विषय प्रवेश

नेपाली साहित्यमा डा लक्खीदेवी सुन्दास एउटा आदरणीय नाम हो। उनी एक प्रखर साहित्य समालोचक, कवयित्री, कथाकार, साहित्यकी गहन अध्येता हुन्। उनका व्यक्तित्वका अनेक पाटाहरू छन्। उनी एक आदर्श शिक्षिका, एक कुशल प्रशासक र एक चिन्तक हुन्। उनको जन्म २७ मार्च, सन् १९३४ मा कलकत्तामा भएको हो। पेसाको हिसाबले मुख्य गरी दार्जिलिङ सरकारी महाविद्यालयको नेपाली विभागमा प्राध्यापन गरी पछिबाट त्यही महाविद्यालय कै भारप्राप्त अधिकारी पनि बनेकी हुन्। उनले केही वर्ष लरेटो कलेजमा पनि नेपाली विभागमा प्राध्यापन गरेकी हुन्। त्यसै गरी बिचमा उनी पश्चिम बङ्गाल सरकारको पार्वत्य मन्त्रालयको सचिव भएकी हुन्। एक वर्ष जति समयका निम्ति उनले उत्तर बङ्गाल विश्वविद्यालयमा पनि प्राध्यापन गरेकी हुन्।

साहित्य क्षेत्रमा डा. सुन्दास एक सर्जक र समालोचक दुवै हुन्। साहित्यको गहन अध्येता डा सुन्दासले पूर्वीय र पाश्चात्य साहित्यको अध्ययन गरेकी छन्। आफ्नो औपचारिक अध्ययनका क्रममा नेपाली र दर्शन शास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी हुन् भने कानुन शास्त्रमा पनि स्नातक गरेकी हुन्। यसै गरी नेपाली कविताको विकासमा दार्जिलिङको योगदान विषयमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट विद्यावारिधि गरेकी हुन्। उनी नेपाली साहित्य सम्मेलन दार्जिलिङकी अध्यक्ष, नारी साहित्यिक मञ्च बसुधाकी अध्यक्ष, पश्चिम बङ्गाल सरकारको पश्चिम बङ्गाल पत्रिकाकी सम्पादक, दियालो पत्रिकाकी सम्पादक रहिसकेकी छन्। पुस्तक प्रकाशनको हकमा उनका कृतिहरू यस प्रकार छन् –

१.     आहत अनुभूति (कथासङ्ग्रह, १९९८)

२.     सम्भावित अर्थ समर्पित एकान्त (कविता सङ्ग्रह, २००)

३.     समय र समीक्षणा (समीक्षात्मक लेख सङ्ग्रह,२००८)

यसै गरी उनले सम्पादन गरेका पुस्तकहरूमा—

१.     अकादमी निबन्धावली,१९७६

२.     सम्मेलन कथा सङ्ग्रह (पूर्वार्द्ध), १९८२

३.     सम्मेलन कथा सङ्ग्रह (उत्तरार्द्ध), १९९०

४.     सम्मेलन कविता सङ्ग्रह, १९८३

५.     शिवकुमार राईका सात कथा

६.     गुमानसिंह चामलिङका कविता

७.     भारतीय नारी लेखन

यीबाहेक अझै अनूदित र फुटकर लेखादि प्रकाशित देखिन्छन्।

उनको सिर्जनात्मक लेखनको सुरुवात् सन् १९४९ सालमा आफू नवौँ श्रेणीमा पढ्दा ठुला मान्छे शीर्षकको एउटा लेख गोर्खामा प्रकाशित भएको थियो। त्यसपछि सन् १९६६ मा लरेटो कलेजको पत्रिकामा काव्यमा नारीको स्थान नामक लेखले उनको आलोचनात्मक व्यक्तित्व ब्युँझिएको हो।

० ० ०

समय र समीक्षणामा देखिएकी समालोचक डा. सुन्दास-

सन् २००८ सालमा प्रकाशित डा. सुन्दासको समय र समीक्षणा एक समीक्षात्मक ग्रन्थ हो जो उनले समय समयमा विभिन्न पत्र-पत्रिकामा प्रकाशित समीक्षात्मक लेखहरूका सङ्कलन हो। यो ग्रन्थ नेपाली साहित्यका निम्ति एउटा महत् उपलब्धि हो। यसमा विविध विषयक जम्मा छत्तीस वटा समालोचना छन्। डा सुन्दास महाविद्यालयकी नेपाली विद्यालयका प्राध्यापक, एउटी विदुषी र गहन अध्येता हुनाले उनलाई कसैले किताबको भूमिका लेखाइमाग्न, सेमिनार- गोष्ठीतिर वार्ता गर्न आग्रह, प्राध्यापकीय आवश्यकता जस्ता थुप्रै कारणबाट यो समय र समीक्षणा जन्मिएको देखिन्छ। यसमा कविता विषयक पन्ध्र वटा समीक्षा सङ्कलित छन्।

यसका अधिकांश लेखहरू विभिन्न साहित्य सर्जकहरूका कृतित्वमाथि केन्द्रित छन्। यसमा समीक्षक सर्जकहरूमा आदिकवि भानुभक्त आचार्य, धरणीधर कोइराला, पारसमणि प्रधान, रूपनारायण सिंह, इन्द्र सुन्दास, हरिप्रसाद गोर्खा राई, गम्भीर राई, ध्रुव दवाडी, तुलसी अपतन, शिवकुमार राई, रामकृष्ण शर्मा, अगमसिंह गिरी, इन्द्रबहादुर राई, गुमानसिंह चामलिङ, वीरविक्रम गुरुङ, डा जगत छेत्री हुन्।तीमध्ये पनि भानुभक्त आचार्यसम्बन्धी तीन वटा, शिवकुमार राईसम्बन्धी तीन वटा, रूपनारायण सिंहसम्बन्धी तीन वटा, इन्द्रबहादुर राईसम्बन्धी छ वटा, अगमसिंह गिरीसम्बन्धी तीन वटा, गुमानसिंह चामलिङसाथि दुईवटा लेखहरू सङ्कलित छन्। यी सर्जक व्यक्तित्वबाहेक विषय विशेषमा आधारित लेखहरू चार वटा जति छन्।

ग्रन्थको सबैभन्दा पहिलो लेख चाहिँ आदिकवि भानुभक्त आचार्यको पूर्णाङ्ग सालिक पुनर्उद्घाटन समारोहमा नेपाली साहित्य सम्मेलनको अध्यक्षको हैसियतमा दिएको वक्तव्य हो जो आफैमा समीक्षात्मक र ऐतिहासिक तथ्यात्मक रहेको छ। यसलाई साहित्येतिहासको सामाग्री ग्रन्थ पनि मान्न सकिन्छ। यसमा चर्चित सर्जकहरूका अतिरिक्त अचर्चित कवि ध्रुव दवाडी र गम्भीर राईका कवित्वका बारेमा समीक्षात्मक मूल्याङ्कन गरेकी छन्। शिवकुमार राईलाई कथाकारका अतिरिक्त कविका रूपमा पनि उतारेकी छन्। कतै विषय विशेषको समीक्षा छ त कतै एउटा मात्र कथा- उपन्यासको। यद्यपि यसमा एउटा कथाको समीक्षादेखि लिएर समग्र विषय समेटेर व्यापकता दिएको पाइन्छ। यसमा संस्मरणात्मकता पक्ष पनि पाइन्छ। यसरी हेर्दा प्रस्तुत ग्रन्थ समालोचना, इतिहास, संस्मरण, व्यक्तित्व र कृतित्व परिचय, पाठनिष्ठ, कृति केन्द्रित र कृतिकार  केन्द्रित लेखहरू सङ्कलित छन्।

० ० ०

 विभिन्न पद्धतिका आधारमा समय र समीक्षणाका समालोचनाहरू –

जीवनीपरक समालोचना– प्रस्तुत ग्रन्थमा केही जीवनीपरक समालोचना रहेका छन्। पण्डित धरणीधर कोइराला, पारसमणि प्रधान, रत्ननारायण प्रधान, गम्भीर राई, ध्रुव दवाडी, तुलसी अपतन, रूपनारायण सिंह, शिवकुमार राई, अगमसिंह गिरी, गुमानसिंह चामलिङ, डा. जगत छेत्रीका कवित्व र कृतित्वका साथै उनीहरूका व्यक्तित्व पक्ष केलाइएको छ। यीमध्ये पनि डा जगत छेत्री, अगमसिंह गिरीका जीवनी पक्ष केही मात्रामा बढी पाइन्छ भने अन्यका जीवनी आंशिक रूपमा पाइन्छ। ओझेलमा परेका दिई कवि गम्भीर राई र ध्रुव दवाडीका बारेमा केही तथ्य प्रस्तुत गरेकी छन्।

 ऐतिहासिक समालोचना– डा. सुन्दासको समय र समीक्षणालाई भारतीय नेपाली साहित्यको एउटा बृहत् सङ्कलन पनि मान्न सकिने ठाउँ छ। यसका धेरैजसो लेखादि कृतित्वमाथि मात्र आधारित नभई इतिहास सम्बद्ध विषयवस्तु पनि समाविष्ट छन्। भानुभक्तको अध्ययन सिलसिलामा नेपाली प्रारम्भ र विकास, भानुभक्त र उनका पूर्ववर्ती कविहरूमा कवित्वगत तुलना, भानुका मूर्ति स्थापनाको इतिहास, उनका कृति समालोचनाको इतिहासजस्ता ऐतिहासिक तथ्य पाइन्छ।

पं.धरणीधर कोइरालाको आगमनभन्दा अघिको दार्जिलिङ सामाजिक साहित्यिक पृष्ठभूमि, नेपाली कवितामा परिष्कारवादी धाराको परम्परा र यसमा पं कोइरालाको स्थान र महत्त्व उनका कवितामा तत्कालीन नेपाली समाजको अवस्थाको चित्रण जस्ता विभिन्न पक्ष उद्‌घाटित भएका छन्। यसरी नै पारसमणि प्रधानलाई कविका रूपमा चिनाउने क्रममा नेपाली कवितामा परिष्कारवादकै परम्परा र पृष्ठभूमि केलाएर नेपाली भाषालाई विभिन्न शैक्षिक तहमा मान्यता दिलाउन डा. प्रधानको योगदान र उपलब्धिको लेखाजोखा गरेकी छन्। प्रधानले कवितामा विभिन्न नैतिक सन्देश व्यक्त गरेका छन्, जुन तत्कालीन दार्जिलिङे समाजलाई आवश्यकता तियो भन्ने डा सुन्दासको ठहर छ।

भ्रमर उपन्यासले यसको रचना काल सन् १९३५-३६ तिरको दार्जिलिङे नेपाली सामाजिक, शैक्षिक, आर्थिक स्थितिकोको झल्को दिन्छ। त्यति बेला दार्जिलिङमा भर्खर भर्खर शिक्षाको प्रारम्भ भएको, केही शिक्षित युवाहरू शिक्षा प्रचार गर्न कम्मर कसेका, पाठशालाहरू भटाभट खोलिन लागेको समाजमा शिक्षाको महत्त्वबारे सचेतता जस्ता कुराहरू नै भ्रमर उपन्यासको पृष्ठभूमि हो। यसै गरी रूपनारायण सिंहको लेखन शैली र भाषा पश्चिमेली भाषाका कथा र उपन्यासका शैलीको प्रभाव हो। डिकन्स, स्कट, दीद्रो, ह्युगो, जर्ज सैन्ड र ड्युमाका आख्यानहरू अध्ययन गरेका रूपनारायण सिंहमा तिनै पश्चिमी लेखकको प्रभाव हुनसक्छ भन्ने डा. सुन्दासको ठहर छ।

यसमा मङ्गली उपन्यासको सामाजिक, आर्थिक, सांस्कृतिक पृष्ठभूमिबारे विस्तृत छलफल गरिएको छ। त्यति बेला हाम्रो समाजमा नारीको स्थिति दयनीय थियो। उसबेलाको दार्जिलिङको यथार्थ नै मङ्गलीमा प्रतिविम्बित छ। कवि गम्भीर राईको मूल्याङ्कन गर्ने क्रममा नेपाली कविता साहित्यमा परिष्कारवादी धाराको इतिहास पाइन्छ। एँग्रेजको पराधीन कालमा जनतामा फुट र भाँजो हाल्ने, भुल-भ्रान्ति उत्पन्न गराउने कारक तत्त्वहरू विद्यमान थिए। कवि गम्भीर राईकोको कवितामा पनि उक्त भूल-भ्रान्तिका दाउपेचको प्रतिविम्ब भएको पाइन्छ भन्ने डा सुन्दास ठहर छ.। गुमानसिंह चामलिङका कविता, अगमसिंह गिरीको र उनको समकालीन दौँतरीहरू, डा जगत छेत्रीको प्रसङ्गादिमा नेपाली साहित्यको साहित्यिक, सामाजिक स्थितिको इतिहासको लेखाजोखा गरिएको छ।

 प्रभाववादी समालोचना – कुनै कृति पढेर समालोचकलाई जस्तो मानसिक छाप वा प्रभाव पर्छ त्यसैलाई व्यक्त गर्ने पद्धति प्रभाववादी समालोचना हो। यसमा समालोचनाका शास्त्रीय नियम ढाँचा मानदण्ड इत्यादिका बन्धनमा नपरेर स्वतन्त्र रूपमा समालोचना गरिएको हुन्छ। यसमा कृतभन्दा पनि समालोचकको व्यक्तिगत धारणा बढी मात्रामा व्यक्त गरिएको हुनसक्छ। प्रस्तुत ग्रन्थ समय र समीक्षणाका दुई चार लेखमा प्रभाववादी समालोचना पनि परेका छन्। कथाकार वीरविक्रम गुरुङका केही कथाहरू रामकृष्ण शर्माको भावालु मेरो मन, पहेँलो दिनबारेमा समालोचकको आफ्नो धारणा र प्रभाव झल्किएको हामी पाउँछौँ।

 निर्णायात्मक समालोचना – यस पद्धतिमा समालोचकले केही निश्चित नैतिक र साहित्यिक सिद्धान्तलाई ध्यानमा राखेर आफ्नो निर्णय दिने गर्छ। यसमा प्रचलित सिद्धान्त र अलङ्कार, रस, रीति, ध्वनि, सौन्दर्य शास्त्रीय आदिका आधारमा कृतिहरूको स्वतन्त्र र स्पष्ट निर्णय दिइन्छ। अतः साहित्यिक सिद्धान्त, समालोचक र पाठकको रुचिलाई आधार मानी कुनै पनि कृतिको असल, खराब, उपयोगी, अनुपयोगी, राम्रो नराम्रो इत्यादिको निर्णय दिन्छ। यसमा कुनै न्यायाधीशले जस्तो निष्पक्षताका साथ कृतिको मूल्य निर्धारण गरिएको हुन्छ।

डा. सुन्दासको यस समालोचनात्मक कृतिमा पनि कतै कतै यस पद्धति पाइन्छ। अगमसिंह गिरीको कवित्व, इन्द्रबहादुर राईको कृतिमा गुमानसिंह चामलिङका कविता, वीरविक्रम गुरुङको कथा, रूपनारायण सिंहको भ्रमर इत्यादि लेखमा निर्णयात्मक पद्धति पाइन्छ। इन्द्रबहादुर राईको नाटक पहेँलो दिनलाई एउटा उत्कृष्ट विसङ्गतिवादी नाटकका रूपमा दर्‍याइएको पाइन्छ। उनका निम्ति लीला लेखन पूर्वीय सिद्धान्तको एउटा उपज हो र यसमा भारतीय दर्शनहरूलाई उत्तर-आधुनिक रूपमा साहित्यमा लीलाको प्रयोग भएको र यो पाश्चात्य मुलुकबाट भित्रिएको होइन भन्ने निर्णय सुनाएकी छन्। यीबाहेक प्रायः केही लेखमा आंशिक रूपमा भए पनि आफू साहित्यको न्यायाधीश भई न्याय सुनाउने काम गरेकी छन् डा सुन्दासले।

व्याख्यात्मक समालोचना – यस किसिमको समालोचनामा कुनै कृतिको विभिन्न पक्षका बारेका व्याख्या गरिएको हुन्छ। यसमा कृतिको विश्लेषण, सौन्दर्यको उद्घाटन, विभिन्न वैशिष्ट्यका प्रकाशन तथा कृतिकारको आशय विस्तृत रूपमा व्याख्या गरिएको हुन्छ। समय र समीक्षणाका प्रायः जसो लेख नै व्याख्यात्मक पद्धतिमा रहेका छन्। भानुभक्तका कविता, शिवकुमार राईका कथा र कविता, भ्रमर उपन्यास, अगमसिंह गिरीका कविताको निकै गहिराइसँग विश्लेषण गरिएको छ। इन्द्रबहादुर राईसम्बन्धी छ वटै लेखमा तुलसी अपतनको बुद्धिबङ्गारोभित्र पसेर त्यहाँका सम्पूर्ण कुरालाई केलाएकी छन्। तेस्रो आयाम र लीला लेखनबारे पनि गहिरो अध्ययन गरिएको पाइन्छ। अतः यसका प्रायः लेखमा नै कृतिभित्रको संसारका यावत् पक्षलाई उद्घाटन, प्रकाशन गरिएको छ। यसो हुँदा पाठकले धेरै कुराका ज्ञान हासिल गर्न सक्तछ।

 रूपपरक समालोचना– यस किसिमको पद्धतिको समालोचनामा कृतिलाई भाषा विज्ञानसित जोडेर कृतिको संरचना, बनोट, शिल्प-शैली, शब्द शय्या, भाषिक चिन्तनका आधारमा अध्ययन गरिन्छ। समय र समीक्षणामा विशेष गरी इन्द्रबहादुर राईको पहेँलो दिन नाटक, झ्याल कथा, कठपुतलीको मन जस्ता कृतिमा रूपपरक आधारमा केलाइएको छ। मि. एच बी ब्यास्नेट कथामा कथागत रूप विन्यास र मानसिक संरचनाको अध्ययन गरिएको छ। कठपुतलीको मन, झ्याल कथाको समीक्षा गर्दा यसको चित्रात्मक भाषा, बिम्ब र साङ्गीतिक पक्षको तथा अमूर्त, रङ्ग र ध्वनिको  त्रिवेणी देख्छिन्। यसले अरूप(नन्- फिगरेटिभ) अमूर्त कविता शाब्दिक सङ्गीत र चित्रले राखिएको छ भन्ने ठहर गरेकी छन्।

 विधापरक समालोचना– साहित्यका विधाको स्वरूप, संरचना र तत्त्व इत्यादिका आधारमा कुनै कृतिको समालोचना गरिने विधापरक समालोचना हो, छ परम्परागत रूपमा त्रासदी, कामदी, महाकाव्य, गीतिका इत्यादि हुन् भने आधुनिक कालमा कथा, उपन्यास, निबन्ध विधाका रूपमा रहेका छन्।

अहिले उत्तर- आधुनिककालमा आएर विधामिश्रण, विधाभञ्जन गरी विधात्मक पर्खाल तोडिँदो अवस्था बनेको छ। अब कृति अकथा, अउपनास, अनाटक, अनिबन्ध जस्तो तथा कतै उपन्यास जस्तो पनि, कता कता कथा, कता कता कविता कता कता आत्मजीवनी, नाटक निबन्ध सबैको छासमिस बनेका छन्। कृतिभित्र विधा खोज्नुपर्ने हुन्छ। डा सुन्दासको यस कृतिमा पनि विधापरक समालोचना पद्धति अँगालिएको छ। यसमा विशेष गरी इन्द्रबहादुर राईको पहेँलो दिन कृतिबारे विधापरक अध्ययन गरिएको छ। लेखक राईले यसलाई खेल मात्र भनेका छन्। डा. सुन्दासले तत्त्वका आधारमा यसलाई नाटक नै दर्‍याएकी छन्। यसमा ज्योसेफ भर्दीको गीतिनाटक डुलन्ता गायकबाट कथावस्तु ग्रहण गरिएको छ।

यद्यपि यसमा नेपाल र नेपाली जनताको प्रतिबिम्ब गरी त्यसमा लीलातत्त्वहरू थपी गहिराई र फैलाएर परिवर्तनसहित लेखिएको हो भन्ने ठहर गरेकी छन्। उनका अनुसार पहेँलो दिन नाटकमा नायकलाई गायक नराखी पूर्व क्रान्तिकारी बनाइएको छ औ नेपालमा बढेको साम्यवाद र भारतमा बडेको गोर्खाली जातिवादको जँचाइ पनि यहाँ रहेको छ। नाटकमा सूत्रधार र विदूषक, कमिक क्यारेक्टर, जोकर जस्तै पहेँलो दिनमा पनि क ख पात्र छन्। यस कृतिलाई नाटकको कथावस्तु, पात्रसंवाद योजना, दृश्यविधान आदि तत्त्वहरू खोट्याएकी छन्। यसै गरी भ्रमर उपन्यास, मि. एच बी ब्यास्नेट कथा, डाँफेचरी खण्डकाव्यका  सामान्य विधात्मक अध्ययन प्रस्तुत गरेकी छन्।

मनोविश्लेषणात्मक समालोचना– मान्छेका मनका विभिन्न अवस्थाको विश्लेषण गर्नु मनोविश्लेषण हो भने कृतिको पात्रको मनको विभिन्न तह र अवस्था, जटिलता, संरचनाको सूक्ष्म अध्ययन गरिएको समालोचना मनोविश्लेषणात्मक समालोचना हो। अझ भन्नुपर्दा मानसिक क्रिया र प्रतिक्रिया र मनका जटिल ग्रन्थिहरूको अध्ययन मनोविश्लेषणात्मक समालोचना हो। डा सुन्दासको यस ग्रन्थमा विशेष गरी हरिप्रसाद गोर्खा राईको मेरो एउटा नागाहुकी कथामा बाल मनोविज्ञानका आधारमा विवेचना गरिएको छ। म पात्रको नाति मानवकुमारलाई गाउँ-धरको परिवेश र धारणाले नागा जातिप्रति एक प्रकारले भय उत्पन्न गराइएको थियो तर म पात्रले उसलाई हुकी बाजे अर्थात् बाबाको साथीको सम्बोधन गर्न लगाई बालकको मनबाट ताख्खे नागाप्रतिको भय हटाउने काम भएको थियो। यसो हुँदा नै उक्त बालक त्यस डरलाग्दो खालको आवरणमा देखिने तर मनको दयालु ताख्खेसित झ्यामि्मएर खेल्ने भएको थियो।

यसै गरी ‘मि. एच बी ब्यास्नेट- एक विपठन’ भन्ने लेखमा सोझो स्कुल मास्टर आर एन प्रधान र ठग ठहर्‍याइएको बस्नेतका अर्द्ध चेतनामा एक-अर्काप्रति वैरत्व र शोध-प्रतिशोधको भावना रहेको छ। बस्नेत निर्धनताको क्षतिपूर्ति गर्न ठग बनेको छ भने धेरै पढेको, इमानदार र सोझो स्कुलमास्टर चाहिँ झन् कमाउन नसकेको क्षोभबाट उब्जेको धन लिप्सा छ। यसमा ईर्ष्या, क्षोभ, दुष्चिन्ता, मनस्ताप, द्वन्द्व, क्षतिपूर्ति, प्रतिशोध, पूर्वाग्रह, अभिप्राय:, जस्ता मनोवैज्ञानिक आधारमा अध्ययन प्रस्तुत गरिएको छ।

समाजशास्त्रीय समालोचना– समाजसापेक्षताका आधारमा कुनै कृतिको अध्ययन गर्नु समाजशास्त्रीय समालोचना हो। समाजका अनेक पक्ष, प्रश्न, विषय, रूपहरूलाई देखाएर गरिने यस किसिमको समालोचना हो। यस ग्रन्थमा कहीँ कृतिलाई समाजसापेक्ष अध्ययन गरिएको पाइन्छ। भ्रमर उपन्यास केलाउँदा तत्कालीन नेपाली समाज. सामाजिक रूढिवाद, अशिक्षित समाजको अघि शिक्षित शेखरको सामाजिक चिन्तन, समाजको समष्टि धारणाका अघि शेखरको व्यष्टि चिन्तनको द्वन्द्वात्मक स्थितिको लेखाजोखा गरिएको छ। मङ्गली उपन्यास केलाउने क्रममा उस बेलाको दार्जिलिङको समाजको अध्ययन गरिएको छ। डा. सुन्दासको के निष्कर्ष छ भने दैनिक जीवनका नानाविध समस्याले पिरोलिएर जीवन अस्तित्वको निम्ति सङ्घर्षरत भएका नेपालीको साँचो रूप मङ्गलीमा चियाउन सकिन्छ। ग्रन्थको भूमिकामा इन्द्रबहादुर राईका अनुसार सुन्दासका समालोचनामा कृतिलाई साहित्यिक सामाजिक स्थिति (कन्‍टेक्स्ट) मा राखेर हेरिएको हुन्छ।

तुलनात्मक समालोचना –  कुनै कृति वा लेखकको तुलना अन्य कुनै कृति वा लेखकसित गरी दुवैको मूल्याङ्कन र विश्लेषण गरिने तुलनात्मक समालोचना हो। यसमा दुई वा दुई वटाभन्दा बढी भाषाको कृति र लेखक, एउटै भाषाको दुई कृति र लेखकको तुलना गरिन्छ। डा सुन्दासको यस कृतिमा यस किसिमको समालोचना पाइन्छन्। उनले भानुभक्तको मूल्याङ्कन गर्ने क्रममा उनीभन्दा अघिका केही नेपाली कविहरूका कविताको भाव, शैली र भाषाको सामान्य तुलना गरेकी छन्। यसका साथै विभिन्न भाषाका रामायणको उल्लेख गर्दै संक्षिप्त रूपमा भए पनि तुलना गरेकी छन्। नाटक पहेँलो दिनको समीक्षाको सन्दर्भमा पनि पाश्चात्य चिन्तन र साहित्यिक पृष्ठभूमि तथा नेपाली सामाजिक पृष्ठभूमि र साहित्यिक चिन्तन पक्षमा तुलनात्मक अध्ययन गरेकी छन्।

० ० ०

 डा सुन्दासको समय र समीक्षणको मूल्याङ्कन र उपसंहार

क) प्रस्तुत ग्रन्थमा व्याख्यात्मक, प्रभाववादी, ऐतिहासिक, जीवनीपरक, मनोविश्लेषणात्मक, विधापरक, रूपपरक, तुलनात्मक पद्धतिका समालोचना पाइन्छ। यद्यपि यस ग्रन्थमा व्याख्यात्मक समालोचना नै बढी रहेका छन्।

ख) यस ग्रन्थमा अनुसन्धानात्मक, प्राज्ञिक, विपठन जस्ता आलोचनाका रूपहरू पनि पाइन्छन्। हरेक कृतिको समीक्षा गर्दा त्यसका हरेक पक्षमा अध्ययन गरी मूल्याङ्कन गरिएको हुन्छ।

ग) यसमा सैद्धान्तिकभन्दा व्यवहारिक समालोचना पक्ष नै बढी पाइन्छ।

घ) उनको समालोचनाको मूल रुचि क्षेत्र कविता देखिन्छ भने उनलाई इन्द्रबहादुर राईको आयामेली र लीला लेखनको सैद्धान्तिक व्याख्याताका रूपमा पनि देखिन्छ।

घ) यस ग्रन्थमा भारतीय नेपाली साहित्यको परिप्रेक्ष्य, सन्दर्भ, इतिहाससँग साहित्य  सर्जकहरूका साहित्यिक व्यक्तित्व र कृतित्वको समीक्षण र मूल्याङ्कन गरिएको छ।

ङ) डा. सुन्दास एक गम्भीर अध्येता हुनाले उनको पाश्चात्य र पूर्वीय दुवै साहित्यशास्त्रको अध्ययनको उपज हो समय र समीक्षणा ग्रन्थ।

च) यसमा कविता समालोचनाबाहेक कथा, उपन्यास, नाटक र साहित्य सिद्धान्तको अध्ययन गरेकी छन्।

छ) शैली वैज्ञानिक समालोचना पद्धति पनि आंशिक रूपमा भए पनि पाइन्छ। झ्याल, कठपुतलीको मन इत्यादि जस्ता केही लेखमा यो पद्धति पाइन्छ।

सन्दर्भ पुस्तक सूची

१.     डा लक्खीदेवी सुन्दास, समय र समीक्षणा, दार्जिलिङ, सुन्दास प्रकाशन,२००८

२.     मेघनाथ छेत्री, भारतीय नेपाली समालोचक र समालोचना, सुकना,पूर्णिमा शर्मा, २००८

३.     कृष्ण गौतम, आधुनिक आलोचना अनेक रूप अनेक पठन, काठ. साझा प्रकाशन,दो.सं. २०५९

४.     डा राजेन्द्र भण्डारी, पारसमणि सम, भाषा र साहित्य, गान्तोक, सा.सि.स.स.लि.२००८