
भनिन्छ भाग्य भन्दा कर्म ठुलो हुन्छ रे । कोही भन्छन् भाग्य भए त कर्म गर्नै परेन नि । तर कर्मले बनाएको भाग्य जीवनपर्यन्त खुसी र सुखी जीवन रहिरहन्छ । किनकि कर्म गरेर सफलता पाउन आफ्नो अथक मिहिनेत र परिश्रम लागेको हुन्छ । भाग्यले जुराएको खुसी क्षणिक र अपनत्व शून्य बराबरको हुन्छ । कर्मले प्राप्त गरेको माया, ममता र स्नेहले आफूलाई स्वर्गीय आनन्द प्राप्त हुने गर्दछ ।
आफ्नो कर्मको फलले प्राप्त गरेको उपलब्धिसहितकी आफली भाउजू अपार श्रद्धा र मायाको केन्द्रबिन्दुमा रहनु भएको छ ।
सृष्टिको अर्को नाम हो – नारी
माया ममता हो नारी । शक्ति प्रेरणा हो नारी । आमा हो नारी अनि करुणा हो नारी ।
माया ममताको अर्को नाम हो आफली भाउजू । प्रेरणा र करुणाको अर्को नाम हो आफली भाउजू ।
मैले आफली भाउजूलाई पहिलो पटक कहिलेदेखि देख्न थालेको हुँ तिथि मिति केही पनि याद छैन ! वर्षको गणना गर्दा म करिब दुई वर्षको थिएँ होला । त्यत्रो उमेरको बालकले के नै पो सम्झना राख्न सक्छ र । हाम्रो पुरानो घर आफली भाउजूको घरसँग जोडिएको । आफली भाउजूको माया, प्रेम र सहयोग हामीलाई सानै देखि प्राप्त भई रहेको । मेरो सम्झना शक्ति नहुँदाको बखतदेखि नै आफली भाउजू बिहा भएर मूल घरमा आउनु भएको । माइतीघर धनकुटा बजारबाट ।
खिलखिलाए उन्मुक्त हाँसो हाँस्नु नै आफली भाउजूको विशेषता हो । सहयोग गर्नु र सधैँ व्यस्त भएर रहनु नै भाउजूको चरित्र हो ।
तेह्रथुम म्याङ्लुङ बजारको आजको आधुनिक बजार बन्नमा हजुर बा लोकमान श्रेष्ठको अथक योगदान रहेको छ । स्कुल, खानेपानी, पाटी पौवा र आधारभूत आवश्यकीय बजार व्यवस्थापन गर्नको लागि समाजसेवी तथा व्यापार व्यवसायी हजुर बा लोकमान श्रेष्ठको अतुलनीय योगदान छ । जसको चर्चा र सम्झना आज पनि धेरैले गर्ने गर्छन् ।
हजुरबा लोकमान श्रेष्ठ र हजुरआमाको सात छोरा र एक छोरी । मेरो बुबा ठुला कान्छा । हजुर बा र हजुर आमा आफ्नो साहिँला छोरा तुलसी मान श्रेष्ठसँग बस्नु भो । त्यसैले त्यो घर हामी सबैको लागि मूल घर बन्न पुग्यो । हजुर बा लोकमान श्रेष्ठ र हजुर आमा अक्षय कुमारी श्रेष्ठको सात जना छोरा र एक जना छोरी भए । साहिँला छोरा तुलसीमान श्रेष्ठ हजुर बा र हजुर आमाको हेरचाह गर्नको लागि सँगै बस्न थाल्नु भो । साहिँला बुबा तुलसीमान श्रेष्ठको जेठा छोरा जयश्वर मान श्रेष्ठको श्रीमती हाम्री आफली भाउजू । आफली भाउजूलाई हामी ठुली भाउजू भनेर पनि बोलाउने गर्दछौँ । आफली भाउजूको खास नाम केदार कुमारी श्रेष्ठ । तर ठुली भाउजूलाई सबैले आफली भनेर बोलाउने गर्दथे । त्यसैले सबैको प्रिय नाम नै आफली हुन गयो ।
आफली नाम रहन गएकोमा पनि एउटा कथा छ । आफली भाउजूको दिदी जन्मँदै मृत्यु वरण गर्न पुग्न भएको रहेछ । अर्को सन्तानको पनि मृत्यु हुन सक्ने कसैले भनिदिएका रहेछन् । यसै कारणले बच्चा जन्मँदै घर बाहिर लगेर फालेपछि बाँच्ने सम्भावना हुन्छ भनेर सल्लाह पनि दिएका रहेछन् । सोही भयको निराकरणको लागि भाउजूको पनि जन्मँदै मृत्यु हुन्छ भन्ने आशङ्का र अन्धविश्वासको कारणले घर बाहिर लगेर फालिदिएछन् । लगत्तै भाउजूको साँहिली निनीले सल्लाहअनुसार नै पाँच रुपैयाँ ढ्याक तिरेर बच्चालाई अपनाएछन् । फालिसकेको बच्चा भएको कारणले सबैले “आफली” भनेर बोलाउन थालेछन् ।
‘आफल वा आफलाइ’को शब्दको अर्थ फालिनु, फ्याँकिनु, मिल्काइनु वा हुत्याइनु हुन्छ । जन्मँदै फेरि मृत्यु हुन्छ भन्ने भयले बाहिर फ्यालिनु परेको कारणले शब्दको अपभ्रंश भई “आफली” नाम रहेको हुन् सक्छ ।
“आफली”को अर्थ थाहा नभएर र कारण थाहा नपाएर यो सम्बोधन राम्रो या नराम्रो हाम्रो परिवारमा धेरैलाई थाहा नहुन सक्छ । सबैको प्रिय र लोकप्रिय सम्बोधन त ठुली भाउजू नै हो । असली नाम केदार कुमारी र आफली जे सुकै भए तापनि हामी सबैको मन पर्ने सम्बोधन भाउजू नै हो ।
विसं १९९९ सालमा बुबा कृष्ण बहादुर श्रेष्ठ र आमा टिका लक्ष्मी श्रेष्ठ को दोस्रो सन्तानको रूपमा धनकुटा बजारमा जन्म भएको हो ।
विसं २०१४ सालमा आफली भाउजूको १५ वर्षको किशोर बयमै जयश्वर मान श्रेष्ठ दाइसँग धूमधाम बिहा भएको हो
हजुरबा व्यापारी अनि समाजसेवी । हजुरबाका सातजना छोराको सबै परिवार त्यही मूल घर कै वरिपरि । ठुलो परिवार । सात सालको क्रान्तिले म्याङ्लुङ बजारमा पनि केही अशान्ति छाएको थियो । सोही समयमा बजारका धेरै साहु महाजन धरान विराटनगर बसाइँ सरे । ठुलो बुबा इन्द्रमान श्रेष्ठको परिवार धरानको पुरानो बजारमा बस्न थाल्नु भो । फुपू घिउ कुमारी जोशीको परिवार विराटनगर बस्न थाल्नु भयो ।
लोकमान श्रेष्ठ र अक्षय कुमारी श्रेष्ठको बाँकी सबै परिवार म्याङ्लुङ बजारको तल्लो टोलमा मूल घर वरिपरि नै बस्न थाले । हाम्रो घर मूल घर सँगै जोडिएको थियो ।
पछिल्लो चरणमा सजिलोको लागि लोकमान श्रेष्ठ र अक्षय कुमारी श्रेष्ठको नामलाई छोटकरीमा “अक्षय लोक परिवार” भनेर बुझ्ने गरिन्छ ।
हरेक दिन साँझ पख हजुरबा हजुरआमाको कोठामा सबै परिवारको जमघट हुने गर्दथ्यो । आआफ्नो व्यापार व्यवसाय देखि पारिवारिक अन्य कुराहरूमा छलफल र विचार विमर्श गर्ने एउटा चलन या परम्परा नै थियो । म हरेक पटक यस्तो बैठकमा बुबाले लिएर जानु भएको सम्झन्छु । कुरो नबुझ्दा सम्म बुबासँगै बसे हुँला । तर अलिकति बुझ्ने र ठुलो भए पछि चैँ आफ्नै उमेरका दाइ-भाइसँग घर कै वरिपरि खेल्न थालेको सम्झन्छु । साहिँला बुबाको जेठा छोरा जयश्वर दाइको र आफली भाउजूको मात्र बिहा भएको थियो त्यो बेला । घरभित्र बाहिरको रेख देख सम्पूर्ण हर्ताकर्ता नै मूल घरको एक मात्र ठुली भाउजू ।
मूल घरमा हुने सबै परिवारको जमघटदेखि परिवारको कुनै पनि सदस्यको घरमा हुने सामाजिक, धार्मिक, बिहे अन्य कतिपय परम्पराको व्यवस्थापनको जिम्मा मुख्यतः एक्लो आफली भाउजूले सम्हाल्नु भएको मलाई अझ याद छ । सासूहरूको सहयोग त थियो नै होला तर एक्लो बुहारीले बेहोर्नु पर्ने बुहार्तन अक्षय लोक परिवारको एक्लो बुहारीले धेरै वर्षसम्म खेपेको मैले देखेको छु ।
विसं २०११ सालमा हजुरबा लोकमान श्रेष्ठको निधन भयो । हजुरआमा अक्षय कुमारी श्रेष्ठको निधन २०२६ सालमा भयो ।
बुबाहरूको छ जनाको परिवार सबै वरिपरि नै थिए । प्राय जसो कुनै दिन महिनामा कुनै एक परिवारमा कुनै न कुनै धार्मिक तथा सामाजिक अनुष्ठानको कार्य हुँदा जयश्वर दाइले घर बाहिरको सम्पूर्ण व्यवस्थाको जिम्मा लिनु हुन्थ्यो । घरभित्रको सम्पूर्ण व्यवस्थाको जिम्मा ठुली भाउजूले लिनु हुन्थ्यो । अन्य अरू सबै सहयोगीको भूमिकामा हुने गर्दथे । घर परिवारको सामाजिक व्यवहार सानो होस् या ठुलो नै त्यसको सम्पूर्ण व्यवस्थाको जिम्मा जयश्वर दाइ र आफली भाउजूले नै गर्ने गर्दथे ।
हँसिलो, रसिलो गोरो मुहारको शान्त र गम्भीर प्रकृतिको हाम्रो आफली भाउजू । दिल फुकाएर हाँस्नु पर्ने । मनभित्र केही राख्नु भएको मैले थाहा पाइन । सधैँ सबैसँग मिल्न सक्ने, सहयोगी र उदार चरित्र भएको व्यक्तित्व । कसैले कहिले पनि पर्दापछाडि कुरा काटेको थाहा छैन ।
आज अक्षय लोक परिवारको जनसङ्ख्या धेरै नै भएको छ । तर आजसम्म पनि कोही पनि र कुनै पनि सदस्यले ठुली भाउजूको विषयमा कुनै प्रकारको कमजोरी र असहयोगी भावनाको कुरा गरेको मैले थाहा पाएको छैन । जहाँ जस्तो समस्या छ त्यहीँ सहयोग गर्न सक्ने खुबी नै आफली भाउजूको विशेषता हो ।
विसं २०३९ सालमा बुबाको देहावसान पाँचथरको फिदिममा भयो । हामी काठमाडौँबाट बुबालाई भेट्न फिदिम गयौँ । तेह्रथुमबाट आमा, भाइ सरद र बहिनी वर्षा गएका थिए । बुबाको देहावसानको पिडा एकातिर अर्कोतिर घर पुगेर गर्नु पर्ने कर्मकाण्ड । आमाको हाल बेहाल । सम्हालिने नसक्ने स्थिति । घरका हामी ठुला काठमाडौँ पढ्न बसेका र उतैबाट आउँदै गरेका । अरू साना भाइ बहिनीहरूलाई घरको हालत के थाहा ।
घर व्यवहार अब कसरी सम्हाल्ने होला भन्ने चिन्ता अर्को तिर । धेरै वर्षदेखि हाम्रो काठमाडौँमा बसोबास । मुमा साना साना भाइ बहिनीसँग तेह्रथुममा । के कसरी व्यवस्था गर्ने होला भन्ने पिर थियो ।
घर पुग्दा थाहा भो घरको माहौल नै अर्कै थियो ।घरको भान्छा चुला चौकीको सम्पूर्ण व्यवस्था ठुली भाउजूले सम्हाल्नु भएको थियो । घर बाहिरको व्यवस्था सबै जयश्वर दाइले कर्मकाण्ड सम्हाल्नु भएको थियो । सहयोगी मान्छेदेखि कर्मकाण्डको लागि पण्डितलाई पनि बोलाइसकेका रहेछन् । सम्पूर्ण व्यवस्था देखेर हामी त सहयोगी मन र उदार भावनाप्रति नतमस्तक भयौँ । बुबाको कामको लागि हामी तेह्र दिनसम्मको क्रियापुत्री बस्दा देखि पैँतालिस दिन शुद्धि नहुँदासम्मको घरको सम्पूर्ण व्यवस्था ठुली भाउजूले नै सम्हाल्नु भयो ।
आफली भाउजू र जयश्वर दाइले हाम्रो घरको मात्र होइन अरू पाँच जना काका बुबाको परिवारको पनि कुनै पनि सामाजिक या धार्मिक कार्य गर्नु पर्दा प्रमुख भूमिका निभाउने गर्दथे ।
अक्षय लोक परिवारको सम्पूर्ण सदस्यहरूले ठुली भाउजूको जहिले पनि प्रशंसा गरेको धेरै पटक सुनेको हुँ । कोही कसैबाट नकारात्मक कुरा गरेको मैले सुनेको छैन । यी नै कारणले गर्दा नै ठुली भाउजूको बारेमा लेख्न म प्रेरित भएको हुँ ।
विसं २०५९ सालमा तेह्रथुमको म्याङ्लुङ बजारमा ठुलो आगलागी भयो । आगलागीले बजारका अधिकांश घरहरू पूर्ण रूपमा जलेर ध्वस्त भए । केही बाँकी पनि पूर्ण रूपमा क्षतिग्रस्त हुन पुग्यो । विसं २०२० सालमा बनेको बजार भन्दा अलिक पर टुँडिखेल मुन्तिरको हाम्रो घरमा आगो पुग्न सकेन र जोगियो । तर बजार भित्रको हाम्रो मूल घर र अरू काका बुबाहरूको घर सबै जलेर नष्ट भए ।
हजुरबा अनि बुबाहरूको किर्ति शेषपछि मूल घरमा बस्नु भएर कुल थामेर रहनु भएको जयश्वर दाइ र आफली भाउजू अचानक बेघर हुन पुग्नु भो । स्टुडेन्ट सपको नाममा पत्र पत्रिका र किराना पसल खोलेर सञ्चालन गर्दै आउनु भएका दाइ भाउजू वर्षाैं वर्षको थातथलो छोडेर विराटनगरमा छोराकोमा बस्न पुग्नु भयो । जीवनको उत्तरार्द्धमा आइपरेको यो दैवी प्रकोपको क्षति सहनु र जीवन अघि बढ्नुको विकल्प भएन ।
सन् २०१८ मा नेपाल भ्रमणको बेला आफली भाउजूलाई विराटनगरमा भेट गरेको हुँ । करिब तीस वर्षपछि भेट्न जाँदै थिएँ । घरको बार्दली बाटै ए बसन्त काजी आउनु भएछ भन्दा मेरो आँखामा आँसु टिलपिलाएको थियो । तिन दशक पछि भेट्दा पनि परै बाट चिन्नु । उही मायालु बोलीले मेरो नाम लिनु । साँच्चै नै एक अप्रत्याशित र सुखद आश्चर्य नै थियो मेरो लागि ।
दाइ तन्दुरुस्त नै देखिनु हुन्थ्यो तर आफली भाउजूको खुट्टाको समस्या छ भन्नु हुन्थ्यो । तर अलिक वर्ष पछि जयश्वर दाइको देहावसान भयो भन्ने खबर पाएँ । प्रत्येक मान्छेले जीवन यापन गर्ने क्रममा आफ्नो नजिकका मान्छेको बिछोड सहनु नै पर्छ । यस अपरिहार्यतालाई आफली भाउजू अहिले एक्लो जीवन डोर्याउँदै सहजतापूर्वक बाँचिरहनु भएको देख्दछु । ।
हाल काठमाडाैँको कोटेश्वरमा माइला छोरा प्रकाशसँग उत्तरार्द्धको जीवन एक्कासि वर्षको उमेरमा आरामसँग यापन गरिरहनु भएको छ । यस उमेरमा पनि स्वस्थ, तन्दुरुस्त र मुहारमा हँसिलो कान्ति देखिन्छ । तिन छोरा र दुई छोरीको आमा ठुली भाउजूको लयालु, मायालु र मिठो हाँसो अहिले पनि समय समय झल्को सुनिरहन्छु । जेठा छोरा चिरिन्जीबीले तेह्रथुमको म्याङ्लुङ बजारमै बसोबास गरेर राजनीति र व्यवसायमा व्यस्त रहेर अक्षय लोक परिवारको प्रतिनिधित्व गर्दै आइरहेको छ । कान्छा छोरा क्रान्ति नेपाली साहित्यमा सक्रिय हुँदै जापानमा बसोबास गर्छन् । ठुली छोरी मालती र कान्छी छोरी सिर्जना दुवैको परिवार विराटनगर बसोबास गर्ने गर्छन् !
आफली भाउजू र जयश्वर दाइ वास्तवमै अक्षय लोक परिवारको मेरुदण्ड नै थिए । वहाँहरूकै छत्र छाया र उचित दिशा निर्देशनमा हामी अक्षय लोकका सम्पूर्ण बाल बालिका हुर्केका हौँ ।
आफली भाउजूको स्नेह मेरो नसा नसामा दौडिरहेको अनुभूत गर्दछु म !!!
भर्जिनिया, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

बसन्त श्रेष्ठको साङ्गोपाङ्गो स्थिति छर्लङ्ग पार्ने ‘अङ्गालोभरिको अनुभूति’

सम्पूर्ण नेपाली युवाहरूले बाँचेको प्रतिनिधि जीवन ‘अँगालोभरिको अनुभूति’
