उनी गोविन्द !

म पनि गोविन्द !

उनी गोविन्द सिंह रावत !

म गोविन्द गिरी प्रेरणा !

हामी मितज्यू भन्छौँ एक अर्कालाई । ठ्याक्कै कहिलेदेखि भन्ने हेक्का नभए पनि । परम्परागत मितेरी नलगाएको भए पनि ।

हाम्रो भेट नाटकले गराएको हो । सडकदेखि सडकसम्मले ।

सडकदेखि सडकसम्म नाटक प्रयोगात्मक थियो । धेरै कलाकार थिए । कतिको भूमिका लामो थियो । कतिको छोटो थियो । कति त सडकमा हिँड्ने बटुवा पनि थिए । मञ्चको वल्लो छेउदेखि पल्लो छेउसम्म हिँड्दै जाने कुरा गर्दै । हात हल्लाउँदै । मुन्टो हल्लाउँदै । तर उनीहरूको संवाद भने दर्शकले सुन्दैनथे । एक प्रकारले मूक हुन्थ्यो । त्यो मूक अभिनय पनि जीवन्त नै लाग्थ्यो भन्दथे दर्शक दीर्घामा बस्नेहरू । तर गोविन्द निकै बोलैया, हँसाउन सक्ने हुनाले उनको भूमिका ठुलै थियो ।

अशेष मल्ल र गोविन्द कीर्तिपुरमा भेटिएका हुन्। विद्यार्थीका रूपमा । गोविन्द महेन्द्र छात्रवृत्तिमा त्रिविविमा एमए तहको उच्च अध्ययनका लागि काठमाडौँ आएका थिए ।

गोविन्दलाई काठमाडौँले उच्च शिक्षाको अवसर दियो ।

नाटकको लागि रङ्गमञ्च दियो ।

लेखनका लागि वातावरण दियो ।

घरबारका लागि कुसुम दियो ।

गोविन्द र कुसुम दुवै अशेषका नाटकका पात्रहरू थिए । दुवैको मन मिल्यो । बिहा भयो । त्यो बिहाको भोज जावलाखेलमा भएको थियो । साँझको बेला कौसीमा बसेर गोविन्दको बिहा भोज हामी अशेषका नाटकका पात्रहरू, साहित्यकारहरू, उनका अध्यापकहरूले एकसाथ खाएको सम्झना अझै पनि टड्कारो छ । त्यो बेलाको फोटोले अहिले पनि त्यस क्षणको जीवन्त सम्झना दिलाउँछ ।

खासमा सर्वनामको नामकरण हुन्जेल र सर्वनाम औपचारिक संस्था हुन्जेलसम्म म नाटक समूहबाट पाखा लागिसकेको थिएँ । अभिनयमा मैले हात उठाउनुपर्ने भयो, मबाट अभिनय नहुने मैले मात्र होइन अशेषले पनि देखिसकेका थिए । मुख खोलेर भन्न मात्र सकेका थिएनन् । मेरो नाट्य लेखन पनि स्वीकार्य हुने अवस्था थिएन । अशेष आफैँ नाटककार र निर्देशक भएकाले अरू नाटककार र निर्देशकको गुञ्जायस थिएन ।

अशेषले सप्ताहव्यापी सडक नाटक उत्सव गरे काठमाडौँका विभिन्न स्थानमा । त्यसको सुरुवात त्रिवि कीर्तिपुरबाट भएको थियो । त्यो नाटक थियो “हामी वसन्त खोजिरहेछौँ” । अशेषको सडक नाटकको रूपमा यसले ख्याति पायो । हुन पनि सडक नाटकको रूपमा अशेषको सुरुमा र पछिसम्म पनि सर्वाधिक मञ्चन भएको सडक नाटक सम्भवतः यो नै होला । तर यसको पहिलो मञ्चन सडक नाटकको रूपमा भएको थिएन । मञ्चमै भएको थियो, अन्य नाटकहरू झैँ वाल्मीकि क्याम्पसको सभाकक्षमा ।

तीसको दशकमा कुनै साहित्यिक कार्यक्रमपछि सिनेमा देखाउने वा नाटक देखाउने एक प्रकारको प्रचलन जस्तै थियो । यसले त्यो साहित्यिक कार्यक्रमको आकर्षण बढाउँथ्यो ।

पहिलो पल्ट वाल्मीकि क्याम्पसमा “हामी वसन्त खोजिरहेका छौँ” को मञ्चन हुँदा गोविन्द र म दुवैले साथै अभिनय गरेका थियौँ । उनको र मेरो संवाद भएको दृश्य थियो । पछि गोविन्दले आफ्नो अभिनय त्यस नाटकमा निरन्तरता दिए, तर मेरो ठाउँमा कसले अभिनय गर्यो, हेक्का भएन ।

गोविन्दले अशेषका प्रायजसो नाटकमा अभिनय गरे ।

सर्वनामले सडक नाटकको अवधारणालाई मञ्चन मार्फत लोकप्रिय बनाएपछि यो एक प्रकारले व्यावसायिक बन्यो । विभिन्न सरकारी, गैर सरकारी, स्वदेशी विदेशी संस्थाहरूले सडक नाटक मार्फत जन चेतना जागृत गर्न सर्वनामलाई राम्रै रकम प्रदान गर्थ्यो । त्यसले कलाकारहरूलाई पनि राहत मिल्थ्यो । यसै क्रममा जिरीमा नाटक देखाउन जाने क्रममा विसं २०४२ सालमा नाटक टोली सवार गाडी दुर्घटना भयो । सबैजसो घाइते भए । सबै घाइतेलाई वीर अस्पताल ल्याइएको थियो । तर २ जना चाहिँ अलि बढी घाइते भए । एक थिए झापाका । अनि अर्का थिए किशोर पहाडी । झापाका साथीको त मेरुदण्डमै चोट लागेर आजीवन अशक्त हुन पुगे । किशोरको चाहिँ अपरेसन गर्नु परेको थियो । । गोविन्द पनि घाइते भएका थिए । तर उनको चोट भने भाग्यवश गम्भीर थिएन ।

केही समय सर्वनाम सुस्तायो । सर्वनामसँगै त्यससँग सम्बद्ध लेखक, निर्देशक, कलाकारहरू सबै सुस्ताए । तर पछि सर्वनामले गति लियो ।

सर्वनामकै तर्फबाट गोविन्द नाटकमा अभिनय र प्रस्तुतिका लागि कोरिया, हङकङ, ताइवान, बेलायत, नर्वे, फिलिपिन्स, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, नेदरल्याण्ड, फ्रान्स, जर्मन लगायतका मुलुकमा पुगे । विभिन्न मुलुकका विभिन्न भाषाका कलाकारले आआफ्नै भाषामा प्रस्तुति दिने नयाँ खालको संयुक्त नाटक प्रदर्शनमा समेत उनको सहभागिता रह्यो । यसै सिलसिलामा उनले पाकिस्तानी धारावाहिक “उँची उडान”मा पनि अभिनय गर्ने मौका पाएका थिए ।

उनले विसं २०४२ सालमा रत्नश्री स्वर्ण पदक प्राप्त गरे । एक समयमा त्यसको निकै ठुलो गरिमा र महत्त्व थियो । दरबारमा रत्न राज्य लक्ष्मीदेवी शाहको हातबाट पदक पाइन्थ्यो । त्यसै साल उनको पहिलो पुस्तक “पूर्वाञ्चल भारतको नेपाली कवि र कविता” नेपाली साहित्य परिषद् असमको ब्यानरमा प्रकाशित भयो । यो प्रकाशनको चाँजोपाँजो साहित्यकार अविनाश श्रेष्ठले मिलाएका थिए ।

गोविन्द हास्य व्यङ्ग्यात्मक प्रस्तुतिमा अब्बल भएकाले नाटक, प्रहसन आदिमा सक्रिय हुन्थे । उनले २०३६ सालदेखि २०४६ सालसम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले बर्सेनि गर्ने गाईजात्रा महोत्सवमा सहभागी भए ।

गोविन्दले रेडियो नेपालबाट सञ्चालित रसरङ्ग कार्यक्रममा पनि सहभागिता गरेका थिए । त्यो बन्द भएपछि सर्वनामको तर्फबाट उनले ‘दिन प्रतिदिन” नामक सन्देशमूलक रेडियो कार्यक्रम सञ्चालन गरे ।

सर्वनामसँग घाँटी जोडिएका गोविन्द विसं २०५६ पछि त्यस संस्थासँग सम्बन्धित रहेनन् । २०५८ सालमा त उनी क्यानडा बसाइँ सरिहाले ।

उनको सिलाङबाट सुरु भएको यात्रा काठमाडौँ हुँदै क्यानडाको टोरन्टोसम्म विस्तारित भयो ।

क्यानडा आइसकेपछि पनि उनको भाषा साहित्य प्रेममा कमी आएन । उनको कलमले विश्राम लिएन । उनले अनलाइन मार्फत् “खबर सम्प्रेषण” अनियत कालीन पत्रिका चलाए । सन् २००४ मा नेपाली साहित्य समाज, क्यानडाको स्थापना गरे ।

उनको कथा सङ्ग्रह “गङ्गा” निस्कने भएपछि उनले सप्रेम केही लेख्न भने र मेरो पनि मितज्यूलाई शुभेच्छाका केही शब्दसहित प्रकाशित भयो । उनले अध्ययनलाई पनि निरन्तरता दिँदै क्यानडा बसाइँकै क्रममा “विश्व रङ्गमञ्चमा सडक नाटक” विषयमा विद्यावारिधि गरे र डा. गोविन्द सिंह रावत बने । यही शीर्षकमा उनको त्यो थेसिसको पुस्तक समेत सन् २०१३ मा प्रकाशित भयो ।

त्यसो त विसं २०४२ सालमा युनिसेफ नेपालले प्रकाशित गरेको “सामुदायिक नाटक” पनि उनको महत्त्वपूर्ण आलेखन हो । सडक नाटकको सन्दर्भमा । सामुदायिक नाटकको सन्दर्भमा ।

गोविन्दकै हुटहुटी र सक्रियतामा उत्तर अमेरिकी नेपाली कविताको सङ्कलन प्रकाशित भयो । सामान्यतया अमेरिकाको मात्र सङ्कलन प्रकाशित हुँदै गरेकोमा क्यानडा समेत समावेश गरी यस प्रकारको सङ्कलन प्रकाशित हुनु महत्त्वपूर्ण घटना थियो । सम्पादनमा र प्रकाशनमा अमेरिकाका साथीहरूको पनि संलग्नता भए पनि सूत्रधारको भूमिका उनैको भएको मेरो बुझाई छ ।

त्यो सङ्कलनको विमोचन डा. तारानाथ शर्माले न्युयोर्कमा गरेका थिए, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले पहिलोपल्ट आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको पूर्व सन्ध्यामा । यो निकै ओजिलो कार्यक्रम थियो जसमा रुसबाट आएका कृष्णप्रकाश श्रेष्ठको पनि सहभागिता थियो ।

गोविन्द एसोसिएसन अफ नेपलिज इन अमेरिका अर्थात् एएनएको साहित्य विभागले आयोजना गरेको साहित्य सम्मेलनमा वासिङ्टन डिसी आएका थिए । अरू पनि कार्यक्रममा पटक पटक आउँदा उनीसँग काठमाडौँकै जस्तो आत्मीयता र मिठासपूर्ण मैत्री जीवन्त भएको महसुस हुन्छ ।

उनी गैर आवासीय नेपालीहरूको संस्था एनआरएनमा पनि भाषा साहित्यको क्षेत्रमा सक्रिय भए । सन् २०१३ मा एनआरएनको विश्व सम्मेलन काठमाडौँमा हुँदा उनकै अग्रसरतामा “नेपाली साहित्यको विश्वव्यापीकरण” विषयक गोष्ठी सम्पन्न भएको थियो ।

त्यस्तै सन् २०१८ मा अमेरिकाको बोष्टन सहरमा सम्पन्न एनआरएनको भाषा साहित्य विभागको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि उनको संयोजनकारी भूमिका थियो । उनी मात्र होइन, क्यानडाबाट राम्रो सङ्ख्यामा साहित्यकारहरूको सहभागिता सो सम्मेलनमा भएको थियो । लामो समयको अन्तरालपछि हामी त्यो सम्मेलनमा एकै होटेलको एकै कोठामा बसेका थियौँ र काठमाडौँका ती सुन्दर साहित्यिक माहौलको सम्झना गर्दै ती क्षणलाई ताजा बनाएका थियौँ ।

गोविन्दले सन् २००८ मा यौटा साहित्यिक कार्यक्रममा सबैले नेपाली टोपी लाएर आउन अनुरोध गरे । टोपी नहुनेहरूले कार्यक्रम स्थलमा टोपी किन्न पाइने व्यवस्था थियो । नभए कार्यक्रम अवधिभर टोपी लाएर फिर्ता दिन मिल्ने समेत सुविधा थियो । त्यो एक प्रकारले टोपी दिवस भयो र त्यसपछिका वर्षहरूमा टोपी दिवस नै मनाउन थालियो । त्यो अवधारणाको प्राथमिक सूत्रधार गोविन्द नै थिए । त्यसको सुरुवात क्यानडाको त्यही सन् २००८ को टोपीमय कार्यक्रम थियो । टोपी दिवसको जगमा गोविन्द नै सूत्रधार थिए ।

गोविन्द केही न केही गरिरहने, साहित्यिक गतिविधि चलायमान भैरहोस् भन्ने मान्यता राख्छन् र त्यसै अनुरूप गतिविधि गरिरहन्छन् । उनले अमेरिका र क्यानडामा बसोबास गर्ने कविहरूलाई दुई देशको सिमानामा निम्तो गरेर सीमा वारिपारि कवि गोष्ठी गर्ने सोच बनाए । मलाई यो सोच सकारात्मक र सिर्जनात्मक लाग्यो । दुवै देशका कविहरू सिमानामा भेट्ने, कवि गोष्ठी गर्ने, भेटघाट रमाइलो गर्ने यो सुन्दर विचार लाग्यो र मैले सन् २०१४ मा दर्ता गरेर फाट्टफुट्ट साहित्यिक कार्यक्रम गर्दै आएको अमेरिका नेपाल साहित्य प्रतिष्ठान पनि सहकार्य गर्न तयार भनेपछि उनी खुसी नहुने कुरै थिएन, मितज्यू जो थियौँ हामीहरू ।

तर म कहिले नेपाल जानुपर्ने कहिले के परेर मेरै कारणले एकपल्ट सोचेको समयभन्दा पर सर्यो । दोस्रोपल्ट पनि मैले हातेमालो गर्ने अवस्था रहेन, म नेपाल जानु परेकोले । तर उनले त्यो कार्यक्रम सम्पन्न गराइछाडे । कार्यक्रम नियाग्रा फल्समा राखिएकोले त्यो पर्यटकीय स्थलमा कविहरू रमाउँदै पुगेको, गोष्ठी सम्पन्न भएको खबर र फोटो हेरेर चित्त बुझाएँ । उनले दोस्रोपल्ट पनि त्यसलाई निरन्तरता दिए, तर संयोग कस्तो पर्यो भने दोस्रोपल्ट पनि मैले सहभागिता जनाउन सकिन । तर कार्यक्रम दोस्रोपल्ट पनि राम्रैसँग सफल भयो ।

सात समुद्र पारी आएर पनि नेपाली भाषा साहित्यमा योगदान गर्नु यसै पनि स्तुत्य कार्य हुँदै हो । गोविन्द लेखन र गतिविधिमा निरन्तर सक्रिय छन् । उनको नारा नै छ “भाषा रहे हामी रहन्छौँ ।“

यो कसैले नकार्ने कुरै भएन, यदि उ नेपाली हो भने । नेपाली मूलको हो भने ।