
म एक जना प्राध्यापकको गतिविधि नियालिरहेछु । दुई तीन दिन यतादेखि उनी बडो एकाग्र मनले एउटा किताबका पृष्ठहरूमाथि आँखा दौडाइरहेका छन् । मानिलिऊँ, उनी कुनै ध्यान शिविरमा छन् । उनको यस्तो आकर्षक एकाग्रतालाई छिसिक्क पनि व्यवधान गर्न मन लाग्दैन । उनले त्यस किताबका सम्पूर्ण पृष्ठ नछिचोलुन्जेल म उनको छेउ पर्दिनँ । थोरै फुर्सद निकाल्दै पढ्दै गर्दा तीन दिनभित्रमा सम्पूर्ण किताब छिचोलिसकेको थाहा पाएपछि मात्र म उनको छेउमा पर्छु,“सर सञ्चै हुनुहुन्छ ?”
“सर यो मान्छे चिन्नुहुन्छ ?” सञ्चो बिसन्चोको खबर सोधेको उल्टै मतिर जिज्ञासा तेर्स्याउँछन्, उनी ।
ती प्राध्यापक दुई तीन दिनदेखि उनले पढिरहेको किताबको आवरणमा लेखिएको लेखकको नाम देखाउँदै उल्टै मलाई सोध्छन् । म पनि के कम ? उनको सोधाइको वाक्यले प्रश्नवाचक चिन्ह छुन नपाउँदै फ्याट्ट भनिहाल्छु, “अरे किन नचिन्नु सर, यो किताब मेरै सहजीकरणमा हाम्रो कलेजले खरिद गरेको हो ।”
ती प्राध्यापक एकछिन्न ट्वाल्ल परेर मलाई हेर्छन्, अनि लामो श्वास तान्दै छाड्दै भन्छन्, “यो किताब पढेर मेरो दिमाग हल्लनुसम्म हल्लियो सर !”
= = =

कुमारी लामा
प्राध्यापक टिकाराम जिरेलसँग भएको संवादको सङ्क्षेपीकरण हो, माथिका अनुच्छेदहरू । हामी कुनै बेला एउटै कलेज पढाउँथ्यौँ । कक्षा नभएको बेला वा समय जुरेको अवस्थामा म जिरेल सर र डा. गणेशप्रसाद घिमिरेको छेउछाउ परिरहन्थेँ । चन्दनको जङ्गलमा घुमेर फर्कँदा जसरी आफ्नो शरीर सुगन्धित हुन्छ, त्यस्तै सुगन्ध प्राप्तिको आशामा म जिरेल सर र गणेश सरको नजिक पर्न औधी इच्छा गर्थेँ । ज्ञानका अनेकौँ शाखाहरूलाई निफन्दै यी दुई व्यक्तित्वबाट व्यक्त हुने वाणीहरूबाट तृप्त हुन जहिल्यै पनि लालायित हुने गर्थेँ म । दुवै परे, नेपाली साहित्यका गुरु । मैले पढाउने त आमसञ्चार तथा पत्रकारिता थियो । तर यी दुई प्राध्यापकबाट छुट्ने साहित्य र दर्शनको धारा प्रवाहमा आफूलाई बगाउन मौका पर्नासाथ उनीहरूसम्मुख छुनुमुनु गर्दै पुग्ने बालकजस्तै थिएँ म ।
ज्ञान बाँड्ने मानिस पहिले त आफै ज्ञानको भोको हुनुपर्छ । यहीँ भोक मेटाउन अन्तर मनमा उत्पात मच्चाएर एउटा किताबमाथि ध्यानमग्न भइरहेको अवस्थामा मैले देखिरहेको थिएँ, जिरेल सरलाई । उनले पढिरहेको त्यो किताब थियो, “उज्यालो अन्धकार”; निबन्धकार कुमारी लामाको सिर्जना ।
= = =
साहित्यमा निबन्ध यस्तो विधा हो, जो कमैले लेख्छन् । लेखनमा नियम र नापोको कुनै बन्धन नभएको, अर्थात् निर्बन्ध लेखन भएकोले यसलाई सजिलोका लागि नेपाली जिब्रोमा निबन्ध शब्द घुसाइएको हो ।
अनुभूतिको उथलपुथलले मात्र निबन्धलाई गहकिलो बनाउँदैन, विचारको गहिराइले मात्रै निबन्धको धरातललाई सग्लो आकार प्रदान गर्न सक्दैन । अनुभूति र विचारलाई कलाको लयले सिँगार्न सकियो भने मात्र निबन्धले उचित आयतन प्राप्त गर्न सक्छ ।
त्यसैले अनुभूति, विचार र कलाको सन्तुलित प्रवाह हो, निबन्ध । यस किसिमको सिर्जना गर्न जो कोहीले सक्ने कुरा पनि भएन । त्यसैले निबन्ध लेख्न आँट जो कसैले गर्न सक्दैन । शब्दलाई उपरीमाथि थुपरी गरेर निबन्ध सिर्जना हुने भए त निबन्धकारको जनसङ्ख्या पनि कति हुने थियो कति, नेपाली साहित्यको सस्तो बजार रुञ्चे गजल लेख्नेहरूको बिगबिगी भएजस्तै !
निबन्ध बौद्धिक लेखन हो । निबन्ध लेख्न बुद्ध बन्न सक्नै पर्छ, यसमा कुनै कम्प्रोमाइज हुन सक्दैन । तर सबै बौद्धिक प्रस्तुतिहरू सर्वसाधारणले बुझ्न नसक्ने पनि हुनसक्छ । एरिस्टोटल भन्छन्,“सोच्दा एउटा बौद्धिकले जस्तो सोच, बोल्दा सर्वसाधारण बोलेजस्तो गरेर बोल ।”
यस अर्थमा बौद्धिक बनेर सोच्दै सङ्ग्रह गरिएका चिन्तनहरू प्रस्तुतिमा सरल र सरस पनि हुनै पर्यो । त्यहीँ भएर निबन्ध लेखन एक कठिनतम सिर्जना हो । लेख्नुअघि प्रशस्तै अनुसन्धान गर्नुपर्ने हुँदा असाधारण साधनाबाट मात्र निबन्ध सिर्जना हुनसक्छ । निबन्धको काम कलात्मक शैलीमा ज्ञान प्रवाह गर्नु हो । अङ्ग्रेजी निबन्धका पिता फ्रान्सिस बेकन भन्छन्, “नलेज इज पावर ।”
ज्ञानको प्रवाह गरेर शक्ति सिर्जना गर्ने कर्म त्यति सजिलो कहाँ छ र ?
यस्तै विधा रोजेर कुमारी लामाले लेखन यात्रामा एउटा असजिलो बाटो रोजेकी छन् । सिर्जनाको गन्तव्य पहिल्याउन कुमारीले यस्तो असजिलो बाटो यात्रा तय गरेको पनि दुई दशक हुन लाग्यो ।
यस्तो असजिलो बाटोको यात्रा रोज्ने कुमारीको “उज्यालो अन्धकार” आद्योपान्त छिचोलिसकेपछि जिरेल सरबाट ममार्फत् पाठक प्रतिक्रिया पोखियो, “यो किताब पढेर मेरो दिमाग हल्लनुसम्म हल्लियो सर !”
वास्तवमा यो पाठक प्रतिक्रिया चानचुने मूल्यको होइन ।
यस्तै मस्तिष्कको तन्तु हल्लाइदिने निबन्धलाई मूल विधा बनाएर कुमारीले आफ्नो स्रष्टा व्यक्तित्वको उन्नत उचाइ निर्माण गरिरहेको बेला समालोचना विधालाई उस्तै गरी समानान्तर रूपले अङ्गालोमा कसेर द्रष्टा व्यक्तित्वको अर्को आरोहणले पनि यतिखेर उनलाई भ्याई नभ्याई बनाइरहेको छ । कतै न कतै पुगेर बोलिरहनु परेको छ, केही न केही लेखिरहनु परेको छ ।
“उज्यालो अन्धकार”माथि जिरेल सरबाट व्यक्त पाठक प्रतिक्रिया खामिएको पुलिन्दा निबन्धकारसमक्ष हतारोका साथ पुर्याइदिने एउटा हुलाकीको काम सम्पन्न गर्न पाउँदा दुई वटा पक्षले मलाई आनन्दानुभूति दिलायो । मण्डला थिएटरमा यो किताबको घुम्टो खोल्दा दर्शक दीर्घाबाट ताली पिट्ने दाहिने किनारको साक्षी हुनुको ममा एउटा आनन्द छँदै थियो । उसै गरी निबन्धकार स्वयम् आफ्नो कृति लिएर आफूले त्यस बेला पढाइरहेको कलेजको आँगनमा आइपुग्दा स्वागत गर्ने अवसर प्राप्त भएको अर्को आनन्द पनि छँदै थियो । त्यसमाथि नेपाली साहित्यका एक जना गुरुको त्यहीँ किताब पढेर मस्तिष्कको तन्तु हल्लिएको प्रत्यक्ष देख्न पाउनुले बोनस आनन्द थपिएको थियो ।
सानातिना भए पनि सङ्ग्रहणीय हुन्छन्, यस्ता खुसीहरू । मनलाई यस्तै खुसीहरूको सङ्ग्रहालय बनाउन पाए आफ्नो जुनीलाई गौतम बुद्धका चार आर्य सत्य र अष्टाङ्गिक मार्गले सम्यक् बनाउन सकिन्छ । जोन लेनन गाउँछन्,
जब म स्कुल गएँ, मलाई सोधियो
तिमी के हुन चाहन्छौ जिन्दगीमा ?
मैले भनेँ, “खुसी”
उनीहरूले भने- मैले प्रश्न बुझिनँ रे !
मैले भने- तिमीहरूले जिन्दगी नै बुझेनौ ।
मैले पनि आफूले पढाउने कलेज परिसरबाट जिरेल सरको पाठक प्रतिक्रिया खामिएको पुलिन्दा निबन्धकारसमक्ष पुर्याउने अवसरको खुसी बटुलेँ । यसमा म विलम्ब नै किन गर्थेँ ?
म त परेँ, महत्त्वाकाङ्क्षा नभएको एउटा भुइँमान्छे ! चाणक्यको एउटा भनाइ सधैँ मनमा राखेर हिँड्छु । उनी भन्छन्, “चाहिँदोभन्दा बढी खाए सबै चिज विष हो, मानिसभित्रको महत्त्वाकाङ्क्षा पनि ठुलो विष हो ।”
= = =
“उज्यालो अन्धकार”बाट यस्ता खुसीका टुक्राटाक्री सङ्ग्रह गर्ने अरू अवसरहरू पनि प्राप्त भएका छन् मलाई ।
शङ्करमान शाक्य, धरान निवासी एक सज्जन । मेरा एक जना पुरानो साथी, जोसँग भेट नभएको पनि २५ वर्ष भइसकेछ ।
हामी दुईबिच लामो समयको अन्तरालमा प्रत्यक्ष भेट भयो; त्यो पनि स्वदेशमा होइन पृथ्वीको अर्कै गोलार्द्धमा ।
शङ्करजीबाट एक दिन एउटा जिज्ञासाको मायालु झटारो मतिर हुत्तिएर आउँछ । त्यो झटारोले उल्टै मेरो मस्तिष्कको तन्तु हल्लिन्छ ।
एउटा पाठ्यक्रम बनेको रहेछ, नेपाली भाषाको । त्यहाँ कुमारीकै निबन्ध “उज्यालो अन्धकार”बाट पाँच अनुच्छेदका ३३ हरफ निकालेर अभ्यासका लागि विद्यार्थीलाई काम दिइएको छ,“प्रस्तुत उद्धरणको अर्थ निर्माणमा समाख्याताको वाच्य र दृष्टिकोणलाई कसरी प्रयोग गरिएको छ ? छलफल गर्नुहोस् ।”
शङ्करजीलाई अरू कोहीबाट “समाख्याता”को अर्थ सोधिमागिएछ । शङ्करजीबाट त्यो जिज्ञासाको झटारो मतिर सोझिन्छ । म आफ्नो बुताले भ्याएसम्मको अर्थ लगाइदिने कोसिस त गर्छु । तर आफैलाई चित्त नबुझेपछि निबन्धकार स्वयम्सँग अर्थ लगाइमाग्छु । निबन्धकारबाटै समस्याको सरल सहजीकरण हुन पुग्छ ।
अब फेरि निबन्धकारबाट अर्को जिम्मेवारी आइपर्छ मेरो काँधमा । कहाँबाट र कसरी यस्तो प्रश्न र जिज्ञासाहरू आइपुगे ? शङ्करजीबाट थाहा हुन्छ, डेनमार्कमा नेपालीहरूलाई नेपाली भाषा पढ्ने र पढाउने क्रममा निर्माण भएको पाठ्यक्रममा कुमारीको निबन्ध “उज्यालो अन्धकार” पनि परेको रहेछ । पढ्ने र पढाउनेमा अलिकति अलमल भएकोले पहिले शङ्करजी, त्यसपछि म अनि ममार्फत् स्वयम् निबन्धकारतिर जिज्ञासा सोझियो ।
यसरी कुमारी लामाको निबन्धले हाम्रो मस्तिष्क हल्लायो । मस्तिष्कको ज्वारभाटालाई शान्त पार्न हामी छलफलमा जुट्यौँ । समाधान निस्किए । मिचेल फुकोले भनेकै छन्, “डिस्कोर्स क्रियट नलेज एण्ड नलेज इज पावर ।”
= = =
माथि पनि भनियो, कुमारीको कलमबाट निबन्ध र समालोचनाको धारा समानान्तर रूपमा प्रवाहित छ ।
उनको अन्तरवार्ता पढ्दा स्कुले जीवनसम्ममा उनले पाठ्यक्रममा तोकिएकाबाहेक किताबको अर्को संसारमा चियाउन पाइनन् । स्कुले जीवनको समाप्तिसँगै उनले किताबका अरू संसार चियाउने प्रयत्न गर्दा उनको पहिलो दृष्टि आख्यानतिर परेको देखिन्छ । पारिजातको “शिरीषको फूल” तथा बिपी कोइरालाका कथाहरूले उनको किशोर हृदयलाई राम्रैसँग स्पर्श गर्छ (“द काठमाडौँ पोस्ट”, मे १३, २०२३) ।
किशोरावस्थामा कुमारीको आँखाले जुन किताब पहिले रोज्यो, संयोगवश ती किताबका दुवै लेखक नेपालमा नभई भारतमा जन्मेका परेछन् । तीमध्ये सङ्खुवासभा पुर्ख्यौली थलो भए पनि पारिजात दार्जिलिङमा जन्मिइन् भने सिन्धुलीको दुम्जा पुर्ख्यौली थलो भएका बिपी बनारसमा जन्मे ।
बिपी नेपालमै जन्मेको भए फरक पर्थ्यो कि पर्दैनथ्यो, यकिन गरेर यसै भन्न सकिन्न । तर न्वारानमा नाम छेकुडोल्मा राखिएकी विष्णुकुमारी वाइबा नेपालमै जन्मेकी भए सायद पारिजात हुने थिइनन् । दार्जिलिङको जन्म, शिक्षा र चेतनाले विष्णुकुमारी वाइबालाई पारिजात बनायो । पारिजातको मस्तिष्कमा प्रारम्भकालीन विद्याको बिउ नेपालमा रोपिएको होइन । त्यहीँ विद्याको बिउ रोपिँदा नेपाली साहित्यले पारिजात नामको गौरव पायो ।
पारिजातको जन्म नेपालमा भएको भए, उनी त सायद दरबारको सुसारे हुने थिइन्, या गुमनाम एक जना मैच्याङ । धन्य हो, दार्जिलिङको माटो, शिक्षा र चेतना !
कुमारी लामाको जन्म पनि राणा शासनकै बेला भएको भए वा यतिखेर नेपालमा राणा शासन नै भइरहेको भए उनी पनि दरबारको सुसारे हुन लायक हुने थिइन् । तर उनको जन्म फरक समयमा भयो र आज नेपाली साहित्यले मस्तिष्कको तन्तु हल्लाउने निबन्धकार र सीमान्तकृत समुदायको आवाज बोल्ने समालोचक पाएको छ ।
= = =
एक फेरो इतिहास कोट्याऊँ, कुमारीका पुर्खाको चर्चा गर्न ।
यो लेखक इतिहास अध्ययनमा सामान्य चासो राख्छ । यो लेखकको लाटो बुझाइमा नेपालका तामाङहरू थिचिँदै, मिचिँदै, लखेटिँदै यसरी सीमान्तमा पुर्याइएकी उनीहरू भर्खरै जसो बौरिन खोजिरहेका छन् । शासकको सबैभन्दा ठुलो दलनमलन र पेलाइनमा यी आदिवासीहरू परेका छन् ।
इतिहासको तथ्यले भन्छ, “गोरखालीसँग तामाङहरूको कहिल्यै मेलजोल भएन ।”
गोरखाली राजा राजा नरभूपाल शाहले नुवाकोट हान्न जयन्त राना र महेश्वर पन्थलाई खटाउँदा सामरीका गोले राजाले उनीहरूको लस्करलाई नै खलबल पारिदिए । जयप्रकाश मल्लले पृथ्वीनारायण शाहलाई तह लगाउन युवराज प्रतापसिंह शाहलाई शिवपुरीमा सिकार गएको बेला अपहरण गर्ने योजना बनाउँदा जयप्रकाश मल्ललाई साथ दिन बाह्र सय तामाङ तयार थिए भन्ने इतिहास वंशावलीमा पढ्न पाइन्छ । कान्तिपुर अधीनस्थ नालदुम जित्न किल्ला बाँधेर बसेका गोरखाली सेनालाई हर्काउन तामाङहरूले ठुलै होहल्ला मच्चाइदिएका मात्र होइन किल्लामा रसद पानी छिर्न नदिएर गोर्खालीहरूलाई भोकै तिर्खै पारी ठुलै हैरानीमा पारिदिएका थिए । मकवानपुरका राजा दिग्बन्धन सेनसँग निकट तिमालका स्थानीय तामाङ शासक रिन्छेन दोर्जेलाई त मितेरी लगाउने बहानामा झुक्क्याएर मारिएको अनुश्रुतिगत इतिहास तिमालका बासिन्दामा मुखाग्र छ ।
कीर्तिपुर हात पारेपछि पृथ्वीनारायण शाहले सोझा तामाङहरूलाई सुरुमा कीर्तिपुरेको नाक काट्न प्रयोग गरेका थिए । उनीहरूले कीर्तिपुरेको नाकसँगै ओठ पनि काटिदिए भनेर गोर्खालीहरूले कीर्तिपुर पुर्याइएका तामाङहरूकै ज्यानहरण गरेको वंशावलीको टिपोट पाइएको छ ।
हुँदा हुँदा वि.सं. १८५० को साउनमा नुवाकोट, रसुवा र काभ्रेका एक हजार तामाङलाई काटेर मारियो, यो इतिहास बिर्सी नसक्नुको छँदै छ । २०१६ सालमा धादिङकी कुमारीकै हजुरबा पुस्ताले शोषक र सीमान्तकाबिरुद्ध खनियाबास विद्रोह मच्चाएको देखी जान्ने र सुनी जान्नेहरू अहिले पनि जीवित छन् । त्यहीँ विद्रोहले दमन पाख्रिनको उदय गरायो ।
यस्ता विद्रोहीको वंशमा एक छोरीको रूपमा जन्मेकी कुमारीले आफ्ना माइती खलकलाई पिपा गोश्वारामा भर्ती गराएर राज्यले भरिया बनाएको आफ्नै आँखाले देखेकै हुन् । आफ्नै सोझासिधा दिदी बहिनीहरूलाई फसाएर नाका कटाउने दुष्ट आत्माहरूको कुमारीले पहिचान नगर्ने कुरै भएन ।
यस्तो अवस्थाबाट गुज्रँदै आएको नेपाली समाजमा कुमारीको कलमले खुलेआम “सीमान्तकृत समुदायको आवाज बोल्छु” भनेर स्वघोषणा गर्नु अस्वाभाविक नै कहाँ भयो र ?”
कुमारीमाथि केही लेखिरहँदा मेरो अघिल्तिर आफ्नै किताब छ, “आदिवासी विद्रोहको इतिहास”; जसको ब्याक कभरमा लेखकप्रति विश्लेषक राजेन्द्र महर्जनको कलमबाट पोखिएको शुभेच्छाका हरफहरू छन् । लेखिएको छ,“नाइजेरियाका साहित्यकार चिनुआ अचेबे पुराना उखान सम्झँदै भन्ने गर्थे- जबसम्म सिंहहरूको आफ्नै इतिहासकार हुँदैनन्, तबसम्म सिकारको इतिहासले सिकारीहरूको सौर्यगाथा गाइनै रहनेछ ।”
हिजो सिकारीहरूको सिकार बन्न बाध्य सिंहहरूले आफ्नै लेखक तथा समालोचकहरू खोजेको धेरै भएको थियो । पुरै सीमान्तकृत समुदायबाट सीमान्तकृतहरूको आवाज बोल्छु भनेर समालोचनाको क्षेत्रमा हात हाल्ने समालोचक एउटै हातको औँलामा गन्दा त गणना नपुग्न खोज्छ भने सीमान्तकृतहरूकै आधा आकाशको भागबण्डामा त कुमारी एक्लै भिडिरहेको देखिन्छ । यस अर्थमा बल्ल सिंहहरूले आफ्नै समालोचक पाएको छ, सिकारीहरूको मात्रै सौर्यगाथा गाउने परम्परामा अब क्रमभङ्गताका लागि कुमारीको लेखकीय र समालोचकीय उपस्थितिले एउटा सिंहनाद सिर्जना भएको छ । यसको तरङ्गले समालोचनामा स्टेरियोटाइपका पर्खालहरू चर्कन सुरु हुने दिनको प्रतीक्षा अब त्यति लामो हुने देखिँदैन ।
उसै त व्यङ्ग्य, नाटक र समालोचनामा आधा आकाशको उपस्थिति बिरलाकोटी छ भने सीमान्तकृत समुदायको आधा आकाशमध्येमा कुमारी लामा एक्लै भएको प्रसङ्ग माथि परिसकेको छ ।
सबै खाले विभेदविरुद्ध कुमारीको कलम प्रखर र प्रवीण छ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट छापिएको उनको दोस्रो कृति “समकालीन नेपाली कथामा तेस्रो लिङ्गी चेतना” यसैको प्रमाण हो । नेपाली समाजको संस्थापन पक्ष तेस्रो लिङ्गीहरूलाई “अप्राकृतिक मानव” ठान्छन् । उनीहरू आफ्नो पहिचानको मुद्दालाई लिएर मोर्चा नै कसेर आन्दोलनमा उभिएको बेला कुमारीले समालोचकीय मूल्यद्वारा उनीहरूको पहिचानलाई सम्बोधन गरेकी छन् । सीमान्तकृत समुदायको कलमी वकालतमा प्रमाण प्रमेय उनको उनको इस्पातिलो उपस्थिति गौरवपूर्ण लाग्छ ।
लैङ्गिक सवालमा महत्त्वपूर्ण इतिहास निर्माण गरिसकेको “अस्मिता” म्यागजिनमा आफ्ना अग्रज पुस्ताका डा. गिता त्रिपाठी र अनुज पुस्ताका लक्ष्मी रुम्वाका साथमा सम्पादनको मोर्चा कसिलो बनाएर कुमारीले सिर्जनाको आफ्नो अर्को आयाममा पत्रकारिताको यात्रा पनि भर्खरै सुरु गरेकी छन् ।
= = =
सीमान्तकृतहरूलाई सीमान्तमा पुर्याउने कार्यभारको भारी त राज्यले नै उठाएको हो । उनीहरूलाई राज्यले अनेकौँ प्रकारका भुमरीहरूमा फनफनाउँदै यस्तो ठाउँमा पुर्याएर छाड्यो कि उनीहरू करिब करिब आफ्नै घरमा बास माग्नु पर्ने अवस्थामा पुगेका छन् ।
यहाँनेर एकजना पहिचानवादी नेता कुमार लिङ्देनको भनाइले साह्रै मर्मस्पर्श हुन्छ । उनी भन्छन्,“म आफ्नो समयको राम्रो विद्यार्थी, वनस्पति शास्त्रमा एमएसी गरेको मान्छे । म यतिखेर अनुसन्धानमा व्यस्तै हुनु पर्ने हो । मेरा सहपाठीहरू अधिकांश विदेशमा वैज्ञानिक अनुसन्धानमा व्यस्त छन् । आज म चाहिँ म यस्तो हुँ, मेरो जाति, धर्म, भाषा, इतिहास र संस्कृति यस्तो हो, मलाई चिन भन्दै राज्यसँग पहिचान माग्दै हिँड्नु परिरहेको अवस्था छ ।”
नयाँ नयाँ आविष्कार गरेर देशलाई उन्नत बनाउँदै लैजानुपर्नेमा आज सीमान्तकृतहरूलाई पहिचान माग्नुपर्ने अवस्थामा स्वयम् राज्यले पुर्यायो । यस्तो राज्यमा विष्णुकुमारी वाइवाको जन्म भएको भए के उनी आफ्नो विशिष्ट आविष्कारले पारिजात हुन सम्भव थियो होला ? कुमारी लामालाई पाउन पनि घडीको सुईले पनि एउटा सिङ्गै युगको फन्को मार्नु पर्यो ।
राज्यको नीतिबाट विभेदै विभेदको भुमरीमा फसेका छन्, आज सीमान्तकृत समुदाय । राज्यको एकनश्लीय मूल्य र मान्यता थोपरिदा सीमान्तकृतहरूका परम्परागत मूल्य र मान्यताहरू एकादेशको कथामा परिणत हुन पुगेको छ ।
यस्तो भुमरीमा फसेकाहरू माझीरूपी कुमारी लामाले तारिरहेको लेखकीय र समालोचकीय डुङ्गामा शयररत छन् यतिखेर । कुमारीको कलमको काँधमा समयले प्रदान गरेको साह्रै वजनदार कार्यभार आइपुगेको छ । त्यो हो, भुमरीबाट डुङ्गा उतार्नुपर्ने कार्यभार ।
सीमान्तकृतहरू आशावादी छन्, उनीसँग ।
तामाङ मातृभाषी मैच्याङ कुमारीको अर्को विशेषता हो, भाषिक प्रवीणता । उनको कलम नेपाली र अङ्ग्रेजी दुवै भाषामा उत्तिकै प्रखर बग्ने गर्छ । उनको अङ्ग्रेजी लेखनले यहाँका सीमान्तकृतहरूको सवाल अन्तर्राष्ट्रिय मस्तिष्कमा सम्प्रेषण गर्न सहज भइरहेको छ । अबको युद्ध विचारको युद्ध हुनेछ । वैचारिकीको नयाँ भाष्य निर्माणका लागि कुमारीजस्ता प्रखर र प्रवीणहरूको आवश्यकता वाञ्छनीय छ । यस्तो बेला सीमान्तकृतहरूकै आवाज बोल्दै समालोचनाको क्षेत्रमा प्रखर रूपमा देखा परेका गुरुङ सुशान्त, मुनाराज सेर्मा, राज माङ्लाकहरूसँग कुमारीले “इथ्नो क्रिटिसिज्म”को नयाँ अवधारणागत प्रस्तावना घोषणा गर्दा कसो होला ?
= = =
गएको नारी दिवसको छेकछन्दमा यो लेखकको आँखा फेसबुकको एउटा आकर्षण फोटोमाथि पर्यो । फोटोमा कुमारी थिइन् । कुमारीका साथमा थिए, वर्तमान पुस्ताका जल्दाबल्दा लेखक तथा कविहरू विना थिङ, रावत, राजु स्याङतान, लक्ष्मी रुम्वा र शान्ति तामाङ । उनीहरू हुल बाँधेर मेला भर्न गएका रहेछन्, नयाँ दिल्लीतिर । त्यो मेला तरुनी तन्नेरी भेट गर्ने र माया पिरती साट्ने खालको होइन, लेखक कविहरूसँग भेटघाट गर्ने किताब मेला थियो । फोटोमा देखिन्थ्यो, त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य पढाइरहेकी उपप्राध्यापक कुमारी चाहिँ पल्टनको कमाण्डरजस्तो !
डा. हर्क गुरुङ भन्थे, “नेपालमा जनजातिहरू नाच्न पनि नपाएका भए बहुलाउँथे ।”
हो, त्यहीँ बहुलाउनबाट बच्ने उपक्रममा सीमान्तकृतहरूले लैबरी रोजे । दिल्लीको मेला भर्न गएका कुमारी लामाको टोलीजस्तो अब लैबरीभन्दा लाइब्रेरीलाई महत्त्व दिने पुस्ताको पनि उदय भएको छ । हिजो “मुर्मी भोट्या” भन्दै उछितो काढिएका सीमान्तकृतहरूको पनि बौद्धिक आकाशको पूर्वी भागमा मिर्मिरे लालिमा पोतिन सुरु भइसकेको छ ।
लामो समयपछि हालै कुमारी लामासँग हतार हतारमा तीन मिनेट जति भिडियो वार्ता गर्ने अवसर प्राप्त भयो । उनी कलेज जाने तयारीमा जुटेकोले हातमा फोन समाएर बिस्तारै कुराकानी बढाउने अवस्थामा थिइनन् । एकातिर फोन सेट अड्याएर बोल्दै आफ्नो तयारी गर्दै गर्दा उनी भिडियो खोल्न बाध्य भएकी थिइन् । भिडियोमा देखेँ, उनको पृष्ठभूमिमा किताबै किताब । वैचारिक मोर्चामा संस्थापन पक्षसँग सीमान्तकृत समुदायको सवाललाई लिएर गरिने होस वा पितृ सत्ताको जग उखेल्न आधा आकाशको सवाललाई लिएर होस् उनको पृष्ठभूमिमा देखिइरहेको किताबहरूले भनिरहेका थिए, कुमारी लामा अब डम्फुको ताल मात्रै खोज्दिनन्, उनी जुनसुकै विद्वानसँग शास्त्रार्थ गर्न पनि तयार छिन् ।
आखिर सिसेरो भनेकै छन्, “किताब नभएको कोठा र आत्मा नभएको शरीरमा कुनै अन्तर हुँदैन ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

