तीसको दसकमा नेपाली साहित्यमा निकै प्रतिभाशाली स्रष्टा देखापरे । तिनैमध्येका एक हुन् विनय रावल । हत्तपत्त कसैसँग नदब्ने, कसैका सामु ननिहुरिने र आफ्नो अडानमा दृढ रहने स्वभाव भएका उनको अन्याय नसहने र लागेको बोलिहाल्ने बानी थियो । व्यङ्ग्य मिश्रित हल्का मुस्कानयुक्त बोलिले प्रहार गर्न खप्पिस थिए उनी ।

विनयको व्यक्तित्व छरिएको थियो अलिकति साहित्यमा, अलिकति पत्रकारितामा, अलिकति जागिरमा । निश्चय नै जागिरले उनलाई परिवार पाल्न भरथेग गरेको थियो तर उनको पहिचान बनाउन सहयोग गरिरहेका थिए साहित्य र पत्रकारिताले ।

भन्थे ‘जागिर नखाए त पेट कसरी पाल्ने ?’ ‘जागिर खाँदै, पदीय जिम्मेवारी पूरा गर्दै अन्यत्र पनि संलग्न र सक्रिय हुनुपर्छ, यसो गर्दा जागिर पछिको जीवन सहज हुन्छ ।’

पञ्चायती निर्दलीय शासन व्यवस्थाका विरुद्ध पटकपटकका आन्दोलनमा र ज्ञानेन्द्र शासनकालको राजतन्त्र विरुद्ध पनि उनी विभिन्न माध्यम र मोर्चाबाट लडे । दस वर्षे द्वन्द्वकालमा उनी आतङ्क विरुद्ध लेखनका माध्यमद्वारा लडे । उनी सधै नै निरङकुशता र अन्यायका विरुद्ध लडे ।
वि.सं. २०१३ सालमा बीरगञ्जमा जन्मेका उनले कर्मथलो राजधानी काठमाडौलाई बनाए । जागिरे जीवनमा पनि उनी केही समय मात्र राजधानी बाहिर रहे ।

विनय विभिन्न भूमिकामा रहे । उनी नेपाल साहित्यकार संघको अध्यक्ष बने, प्रेस काउन्सिलको सदस्य बने, साझाको सञ्चालक चुनिए । सम्पादनमा संलग्न रहे । उनले अभिनव, मुकुट र श्रीजाको सम्पादन गरे । यद्यपि दिगो हुन सकेन तर एकताका चर्चा बटुल्न सफल ‘तरलवाद’ का प्रवर्तक मध्येका एक उनले राष्ट्रपुकार र पुनर्जागरण साप्ताहिकमा अतुलेश र अभिनव रावलको उपनामबाट स्तम्भ लेखे । अन्य पत्रपत्रिकामा राजनीतिक तथा साहित्यिक लेख रचनाहरूको निरन्तर प्रकाशन भयो । यी सबै भूमिकाले विनय बहुमुखी थिए भन्ने पुष्टि हुन्छ ।

विनय रावल

विनयको पहिलो कृति ‘मलाई तिमी आफूजस्तै बनाउ’ कविता सङ्ग्रह २०४९ सालमा साझा प्रकाशनले प्रकाशित गरेको थियो । ‘सपनाको देशमा’ उनको पछिल्लो कृति हो । नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०६१ सालमा प्रकाशित यो कृति दिवंगत श्रष्टाहरूलाई समर्पण गरेका उनी अर्को वर्ष आफै दिवंगत भए । म्यानमार यात्राको संस्मरण ‘ठुल्दिदीको देश’ र ‘समय–प्रवाह’ नामक विभिन्न पत्रपत्रिकामा प्रकाशित समसामयिक विषयका लेखहरूको संगालो उनका अन्य प्रकाशित कृति हुन् । ‘समय–प्रवाह’ अतुलेशको नामबाट प्रकाशित छ ।

प्रजातन्त्रका हिमायती विनय हक अधिकार र स्वतन्त्रताका पक्षपाती थिए । लेखनको सन्दर्भमा कुरा गर्दा विनयले निरन्तर प्रजातन्त्रको पक्षमा लेखे । नागरिक हक अधिकार र स्वतन्त्रताको पक्षमा लेखे । यिनै कारण रावललाई प्रजातन्त्र, मानवाधिकार र स्वतन्त्रताका पक्षपाती कविको रूपमा चिनिन्छ ।

मूलतः कवि व्यक्तित्वकै रूपमा चिनिने तर बहुमुखी प्रतिभा हुन् विनय । विनयको भनाइमा ‘साहित्य मनको सम्पूर्ण अभिव्यक्ति हो । साहित्य वा कवितामा मान्छेको जीवनलाई सुन्दर बनाउने,मानवीय बनाउने र परापूर्वकालदेखि यथास्थितिमा रहेको छ भने त्यसलाई परिवर्तन गरेर नयाँ रूप दिने जुन सपना र कल्पना हुन्छ,त्यसको अभिव्यक्ति नै सुन्दर साहित्य वा कविता हो ।’

आफूले देखेजानेका, भोगेका,अनुभव गरेका विषयलाई जीवन्त रूपमा प्रस्तुत गर्नु उनको कवितामा पाइने वैशिष्ट्य हो । लघु आयामका उनका कवितामा विचारको ठाडो हस्तक्षेप रहने तर अभिव्यक्तिको इमानदारीका कारण तिनमा लय र संरचनाको विशिष्ट सन्तुलन पाइने समीक्षकको धारणा छ । समीक्षकहरूको दृष्टिमा विनय मानवीय अस्मिताको संरक्षणका पक्षमा दृढताका साथ उभिने मुखर कवि हुन् । विनय मानवीय अधिकार र स्वतन्त्रताका पक्षपाती थिए । राजनीतिक चेत, चिन्तन र सोच विनयका कविताका मूल स्वर मानिन्छन् । विनयका कविताको अर्को विशेषता चाहिँ राजनैतिक विषयवस्तुलाई आख्यानीकरण गर्दै र प्रतीकात्मक बनाउँदै सङ्क्षिप्त रूपमा प्रस्तुत गर्नु हो ।

ध्रुब मधिकर्मीले ‘समकालीन नेपाली कविताका प्रवृत्ति र स्वर’मा विनयलाई ‘अस्तित्व र वैचारिक आग्रहका कवि’ भनेका छन् । यो ठम्याई गलत होइन । मधिकर्मीले भनेझैं विनयले आफ्ना कवितामा मानवीय चाहना, सामाजिक एवम् राजनैतिक विसङ्गतिहरूलाई वैचारिक आग्रहमा अभिव्यक्त गरेको पाइन्छ ।

मोहन कोइरालाले ‘मलाई तिमी आफूजस्तै बनाउ’को भूमिकामा लेखेका छन् ‘अन्य कविको जस्तो उनको एक कवितामा चिन्तन उकुमुकुस र विचार अनि कथ्यको घुईंचोपन कोचाकोच भएको नलाग्ला तर विनय रावलको आफ्नो पद्दतिको धैर्य र दृढपन कवितामा यथेष्ट र प्रस्ट छ । उनको छोटो अनि सजिलोपन पाठकलाई आफूतिर तान्ने बडो सक्षम प्रविधि हो । त्यसैमा उनी लामो काल पर्यन्त कवितामा हावी पनि रहनेछन् । ’

विष्णुविभु घिमिरेले विनयलाई ‘कवितामा अराजक थिए’ भनेका छन् । यो उनका कविता पढ्ने जो कसैले सहजै महसुस गर्न सक्ने कुरा हो । गोविन्द गिरी ‘प्रेरणा’ले चाहिँ ‘विनय रावल प्रतिबद्ध कवि थिए तर कविता भन्दा उनको पहिलो सर्त प्रजातन्त्र थियो, अभिव्यक्ति स्वतन्त्रता पहिलो सर्त थियो’ भनेका छन् । उनले ‘राजनीतिमा प्रधानमन्त्री हुनुअघि गिरिजाप्रसाद कोइराला कम्युनिष्टका जति कट्टर विरोधी थिए, साहित्यमा विनय रावल उस्तै लाग्थे’ भनेका छन् । ‘उनको एउटै तर्क हुन्थ्यो अभिव्यक्ति स्वतन्त्रताका विरोधी कम्युनिष्ट पनि साहित्यकार हुन्छन् ?’ विनयको भनाइ उदृत गर्दै गिरीले आफ्नो एक आलेखमा लेखेका छन् ।

विनय अल्पायुमै मृत्युको मुखमा परे । पूर्वोत्तर भारतको साहित्यिक भ्रमणमा रहेका बेला २०६२ जेठ २५ गते सवारी दुर्घटनामा उनको मृत्यु भएको थियो । उनको मृत्यु आकास्मिक,अस्वाभाविक एवम् अकल्पनीय थियो । तर उनका कृतिहरू हाम्रा सामु छन् र उनी कृतिहरूमा जीवित छन् । तिनको संरक्षण गर्नु हाम्रो दायित्व हो । सधै केही न केही लेख्ने उनले लेखेजति सबै रचना पक्कै प्रकाशित भएका छैनन् । अप्रकाशित रचनाको खोजी गर्ने, तिनको सङ्कलन,संरक्षण र प्रकाशन गर्नु अबको जिम्मेवारी हो । यसका लागि विनयलाई माया गर्ने, विनयको लेखनका प्रशंसक, विचारका अनुयायी र शुभेच्छुक सबैको सक्रियता आवश्यक छ । त्यसो त वास्तवमा यस कार्यका लागि नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशन जस्ता संस्थाले अग्रसरता लिनुपर्ने हो तर त्यस्तो सम्भावना क्षीण नै रहेकाले परिवारसँग सम्पर्क गरी उनका रचना सङ्कलन गर्ने र प्रकाशित गर्नेतर्फ हामी सबैको ध्यान पुग्नु जरुरी छ ।

उनकै योे कविता मार्फत स्वर्गीय विनय रावलप्रति हार्दिक श्रद्धाञ्जली !

एउटा अभिव्यक्ति

विश्वासको हत्या भएपछि
मान्छे कहिले माथि चढ्न सक्दैन
इतिहास साक्षी छ
मान्छेले खनेको खाडलमा
मान्छे स्वयम् नै खस्दछ ।