हरिभक्त मिथक भइसक्यो अब- रक्सीको, कविताको, गीतको अनि यायावर कथाहरूको । उनी बितेको केही वर्षपछि उनलाई भेटेको संस्मरणमा लेख्ने कवि र लेखकहरू धेरै भए, केही उनलाई सहयोग गरेका कुरा गर्छन् उनी बितेका कैयन् वर्ष पछि । साँच्ची नै उनी मिथक भएछ, सायद भगवान् कृष्ण इन्द्रबहादुर राई सरको लीला लेखनमा जस्तो, विभिन्न रूपमा भेटिने । कवितामा निकै अब्बल, कथा लेखनमा सबल र रक्सी पिउने रहरमा चाहिँ निकै दुर्बल । ‘रहर’ कविता कटुवालको उत्कृष्ट सृजनामा पर्छ । यसले समाजको विद्यमान स्थितिलाई व्यङ्ग गरेका छन् ।

हरिभक्त कटुवाल

बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको
खिया लागेका कलका पुर्जाहरू जस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पानाहरूमा,
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरू केही भएर
त्यसैले बा, पाठशाला जान्न म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ ।
बनिसकेका बाटोमा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ ।

हरिभक्त कटुवाललाई जसले जसरी चिने पनि ऊ प्रथम दर्जाको बेजोड कवि, उम्दा गीतकार, राम्रा कथाकार हुन् अनि अरू धेरै विशेषण दिन मिल्छ उस्लाई । हरिभक्तलाई धेरैले माया गरे, केही पुराना मित्र र ठुला लेखक र कविहरूले शोषण पनि गरे रे- मानसिक र आर्थिक । एउटा उसको आत्मीय भाइ सरह कविले उनलाई भूपी शेरचनको कविता चोरेको बात पनि लगाउन पछि परेनन् । उनले नयाँ पुस्ताका धेरै कवि-लेखकलाई प्रोत्साहन गरे, कथाकार अनिता तुलाधर एउटा अन्तर्वार्तामा भनेकी छिन् । सुप्रसिद्ध कथाकार माया ठकुरीलाई पनि कवि कटुवालले एउटा नाटकमा अभिनय गराएको जानकारहरू भन्छन् ।

हरिभक्तलाई मैले कहिले भेटिन न मातेको अवस्थामा, न सज्जनमा । भेटेको अभिनय पनि गर्दिन अरू जस्तै । तर मैले उनलाई उनको कवितामा भेटेको छु स्कुले जीवनमा, गीतमा भेटेको छु वयस्क उमेरमा । भेटेको छु नारायणगोपालको स्वरमा, अरुणा लामाको स्वरमा । ‘आकाशको तारा के तारा?- शीर्षकको कविता पाठ्यक्रममा नै थियो ।

प्रिये । आकाशमा चम्किने नौलाख तारा दुईतारा ल्याई लुर्कना बनाई तिम्रा बुच्चा कानहरूमा झुन्ड्याइदिन सके कस्तो हुँदो हो । तर प्रिये ।

ती तारा टाढा आकाशमा रहनाले नै तारा छन् हातले टिप्न सक्ने फलकै – फल्दा हुन् त ती तारा पनि रूख-रूखमा तारा नभई झटारा हुन्थे ।

हरिभक्तको कविताले अरूलाई जस्तै कायल बनायो मलाई पनि । उनको कविता मर्स्याङ्दीको पानी जस्तै सललल बग्ने, सहज, मर्मस्पर्शी, वेदनाले भरिएका हुन्छन् । मुटु नै छुने । हरिभक्तको म ठुलो फ्यान- सायद कत्रो ठुलो त्यसको मापन गर्ने औजार बनेको छैन आजसम्म । उनी बितेको दुई वर्ष पछि १० सितेम्बर १९८२ मा उनको पुण्य तिथि पारेर कलेजमा कवि गोष्ठी आयोजना गर्दै मैले । त्यो बेला पुण्य तिथिमा कार्यक्रम गर्ने फेसन चलेको थिएन अहिले जस्तो । उनलाई सम्झ्यौ आसामबाट निस्केको स्मृति अङ्गमा प्रकाशित उनको कविताहरू पढेर, अनि केही हाम्रै आफ्नो कविता पढेर ।

हरिभक्तलाई धेरैले बदनाम गर्न खोजे । कविता चोरेको आरोप लगाए । जँडिया भने । गति छाडा भने । हरिभक्तको रक्सी माथिको कविता सबै सोमरस प्रेमीहरूको राष्ट्रिय गीत नै हो, मेरा मित्र नेदरल्यान्डमा बस्ने कवि धुर्व सापकोटालाई यो कविताले मन र मुटु दुवै चिरा पारेको छ । सायद नेपाली साहित्यमा यति मिठो रक्सीमाथि लेखेको कविता बिरलै होला:

१)
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम ।
२)
म आफ्नै बाटो हिँडिरहेको हुन्छु तर खुट्टा अन्तै कतै गइरहेको हुन्छ
म तिमीलाई नै सम्झिरहेको हुन्छु तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ
विश्वास गर ! म कायल छु तिम्रो मुस्कानजस्तै यो रक्सीसित
कहिले मैले उसलाई खाइरहेको हुन्छु, कहिले उसले मलाई खाइरहेको हुन्छ ।”

हरिभक्तका धेरै रमाइला किस्साहरू छन्- रक्सीको, प्रेमको, सडकको, जीवनको । सानैमा सुनेको सत्य नहुन पनि सक्छ । उनले आफ्नी सालीलाई बिहानै नुहाएर कपाल सुकाउँदै गर्दा सुन्दर मुहारमा कुमारी घामको झिल्का देखेपछि लेखेको रे यो कालजयी गीत:

“पोखिएर घामको झुल्काभरि सङ्घारमा
तिम्रो जिन्दगीको ढोका खोलूँ-खोलूँ लाग्छ है
सयपत्री फूलसितै फक्री आँगनमा
बतासको भाका टिपी बोलूँ-बोलूँ लाग्छ है

कति-कति आँखाहरू बाटो छेक्न आउँछन्
परेलीमा बास माग्न कति आँखा धाउँछन्
यति धेरै मानिसका यति धेरै आँखाहरू
मलाई भने तिम्रै आँखा रोजूँ-रोजूँ लाग्छ है

उडूँ-उडूँ लाग्छ किन, प्वाँख कहिले पलायो
मनको शान्त तलाउको पानी कसले चलायो
आफैँलाई थाहा छैन कसलाई थाहा होला
त्यसैले त तिमीसँग सोधूँ-सोधूँ लाग्छ है”

नारायण गोपालको स्वर अनि अम्बर गुरुङको सङ्गीतको यो गीतले एक जमानामा निकै तहल्का नै मच्चाएको थियो, गल्लीदेखि दरबारसम्मकाले रुचाएका । सबैले भन्थे- ‘गीत त यस्तो पो हुन पर्छ ।’ हरिभक्त अब्बल दर्जाको गीतकार बने यही गीतबाट ।

हरिभक्तले जीवनलाई दुई किस्तामा बाँचे: प्रवासमा अनि स्वदेशभित्र । अनि कविता पनि त्यसरी नै सृजना गरे । ‘यो जिन्दगी खै के जिन्दगी’ कवितासङ्ग्रहमा यो विभक्त जीवन देख्न सकिन्छ । तर विडम्बना के भयो भने उनी स्वदेशभित्र अपरिचित भएर बाँचे, निरीह भएर लडे, सरकारबाट अवहेलना, उनको उपचारको निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानमा पैसा भएन, प्रवासीको ट्याग भिरेर उनी काठमाडौँको गल्ली गल्ली भौँतारिए । अन्तिम पटक आसाम फर्किने बेला उसलाई

बिदा गर्न को पो आए होला र उनका मित्रहरू जसले उनको मृत्युपछि रोचक र घोचक लेखहरू लेखे, संस्मरणहरू लेखे । जसले उसको कविता झापामा सुनेर नेपाल बस्न आऊ भने बोलाए उनीबाटै अपहेलित भए कटुवाल । आसाममा हुँदा उनी भीमदर्शन रोकाका कविताबाट निकै प्रभावित थिए भन्ने कुरा नृत्यकलामा निपुण भैरवबहादुर थापाले आफ्नो पुस्तक ‘समर्पण’मा लेखेका छन् । थापाले कटुवालसँग आसाममा भेट हुँदा काठमाडौँ आए रोकालाई भेटाइदिने अनुरोध गरेको पनि चर्चा गरेका छन् । कतिपयले उनी महानन्द सापकोटा र धर्मराज थापाबाट प्रभावित भएको ठोकुवा गर्छ ।

कटुवालको नेपाल बसाइमा नजिकको मित्र थिए प्रसिद्ध निबन्धकार नगेन्द्र शर्मा । तर उनले अरू जस्तो कटुवालको मृत्युपछि निकटताको ढोङ गरेनन् । उनले कटुवालको कसैले नदेखेको प्रतिभालाई आफ्नो लेख- ‘काठमाडौँबाट कायल कटुवाल मा वर्णन गरेका छन्, ‘अझ अर्को रमाइलो आश्चर्य त मलाई त्यो दिन लाग्यो, जब हरिभक्तले आफैँ रचेको एक काव्यात्मक स्लोगनलाई अत्यन्त आकर्षक चित्रमा पनि उतारे । एक सुयोग्य चित्रकारले कलात्मक रूपमा कुँदेको सुन्दर तस्वीर झैँ उनले आफै डिजाइन गरेको त्यो विज्ञापनले उस्तै कमर्सियल आर्टिस्टलाई पनि मात गर्दिन्छ जस्तो लाग्यो ।

उनको त्यस्तो प्रतिभा देखेर हामी मात्र दंग परेनौं, विज्ञापन डिजाइनकै काम गर्न भनी हामीले पटना (भारत) बाट जागिर दिएर ल्याएका आर्टिस्ट पनि चकितै परेका थिए । त्यसबखत कटुवाल नगेन्द्र शर्माले खोलेको नेपाल विज्ञापन एजेन्सीमा कार्यरत थिए र एउटा विदेशी कम्पनीको विज्ञापन बनाउन शर्माले कटुवालको सहयोग लिएको कुरा मलाई भन्नु भएको थियो ।

वि.सं. २०३६ सालमा नेपाल तातिए सडक कविता क्रान्तिले । यो क्रान्तिको नायक थिए ‘भानु’को सम्पादक भवानी घिमिरे । मोहन कोइराला, शैलेन्द्र साकार, ध्रुव सापकोटा, अशेष मल्ल, गोबिन्द गिरी प्रेरणा’, किशोर ‘पहाडी’सँगै उभिए तत्कालीन जल्दोबल्दो कवि हरिभक्त कटुवाल एउटै मञ्चमा । यो बहुदललाई सहयोग गर्नका निम्ति गरेको काव्यात्मक आन्दोलन थियो । कटुवाल पनि अरू जस्तै ठाउँ ठाउँमा कविता वाचन गर्दै हिँडे । तर कटुवाललाई स्वास्थले बिस्तारै असहयोग गर्न थाले पछि फर्किए आसाममा नै निराश भएर, शिथिल भएर । सडक कविता क्रान्तिको निकै चर्चित कविता हो हरिभक्तको ‘म ऐलान गरिरहेछु । यो कविता धेरै ठाउँमा वाचन गरे उनले अनि पछि ‘भानु’ पत्रिकाको ‘सडक कविता क्रान्ति विशेषाङ्क’मा समावेश पनि भयो ।

म ऐलान गरिरहेछु

उनीहरू केवल कागजका बाघ मात्र हुन्

म ऐलान गरिरहेछु

उनीहरू नाङ्लो ठटाएर हात्ती तर्साउन पल्किएका

मुखुण्डाधारी नपुंसक एउटा जमात मात्र हुन् त्यसैले मागेर हामी अब कसैसित केही लिन्नौ हाम्रा अधिकारहरू खोसेर लिन सक्ने भएका छौं हामी पैँतालिस वर्षमा नै बितेका हरिभक्त मृत्युअघि नै देश, प्रवास, समाज र मित्रबाट मोहभङ्ग भइसकेका थिए । मित्रहरूबाट घात-प्रतिघात, पारिवारिक समस्या र रक्सीको उन्मादले कटुवालको जीवन कष्टकर भयो । तलका कविता र गीतले नै प्रस्ट हुन्छ कटुवालको मनस्थिति ।

मन त फलामकै भए असल हुन्छ

न घात-प्रतिघातमा रुन्छ,

न सयपत्री र बाबरीले बाटो थुन्छ

मन त फलामकै भए असल हुन्छ

कसैले चिमोट्यो

एक कप्टेरो त्यतै टाँसियो,

कसैले एउटा मुस्कान फ्याँक्यो

उसैको पछ्यौरीमा गाँसियो;

नारायणगोपालले गाएको यो गीत एक समय रेडियो नेपालको फर्माइसी कार्यक्रममा नबजेको दिन हुन्न थियो- चार्टबस्टर गीत ।

मलाई नसोध कहाँ दुख्छ घाउ

म जे छु ठीकै छु बिथोल्न नआऊ । 

मेरो जिन्दगीमा सधैँ यो उदासी 

सकेकै छ जिउन कहिले नहाँसी 

मेरो चाहना हो तिमी हाँसे पुग्छ

कटुवाल रोमान्टिक धाराका एक सशक्त कवि हुन, उनको कवितामा वेदना छ, व्यथा छ, विरह छ तर सबै नितान्त निजी । अगमसिंह गिरीको जस्तो जातीय चेतना, कवि वीरेन्द्रको जस्तो वैचारिक उँचाइ र ओकिउयमा ग्वाइनको जस्तो दार्शनिक र आध्यात्मिक गहनता कटुवालको कवितामा पाइँदैन । कटुवाल निजात्मकतामा रमाउँछ र भन्छ ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ । उनले देखेको संसार अरूले भोगे पनि, कटुवालको भोगाई व्यक्तिगत छ, विश्वव्यापी छैन । कटुवालको केही कवितामा युद्ध र द्वन्द्वको बाछिटा परे पनि उनी विशुद्ध रुमानी कवि हो, हिन्दीमा यस्ता व्यक्तिलाई मस्तमौला वा हरफनमौला पनि भन्ने गर्छन् । उनको गीत र कविताहरूमा निराश, अभाव, वेदना, विरह, मृत्युबोधहरू प्रशस्तै पाउँछौ ।

हरिभक्तले काठमाडौँमा रक्सी मात्रै खाएनन्, धेरै हन्डर पनि खाए । ‘रूपरेखा’ पत्रिकाको प्रुफरिडिङ गर्दा त्यसकै ढोकाटोलको कार्यालयको छिँडीमा सुते, चिसोले खुट्टा दुख्ने बिरामी परेर थलिए पनि । छोरी र पत्नीलाई ठुला सपना देखाएर काठमाडौँ बोलाए तर उनीहरू निराश भएर फर्किए आसाम नै । हरिभक्त जस्तै उनको परिवार पनि कहिले नेपालको हुन सकेन । कुनै समय प्रवासी उपनामले लेख्ने हरिभक्त नेपालीहरूका मनमा त बसे तर उनलाई सम्झने कुनै सम्झन योग्य संयुक्त कृति या स्मृति गुठी गठन गरे जस्तो लाग्दैन नेपालमा । न उनलाई सम्झन्छ जन्म जयन्तीमा, न पुण्यस्मृतिमा । केवल सम्झन्छ नारायणगोपालको कालजयी गीतमा-

मलाई नसोध कहाँ दुख्छ घाउ

म जे छु ठीकै छु बिथोल्न नआऊ ।

हरिभक्तको काव्यात्मक जिन्दगी गीतबाट हुन्छ । सन् १९५८ मा आठ आठवटा गीतहरू समावेश गरी रणबहादुर क्षेत्रीसँग गीत सङ्ग्रह’ नामक पुस्तक संयुक्त रूपमा निकाले, यो नै उनको पहिलो पुस्तक थियो । त्यसपछि सन् १९६०मा ‘सम्झना’ गीतसङ्ग्रह प्रकाशित गरे । सन् १९६३ मा ‘ऐतिहासिक’ कथासङ्ग्रह निकाले भने वि.सं. २०३० मा ‘स्पष्टीकरण’ नामक कथासङ्ग्रह प्रकाशित गरे । उनको निकै चर्चित कविता सङ्ग्रह हो वि.स. २०२९ मा प्रकाशित भएको यो ‘जिन्दगी खै के जिन्दगी हो । यस सङ्ग्रहको भूमिकामा कटुवाल लेख्छन्, “कतै कसैले मलाई निराश पनि भेट्लान्- त्यो पनि मैले भोगेको वास्तविकता नै हो । म पुरानो परिपाटीबाट सम्पूर्ण मुक्त छैन र आउँदो पिँढी माथि पनि दह्रो आस्था राख्दछ । त्यसैले मलाई लाग्छ, म यो सन्दिग्ध कालको जरासन्ध हुँ ।

यसको दोस्रो संस्करण रत्न पुस्तक भण्डारले वि.सं. २०४३ निकालेको छ । ऊनले नाटक पनि लेखे र कतिपय नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चन पनि भयो । ‘म मरेको छैन’ नाटकले पुस्तककार रूप पनि पाएको छ । भित्री मान्छे बोल्न खोज्छ’ (कवितासङ्ग्रह), ‘बदनाम मेरा आँखाहरू’ (कविता र गीतसङ्ग्रह), ‘सुधा’ (खण्डकाव्य) उनका अरू कृतिहरू हुन । हरिभक्त कटुवालले सम्पादनमा पनि आफ्नो दक्षता देखाए । अभिव्यक्ति (नगेन्द्रराज शर्मा बाहेक कटुवाल मात्र यसको सम्पादक बने त्यो पनि एक वर्षको निम्ति), बान्की, मुक्ति, हिमालय, प्रज्ञा, हिमानी, सङ्गीतसरिता आदिको सम्पादनमा विभिन्न तहमा रहेर काम गरे भने गोजीका पत्रिका ‘बान्की’ उनको मौलिक अवधारणामा निस्केको लघु पत्रिका हो जो कथाकार अनिता तुलाधरको प्रेसबाट छापिन्थे ।

हरिभक्त कटुवालको योगदानलाई कदर गर्दै भारतीय साहित्य अकादमीले सन् १९९० मा जीवन नामदुंग लिखित उनको जीवनी प्रकाशित गरे जसको २००६ मा दोस्रो संस्करण पनि निस्कियो । यस पुस्तकमा नामदुंगले कटुवालको कृति र योगदानको बृहत्तर रूपमा परिचर्चा गरेका छन् । उनले कटुवालको प्रतिभा नेपाल पसेपछि खुम्चिएको गुनासो पनि गरेका छन् । नामदुंग लेख्छन्, `व्यक्तित्वको अभाव एउटा गहिरो खाडलका रूपमा धेरै बुद्धिजीवीहरूले अनुभव हरिभक्त कटुवाल’ (सन् १९३५-१९८०)- को मृत्युपछि उनको विविधतापूर्ण साहित्यिक चर्चा गरेका छन् ।

आफ्नो साहित्यिक यात्रा आसामी साहित्यको भाषाबाट आरम्भ गरे । कटुवालले आसामी भाषामा प्रकाशित हुने आसाम वाणी, नवयुग आदि पत्रिकाहरूमा प्रशस्त रचनाहरू प्रकाशित गरे, यसबाहेक बङ्गाली, हिन्दी र अङ्ग्रेजीका ज्ञान र अध्ययन पनि कटुवालमा निकै थियो । उनलाई असाध्य मन पर्ने भारतीय भाषाका कविहरू गोपालसिंह नेपाली, बच्चन र भारतभूषण अग्रवाल हुन् भने उपन्यासमा प्रेमचन्द, मोहन राकेश र अमृता प्रीतम । रवीन्द्रनाथ टैगोर र शरतचन्द्र चटर्जी पनि उनका प्रिय कवि र उपन्यासकार हुन् भन्ने आत्मास्विकृति छ । पाश्चात्य साहित्यका साहित्यिकहरू भन्दा पनि बेसी आफ्नै देशका साहित्यकारहरूबाट प्रभावित भएको कुरो कटुवालका रचनामा पाइने विशेषताहरूबाट स्पष्ट हुन्छ ।

यिनले आफूलाई कविता साहित्यको क्षेत्रमा ‘संदिग्धकालका जरासन्ध हुँ’ भनेर आफ्नै देशको पौराणिक प्रतीक ‘जरासन्ध’ को रूपमा चिनाउन खोजेका छन् । ‘उत्तरतिर कंस करायो’ नामक कवितामा पनि कटुवाललाई भगवान् कृष्णको आदर्शले प्रतीकात्मक रूपमा भए पनि धर्मको स्थापना गर्ने आवश्यकता बोधले झस्काएको पाइन्छ । यिनले आफ्ना कथा, नाटक र कविता भित्रका पात्र पात्राको चरित्र चित्रणमा पूर्ण भारतीयताको प्रतिनिधित्व गर्न चुकेका छैनन् ।’

आकाशका तारा के तारा ? कविताले वि.सं. २०२० सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजित काव्य गोष्ठीमा पुरस्कार पाएको थियो । उनको अर्को दमदार कविता ‘यो जिन्दगी खै के जिन्दगी !’ आसाममै हुँदा लेखेको हुन् । यो कविताले वि.सं. २०२४ सालमा झापामा आयोजित दोस्रो देश-व्यापी साहित्य सेमिनारमा उनलाई सर्वश्रेष्ठ कविको रूपमा स्वर्णपदक दिलाई दिएको थियो ।

भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको

एटमको त्रासले चुसेको

समस्याको भूतले सताएको

यो जिन्दगी खै के जिन्दगी !

बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ आँखा चिम्लनु पनि जगजगी, आँखा उघार्न पनि जगजगी यो जिन्दगी खै के जिन्दगी ।

हरिभक्त कटुवाल बितेको चार दशक भइसक्यो । नेपाल प्रज्ञा प्रतिष्ठानमा उनकै प्रेरणा पाएर कैयन साहित्यमा होमिएकाहरू प्राज्ञ र त्योभन्दा पनि पक्कै माथिल्लो पदमा पुगे तर कसैले सम्झेनन् कटुवाललाई । तर नाट्यकर्मी पुरु लम्सालले ‘अनि हरिभक्त फर्केनन्’ शीर्षक वृत्तचित्र बनाएर उनको अमरत्व कायम गरे ।

हरिभक्त कटुवाल पलायनवादी होइनन् तर परिस्थितिले उनलाई सबैबाट एक्लो बनाए । हरिभक्तको कविता कृतिमा नाम चलेका समालोचकहरूले कमै कलम चलाए तर यसले उनको महत्ता पक्कै पनि कम हुने छैन ।