वर्तमानको साहित्यमा लेख्नेहरूको कमी छैन । प्रत्येक वर्ष झण्डै पाँच सयभन्दा बढीका सङ्ख्यामा साहित्यका नाममा पुस्तकहरू प्रकाशित भइरहेका छन् । तर सबै पुस्तक सम्बन्धित विधाको अभिलेखमा पनि पर्दैनन्  । वर्षभरि प्रकाशन भएका साहित्यिक पुस्तकहरूमा दश प्रतिशतका हाराहारीले चर्चा र बजार पाउने गरेका छन् । विधागत उन्नयनका दृष्टिले त्यसभन्दा पनि कम पुस्तकको विशेष अभिलेख हुने गरेको मानिन्छ ।

त्यसैले सिर्जना र प्रकाशन गर्नु मात्र साहित्यका लागि महत्त्वपूर्ण हुँदैन । साहित्यिक क्षेत्रले एक प्रकारले अनुमोदन गरेपछि मात्र सिर्जनाको विशेष अर्थ हुने गरेको छ । भनौँ सिर्जनाले सामाजिक मूल्य पाएपछि स्रष्टाको परिचय स्थापित हुने र विशेष मूल्याङ्कन हुने गरेको छ । त्यसैले सबै साहित्य लेख्नेहरू साहित्यकारका रूपमा परिचित र स्थापित हुन सकेका छैनन् । जसका भएका छन् तिनीहरू आआफ्ना उचाइअनुसार साहित्यमा नहराउने भएका छन् । नश्वर शरीर हुँदा र नहुँदा पनि सिर्जनाले जीवित भएका छन् ।

त्यस्तै कालजयी सिर्जनाहरूकै कारण नेपाली साहित्य पनि धनी बनेको छ । यसरी नै नेपाली भाषा साहित्यलाई धनी बनाउने काम गर्नुभएको छ वरिष्ठ साहित्य साधक आरडी प्रभास चटौतले । उहाँको नाम लिनासाथ स्वतः आउने गर्दछ, नेपाली भाषा, साहित्य र संस्कृतिका सन्दर्भ । स्वाभाविक पनि हो । नेपाली भाषासाहित्यका सन्दर्भमा उहाँ नहुँदा स्वतः अधुरो र अपुरो हुने पनि तथ्यले प्रमाणित भइसकेको छ ।

पश्चिम नेपालको डडेलधुरामा जन्मनुभएको पनि साढे आठ दशक नाघिसकेको छ । तर पनि भाषा साहित्यमा उहाँको सक्रियता ऊर्जाशील बनिरहेको छ । आफू जन्मेको भूगोलको इतिहास, भाषा, साहित्य, संस्कृति, परम्परालाई सम्मान गर्दै त्यसको संरक्षण, संवर्द्धन र प्रचार कार्यमा निरन्तर लागिरहनुभएको छ । यस प्रकारको सिर्जनात्मक चेतना आर डी प्रभासमा बाल्यकालदेखि नै भएको प्रमाणित गर्नुभएको छ ।

जति बेला उहाँको जुँगाको रेखी पनि बसेको थिएन, त्यति बेला अर्थात् तेह्र वर्षकै उमेरमा उहाँको गाउँ डगाँरी वरपरका क्षेत्रमा सलहको आतङ्क मच्चियो । सलहले त्यस क्षेत्रमा भएका सम्पूर्ण बालीनाली सखाप पारिदियो । खेतीपातीमा निर्भर हुने कृषकहरू पाकेको बाली भित्र्याउन नपाएपछि हुनसम्मका दुःखी भए । त्यही घटनाले किशोर आरडी प्रभासलाई गहिरो गरेर छोयो । उहाँले पहिलो पटक त्यही किसानहरूको पीडालाई आफ्नो कवितामा उतार्नुभयो । डोट्याली भाषामा लेख्नुभएको कविता प्रकाशित पनि भयो वि.सं. २००६ मा ।

किशोर वयमा पनि अरूका दुःखलाई आत्मसात् गर्न सक्ने हुनु भएकैले त्यति बेला उहाँमा सिर्जनात्मक क्षमताको  विकास भएको थियो । यसरी आर डी प्रभासले प्रारम्भ गर्नुभएको आफ्नो सिर्जना यात्रा पचहत्तर वर्षको भइसकेको छ । यति लामो अवधिसम्मको निरन्तरता कुनै पनि दृष्टिले सामान्य होइन विशेष विशेष नै हो । अरू सिर्जनशीलहरूका लागि राम्रो उदाहरण पनि हो । जीवनमा साढे सात दशकभन्दा बढी समय सिर्जनामा सक्रिय हुन सक्नु साहित्यकार आरडी प्रभासको लागि ठुलो सौभाग्य पनि हो । त्योभन्दा बढी नेपाली भाषा साहित्यको सम्पत्ति पनि हो । त्यसैले अब आर डी प्रभास चटौत साहित्यिक व्यक्तित्व मात्र नभएर एउटा गौरवशाली संस्था नै बनिसक्नुभएको छ ।

नेपाली भाषामा उहाँले कविता, गीत, कथा, निबन्ध र जीवनी लेख्नुभएको छ । नाटक लेखेर वि.सं.२०१९ मा नै मञ्चन पनि गर्नुभएको छ । लोकपरम्परा, संस्कृति र धार्मिक ग्रन्थ लेख्नुभएको छ । अनुवाद र अनुसन्धान गर्नुभएको छ । यी सबै विषयमा हालसम्म तीन दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित गरिसक्नुभएको छ । आफ्नो जन्म क्षेत्र सुदूरपश्चिामञ्चलको लोकजीवन, लोकसंस्कृति र परम्पराको बारेमा लेखेर जोगाउने र प्रचार गर्ने काम गर्नुभएको छ । त्यसैले संरक्षण र संवर्धन कार्यका लागि उहाँका पुस्तकहरूको अहम् भूमिका रहेको छ ।

वि.सं.२०३७ मा उहाँको कविता सङ्ग्रह ‘जीवनका घडी पला’ प्रकाशित भएको थियो । उहाँले पुर्‍याउनुभएको योगदानको सम्मान गर्दै सूर्यविक्रम ज्ञवालीजस्ता विशिष्ट विद्वान्ले लेख्नुभएको स्मरणयोग्य छ । उहाँले लेख्नुभएको थियो, ‘व्याकरणलाई मिच्ने कविको अधिकार प्रभासजीले बाँकी नराख्नुभएको भए पनि उहाँका भाषा सरल र पढूँ पढूँ लाग्ने तथा ओजपूर्ण पनि छन् ।’

यसरी उहाँको सिर्जनात्मक शक्तिलाई धेरै जना नेपाली साहित्यका नक्षत्रहरूले पनि सम्मान गरेका छन् । कविवर सिद्धिचरण श्रेष्ठ, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका पहिलो कुलपति केदारमान व्यथित र राष्ट्रकवि माधव घिमिरेजस्ता नेपाली कविताका सर्वोच्च व्यक्तित्वहरूले पनि आर डी प्रभासका कविताको प्रशंसा गरेका छन् । स्वामी प्रपन्नाचार्य, शताब्दी पुरुष सत्यमोहन जोशीका साथै पूर्व प्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला र रामहरि शर्माले उहाँका सिर्जनाका महत्त्वलाई स्पष्ट पारेका छन् । नेपाली साहित्यका विशिष्ट हस्तीहरू कृष्णचन्द्रसिंह प्रधान, डा.तारानाथ शर्मा, विजय मल्ल, ईश्वरवल्लभ, प्राडा वासुदेव त्रिपाठी, प्राडा दयाराम श्रेष्ठ, डा.रामदयाल राकेश, शिवगोपाल रिसाल, डा.अभि सुवेदी, रामकुमार पाण्डेजस्ता मानक नेपाली साहित्यकारहरूबाट आर डी प्रभासका पुस्तकहरूमा प्रशस्त प्रशंसा पाउनुभएको छ ।

यो ऐतिहासिक सफलता पाउने थोरै साहित्यकारमा पर्नुभएको छ उहाँ । सिर्जना यात्राका अथक यात्रीका लागि योभन्दा ठुलो कमाइ र प्रतिष्ठा अरू केही पनि हुन सक्दैन । त्यसो त उहाँले गर्नुभएको सिर्जनाको साधना र पुर्‍याउनुभएको योगदानका लागि सरकारी र गैरसरकारी साहित्यिक सङ्घ-संस्थाहरूबाट तीन दर्जनभन्दा बढी नै सम्मान र पुरस्कार पाइसक्नुभएको छ ।

त्यसो त भाषासाहित्यको संसार मात्र उहाँको जीवन होइन । उहाँले शिक्षण क्षेत्र र प्रशासनिक क्षेत्रमा पनि अथाह योगदान पुर्‍याउनुभएको छ । जीवनका एक दशक उहाँले विभिन्न विद्यालयहरूमा अध्यापन र प्रधानाध्यापकीय जिम्मेवारी निर्वाह गनुभयो । तीन दशक सरकारी सेवामा महत्त्वपूर्ण जिम्मेवारीका साथ समर्पित हुनुभयो । विशेष प्रहरी विभागको प्रमुख, भूमिसुधार अधिकारी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको योजना निर्देशक, प्रमुख जिल्ला अधिकारी हुनुका साथै निर्माण तथा यातायात मन्त्रालयको कामु सचिव पनि हुनुभयो । अन्तमा संस्कृति मन्त्रालयबाट सहसचिवको जिम्मेवारीबाट निवृत्त हुनुभएको थियो ।

यसबाट के प्रमाणित हुन्छ भने सिर्जनशील व्यक्तिलाई जेजस्ता पदीय जिम्मेवारीले बाँधे पनि सिर्जनकर्म छोड्न सक्दैन रहेछ भन्ने ठुलो उदाहरण बन्नुभएको छ आर डी प्रभास चटौत । यो अरूका लागि उदाहरण र ऊर्जा पनि हो ।

किशोर अवस्थादेखि नै भाषासाहित्यप्रतिको अगाध प्रेम र समर्पणले गर्दा उहाँ विदेश जानुहुँदा पनि नेपाली भाषा, साहित्य र संस्कृतिकै प्रवर्धनमा कटिबद्ध हुनुभएको छ । उहाँले अमेरिकाका विभिन्न राज्यमा हुने गरेका कार्यक्रमहरूमा नेपाली बोल्न, नेपाली वेषभूषा लगाउन र नेपाली गीत बजाउने अभियान चलाउनुभयो र सफलता पनि प्राप्त गर्नुभएको छ ।

मानवीय मूल्य र मान्यताको उच्च सम्मान गर्ने व्यक्तित्व उहाँ ।

अरूको पीडामा दुख्ने व्यक्तित्व उहाँ ।

आफ्नो भाषा, साहित्य र संस्कृतिमा प्रतिबद्ध व्यक्तित्व उहाँ ।

सिर्जनामा कहिले नथाक्ने समर्पित व्यक्तित्व उहाँ ।

अत्यन्तै आदरणीय अग्रज साहित्यसाधक आर डी प्रभास चटौतको सुस्वास्थ्य र दीर्घायुको लागि अशेष कामना गर्दछु ।

झम्सिखेल, ललितपुर