । हामी पछाडिको कुर्सीमा बसेका छौँ । हेर्दैछु नजिकै आफ्नै प्रिय दिदीहरूलाई । ‘कलमको साथी’ भन्ने हाम्रो समूह छ । जसमा हामी नौ जना आबद्ध छौँ । हामी नवदुर्गाहरू प्रायः सबैकुरा साझा गर्ने गर्छौँ । अघिल्लो दिन त कुरा भएको थियो । भारती न्यौपाने दिदीले पाटनमा पर्या कविता वाचन गर्ने भन्ने कुरा । तर कल्पनै गरेकी थिइनँ पाटनमा दिदीले वाचन गर्ने पर्याकविताको प्रत्यक्ष स्रोता हुन म पनि सामेल हुन्छु भन्नेमा । बेग्ला बेग्लै स्रष्टाहरूले बोलाएको ठाउँ आखिर एउटै रहेछ । हामी पाँच जना गीता रेग्मी, शोभा सरभ, लक्ष्मी थापा, भारती न्यौपाने र अनिता कोइराला  जम्मा भएछौँ । अनि त के चाहियो र ! केहीबेर हाँसेको हाँस्यै भयौँ । केही वरिष्ठ कविहरूका कविता सुन्दै गर्दा मन भारी पनि भयो । पर्यावरणीय समस्याले आजको विश्वलाई नष्ट गरिरहेको विकराल अवस्थाले हामी सबैलाई चिथोरेको छ । प्रकृतिविरुद्ध मानवीय क्रियाकलाप डरलाग्दो छ । प्रकृतिको विवर्ण रूपको चर्चा नै कविताका भावहरू थिए । सबैका रचना सुनिसक्दा उत्कृष्ट कविता त भारती दिदीको  नै भयो । सबैभन्दा बढी करतलध्वनिको तरङ्गले पाटनदरवार स्क्वायर गुञ्जाएमान भयो, दिदीको ‘धरा’ कविताले । संवेदना, भाव र  विम्बहरूको संयोजन कवितामा बेजोड थियो । दिदीको मुहारमा उदाएको खुशीले म पनि लुछुप्प भिजेँ । खुशी, आनन्द र अविस्मरणीय पललाई पोको पारेर हामी दिदी बहिनी हर्षले आह्लादित भयौँ । कविता यस्तो थियो, ‘पृथ्वीभरि शिशिरै शिशिर झरे पनि वसन्तले कहाँ/ बिर्सन्छ र पालुवाको बाटो ?/ बरू मानिसले बिर्सियो यो सुन्दर प्रकृति/ ऊ आफैँ नासिरहेछ आफ्नै माटो (कवि भारती न्यौपाने) ।

निश्चित समयमा कार्यक्रम समापन पनि भयो । खाजा खाएपछि सामूहिक तस्वीर पनि खिचायौँ । गोविन्द सरसँग यति सजिलै फोटो खिच्ने वातावरण पनि कति मज्जाले मिल्यो म त छक्क पर्दैछु । हामीलाई सङ्ग्राहलय भित्र मात्र फोटो खिचेर पुगेन । अनि दगुर्यौं कृष्ण मन्दिर परिसरमा । पुग्यो अब पुग्यो भन्ने गरी फोटा खिचायौँ । आँखाभरि पाटनलाई राखेर हामी समूहबाट छुट्टिएर अगाडि बढ्दैछौँ लगनखेलतिर ।  गोविन्द सरको सान्निध्यमा हामी दुवै अनिता, गीता रेग्मी र कवि कृष्ण बाउसे हिँडिरहेका छौँ । बाटोभरि पनि साहित्य, पुस्तक चर्चा , पठन र लेखनकै कुरा हुँदैछन् । कृष्ण बाउसेसँग बिदा भएर हामी पुनः ट्याक्सीमा फर्कियौँ ।

गीता दिदी र अनिता बहिनी त्रिपुरेश्वर ओर्लिनु भयो । म पनि त्यहीँ ओर्लिन खोजेकी थिएँ । तर सरले, “कलंकीसम्म जानू होला नि !” भनेपछि म सरसँगै कलंकीसम्म आएँ । सरले मेरो परिवारको चासो देखाउनुभयो । म त पितासँग मनमा जमेर बसेका पुराना कुराहरू जम्मै अभिव्यक्त गरेँ । मीमांसा छोरीदेखि सुभाष सरको परिचय । उहाँको काठमाडौँ विश्वविद्यालयको जागिर, विश्वविद्यालयभित्रको हाम्रो दश वर्षे बसाइ, केयूको आन्दोलन, काठमाडौँ विश्वविद्यालय छोड्नुको कारण मैले त सरलाई जम्मै सुनाएँ । सरको ऋचा छोरीलाई त चिन्थेँ ज्वाइँलाई पनि चिनेकी थिएँ । मेडम र सेवा छोरीको पनि चिनारी भयो । कलंकी पुगेपछि सरसँग  बिदा मागेर छुट्टिएँ । सरबाट ट्याङ्लाफाँट आउने निम्तो बोकेर म घर फर्किएँ । घरमा सुभाष सरलाई दिनभरिको गतिविधि सुनाएँ । उहाँ पनि मक्ख पर्नुभयो । आखिर ठूलो वृक्षको छहारी मिल्दै थियो । सरले भनेको जस्तै अब कसरी मैले मलाई निखार्ने ? कसरी लेखनलाई परिष्कृत गर्दै लैजाने ? कस्ता कस्ता पुस्तकलाई प्राथमिकतामा राख्ने ? म  सोचमग्न भएर पल्टिएकी थिएँ  । भुसुक्कै निदाएछु ।