१. परिचय

नेपाली भाषाको अध्ययन परम्परा अझैसम्म कायम रहेको छ । अझै पनि हाम्रा भाषिक समस्याका गाँठा खोलिएका छैनन् । पुराना गाँठा खोलिँदै गए पनि नयाँ नयाँ गाँठा उब्जिएका छन् । भाषा जस्तो बोल्छौँ त्यस्तै लेख्नुपर्छ भन्ने एउटा तप्का तर अर्काले भाषा मानक हुनुपर्छ भन्ने अर्को थरी । भाषाको मानकीकरण एकीकरण अझैसम्म पूर्णतया भैसकेको छैन । भाषाका वर्ण, हिज्जे, वर्तनी आदिबारे अझैसम्म पनि विवाद कायम रहेको छ । यता भारतीय परिप्रेक्ष्यमा भाषाबारे विभिन्न मत अघि आएका छन् । गज्मौरो स्थिति छ ।

नेपाली साहित्यिक जमात, नेपाली विषयका विद्यार्थी र भारतमा गोर्खाली राजनैतिक चासो राख्नेहरूका लागि डा. गोकुल सिन्हा एक प्रखर परिचित नाम हो । उहाँ एक कुशल समालोचक, प्रवीण भाषाविद्, एक आदर्श शिक्षक, एक सफल अनुवादक, एक पक्का साहित्यकार, एक जण्डा राजनीतिज्ञ र एक चिन्तक हुन् ।

उनको जन्म- १५ डिसेम्बर, १९४० मा महारानी चियाकमान, टुङमा भएको हो । यस हिसाबले उनको उमेर सत्तर वसन्त पार भइसकेको छ । उनका माता-पिताको नाम स्व. कर्णबहादुर खड्का र स्व. लक्षिमी खड्का हो । उनले आफ्नो अध्ययनलाई बढाउँदै र शिक्षण कार्य गर्दै विद्यावारिधिसम्म हासिल गरेका हुन् । उनले शिक्षण कार्य गरेका शिक्षण संस्थानहरूमा रङबुल निम्न बुनियादी पाठशाला- १९५७ देखि १९६६ सम्म, केन्द्रीय तिब्बती विद्यालय, कालिम्पोङ-१९६६ देखि-१९८५ सम्म । यसै गरी उनले सिलगढी महाविद्यालयमा १९८५ देखि २००० सम्म प्राध्यापन गरेका हुन् ।

त्यहाँ नेपाली विभागका तत्कालीन एक्ला प्राध्यापक थिए । त्यहाँ नेपाली विषयमा सम्मान खोल्न ठुलो भूमिका खेलेका थिए । त्यसपछि भने दार्जिलिङ सरकारी महाविद्यालयमा २००४ देखि अतिथि प्राध्यापक रही सेवा पुर्याएका थिए । यसरी हेर्दा उनीसित पचास वर्षे शिक्षण अनुभव छ ।

२. कृतित्व

गोकुल सिन्हा एक लेखक हुन् । उनका कथासङ्ग्रह, भाषिक चिन्तन, अङ्ककोश, भाषाविज्ञान कोश, सम्पादन आदि गरी धेरै कृति प्रकाशित छन् । हालसम्म उनका अङ्ग्रेजी र नेपाली भाषा गरी जम्मा बाइसवटा पुस्तक जति प्रकाशित छन् ।

मौलिक लेखन– उनको मौलिक लेखनतर्फ- बसुधैव कुटुम्बकम् (कथासङ्ग्रह, २०१८), अङ्ककोष (सङ्ख्यावाची शब्दावली- २०२१), भाषा भारती (भाषिक लेखसङ्ग्रह, २०२१), भाषा भाष्कर (भाषिक लेखसङ्ग्रह, २०२२), ज्ञ देखि अ सम्म (समीक्षासङ्ग्रह, २०२२), प्राक्कथन (भूमिकासङ्ग्रह, २०२२), बाह्र बटुलो (समीक्षा सङ्ग्रह, २०२३) र रामगीता (विविध पाठहरूमा, २०२३) प्रकाशित देखिन्छन् ।

अनुवादकार्य- उनका केही अनूदित पुस्तकहरूमा पवित्र कुरआन, क्रिसेन्ट पब्लि, नयाँ दिल्ली, १९८०, चालिस हदिस, क्रिसेन्ट पब्लि, नयाँ दिल्ली, १९८१, हदिस चयन, क्रिसेन्ट पब्लि, नयाँ दिल्ली, १९८६, नेपाली भाषाको मान्यताको प्रश्न, प्रोलेतारियन एरा, कलकत्ता, १९८१, गालिब, साहित्य एकाडेमी, नयाँ दिल्ली, १९८७, चिरकुमार सभा, साहित्य एकाडेमी, नयाँ दिल्ली,१९९७, बहाई घर, बहाई प्रका. दार्जिलिङ, १९९८, नयाँ नियम, वर्ल्ड बाइबल ट्रान्लेसन सेन्टर, बङ्गलोर, २०००, पुरानो नियम, वर्ल्ड बाइबल ट्रान्लेसन सेन्टर, बङ्गलोर, २००२, भागवद्गीता, पाइन्स प्रकाशन. दार्जिलिङ, २००८ ।

संयोग कस्तो छ भने उनले श्रीमद्भागवत गीताको झ्याउरे लयमा अनुवाददेखि लिएर पवित्र कुरान, चालीस हदिस, हदिस चयन, भानुभक्तीय रामायणको अङ्ग्रेजीमा गद्यानुवाद, बहाइ घर, नयाँ नियम पुराण आजि जस्ता हिन्दु, इस्लाम, इसाई र बहाइका धर्मग्रन्थहरूको अनुवाद गरेका छन् । हाम्रो समाजमा कुरानको उति अनुवाद भएको पाइन्न, यो काम डा गोकुल सिन्हाले गरेका छन् ।

यसै गरी उनका अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरूमा- A Treatise on Nepali Language, Uttaranchal Prakashan, 1978. A Critical of the Ramayana Studies in the World (Vol I-II), Sahitya Academy, New Delhi, 1991 & 1993. Medieval Indian Literature (Nepali Section), Sahitya Academy, New Delhi, 1989 & 1990, Masterpieces of Indian Literature (Nepali Stories), National Book Trust of India, 1998. A Lexicon of Linguistic & Literary Terms, CIIL, Mysore, 2004. Role of Gorkhas in Making of Modern India, Bharatiya Gorkha Parisangh, 2006.

Nepali Ramayana: Versions & Variations (Paper), International Ramayana Conference, Bangkok, Thailand, 2000, Myth in Contemporary Indian Literature (Paper), National Seminar, Sahitya Academy, New Delhi, 2003, An Intensive Course in Nepali, (Co. Writer- Editor), CIIL. Mysore. 2003, Nepali annotated Cultural Vocabulary (Co-writer-editor), Nepali Ramayan : The Ramayan of Bhanubhakta (Translation, 2015), Dialogue between Two Mahakavis : Kalidas and Laxmiprasad Devkota’s, Three Shakuntalas (Book Chapter, 2020)

डा. सिन्हाले सम्पादन गरेका केही पुस्तक र पत्रिकाहरूमा-

डा. सिन्हाले विभिन्न पक्षबाट नेपाली भाषा र साहित्यको सेवामा गरेका छन् । पुस्तकका रूपमा, पुस्तक सम्पादन, पत्रिका सम्पादन आदि मुख्य रहेका छन् । उनले महाकवि देवकोटाले दार्जिलिङकेन्द्रित कविताहरूलाई सङ्कलन गरेर ‘देवकोटा दोर्जेलिङैमा’, पाइन्स प्रकाशन, दार्जिलिङ, २००९, ‘पहाडी खोला’, ‘एकीकरण’ (दार्जिलिङ सिक्किम एकीकरण अभियानको मुखपत्र), ‘इन्द्रबहादुर राई अभिनन्दन ग्रन्थ’, ‘बी बी लकान्द्री स्मृति गुच्छ’, ‘आधार’ (भारतीय नेपाली राष्ट्रिय परिषद्को मुखपत्र), ‘सङ्गम’, ‘नेभा’, ‘अकादमी पत्रिका’ ।

यीबाहेक विभिन्न पत्र-पत्रिका, स्मृति ग्रन्थ र अभिनन्दन ग्रन्थहरू सम्पादित । डा. सिन्हा केही पुरस्कृत-सम्मानित र अभिनन्दित भएका छन् । तीमध्ये केही हुन्- भानुभक्त पुरस्कार, सिलगढी, १९९६, डा पारसमणि पुरस्कार, कालिम्पोङ, २००३, अरूगि पुरस्कार, खरसाङ, २०१३, नेपाली साहित्य सम्मेलन पुरस्कार, दार्जिलिङ, २०१७, बद्रीनारायण प्रधान, डुवर्स, २०१७, तुलसीराम कश्यप पुरस्कार, सिक्किम, २०२०, साहित्य सम्मान पुरस्कार, नयाँ दिल्ली, २०२२, गिरी पुरस्कार, सूचना एवम् र सांस्कृतिक विभाग, जी टिए, २०२२ । यसै गरी उनी विभिन्न ठाउँबाट अभिनन्दित भएका छन् ।

डा. सिन्हाको राजनैतिक व्यक्तित्व पनि आफ्नै किसिमको छ । गोर्खालीगमा पनि एक समय सक्रिय थिए । अहिले सिक्किम-दार्जिलिङ एकीकरण मञ्चका उपाध्यक्ष हुन् । ऐतिहासिक सन्धि-सम्झौता र दस्ताबेजका आधारमा दार्जिलिङलाई सिक्किममा गाभ्नुपर्छ भन्ने राजनैतिक अडान लिएका छन् । उनी एक स्पष्ट राजनीतिज्ञ र चिन्तक हुन् ।

शैक्षिक क्षेत्रमा एक लोभलाग्दो पौरखी । प्राइभेट तवरबाट नै उच्च शिक्षा हासिल गरेका हुन् । यसका साथै शोधनिर्देशक बिना नै नेपाली रामकाव्य परम्परा विषयमा विद्यावारिधि (पी.एच.डी.) हासिल गरेको हो । यसबाट हामी सबैले प्रेरणा लिनुपर्दछ ।

३. समीक्षकका रूपमा डा. सिन्हा-

डा. सिन्हाका केही समालोचनात्मक लेखहरू विभिन्न पत्रिकामा प्रकाशित छन् । यद्यपि उनको समीक्षा पुस्तक भने ज्ञ देखि अ सम्म । पुस्तकको नामै अनौठो छ । ज्ञानदिलदासदेखि असीत राईसम्मका विषयमा जीवनीपरक समीक्षा गरिएको छ ।

यसमा रहेका समीक्षात्मक लेखहरू हुन्- ज्ञानदिल दास- ‘यम गीता’, गङ्गाप्रसाद प्रधान- ‘पाद्री गङ्गाप्रसादको लेखाइ’, दिलुसिँह राई- ‘नेपाली निर्वचन प्रथम पुरुष’, पारसमणि प्रधान- ‘पारसमणि’, रूपनारायण सिंह- ‘राजनैतिक रूपनारायण’, अच्छा राई रसिक- ‘रसिक’को राजनैतिक प्रतिबद्धता’, अगमसिंह गिरि- ‘विद्रोही कविको क्रान्तिभूमि’, शिवकुमार राई- ‘फ्रन्टियर’का सिपाही शिवकुमार’, रामकृष्ण शर्मा- ‘परिचेय रामकृष्ण’, देवप्रकाश राई- ‘रोमान्टिक कथाकार देवप्रकाश’, बद्रीनारयण प्रधान- ‘मालती उर्फ मौली’, इन्द्रबहादुर राई- ‘लीला लेकन एक आद्यस्वरूपीय प्रयुक्ति’, भाइचन्द प्रधान- ‘भानुको प्रथम किरण कालेबुङमा’, राजनारायण प्रधान- ‘राजको डायरी’, लक्खीदेवी सुन्दास- ‘अहल्या’को पौराणिक प्रसङ्ग’, कुमार प्रधान- ‘नेपाली जातीय इतिवृत्तिमा डा कुमार’, रामलाल अधिकारी- ‘निबन्धकारी अधिकारी’, असित राई- ‘साहित्य साहित्यकार र असित राई’ ।

उनको सबैभन्दा पछिल्लो समीक्षासङ्ग्रह हो बाह्र बटुलो (२०२३) हो । यसभित्र रहेका केही लेखहरू हुन्- नेपली कविता एक सिंहावसलोकन, कविता-दार्जिलिङ एक खाकाचित्र, भारतमा नेपाली कविता पर्पराको प्राथमिक पर्व, नेपाली कथाको परम्परा र मौलिकता, नेपालीको केही साहित्यिक त्रयीहरू, आधुनिक नेपाली साहित्यमा सामाजिक राजनैतिक परिदृश्य, नेपाली जाति भाषा र साहित्य, अनुवाद साहित्यको पक्षमा, नियात्राको पदयात्रा, साहित्यमा समकालीनताको प्रश्न र सानु लामाको हिमालचुली मुन्तिर, कोकिला- को कथा विशेषाङ्क एक कथन प्रसङ्ग, वृहत् समालोचना एक महत् संयोजन एक संक्षिप्त विवेचन ।

सिन्हाका समीक्षामा गहन अध्ययन, अन्वेषण, तथ्य, तर्क, वस्तु विवेचना, तात्त्विक विमर्श, भाषिक चर्चा, जीवनी मूलकता, सर्जकको मूल सिद्धान्तको अन्वेषण र तिनको व्याख्या आदि पाइन्छ ।

भाषापरक समालोचना उनको प्रमुख विशेषता हो ।

४. कोशकारका रूपमा डा गोकुल सिन्हा-

डा. गोकुल सिन्हा एक कोशकार पनि हुन् । कोशसम्बन्धित उनका दुई वटा पुस्तक प्रकाशित देखिन्छन्- भाषिक र साहित्यिक शब्दावलीको प्राविधिक कोष (A Lexicon of Linguistic & Literary Terms, CIIL, Mysore) र अङ्ककोष  देखिन्छन् । अघिल्लोमा भाषिक र साहित्यिक शब्दावलीलाई नेपाली शब्द र अर्थ खुलाएका छन् । उनको अङ्ककोष नेपाली कोश परम्परामा एउटा विशिष्ट किसिमको पहिलो कोश हो जसमा अङ्कवाची शब्दहरूको व्युत्पत्ति र अर्थ खुलाएका छन् । नेपाली भाषामा सङ्ख्यावाची शब्द विभिन्न प्रसङ्ग, स्थान, संस्कार, संस्कृति आदिमा प्रयोग हुन्छन् ।

ती जम्मैलाई सङ्कलन र कोशीकरण गरिएको छ । यसमा शून्यदेखि लिएर नौलाखे, सपादलक्षसम्मको अर्थ केलाएका छन् । यसमा सबैभन्दा बेसी पाँचबाट उठेका तत्सम, तद्भव, आगन्तुक र देसज शब्दहरू र तिनको अर्थ केलाइएको छ । यसका साथै चौंसठ्ठी कला भित्र कुन कुन कला पर्दछन्, चौंसठ्ठी योगिनीमा कुन कुन योगिनी पर्दछन्, साठ्ठी संवत्सरमा कुन कुन पर्दछन्, चौरासी सिद्धमा कुन कुन हुन् आदि पनि दिइएको छ । पुस्तक ८७ पृष्ठको रहेको छ । परिशिष्टमा अङ्क तथा अक्षरमा गन्ती, केही रोमन अङ्कहरू, केही अङ्ग्रेजी सङ्ख्यावाची शब्दहरू राखिएका छन् ।

५. भाषा र साहित्यका एक व्यक्तित्व –

नेपाली भाषाको अध्ययनमा डा सिन्हाको महत्त्वपूर्ण योगदान छ । नेपाली भाषाको वर्णविचारदेखि लिएर, व्याकरणिक व्यवस्था, भाषिक एकीकरणसम्बन्धी विशद् अध्ययन र लेखनमा आजपर्यन्त सक्रिय । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गोष्ठीतिर प्रपत्र प्रस्तोता, साहित्यिक र विभिन्न सामाजिक संस्था आदिका पदाधिकारी, विभिन्न साहित्य समारोह आदिका मुख्य अतिथि, अध्यक्ष, स्रोत व्यक्ति आदि हुनुभएका एक व्यक्तित्व ।

यीबाहेक विभिन्न सरकारी निकायमा विषयविज्ञका रूपमा रहनुभएको । उहाँ भाषाका एकेक शब्द केलाई त्यसको अर्थ, व्युत्पत्ति आदिबारे चिन्तन गर्नुहुन्छ । उहाँ हरेक लेख बौद्धिक- चिन्तनपरक रहेका हुन्छन् । उनले डा पारसमणि प्रधान अभिनन्दन ग्रन्थमा नेपाली व्याकरणमा एकरूपताको प्रश्न विषयमा एक अत्यन्त गहकिलो लेख लेख्नुभएको छ । त्यस लेखमा नेपाली नेपाली भाषामा एकरूपताको समस्याको दिशा, तिनका कारण आदिबारे गम्भीर अध्ययन गरेका छन् ।

डा. गोकुल सिन्हाभित्र विभिन्न अनुभव र ज्ञानको भण्डार छ । पारसमणि प्रधान, भाइचन्द प्रधान, देवप्रकाश राई, गुमानसिंह चामलिङ, रामकृष्ण शर्मा, महानन्द पौड्याल आदिसँग राम्रो संसर्ग गरेका हो । वहाँ स्वयम् नै इतिहास र संस्मरणको पुस्तक हुनुहुन्छ । वहाँ दार्जिलिङ, कालिम्पोङ र सिलगढी तीनै ठाउँका एक सिङ्गो व्यक्ति हुनुहुन्छ । अहिले वहाँ भानुभक्तीय रामायणको अङ्ग्रेजी अनुवादमा सक्रिय रही सबै काण्ड त अनुवाद र प्रकाशित गरिसक्नु भएको छ । बाँकी दुई काण्ड पनि निर्विघ्न रूपमा चाँडै समाप्त होस् भन्ने हामी चाहन्छौँ ।

डा. सिन्हा अत्यन्त मिलनसार, हँसमुख, युवा जोसले भरिपूर्ण, लोकप्रिय गुरुबा, सदाचारी, सबैलाई मित्रवत् व्यवहार गर्ने, गुणी, सरल र सहज व्यक्तित्व हुनुहुन्छ । अब उहाँले सानातिना झिनामसिना कामभन्दा नेपाली भाषा र साहित्य क्षेत्रमा ठोस कार्य गर्नुभए असल हुनेछ । उहाँलाई उमेरको वार्धक्यले चाँडै नै नगलाओस्, उहाँ पुस्तक सङ्ख्या बढेर दुई दर्जन नाघोस्, थालेको रामायण अनुवादको काम चाँडै समाप्त होस्, उहाँको जोसमा कमी नआओस्, अझै अरू गरिमामयी पुरस्कार हात पर्दै गरोस्, उहाँका छोराछोरीले पनि अझै उन्नति गरून्, सबैतिरबाट सुख-समृद्धि प्राप्त होस् तथा उहाँको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको काम राख्दछौँ ।

६. सिन्हाको भाषा चिन्तन-

नेपाली भाषाको चिन्तन परम्परामा डा गोकुल सिन्हाको नाम पनि जोड्नु पर्दछ । हालसम्म उनका भाषा भारती (२०२१) र भाषा भाष्कर (२०२२) प्रकाशित छन् । उनको अङ्ककोष पनि प्रकाशित छ । भाषा भारती भित्र रहेका लेखहरू हुन्- अक्षरहरूको आध्यात्मक अर्थ, वाक्यार्थ जानिलिनु, नेपाली वर्णविचार, हाम्रा स्वर र व्यञ्जन, भाषाको परिप्रेक्ष्यमा भारत र नेपाल, अगि र अघि, पहाडे र पाहाडे, तपाईं सम्झनुहुन्छ कि सम्झिनुहुन्छ ? दार्जिलिङ र दार्जिलिङ, स्थान नाम अर्थवान् हुन्छ- पाहाड़ी भाषाहरू, मध्यपाहाडी कुमाउनी, आखाणा पखाणा मध्य पहाडीमा, नेपाली भाषामा एकरूपताको प्रश्न ।

यसैगरी भाषा भाष्करमा रहेका लेखहरू हुन्- भारतमा भाषा अध्ययन परम्परा र नेपाली, नेपाली र बङ्गाली भाषामा अन्तरसम्बन्ध, नेपाली हिन्दी क्रियामा लिङ्ग व्यवस्था, व्याकरणकै कुरा नेपालीमा लिङ्ग, केही नेपाली निपातहरू, केही व्याकरण उपसर्गहरू, भाषा जनगणना र नीति, नेपाली भाषा संविधानको सन्दर्भमा, शुभेच्छा पनि समाचार पनि, भाषाले मान्यता पायो मात्र हैन, यसका साथै पायौँ अधिकार र कर्तव्य पनि, भारतमा नेपाली भाषाको स्वरूप, भारतीय परिप्रेक्ष्यमा नेपाली भाषाको समस्या र समाधानको खोज, वर्तमान भाषा प्रयोग र भाषा विमर्श, दार्जिलिङको भाषिक समुदायमा भाषिक सङ्क्रमण, गिरी र गिरी, आइ बी राईको भाषा दर्शन, भाषा भण्डारी, सारस्वत जन बिम्स् ।

यी दुई भाषा चिन्तनपरक पुस्तकहरूमा रहेका तेत्तीस वटा लेखहरूमा नै भाषाका विभिन्न पक्षबारे डा सिन्हाको मत पुष्टि हुन्छ । यी दुई पुस्तकहरूमा रहेका जम्मै लेखहरूलाई विभिन्न तवरले अध्ययन गर्न सकिन्छ । यद्यपि यसमा मोटामोटी रूपमा ‘नेपाली वर्ण चिन्तन’, ‘सामान्य भाषिक चिन्तन’, ‘भाषिक तुलनात्मक चिन्तन’, ‘नेपाली व्याकरणिक कोटिको चिन्तन’, ‘नेपाली भाषा चिन्तनमा केही व्यक्तिको योगदान’ आदि जस्ता विषयगत वर्गीकरण गर्न सकिन्छ ।

वर्णगत चिन्तन- डा. सिन्हाले नेपाली वर्णमालामा अनावश्यक रूपमा उठेका विवादमाथि निकै केन्द्रित गरी केही लेख लेखेका छन् । ‘भाषा भारती’ भित्र रहेका केही लेखहरू जस्तै- नेपाली वर्ण विचार, हाम्रो स्वर र व्यञ्जन, भाषाको परिप्रेक्ष्यमा नेपाल र भारत, भाषा भाष्कर पुस्तकभित्र रहेको भारतीय परिप्रेक्ष्यमा नेपाली भाषाको समस्या र समाधानको खोज, वर्तमान भाषा प्रयोग र भाषा विमर्ष आदि जस्ता लेखहरूमा हाम्रा वर्ण विचार गरेका छन् ।

यस पुस्तकमा आफ्नो भाषा चिन्तनलाई अघि सारेका छन् । भाषिक व्यवहार, प्रयोग, शास्त्रीय आदि स्रोतका अध्ययनका आधारमा उनले आफ्नो अभिमत राखे हुन् । उनका निम्ति भाषा निर्देशित (Prescriptive) नभएर वर्णनात्मक (Description) हुन्छ । भाषाको प्रयोगमा विकास (Evolution) मा हुन्छ क्रान्ति (Revolution) गरेर हुँदैन ।

उनले भारत र नेपालको नेपाली भाषाबारे चिन्तन गरेका छन् । भारतीय भाषामा केही मौलिकता हुनुपर्छ । केही मौलिकता बचेका छन् तर तिनलाई मेटाएर एकाकार पार्नु पनि उचित हुँदैन । हामीले सजिलोसँग प्रयोग गर्दै आएका वर्णलाई यो वर्ण छैन भनेर भाषाविज्ञानका सिद्धान्तका आडमा जबरजस्ती हटाउने प्रक्रिया देखेर उनी यसलाई बचाउने अभियानमा छन् । उनका विचारमा भारतमा सजिलैसँग प्रयोग भइरहेका विशेषगरी ड ढ क्ष त्र ज्ञ गरी पाँच वटा वर्णलाई यताका केही पाठ्यपुस्तकबाट हटाउनु उचित होइन । उनको विचारमा ‘ड र ढ उत्क्षिप्त वर्ण हुन्, उच्छिष्ट होइनन् ।

वर्ण ड तर ध्वनि ड । यहाँ ध्वनि रङ्ग मिल्दैन । डाँडो लेखेर डाँडो उच्चार्नु छ । अब भन्नु अरे पहिलो आउने ड हुन्छ पछि आउने ड । ड ले डराएर होइन तर ड-ले । जब ड वर्ण नै छैन भने के लेख्ने के लेखाउने. ड ध्वनि हामीसित भएकाले नै ड वर्ण सिद्ध छ । ड ड को सं ध्वनि होइन अनि संवरण मानेमा ङ –को रूप पनि उस्तै छ । घ र ध, भ र म, खुट्टा झार्‌यो झ र फ संवर्णी संरूपी छन्, अब कुन हटाउने । सं ध्वनि भन्ने हो भने इ र ईस उ र ऊ एउटै सुनिन्छन् । अङ्ग्रेजीमा Q र K, J र Z सं ध्वनि छन् तर हटेका छैनन् । यो संरूपको, सं ध्वनि र संवर्णको अवधारणा नेपाली लेख्य भाषाको परिप्रेक्ष्यमा फितलो छ’ ।

यसै गरी ‘क्ष त्र ज्ञ को क्षत्र पनि खोसिएको छ- यी संयुक्त वर्ण भनेर । संस्कृतमा बढी आवृत्ति भएका शब्द र वर्णहरूका छुट्टै गणना हुन्थे । तेसै गरी पहले क् ष त् र, ज् ञ भएका कतिपय शब्दहरू भएकाले संस्कृतमै संयुक्त रूप एउटै बनाए क्ष त्र ज्ञ ।’ उनले नेपाली वर्णमालामा पुरापुरी पचास वटा वर्णहरू छन् तथा ती जम्मै वैज्ञानिक, सन्तुलित र प्रयोज्य छन् । तीमध्ये कुनै एउटालाई चाहिँदैन भनेर झिकिदिए लङ्गडो हुन्छ, खुँडो हुन्छ, अवैज्ञानिक हुन्छ । कतिपय वर्ण चाहिँदैन भन्ने लाग्छ भने पनि संस्कृतिका तत्सम शब्दका लागि चाहिन्छन् र ती राखिनु पर्छ ।

डा. सिन्हाले भारतमा प्रचलित रहेका विशेष गरी दुई वर्णलाई सुरक्षित राख्न निकै प्रयत्न गरेका छन् । उनले तलथोप्ली ड ढ हाम्रा मौलिक वर्ण हुन्, यी दुईवटा वर्णलाई हाम्रो जिब्राको सुविधाअनुरूप राखिनु जोगाएर पर्छ, यसलाई मास्नु हुँदैन भन्ने तर्क राखेका छन् । उनको तर्क अनुसार तलथोप्ली ड र ढ सुरक्षित रहनुपर्छ । पञ्चम वर्ण पनि सही ठाउँमा प्रयोग हुनुपर्दछ ।

सामान्य भाषिक चिन्तन- यस वर्गीकरणका केही लेखहरूमा वाक्यार्थ जानिलिनु, अगि र अघि, पहाडे र पाहाडे, तपाईं सम्झनुहुन्छ कि सम्झिनुहुन्छ? दार्जिलिङ र दार्जिलिङ, स्थान नाम अर्थवान् हुन्छ, नेपाली भाषामा एकरूपताको प्रश्न, भारतमा भाषा अध्ययन परम्परा र नेपाली, भाषा जनगणना र नीति, नेपाली भाषा संविधानको सन्दर्भमा, भाषाले मान्यता पायो मात्र हैन, यसका साथै पायौं अधिकार अनि कर्तव्य पनि, भारतमा नेपाली भाषाको स्वरूप. भारतीय परिप्रेक्ष्यमा नेपाली भाषाको समस्या र समाधानको खोज. वर्तमान भाषा प्रयोग र भाषा विमर्श, दार्जिलिङको भाषिक समुदायमा भाषिक सङ्क्रमण, गिरि र गिरी आदि जस्ता लेखहरूमा उनका भाषा चिन्तन पाइन्छन् ।

उनका अनुसार नेपाली भाषाको प्रकृतिअनुसारको प्रयोग हुनुपर्दछ । भाषामा दुई रूप हुन्छन् । लेखकले दुई वटाबाट विकल्पका रूपमा प्रयोग गर्न पाउनुपर्छ । भाषालाई कज्याएर राख्नु सकिन्न । यद्यपि जुनमा हाम्रो जिब्राको अनुकूल हुन्छ त्यसलाई मान्न सकिन्छ । उनले दार्जीलिङ-दार्जिलिङ, अगि-अघि, सम्झनुहुन्छ कि सम्झिनुहुन्छ, गिरि र गिरी, पहाडे र पाहाडे जस्ता एकै शब्दका दुई रूपबारे पनि चिन्तन गरेका छन् ।

उनका विचारमा अङ्ग्रेजीमा Darjeeling लेखिने दार्जिलिङ भए पनि यसको व्युत्पत्ति र शाब्दिक अर्थअनुसार दार्जिलिङ नै शुद्ध हुन्छ । प्रत्येक ठाउँको नाम अर्थवान् हुन्छ । उनले दामसाम भन्ने स्थान नामको अर्थ केलाउँदै हाम्रो नेपालीमा ङ को स्थानमा अङ्गेजीमा ng ले काम चलाउनु परेको हुन्छ तर यसको सिको गरेर जबरजस्ती ङ्ग पार्ने चलन बसेको हो जो नक्कलको पनि नक्कल हो भन्ने आशय प्रकट गरेका छन् । जस्तै दार्जिलिङलाई अङ्ग्रेजीको सिको गरे दार्जीलिङ्ग लेख्नु शुद्ध होइन ।

भाषिक तुलनात्मक चिन्तन- डा. सिन्हाले नेपाली भाषालाई भारतका अन्य पहाडी भाषाहरूसित पनि तुलना गरेका छन् । भाषा भाष्करभित्र रहेका तुलनात्मक लेखहरूमा नेपाली र बङ्गाली भाषामा अन्तरसम्बन्ध, नेपाली र हिन्दी क्रियामा लिङ्ग-व्यवस्था हुन् । उनले विशेष गरी नेपाली भाषालाई कुमाउनी र गडवाली भाषासित ध्वनिगत, अर्थगत र रूपगत तहमा अध्ययन गरेका छन् । भाषा भारती पुस्तकमा रहेका केही तुलनापरक लेखहरूमा जस्तै ‘नेपाली दुई आदर्श भाषा’, ‘पाहाडी भाषाहरू’, ‘मध्य पहाडी : कुमाउनी’, ‘आखाणा पाखाणा : मध्य पहाडीमा’ । यी लेखहरूमा कुमाउनी गडवालीसित नेपाली भाषाका विभिन्न पक्षमा तुलनात्मक अध्ययन गरेका छन् । उनका विचारमा यी पहाडी भाषाका उत्पत्ति स्रोत एउटै हुन् ।

नेपाली व्याकरणिक कोटिको चिन्तन- डा सिन्हाले नेपाली व्याकरणका केही कोटीका विषयमा पनि चिन्तन गरेका छन् । जस्तै लिङ्ग व्यवस्था, नेपाली निपात, केही नेपाली उपसर्गका विषयमा चिन्तन गरेका छन् । उनका विचारमा नेपालीमा आफ्नै किसिमको व्याकरणिक व्यवस्था छ । लिङ्गका बारेमा विभिन्न मत आए पनि नेपालीमा तीनवटा नै लिङ्ग हुन्छन् । यद्यपि दार्जिलिङको नेपाली भाषाको कथ्यमा भने लिङ्गानुशासन पाइँदैन ।

नेपाली भाषा चिन्तनमा केही व्यक्तिको योगदान- यसअन्तर्गत डा. सिन्हाले इन्द्रबहादुर राई, पारसमणि प्रधान, नरबहादुर भण्डारी, जन बिम्सका नेपाली भाषाको चिन्तन र विकासमा योगदानबारे चर्चा गरेका छन् । इन्द्रबहादुर राईको लेख ‘नेपाली शुद्ध कहाँको?’ भन्ने लेखलाई केन्द्रित गरी आफ्नो  विचार व्यक्त गरेका छन् । लण्डनका जन बिम्ब्सले भारतीय भाषाहरूको तुलनात्मक अध्ययन नाम ठेलीमा नेपाली भाषालाई पनि भारतको सातौं भाषाका रूपमा अध्ययन प्रस्तुत गरेका छन् । नेपाली भाषा मान्यताको आन्दोलना सिक्किमका पूर्व नरबहादुर भण्डारीको योगदानलाई उनले भाषा भण्डारी भन्ने लेखमा मूल्याङ्कन गरेका छन् । भण्डारीले नेपाली भाषा मान्यताका निम्ति साङ्गठनिक राजनैतिक रूपमा  खेलेको भूमिका, योगदान र पूर्व सांसद दिलकुमारी भण्डारीको सांसदीय भूमिकालाई डा सिन्हाले अक्षरमा उतारेका छन् ।

७. भारतीय नेपाली भाषाको मौलिकताबारे चिन्तन-

जहीँको भए पनि नेपाली भाषा भने एउटै हो । नेपाली भाषाका विभिन्न भाषिकाहरू रहेका छन् । भौगोलिक र सामाजिक परिवेश आदि विभिन्न कारणले भाषिकाको विकास हुन्छ । यद्यपि भारतको दार्जिलिङ सिक्किम असमतिरबाट आफ्नै किसिमको नेपाली भाषिक स्वरूप परिलक्षित भएको पाइन्छ । दार्जिलिङमा प्रचलित कतिपय चलन चल्तीका शब्द र व्याकरणिक स्वरूपलाई मानक नै मान्ननु पर्ने स्थिति देखा परेको छ ।

डा. सिन्हाले व्याकरणगत, वर्णगत, शब्दगत र अर्थगत आधारमा भारतीय नेपाली भाषाको केही मौलिक स्वरूपको रेखाङ्कन औँल्याएका छन् । उनका अनुसार ड ढ क्ष त्र ज्ञ जस्ता वर्णहरू नेपालमा वर्णका रूपमा प्रयोग हुँदैनन् तर यी वर्णहरू भारतका वर्णमालाको पाठ्यपुस्तकहरूमा सुरक्षित छन् । नेपालीमा स्वर र व्यञ्जन गरी पचास वटा वर्णहरू आफ्नो आफ्नो स्थान मिलेर बसेका छन् । अब तिनलाई खलबल्याउनु हुँदैन, तिनलाई हटाउनु हुँदैन नत्र वर्णमालामा असन्तुलन हुन्छ । कतिपय शब्द र व्याकरणिक स्वरूपमालाई भारतको मौलिक मान्न सकिन्छ । उनले नेपाली भाषालाई कुमाउनी, गडवाली आदिसित सँगै राखेर तिनका विभिन्न परिप्रेक्ष्यमा तुलनात्मक अध्ययन गरी समकक्षमा राख्न खोजेका हुन् ।

८. मूल्याङ्कन र उपसंहार-

यसरी हेर्दा डा. गोकुल सिन्हा यता भारतका एक भाषा चिन्तक हुन् । उनले भाषाबारे विभिन्न कोण प्रतिकोणबाट अध्ययन प्रस्तुत गरेका छन् । उनी नेपाली भाषाको प्राकृतिक स्वरूपलाई पहिलाएर त्यसअनुसार नेपाली वर्ण र शब्दको व्याकरणिक प्रयोग गर्ने तर्क प्रस्तुत गरेका छन् । उनी एक कुशल समीक्षक, भाषा अध्येता र चिन्तक हुन् ।

भाषा चिन्तनका क्रममा उनले वर्णगत चिन्तन, सामान्य भाषिक चिन्तन, भाषिक तुलनात्मक चिन्तन, नेपाली व्याकरणिक कोटिको चिन्तन, नेपाली भाषा चिन्तनमा केही व्यक्तिको योगदान आदि जस्ता विषयमा चिन्तन गरेका छन् ।