(यसै वर्ष आगामी १६ सेप्टेम्बरको दिन दार्जिलिङमा नै ‘सप्तरङ्गी संस्था’-द्वारा आयोजन गरिने अरुणा जयन्ती कार्यक्रमको अवसरमा वरिष्ठ तथा सुविख्यात गायिका सुश्री दिलमाया खातीलाई अजम्बरी सम्मानले विभूषित गरिने भएको हुनाले यो लेख यहाँ प्रस्तुत छ ।)

बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा,

तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा

कालजयी गीतहरूका सूचीमा पर्ने अति नै उम्दा गीत हो यो । दिलमाया खाती र नारायण गोपालको स्वरमा रहेको यो गीतले झ्याली नै पिटेको हो एक समयमा । दार्जिलिङमा शहर, बजार, गाउँ, बस्ती चारैतिर बिहेबटुला र पूजाआजामा यही गीत बज्दथ्यो । कर्णप्रिय यो गीतमा नेपाली जनमानसले एउटा बेग्लै स्वाद पाएका थिए । गीतमा हाम्रो मौलिक लोक लय चट्ट पसेको छ, यही  नै यो गीतको विशेषता हो ।

अहिले आठ दशकको उमेर पार गरिसक्नु भएकी ‘नाइटिङ्गेल अफ हिमालय’-को रूपमा जानिने सुश्री दिलमाया खाती अहिले उमेरले पनि थकित र केही बिरामी अवस्थामा हुनुहुन्छ । नेपाली गीत-सङ्गीतको स्वर्ण काल मानिएको साठीको दशकको एक उज्ज्वल नक्षत्र हुनुहुन्छ उहाँ ।

दार्जिलिङको घूम पहाडमा विसं १९९६ को श्रावण २३ गते माता अतिरूपा खाती र पिता नन्दलाल खातीका तीन सन्तानमध्ये सबैभन्दा कान्छी दिलमाया खातीले पाँच वर्षको उमेरदेखि गाउन सुरु गर्नुभएकी हुन् । उहाँकै भनाइअनुसार गायन उहाँको अभिरुचि मात्र थियो । सानो छँदा रेडियोमा बजेका गीतहरू नै सुनेर गुनगुनाउने गर्नुहुन्थ्यो ।  सुरु-सुरुमा हिन्दी गीत नै गाउनुहुन्थ्यो ।

सुमधुर स्वर उहाँको ईश्वरीय वरदान नै थियो । १० वर्षको उमेरदेखि विस्तारै-विस्तारै आफ्नो परिवेश र छेउछाउमा भएका विभिन्न सांस्कृतिक कार्यक्रमतिर बोलावट हुँदा त्यस्ता कार्यक्रमतिर भाग लिएर गाउनुहुन्थ्यो । यसरी नै चर्चित बन्दै जानुभयो । सौखले मात्र गाउने तर रेकर्ड गर्ने र नाम कमाउँला भन्ने बिचार भने उहाँमा पटक्कै थिएन । उहाँ स्वयंको भनाइअनुसार, विसं २०१९ मा उहाँ नेपाल घुम्न जानुभयो । दार्जिलिङमा  मात्र होइन नेपालसम्मै उहाँको गायनको परिचय पुगिसकेको थियो ।

नेपाल कनेक्सन

उहाँ विसं २०१९ मा आफ्नो साथीको बहिनी कृष्ण कन्दङबाको आग्रहमा नेपाल जानुभयो  ।  कृष्णकी दाजु काजीमान कन्दङबा त्यस बेला नेपालमा मन्त्री हुनु हुन्थ्यो ।

उहाँ भन्नुहुन्छ- “म त घुम्न गएको, मलाई केही थाहा थिएन । त्यहीँ बसेर केही दिन घुमघाम गरेपछि एक दिन अचानक मन्त्री कन्दङबाको घरमा तीनजना मानिसहरू आ ए। उहाँहरू त मलाई नै भेट्न पो आउनु भएको रहेछ । मेरो गायनबारे उहाँहरूलाई बताइएको रहेछ । उहाँहरूले कुराकानीको बीचमा तपाईँले राम्रो गीत गाउनु हुन्छ रे, यसो सुनौँ न भन्नुभयो । मैले यसै अलि-अलि गाउँछु भनिदिएँ । नाइँनास्ति गर्न सकिनँ र एउटा हिन्दी गीत गाएर सुनाइदिएँ । त्यसपछि उहाँहरू जानुभयो । २४ घण्टा पनि नबित्दै फेरि उहाँहरू आएर मलाई रेडियो नेपाल लिएर जानु भयो । मलाई लिन आउनु हुने त रेडियो नेपालका नातिकाजी, शिव शंकर र तारादेवी पो हुनु हुँदो रहेछ ।  त्यसपछि म नेपालमा धेरै दिन बसेँ ।

त्यसपछि मलाई नेपालमा नै बस्न र रेडियो नेपालको लागि गीत गाउन भनी धेरै कर लगाइयो । रहँदा बस्दा त्यसै वर्ष (वि. सं २०१९ मा) रेडियो नेपालमा राष्ट्रिय सङ्गीत प्रतियोगिता हुने भयो । त्यस समय त्यस्तो प्रतियोगिता रेडियो नेपालमा नै हुन्थ्यो । शिव शंकर दाइले मलाई प्रतियोगितामा भाग लिन कर लगाउनु भयो । मैले त्यसमा भाग लिएँ । त्यसमा म प्रथम स्थानमा आएँ र स्वर्ण पदक प्राप्त गरेँ । त्यसपछि मलाई नेपालमा नै बस्ने आग्रह हुन थाल्यो । धेरै रचनाकारहरूबाट आ-आफ्नो गीत गाइदिने आग्रह पनि हुन थाल्यो । तर म भने घरै फिर्ने ढप्पिमा थिएँ । नेपालमा मैले शिव शंकरको सङ्गीतमा मेरो पहिलो नेपाली गीत ‘हिमालको काखमा छ सानो मेरो गाउँ’ गाएँ । (पछिबाट यो गीत रातादेवीको स्वरमा रेकर्ड भयो)।”

“हिमालको काखमा” बोलको गीतले दिदी दिलमाया खातीलाई धेरै नै ख्याति दियो । उहाँको परिचय अझ व्यापक बन्यो । रेडियो नेपालले त मरिहत्ते नै गरेको रहेछ, उहाँलाई उतै राख्न । तर उहाँ भने आमा बिरामी छ भन्ने बहना गरेर पनि घर फिर्नुभयो । कान्छी छोरी भएकीले होला उहाँलाई मातापिताले नेपालमा नै बस्न दिएनन् अनि उहाँ आफैलाई पनि किन हो घरकै मायाले तान्यो । नेपालमा रहँदा उहाँले पन्नाकाजीसित पनि एक युगल गीत गाउनु भयो, जसको बोल थियो- ‘मनमा तिम्रो प्रित होस्’ (माधव प्रसाद खनालको शब्द अनि शिव शंकरको सङ्गीतमा)।

हिमालय कला मन्दिर दार्जिलिङ

नेपालबाट फेरिपछि उहाँ आफ्नै शिक्षण पेसामा संलग्न रहिनुभयो । एक दिन अचानक हिमालय कला मन्दिरबाट दुई अग्रजहरू नवीन बरदेवा र मानबीर सिंह उहाँकै घऱमा आउनु भयो अनि उहाँलाई कला मन्दिरमा प्रवेश हुने आग्रह गर्नु भयो । त्यसपछि उहाँहरूको आग्रहमा कला मन्दिर जान थाल्नुभयो । त्यहाँ त्यस बेला कर्म योञ्जन र गोपाल योञ्जन पनि आउनु हुन्थ्यो । दुवै गाउनु बजाउनुमा निपुण बनिसकेका थिए । दुवै भाइसित अग्रज नवीन बर्देवाले चिनाजना गराउनु भएको थियो ।

अब कला मन्दिरको विभिन्न कार्यक्रममा गोपाल योञ्जन, कर्म योञ्जन र दिदी दिलमाया खाती पनि जान थाल्नुभयो । कला मन्दिरमा यसरी यी तीन प्रतिभाहरूका मेलजोलको परिणामस्वरूप अति राम्रा-राम्रा गीतहरू जन्मँदै गए । कर्म योञ्जन भायोलिन र गोपाल योञ्चन बाँसुरी बजाउँथे ।

दिलमाया खातीलाई एक दिन कर्म योञ्जनले आँटै गरेर ‘मेरो एउटा गीत गाइदिनु होस् न’ भनी आग्रह गरे । दिदीले गीत हेरेपछि अनि त्यसको लय सुनेपछि स्वीकृति दिनुभयो र त्यो गीत गाउनुभयो । गीतको बोल थियो- ‘जिउनु देऊ मलाई एकलै’ ।

उहाँ  भन्नुहुन्छ- “मैले यो गीत गाएँ अनि कर्मको लागि त झन् यो गीत टर्निङ पोइन्ट नै भयो । किनभने यही गीतदेखि उ भायोलनिष्ट मात्र नभएर सङ्गीतकार बन्यो । उनले सङ्गीत भरेको पहिलो गीत थियो यो । यस्तै प्रकारले गोपाल योञ्जनले पनि मलाई एक दिन ‘मेरो एउटा गीत गाइदिनुहोस् न’ भनी आग्रह गऱ्यो । त्यो गीत पनि राम्रो थियो र मैले गाएँ । गीतको बोल थियो- ‘गाउँकी छोरी बढ्यौ है तिमी लौ अब बुझ न’। त्यो गीतपछि गोपाल पनि बाँसुरी वादन छोडेर गीत रचना र कम्पोजिशनमा समर्पित भएर अघि बढन थाल्यो ।

त्यस समय केही पहिलेदेखि नै गो.दु.नी.स ले वार्षिक रूपमा विराट सङ्गीत प्रतियोगिता आयोजन गर्ने परम्परा थालिसकेको थियो । प्रत्येक उदीयमान कलाकारहरू प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागिरहेका थिए । यसै क्रममा कर्म गोपाल बन्धुले गीत रचना गरि दिदी दिलमाया खातीलाई प्रतियोगितामा उतारे । गोपाल योञ्जनको शब्द र कर्म योञ्जनको सङ्गीतमा रहेको गीत यस्तो थियो–

सावन फर्की फेरि झर्‌यो माया लगाई निष्ठुरी फर्केन

चुडाई लग्यो यो मन मेरो जोडी दिने त्यो पापी आएन

प्रतियोगिताम यो गीतले तीनै विधामा पुरस्कार प्राप्त गऱ्यो । गायनमा दिलमाया खातीले, सङ्गीतकारमा कर्मले अनि शब्दकारमा गोपाल योञ्जनले प्रथम पुरस्कार प्राप्त गरे । प्रतियोगितामा शरण, रन्जित, जितेन्द्र बर्देवा आदिले पनि प्रतिस्पर्धा गरेका थिए । निर्णायक मण्डलमा दहलसिंह गहतराज, हिरा सिंह, मानधोज गुरुङ, अम्बर गुरूङ्ग जस्ता धुरन्धर व्यक्तिहरू रहेका थिए। भनिन्छ, त्यसताका प्रतियोगितामा अरुणा लामा र दिलमाया खातीमा कडा प्रतिस्पर्धा हुन्थ्यो । कहिले दिलमाया खाती प्रथम हुन्थिन् भने कहिले अरुणा लामा । कहिले त निर्णायक गणलाई निर्णय गर्न पनि हम्मे-हम्मे पर्थ्यो । दुईमध्ये को प्रथम बन्ने हुन् भनी अनुमान लाउन दर्शकहरूलाई अप्ठ्यारो पर्थ्यो ।

नयाँ-नयाँ कलाकारहरूलाई उचित मञ्चको खाँचो पर्छ भन्ने कुरालाई ध्यानमा राखी गो. दु. नि. स कै तत्परतामा नेपाली सङ्गीत प्रतियोगिता समिति गठन  सन् १९५६ मा नै गरेर त्यसपछिदेखि प्रतिवर्ष यो प्रतियोगिता आयोजन हुँदै आएको तथ्य सबैलाई विदित नै छ । यो प्रतियोगिता नेपाली गीत-सङ्गीतको फाँटमा कलाकारहरूका लागि एक महत्त्वपूर्ण मञ्च साबित भएको छ । यही प्रतियोगिताबाट खारिएर आएका कलाकारहरू आज नेपाली गीत-सङ्गीतको क्षेत्रमा आफ्नो ख्याति आर्जन गरेर बसेका छन् । यही प्रतियोगिताबाट प्रेरणा, उत्साह र ऊर्जा पाएर उदय भएका कलाकारहरूका योगदानले नै नेपाली गीत-सङ्गीतको उद्यान आज सुन्दर-सुन्दर सिर्जनाका फूलै फूलले ढाकिएको छ । यसरी नै उदय भएर गायनको प्रगति पथमा लम्कँदै थोरै गीतहरूले नै चर्चित र लोकप्रिय बन्नुभएकी हुन्, नेपाली गीत-सङ्गीतका एक सबल धरोहर दिलमाया खाती।

‘सावन फर्की फेरि झर्‌यो’ बोलको गीतले सङ्गीत प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेपछि कतिपय कार्यक्रममा उहाँले यो गीत गाउनुभयो । यो गीतले उहाँलाई यति लोकप्रिय र चर्चित तुल्यायो कि त्यस बेला हिन्दी फिल्म जगतका सुप्रसिद्ध निर्देशन राजकपुर आफ्नो टोलीको साथ दार्जिलिङ आउनु भएको र कुनै एक होटलमा बस्नु भएको थियो । कला मन्दिरको तर्फबाट कलाकारहरू गएर त्यहाँ गीत-सङ्गीतको कार्यक्रम गर्दा दिदी दिलमाया खातीको गायकी सुनेर राजकपूर पनि अति प्रभावित बन्नु भएको र दिदीलाई बम्बे आउने आग्रह गर्नु भएको रहेछ भन्ने कुरा दिदी स्वयंको मुखारबिन्दबाट सुनियो ।

अघि प्रतियोगितामा गाएको गीत ‘सावन फर्की फेरि झर्‌यो’ कलकत्तामा एच.एम. भी. बाट रेकर्ड भयो छ वर्षपछि । यो गीतको साथै कर्म योञ्जन र दिलमाया खातीको स्वरमा रहेको ‘सम्झेर बुझेर दिइहाल यो जोबन’ बोलको गीत पनि रेकर्ड भयो । यी दुई गीतहरू रेकर्ड भएर बाहिर आउनासाथ दिलमाया खाती मात्र चर्चाको शिखरमा पुग्नु भएन तर कर्म योञ्जन पनि अचानक गायकको रूपमा चर्चामा आए ।

जसै मैले उहाँसित हिमालय कला मन्दिरको कुरा उठाएँ तब उहाँले आलोक घोषबाबुको मुग्ध कण्ठले प्रशंसा गर्नु भयो, जो एक अनेपाली सङ्गीत साधक भएर पनि कला मन्दिरमा सबै कलाकारहरूका गुरु र प्रेरणाको श्रोत हुनु हुन्थ्यो । त्यसपछि उहाँले गोपाल योञ्जनको क्षमताको मन खोलर प्रशंसा गर्नु भयो । उहाँको भनाइअनुसार, गोपाल योञ्जन त्यसै बेला अति राम्रो शब्दकार थिए । कुनै पनि गीत कम्पोज गर्दा अति राम्रो ट्यून हाल्थे । यति मात्र होइन बजाउनु र गाउनुमा पनि उत्तिकै प्रवीण थिए । ‘मायालु हजार हुन्छ’ र ‘तिम्रो जस्तो मुटु मेरो पनि’ बोलको गीतहरू लेखेपछि अनि त्यसमा धून भरेपछि दिलमाया दिदीलाई नै गाउन लाउनु भएको रहेछ, हिमालयन कला मन्दिरमा अनि विभिन्न कार्यक्रमहरूमा ।

गोपाल योञ्जनबारे एउटा प्रसङ्ग निकाल्दा उहाँले गोपालको गीत रचनाको आशु क्षमताको खुलेर प्रशंसा गर्नु भयो । उहाँले भन्नुभयो, “सङ्गीत, गीत र गायन सबैमा अब्बल गोपाल एक दिन कलेजबाट फर्किरहेको थियो, म चाहिँ स्कूलबाट पढाएर घर फर्किरहेकी थिएँ । बाटैमा भेट भयो । उ आफ्नो एक्स गर्लफ्रेण्डलाई भेटेर आएको रहेछ । भेट्ने बित्तिकै खरर गीत पो लेखेर सुनायो । गीतको बोल थियो- ‘तिमीलाई जानी जानी, फेरि भेटेको होइन’। यो गीतले निकै चर्चा कमायो ।”

भनिन्छ, गोपाल योञ्जन नेपालतर्फ पलायन हुनभन्दा पहिले उनले रचेका धेरैजसो गीत दिदी दिलमायाले नै गाउनु भएको थियो, जो पछिबाट नेपालमा अरू नै गायक/गायिकाहरूका स्वरमा रेकर्ड भएर निस्किए ।

उहाँले पन्ना काजीसित पनि गीत गाउनु भएको छ अनि तारा देवीसित पनि कतिपय गीत गाउनु भएको छ । तारादेवीसित गाउनु भएको एउटा गीत हो ‘रातमा निँद मलाई लाग्दैन’। आफ्नो समकालीनहरूमा को कोसित गाउनु भयो भन्दा उहाँ पुष्पलाल, पन्नाकाजी र तारा देवीको नाम लिनु हुन्छ ।

नारायण गोपालसित युगल स्वरमा दुई गीतहरू

उहाँ स्वयंको भनाइअनुसार, नारायण गोपालसित भेट भएको सन् १९७२ तिर हो । त्यस बेला चर्चाको शिखरमा पुगेका नारायण गोपालले दिलमाया खातीको स्वर र गायन क्वालिटीबारे बुझिसकेका थिए । त्यसबेला धेरै गायिकाहरू नारायण गोपालसित युगल स्वरमा गाउने इच्छा राख्दथे तर दिलमाया खाती भने त्यस्ता गायिका हुनुहुन्छ, जसलाई भेट्न र उहाँसित युगल गीत गाउन नारायण गोपाल स्वयं उत्सुक थिए । भनिन्छ, दिलमाया खाती भनेपछि नारायण गोपाल हुरुक्क नै हुन्थे । नारायण गोपालसँग दिलमाया खातीको भेट भने सन् १९७२ तिर भएको थियो, कला मन्दिरमै । घुमस्थित घरमा बसिरहेको बेला कसैले उहाँलाई कला मन्दिरबाट डाक्न पठाएछन्, नारायण गोपालहरू काठमाडौँबाट भेट्न आएका छन् भन्दै । तर उहाँ भने त्यस दिन होइन भोलीपल्ट मात्र जानु भएछ, कला मन्दिर ।

यस भेटबारे उहाँ भन्नु हुन्छ, “नारायण गोपालले सुरुमै दिदी या बहिनी केही नभनीकन ‘दोस्त’ साइनो लाउँदा निकै रमाइलो लागेको थियो । मलाई खुल्न सजिलो भो ।” भेटमा नारायण गोपालले आफू उहाँसित युगल स्वरमा गीत गाउन इच्छुक रहेको बताएछन् । उहाँले स्वीकृति दिनु भयो, परिणामस्वरूप केही दिनपछि दुवै कलकत्ता गएर दुईवटा गीत रेकर्ड गर्नुभयो । यी दुई गीतमध्ये एक थियो-

बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा

(स्वर : नारायणगोपाल र दिलमाया • सङ्गीत : नारायणगोपाल • शब्द : रत्नशमशेर थापा)

दुवैको स्वरमा रहेको र रेकर्ड भएको अर्को गीत थियो—

तिमी देख्दा रहर होला लागेर आउँछ

(स्वर : नारायणगोपाल र दिलमाया • सङ्गीत : गोपाल योञ्जन • शब्द : गोपाल योञ्जन)

यी दुवै गीतहरू आफ्नो-आफ्नो ठाउँमा एउटा नौलो प्रयोग समेटिएका गीतहरू थिए, जसलाई मानिसहरूले औधी नै रुचाए । ‘बिछोडको पीडा’ प्रायः सबै उमेर समूहका मानिसहरूले मन पराउने गीतको रूपमा कालजयी बनेर रहेको छ भने अर्को  ‘तिमी देख्दा रहर होला’ बोलको गीतमा प्रत्यक्ष शास्त्रीय सुगन्ध आउँछ, जुन एक छुट्टै नयाँ प्रयोग हो गीतकार तथा सङ्गीतकार गोपाल योञ्जनको । आजको दिन पनि यो गीत सुन्न थालेपछि उसै-उसै गीतभित्र डुब्न मन लाग्छ ।

दिलमाया खातीले वि. सं. २०१८ सालदेखि २०३० सालसम्म जम्मा १२ वर्ष मात्र गीत गाइन्। गीतहरू प्रचुर सङ्ख्यामा छैनन्, थोरै छन् तर प्रायः सबै गीतहरू मूल्यवान् छन्, अजर अमर छन्। केही गीत कृष्ण खातीसित पनि गाउनु भयो। पछिबाट कमल दर्नालको सङ्गीतमा पनि गाउनु भयो।

त्यसपछि निकै लामो समयसम्म ओझेलमा नै बसेपछि दिदी दिलमाया खाती विक्रम संवत २०५६ सालदेखि पुनः गीतियात्रामा सरिक हुनुभयो। सन् १९६२ पछि कमल दर्नालको सङ्गीतमा गाउन आएपछि लामो समय दार्जिलिङमै हराएकी उनलाई नरेन्द्रराज प्रसाईंले सन् २००१ मा काठमाडौं निम्त्याएर रत्नबहादुर खड्कीको सङ्गीतमा आफ्ना गीत गाउन लाएका थिए। त्यसपछि उहाँले बुलु मुकारुङ, आलोकश्री लगायतको सङ्गीतमा केही गीत गाइन् । यसरी गीतियात्रमा पुनः फिर्तीपछि ‘शिखा’ गीतिक्यासेट मार्फत उहाँ आफ्नो स्वर र भाकाले सङ्गीत प्रेमीहरूलाई फेरि तृप्त पार्न अघि बढ्नुभयो ।  पहिलेबाटै उहाँको फेन बनिसकेका लाखौँ नेपाली सङ्गीत प्रेमीहरूले फेरि उहाँको स्वर सम्मोहनको रसास्वादन गर्न पाए ।

यसरी गीत-सङ्गीत क्षेत्रमा दिलमाया खातीको पुनः आगमनले नेपाली साङ्गीतिक धरातलमा सबैमा फेरि खुसीको लहर देखियो। एउटा सिङ्गो इतिहास बोक्नुभएकी स्रष्टा फेरि गीतियात्रामा प्रवेश हुनु हुँदा सङ्गीतका मर्मज्ञहरूदेखि लिएर सङ्गीतका सामान्य रसिकसम्मलाई खुसी लाग्नु स्वाभाविकै थियो ।

नेपालबाटै औपचारिक रूपमा सूत्रपात भएको दिलमाया खातीको गायनकला पुनः जनमानसको मुटुलाई सम्मोहित पार्न नेपालमा नै आइपुग्यो । २५ वर्षसम्म गीतका शब्द र सङ्गीतलाई पोल्टामा राखेर ओझेलमा बस्नुभएकी दिलमायालाई एक्कै चोटि काठमाडौँको एउटा विशाल सांस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रसारणमा देख्दा सङ्गीत प्रेमीहरूमा खुसीको लहर छायो । त्यस बेला उहाँको स्वर सुनेर सम्पूर्ण श्रोता/दर्शकहरूले खुसीका आँसु पुछ्दै थपडी बजाएका थिए ।

नेपाल पुगेर गीत-सङ्गीतमा पुनः आगमनपछि उहाँले गाउनु भएकी गीतहरूमध्ये एक हो—

छल गयौ हेर्दा हेर्दै मलाई एक्लो पाऱ्यौ

रमाएर बाँच्दै थिएँ रुँदै हिँड्ने पाऱ्यौ ।

(स्वर : दिलमाया खाती • सङ्गीत : रत्नबहादुर खडगी • शब्द : नरेन्द्रराज प्रसाई)

दिदी दिलमायाको स्वरले नेपाली जनमानसले फेरि नयाँ स्वाद पाए ।  उहाँको स्वर सुनेर नेपाली गीतका पारखीहरू उहाँको गायनप्रति झनै आकर्षित भए । परिणामस्वरूप उहाँलाई आफ्नो-आफ्नो गीतलाई स्वरले सजाइदिने आग्रह गर्दै सम्पर्क गर्ने सङ्गीतकार र रचनाकारको ताँती लाग्न थाल्यो । तर उहाँ भने कुनै पनि गीतको शब्द र सङ्गीतलाई परख गरेर मात्र गाउँछु भनेर बचन दिने पहिलेदेखिको आदतमा कायम रहने एक अब्बल र कोकील कण्ठ सम्पन्न गायिका रहेको स्वयम बताउनु हुन्छ ।

त्यसैले उहाँको गीतहरूले फेरि एकपल्ट अघिकै जस्तो नेपाली डाँडापाखासम्म छाउन पुग्यो । पुनः सबैको चर्चाको विषय बन्नुभयो । नेपाली गीत-सङ्गीतको फाँटमा धेरै नै चर्चित गायक/गायिकहरूका सूची उति लामो छैन अनि यही थोरै उत्कृष्ट नामहरूको सूचीमा दिलमाया खाती पनि पर्नुहुन्छ । उहाँले प्राप्त गरेको त्यो चर्चाको मूल कारण उहाँले पच्चीसौँ वर्षसम्म लुकाएर राखेको मीठो, विलक्षण र अरूभन्दा भिन्न प्रकारको स्वरलाई नै मानिन्छ । वास्तवमा ‘नाइटिङ्गेल अफ हिमालय’ बाट सम्मानित दिलमाया खाती स्वयं नै २५ वर्षसम्म ओझेरमा रहनु भनेको नेपाली गीत-सङ्गीतको क्षेत्रलाई ठूलो क्षति थियो तर सङ्गीतका मर्मज्ञहरूले उहाँलाई फेरि सक्रिय हुन बाध्य पारे, जसको परिणामस्वरूप नेपाली जनमानसले फेरि राम्रा-राम्रा गीतहरूका रसास्वादन लिन सके । धेरैले उहाँलाई मेलोडीमानको संज्ञा पनि दिएका छन् ।

आठ दशक पार गरिसक्नु भएकी दिदी दिलमाया खाती अहिले उमेरले गर्दा गाउन असमर्थ हुनुहुन्छ । नेपाली गीत-सङ्गीतको क्षेत्रमा उहाँबाट पुग्न गएको योगदान सधैँ स्वर्ण अक्षरले लेखिने छ ।

प्राप्त पुरस्कारहरू र सम्मानहरूमध्ये मुख्य हुन्-

देवकोटा सम्मान, शिखा सुर सम्मान, लहनी नेपाल सम्मान, गुञ्जन सम्मान र भुपाल सङ्गीत पुरस्कार, नारायणगोपाल सङ्गीत कोषद्वारा नारायण गोपाल स्मृति सम्मान र सन् २०१९ मा गो.दु.नि.स. दार्जिलिङ्द्वारा विशिष्ट सङ्गीत सम्मान ।  यस अतिरिक्त अब आउँदो १६ सेप्टेम्बर २०२३ को दिन दार्जिलिङ्मा नै ‘सप्तरङ्गी’-द्वारा आयोजन गरिने अरुणा जयन्ती कार्यक्रमको अवसरमा एक विशेष कार्यक्रममा उहाँलाई अजम्बरी सम्मानले सम्मानित गरिने भएको छ ।

 

(सुप्रसिद्ध गायिका दिदी दिलमाया खातीबारे विविध तथ्यपरक जानकारी र उहाँसितै भेटवार्ता गरी उहाँसमक्ष राखिएका जिज्ञासाहरूका आधारमा यो लेख तयार पारिएको छ। यद्यपि अन्य सूत्रहरूको सहयोग पनि लिइएको छ।)